Showing posts with label क्रिप्टो/हाईपर. Show all posts
Showing posts with label क्रिप्टो/हाईपर. Show all posts

Wednesday, May 18, 2022

क्रिप्टो करेन्सीको बहस

न मुद्रा न वस्तु जसको भविष्य अन्धकार

नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारलाई गैरकानुनी भन्दै सार्वजनिक सूचना प्रकाशन गरेपछी यसको पक्ष र विपक्षमा विभिन्न तर्क आइरहेका छन् l क्रिप्टो नै अङ्किय (डिजिटल) मुद्रा हो, यसलाई कारोबारयोग्य नबनाएर वा मान्यता नदिएर देशलाई प्रविधिको विकासबाट पर धकेलेको जस्ता तर्क आएका छन् भने विपक्षमा यो मुद्रा नै हैन, एक देशमा द्वैध मुद्रा हुनसक्दैन भन्ने तर्क आएका छन् l यी तर्कमध्ये विपक्षमा आएको तर्कको भार बढी देखिन्छ l कुनै पनि शब्दको पछाडी ‘करेन्सी वा मुद्रा’ जोड्नेबित्तिकै त्यसले मुद्राको मान्यता पाउन सक्दैन l मुद्राको मान्यता पाउनको लागि त्यसले निश्चित शर्त पूरा गर्नुपर्ने हुन्छ l

मुद्रा र मुद्राको मान्यता

सामान्य अर्थमा मुद्रा भनेको देशको कुल सेवा र वस्तुको कुल मूल्य हो l कुनै न कुनै रुपमा प्राचीनकालदेखि मुद्रा अस्तित्वमा रहँदै आएको छ l वर्तमान समयमा मुद्राको केन्द्रीय प्राधिकारी निकाय केन्द्रीय बैंक हो l नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा २(ज) मा ’मुद्रा भन्नाले सबै किसिमको करेन्सी नोट, पोष्टल अर्डर, पोष्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र र क्रेडिट कार्ड सम्झनुपर्छ र सो शब्दले बैंकले आवश्यकतानुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारको मौद्रिक उपकरण समेतलाई जनाउँछ’ भनिएको छ l ऐनको दफा २(झ) मा ‘करेन्सी नोट भन्नाले नगदको रुपमा चलनचल्तीमा रहेको बैंक नोट सम्झनुपर्छ र यो शब्ले सिक्का समेतलाई जनाउँछ’ भनिएको छ l  त्यस्तै, दफा २(ञ) मा ‘विदेशी मुद्रा भन्नाले नेपाली मुद्राबाहेक अन्य मुद्रा सम्झनुपर्छ र सो शब्दले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम झिक्ने विशेष अधिकार (स्पेशल ड्रईङ्ग राइट्स), एशियन करेन्सी, युरोपियन करेन्सी युनिट तथा बैंकले आवश्यकतानुसार  सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरण समेतलाई जनाउँछ’ भनेको छ l दफा २(ट) मा ‘नेपाली मुद्रा भन्नाले नेपाली रुपैयाँमा अङ्कित मुद्रा सम्झनुपर्छ’ भनेको छ l दफा २(ठ) ‘परिवर्त्य विदेशी मुद्रा भन्नाले बैंकले आवश्यकतानुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी विदेशी मुद्रा भनी तोकिदिएको विदेशी मुद्रा सम्झनुपर्छ’ भनेको छ l देशभित्र मुद्रा (बैंक नोट र सिक्का) निर्गमन गर्ने प्राधिकार ऐनको दफा ५२(१) ले नेपाल राष्ट्र बैंकलाई दिएको छ l दफा ५१(२) अनुसार यस्ता मुद्रा नेपालभित्र कानुनी ग्राह्य (लिगल टेन्डर) हुने र यस्तो मुद्राको जमानत नेपाल सरकारबाट प्राप्त हुन्छ l

ऐनको दफा ५२(२) मा सुरक्षण राखेर मात्र नोट निर्गमन हुने र यस्तो निर्गमित नोटको दायित्व सुरक्षणवापत राखिएको सम्पत्तिको मूल्य बराबर हुन्छ l केन्द्रीय बैंकले आवश्यकताअनुसार विभिन्न दरका बैंक नोट निर्गमन गर्नसक्ने व्यवस्था दफा ५२(४) मा छ l दफा ५३ मा बैंकद्वारा निर्गमन गरिएका बैंक नोट तथा सिक्का यसको अङ्कित रकमसम्मको सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न नेपालभित्र सर्वस्वीकार्य हुनेछ भनेर अधिकारसम्पन्न बनाईएको छ l मुद्रा भौतिक र अभौतिक दुवैरुपमा रहनसक्ने अवस्था देखिन्छ l

