Showing posts with label रीट. Show all posts
Showing posts with label रीट. Show all posts

Monday, April 26, 2021

रीट : भूमिमा आधारित वित्तीय उपकरण

 नेपालमा कहिले आउला ?

पाहोम नामक एक रुसी किसानले मसँग धेरै सम्पत्ति भए मृत्युलाई नै जित्नसक्छु भनेका थिए l भोल्गा नदी किनारमा बस्ने बाश्किर जातिलाई खुशी पार्न सके १ हजार रुबल (रुसी मुद्रा) मा एकदिनभरमा घेरा हाल्न सकेजति जमिन दिन्छन भन्ने सुनेपछि उनी त्यता लागे l बिहान घामको झुल्कोदेखि हिंड्न शुरु गरेर साँझ घाम अस्ताउनु अघि सोही ठाउँमा आइपुगे पनि उनले भने झैँ मृत्युलाई जित्न सकेनन् l प्रशस्त जमिन प्राप्त गरे पनि अन्तमा उनलाई ६ फिट (लाश गाड्न) जमिन भए पुग्यो | यो ‘हाउ मच ल्याण्ड डज म्यान नीड’ शीर्षकमा रुसी कथाकार लियो टल्सटोयले लेखेको कथाको सारसंक्षेप हो l जमिन सबैभन्दा मूल्यवान सम्पति हो, यसलाई प्राप्त गर्न मानिस निरन्तर लागिरहेको हुन्छ l जमिन प्राप्त गर्न ठूलो धनराशी लाग्छ तर, त्यति धन नहुँदा अरुले पाएको लाभ हेर्नु बाहेक अर्को विकल्प हुन्न l l जमिन पनि स्टक एक्सचेन्जमा कारोबार हुने एउटा वित्तीय उपकरण बनिसकेको छ l यसलाई संक्षेपमा रीट भनिन्छ l

रीटको अवधारणा  

नेपालको स्टक एक्सचेन्जमा साधारण शेयर तथा केही मात्रामा म्युचुअल फण्डका एकाई र डिवेन्चर करोबार हुने गरेको छ l जमिनमा आधारित रीट (रियल स्टेट इन्भेष्टमेन्ट ट्रष्ट) अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ l सुन्दा अनौठो लाग्ने यो उपकरण स्टक एक्सचेन्जमा सूचीकरण भएर शेयर वा म्युचुअल फण्डका एकाई झैँ कारोबार हुन्छ l रीटको माध्यमबाट व्यवस्थित बस्ती विकास र ठूलाठूला व्यापारिक भवन स्वपूँजीबाटै विकास गर्न सकिन्छ l यसमा सानो रकम लगानी पनि सम्भव हुनेहुँदा आमव्यक्ति यस्ता भवनका मालिक बन्न सक्छन l स्वपूँजीले निर्माण सम्पन्न हुने र यसमा ऋणको मात्रा नहुने हुँदा तुलनात्मकरुपमा  लागत कम हुन्छ l सर्वाधिक लाभको क्षेत्रमा गच्छेअनुसारको लगानी गरी लाभमा सहभागी हुन पाउने अवसरले स्वनियमन समेत हुन्छ l व्यवस्थित बस्ती विकास आजको चुनौती बनेको अहिलेको अवस्थामा जग्गा प्राप्ति गर्ने कुरामा रहेको जटिलतालाई यसलाई सम्बोधन समेत गर्नसक्छ l २०७२ सालको भूकम्पपछि परम्परागत घर निर्माणमा आमुल परिवर्तन आएको छ l राजनीतिक कारणले पनि मानिसको बसाइँसराई शहरकेन्द्रित बन्दै गएकोले शहर साँघुरो बन्दै गएको छ l व्यवस्थित नयाँ शहरको अवधारण विकास नगर्ने हो भने अव्यवस्थितरुपमा विकास हुँदै गएको शहरले भोलिका दिनमा थप जटिलता थपिँदै जानेछ l यसको लागि रीटमार्फत सरकार आफैले पनि र निजि कम्पनीको माध्यमबाट आमव्यक्तिलाई साथ लिएर व्यवस्थित बस्ती विकास गर्न सकिन्छ l 

