Showing posts with label अनलाईन. Show all posts
Showing posts with label अनलाईन. Show all posts

Monday, April 26, 2021

शेयर कारोबारमा आदेश प्रविष्टि र अवधि

एक दिनदेखि अनन्तकालसम्म रहने

शेयर कारोबार गर्दा खरिदबिक्रीका लागि प्रविष्ट गरिने आदेश र बहाल रहने अवधी विभिन्न प्रकारका हुन्छन् l एकपटक हालेको आदेश १५ दिनसम्म कायम रहन्छ भन्ने बाहेक अन्य प्रकारका आदेश कति दिन वा समयसम्म कायम रहन्छ भन्ने विषय धेरैका लागि नौलो छ l अनलाईन प्रणालीमार्फत शेयर कारोबार हातहातमा पुगे पनि प्रविष्ट गरिने आदेश र वहाल रहने अवधीको जानकारी प्राय:लाई छैन l अझ कतिपयलाई त उपकरण (शेयर र फण्डका एकाइ) छनौट गरेर आदेश प्रविष्ट गर्नुपर्छ भन्ने पनि जानकारी भएको देखिन्न l अनलाईन प्रणालीको टीएमस (ट्रेड म्यानेजमेन्ट सिष्टम) मा उपयोगकर्ता प्रविष्ट भएपछि आदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खण्डमा देखिने उपकरणका प्रकार, प्रविष्ट गरिने आदेश, आदेश वहाल रहने अवधी र मूल्यको प्रकारका बारेमा पर्याप्त जानकारी विना कारोबार सम्पन्न हुनसक्दैन l

टीएमएसका उपकरण 

टीएमएसमा प्रवेश गरेआदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खोलेपछि आदेश (खरिद वा बिक्री) भन्ने विकल्प देखिन्छ l कारोबारका लागि ईक्वीटी (ईक्यू), बोन्ड (बीओ), म्युचुअल फन्ड (एमएफ), नन कन्भर्टीएबल डिवेन्चर (एनसीडी), प्रिफरेन्स शेयर (पीएस), पार्सल्ली कन्भर्टीएबल डिवेन्चर (पीसीडी), फुल्ली कन्भर्टीएबल डिवेन्चर (एफसीडी) र वारेन्टस (डब्लुएस) गरी ८ प्रकारका वित्तीय उपकरण देखिन्छन् l शेयरलाई जनाउन ईक्यू शब्द राखिएको छ l नेपालको शेयरबजारको सर्वाधिक प्रचलित वित्तीय उपकरण यही हो l यसपछिको दोस्रो सर्वाधिक प्रचलित उपकरण एमएफ हो l प्रचलित भाषामा डिवेन्चर भनिने उपकरण एनसीडीको नाममा कारोबार हुन्छ l कारोबार गर्दा यिनै उपकरणका प्रकार (आईएनएसटी टाईप) रोजेर आदेश प्रविष्ट गर्नुपर्छ l

आदेशको प्रकार

टीएमएसमा भएका वित्तीय उपकरण किनबेच गर्न विभिन्न प्रकारका आदेश प्रविष्ट गर्न सकिन्छ l आदेश कार्यान्वयन कसरी गराउने भन्ने ३ वटा विकल्प छन् l

 

१.        अल अर नोन  - प्रविष्ट कित्ता सबै कार्यान्वयन गराउने वा गराउँदै नगराउने अर्थात् अल अर नोन यस अन्तर्गत पर्छ l यसमा आँशिक कित्ता स्वीकार गरिन्न अर्थात्  कार्यान्वयन हुन्न l यसका फाईदा भनेको मागे जति कित्ता आफुले भनेकै भाउमा पाउन वा बेच्न सकिन्छ l जस्तो ५ हजार कित्ता शेयर ५ सय रुपैयाँको दरले आदेश प्रविष्ट गर्दा त्यतै नै कित्ताको लागि आदेश नआएसम्म कार्यान्वयन हुँदैन र रद्द हुन्छ l यस्तो प्रकारको आदेश लगभग फिल अर किल भन्ने अर्को प्रकारको आदेशसँग केही हदसम्म मिल्दोजुल्दो l

 

