Showing posts with label वित्तीय विश्लेषण. Show all posts
Showing posts with label वित्तीय विश्लेषण. Show all posts

Tuesday, May 17, 2022

सञ्चित वा जगेडा कोष

 कम्पनी मजबुतीको दीर्घकालीन आधार

‘अमुक कम्पनीले उदार भएर लाभांश दियो’ र ‘अमुक कम्पनीले दिनसक्ने जति पनि दिएन’ यस्ता टिप्पणी शेयरबजारमा थुप्रै सुनिन्छ l नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत अधिकाँश कम्पनीले भाँडो रित्याएर लाभांश बाँड्ने गर्छन् l यस्ता लाभांश नगदभन्दा बढी बोनसको रुपमा जारी हुन्छ l कम्पनीका सञ्चालक र व्यवस्थापक पनि कसरी बढी बोनस जारी गर्न सकिन्छ भन्ने ध्याउन्नमा हुन्छन् l केन्द्रीय बैंकले तोकेरै वितरणयोग्य नाफाको अमुक प्रतिशत बोनस लाभांश देउ भनेपछि यस्ता सञ्चालक र व्यवस्थापकको लागि ‘बाँदरलाई लिस्नो’ भएको छ l कम्पनीले बढी बोनस देखाउन करवापतको नगदलाई समेत बोनस शेयर जारी गराएर करको दायित्व शेयरधनी माथि थोपरेका छन् l बोनसले कम्पनीको चुक्ता पूँजी बढ्दा यसको भारले दिनानुदिन थिचिंदै गएको छ तर, यसको कसैलाई केही मतलब नै छैन l कम्पनी मजबुती चुक्ता पूँजी हैन, सञ्चित नाफा वा जगेडाले हुन्छ भन्ने एकादेशको लोककथा जस्तो हुँदै गएको छ l नेप्सेमा सूचीकृत एकादुई कम्पनीसंग बाहेक अधिकाँश कम्पनीको जगेडा कोषमा रकम छैन बराबरै छ l

 सञ्चित वा जगेडा कोष

कम्पनी स्थापनापश्चात यसका शेयरधनीले लिन कबुल गरेको शेयरवापतको रकम दिन्छन l यही रकम कम्पनीले उद्देश्यअनुसारको कार्यमा लगाउँछ र नाफा आर्जन गर्छ l कम्पनीले उद्देश्यअनुसारको कार्य गरी प्राप्त गरेको आम्दानीलाई ‘संचालन आम्दानी’ भनिन्छ l कम्पनी ऐन, २०६३ को दफा १०८(१) अनुसार कम्पनीले नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक लेखा राख्नुपर्छ l दफा १०८(२) अनुसार यस्तो हिसाब कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्टरुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिंग स्ट्याण्डर्ड) अनुरुप दोहोरो लेखाप्रणालीमा आधारित रही पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्थाअनुरुप राख्नुपर्ने हुन्छ l कम्पनीले आर्जन गरेको आम्दानीबाट संचालन खर्च (कार्यालयको भाडा, इन्धन खर्च, मर्मतसम्भार, मसलन्द आदि), कर्मचारी खर्च (तलब, भत्ता, उपदान कोष, सञ्चयकोष, विदावापतको रकम, चाडपर्व खर्च, बोनस आदि) र  आयकर आदि कटाएर बाँकी रहेको रकम खुद नाफा हुन्छ l यस्तो खुद नाफाको पनि कम्पनी ऐन, २०६३ दफा १८२(६) अनुसार बाँडफाँड हुन्छ l यो व्यवस्था नियमन हुने र नहुने दुवै कम्पनीको लागि लागु हुन्छ l

कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन खर्च, प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामान अनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानून बमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरुपमा कट्टा गर्नुपर्छ l त्यस्तै, सोही दफाको प्रतिवन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ l प्रतिवन्धात्मक वाक्यांश बैंक र बिमा जस्ता नियमन हुने व्यवसायिक निकायको लागि गरिएको व्यवस्था हो l

