Friday, May 29, 2020

पढाईको कुरा

समय : २०४०/४१
अहिले १ कक्षा पुग्न ३ वर्ष लाग्छ तर, हाम्रो पालामा विद्यालय जानासाथ १ कक्षामा पुगिन्थ्यो | मैले पनि १ बाटै शुरु गरेको हुँ l पढ्ने किताव र कापी सबैको काठको पाटी नै हो l यस्तो पाटीमा दलिनमा हुने ध्वाँसोले लिपिन्थ्यो l अनि यसमा खरीले लेख्न सिकिन्थ्यो l घर नजिकको निमावी स्कुलमा शुरुमा पढ्न गए पनि खै किन हो त्यहाँ मेरो लागि वातावरण उचित भएन l
घर नजिकको स्कुलमा वातावरण नबनेपछि मलाई बुबाले घरदेखि झन्डै १ घण्टा समय लाग्ने मावि स्कुलमा लगेर भर्ति गरिदिनु भो l यो विद्यालयको कथा पनि गजबको छ l खासमा यो विद्यालय मेरै गाउँ (बुलुंग) को बुलुंगसिममा आएको रहेछ तर, अहिले भएको ठाउँको नाम बुलुंगसी थियो l बुलुंगसिमलाई बंग्याएर बुलुंगसीमा राखिएछ l यो विद्यालय तत्कालिन शिक्षामन्त्री भोजराज घिमिरेले उद्घाटन गरेका हुन् भन्ने सुनेको छु l हुनत विद्यालयको लागि उपयुक्त स्थान बुलुंगसी नै थियो l पर्याप्त खुला ठाउँ र ठुलो चौर पनि भएकोले बुलुंगसिम भन्दा राम्रो छ l टाढा भए पनि यस विद्यालयमा मेरो लागि वातावरण राम्रो बनेछ र रमाइलो मानेर गएँ l मावि भएकोले होला मलाई शुरुमै किताव मिल्यो l
मंगसिरमा जाँच हुन्थ्यो l सबै जना जाँच जाँच भन्थे आफुलाई जाँच भनेको के हो थाहा थिएन l जाँचको दिन सबैलाई गोलो घेरा हालेर चौरमा बस्न भनियो l हुनत पढ्ने पनि बाहिर नै थियो तर, त्यो चाहिँ विद्यालय भवनको छेउमा हुन्थ्यो l शिक्षकले २ पाना कापी दिए र त्यसमा आफ्नो नाम रोल नं. लेख्न भनियो l अरु के के लेख्न लगाए अहिले बिर्सिएँ l यसैगरी जाँच सक्कियो, स्कुल विदा भयो र खै कुन दिन हो स्कुल आउनु भनिएको थियो l
म सो दिन स्कुल गएँ l एकजना सायद शम्भु गिरी भन्ने मलाई तिमी फस्ट भयौ म सेकेण्ड भनेर सुनाएको थियो l उसले पनि आफैल जानेर भनेको हैन l सायद उसका काका (वेदबहादुर गिरी) ले उसलाई भनेको हुनुपर्छ l किनकि वेद माथिल्लो कक्षामा भएको हुँदा भनेको हुनुपर्छ l अनि मैले यो के भनेको के हो भनेर सोधें उसले अब तिमीले ३ वटा कापी र सिसाकलम पाउँछौ भनेको थियो l मलाई त पत्यार पनि लागेन l नभन्दै कुनै एकदिन कक्षा १ मा प्रथम हुने ज्योति दाहाल भनेर बोलाएका थिए l म फूर्तिसाथ उठेर गएँ र कापी लिएको थिएँ l
त्यसपछि म दुइ कक्षमा पुगें एवम क्रमले कक्षा चढ्दै गइयो l प्रथम पनि मेरो हातबाट बाहिर गएन l ६ कक्षामा पुगेपछि विभिन्न प्रावि स्कुलबाट सायद ६ जना प्रथम भएर आएका थिए l झन्डै झन्डै वार्षिक परीक्षा हुने बेलामा एक किशोरी रामेछापवाट आइन l उनलाई किन ल्याइयो भन्ने थाहा छैन l उनी राम्रो पढ्ने विद्यार्थी थिइन् l स्कुल भएको गाउँको प्रधानपन्चको भदैनी रहिछन l
त्यो वर्ष ६ कक्षाको परिणाम निकाल्ने बेलामा निकै रस्साकस्सी परेछ l मेरो कुल अंक ४ सय ८१ उनको ४ सय ६१ आएछ l यो अंक उल्टो पार्न धेरै प्रयास भएछ तर, मेरै गाउँका एक शिक्षक (कैलाश खड्का) ले यो कुरा थाहा पाए पछि त्यसो हुन् दिएनन र म ७ जना यस्ता प्रतिस्पर्धीलाई उछिनेर प्रथम भएँ l
त्यो वर्ष स्कुलभरिमै धेरै अंक ल्याउनेमा म २ अंकले पछि परें l संयोगले मेरै दाई नाता पर्ने केशव खतिवडा ४ सय ८३ अंक ल्याएर विद्यालय प्रथम हुनुभएछ l दाई सायद त्यतिबेला ८ कक्षामा हुनुहुन्थ्यो जस्तो लाग्छ l
अर्को वर्ष ७ कक्षामा उनै प्रधानपन्चको भदैनी ५ सय ४६ अंक ल्याएर प्रथम र म ५ सय ३६ अंक ल्याएर द्वितीय हुन् बाध्य भएँ l त्यो वर्षको परीक्षाफल स्वीकार गरिन l सबै विषयको अंक मलाई चित्त बुझेन र मेरै गाउँका एकजना दाई लव खडका (हाल स्वर्गीय) ले यो हुँदै हुन्न भनेर साथ् दिनुभयो l
दाईको सहयोगमा तत्कालिन प्रधानअध्यापक बलरामप्रसाद शिवाकोटी (सुनखानी, दोलखा) लाई भेट्यौं l बलराम सर, जिरीबाट त्यस विद्यालय आउनु भएका प्रेम पाख्रिन सर (मिर्गे, दोलखा), लब दाई र म विद्यालयको पछाडी पट्टि बसेर कुरा गरियो l दुबै सरले मेरो कुरा जायज भएको तर, आफूले केही गर्न नसक्ने बताउनु भयो l लब दाईले पनि भइगो छोडीदेउ भन्नुभयो l मैले त्यतिबेला पुरस्कार दिने बेला मेरो नाम उच्चारण नगर्नु होला भनेर चेतावनी दिएँ l
मैले त्यसवर्ष एकदिन पनि हाजिर गर्दा येस सर भनिन l त्यत्तिकै हाजिर लगाए होलान सायद, मैले हेर्दा पनि हेरिन l प्रथम भएकी ति किशोरी पनि आफु प्रथम भएकोमा खास खुशी भएकी मैले महसुस गरिन l
पुरस्कार दिने दिन आयो म उपस्थित भएँ तर, मेरो नाम उच्च्चारण भएन l प्रथम भएकी ति किशोरी अनुपस्थित भइन l यदि मेरो नाम लिएको भए म त्यो पुरस्कार दुई शिक्षकलाई त्यहि समारोहमा दिने बिचारमा थिएँ l ति दुइजना शिक्षक बलराम शिवाकोटी र प्रेम पाख्रिन हैनन् अरु नै थिएँ l
८ कक्षामा म प्रथम ति किशोरी द्वितीय भयौं त्यसपछि मैले त्यो विद्यालय छोडें ति किशोरीले पनि छाडीछन् l
उनी रामेछाप नै फर्किइन् भन्नेसम्म सुनेँ l धेरैपछि उनीसँग काठमाडौंमै भेट भयो l उनीले ७ कक्षामा आफु प्रथम भएकोमा कुनै खुशी नभएको बताईन l त्यो कुरा ८ कक्षा पढ्दा नै मैले महसुस गरेको थिएँ l अचेल ति कता के गर्दैछिन् केही थाहा पत्तो छैन l
संक्षेपमा विद्यालयको परिचय
मैले पढेको मेरै गाउँको पहिलो विद्यालयको नाम श्री शारदा निम्न माध्यमिक विद्यालय थियो अहिले माध्यमिक भएको छ l अनि एक घण्टा परको विद्यालयको नाम श्री शान्ति आदर्श माध्यमिक विद्यालय लादुक हो l लादुक स्कुलको नामले चिनिन्छ l दोलखा जिल्लाको पुरानो मध्येको र उत्तरी क्षेत्रको त्यतिबेलाको एकमात्र माध्यामिक विद्यालय हो l
यसको स्थापना २०३४ सालमा भएको हो l अहिलेका बालबालिका मन्त्री पार्वत गुरुङले यहीँ पढेका हुन् l २०४८ को संसदीय चुनावमा विजयी जितवीर लामा जिम्वा र जिल्ला विकास समिति दोलखाको सभापति हुनुभएका लालकुमार केसी पनि यहिँ शिक्षक थिए l पूर्व अन्चालाधिश एवम् पूर्वान्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक जगदीश खड्काले पनि सम्भवत यहीँ पढेका हुनसक्छन l जगदीश खडका दाई स्कुल भएकै गाउँको वासिन्दा भएको हुँदा पढेको अनुमान गरेको हुँ l