२.   तुरुन्त वा रद्द - आदेशको अर्को विधि ईमीडीयट अर क्यान्सिल हो l यसप्रकार आदेश प्रविष्ट हुनासाथ कार्यान्वयन हुन्छ वा तुरुन्तै रद्द हुन्छ l पुरै आदेश रद्द हुनु अघि तत्काल उपलब्ध कित्ता कार्यान्वयन पनि हुनसक्छ l उदाहरणको ५ सय रुपैयाँका दरले १ सय कित्ता आदेश प्रविष्ट भएकोमा पूरै कार्यान्वयन, पुरै रद्द वा आँशिक कार्यान्वयन हुन्छ l यस्तो आदेश कायम रहने अवधी सेकेण्डमा हुन्छ l 

        

 ३.    फिल अर किल - यसप्रकारको आदेशको स्वरूप लगभग अल अर नोन जस्तै हुन्छ l अल अर नोनमा बहाल रहने अवधी दिनभर हुन्छ भने यसमा प्रविष्ट गरिएका आदेश तुरुन्त कार्यान्वयन हुने वा तुरुन्त रद्द हुन्छ l यसको समयावधि सेकेण्डमा हुन्छ l


आदेश वहाल रहने अवधी

कारोबार समय शुरु भएपछि टीएमएसमा पूर्व, विशेष पूर्व र निरन्तर सत्र अन्तर्गत आदेश प्रविष्ट गर्न सकिन्छ l प्रविष्ट गरिएको आदेश वहाल रहने अवधी १ दिनदेखि रद्द नगरेसम्म कायम हुन्छ र सो अवधीभित्र मेल खाएमा कार्यान्वयन हुन्छ l शेयर कारोबारमा निम्न ३ किसिमका आदेश बहाल रहने अवधी छन् l

 

१.     डे - यसमा कारोबार खुलेको समयमा जुनसुकै बेला प्रणालीले तोकेको मूल्यान्तरमा आदेश प्रविष्ट गर्न र दिनभरमा जतिपटक पनि मूल्यान्तर भित्र रही संशोधन गर्न सकिन्छ l यो सर्वाधिक प्रचलित विधि हो l यस विधिबाट प्रचलनमा रहेका शेयर (ईक्यु), म्युचुअल फन्ड (एमएफ)नन कन्भर्टीएबल डिवेन्चर (एनसीडी) कारोबार गर्न सकिन्छ l पूर्व कारोबार सत्रमा प्रणालीले तोकेको मूल्यान्तरमा यस्तो आदेश हाल्न सकिन्छ l

 

२.       जिटीसी -  जिटीसी अर्थात गुड टिल क्यान्सिल्ड प्रकारको आदेश बीचमा रद्द नगरेमा तोकिएको दिनसम्म प्रणालीले कायम राख्छ र सो अवधी पूरा भएपछि स्वत: रद्द हुन्छ l यस्तो आदेश प्रविष्ट गरेको दिनदेखि १५ दिन (कार्य दिन हैन) सम्म कायम रहन्छ l यस्तो आदेश निरन्तर सत्र (११ बजेदेखि ३ बजेसम्म) मा मात्र राख्न सकिन्छ l आज फागुन २५ गते यस्तो आदेश राखेमा चैतको १० गतेसम्म कायम रहन्छ र सो दिनसम्म आदेश कार्यान्वयन नभएमा स्वत: रद्द हुन्छ l यस्तो आदेश हरेक दिन राख्न सकिन्छ l आदेश राख्दा सो दिनको मूल्यान्तरमा राख्नुपर्छ l मानौं आजको दिन ५ सय रुपैयाँको आधारमा २ प्रतिशतको मूल्यान्तरमा ४ सय ९० रुपैयाँमा आदेश राखेमा १५ दिनभित्र भाउ बढ्दै ५ सय ५० रुपैयाँ पुगि घट्दै ४ सय ९० मा आइपुगेमा प्राथमिकताको आधारमा यस्तो आदेश कार्यान्वयन हुन्छ l

 

३.       जिटीडी - जिटीडी अर्थात गुड टिल डे प्रकारको आदेश कति समयसम्म वहाल राख्ने भन्ने कुरा प्रविष्टकर्ताले रद्द नगरेसम्म कायम रहन्छ l जिटीसी र यसको मुलभूत भिन्नता भनेको आदेश बहाल रहने अवधिको मात्र फरक हो l अरु सबै कुरा एकै हुन्छ l

