Monday, August 31, 2020

केन्द्रीकृत केवाईसी भण्डारण


सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) ले केन्द्रीकृत ग्राहक पहिचान (सीकेवाईसी) सेवासम्बन्धी कार्यसञ्चालन निर्देशिका२०७७ को मस्यौदा सार्वजनिक गरेको छ । मूलतः धितोपत्र बजारका सेवाग्राहीको ग्राहक पहिचान विवरण (केवाईसी) अनलाइन प्रविधिमा आधारित केन्द्रीकृत प्रणालीको विकास गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । यस्तो विवरण (केवाईसी) राख्ने निकाय सरकारीस्तरबाट नै आउनुपर्नेमा सीडीएसले गरेर झकझक्याउने कार्य गरेको छ ।


सीकेवाईसीका साझेदार


प्रस्तावित निर्देशिकाअनुसार यसका साझेदारहरूमा सीडीएस, केवाईसी दर्ता प्रतिनिधि र ग्राहक गरी चारओटा मुख्य साझेदारका रूपमा रहेका छन् । शेयर प्रमाणपत्रलाई अभौतिकरूपमा भण्डारण गरी राख्ने एवं शेयर कारोबारको राफसाफ गर्ने निकाय सीडीएस केवाईसी वा सीकेवाईसीको केन्द्रीय निकायका रूपमा रहनेछ । केवाईसी दर्ता प्रतिनिधिका रूपमा (१) निक्षेप सदस्य अर्थात् डिपोजिटरी पार्टिसिपेन्ट (डीपी), (२) धितोपत्र दलाल, (३) लगानी व्यवस्थापक, (४) मर्चेन्ट बैंकर्स, (५) बजार निर्माता (स्टक डिलर), (६) सामूहिक लगानी कोष व्यवस्थापक रहनेछन् । यी संस्थाले दर्ता प्रतिनिधि हुन सीडीएसमा निवेदन गर्नुपर्नेछ । दर्ता प्रतिनिधिका रूपमा कार्य गर्न अनुमति प्राप्त गरेपछि सीडीएसबाट एडमिन लगइनप्राप्त गर्नेछन् । दर्ता प्रतिनिधि प्राप्त गर्ने संस्थाले आफ्ना शाखाबाट पनि कार्य गर्न चाहेमा प्रत्येक शाखाका लागि छुट्टाछुट्टै लगइनमार्फत कार्य गर्नुपर्नेछ । ग्राहकले दर्ता गरेको ग्राहक पहिचान विवरण (केवाईसी) सीडीएसको सीकेवाईसीमा भण्डारण हुनेछ । सीकेवाईसीमा प्रविष्ट भएका ग्राहकको विवरण प्रमाणीकरणपश्चात् प्रणालीमा पृथक् स्थायी परिचय नम्बर (केवाईसी आईडी) उत्पन्न हुनेछ । यसअघि केवाईसी अस्थायी परिचय नम्बर वा अस्थायी परिचय नम्बरउत्पन्न हुनेछ । पूँजी बजारमा आबद्ध हुने प्रयोजनका लागि आफ्नो व्यक्तिगत विवरण दर्ता गर्ने प्राकृतिक व्यक्ति र संस्था वा कम्पनी ग्राहकका रूपमा रहनेछन् ।

सीकेवाईसी प्रणालीको विकास

पूँजी बजारमा आबद्ध हुने ग्राहकको व्यक्तिगत विवरण केन्द्रीकृत रूपमा राख्न सीडीएसले प्रणाली विकास गर्ने मुख्य जिम्मा लिनेछ । यस्तो प्रणालीको विकास सार्वजनिकनिजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरी लागू गर्नेछ । यसका मुख्य विशेषताहरूमा (क) ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रलगायत ग्राहकको परिचय खुल्ने प्रमाणपत्रसहितको विवरण प्रविष्टि हुने, (ख) ग्राहक आफै वा घरैबाट केवाईसी प्रतिनिधिको अधिकारप्राप्त व्यक्ति वा कर्मचारीमार्फत बायोमेट्रिक विवरण प्रविष्टि गर्न सकिने, (ग) ग्राहकको व्यक्तिगत परिचयसहितको विवरण प्रमाणित गरेपश्चात् प्रणालीबाट पृथक् केवाईसी आईडी प्राप्त हुने, (घ) ग्राहकको बायोमेट्रिक, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको आधारमा ग्राहकको दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणीकरण गर्ने, (ङ) हितग्राही खाता (शेयर कारोबार गर्न आवश्यक पर्ने) खोल्नका लागि केन्द्रीय निक्षेप प्रणालीमा आबद्ध गरिने, (च) ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न केन्द्रीकृत केवाईसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसँग आबद्ध गर्नसक्ने, (छ) केन्द्रीकृत केवाईसीमा अभिलेख भएका विवरण अन्य निकायले समेत उपयोग गर्नसक्ने, (ज) हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एकभन्दा बढी हितग्राही खातासमेत यकिन हुनेगरी पृथक् केवाईसी आईडी उपलब्ध हुने, (झ) केवाईसी प्रविष्टि, केवाईसी संशोधन, केवाईसी डाउनलोडको अडिट लग गर्नसक्ने र (ञ) हितग्राही खातालाई केवाईसी आईडीसँग आबद्ध गर्न सक्ने जस्ता विशेषता रहेका छन् ।