Thursday, May 28, 2020

भारतीय कम्पनीको शेयर बाईब्याक


भारतीय शेयरबजारमा सूचीकृत कम्पनीले आफ्नो शेयर आफैँ किन्ने (बाईब्याक) घोषणा गरिरहेका छन् । सामान्यतया: कम्पनीले आफ्नो शेयर अरुलाई बेचेर अरु कम्पनीको शेयर किन्ने गर्छन । आफ्नै शेयर पनि किन्न पाइन्छ र भन्ने धेरैलाई लाग्नसक्छ । नेपालमा सम्भवत यस्तो अभ्यास अहिलेसम्म नभएको हुँदा अनौठो लाग्नु स्वाभाविक हो । कम्पनी कानुनले तोकेको शर्त पूरा गरी कुनै पनि कम्पनीले आफ्नो शेयर आफैँ किन्न सक्छन । भारत लगायत अन्य देशमा यस्ता गतिविधि (बाईब्याक) साधारण कुरा हो ।

के हो बाईब्याक

प्रारम्भिक सार्वजनिक निर्गमन अर्थात् इनिसियल पब्लिक अफरिंग (आइपिओ) को ठिक उल्टो बाईब्याकहो । कम्पनीले पूँजीको अंश आइपिओ मार्फत बिक्री गरेर पूँजी जुटाउँछन् भने बाईब्याकमा त्यसरी बेचिएको शेयर धारक (शेयरधनी) बाट फिर्ता (खरिद) गरेर पूँजी घटाउँछन् । कम्पनीले पूँजी जुटाउँछन् भन्ने मात्र सुनेकाको लागि आफ्नै शेयर आफैँले किनेर पूँजी घटाउँछन् भन्दा अचम्म नलाग्ने कुरै हुन्न । तर, यो सत्य हो र अभ्यासमा छ ।

किन गर्छन बाईब्याक

आइपिओ जारी गरेर पूँजी जुटाउने कम्पनीले किन बाईब्याक गरेर पूँजी घटाउँछन् धेरैलाई यो विषयमा खुल्दुली हुनसक्छ । बाईब्याक गरिने केही कारण संक्षेपमा चर्चा गरिएको छ ।