ऐनको व्यवस्थाअनुसार नाफानोक्सान हिसाबकिताबबाट देखिएको खुद नाफाको पनि बाँडफाँड गरेर लाभांश बाँड्न सकिने रकमबाट पनि केही रकम बचाएर राखिने जगेडालाई ‘सञ्चित वा स्वतन्त्र जगेडा कोष’ भनिन्छ l यस्तो किसिमको जगेडा भविष्यको लागि बचत जस्तै हो र उपयोगको दृष्टिले शर्तरहित हुन्छ l हरेक आर्थिक वर्षको लाभांश बाँड्न सकिने सबै रकम लाभांशको रुपमा शेयरधनीलाई बाँड्दा शेयरधनी खुशी भए पनि कम्पनी संचालनको क्रममा भविष्यमा आउनसक्ने सम्भावित जोखिम वा संकटलाई सम्बोधन गर्दैन l सूचीकृत कम्पनीले नियामकीय निकायले तोकेको जगेडा कोषमा रकम राख्नेबाहेक पछिल्लो समयमा सञ्चित वा जगेडा कोषमा रकम राखेका छैनन् l वितरणका लागि उपलब्ध सबै रकम लाभांशकोरुपमा वितरण गरेर सकाएका छन् l कम्पनीको वित्तीय स्वास्थ्यका लागि यस्तो अभ्यासलाई उचित मान्न सकिन्न l कम्तिमा पनि हरेक कम्पनीले वितरणयोग्य नाफाको कम्तिमा १० प्रतिशत रकम यस्ता कोष राखेमा त्यसको लाभ कम्पनी र शेयरधनी दुबैको लागि हो l  

सञ्चित कोषको उपादेयता  

सतहीरुपमा हेर्दा वितरणयोग्य रकम शेयरधनीको हक लाग्ने हुँदा यस्ता रकम शेयरधनीलाई नै दिनुपर्छ भन्ने भनाई पनि आउँछ l तर, सैद्धान्तिकरुपमा जुनसुकै नाम दिइएको जगेडा कोषको रकम शेयरधनीकै रकम हो l सञ्चित जगेडा किन खडा गर्ने भन्ने विषयमा निम्नलिखित आधारबाट प्रष्ट पार्न सकिन्छ l


१.       स्थायी स्रोत : यस्ता कोषमा हरेक वर्ष  निरन्तर केही रकम राख्दै जाँदा त्यो रकमले स्थायी स्रोतको रुपमा कार्य गर्छ l संधैभरी बजारबाट स्रोत परिचालन गर्न सकिने अवस्था हुन्न र यस्तो बेलामा यस्ता कोषले काम दिन्छ l ‘भकारीमा अन्न भए नङले कोट्याएर पनि खान सकिन्छ’ भन्ने परम्परागत भनाइ त्यसै चलेको हैन l भकारीमा अन्न पनि छैन, बाहिर गएर कमाएर ल्याउन सकिने अवस्था पनि छैन भने भोकै मर्नेबाहेक विकल्प हुन्न l कम्पनीले पनि भकारी (जगेडा) मा केही रकम राखेको अवस्थामा सङ्कटकालिन अवस्थामा त्यसलाई परिचालन गरेर सङ्कट टार्न सकिने हुन्छ l यस्ता कोषले कम्पनीको व्यवासायिक अवसरलाई विस्तार गर्न मद्दत गर्छ l 

 

२.         लागतविहिन : यस्ता कोषको कुनै लागत हुदैन l आफ्नै भएकोले यसको ब्याज, शुल्क, महसुल केही तिर्नुपर्दैन l व्यवसायिक सम्भावनाक लागि थप पूँजी आवश्यक पर्दा थप शेयर (हकप्रद वा बोनस) जारी गर्दा त्यसवापत लागत तिर्नुपर्छ l त्यस्तै ऋणपत्र वा सापटी आदि लिँदा पनि त्यसको लागत अलग्गै हुन्छ l तर, कम्पनीसंग यस्ता कोष छन् भने त्यसलाई कुनै शुल्क तिर्नुपर्दैन र लागतरहित हुन्छ l यस्ता रकम परिचालन गरेर बढी लाभ लिन कम्पनी सक्षम हुन्छ र अन्ततः त्यसको लाभ लिने शेयरधनी हुन्छन l

 