सीकेवाईसी दर्ता प्रक्रिया

सीकेवाईसीमा दर्ता हुनका लागि व्यक्ति (प्राकृतिक) ले (१) नागरिकताको प्रमाणपत्र र (२) नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र र संरक्षकको नागरिकताको प्रमाणपत्र समावेश गर्नुपर्छ । नाबालकको हकमा पेश गरिने प्रमाणपत्र विषयमा कतिपय व्यक्ति द्विविधामा परेर अस्पतालले दिने जन्म प्रमाणपत्र (बर्थ सर्टिफिकेट) लाई नै जन्मदर्ता प्रमाणपत्र भन्ने पनि बुझेको देखिन्छ । अस्पतालले दिने प्रमाणपत्र जीवित वा मृत जन्म भएको भन्ने मात्र हुँदा वास्तविक जन्मदर्ता प्रमाणपत्र स्थानीय निकाय (गाउँ वा नगरको वडा) बाट प्राप्त हुन्छ । जन्मदर्ता प्रमाणपत्र वालिग (१८ वर्ष) नभएसम्मका लागि नागरिकतासरहको कागजात हो । त्यस्तै, बाबुआमा स्वतः नाबालकको संरक्षक हुन्छन् र बाबुआमा नभएका नाबालकको हकमा जिल्ला प्रशासन कार्यालयले संरक्षकत्व ग्रहण गरेको सम्बन्धी छुट्टै प्रमाणपत्र जारी गरेको हुन्छ । धितोपत्र कारोबार वा सोसम्बन्धी सेवा लिनुअघि ग्राहक (व्यक्ति वा संस्था वा कम्पनी) ले हितग्राही (ग्राहक) पहिचान विवरण अनिवार्य भराई केवाईसी विवरण दर्ता गर्नुपर्नेछ । ग्राहकले ग्राहक पहिचान विवरण दर्ता गर्न कागजातहरूको सक्कलप्रति अनिवार्य र दर्ता शुल्कसहित दर्ता प्रतिनिधि वा निजले तोकेको अधिकारप्राप्त अधिकारी वा कर्मचारीसमक्ष पेश गर्नुपर्नेछ । यस्तो विवरण दर्ताका लागि आवेदन दिँदा विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ ।

दर्ता प्रतिनिधिले ग्राहकको विवरण रुजू गरी केवाईसी प्रणालीमा दर्ता गराउनेछ ग्राहकले अनलाइन (विद्युतीय माध्यम)मार्फत प्रविष्टि गरेका विवरणको दर्ता प्रतिनिधिले सक्कल कागजातहरूसँग विवरण तयार पार्ने (मेकर) र जाँच गर्ने (चेकर) को दुई तहमा रुजू गर्नेछ । विवरण प्रविष्टि पश्चात् दर्ता प्रतिनिधिले प्रणालीबाट प्राप्त अस्थायी परिचय नम्बरसम्बद्ध ग्राहकलाई उपलब्ध गराउनेछ । दर्ता प्रतिनिधिले केवाईसी विवरण प्रमाणित भएपश्चात् ग्राहकलाई स्थायी केवाईसी आईडीउपलब्ध गराउनेछ । यसरी प्राप्त केवाइसी आईडीग्राहकको स्वीकृतिप्राप्त गरी धितोपत्र बजारका अन्य संस्था वा कम्पनीले समेत प्रयोग गर्न सक्नेछन् ।

