Showing posts with label कम्पनी सञ्चालक र सञ्चालन. Show all posts
Showing posts with label कम्पनी सञ्चालक र सञ्चालन. Show all posts

Thursday, May 29, 2025

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ?

कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन, २०६३ ले सञ्चालकको योग्यता र अयोग्यता दुवै तोकेको छ। ऐनले तोकेको योग्यता पुगेर सञ्चालक बनेका व्यक्ति कार्यकाल नसकिंदै अयोग्य भएमा पदमुक्त हुन्छन्। योग्य सञ्चालक पनि प्राकृतिक र स्वेच्छिक कारणले पदमुक्त हुनसक्छन्। यसका अतिरिक्त कुनै अख्तियारप्राप्त निकाय र अदालती कारवाहीबाट पनि पदमुक्त हुनसक्छन्। साधारण सभाले पनि पदमुक्त गर्नसक्छ l यस्ता सभाबाट गरिएका पदमुक्ति विवादित भएर अदालतसम्म पुगेका छन् । भारतको टाटा सन्सका सञ्चालक/अध्यक्ष साइरस मिस्त्रीलाई साधारण सभाले पदमुक्त गरेको विवाद कर्पोरेट क्षेत्रको चर्चित उदाहरण हो। यो विवाद कम्पनी मामिलासम्बन्धी सुनुवाई गर्ने दुइवटा न्यायाधिकरण हुँदै सर्वोच्च अदालतसम्म पुगेर टुङ्गिएको थियो। यस आलेखमा सञ्चालक पदमुक्त हुनसक्ने विभिन्न अवस्थाको बारेमा विस्तृतरूपमा चर्चा गरिन्छ।

 

योग्यता र अयोग्यता

 

सञ्चालक पदमुक्त हुने अवस्थाको चर्चा गर्नुअघि सञ्चालकको योग्यता र अयोग्यताको बारेमा बुझ्नु उचित हुन्छ l कम्पनी ऐनको दफा ८९(१) मा (१) पब्लिक कम्पनीको हकमा २१ वर्ष उमेर नपुगेको, (२) मगज बिग्रेको वा बहुलाएको, (३) दामासाहीमा परी ५ वर्षको अवधि पूरा नभएको, (४) भ्रष्टाचार वा नैतिक पतन देखिने अन्य कसूरमा सजाय पाएको, तर प्राइभेट कम्पनी भए त्यस्तो सजाय भुक्तान भएको मितिले ३ वर्ष पूरा नभएको, (५) कुनै प्रकारको चोरी, ठगी, कीर्ते वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा कसूरदार ठहरी सजाय भुक्तान भएको ३ वर्ष पूरा नभएको, (६) सम्बन्धित कम्पनीको व्यवसाय वा कुनै ठेक्कापट्टा वा कारोबारमा कुनै प्रकारको निजी स्वार्थ भएको, (छ) समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको तर, एउटा प्राइभेट कम्पनीको त्यस्तो व्यक्ति समान उद्देश्य भएको अर्को प्राइभेट कम्पनीमा सञ्चालक हुनसक्छ, (७) सम्बन्धित कम्पनीलाई रकम बुझाउन बाँकी रहेको ठहर भएको अवस्थामा त्यस्तो शेयरधनी, (८) दफा १६० बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले एक वर्ष ननाघेको वा दफा १६१ बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले ६ महिना ननाघेको, (९) कुनै खास व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा प्रचलित कानूनले कुनै योग्यता तोकेको भए त्यस्तो योग्यता नपुगेको वा कुनै अयोग्यता तोकिएको रहेछ भने त्यस्तो अयोग्यता भएको, (१०) लगातार ३ आर्थिक वर्षसम्म कम्पनी ऐनअनुसार कार्यालय (कम्पनी रजिष्ट्रार) मा पेश गर्नुपर्ने विवरण तथा प्रतिवेदन पेश नगर्ने कुनै कम्पनीको सञ्चालक रहेको, (११) दफा ८१(२) बमोजिम जरिबाना रकम तिर्न बाँकी रहेको, (१२) अर्को कुनै सूचीकृत कम्पनीबाट बैठक भत्ता र बैठक स्थलमा आउन, जान, बस्नका लागि लाग्ने वास्तविक खर्चबाहेक अन्य पारिश्रमिक वा कुनै सुविधा प्राप्त हुने सञ्चालकको पदमा बहाल रहेको कुनै पनि व्यक्ति सञ्चालक बन्न सक्दैनन् l

 