क्रिप्टो र डिजीटल मुद्रा

क्रिप्टोको शाब्दिक अर्थ गुप्त, छद्म वा प्रछन्न हो l क्रिप्टोको पछाडी करेन्सी जोडेर यसलाई गुप्त, छद्म वा प्रछन्न मुद्रा भनिएको छ l यसलाई नै ‘डिजिटल वा अंकीय वा भर्चुअल वा आभाषी मुद्रा’ भनिएको छ l क्रिप्टो मुद्रा हो भनेर जतिसुकै ठूलो बहस चले वा चलाए पनि यो मुद्रा होइन l मुद्रा हुनको लागि सरकारबाट जमानत प्राप्त भई केन्द्रीय बैंकबाट जारी र सर्वस्वीकार्यरुपमा आमव्यक्तिले ग्रहण गर्न लायक हुनुपर्छ l क्रिप्टोले यी कुनै पनि शर्त पूरा गरेको छैन गर्न पनि सक्दैन l क्रिप्टो व्यक्ति व्यक्तिबीच विश्वासको आधारमा कारोबार हुन्छ l संसारमा अहिले अनेकौं नामका क्रिप्टो भए पनि यसको अंकित मूल्य छैन l यसलाई गोटामा गन्ति गरिन्छ l यस्ता गोटा कतिसम्म बनाउन सकिन्छ भन्ने पहिले नै निश्चित गरिएको छ l त्यति पुगेपछि त्यसको ‘माइनिंग’ भनिने निर्माण वा उत्पादन हुनसक्दैन l मात्रा पुगेपछि जतिवटा छ त्यही कारोबार भईरहन्छ र कहिलेसम्म हुन्छ भन्ने पनि कुनै समयावधि छैन किनकी यो विश्वासमा अडेको छ l जुन दिन यसमा विश्वास हराउन थाल्छ यसको अस्तित्व पनि समाप्त हुन्छ l जमानती वा कानुनी ग्राह्य मुद्रा जस्तो सदाकाल चलिरहन सक्दैन l यही कुरालाई मनन गरेर बैंक अफ इंग्ल्यान्डले भविष्यमा क्रिप्टो मूल्यहिन हुने बताएको छ l यसै सन्दर्भमा इंग्ल्यान्डको ‘फाईनान्सियल कन्डक्ट अथोरिटी’ ले इंग्ल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाईज फाईनान्स) को नाममा अनुमतिबिना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिनको लागि दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म कुनै पनि क्रिप्टो दर्ता नभएको बताएको छ l त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिंदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने  हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ l

मुद्रा कि वस्तु

माथिका बिभिन्न अनुच्छेदमा मुद्राको मान्यता पाउन के के पूर्वयोग्यता हुनुपर्ने रहेछ भन्ने ज्ञात भईसकेको छ l क्रिप्टोले मुद्रा हुने कुनै योग्यता पूरा नगरेको हुँदा यसलाई मुद्राको कोटीमा राख्न सकिन्न र मुद्रासरह कारोबार गर्न पनि सकिन्न l भारतले यसलाई मुद्रा नभनी वस्तुसरह मान्यता दिएर ‘गुप्त सम्पत्ति’ अर्थात् ‘क्रिप्टोएसेट’ नामाकरण गरेको छ l शेयरबजार र कमोडिटी नियामक सेक्युरिटीज एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) लाई नियमन गर्न दिने गरी कानुनी प्रवन्ध गर्दैछ l भारतले ‘वस्तु वा एसेट’ माने पनि यसको भौतिक अस्तित्व भने छैन l यो अदृश्य चिज जुन कल्पना मात्र गरिएको छ र यसलाई जमानती वा कानुनी ग्राह्य मुद्रा तिरेर किनबेच गरिन्छ र यसको लाभमा भारतले ३० प्रतिशत पूँजीगत लाभकर लगाएको छ l मुद्राको एउटा विशेषता अङ्कित मूल्य कहिल्यै परिवर्तन हुन्न l निर्गमन गर्दा जुन अङ्कित मूल्य हुन्छ सदाकाल त्यही रहीरहन्छ l