उपयोग र उपयोगको सीमा

केन्द्रीकृत केवाईसी प्रणालीमा अभिलेख भएका केवाईसी विवरण धितोपत्र बजारसँग सम्बद्ध अन्य संस्था वा कम्पनीहरूले हितग्राही खाता खोल्ने, धितोपत्र बजारमा कारोबार गर्न र बोर्ड वा अन्य नियामक निकायले अनुमति वा इजाजतपत्र दिएका कार्यका लागि उपयोग गर्न सक्नेछ । केवाईसी दर्ता प्रतिनिधिले ग्राहकसँग सम्बद्ध विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा नेपाल सरकार, अदालत, बोर्ड वा कानूनअनुसार अख्तियारप्राप्त अधिकारीबाट माग भएको अवस्थामा बाहेक गोप्य राख्नुपर्ने र मागेका बखत सीडीएस वा केवाईसी दर्ता प्रतिनिधिले प्रणालीमा प्रविष्टि भएका ग्राहकको विवरण, तथ्याङ्क वा जानकारी दिनुपर्नेछ । सीडीएसले आप्mनो प्रणालीअन्तर्गतका तथ्यांक सुरक्षा गर्न र भण्डारणका लागि आवश्यक व्यवस्था गर्नेछ ।

केआरएको मान्यता

सामान्यतया सीडीएस वा केन्द्रीय निक्षेपकलाई शेयर अभौतिकरूपमा भण्डारण गर्ने मात्र संस्थाका रूपमा बुझ्ने गरिए पनि यो बहुउपयोगी प्रकृतिको संस्था हो । यस्ता संस्था प्रायः सबै देशमा स्थापित भइसकेका छन् । भारतमा यस्तै प्रकृतिको दुईओटा संस्था छन् । धितोपत्रको केन्द्रीय निक्षेपण सेवा नियमावली, २०६७ को नियम २(ड) मा उपकरणको परिभाषा गर्दै विद्युतीय माध्यमबाट राख्न सकिने गोदाम रसिद, जीवन बीमालेखलगायत उपकरण वा कागजातसमेतलाई जनाउनेछ भनेको छ । परिभाषामा जीवन बीमालेख, गोदाम रसिदलगायत कागजातसमेतलाई समेटे पनि अहिलेसम्म शेयर, म्युचुअल फन्डका एकाइ र ऋणपत्र मात्र भण्डारण गरिएको छ । यसलाई नेपाल सरकारबाट केवाईसी रजिस्ट्रेशन अथोरिटी (केआरए) को मान्यता दिलाएर साँच्चीकै केन्द्रीकृत निकाय बनाउन बोर्डले पहल गर्नुपर्छ । यहाँ भण्डारण गरिएका केवाईसीलाई मुख्यतः बैंक, बीमा, दूरसञ्चारलगायत अन्य संस्थाले पनि अपनत्व लिएर उपयोग गरेमा यसको उपादेयता अझ बढ्नेछ ।

१६ भदौ २०७७, आर्थिक अभियान 


कम्पनी गाभ्ने निर्देशिका : झिकिदेभन्दा थपिदे गाँड


नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । कम्पनी गाभ्ने सन्दर्भमा बोर्डले तयार पारेको मस्यौदा निर्देशिका झिकिदे गाँडभन्दा थपिदे गाँडजस्तो बनेको छ । विशिष्ट नियमन हुने कम्पनीको हकमा नियामकको र नहुनेको हकमा गोश्वारा रूपमा कम्पनी ऐन र कम्पनी रजिस्ट्रारको अधिकार क्षेत्रमाथि नै धावा बोलेको छ ।

प्रस्तावित प्रावधानहरू

प्रस्तावित निर्देशिकामा गाभ्ने, गाभिने वा प्राप्तिका सन्दर्भमा ((१) सभा (साधारण वा विशेष) बाट प्रस्ताव पारित गर्नुपर्ने, (२) मूल्याङ्कनको आधारसहित ड्यु डिलिजेन्स अडिट (डीडीए) गराउनुपर्ने, (३) डीडीएपश्चात् उपयुक्त कम्पनी खोजी अगाडि बढाउनुपर्ने, (४) कम्पनीका सञ्चालक, कर्मचारी, मूल्यांकनकर्ता तथा अन्य सम्बद्ध पक्षले प्रारम्भिक समझदारी नभएसम्म सूचना तथा जानकारी प्रकाशमा ल्याउन नपाइने र (५) उपयुक्त कम्पनी तय भएपछि प्रारम्भिक समझदारी गर्नुपर्ने जस्ता व्यवस्था छ ।

गाभ्ने, गाभिने वा प्राप्ति समझदारीमा (क) सभा र सञ्चालक समितिको निर्णय, (ख) संयुक्त मर्जर समितिको गठन तथा काम, कर्तव्य र अधिकार, (ग) समयतालिका, (घ) कर्मचारी व्यवस्थापन आदि खुलाउनुपर्नेछ । यसरी समझदारी भएपछि सोको जानकारी बोर्ड तथा नेप्सेलाई दिनुपर्ने र नेप्सेले वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ । यसरी समझदारी भएपछि दुवै कम्पनीको सभाबाट निर्णय नभएसम्म मर्जरबाट पछि हट्न (रद्द गर्न) पाइने छैन । गाभ्ने, गाभिने दुवै र प्राप्ति हुने कम्पनीको शेयर कारोबार रोक्का हुनेछ ।