 मूल्य प्रविष्टि विधि

प्रविष्ट गर्न सकिने मूल्य लिमिट र मार्केट गरी २ प्रकारका छन् l नेपालमा सीएनसी अर्थात् क्यास एण्ड क्यारीको मात्र कारोबार हुनेहुँदा टीएमएसको आदेश व्यवस्थापन प्रणालीमा यो (सीएनसी) स्थायीरुपमा देखिन्छ l यसबाहेक एमआईस (मार्जिन इन्ट्राडे स्क्वायर अफ), एनआरएमएल (नर्मल) जस्ता अन्य विधि पनि हुन्छन् l अहिलेको प्रचलित कारोबारमा मूल्य प्रविष्ट गर्दा लिमिट वा मार्केटमा मात्र गर्न सकिन्छ l लिमिटमा मूल्य प्रविष्ट गर्दा अन्तिम कारोबार मूल्यको २ प्रतिशतले घटबढ गरेर प्रविष्ट गर्नुपर्छ भने मार्केटमा मूल्य प्रविष्ट गर्दा कम्पनी सङ्केत र कित्ता मात्र प्रविष्ट  गर्न पाइन्छ l बजारमा जुन मूल्यमा कारोबार भएको छ सोहीअनुसार मूल्य आफैँ निर्धारण हुन्छ l

यसबाहेक टीएमएसमा हाल नभएको ब्राकेट, कभर्ड, स्टप लस, स्टप लस मार्केट र डिस्क्लोज क्वान्टीटी जस्ता आदेश पनि  हुन्छन l यस्ता आदेश हालको प्रणालीले समाहित गर्न सक्दैन l हालको कारोबार प्रणाली सीएनसी भएको हुँदा यस्तो आदेशलाई समाहित नगरेको हो l यसबाहेक एएमओ (आफ्टर मार्केट अर्डर) भन्ने पनि हुन्छ l तर, नेपालमा यस्तो किसिमको आदेश प्रविष्ट गर्न सकिने सुबिधा अहिले उपलब्ध भएको छैन l यसप्रकारको आदेश जुनसुकै बेला प्रविष्ट गर्न सकिन्छ र कारोबार भएको बखत प्राथमिकताको आधारमा कार्यान्वयन हुन्छ l यस्ता आदेश प्रविष्ट हुने सुविधाका लागि दलाल कम्पनी आफैले टीएमएसको विकास गर्नुपर्ने हुन्छ l हालसम्म पनि दलालले आफैँले टीएमएस बनाउन नपाएको हुँदा शेयर कारोबारका विविध सेवा सुविधा प्राप्त हुन सकेको छैन l यसका लागि शीघ्रातिशीघ्र दलाल कम्पनीलाई एपीआई (एप्लिकेसन प्रोग्रामिंग इन्टरफेस) उपलब्ध गराउनुपर्छ l साथसाथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको उपयोगसम्बन्धि दिग्दर्शन सरल भाषामा तयार गरी सार्वजनिक गर्नुपर्छ l 

२५ फागुन २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/383571 

Monday, January 28, 2019

अनलाइन कारोबार र श्वेतपत्र


इन्टरनेटका माध्यमबाट वस्तु वा सेवाको किनबेच गरिने प्रणाली अनलाइन कारोबारहो । यस्तो कारोबार प्रणालीमा क्रेता र विक्रेता वा मध्यस्थकर्ता सशरीर भेट नभए पनि खरीददारी हुन्छ र भौतिक वस्तुको हकमा विक्रेता वा मध्यस्थकर्ताले निर्दिष्ट स्थानमा ढुवानी पनि गरिदिन्छन् । रकम लेनदेन डेविट वा क्रेडिट कार्ड मार्फत वा नगद पनि हुन सक्छ । इन्टरनेटको उपयोग गरी वस्तु वा सेवा बाहेक स्टक एक्सचेन्जमा सूचीकृत शेयर समेत किनबेच गर्न सकिन्छ । शेयर किनबेच सजिलो र सरल भने हुँदैन । यसमा केही कानूनी उपक्रम पूरा गरेपछि यस्तो कारोबार गर्न सकिन्छ ।