त्यस्तै, स्वतन्त्र सञ्चालकको पनि अयोग्यता तोकिएको छ l ऐनको दफा ८९(२) अनुसार (१) दफा ८९(१) मा उल्लेखित व्यक्ति, (ख) सम्बन्धित कम्पनीको शेयरधनी, (ग) सम्बन्धित कम्पनीले कारोबार गर्ने विषयसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी सम्बन्धित क्षेत्र वा कम्पनी व्यवस्थापनसम्बन्धी काममा कम्तीमा १० वर्षको अनुभव प्राप्त वा अर्थ, वित्त, व्यवस्थापन, लेखा, तथ्याङ्क, वाणिज्य, व्यापार प्रशासन वा कानून विषयमा कम्तीमा स्नातक गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त नगरेको व्यक्ति, (घ) सम्बन्धित कम्पनीको पदाधिकारी, लेखापरीक्षक, कर्मचारी वा त्यस्तो कुनै पदबाट अवकाश प्राप्त गरेको ३ वर्ष पूरा नभएको व्यक्ति, (ङ) सम्बन्धित कम्पनीको पदाधिकारीको नजिकको नातेदार र (च) सम्बन्धित कम्पनीको लेखापरीक्षक वा निजको साझेदार स्वतन्त्र सञ्चालक बन्न सक्दैनन् l स्वतन्त्र सञ्चालकको लागि कम्पनीले नियमावलीमा थप योग्यता तोक्नसक्छ l

 

नियुक्ति र पदमुक्ति

 

सामान्यतया: ऐनले तोकेका योग्यता पुगेका कुनै पनि व्यक्ति साधारण सभाबाट सञ्चालक निर्वाचित हुनसक्छन् l उल्लेख्य शेयर धारण गरेका संस्थागत शेयरधनीले कुनै पनि व्यक्तिलाई सञ्चालक मनोनयन गरेर पठाउँछन् l स्वतन्त्र सञ्चालकको निर्वाचन हुँदैन l ऐनले तोकेको योग्यता पुगेका कुनै पनि व्यक्तिलाई कम्पनीले नियमावलीमा व्यवस्था भए बमोजिमको सङ्ख्या साधारण सभामा पेश गर्छन् र सोही सभाबाट अनुमोदित भएर स्वतन्त्र सञ्चालक नियुक्त हुन्छन् l यसरी विभिन्न विधिबाट सञ्चालक नियुक्त भएका व्यक्ति विधिन्न विधिबाट पदमुक्त हुन्छन l कुनै पनि विधिबाट नियुक्त सञ्चालक मृत्यु अर्थात प्राकृतिक कारणले स्वत: पदमुक्त हुन्छन् l संस्थागत शेयरधनीका तर्फबाट मनोनयन भएर आएकाबाहेक अन्य सञ्चालक स्वेच्छिकरुपमा राजीनामा दिएर पनि पदमुक्त हुनसक्छन् l मनोनित भएर आएका सञ्चालक मनोनयन गर्ने निकायको इच्छामा निर्भर हुन्छन l साधारण सभाबाट निर्वाचित र अनुमोदित भएर आएका सञ्चालकलाई साधारण सभाले मात्र हटाउन सक्छ l जुनसुकै तवरबाट आए पनि सबै सञ्चालकको हैसियत समान हुन्छ र यिनै सञ्चालकमध्येबाट अध्यक्ष चयन हुन्छ l यसरी चयन भएको अध्यक्षलाई सञ्चालकले हटाउन सक्छन र अर्को कुनै सञ्चालकलाई अध्यक्ष चयन गर्नसक्छन l तर, सञ्चालकले सञ्चालकलाई हटाउन वा पदमुक्त गर्न सक्दैनन् l साधारण सभाबाट सञ्चालक हटाउन कानुनको उचित प्रक्रिया पूरा गर्नुपर्छ l

 