बोर्डको पूर्वस्वीकृति

कम्पनीले गाभ्ने, गाभिने वा प्राप्ति हुने समझदारी गरेपछि सम्बद्ध कम्पनीबाट बढीमा ३ जनासम्म सदस्य रहने संयुक्त मर्जर समिति गठन गर्नुपर्नेछ । यस्तो समितिले पूर्वस्वीकृतिका लागि बोर्डसमक्ष संयुक्त रूपमा निवेदन दिनुपर्नेछ । यस्तो निवेदनमा (क) आवश्यकता तथा औचित्य, (ख) पछिल्लो आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, (ग) कर्जा लिएका साहूहरूको विवरण तथा भुक्तानीसम्बन्धी व्यवस्था, (३) चलअचल सम्पत्ति र दायित्वको भुक्तानी अवधिसहितको यथार्थ विवरण, (ङ) कर्मचारी व्यवस्थापनसम्बन्धी प्रारम्भिक योजना, (च) प्रारम्भिक समझदारी, (छ) सभाको निर्णय, (ज) विशिष्ट नियामक भए उक्त निकायको सहमति, (झ) संयुक्त मर्जर समितिसम्बन्धी विवरण समावेश गर्नपर्छ । यसरी निवेदन प्राप्त भएपछि बोर्डले जाँचबुझ गर्दा उपयुक्त देखेमा शर्तसमेत तोकेर पूर्वस्वीकृति दिन सक्नेछ ।

शेयर आदानप्रदान अनुपात

बोर्डबाट पूर्वस्वीकृति प्राप्त गरेपश्चात् शेयर आदानप्रदान अनुपात गणनाको आधार र औचित्य पेश गर्नुपर्नेछ । बोर्ड सन्तुष्ट भएमा अनुपातलाई स्वीकृति दिने र नभएमा पुनःमूल्यांकन गर्न निर्देशन दिन सक्नेछ । तत्पश्चात् गाभ्ने गाभिने तथा प्राप्ति गर्ने (क) प्रक्रिया, लाग्ने समय र लागत, (ख) कम्पनीको कायम रहने नाम तथा ठेगाना, (ग) सञ्चालन तथा व्यवस्थापन संरचना र सञ्चालकको नामावली, (घ) कर्मचारीहरूको तह र सेवासुविधाको मिलान गर्ने व्यवस्था, (ङ) एक वा सोभन्दा बढी प्रतिशत स्वामित्व भएका शेयरधनी तथा अन्य शेयरधनीहरूको विवरण, (च) प्रबन्धपत्र र नियमावली, पूँजी संरचना तथा पुनःसंरचना, (छ) शेयर आदानप्रदान अनुपात खुलाई सम्झौता गर्नुपर्नेछ । तत्पश्चात् शेयर आदानप्रदान अनुपातसहित गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा सभाबाट पारित गर्नुपर्नेछ ।

अन्तिम स्वीकृति र शेयर कारोबार

कम्पनीहरूले सभाबाट गाभ्नेगाभिने वा प्राप्तिसम्बन्धी निर्णय भएको अर्को कार्य दिन एकीकृत कारोबार नभएसम्म छट्टाछुट्टै शेयर कारोबार खुला गर्न निवेदन दिनुपर्नेछ । बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गर्न तथा धितोपत्रको पुनः दर्ताका लागि समझदारीपत्र र सभाको निर्णय संलग्न गरी संयुक्त रूपमा निवेदन दिनुपर्नेछ । विशिष्ट नियामक भएको अवस्थामा उक्त निकायको स्वीकृतिसमेत पेश गर्नुपर्नेछ । बोर्डले थप जानकारी वा कागजात माग गर्न सक्नेछ । जाँचबुझ गर्दा उपयुक्त देखिएमा बोर्डले एकआपसमा गाभ्न, गाभिन तथा प्राप्ति गर्न अन्तिम स्वीकृति दिनेछ । गाभिई वा प्राप्ति भई कायम हुन आएको नाम वा परिवर्तित नाममा धितोपत्र दर्ता गर्नेछ ।