१.       कम्पनीले हरेक वर्ष खूद नाफाबाट केही रकम संचित कोष (स्वतन्त्र कोष वा जगेडा) मा राख्ने गर्छन् । कम्पनीको संचित कोषमा रहेको रकम शेयरधनीकै कोष भएकोले यस्तो रकम खर्च गर्नको लागि अन्य क्षेत्र नहुँदा आफ्नै शेयरधनीसंग रहेको शेयर खरिद गर्दा लाभ आफ्नै शेयरधनीले पाउँने अवसर प्राप्त हुन्छ । कम्पनीले लाभांश दिएर पनि संचित कोषमा पर्याप्त रकम हुने हुँदा बाईब्याक शेयरधनीको लागि दोहोरो लाभको अवसर हो । यसो गर्दा कम्पनीको पूँजी कम हुनजान्छ र बढी प्रतिफल प्राप्त हुन्छ । शेयर कित्ता धेरै हुनुभन्दा राम्रो (धेरै) नाफा दिनसक्ने थोरै कित्ता शेयर हुनु राम्रो कुरा हो । बजार मूल्यभन्दा बढी मूल्य बाईब्याक गरिन्छ । कम्पनीले शेयर बाईब्याक गरेपछि पूँजी घट्छ र पूँजी घट्दा प्रतिशेयर आम्दानी बढ्छ ।

२.         कम्पनी मजबुत अवस्थामा पनि शेयरको संख्या बढेको कारण बजारमा शेयरको आपूर्ति बढी हुँदा शेयर मूल्यमा कमि आउँदा कम्पनीले शेयर मूल्य बढाउन पनि यस्तो घोषणा गर्नसक्छ । किनकी यसो गर्दा कम्पनीको पूँजी घट्छ र शेयर कित्ता कम हुन्छ ।

३.   कुनै कारणवश (जस्तै कोरोना त्रासदी) कम्पनीको शेयर मूल्यमा अत्यधिक गिरावट आउन थालेपछि कम्पनीप्रति शेयरधनीलाई विश्वास जगाउन आफ्नो शेयर आफ्नै किन्छन । यसो गर्दा कम्पनीको स्थिति मजवुत रहेको भन्ने सन्देशले प्रवाह हुन्छ ।

४.      कुनै समूहले बढीभन्दा बढी शेयर किनेर प्रतिरोधी कब्जा (होस्टाइल बिडर) नगरोस भन्नाको लागि पनि कम्पनीले बाईब्याक रणनीति अपनाउने गर्छन । अधिकाँश कम्पनीले बाईब्याक गर्नुको मूल कारण यही हुन्छ । अहिले भारतीय कम्पनीले बाईब्याक गर्नुको एउटा कारण यही हो ।

भारतीय कम्पनीको बाईब्याक

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीसी) ले हाउजिंग डेभलपमेन्ट फाइनान्स कम्पनी (एचडीएफसी) को १ दशमलव शून्य १ प्रतिशत शेयर किनेपछि भारतीय कम्पनी झस्केको अनुमान गर्न सकिन्छ । कम्पनीले प्रकाशन गरेको मार्च महिनासम्म कायम शेयरधनीको विवरणमा डिसेम्बरको भन्दा (शून्य दशमलव ८ प्रतिशत) २६ प्रतिशत बढी शेयर पीबीसीको नाममा देखिएको छ । एचडीएफसीमा पीबीसीसहित झन्डै २ हजार विदेशी संस्थाको लगानी छ । सबैभन्दा बढी विदेशी र स्वदेशी लगानी क्रमशः सिङ्गापुर सरकार र भारतीय जीवन बिमा निगम अर्थात् लाईफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डियाको छ । एचडीएफसी मूलतः हाउजिंग र रियल स्टेट कम्पनी हो । एचडीएफसीले प्रवर्द्धन गरेको एचडीएफसी बैंकमा १९ दशमलव ४३ प्रतिशत, एचडीएफसी एसेट म्यानेजमेन्ट कम्पनीमा ५२ दशमलव ७ र एचडीएफ लाइफ इन्सुरेन्समा ५१ दशमलव ४५ प्रतिशत शेयर हिस्सा छ ।

भारतमा बाईब्याक सामान्य प्रक्रिया हो । तर, यसपटकको बाईब्याक अलि विशेष बनेको कारण केहीहदसम्म माथि उल्लेख गरिएको छ । मूलत घट्दो बजारमा मूल्य घट्दा प्रतिरोधी कब्जा हुने डरले कम्पनीले बाईब्याक प्रस्ताव गरेको अनुमान गर्न सकिन्छ । मार्च महिनामा सन् फर्मास्युटिकल्स, आदित्य भिजन, कोरल इन्डिया फाइनान्स एण्ड हाउजिंग, डाल्मिया भारत, डेल्टा कर्प, टिप्स इन्डष्ट्रिज, स्टरलाईट टेक्नोलोजीज, रामकृष्ण फोर्गिन्स, मोतिलाल ओसवाल फाइनासियल सर्भिसेस, इमामी, सुप्रिम पेट्रोलियम, एस्टर डीएम हेल्थकेयर लिमिटेड लगायत कम्पनीले बाईब्याक घोषणा गरेर कतिपयले किनिसकेका छन् कतिपय किन्ने प्रकियामा छन ।

औषधि निर्माता कम्पनी सन फर्मास्युटिकल्सले चुक्ता मूल्य १ रुपैयाँ भएको ४ करोड कित्ता शेयर अधिकतम ४ सय २५ रुपैयाँमा किन्ने घोषणा गरेको छ । बाईब्याक प्रयोजनका लागि कम्पनीले १७ अर्ब रुपैयाँ छुट्ट्याएको छ । सिमेन्ट उत्पादक कम्पनी डाल्मियाले २ रुपैयाँ चुक्ता मूल्य भएको ७१ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ७ सय रुपैयाँमा किन्नको लागि ५ अर्व रुपैयाँ छुट्ट्याएको छ । मोतिलाल ओसवाल फाइनान्सियल सर्भिसले २३ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ६ सय ५० रुपैयाँमा किन्न १ अर्व ५० करोड रुपैयाँ छुट्ट्याएको छ । कम्पनीको चुक्ता मूल्य १० रुपैयाँ छ । सूचना प्रविधि कम्पनी जष्ट डायल लिमिटेडले २ अर्व २० करोड रुपैयाँ बराबरको ३१ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ७ सय रुपैयाँमा किन्ने बताएको छ । यसको पनि चुक्ता मूल्य १० रुपैयाँ छ । घरायसी र सौन्दर्य सामग्री उत्पादक कम्पनी इमामी,  इन्डिया बुल रियल स्टेट, थोमस कुक लिमिटेड लगायत कम्पनीले पनि शेयर बाईब्याक गर्ने भएका छन् ।