३.       घाटा पूर्ति : कम्पनीले व्यवसाय संचालन गर्दा जुनसुकै बेला ठुलो घाटा वा जोखिम व्यहोर्नुपने किसिमको सङ्कट आइपर्ने सक्छ l उदाहरणको लागि नेपाल सरकारले मेलम्ची आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसंग ठेक्का तोडेपछी  चिनियाँ बैंकको लागि प्रतिसुनिश्चितता (काउन्टर ग्यारेन्टी) दिएका नेपालका बैंक अफ काठमाडौं र हिमालयन बैंकबाट ६०/६० करोड रुपैयाँ लिएको थियो l उक्त रकम नेपालका दुइ बैंकलाई चिनिया बैंकले दिनुपर्नेमा अहिलेसम्म दिएका छैनन् l यस्तो बेलामा यस्तै सचित कोषले काम गर्छ र सम्भावित घाटा रोक्न वा कम्पनी नै टाट पल्टिनबाट रोक्छ l 

 

४.      शेयर मूल्य वृद्धि :  कम्पनीको सञ्चित कोष बढ्दै जाँदा शेयर मूल्यमा पनि वृद्धि आउँछ l कम्पनीको शेयर मूल्य कम्पनीको सम्पत्ति, जगेडा, भावी सम्भावना तथा अवसर र मूल्य बढ्ने अनुमान (स्पेकुलेसन) ले बढ्छ l संचिति बढ्दै जाँदा नेटवर्थ पनि बढ्ने हुदा यसको सिधा प्रभाव शेयर मूल्यमा पर्छ l

निचोडमा, सञ्चित वा जगेडा कोष कम्पनीको लागि मजबुतीको आधार हो l यसले कम्पनी र शेयरधनी दुबैको लागि अवसरको सिर्जना गर्छ l आफ्नो शेयर आफैँ किन्नका लागि यस्ता जगेडा कोष उपयोगमा आउँछ र यसको लाभ स्वत: शेयरधनीले नै पाउँछन् l पूँजीको भार थप्न मरिहत्ते गरेर लागिपरेका केन्द्रीय बैंक र बिमा समितिले यसको महत्वलाई हृदयंगम गरी सञ्चित जगेडा वा कोष बढाउन लगाउनु अत्यन्तै जरुरी छ l

२० पुष २०७८, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/400649


Saturday, September 26, 2020

लक्ष्मी बैंक २०७१/७२


नाफा नोक्सान

शीर्षक
रकम
वृद्धि/कमि (प्रतिशत)
व्याज आम्दानी
२ अरब ५७ करोड ७६ लाख
३.५
व्याज खर्च
१ अरब ६१ करोड ८१ लाख
२.९
खुद व्याज आम्दानी
९५ करोड ९५ लाख ४३ हजार
१७
शुल्क, कमिसन र बट्टा आम्दानी
२१ करोड ६२ लाख ८८ हजार
११
अन्य संचालन आम्दानी
१५ करोड १० लाख ५३ हजार
४५
विदेशी मुद्रा सटही घटबढबाट आम्दानी
१२ करोड ३ लाख ८२ हजार
०.१६
कुल संचालन आम्दानी
१ अरब ४४ करोड ७२ लाख
१६

मानव संशाधन तथा व्यवस्थापन खर्च ५९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ कुल संचालन आम्दानीको ४१% रकम खर्च भएको छ l

नोक्सानी व्यवस्था अघिको संचालन आम्दानी ८५ करोड २० लाख २८ हजार रुपैयाँ । गतवर्ष भन्दा ११ करोड ६७ लाख ५१ हजार रुपैयाँ बढी हो अघिल्लो वर्षभन्दा १६ प्रतिशत वृद्धि भएको छ l

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत २४ करोड ३९ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ l संचालन आम्दानीको २९ प्रतिशत रकम व्यवस्था गरेको छ l नोक्सानी व्यवस्था पछिको संचालन आम्दानी गतवर्षभन्दा ८ प्रतिशतले घटेर ६० करोड ८० लाख ८३ हजार रुपैयाँ कायम भएको छ । गत वर्षभन्दा ५ करोड ३५ लाख ४० हजार रुपैयाँ घटेको छ l

गैर-संचालनबाट २ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ l खराब कर्जाबाट १ करोड ५७ लाख रुपैयाँ र
असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ l