बोर्डमा धितोपत्र पुनः दर्ता भएको ३ कार्य दिनभित्र केन्द्रीय निक्षेपक (सीडीएस) र सूचीकरण गर्न नेप्सेमा निवेदन दिनुपनेछ । कम्पनी ऐनबमोजिम एकीकृत कारोबारको लागि स्वीकृतिप्राप्त गरेपश्चात् सोको जानकारी बोर्ड, नेप्से र सीडीएसलाई दिनुपर्नेछ । नेप्सेले जानकारी प्राप्त गरेपछि एकीकृत कारोवार गर्ने दिन गाभिने र प्राप्त हुने कम्पनीको शेयर कारोबार रोक्का राख्नुपर्नेछ । तर, गाभ्ने, गाभिने वा प्राप्तिबाट कायम हुने संगठित संस्थाको नाम परिवर्तन हुने भएमा गाभ्ने कम्पनीको पनि शेयर कारोबार रोक्का राख्नुपनेछ । गाभ्ने, गाभिने वा प्राप्ति भई कायम भएको कम्पनीले एकीकृत कारोबार शुरू भएपछि सीडीएस र नेप्सेलाई बोर्डबाट प्राप्त धितोपत्र पुनः दर्ताको प्रमाणपत्रसहित धितोपत्र दर्ता गर्न र शेयर कारोबार खुला गर्न निवेदन दिनुपर्नेछ । एकीकृत कारोबार भएको ७ कार्य दिनभित्र शेयर कारोबार खुला गर्नुपर्नेछ ।

असान्दर्भिक विषयवस्तु

गाभ्ने, गाभिने वा प्राप्तिसम्बन्धी निर्देशिकाको अभावमा पारदर्शिता देखिएको थिएन । कार्यतालिका र समयसीमाका बारेमा कम्पनीले सामान्य जानकारी पनि नदिँदा कहिले सकिन्छ, एकीकृत कारोबार कहिले हुन्छ, शेयर कारोबार कहिले खुल्छ भन्दै एकअर्कासँग मुखामुख गर्दै सोध्नुपर्दा पट्यारलाग्दो स्थिति बनेको थियो । गाभिने वा प्राप्ति हुनेसम्बन्धी सभा भइसक्दा पनि शेयर आदानप्रदान अनुपातसमेत थाहा हुँदैनथ्यो । अझ पनि गाभिएका कतिपय कम्पनीको अनुपात कति थियो भन्ने यथार्थ जानकारी शेयरधनीले पाएका छैनन् । यस्तै अन्योलबीच आएको नीतिमा पनि असान्दर्भिकताको लस्कर लागेको छ । कम्पनी गाभिने विषय मूलतः कम्पनी ऐन, सरकार र नियामकीय निकाय (व्यवसाय) को दायरामा पर्छ । तर, बोर्ड अर्काको अधिकारक्षेत्रमा अवाञ्छित प्रवेश गरेको छ । निर्देशिकामा रहेका केही असान्दर्भिक पक्षहरू, (१) सभाले प्रस्ताव पारित गर्नासाथ डीडीए गरेर मात्र कम्पनी खोज्नुपर्ने कुराले गाडा अगाडि गोरु पछाडिजस्तो भएको, (२) यतिबेलासम्म सूचना छरपस्ट भइसक्ने र मूल्यमा व्यापक उतारचढाव आउने, (३) कुनै पनि कम्पनी गाभ्ने कार्यमा बोर्ड (शेयरबजार नियामक) को पूर्वस्वीकृतिको औचित्य नहुने, (४) पूर्वस्वीकृति नै औचित्यहीन भएकाले बोर्डले शर्त तोक्ने कार्य निरर्थक, (५) बोर्डलाई शेयर आदानप्रदान अनुपात गणनाको आधार र औचित्य नहुने, (६) बोर्ड सन्तुष्ट भएमा अनुपातलाई स्वीकृति दिने र नभएमा पुनः मूल्यांकन गर्न निर्देशन दिनसक्ने झन् औचित्यहीन छन् ।

त्यस्तै, सभाले गाभ्ने, गाभिने र प्राप्त हुन प्रस्ताव पारित गरेको भोलिपल्टबाट छुट्टाछुट्टै कारोबार खोल्ने र फेरि कारोबार रोक्ने कुरा पनि सान्दर्भिक हुँदैन । यसको सट्टामा सभाले गाभ्ने, गाभिने वा प्राप्त हुने प्रस्ताव पारित गरिसकेपछि शेयर आदानप्रदान अनुपात मिलाएर गाभ्ने वा प्राप्त गर्ने कम्पनीकै नामबाट १५ कार्य दिनभित्र कारोबार खोल्न सकिन्छ । गाभिएपछि गाभ्ने कम्पनीको नामै फेरिने रहेछ भने पनि कम्पनी रजिस्ट्रारबाट नाम फेरेको अभिलेख भएपछि सूचना दिएर केही दिन कारोबार रोक्का गरी नयाँ स्टक सङ्केतबाट कारोबार गराउन सकिन्छ ।