अनलाइनको बाल्यकाल

एक्सचेन्जको कार्यालयमा कराएर भाउ लगाउँदैहुने शेयर कारोबार दलालको कार्यालयमा आएको दिन अनलाइनको प्रस्थान विन्दु हो । दलाल कार्यालयमा सिनेमा हेरेझैं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा जहाँसुकैबाट पनि भइरहेको कारोबार हेर्न सकिन्छ । कति कित्ता, कति मूल्यमा, कति जना किन्न वा बेच्न बसेका छन् बजार गहिराइ (मार्केट डेप्थ) हेरेर दलाल कार्यालयमा उपस्थित भई वा सञ्चारका साधन मार्फत पनि आदेश दिन सकिन्छ । दिएको किनबेच आदेश दलालका कर्मचारीले एक्सचेन्जको आदेश कार्यान्वयन गर्ने सर्भरमा प्रविष्ट गरिदिन्छन् र मूल्य समय प्राथमिकताको आधारमा आदेश कार्यान्वयन स्वचालित रूपमा हुन्छ । आदेश कार्यान्वयन भएमा सञ्चारका साधन मार्फत सन्देश आइपुग्छ । यस्तो कारोबार प्रणाली अर्धस्वचालित (सेमिअटोमेटेड वा सेमिअनलाइन) हो । यसलाई स्वचालित पूर्ण अनलाइनको बाल्यकाल मान्न सकिन्छ ।

स्वचालित अनलाइन

अनलाइन कारोबारको शुरुआत गर्ने श्रेय अमेरिकी कम्पनी ट्रेड प्लसलाई जान्छ । सन् १९८५ मा ट्रेड प्लसले संसारमा पहिलोपटक स्वचालित अनलाइन कारोबार गरेको पाइन्छ । पछि सन् १९९१ मा यसका एक संस्थापक विलियम पोर्टरले ईट्रेड सेक्युरिटिज इंक खडा गरेका थिए । सन् १९९४ मा के. औफहासुर एन्ड कम्पनी इंक (पछि टिडी अमेरिट्रेडले प्राप्ति गर्‍यो) पहिलोपटक अनलाइन कारोबार गराउने दलाल बन्यो । विश्वबजारमा आइसकेको यस्तो स्वचालित प्रविधि नेपालमा पनि यसै वर्षबाट प्रारम्भ भएको हो ।

नेप्सेको अनलाइन

नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) भनिने यो अनलाइन प्रणालीमा रहेका २० ओटा मोड्युलमध्ये म्याचिङ इन्जिनमुख्य प्रणाली हो । यसबाहेक (१) संगठन तथा उपयोगकर्ता व्यवस्थापन, (२) कर्तव्य तथा अधिकार व्यवस्थापन, (३) सूचीकरण व्यवस्थापन, (४) धरौटी व्यवस्थापन, (५) दलाल व्यवस्थापन, (६) बजार निर्माता, (७) सूचकांक व्यवस्थापन, (८) मूल्य सम्बन्धी जानकारी प्रवाह, (९) जोखिम व्यवस्थापन प्रणाली, (१०) सुपरिवेक्षण प्रणाली, (११) ब्रोकर ब्याक अफिस प्रणाली, (१२) आदेश मार्ग व्यवस्थापन, (१३) सदस्य एडमिन टर्मिनल, (१४) ट्रेडर वर्क स्टेशनलगानीकर्ता, (१५) ट्रेडर वर्क स्टेशनदलाल, (१६) नियन्त्रण वर्क स्टेशन, (१७) एक्सचेन्ज मेसेजिङ प्रणाली, (१८) सदस्य पोर्टल र (१९) व्यवस्थापन सूचना प्रणाली रहेका छन् ।

अनलाइनका तीन भाग

अनलाइन प्रणालीमा नट्स, म्याचिङ इन्जिन र ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) गरि मुख्य ३ भाग रहेका छन् । चौथो भागका रूपमा लगानीकर्ता जोडिएपछि पूर्ण सामन्जस्य कायम भई कारोबार प्रणाली चल्छ । यसका अन्य अंगका रूपमा केन्द्रीय निक्षेपक (सीडीएस), राफसाफ सदस्य र समाशोधन बैंक लगायत रहेका हुन्छन् । नट्स र टीएमएस बीच इन्ट्रानेटबाट सम्पर्क स्थापित हुन्छ । इन्टरनेटले लगानीकर्तालाई टीएमएससँग जोड्नेछ । नट्स नेप्सेमा रहन्छ भने टीएमएस दलाल कम्पनीमा रहनेछ र इन्टरनेट
मार्फत लगानीकर्ता जहाँसुकैबाट सम्पर्कमा आउन सक्नेछन् । शुरुआती चरण भएकाले भने अहिले नै कारोबार पूर्ण स्वचालित भने हुने छैन । किनकि यसका लागि केही कानूनी र प्राविधिक पक्षको पूर्वाधार मिलाउन समय लाग्ने हुन्छ । भुक्तानी तथा फर्छ्यौट कानून संसदमा विचाराधीन रहेकोले सीधै बैंकबाट भुक्तानी र फर्छ्यौट भने सहज हुनेछैन । धितोपत्र कारोबारको रकम भुक्तान गर्न केन्द्रीय बैंकले दिएको विशेष सुविधाबाट सीमित रकम ईबैंकिङ मार्फत भुक्तान गर्न सकिनेछ । दलाल कम्पनीमा बुझाएको रकमको ४ गुणासम्म एकप्रकारको मार्जिन कारोबार जस्तै सीमा हुनेछ । पाकिस्तानमा पनि २५ हजारदेखि १ लाख पाकिस्तानी मुद्रा बराबरको रकम जम्मा गरेर दलालकोमा खाता खोलेपछि अनलाइन कारोबार गर्न सक्छन् ।