कानुनी ग्राह्य वा जमानती मुद्रा पनि डिजिटल स्वरुपमा रहन सक्छ र रहेको पनि छ l हाल नेपाल क्लियरिंग हाउस लिमिटेडले उपलब्ध गराएको ईन्टर बैंक पेमेन्ट सिष्टम (आईपीएस), फोनपे, मोबाइल तथा इन्टरनेट बैंकिंगमार्फत गरिने भुक्तानी डिजिटल मुद्राकै स्वरूप हुन् l आईपीएसलगायतबाट भुक्तानी गरिएको मुद्रा (नोट) को भारी बोकेर प्रापककोमा जानु पर्दैन l क्रिप्टो र डिजिटल मुद्रा समानार्थी शब्द हैनन् l यसलाई समान अर्थमा बुझ्नु गलत हुन्छ l  अहिलसम्म कुनै पनि देशले डिजिटल मुद्रै भनेर निर्गमन नगरेको अवस्थामा भारतले ई-रुपैयाँ नामक डिजिटल मुद्रा निर्गमन गर्ने घोषणा गरेको छ l हेर्न बाँकी छ भारतले निर्गंमन गर्न यस्तो मुद्रा कस्तो हुनेछ र कसरी कारोबारमा आउनेछ त्यो भविष्यमा देखिनेछ l

अन्तमा, चिनलगायत देशमा क्रिप्टो प्रतिवन्धित रहेको अवस्थामा नेपालमा अहिल्यै यसको कारोबार खुला गरिहाल्नु हुन्न l खुला गर्दा पनि सेबीले के कसरी नियामन गर्ने अख्तियारी पाउँछ त्यसको आधारमा नेपालमा पनि बिस्तारै खुला गर्दै वस्तुसरह कारोबार गर्न सकिने संयन्त्र निर्माण गर्नुपर्छ l

 २५ माघ २०७८, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/402612

Tuesday, May 17, 2022

हाईपरफण्डको वास्तविकता

धन कमाउने कुरा नारामा भने झैँ कल्पना मात्र

मानिसको सबैभन्दा ठूलो ध्येय धनी बन्नु हो l कुनै व्यक्तिले कतिसम्म धन कमाउन सक्ला यसको सिमा छैन l आचार्य चाणक्यले धनसहित आयु, कर्म, विद्या र मृत्यु यी पाँचवटा कुरा गर्भमै निश्चित भएको हुन्छ भनेका छन् l मनुले शरीरलाई कष्ट दिएर धन कमाउनु हुन्न भनेका छन् । ‘कि धन बाख्रापाठाबाट, कि धन लामोबाटोबाट, कि धन ससुराली पाटोबाट’ भन्ने लोकोक्ति छ l धन कमाउन गाह्रो छ भन्ने मनुको भनाईबाट पनि बुझिन्छ तर, वर्तमान समयमा बसिबसि धन आर्जन हुन्छ भन्ने भ्रमलाई आत्मसात गर्दा वित्तीय अपराध र ठगि बढ्दै जाँदा कयौंले भएको पनि गुमाएका छन् l ईन्टरनेट संजालबाट अनेक प्रलोभन देखाएर हुने ठगीको दर बढ्दो छ l यस्ता ठगीको मारमा परेर व्यक्तिले गुमाउने एउटा पाटो त छँदैछ, देशको रकम वा देशमा विदेशबाट भित्रिनुपर्ने विप्रेषणसमेत आउन बन्द भएको छ l श्रम प्रवेशाज्ञामा विदेश गएका नेपाली ईन्टरनेट संजालबाट हुने यस्तो ठगिमा बढी परेको अनुमान गर्नसकिन्छ l पछिल्लो समयमा ‘करेन्सी’ नाम जोडिएको ‘क्रिप्टो’ र पिरामिड प्रकृतिको हाईपरफण्डमा नेपालबाट धेरै रकम बाहिरिएको र विदेशबाट नेपालमा विप्रेषणमार्फत प्राप्त हुने रकम उतै लगानी (ठगि) भएर रोकिएको अनुमान गरिएको छ l  

 