बीचैमा मर्जर छाडेर हिँड्न नपाइने पक्ष सकारात्मक छ । सूचीकृत र असूचीकृत कम्पनी गाभिँदा सूचीकृतको कारोबार रोकिने वा नरोकिने कुरा स्पष्ट छैन । यसलाई स्पष्ट पारेर नरोकिने प्रबन्ध गर्नुपर्छ । कम्पनी गाभ्ने गाभिने कार्यका सम्बन्धमा के के हुँदै छ भन्ने बारेमा हरेक महीना सकिएको ७ दिनभित्र त्यसको प्रगति विवरण नेप्सेमार्फत सार्वजनिक गराउन लगाउने व्यवस्था कतै पनि देखिँदैन । निर्देशिकाको मस्यौदामा केही पक्ष सकारात्मक भए पनि अधिकांश विषय असान्दर्भिक र औचित्यहीन छन् ।

९ भदौ २०७७, आर्थिक अभियान

मेगा बैंक २०७१/७२


नाफा नोक्सान

१ अरब ८० करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरि ९१ करोड ४२ लाख रुपैयाँ व्याज खर्च पश्चात ८९ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा ६ करोड ९४ रुपैयाँ लाख बढेको छ । जुन अगिल्लो वर्ष भन्दा ८.५ प्रतिशत बढी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी २ करोड ६८ लाख रुपैयाँबाट बढेर ३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी ८ करोड १९ लाख रुपैयाँबाट बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट १० करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अगिल्लो वर्ष ९ करोड ५२ लाख रुपैयाँ थियो ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १ अरब १३ करोड ७५ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ११ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा ४५ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४० प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ११.५ प्रतिशत बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत १५ करोड ५४ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट १० लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट ३ करोड १३ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट ८१ लाख रुपैयाँ घाटा परेको छ ।

बोनस र कर पश्चात ३४ करोड ५६ लाख ११ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १३ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १३.९९ प्रतिशत, खराब कर्जा १.७५ प्रतिशत, कोषको लागत मूल्य ४.२५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६.१९ प्रतिशत, आधार दर ८.४८ प्रतिशत, औसत ब्याजदर अन्तर ४.४२ प्रतिशत, तरलता २४.२९ प्रतिशत, प्रतिशेयर आम्दानी रु. १३.२४, प्रतिशेयर खुद सम्पति ११८.३३, मूल्य आम्दानी अनुपात..................र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल १२.६ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता राम्रो छ । खराब कर्जा अगिल्लो वर्षको तुलनामा घटेको छ तर गत त्रयमासको तुलनामा बढेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा नजिक छ । यसले निक्षेपको राम्रो उपयोग भएको देखाएको छ । लागत मूल्य गत वर्ष भन्दा घटेको छ । आधार दर पनि घटेको छ । औसत व्याजदर अन्तर बढेको छ । आधार दर र व्याजदर अन्तर घट्दा पनि आम्दानीमा सन्तुलन आएको छ । शेयरधनी कोष (इक्विटी) मा हुने प्रतिफल सामान्य देखिन्छ । तरलता सामान्य छ ।

ब्याज आम्दानी बढेको छ । शुल्क, कमिसन, बट्टा, अन्य संचालन र विदेशी मुद्रा सटहीबाट हुने सबै आम्दानी बढेको छ । सबै आम्दानी बढेकोले कुल संचालन आम्दानी पनि बढेको छ । गैर-संचालनबाट थोरै आम्दानी गरेको छ । असामान्य गतिविधिबाट नोक्सानी परेको छ । नोक्सानी व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राखे पनि खुद आम्दानी गत वर्ष भन्दा बढेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च ४० प्रतिशत रहेको छ । यस्तो खर्च परिमाणात्मक रुपमा बढेको भए पनि गुणात्मक रुपमा स्थिर छ ।

बैंकले गत वर्षको आम्दानीबाट ११ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा त्यति धेरै रकम नरहेकोले बढ्ने आशा कम गर्न सकिन्छ ।

बैंकको चुक्ता पूँजी शेयर २ अर्ब ६० करोड ९६ लाख रुपैयाँ रहेको छ । जगेडामा ४७ करोड ८३ लाख रुपैयाँ रहेको छ । निक्षेप २१ अरब रुपैयाँ र लगानीतर्फ १७ अरब रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकका लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै एकै पटक अधिक पूँजी थप्नुपर्ने अवस्थालाई आत्मसात गरेर अगाडी बढ्नु पर्ने भएको छ ।