समस्याग्रस्त अनलाइन

गत कात्तिक २० गते अर्थमन्त्री डा. युवराज खतिवडाले विधिवत् उद्घाटन गरेको यो प्रणाली सञ्चालनमा अनेकौं समस्या आउन थालेपछि अहिले विवादित बन्दै गएको छ । माथि उल्लिखित मोड्युलले राम्रोसँग कार्य गर्न नसकेको घटना दिनदिनै देखिन थालेको छ । नेप्सेले यस्तो प्रणाली खरीदका लागि गरेको पहिलो सूचनादेखि नै अदालत, संसदीय समिति, अख्तियार हुँदै लामो कानूनी झन्झट पूरा गरी जडान भएको नट्सले सहज कार्य गर्न नसकेको भन्ने आमगुनासो आइरहेको छ । सूचीकरणपछिको पहिलो कारोबारमा केही कम्पनीका कारोबारमा देखिएका समस्या हेर्दा वास्तवमा अनलाइन प्रणालीमा कहीँ न कहीँ केही समस्या छ भन्ने अनुमान गर्न सकिन्छ । अनलाइनको जडान
पश्चात् मूल्य समायोजन भएका कम्पनीको शेयर समायोजन नहुनु, आदेश दिन नमिल्नु, आदेश नदेखिनु, मूल्य सीमा परिवर्तनको दायरा तोडिनु जस्ता समस्या दिनदिनै जस्तो देखिँदै आएको छ ।

सहज र असहज प्रविधि

प्रविधिका कुरा सोचेजस्तो सरल र सहज हुँदैन । अनलाइन प्रणाली नेपालको सन्दर्भमा नौलो विषय भएकाले अभ्यस्त पुरानो पद्धतिबाट एकैपटक नयाँ पद्धतिमा जान केही समय लाग्नु स्वाभाविक हो । पुरानोबाट नयाँ चिजमा हुने परिवर्तन स्वाभाविक हुन्छ निर्देशित हुँदैन । धेरैपछि
आफ्नै घर पुग्दा समेत नौलो र अन्तै आए जस्तो लाग्छ । जतिसुकै अभ्यस्त व्यक्तिलाई पनि नयाँ चिज सामान्य हेराइमा बुझ्न कठिन हुन्छ । कतिपय चिजको सुनिश्चितता कायम गराउन निश्चित दिन वा समय पर्खनुपर्ने हुन्छ । अहिले आजै चाहियो भनेझैं व्यवहार लगानीकर्ताले गरेको पाइन्छ । फिल्म जस्तो वास्तविकता काम गराइमा हुँदैन । त्यसैले रिलरियलफरक हुन्छ । फेसबुक चलाउन जान्दैमा प्रविधिविज्ञ हुन सकिँदैन । संसारले पहिले नै अभ्यास गरेको भए पनि अनलाइन शेयर कारोबार प्रणाली सम्बन्धी प्रविधि नेपालको लागि नयाँ हो । अब कसैले नचाहेर मात्र यो प्रणाली असफल हुँदैन । नचाहने पनि कोही छैन तर चाहियो भन्दैमा ठेकेदारको सानो छोराले बाबुलाई बैनी चाहियो भन्दा ठेकेदार बाबुले भन्ने बित्तिकै हुँदैन भन्दा कुल्ली थपेर भए पनि तुरुन्त चाहियोभने जस्तो बालहठले पनि केही हुँदैन ।