नेपालमा बाईब्याक

नेपालमा पनि कम्पनी ऐन, २०६३ र बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, २०७३ मा आफ्नो शेयर आफैँ किन्न सक्ने व्यवस्था छ । तर, अहिलेसम्म सम्भवत कुनै पनि नेपाली कम्पनीले बाईब्याक गरेको देखिएको छैन ।  नेपालका एकादुई कम्पनीले बाईब्याक गर्नसक्ने हैसियत राखे पनि अधिकाँश कम्पनीको हैसियत छैन । कोरोना त्रासदीपश्चात कम्पनीको आय घट्न सक्ने आशंकाले शेयर मूल्य घटिरहेको बेला यस्ता बाईब्याकले कम्पनीप्रतिको धारणामा शेयरधनीलाई सकारात्मक प्रभाव पार्न भारतमा शेयर बाईब्याक गर्न लागेको देख्न सकिने एउटा कारण हो । अर्को कारणको रुपमा शेयर भाउ घटेपछि हुनसक्ने प्रतिरोधी कब्जाबाट बच्न हो । नेपालका सूचीकृत कम्पनी मध्ये बैंक र बिमा क्षेत्रमा संस्थापक समूहको ५१ प्रतिशत हिस्सा स्थिर रहने हुँदा प्रतिरोधी कब्जाको सम्भावना शून्य छ । संस्थापक समूह बाहेक बाहिर रहेको शेयर कुनै व्यक्ति वा समूहले लिएर प्रतिरोधी कब्जा हुनसक्दैन ।  यी दुई बाहेक अन्य क्षेत्रका कम्पनीमा प्रतिरोधी कब्जा हुनसक्ने सम्भावनालाई टार्न सकिन्न । यद्धपि यसको पनि सम्भावना कम छ ।

नेपालमा बाईब्याक गर्ने स्थिति भनेको अहिले जस्तै शेयरधनीले विश्वास गुमाउन सक्ने सम्भावनालाई टार्नु मात्र हो । तर, नेपालका कम्पनीसँग संचित रकम ‘सिला’ खोजे बराबर हुँदा बाईब्याक गर्लान भन्ने आशा गर्न सकिन्न ।

१३ जेष्ठ २०७७ अभियान 

Wednesday, May 27, 2020

अनौठो खेल


विद्यालय पढ्दा हामी एउटा खेल खेल्ने गर्थ्यौं । यसको नाम ‘ग्याम्बल’ भन्थे । यो खेलमा दुबैतिर बराबर वा घटीबढी पनि हुन्थ्यो ।

खेल सामग्रीमा ५, ७ वा ९ वटा चप्लेटी परेका वा नमिलेका ढुङ्गा र १ वटा रवर वा थाङ्नाको भकुण्डो हुन्थ्यो । खेल पहिले कसले शुरु गर्नें भन्नलाई गाई कि त्रिशुल वा ढुङ्गामा थुकेर घाम कि पानी गरेर पालो तोकिन्थ्यो ।

उल्लेखित ढुङ्गा थुपारेर माने जस्तो बनाइन्थ्यो । पालो जित्ने समूहले निश्चित दूरीबाट भकुण्डोले हानेर माने ढाल्नुपर्थ्यो । एकजनाले ३ पटक पालो पाउँथ्यो । मानेको अर्कोपट्टी छेउमा अर्को पक्षको खेलाडी भकुण्डो समाउन बस्थ्यो । माने ताकेर हानेको भकुण्डोले मानेलाई नलागी गएको भकुण्डो मानेको अर्को छेउमा बसेकोले दुइ हातले च्याप्प समातेमा भकुण्डो हान्नेको पालो जान्थ्यो । एवम् क्रमले कसैले पनि माने ढाल्न नसकेमा त्यसको पालो जान्थ्यो र विपक्षीको पालो आउँथ्यो । भकुण्डो हान्दा उचालेर हान्न पाइन्नथ्यो । कम्मरमुनिबाट जमिनसँग समानान्तर पारेर मानेलाई ताक्नुपर्थ्यो ।

माने कुनै पनि समुहले माने ढालेपछि माने ढाल्ने समुहले त्यो भकुण्डो लात्ताले गुडाएर टाढा टाढा लानुपर्थ्यो र यतिबेला त्यहि समूहले ढालिएको माने उठाउनपर्थ्यो । अर्को समुहले लात्ताले भकुण्डो गुडाउनेवाट भकुण्डो खोसेर त्यसलाई त्यहि भकुण्डोले गोलीगाँठा भन्दा माथि हिर्काउनु पर्थ्यो । यसरी हिर्काएमा त्यो समुहले पालो गुमाउने हुन्थ्यो र माने उठाएर अर्को समुहले माने ढाल्ने कार्य शुरु हुन्थ्यो तर, यसो गर्दा खेल ढिलो हुनेहुँदा पहिले ढलेको मानेलाई नै पछिल्लो समुहले ढालेको मानेर खेल जारी हुन्थ्यो ।

माने ढाल्ने समुहले आफ्ना कुनै सदस्यलाई अर्को समूहले भकुण्डोले हान्नु अघि नै माने ठड्याएमा त्यो समुहले खेल जित्थ्यो ।

कथंकदाचित भकुण्डो गुडाएर लाने क्रममा वा अर्को समुहले भकुण्डो गुडाउनेलाई हान्दा डिलमुनि पुगेर भकुण्डो हराएमा माने उठाउन रोक लगाइन्थ्यो । भकुण्डो नभेटिएसम्म रोक कायम रहन्थ्यो । हराएको भकुण्डो खोज्न दुबै समुह लाग्थ्यो र भेटिएपछि सहज ठाउँमा आएर भकुण्डो गुडाउने समुह तितरवितर हुन्थ्यो र खेल जारी हुन्थ्यो र माने उठाउन पाइन्थ्यो ।

यो खेलमा न समय तोकिएको हुन्थ्यो न माने उठाउने संख्या । मन लागुन्जेल खेलिन्थ्यो । हारजित त हुन्थ्यो तर, पैसा लेनदेन हुन्नथ्यो । शारीरिक अभ्यास खुबै हुन्थ्यो । कडा मेहनत हुने भए पनि भोक पनि लाग्दैनथ्यो । घर पुग्दा केही खानेकुरा पाए खाइन्थ्यो नत्र घरको काममा लागिन्थ्यो ।

यो खेल मैले मेरै गाउँ (जिल्ला दोलखा) मा धेरै खेलेको छु । अन्त कहाँ कहाँ यस्तो खेल प्रचलित थियो थाहा छैन र यसको खास नाम के हो पनि थाहा छैन ।

यस्तै किसिमको खेल अरु कसैले खेल्नुभएको छ ?