क्षेत्रीयस्तरमा रहेको एक विकास बैंक गाभ्ने प्रक्रिया तोडिएको छ । बैंकसँग अहिले पनि पूँजीको अनुपातमा पर्याप्त निक्षेप छैन । बढ्दो पूँजी अनुरुप निक्षेप ल्याउन नयाँ योजनासँगै ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन पर्खनु पर्दैन ।

कुमारी बैंक २०७१/७२


नाफा नोक्सान

२ अरब ४० करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरि १ अरब ५० करोड ७३ लाख रुपैयाँ व्याज खर्च पश्चात ८९ करोड ७९ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा ६ करोड ९४ लाख रुपैयाँ बढेको छ । जुन अगिल्लो वर्ष भन्दा ७ प्रतिशत बढी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी १८ करोड ८७ लाख रुपैयाँबाट घटेर १५ करोड ४६ लाख रुपैयाँमा सिमित भएको छ । अन्य संचालन आम्दानी ५ करोड ६९ लाख रुपैयाँबाट ४ करोड ७४ लाख रुपैयाँमा झरेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ९ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । अगिल्लो वर्ष ८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १ अरब १९ करोड ५२ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा २.५ प्रतिशत बढी हो । मानव संशाधन तथा व्यवस्थापनमा ५३ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४५ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ६५ करोड ६५ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ६ प्रतिशत घटी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत ३१ करोड ४७ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट ६८ लाख रुपैयाँ घाटा परेको छ । खराब कर्जाबाट २२ करोड १७ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।

बोनस र कर पश्चात ३५ करोड २७ लाख ३४ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति ११.१२ प्रतिशत, खराब कर्जा २.७६ प्रतिशत, कोषको लागत मूल्य ५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४ प्रतिशत, आधार दर ८.६६ प्रतिशत, औसत ब्याजदर अन्तर ३.११ प्रतिशत, तरलता २९.४३ प्रतिशत, प्रतिशेयर आम्दानी रु. १४.५१, प्रतिशेयर खुद सम्पति १३६.५, मूल्य आम्दानी अनुपात..................र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल ११.१२ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरुलाई सामान्य मान्नुपर्छ । जोखिम बहन गर्नसक्ने क्षमता घट्दै गएको छ । खराब कर्जा घटेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा नजिक छ । यसले निक्षेपको राम्रो उपयोग भएको देखाएको छ । कोषको लागत मूल्य गत वर्षभन्दा घटेको छ । आधार दर पनि घटेको छ । औसत व्याजदर पनि घटेको छ । आधार दर र व्याजदर अन्तर घट्दा पनि आम्दानीमा सन्तुलन आएको छ । शेयरधनी कोष (इक्विटी) मा हुने प्रतिफल सामान्य देखिन्छ । तरलता सामान्य छ ।

ब्याज आम्दानी सामान्य घटेको छ । शुल्क, कमिसन, बट्टा, अन्य संचालन आम्दानी घटेको छ । विदेशी मुद्रा सटहीबाट हुने आम्दानी बढेको छ । गैर-संचालनबाट घाटा परेको छ । असामान्य गतिविधिबाट आम्दानी गरेको छैन । नोक्सानी व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राख्नु परेकोले संचालन आम्दानी घटेको छ । तर नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले आम्दानीलाई सन्तुलनमा ल्याएको छ र खुद आम्दानी गत वर्ष भन्दा सामान्य बढेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च ४५ प्रतिशत रहेको छ । यसलाई अधिक मान्नुपर्छ ।

बैंकले गत वर्षको आम्दानीबाट ११ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडाबाट केहि तान्न सकेमा केहि बढ्न सक्छ ।

बैंकको चुक्ता पूँजी शेयर २ अर्ब ४३ करोड १६ लाख ८२ हजार रुपैयाँ रहेको छ । जगेडामा ८८ करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ । निक्षेप ३३ अरब रुपैयाँ र लगानी तर्फ २७ अरब  रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकका लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै एकै पटक अधिक पूँजी थप्नुपर्ने अवस्थालाई आत्मसात गरेर अगाडी बढ्नु पर्ने भएको छ ।

राष्ट्रियस्तरको एक विकास बैंक गाभ्ने योजना अन्तिममा आएर तोडिएको छ । ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन पर्खनु पर्दैन ।