लामो यात्राका यात्री


युट्युबमा हाईपरफण्ड भनेर खोज्दा यसका संस्थापक भनिने रयान झूको बखान सबैभन्दा बढी भेटिन्छ l झुले सन् २०१३ मा संस्थापन गरेको भनिए पनि यी अगाडि देखिने व्यक्ति मात्र हुन् पछाडि अरु नै छन् भनिन्छ l स्थापना हुँदा यसको नाम हाईपरटेक थियो र पछि हाईपरफण्ड हुँदै हिले हाईपरभर्समा आईपुगेको छ l नाम जेसुकै फेर्दै गए पनि यसको मुख्य धन्दा भने पर्दापछाडि रहेको र यसका संस्थापक भनिने झू ‘हात्तीको देखाउने दाँत’ मात्र हुन् l हाईपरफण्ड के हो के काम गर्छ भन्ने कुराको निश्चित नभए पनि यसले गरिरहेको कार्य हेर्दा यो नेटवर्किंगमल्टीलेभल मार्केटिङभन्दा बढी केही देखिन्न l यसले आफूलाई क्रिप्टोको अंग मानिने ब्लकचेनको विज्ञ भने पनि त्यस्तो देखिन्न l यसले उठाएको रकम कहाँ खर्च गर्छ वा केमा लगानी गर्छ त्यसको स्पष्ट उद्देश्य छैन l क्रिप्टो माईनिंग गर्छु भने पनि त्यस्तो हैन भन्ने आएको छ l यसले खडा गरेको नेटवर्किंग पनि पूर्णत कानुनी छैन भन्ने पनि छ l यसको मुख्यालय कहाँ छ र ईन्टरनेटबाट हुने बाहेक भौतिक उपस्थिति कुन कुन देशमा छ भन्ने पनि प्रष्ट छैन l सामान्यतया व्यापारिक कम्पनीको वेवसाइट डट कममा डोमेन दर्ता हुने भए पनि यसको वेवसाइट डट नेटमा दर्ता छ l वेवसाइटमा कम्पनीको दर्ता तथा कर्पोरेट कार्यालय, संस्थापक, मुख्य व्यवस्थापक आदिको बारेमा केही उल्लेख छैन l वेवसाइट खोल्नेबित्तिकै गृहपृष्ठमा ‘जहाँ वास्तविकता समाप्त हुन्छ, त्यहाँ कल्पना शुरु हुन्छ’ (अंग्रेजीबाट गरिएको अनुवाद)  भन्ने नारा (स्लोगान) देखिन्छ l यसले एबाउट असमा लेखेका कुरा पढ्दा कम्प्युटर गेम निर्माण कम्पनीको जस्तै काल्पनिक कुरा देखिन्छ l त्यसमा हाईपरभर्स लाखौं ग्रहहरूमिलेर बनेको भर्चुअल मेटाभर्स हो।यसमा सहभागीले साथीहरूसँग जोडिन, विभिन्न संस्कृति र जीवनशैलीको अनुभव गर्न, व्यवसाय सुरु गर्न र ब्रह्माण्डको अन्वेषण गर्न सक्छन्’ लेखिएको छ l यस्ता सहभागीलाई उसले ‘भोयजर’ अर्थात ‘लामो यात्राका यात्री’ भनेको छ l

हाईपर र क्रिप्टो

 