Sunday, May 24, 2020

शेयर बजारमा दूरसंचार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २ सय ४ वटा (नेप्से, साप्ताहिक प्रतिवेदन, फाल्गुन १०) कम्पनीको सूचीमा एकमात्र दूरसञ्चार कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पनि रहेको छ | एउटा मात्र कम्पनी सूचीकरण भएकोले नेप्सेले यसलाई अन्य समूहमा वर्गीकृत गरेको छ | नेप्सेले सूचीकृत कम्पनीलाई व्यवसायको क्षेत्रगत प्रकृति अनुसार ११ वटा समूहमा बाँडेको छ | अन्य समूहमा परे पनि नेपालको शेयरबजारको दिशा निर्धारण गर्नेमा यसकै महत्वपूर्ण भूमिका रहेको छ | चुक्ता पूँजी र पूँजीकरणको आधारमा अग्रणी रहेको नेपाल टेलिकमले नेपालको शेयर कारोबार मापन गर्ने नेप्से सूचकांकलाई उचाल्न र खसाल्न अहिले पनि शीर्ष भूमिका निर्वाह गर्छ | समग्र बजार पूँजीकरणमा पनि नेपाल टेलिकम अग्रस्थानमा पर्ने गरेको छ | अहिलेका ठूला भनिएका र औसतमा २ सय बजार भाउ भएका ६ वटा वाणिज्य बैंक बराबरको बजार पूँजीकरण नेपाल टेलिकम एक्लैले कायम गरिदिएको छ |

६ कम्पनी ६ थरि शर्त

अहिले नेपालमा नेपाल टेलिकम सहित ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनी रहेका छन् | नेपालमा दूरसञ्चार ऐन २०५३ र नियमावली २०५४ जारी भएपछि दूरसञ्चार क्षेत्रमा सरकारी मात्र हैन निजि कम्पनीको लागि पनि बाटो खुलेको थियो | २०५६ सालमा युनाइटेड टेलिकम लिमिटेडलाई दूरसञ्चार सेवा संचालन गर्ने अनुमति दिईएपछि अन्य कम्पनीहरु पनि क्रमशः खुल्दै गए | त्यसपछि दोस्रो स्पाइस नेपाल प्रालि (हाल एनसेल प्रालि), तेस्रो एसटिएम टेलिकम संचार प्रालि (हाल सिजी कम्युनिकेसन्स प्रालि), चौथो स्मार्ट टेलिकम प्रालि र पाँचौ कम्पनीको रुपमा नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेल्लो नेपाल) ले अनुमति पाएका थिए | उल्लेखित ६ वटा दूरसञ्चार कम्पनीका अनुमतिका शर्त भने फरक-फरक रहेका छन् | नेपाल टेलिकमलाइ दूरसञ्चारका उपलब्ध सबै सेवा संचालन गर्ने अनुमति रहेको छ | तेस्रो कम्पनीको रुपमा अनुमति पाएको सिजि (एसटिएम टेलिकम) ले पूर्वान्चलका १६ जिल्लाका टेलिफोन नपुगेका ५ सय ३४ गाविसमा २ लाइन फोन पुर्याउने गरि शर्त तोकेर अनुमति दिईएको थियो | २०५६ मा नै अनुमति दिइएको एनसेल (स्पाइस नेपाल) लाई मोबाइल सेवाको लागि अनुमति दिइएको थियो | त्यस्तै स्मार्टलाई पनि पूर्वान्चल र काठमाडौं उपत्यका बाहेकका फोन नपुगेका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउन अनुमति दिइएको थियो भने अन्तिमा पाँचौ कम्पनी नेपाल स्याटेलाइटलाई मध्यपश्चिमान्चलको राप्ति भेरी र कर्णाली अंचलमा ल्याण्डलाइन र मोबाइल फोन सेवा पुर्याउन अनुमति दिइएको थियो | सिजि (एसटिएम टेलिकम) र स्मार्टलाई दिइएको अनुमतिलाई ‘ग्रामिण दूरसञ्चार सेवा १ र २’ नामाकरण गरिएको थियो भने नेपाल स्याटेलाइटलाई ‘आधारभूत दूरसञ्चार सेवा’ भनेर अनुमति दिईएको थियो | नेपाल स्याटेलाइटलाई दिइएको अनुमतिमा मध्यपश्चिमान्चलमा सेवा विस्तार गरिसकेपछि सुदूरपश्चिमान्चल हुँदै अन्यत्र जानसक्ने गरि दिइएको थियो | अहिले यसको सेवा सेती,महाकाली, धौलागिरी, गण्डकी र लुम्बिनी अंचलसम्म विस्तार भएको छ |