सञ्चालक कुन अवस्थामा पदमुक्त हुनसक्छन् भन्ने विषयमा ऐनको दफा ८९(३) अनुसार (१) साधारण सभाले सञ्चालकको पदबाट हटाउने प्रस्ताव पारित गरेमा, (२) सञ्चालकले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएमा, (३) कम्पनीको कामकारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट ठहर भएमा, (४) ऐनबमोजिम सञ्चालकले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेको वा गर्नुपर्ने भनी तोकिएको कार्य नगरेको भनी अदालतबाट ठहर भएमा, (५) प्रचलित कानून बमोजिम बैंक वा वित्तीय संस्थाको ऋण नतिरी अधिकारप्राप्त निकायले कालो सूचीमा राखेमा पदमुक्त हुन्छन l उल्लेखित यी विधिमध्ये ३ र ४ को विषय ऐनको दफा १६० र १६१ सँग सम्बन्धित छ l यस दफामा सञ्चालकलाई हुने सजाय सम्बन्धमा उल्लेख छ l यस्तो सजाय पाएका सञ्चालक स्वत: पदमुक्त हुन्छन् l दफा ८९(४) मा कुनै व्यक्तिलाई सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन अयोग्य ठहर्याउनु अघि कम्पनीले निजलाई सो कुराको सूचना दिई सफाई पेश गर्ने मनासिब मौका दिनुपर्ने व्यवस्था छ l

 

अदालती व्याख्यामा सञ्चालक  

साधारण सभा कम्पनीको सर्वोच्च निकाय हो l देशको संसद जत्तिकै हैसियत राख्ने सभाले कम्पनी कसरी सञ्चालन गर्ने भन्ने विषयमा मार्गनिर्देशन गर्छ l शेयरधनीले आफूमध्येबाट सञ्चालक निर्वाचन गर्छन l सञ्चालकले स्वार्थरहित हिसाबले कम्पनीको हितमा कार्य गर्नुपर्छ l  कम्पनी ऐनको दफा ९२ मा सञ्चालकले पद बहाल गरेको १५ दिनभित्र (१) कम्पनीको कारोबारसँग सम्बन्धित कुनै प्रकारको खरिदबिक्री वा अन्य प्रकारको ठेक्कापट्टामा आफू वा आफ्नो नजिकको नातेदारको प्रत्यक्ष सङ्लग्नता भएको वा कुनै किसिमको निजी स्वार्थ भए/नभएको, (२) कम्पनीको प्रबन्ध सञ्चालक, कम्पनी सचिव, पदाधिकारी नियुक्तिको सम्बन्धमा कुनै प्रकारको स्वार्थ भए/नभएको, (३) अन्य कुनै कम्पनीको सञ्चालक रहे/नरहेको र (४) कम्पनी वा त्यस्तो कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिबेञ्चर कारोबार गरेको भएमा त्यस्तो कारोबारको विषय खोली स्वघोषणा गरि कम्पनीलाई जानकारी गराउनुपर्छ l

 

न्यायाधिश लर्ड क्रानवर्थ एलसीले एबर्डीन रेल्वे कम्पनी विरुद्ध ब्लाकी ब्रदर्स (१८५४) को मुद्दामा सञ्चालकको माध्यमबाट मात्र कर्पोरेट निकाय (कम्पनी) ले कार्य गर्नसक्छ । कम्पनीका कार्य उचित र जिम्मेवार ढङ्गले सञ्चालन गरी कम्पनीको हित संरक्षण र प्रवर्द्धन गर्नु सञ्चालकको कर्तव्य हो। यस्ता सञ्चालकको कम्पनीप्रति न्यासी (परम सदविश्वास)  प्रकृतिको कर्तव्य हुने व्याख्या गरेका थिए l यस मुद्दामा ब्लाइकी ब्रदर्स र एबर्डीन रेल्वे कम्पनीबीच आठ दशमलव पाँच पाउण्ड प्रतिटनको दरमा फलामका कुर्सी आपूर्ति गर्ने सम्झौता भएको थियो l एबर्डीन रेल्वेले आफ्नो कम्पनीको बोर्ड अध्यक्ष सर थोमस ब्लाइकी सम्झौताको अर्को पक्ष ब्लाइकी ब्रदर्सको पनि प्रबन्ध निर्देशक भएको थाहा पाएपछि  स्वार्थको द्वन्द हुने भन्दै सम्झौता अमान्य घोषणा गरेको थियो l

 नेपालमा नेपाल सरकार विरुद्ध रवीन्द्रलाल श्रेष्ठ (२०७३) को मुद्दामा ‘सञ्चाकहरुलाई कम्पनीको सम्पत्ति, अवसर र सूचनाहरु प्राप्त हुन्छन्। त्यसको उनीहरुले आफ्नो निम्ति प्रयोग गर्नुहुदैन । कम्पनीप्रति उनीहरुको पूर्ण समर्पण र भक्ति रहनुपर्छ । उनीहरु कम्पनीको न्यासी, एजेन्ट, संरक्षक, प्रवर्द्धक र निर्देशक/सञ्चालक एकैसाथ हुने हुँदा उनीहरुले पूर्ण होसियारीका साथ काम गर्नुपर्छ। यो कर्तव्य सञ्चालकहरुमा सामूहिक र व्यक्तिगत दुवैरुपमा रहन्छ’ भनेर सञ्चालकको कर्तव्यको बारेमा व्याख्या गरेको छ l यो मुद्दा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत बिशालबजार कम्पनी लिमिटेडसँग सम्बन्धित छ l यस मुद्दामा बिशालबजारको पसल कवल शेयरधनीले सस्तो मूल्यमा आफूले भाडामा लिई तीनगुणा महँगोमा अरुलाई दिएर भ्रष्टाचार गरेको भन्ने आरोप लागेको थियो l  