हाईपरफण्डलगायतका क्रिप्टो ईन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इंग्ल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ l हाईपरफण्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन l क्रिप्टो प्रतिवन्धित बन्दै जाने क्रममा टर्कीले कुनै पनि प्रकारको क्रिप्टोमाथि प्रतिवन्ध लगाईसकेको छ l नाममा ‘करेन्सी’ जोडे पनि यो वास्तविक मुद्रा भने हैन l यसलाई डिजिटल मुद्राको स्वरूप भनिए पनि यसलाई कुनै पनि देश र देशको केन्द्रीय बैंकले प्रत्याभूत गरेको छैन l एक देशमा समानान्तर अर्को मुद्रा चल्न सक्दैन l अचम्म के छ भने नाममा करेन्सी धारण गरे पनि यसलाई किन्न जमानती वा कानुनी मुद्रा (फियट करेन्सी) नै चाहिन्छ l अपवादको रुपमा कहिलेकाहीँ क्रिप्टोले क्रिप्टो किनेको भने हुनसक्छ l क्रिप्टो व्यक्ति व्यक्तिबीच हुने कारोबार हो l यो भौतिक अस्तित्व नभएको तरंग मात्र हो l प्राप्त गर्नेले अंक मात्र प्राप्त गर्छ l हुनत शेयर पनि भौतिक स्वरुपमा नभएर अंकमा देखिन थालेको छ l यसलाई देखाएर क्रिप्टो पनि त्यहि हो भन्ने तर्क आउनसक्ला तर, यस्तो तर्कको कुनै अर्थ हुन्न l शेयरलाइ कम्पनीले प्रत्याभूत गरेको हुन्छ तर, क्रिप्टो कुनै पनि निकाय वा देशले प्रत्याभूत गरेको हुन्न l क्रिप्टो नभनिकन क्रिप्टोकै कारोबार गरिरहेको हाईपरफण्डमा शुरुमा प्रवेश गर्नेले केही लाभ पाए पनि पछि प्रवेश गर्नेको लगानी सुरक्षा कसैले पनि गर्न सक्ने देखिन्न l यसै सन्दर्भमा इंग्ल्यान्डको ‘फाईनान्सियल कन्डक्ट अथोरिटी’ ले यस (हाईपरफण्ड) ले इंग्ल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाईज फाईनान्स) को नाममा अनुमतिबिना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिनको लागि दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म हाईपरफण्ड लगायत कुनै पनि दर्ता नभएको बताएको छ l त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिंदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने  हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ l

 

भारत र नेपालमा क्रिप्टो

कुनै पनि क्रिप्टोप्रति अनुदार देखिएको भारतले यसलाई शुरुदेखि नै रुचाएको थिएन र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले प्रतिवन्ध लगाएको थियो l पछि सर्वोच्च अदालतले वस्तुसरह कारोबार गर्न अनुमति दिएको थियो l अहिले यसको कारोबार वस्तुसरह भईरहेको छ र सेक्युरिटीज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) लाई कमोडिटीसरह नियमन गर्ने कानुन निर्माण गर्दैछ l पछिल्लो समयमा भारत सरकारले हाईपरफण्डलाइ पनि निगरानीमा राखेको छ l हाईपरफण्डको बारेमा उजुरी आउन थालेपछि आरबीआई, अर्थ मन्त्रालय र सेबी आदिले कुनै पनि क्रिप्टोको कारोबार नगर्न चेतावनी दिएको छ l अर्थ मन्त्रालयले भर्चुअल करेन्सी मुद्रा हैन र यसमा कानुनी शक्ति छैन भनेको छ l त्यस्तै, आरबीआईले पनि कुनै पनि निकायलाई यस्ता करेन्सी (भर्चुअल) को संचालन वा लेनदेनको अनुमति नदिईएको बताएको छ l आरबीआईले आफ्नै आधिकारिक डिजिटल करेन्सी ‘ई-रुपैयाँ’ छिटै जारी गर्ने योजना बनाएको बताएको छ l भारतमा सन् २०१८ मा अमित भारद्वाज र विवेक भारद्वाज नामक दाजुभाईलाइ बिटक्वाइन माइनिंग गरेको र ८ हजार व्यक्तिको २ अर्ब भारतीय रुपैयाँ ठगि गरेको आरोपमा पुने पुलिसले पक्राउ गरेको थियो l

नेपालमा पनि हालै नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टोकरेन्सीको कारोबार नगर्न तथा यससँग सम्बन्धित हाईपरफण्ड जस्ता विभिन्न नामका नेटवर्क मार्केटिंगमा आवद्ध नहुन ध्यानाकर्षण गराएको छ l यस्ता सबै प्रकारका कार्य गैरकानुनी भएको बताउँदै गैरकानुनी वित्तीय औजार भनेको छ l त्यस्तै, गृहमन्त्रालयले ‘गैरकानुनी आर्थिक क्रियाकलाप’ भन्दै क्रिप्टो र हाईपरमा सहभागी नहुन विज्ञप्ति प्रकाशन गरेको छ l ईन्टरनेटबाट हुने यस्ता नेटवर्किंग गतिविधिमा संलग्न हुनेलाई कानुनी कारवाही गरिने व्यहोरा उल्लेख गरेको छ l

 ११ माघ २०७८, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/401850

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...