एभरेष्ट बैंक २०७१/७२


नाफा नोक्सान

करिब ५ अरब रुपैयाँ ब्याज आम्दानी गरि २ अरब ११ करोड ६७ लाख रुपैयाँ व्याज खर्च पश्चात २ अरब ८७ करोड ९४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा ३ करोड ९३ लाख रुपैयाँ घटेको छ जुन अगिल्लो वर्ष भन्दा १.३ प्रतिशत घटी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी २५ करोड ४८ लाख रुपैयाँबाट बढेर ३० करोड ३६ लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी ३० करोड ९४ लाख रुपैयाँबाट बढेर ३८ करोड ९० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ६ करोड ७० लाख रुपैयाँबाट बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३ अरब ६५ करोड ९३ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ३ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा १ अरब २४ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ३४ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २ अरब ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३.१ प्रतिशत घटी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत १६ करोड ३९ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट १ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट २० करोड ७१ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।

बोनस र कर पश्चात १ अरब ५७ करोड ४३ लाख ५२ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १.५ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १३.३२ प्रतिशत, खराब कर्जा ०.६६ प्रतिशत, लागत मूल्य ३.२६ प्रतिशत, कर्जा निक्षेप अनुपात ६९.४७ प्रतिशत, आधार दर ६.१४ प्रतिशत, औसत ब्याजदर अन्तर ४.७६ प्रतिशत, तरलता ४०.५६ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ७८.०४, प्रतिशेयर खुद सम्पति ३४२.१८, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल २९.५ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता राम्रो छ । खराब कर्जा घटेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा भन्दा तल छ जसले तरलता बढाएको छ । लागत मूल्य गत वर्ष भन्दा घटेको छ । आधार दर र व्याज दर अन्तर घटेको छ । इक्विटीमा हुने प्रतिफल सवल देखिन्छ । तरलता अधिक छ ।

ब्याज आम्दानी र व्याज खर्च घटेकोले खुद आम्दानीमा यसको प्रभाव परेको छ । खुद व्याज आम्दानी १ प्रतिशतभन्दा बढी घटेको छ । शुल्क, कमिसन, बट्टा, अन्य संचालन र विदेशी मुद्रा सटहीबाट हुने आम्दानी सबै बढेको छ । गैर-संचालनबाट थोरै आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गरेको छैन । नोक्सानी व्यवस्था अघिको आम्दानी बढेको भए पनि नोक्सानी व्यवस्था पछीको आम्दानी घटेको छ । नोक्सानी व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राखेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले आम्दानीलाई केहि हदसम्म सन्तुलन कायम राख्न मद्दत पुगेको छ । खुद आम्दानी गत वर्ष भन्दा नगन्य बढेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च ३४ प्रतिशत रहेको छ । यस्तो खर्च गत वर्ष भन्दा बढेको छ । यसलाई सामान्य नै मान्न सकिन्छ ।

बैंकले गत वर्षको आम्दानीबाट ६२ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम रहेकोले केहि बढ्न पनि सक्छ ।

बैंकको चुक्ता पूँजी परिवर्त्य अग्राधिकार शेयर १२ करोड रुपैयाँ समेत जोडेर २ अर्ब १३ करोड रुपैयाँ रहेको छ । जगेडामा ४ अरब ८८ करोड ५७ लाख रुपैयाँ रहेको छ । निक्षेप ८३ अरब ९ करोड रुपैयाँ र लगानी तर्फ ५५ अरब ३६ करोड रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकको जगेडामा पर्याप्त रहेकोले शतप्रतिशत पूँजी थप्ने सक्षमता रहेको छ । यस अघि सामान्य पूँजी बढाएकोले एकैपटक अधिक पूँजी वृद्धि गर्दा बढ्दो पूँजी अनुरुपको आम्दानी कायम राख्न मुश्किल पर्नसक्छ । गत वर्षको तुलनामा यस वर्ष आम्दानी गर्न सकेको छैन । घट्दो आधार दर र व्याज अन्तर दरले आम्दानी संकुचित हुँदै गएको देख्न सकिन्छ । क्षेत्रीयस्तरका साना विकास बैंकले समेत चुनौती थपेको अवस्था छ । पहिले देखि नै पूँजी वृद्धि गर्दै लगेको भए अहिले यति कठिनाइको सामना गर्नुपर्ने अवस्था आउने थिएन । नगद लाभांशमा मात्र केन्द्रित रहनुको परिणाम अहिले देखिएको छ । एकातिर बैंकले ऋणपत्र समेत लिएको अवस्थामा त्यसको ब्याज तिर्नु पर्दा लागत मुल्य स्वत बढ्न गएको छ । पर्याप्त निक्षेप र जगेडा हुँदाहुँदै ऋणपत्र लिनु उपयुक्त पनि थिएन ।

बैंकका लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै यस पटक भने अधिक बोनस शेयर जारी गर्नुको बिकल्प छैन । अब हेर्न बाँकी छ बैंकले ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन पर्खनु पर्दैन ।