अनलाइनको श्वेतपत्र

अनलाइन कारोबार प्रणालीका मुख्य अवयव (नट्स, म्याचिङ इन्जिन र टीएमस) मध्ये कहाँ के मा समस्या आएर पूर्ण प्रक्रियामा जान सकेको छैन, अहिले देखिएका समस्या मूलतः कुन विषयसँग सम्बद्ध हुन्, यसको समाधान गर्न कति समय लाग्छ जस्ता कुराको यथोचित विवरण सार्वजनिक गर्न जरुरी देखिएको छ । अनलाइन कारोबार प्रणालीका लागि प्रस्तावमा मागिएका विषयको कार्यसूची र आपूर्तिकर्ता (भेन्डर) बीचमा बुझाइको कमी पनि एउटा कारण हुन सक्छ । प्रविधिको कुरा भनेको कार्यान्वयन गर्दा समस्या देखिँदै जाने हुँदा त्यसलाई सम्बोधन गर्दै जानुपर्ने हुन्छ । देखिएका समस्या के
के हुन् युजरनेम र पासवर्ड लिएर कारोबार गरिरहेका लगानीकर्तासँग राय लिएर अनलाइनका ३ मुख्य अंग र मोड्युलमा कहाँ के समस्या परेको छ र यसलाई सुचारू रूपले सञ्चालन गर्न कति समय लाग्छ भन्ने विषयमा नेप्से र स्वतन्त्र प्रविधिविज्ञको कार्यदल बनाई सिष्टम अडिटगरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

आर्थिक अभियान दैनिक, २०७५ माघ ८ गते

Saturday, December 22, 2018

अनलाइन सम्झौतामा छुटेका विषय

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्टरनेटमा आधारित स्वचालित विद्युतीय शेयर कारोबार प्रणाली (अनलाईन) को लागि कारोबार सदस्य (सदस्य) र ग्राहकबीच हुने सम्झौताको लागि ३९ वटा शर्त सहितको ढाँचा सार्वजनिक गरेसँगै सम्झौता गर्ने क्रम शुरु भएको छ  अनलाईनको शुरुवातपछि शेयर कारोबार ग्राहकको हात-हातमा आइपुगेको छ । आफू रहेको जुनसुकै स्थानबाट मोबाइल फोन (इन्टरनेट उपलब्ध भएमा), ल्यापटप वा डेस्कटप कम्प्युटरबाट शेयर क्रय-विक्रयको आदेश दिनसकिने सुबिधा अनलाईनले दिनेछ । अनलाईनका केहि सिमा (कानूनी र प्रविधि) भने हुनेछ । कानूनी सिमा बन्देज के के छन् संक्षिप्तमा यो आलेखको विभिन्न अनुच्छेदमा समिक्षा गर्ने प्रयास गरिएको छ । 

सम्झौताका शर्त बन्देजहरु

सम्झौतामा भएका मुख्य-मुख्य बुँदाहरु तालिकामा उल्लेख गरेर प्रस्तुत गरिएको छ । तालिकामा दिएका अंक क्रम संख्या नभएर सम्झौताका क्रम संख्या हुन् । 