 साधारण सभाबाट पदमुक्ति

माथिका विभिन्न अनुच्छेदमा सञ्चालक नियुक्ति र पदमुक्तिको विषयमा चर्चा गरियो l यस अनुच्छेदमा ऐनको दफा ८९(३)(ख) मा उल्लेखित साधारण सभाले सञ्चालकबाट हटाउने प्रस्ताव पारित गरेमा भन्ने व्यवस्थाको बारेमा चर्चा गरिन्छ l ऐनमा साधारण सभाले सञ्चालक हटाउने प्रस्ताव गरेमा पदमुक्त हुने व्यवस्था गरेको छ l यसको  कार्यविधि कम्पनी निर्देशिका, २०७२ को दफा ५३ मा गरिएको छ l दफा ५३(१) मा जम्मा मत (शेयर) सङ्ख्याको कम्तीमा पाँच प्रतिशत मतको प्रतिनिधित्व गर्ने कुनै शेयरधनी वा शेयरधनीको समूहले कुनै सञ्चालकलाई निजको कार्यकाल समाप्त हुनु अगावै हटाउन चाहेमा त्यस्तो प्रस्तावको आधार र कारण खुलाई उक्त प्रस्तावको सूचना साधारण सभा बस्नुभन्दा कम्तीमा ३० दिन अगावै कम्पनीमा पेश गर्नुपर्छ l तर, यस्तो प्रस्ताव सञ्चालक समिति आफैँले राख्न पाउँदैन l यस्तो प्रस्ताव प्राप्त भएपछि कम्पनीले दफा ५३(२) अनुसार त्यस्तो प्रस्तावको सूचना सम्बन्धित सञ्चालकलाई पठाउनुको साथै साधारण सभाको छलफलको विषय (एजेण्डा) मा समावेश गर्नुपर्छ ।

 

दफा ५३(३) मा त्यस्तो सूचनामा निजलाई सञ्चालकको पदबाट नहटाउनु पर्ने कुनै कारण भए लिखितरुपमा प्रतिवाद पेश गर्नु भनी साधारण सभा हुनुभन्दा कम्तीमा २१ दिन अगावै जानकारी दिनुपर्नेछ । दफा ५३(४) मा सम्बन्धित सञ्चालकले लिखितरुपमा आफूले पेश गरेको प्रतिवाद शेयरधनीलाई पठाउन अनुरोध गरेमा कम्पनीले त्यसको प्रतिलिपि सबै शेयरधनीलाई पठाउनु पर्छ । तर, यस्तो प्रतिवाद साधारण सभा हुने दिनभन्दा कम्तीमा १० दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाइएको हुनुपर्नेछ । दफा ५३(५) मा सम्बन्धित सञ्चालकले चाहेमा आफ्नो प्रतिवादको व्यहोरा साधारण सभामा पढेर सुनाउन सक्ने र आफ्नो सफाईमा थप कुरा भए सोसमेत राख्न पाउँछ । दफा ५३(६) मा कम्पनी वा कुनै सरोकारवाला व्यक्तिले दिएको निवेदनबाट सम्बन्धित सञ्चालकले आफ्नो लिखित प्रतिवादमा उल्लेख गरेको व्यहोराबाट निजले आफ्नो प्रतिवाद गर्ने अधिकारको दुरुपयोग गरेको भनी अदालतले निर्णय गरेमा निजले पेश गरेको लिखित प्रतिवाद शेयरधनीलाई पठाउनु पर्ने छैन । दफा ५३(७) यस दफामा व्यवस्था गरिएको कार्यविधि पूरा नगरी कुनै सञ्चालकलाई पदबाट हटाइएको भए सो अमान्य हुनेछ भनेको छ l दफा ५३(६) मा उल्लेखित व्यवस्थाले के भन्न खोजेको बुझिन्न l यो एउटा व्यवस्था नबुझिए पनि निर्देशिकाको अन्य व्यवस्थाको पालना नगरी कुनै पनि सञ्चालकलाई सञ्चालक समितिले हटाउन सक्दैन l