एकीकृत अनुमतिपत्र

६ वटा दूरसञ्चार कम्पनीका लागि ६ थरि शर्त हुँदा कम्पनीको कार्यक्षेत्रमा संकुचन आएको र ‘समान धरातल’ नभएको भन्ने गुनासो आएपछि सरकारले दूरसञ्चार सेवाको अनुमतिपत्रमा समयोचित संशोधन गर्नुपर्ने आवश्यकतालाई महसुस गरी ‘एकीकृत अनुमतिपत्र’ सम्बन्धि नीतिगत व्यवस्था गर्यो | ‘एकीकृत अनुमतिपत्र’ को शुरुवात हुनु अघि हरेक सेवाको लागि अलग-अलग अनुमति लिनुपर्ने प्रावधान रहेको थियो | कुनै पनि कम्पनीले एकैपटक चाहेको सेवा दिनसक्ने स्थिति थिएन | आयको राम्रो स्रोत मानिने अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवाको अनुमति लिन विभिन्न शर्त पुरा गर्नुपर्ने हुन्थ्यो | अत: यसलाइ व्यवस्थित गर्नको लागि एकीकृत अनुमति दिनुपर्ने आवश्यकता महसुस गरि २०६९ साल जेष्ठ २ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरि सरकारले ‘एकीकृत अनुमतिपत्र’ सम्बन्धि नीतिगत व्यवस्था गरेको थियो | एकीकृत अनुमतिपत्रमा ‘स्थानीय टेलिफोन सेवा, अन्तरदेशीय टेलिफोन सेवा, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा र सेलुलर मोबाइल सेवा सहित विभिन्न ४ वटा सेवालाई आधारभूत टेलिफोन सेवाको परिभाषा भित्र समेटेको छ | यस अघि मोबाइल सेलुलर सेवा (टुजि) लाई विलासितामा सूचीकृत गरिएको थियो | यो व्यवस्थाको शुरुवात पश्चात स्मार्ट टेलिकमले पहिलोपटक एकीकृत अनुमति लिएको थियो | पछि युनाइटेड टेलिकमले पनि अनुमतिपत्र लिएको छ | सिजि (एसटिएम टेलिकम) ले एकीकृत अनुमतिपत्रको लागि आवेदन गरे पनि पाउन सकेको छैन भने नेपाल स्याटेलाइटले अनुमतिको लागि आवेदन गरेको छैन | एकीकृत अनुमतिको लागि आवेदन गरेको सिजिले धारण गरेको ९ सय व्याण्डको २ दशमलव ४ मेगाहर्ज फ्रिक्वेन्सी खोसिएको छ 
  
शेयरबजारमा दूरसञ्चार

साविकको नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनि लिमिटेड (कम्पनी) मा परिणत गरेपछि यसमा सरकारको मात्र हैन सर्वसाधारणको सहभागीता बढाउन सरकारले शेयर बेच्ने निर्णय गरेको थियो | १५ अर्व चुक्ता कायम गरि कर्मचारी र सर्वसाधारणलाई गरि ८ प्रतिशत अर्थात १ करोड २० लाख कित्ता बराबरका १ अर्व २० करोडको शेयर प्रिमियम मूल्यमा बिक्री गरि नेप्सेमा सूचीकरण भएको छ | नेप्सेले अन्य समूहमा वर्गीकरण गरेको भए पनि दैनिक कारोबारमा यसको उल्लेख्य स्थान रहेको छ | कारोबार मापन गर्ने नेप्से परिसूचकलाइ अझ अरु ५ वर्ष हल्लाउन सक्ने क्षमता राख्छ | नेप्सेमा सूचीकरण भएका कम्पनी मध्ये सर्वाधिक चुक्ता पूँजीको अभिलेख अझसम्म यसैको नाममा कायम छ | नेपाल टेलिकम पश्चात दोस्रो ठूलो चुक्ता पूजी नेपाल इन्भेष्टमेन्ट बैंकको १२ अर्व ५३ करोड रहेको छ | पूँजीकरणको हिसाबले पनि नेपाल टेलिकम नै उपल्लो स्थानमा विराजमान छ | नेप्सेको पछिल्लो तथ्यांक अनुसार यसको बजार पूँजीकरण १ खर्ब ५ अर्ब रहेको छ | दोस्रो सर्वाधिक धेरै पूँजीकरण भएको नेपाल इन्भेष्टमेन्ट बैंकको ६५ अर्ब रहेको छ | तेस्रो स्थानमा नबिल बैंक रहेको छ | यी दुइ बैंकलाई नेपाल टेलिकमको पूँजीकरणलाई भेट्न अझ केहि वर्ष लाग्ने देखिन्छ | समग्र नेपालको शेयरबजारको पूँजीकरणमा नेपाल टेलिकमको मात्र योगदान झन्डै ९ प्रत्तिशत रहेको छ | दोस्रो र तेस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट र नबिलको योगदान ५/५ प्रतिशत रहेको छ |अहिलेसम्म नेपाल टेलिकम पूँजी र पूँजीकरणमा अग्रपंक्तिमा रहँदै आए पनि अबको केहि महिनामा पूँजीमा दोस्रो स्थानमा झर्ने निश्चित भएको छ | हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हुँदा अब उक्त कम्पनीको चुक्ता पूँजी नेपाल टेलिकमको भन्दा ७ अर्व बढी २२ अर्व पुग्नेछ | तर पनि नेपाल टेलिकमलाइ पूँजीकरणमा भने कम्तिमा ५ वर्षसम्म कुनै पनि कम्पनीले जित्न सक्ने सम्भावना देखिन्न | झन्डै बुक भ्यालुमा शेयर कारोबार भइरहेको नेपाल टेलिकमको लाभांश क्षमतालाइ पनि कुनै कम्पनीले जित्न सक्ने अर्को सम्भावना देखिन्न | पछिल्लो पटक कम्पनीले ५५ प्रतिशत लाभांश बाँडेको थियो | लगानीकर्ताको रोजाइमा अहिले पनि नेपाल टेलिकम पहिलो नै बनेको देख्न सकिन्छ 

अन्यलाई ल्याउने पहल

दूरसञ्चार प्रविधिमा आएको तिब्र परिवर्तन र यसको उपयोगमा हुने वृद्धिले शेयरबजारमा दूरसञ्चार कम्पनीको पनि प्रवेश हुनु जरुरी छ |छिमेकी देश भारत, बंगलादेश पाकिस्तानमा यस्ता कम्पनीहरु सूचीकरणमा गएका छन | त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित कम्पनी पनि सूचीकृत भएका छन् | नेपालमा भने नेपाल टेलिकम मात्र सूचीकरणमा रहेको छ | नेपाल दूरसञ्चार प्राधिकरणले अबका दिनमा अन्य दूरसञ्चार कम्पनी लगायत सूचना प्रविधि कम्पनी, इन्टरनेट सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक कम्पनीलाइ पनि सूचीकरणमा जान निर्देशन दिनु आवश्यक छ | यसले कम्पनीहरुलाई स्वनियमनमा रहन समेत प्रेरित गर्ने हुँदा यसको बारेमा प्राधिकरणले यथाशीघ्र पहल गर्नु जरुरी देखिन्छ |