बुँदा नं.
व्यवस्था
धितोपत्र कानुन र अन्य नियमकीय निकायले जारी गर्ने निर्देशन परिपत्र सम्झौताको अभिन्न अंग हुने ।
ग्राहक पहिचान फाराममा उपलब्ध गराएको विवरणमा कुनै फेरबदल आएमा ७ कार्य दिन भित्र सदस्यलाइ जानकारी दिनुपर्ने । (फोन नं., इमेल आदि)
कुनै कानुनले आर्थिक कारोबार गर्न रोक लगाउने गरि कुनै घटना घटेमा सदस्यलाई तुरुन्त जानकारी दिनुपर्ने । (दामासाही, बिघटन भएमा आदि)
४.
असम्बन्धित व्यक्तिले युजरनेम र पासवर्ड प्राप्त गरि अनधिकृत आदेश दिई कुनै दायित्व सिर्जना गराएमा पन्छिन नसकिने हुँदा यसको सुरक्षा गर्नु ग्राहकको जिम्मेवारी हुने ।
ग्राहकले एक सदस्यलाइ उपलब्ध गराएको हितग्राही खाता अर्को सदस्यलाइ पनि उपलब्ध गराएमा हुने हानि-नोक्सानीको जिम्मेवारी ग्राहकको हुने ।
प्राप्त युजरनेमबाट भएको सम्पूर्ण कारोबारको दायित्व वहन र राफसाफको जिम्मेवारी ग्राहकको हुने ।
युजरनेमको उपयोग गरि हुने दायित्वबाट नेप्सेको सम्पत्तिमा कुनै हानी भएमा ग्राहक जिम्मेवार हुने ।
बिक्री गरेको धितोपत्र भोलिपल्ट १२ बजेभित्र सदस्यको राफसाफ खातामा हस्तान्तरण गर्नुपर्ने र नगरेमा सिर्जित हुने दायित्व ग्राहकको हुने ।
बिक्री भएको धितोपत्रको आधार मूल्य राफसाफ हुने अगिल्लो दिन उपलब्ध नगराएमा वा गलत मूल्य उपलब्ध गराएमा सिर्जित हुने आर्थिक दायित्व ग्राहकको हुने ।
११
अग्रिम बुझाएको रकमको ४ गुणासम्म खरिद आदेश प्रविष्ट गर्नुपर्ने ।
१४
अग्रिम भुक्तानी वापतको रकमको सट्टा कारोबारयोग्य धितोपत्र पनि बुझाउन सकिने ।
१५
अग्रिम रकम बापत बुझाएको धितोपत्रको मूल्यांकन बजार मूल्यको ७० प्रतिशतसम्म हुने ।
१७
लिमिट अनुसार कारोबार गरि समयभित्र राफसाफको दायित्व पुरा नगरेमा टि+४ मा ग्राहकलाई जानकारी गराई खरिद गरिएको तथा जमानतमा लिएको धितोपत्र बिक्री, बैंक जमानतबाट रकम र सो को लागतको सोधभर्ना र नपुग रकम कानुन बमोजिम असुल गर्ने । 
२०
आदेश प्रविष्ट भइ कारोबार पश्चात मृत्यु भएमा वा अन्य जुनसुकै कारणबाट राफसाफ हुन नसक्ने स्थितिको सिर्जना भएमा सो दायित्व उत्तराधिकारीमा सर्ने ।
२१
नियमकबाट कारोबार रद्द गरेमा आदेश स्वत रद्द हुने ।
२२
नावालकको हकमा संरक्षक वा प्रतिनिधिले सम्झौता गर्नसक्ने ।
२३
सदस्यको काबु बाहिरको परिस्थितिबाट उत्पन्न हुने कुनै पनि दायित्वमा सदस्य जिम्मेवार नहुने ।
२४
ग्राहकले लिखित मन्जुरी दिई आदेश प्रविष्ट गर्न प्रतिनिधि नियुक्त गर्नसक्ने र दायित्व भने ग्राहककै हुने ।
२६
ग्राहकले विभिन्न विधि मार्फत आदेश दिनेसक्ने र सो को अभिलेखन तथा भण्डारण गर्ने सदस्यको दायित्व हुने ।
२७
मार्जिन कारोबार लिने भएमा सोहि नियम लागु हुने ।
२८
कानुनले धारण गर्न दिएको सिमा भित्र रही खरिद आदेश दिनुपर्ने ।
२९
आवश्यक परेमा धितोपत्र खरिद गर्ने रकमको स्रोत सम्बन्धि जानकारी गराउनपर्ने जिम्मा ग्राहकको हुने ।  
३०
पक्षकहरुले आ-आफ्नो दायित्व पुरा गरि १ महिनाको सुचना दिई सम्झौता रद्द हुने ।
३२
ग्राहकको अद्यावधिक ठेगानामा तोकिएको माध्यमबाट सदस्यले कुनै जनाउ वा सूचना दिएमा रितपूर्वक दिएको मानिने ।
३४
कानुनले तोकेको अवस्थामा बाहेक ग्राहकको गोपनीयता कायम राखिने ।
३६
अनलाईन कारोबार, एसएमएस सुविधा र त्यसको नविकरण गर्न लाग्ने शुल्क तिर्नुपर्ने ।

अनावश्यक शब्दको थुप्रो 

शीर व्यहोरालाई छोटो बनाउन सकिने स्थिति भए पनि त्यसो नगरिएकोले भद्दा बनेको छ । शीर व्यहोरामा आज फलानो बार, मिति.......फलानो कार्यालयमा दर्ता भएको र धितोपत्र वोर्डबाट अनुमति प्राप्त नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य फलानो ठाउँ दर्ता कार्यालय रहेकोभन्ने भद्दा वाक्य पढ्दापढ्दै अल्छी लाग्ने खालको छ । यस्तै शीर व्यहोरा ग्राहकको पनि छ । सम्झौताको अन्तिममा पुरा मिति राखिने हुँदा शीर व्यहोरामा अनावश्यक शब्दको थुप्रो लाग्दा वाक्य लामो र भद्दा भएको छ । त्यस्तै सम्झौतारत दोस्रो पक्ष ग्राहकको नाम (संस्थाको हकमा संस्थाको नाम) मात्र लेखेर व्यक्तिको तीन पुस्ते, स्थायी तथा अस्थायी ठेगाना, ग्राहक संकेत (युनिक क्लाइन्ट कोड), फोन नं., संस्थागत ग्राहकको हकमा दर्ता नं., दर्ता कार्यालय रहेको ठेगाना आदि जस्ता व्यहोरा सम्झौताको अन्तिममा क्रम मिलाएर राख्दा छरितो बन्नसक्थ्यो । 