बोनस र कर पछीको खुद आम्दानी ४१ करोड १९ लाख ६८ हजार रुपैयाँ छ । गत वर्ष भन्दा ६ करोड २८ लाख ८८ हजार घट्दा गुणात्मकरुपमा ३ प्रतिशत कमी भएको छ ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १०.८७ प्रतिशत, खराब कर्जा १.३ प्रतिशत, कोषको लागत मूल्य ४.५६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४ प्रतिशत, आधार दर ७.९ प्रतिशत, औसत ब्याजदर ४.०८ प्रतिशत, प्रतिशेयर आम्दानी रु. १७.६२, प्रतिशेयर खुद सम्पति १७४.७६ र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल १०.५७ प्रतिशत छ ।

सूचकहरुले स्थिति असामान्य बन्दै जान लागेको छ । जोखिम बहन गर्नसक्ने सम्पति घट्दो क्रममा रहेको छ । बैंकलाई तत्काल थप पूँजी चाहिएकोले पूँजी वृद्धि गर्न हकप्रद जारी गरि हालै बाँडफाँड समेत गरिसकेको छ । खराब कर्जा बढेको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकेको बिन्दु भन्दा केहि मात्र तल रहेको छ । यसले निक्षेप परिचालन राम्रो भएको देखाएको छ । लागत मुल्य घटेको छ । आधार दर पनि घटेको छ । ब्याज दर अन्तर बढेर गएको भए पनि तोकेको सिमा भन्दा तल छ । शेयरधनी कोष (इक्विटी) मा प्रतिफल न्यून देख्न सकिन्छ ।

आम्दानीको सबै स्रोतबाट हुने आम्दानी बढेको छ । व्याज खर्चमा कमि आएकोले खुद ब्याज आम्दानी बढी देखिएको छ । गैर-संचालनबाट पनि केहि आम्दानी गरेको छ । आम्दानीका सबै स्रोतबाट हुने आम्दानी बढे पनि नोक्सानी व्यवस्थाको लागि अधिक रकम व्यवस्था गर्नुपरेकोले खुद आम्दानी घटेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च सामान्य छ । बैंकले गत वर्षको आम्दानीबाट १३ प्रतिशत लाभांश दिनसक्छ ।

बैंकको पूँजी २ अर्ब ३३ करोड रुपैयाँ, जगेडा १ अरब ७४ करोड ८० लाख रुपैयाँ, निक्षेप ४० अरब रुपैयाँ र लगानीतर्फ ३१ अरब ५५ करोड रुपैयाँ र अन्य लगानी ६ अरब ४५ करोड रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाई ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले बैंकले के कस्तो रणनीति अपनाएर पूँजी वृद्धि गर्छ त्यो भने हेर्न अब केहि दिन मात्र पर्खे पुग्छ ।
हकप्रद पश्चात बैंकको पूँजी ३ अर्ब रुपैयाँ पुगेको छ ।

Wednesday, September 23, 2020

प्राईम बैंक २०७१/७२

 नाफा-नोक्सान

शीर्षक
रकम (रुपैयाँ)
वृद्धि/कमि
(प्रतिशत)
व्याज आम्दानी
३ अरब २५ करोड १८ लाख
१३
व्याज खर्च
१ अरब ८५ करोड ४८ लाख
२.४
खुद व्याज आम्दानी
१ अरब ३९ करोड ७० लाख
३२
शुल्क, कमिसन र बट्टा आम्दानी
१४ करोड ७३ लाख ९४ हजार
१०७
अन्य संचालन आम्दानी
२१ करोड ४३ लाख ७६ हजार
(११)
विदेशी मुद्रा सटही आम्दानी
७ करोड ४१ लाख ६३ हजार
१०५
संचालन आम्दानी
१ अरब ८३ करोड २९ लाख
३०
कर्मचारी तथा व्यवस्थापन खर्च
४२ करोड २५ लाख ४० हजार
२३
नोक्सानी अघिको संचालन आम्दानी
१ अरब ४१ करोड ४ लाख
३५