Thursday, May 21, 2020

मर्ज कि हकप्रद


भनिन्छ ब्याएको दिनदेखि दिनहुँ ‘पाडो’ उचाल्दै गयो भने जवान हुँदा पनि सजिलै उचाल्न सकिन्छ रे ! तर जवान भए पछी उचाल्न त परै जाओस छुन पनि डर मान्नुपर्छ । जसरी पनि उचाल्छु भनेर गयो भने सिंगले आफैलाई उचाल्न बेर मान्दैन । उसको लातको मारमा परियो करंग मात्र हैन मेरुदण्ड पनि भाँचिन सक्छ र ‘गानो’ समेत जानसक्छ । यो प्रसँग बैंकको चुक्ता पूँजी वृद्धिसँग ठ्याक्कै मेल खान्छ । ठूला भनिएका बैंकको लागि अहिले यहि स्थिति आइपरेको छ । आम्दानी र जगेडामा भएको रकमले ठूला देखिएका तर पूँजीका हिसाबले साना बैंकको लागि पूँजी बढाउने कार्य माथि उल्लेख गरिएको ‘पाडो उचाल्ने’ प्रसंग भन्दा कम छैन । कति बैंकलाई ‘पाडोले उचाल्ने’ हो कि लातको मारमा परेर ‘गानो’ जाने हो त्यो हेर्न धेरै दिन कुर्नुपर्ने अवस्था छैन किनभने केन्द्रीय बैंकले आगामी २०७४ साल असार मसान्तभित्र तोकेको न्यूनतम पूँजी पुर्याउन निर्देशन दिएर पूँजी वृद्धि योजना मागेको समय सिमा सकिएको छ । तोकिएको सयम सिमा सकिनु अघि नै सबै बैंकले पूँजी वृद्धि योजना समेत दिएका छन् । केन्द्रीय बैंकमा के कस्तो योजना बुझाए त्यो आधिकारिक रुपमा सार्वजनिक नगरे पछी बिभिन्न छापा तथा अनलाइन पत्रिकाले नानाथरी कुरा लेखेर सर्वसाधारणलाई भ्रम पार्न लागेपछि केन्द्रीय बैंकले पूँजी वृद्धि योजना आफ्नो वेबमा समेत राख्न अर्को निर्देशन समेत दिएको छ । अनौपचारिकरुपमा बाहिर आएका योजनामा अर्को वाणिज्य बैंक गाभ्नेबोनस शेयर जारी गर्ने र त्यतिले नपुगे अन्तिम अस्त्रको रुपमा हकप्रद जारी गर्ने गरि पूँजी वृद्धि योजना सार्वजनिक गरेका छन् 

सामान्यतया भाद्र महिनामा नै साधारणसभाको लागि केन्द्रीय बैंकबाट स्वीकृति लिएर असोज महिनासम्म धेरै बैंकले वार्षिक साधारणसभा गरिसक्थे यसपटक ठूलो चाड दशैँ समेत कार्तिकमा परेकोले दशैँ खर्च आउने गरि साधारणसभा गर्न धेरै बैंक लालायित समेत थिए तर नगद लाभांश बाड्न निरुत्साहित गरेकोले तत्कालै साधारणसभा गर्नुपर्ने आवश्यकता नदेखेर फूर्सदले गर्न लागेको देखिन्छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चुक्ता पूँजी वृद्धि गर्नुपर्ने कारण स्पष्ट पार्दै ‘बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार सुदृढ गरी दीर्घकालीन विकासका लागि आवश्यक पर्ने स्रोत परिचालन गर्न तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्न न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरिने छ ।’  भनेको छ । यो नीति सार्वजनिक भए पछि धेरै बैंकले आफु पूँजी वृद्धि गर्न सक्षम भएको भन्दै स्वागत समेत गरेका थिए । यसो गर्नुको कारण केन्द्रीय बैंकलाई सहयोग गरेको जस्तो देखाउनु थियो । तर भित्रभित्रै भने तर्सिएका थिए भन्ने कुरा पछिल्ला गतिविधिले बताएको छ । यस्तो कार्यमा बैंकलाई नांगले पसल जस्तो बनाएर कार्यकारी प्रमुखको जागिर खाइरहने र बैंकको संचालक हुने अनि राजनीतिको झोलाबोकेर भेट्टाए सांसदको पनि जागिर खानेहरुबढी देखिए । यस्तै चरित्रका व्यक्तिहरु केन्द्रीय बैंकमा पूँजी वृद्धि योजना पनि बुझाउने अनि बाहिर आएर ‘गाभ्ने गाभिने प्रकृया लामो छ शेयर कारोबार रोक्का हुन्छ लगानीकर्ताको लगानी डुब्छ भनेर अरण्यरोदन’ गर्न पनि पछि परेनन । तर यिनको अरण्यरोदनमा कोहि साथ देखिएका छैनन् किनकी लगानीकर्तालाई पनि थाहा छ गाभ्ने प्रकृया शुरु भएपछी केही समय कारोबार रोकिन्छ त्यस्तै यो पनि चाहन्छन कि बैंक गाभियोस र सवल सुदृढ संस्था बनोस । संस्था सवल सुदृढ भएपछी त्यसले दिने प्रतिफल राम्रो हुन्छ । प्रसवकाल गाह्रो हुन्छ भनेर कुन स्त्रीले जायजन्म गरेका छैनन् । संस्था सवल हुनको लागि गाभिनु नै एक मात्र बिकल्प हो । मौद्रिक नीतिले समेत ‘.....साथैबैंक तथा वित्तीय संस्थाहरुलाई एकआपसमा गाभ्नगाभिन र प्राप्ति गर्न थप प्रोत्साहन गरिने छ ।’ भनेर उल्लेख नै गरेको छ ।

कुन उपाय अपनाउने ?