छुटेका विषयवस्तु

सम्झौतामा नभई नहुने विवरण भने छुटेको छ । छुटेका र थप गर्नुपर्ने विषयवस्तु निम्न देखिन्छन् ।

१.     ग्राहकको जन्म मिति, हितग्राही खाता नं., इमेल ठेगाना, मोबाइल फोन नं., नागरिकता नं., जारी       जिल्ला, जारी मिति, बैंक खाता नं., बैंकको नाम र शाखा जस्ता व्यक्तिका प्राथमिक विवरण भने       कहिँ पनि उल्लेख गर्नपर्ने व्यवस्था गरिएको छैन । 

२.    सम्झौताको बुँदा १५ मा धितोपत्रको ७० प्रतिशतसम्म समग्र मूल्यांकन गर्नुको सट्टा नेप्सेले गर्ने कम्पनी वर्गीकरण अनुसार प्रत्येक वर्गका लागि अलग-अलग भार दिनु उपयुक्त हुन्छ ।

३.      बुँदा २२ मा उल्लेखित नाबालकको हकमा प्रतिनिधिभन्ने शब्दले के अर्थ दिने हो प्रष्ट भएन । 
   
४.  बुँदा २३ को सदस्यको काबु बाहिरको परिस्थितिको व्याख्या आवश्यक छ । यस्तै परिस्थिति ग्राहकलाई पनि पर्नसक्ने हुँदा यी दुबैलाइ मान्य हुनेगरी यस्ता विरोधाभाषपूर्ण परिस्थितिको उल्लेखन सम्झौतामा छुट्टै अनुसूची वा मूल सम्झौतामा राख्नु आवश्यक देखिन्छ । 

५.  बुँदा २४ मा वर्णित व्यवस्थाले के भन्न खोजेको प्रष्ट हुन्न । यो भनेको साधारण वा अधिकृत वारेस जस्तै हो वा अन्य केहि हो थप व्याख्या आवश्यक देखिन्छ । प्रतिनिधि नियुक्त गरेको कागजात बुझाउनुपर्ने कि नपर्ने पनि प्रष्ट उल्लेख हुनुपर्छ । 

६.    सदस्यको संकेत अंक कहिँ कतै भेटिन्न ।

अन्तमा, ग्राहकले सकेसम्म एउटै सदस्य दलालबाट कारोबार गर्नु उचित हुन्छ । दिनदिनै दलाल फेरिफेरि कारोबार गरिरहेका र जताततै हितग्राही खाता खोलेकालाई भने समस्या पर्नसक्छ । त्यसकारण अनलाईन सुबिधा लिनु अघि छरिएको शेयरलाई एकै खातामा संग्रह गरि एकै सदस्यबाट मात्र सुबिधा लिनु उचित हुन्छ । एक भन्दा बढी दलालबाट सुबिधा लिंदा कारोबार गर्न फरक-फरक ब्राउजरबाट आदेश प्रविष्ट गर्नुपर्ने हुँदा मोबाइलमा त्यति नै ब्राउजर राख्नुपर्ने हुन्छ । इन्टरनेट व्याण्डविड्थ त्यति राम्रो नभएको हुँदा मोबाइलमा धेरै ब्राउजर खोल्दा मोबाइल सुस्त हुँदा गलत आदेश प्रविष्ट भएमा आफैँलाई हानी हुनसक्छ । अग्रिम जम्मा गरिएको रकमको आधारमा ४ गुणासम्म खरिद आदेश प्रविष्ट गर्न सकिने हुँदा अहिले सजिलै आदेश दिए जस्तो अनलाईनमा हुनेछैन । शेयरबजारको पर्याप्त अनुभव नभएकाले अहिले अनलाईन सुबिधा नलिनु नै उचित हुन्छ ।


२०७५ पौष २ अभियान दैनिक

http://www.abhiyan.com.np/?p=301299

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...