रीटको प्रकृति

स्टक एक्सचेन्जमा सूचीकरण भएर जग्गाको कारोबार हुन्छ भन्ने कुरा सुन्दै अनौठो लागे पनि यसलाई कारोबारमा ल्याउने प्रकृति शेयरभन्दा फरक हुन्छ l यसको प्रकृति करिवकरिव म्युचुअल फण्ड जस्तै हुन्छ l यसमा पनि प्रवर्द्धक, योजना व्यवस्थापक र सुपरीवेक्षक हुन्छन l म्युचुअल फण्ड जस्तै गरी एकाइ जारी गरि बाँडफाँड गरिन्छ l यस्ता एकाई एक्सचेन्जबाट शेयर जस्तै गरी किनबेच गर्न पनि सकिने हुँदा यसले तरलता पनि हुन्छ l यसो हुँदा एकाई धारकले पूँजीगत लाभ र लाभांश दुवै लाभ प्राप्त गर्न सक्छन l आवश्यकता अनुसार भित्रिन र बाहिरिन सहजता हुन्छ l आफैले जग्गा किनेर बेच्न ग्राहक खोज्ने झन्झट, किनेको जग्गा नक्कली हुनसक्ने, पूरा जग्गा नहुने, देखाएको र किनेको जग्गा नमिल्ने, भनेको बेला बेच्न नसकिने, मालपोतमा हुने झन्झटिलो प्रशासकीय प्रवन्ध जस्ता कारणले जग्गाको सहज कारोबार गर्न सकिन्न l ठाउँअनुसार एक टुक्रा जमिन एक करोड रुपैयाँ घटीमा पाइन्न l एक सामान्य व्यक्तिसँग १ करोड रुपैयाँ हुने परिकल्पना गर्न सकिन्न l २०/२५ लाख रुपैयाँले १ आना पनि जग्गा पाउन सकिन्न l तर, यही २५ लाख रुपैयाँ यस्ता योजना (रीट) मा लगानी गर्दा १ करोड रुपैयाँमा किनेको जग्गा मानौं १ वर्षपछि १ करोड २० लाख रुपैयाँमा बिक्री हुँदा जति नाफा  हुन्छ २५ लाख रुपैयाँ मात्र लगानी गर्नेले पनि समानुपातिकरुपमा त्यति नै नाफा प्राप्त गर्नसक्नु नै यसको सवल पक्ष हो l जग्गा मात्र एउटा यस्तो सम्पत्ति हो, जसको कहिले पनि ह्रास कट्टी हुँदैन बरु यसको हरेक वर्ष सरकारले नै मूल्य वृद्धि गर्छ l अन्य विभिन्न प्रकारका अचल सम्पत्ति (घर गाडी आदि) को मूल्यमा ह्रास कट्टी हुँदै निश्चित समयपछि मूल्यांकन शून्य हुन्छ तर, जग्गाको ठिक विपरित मूल्य वृद्धि हुँदैजान्छ l रीट ऋणरहित लगानी भएको हुँदा यसले दिन प्रतिफल उच्च हुन्छ l व्यवस्थापक तथा सुपरीवेक्षकले तोकिएको निश्चित शुल्क मात्र लिने र योजना विकास खर्च कटाएर बाँकी रहने सम्पूर्ण आम्दानी सबै एकाइधनीलाई नै जाने हुँदा यसको प्रतिफल उच्च भएको हो l रीट मुख्यतः इक्विटी र मोर्टगेज गरी २ प्रकारका छन् l इक्विटी रीटले व्यापारिक भवन भाडामा लगाएर त्यसबाट दीर्घकालीन आम्दानी प्राप्त गर्छ भने मोर्टगेज रीटले व्यापारिक भवन बनाउन वा खरिद गर्न ऋण दिन्छ यही नै यसको मूल आम्दानी हुन्छ l यसका साथै दुवै प्रकारको योजनामा लगानी गर्नसक्ने ठिमाह (हाईब्रिड) पनि हुनसक्छ l यस्तो योजना कुनै कम्पनीको रुपमा नरहेर एउटा योजनाको रुपमा रहेको हुन्छ l भारतमा इण्डियन ट्रष्ट कानुन अनुसार यसको कार्यान्वयन हुन्छ l सेक्युरिटीज एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) मा दर्ता हुनुपर्छ l सेबीले यसको नियमन गर्छ l

रीटको विकासक्रम

रीटको उत्पत्ति सन् १९६० मा अमेरिकी राष्ट्रपति आइजनहावरले शुरु गरेका थिए l जग्गा कारोबारबाट सबैले लाभ प्राप्त गर्नसक्ने किसिमले यसको शुरुवात गरिएको थियो l पहिलो रीट योजना अमेरिकन रियलटी ट्रष्ट थियो र यसको शुरुवात थोमस बोयहिलले गरेका थिए l अहिलेसम्म यस्ता योजना विस्तारित हुँदै करिव ४० देशमा पुगिसकेको छ l अफ्रिकाका नाइजेरिया र दक्षिण अफ्रिका लगायत ४ वटा देशमा तथा युरोपका इंग्ल्यान्ड, फ्रान्स र स्पेनलगायत ८ वटा देशमा यसको कार्यान्वयन भएको छ l अमेरिकी महादेश (उत्तर र दक्षिण) का सयुक्त राज्य अमेरिका, क्यानाडा, मेक्सिको र ब्राजिलमा पनि यसको कार्यन्वयन भईरहेको छ l त्यस्तै अष्ट्रेलियामा पनि यसको कार्यान्वयनको ईतिहास सन् १९७१ देखि भेटिन्छ l एसियाली देशमा पनि यसको कार्यान्वयन बढ्दै गएको छ l एसियाका १३ वटा देशले यसलाई कार्यान्वयनमा ल्याएका छन् l साम्यवादी मुलुक भनिने चिनमा चाइना सेक्युरिटीज रेगुलेटारी कमिसन र नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनले संयुक्तरुपमा पाइलट प्रोजेक्टको रुपमा रीट शुरु गर्ने घोषणा गरेका छन् l दक्षिण एसियाका भारत, पाकिस्तान र श्रीलंकामा पनि यसको शुरुवात भइसकेको छ l पाकिस्तानमा यस्ता ४ वटा र भारतमा ३ वटा यस्ता योजनाले अनुमति पाएका छन् l श्रीलंकामा पनि सन् २०२० को उत्तर्रार्द्धमा यसको कार्यान्वयन गरिने घोषणा सेक्युरिटी एक्सचेन्ज कमिसनले गरेको छ l कतिपय देशले यसलाई प्रवर्द्धन गर्न कर छुटको समेत घोषणा गरेका छन् l नेपालमा पनि यसको टड्कारो आवश्यकता देखिएको हुँदा अविलम्व यसको लागि नीतिगत व्यवस्था गरिनु अपरिहार्य भएको छ l

१० चैत २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/384378

 

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...