संचालन आम्दानीको २३ प्रतिशत रकम मानव संशाधन तथा व्यवस्थापन खर्च गरेको छ l

खराब कर्जा, बोनस, कर र खुद नाफा


शीर्षक
रकम
वृद्धि/कमि (प्रतिशत)
खराब कर्जा बापत
३१ करोड ११ लाख ९२ हजार
२२
नोक्सानी पछिको संचालन आम्दानी
१ अरब ९ करोड ९२ लाख
५०
गैर-संचालनबाट घाटा
५ करोड ५७ लाख ८६ हजार
खराब कर्जाबाट फिर्ता
२१ करोड ५६ लाख ८१ हजार
असामान्य गतिविधिबाट आम्दानी
शून्य
बोनस र करपछी खुद आम्दानी
८० करोड १२ लाख ५८ हजार
५०

खराब कर्जावापत देखिएको प्रतिशत अंक संचालन आम्दानीको हो l

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १२.३५ प्रतिशत, खराब कर्जा १.७५ प्रतिशत, कोषको लागत मूल्य ४.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४ प्रतिशत, आधार दर ७.६२ प्रतिशत, औसत ब्याजदर ३.४३ प्रतिशत, प्रतिशेयर आम्दानी रु. २५.५२, प्रतिशेयर खुद सम्पति १४०.७, शेयरधनी कोष (इक्विटी) मा प्रतिफल २० प्रतिशत रहेको छ ।

सूचकहरुले स्थिति सवल रहेको संकेत गरेको छ । जोखिम बहन गर्नसक्ने सम्पति पर्याप्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकेको बिन्दु भन्दा केहि मात्र तल रहेको छ । यसले निक्षेप परिचालन राम्रो भएको देखाएको छ । लागत मुल्य घटेको छ । आधार दर पनि घटेको छ । ब्याज दर अन्तर बढेर गएको भए पनि तोकेको सिमा भन्दा तल छ । शेयरधनी कोष (इक्विटी) मा प्रतिफल सवल देख्न सकिन्छ ।

आम्दानीको मुख्य स्रोत मध्ये संचालन आम्दानी केहि घटेको छ । व्याज आम्दानी बढेको अनुपातमा खर्च नबढेकोले खुद ब्याज आम्दानी अधिक बढेको देखिएको छ । शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी गुणात्मक रुपमा अधिक बढेको छ । गुणात्मक रुपमा बढे पनि परिमाण भने कम छ । यहि अवस्था विदेशी मुद्रा सटही घटबढबाट हुने आम्दानीको पनि छ । गैर-संचालनबाट गुमाएको छ । यसबाट गुमेको पूर्ति अन्य आम्दानीबाट गर्नुपरेको छ ।

आम्दानीको २२ प्रतिशत हिस्सा नोक्सानी व्यवस्थामा राख्नु परेको छ । गत वर्षको नोक्सानी व्यवस्थाबाट आएको रकमले केहि भरथेग गरेको छ । समग्र आम्दानीको भार भने ब्याज आम्दानी माथि परेको छ । र यसलाई टेको दिने काम भने बिदेशी मुद्रा सटही र शुल्क, कमिसन र बट्टाले दिएको छ । त्यस्तै संचालन खर्चमा आएको गुणात्मक कमीले पनि खुद आम्दानी गत वर्ष भन्दा ५० प्रतिशत बढ्न सकेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च न्यून छ । गत वर्ष भन्दा परिमाण बढे पनि गुणात्मक घटेको छ । यसलाई बैंकको उल्लेखनीय पक्ष मान्नुपर्छ ।

बैंकले गत वर्षको आम्दानीबाट २० प्रतिशत लाभांश दिनसक्छ ।

बैंकको पूँजी ३ अरब १४ करोड रुपैयाँ, जगेडा १ अरब २७ करोड ८१ लाख ५३ हजार रुपैयाँ, निक्षेप ४१ अरब रुपैयाँ, लगानी तर्फ ३२ अरब ७० करोड रुपैयाँ र अन्य लगानी ५ अरब ७४ करोड रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाई ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले बैंकले आफ्नै क्षमताले नै तोकिएको समय भित्र सकिने अवस्था विद्यमान रहेको कुरा उल्लेख गरेको छ । तथापी केहि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु छनोट गरि गाभ्ने एवम हकप्रद जारी गर्ने विकल्प समेत रहेको प्रकाशित विवरणमा उल्लेख छ ।


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...