नेपाल भन्दा सानो अर्थतन्त्र भएको देश भुटानमा समेत बैंकको पूँजी ५ अर्ब तोकेको छ । तर त्यो भन्दा ठूलो अर्थतन्त्र भएको नेपालमा भने वाणिज्य बैंकको चुक्ता पूँजी २ अरब हुनु अत्यन्त लज्जास्पद स्थिति थियो । बासेल ३ समेतले कम्तिमा ५ अर्ब पूँजी हुनुपर्ने कुरालाई निश्चित गरिसकेको अवस्थमा समेत यहाँ अत्यन्त न्यून पूँजी हुनु सान्दर्भिक थिएन । कतिपय बैंकले ठूलो पूँजीको महसुस गरेर नै हरेक साल आफ्नो आम्दानीबाट केहि पूँजी थप्दै गएको कुरा पनि यहाँ बिर्सनुहुँदैन ।

पूँजी बढ्नुपर्छ भन्ने कुरामा असहमत कोही पनि छैन । पूँजी बढाउने धेरै वितिय औजार रहेका छन् तर कुन वित्तीय औजार उपयोग गरेर बढाउने भन्ने प्रश्न पनि मूल बिसय हुन्आउछ । सबैभन्दा राम्रो औजार कुन हो त्यसलाई उपयोगमा ल्याउन भने सक्नुपर्छ । खुर्पाहसिया खुकुरी बन्चरो कर्द सबै हतियार हुन् तर कुन हतियार कुन बेला उपयोग गर्ने भन्ने कुरा उद्देश्यसंग मेल खाने हुनुपर्छ । ‘मार हान्ने’ बेला कर्द काम लाग्दैन तर ‘चोया काढ्नु’ पर्दा भने कर्द नै चाहिन्छ । ‘घाँस काट्ने’ बेला बन्चरो काम लाग्दैन तर ‘मुढा चिर्न’ बन्चरो नै चाहिन्छ । त्यसकारण अहिले कर्दखुकुरी वा बन्चरो कुन हतियार चलाउने भन्ने मुख्य प्रश्न उब्जेको छ । बैंकहरुले केन्द्रीय बैंकमा बुझाएको पूँजी वृद्धि योजना हेर्दा घरमा भएको बन्चरोखुकुरी कर्दहसियाभालाखुँडा लगायत सबै हतियारको विवरण दिएको जस्तो छ ।

पूँजी योजनामा भने जस्तो सबै बैंक बोनस दिएर पूँजी बढाउन सक्षम छैनन । यस्तो अवस्थमा संस्था खरिद वा क्षेत्रीयस्तरमा रहेका स-साना बैंक गाभ्नु उत्तम बिकल्प हो । ग्लोबल बैंकले क्षमता बढाएको स-साना बैंक वित्तीय संस्था गाभेर नै हो । क्षेत्रीयस्तरका बैंक गाभ्दा पूँजी मात्रै थपिन्न अपितु ति बैंकले आफ्नो क्षेत्रमा कायम गरेको साख र व्यापार पनि गाभिन्छ जसले गर्दा साबिकको वृद्धि सजिलै हासिल गर्न सकिन्छ । क्षेत्रीयस्तरका बैंकले आफ्नो क्षेत्रमा साख कायम गरिसकेकोले त्यस ठाउँमा त्यही संस्था अर्को ठूलो संस्थामा गाभिएर जाँदा अझ बढी साख कायम गर्नसक्छ र जनमानसमा अझ विश्वसनीयता हासिल गर्नसक्छ र व्यापार अझ बढेर जाँदा अन्ततः त्यो फाइदा गाभ्ने संस्थाले नै पाउन सक्छ । उदाहरणको लागि पोखरा र बुटवललाई आधार मानेर संचालन भईरहेका विकास बैंकले जुन उपलब्धि पाएका छन् त्यसलाई अहिलेका ठूला भनिएका वाणिज्यले गाभ्ने हो भने अत्यन्त छोटो समयमा नै उत्कृष्ट परिणाम हासिल गर्न सक्ने कुरामा शंका छैन ।  पूँजी योजना बुझाउन बेला हकप्रदलाई अन्तिम विकल्पको रुपमा राख्ने तर कार्यन्वयन भने शुरुमै गरेको देख्दा ‘पाडोको सिंगले उचाल्ने’ हो कि लातको मारमा परेर ‘गानो’ जाने हो त्यो हेर्न एक वर्ष मात्र कुरे हुन्छ । सिंगले भुडीमा उधिनेर उचाल्यो भने आन्द्रा मात्र छेडिएला कि कलेजो फोक्सो पनि भेट्ने हो त्यो अहिले भन्न सकिन्न । लातले हानेर पछार्दा ‘गानो’ गयो भने तंग्रिन धेरै समय लाग्छ कान्ला मुनि फाल्दियो भने मेरुदण्ड पनि भाँचिएर तंग्रिन नसक्ने हुन पनि सक्छ । ग्रान्ड बैंक (साबिक डिसीबिएल बैंक) र किष्ट बैंक (साबिक किष्ट मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स) केहि वर्ष अघि पाडो उचाल्नेप्रयास नगरेका हैनन् तर लात हानेर कान्ला मुनि फाल्दियोमेरुदण्ड नै भाँचीएर वर्षौं थलापरे पछी अहिले प्रभू (प्रभू बैंक) ले उद्धार गरिदिनु परेको छ । संधै प्रभू उद्धारको लागि आउँछ भन्ने छैन ।

अन्त्यमाबैंकको लागि यो अग्निपरीक्षा हो । चोरेर परीक्षा पास गरेर तह त पार गरिएला तर केहि सिकिन्न । त्यसैले एक वर्ष ‘फेल’ भएर त्यहि कक्षा दोहोर्याएर पढ्दा सिकिन्छ र सक्षम भइन्छ भने किन चोरेर ‘पास’ हुने रु बरु फेल हुनु राम्रो हैन र ?

मेरो लगानी