 

अदालतमा सञ्चालकको मुद्दा

 

सन् १९४५ मा बेलायतमा कम्पनी कानुन सुधार गर्नको लागि न्यायाधिश ह्युज कोहेनको अध्यक्षतामा एउटा समिति गठन गरिएको थियो l कोहेन समितिले दिएको सिफारिसको आधारमा कम्पनी कानुनमा सञ्चालक हटाउनेसम्बन्धी व्यवस्थाको शुरुवात भएको हो l कोहेनले गरेको सिफारिस आजको दिनमा हरेक देशका कम्पनी कानुनमा समावेश हुँदै आएको छ l साधारण सभाले सञ्चालक हटाउन सक्ने प्रावधान राखिएपछि यसको कार्यान्वयन गर्दा अदालतले पुनर्स्थापना गरेका र नगरेका थुप्रै अभ्यासहरू पाइन्छ । सञ्चालक हटाउने विषयमा तारलोक खन्ना विरुद्ध राजकुमार कपुर (१९८२) को विवादमा कम्पनीको नियमावलीमा आजीवन सञ्चालक रहने र आफ्नो जीवनकालपछि वा आफू जीवित रहँदा आफ्नो उत्तराधिकारी नियुक्त गर्न पाउने अधिकार पाएका सञ्चालकलाई हटाउन कुनै सूचना नदिइएको कारण दिल्ली हाईकोर्टले खन्नालाई सञ्चालकबाट हटाउने साधारण सभाको निर्णयलाई मान्यता दिएन । नियमावली वा कुनै सम्झौताद्वारा कुनै व्यक्तिलाई आजीवन सञ्चालक नियुक्त गरिएको भए पनि पदको सुरक्षा हुँदैन। यस्ता सञ्चालकलाई पनि साधारण सभाबाट हटाउन सकिन्छ । खन्ना आजीवन सञ्चालक भए पनि उनलाई हटाउन कानुनले निर्धारण गरेको सूचना दिइएको थिएन । साधारण सभाले हटाएको सञ्चालकलाई अदालतले सदर र बदर गरेका अरु थुप्रै घटना छन् l

 

पछिल्लो समयमा साइरस मिस्त्री विरुद्ध टाटा सन्सको मुद्दा निकै चर्चित छ l साइरस मिस्त्री विरुद्ध टाटा सन्सको मुद्दामा अध्यक्ष र सञ्चालकबाट हटाइएका मिस्त्रीले टाटा सन्स विरुद्ध नेशनल कम्पनी ल ट्राइबुनलमा उजुरी दर्ता गरेका थिए । उनले आफूलाई अन्यायपूर्वक हटाएको, अल्पमत शेयरधनीमाथि उत्पीडन गरेको र कम्पनीमा खराब व्यवस्थापन भएको आरोप लगाएका थिए । ट्राइबुनलले यी आरोपहरू खारेज गर्दै टाटा सन्सको कार्य कानुनसम्मत रहेको ठहर गर्‍यो । यसका विरुद्ध साइरस समूहले नेशनल कम्पनी ल अपीलियट ट्राइबुनलमा पुनरावेदन गरेका थिए l अपीलियट ट्राइबुनलले साइरस समूहको पक्षमा निर्णय दियो । टाटा समूह सर्वोच्च अदालत गएको थियो l सर्वोच्च अदालतले  अपीलियट ट्राइबुनलको निर्णय उल्ट्याउँदै मिस्त्रीलाई हटाउने निर्णय कानुनसम्मत रहेको र अल्पमत शेयरधनीमाथि उत्पीडन नभएको ठहर गरेको थियो ।

 

निचोडमा, कम्पनी सञ्चालकलाई कम्पनी कानुन तथा अदालती व्याख्याले जिम्मेवार र कर्तव्य पालनमा पारदर्शी र उत्तरदायी बनाउन जोड दिएको छ l खराब काम गर्ने सञ्चालकलाई पदमुक्त गर्नसक्ने अधिकार शेयरधनीलाई दिएको छ l शेयरधनीबाटै निर्वाचित र अनुमोदित भएर आएका कारण पदमुक्त पनि तिनैले गर्नुपर्ने मान्यतालाई स्थापित गरिएको छ l यति हुँदाहुँदै पनि सञ्चालक जिम्मेवार र कर्तव्यशिल बन्न नसकेको उदाहरण नेपाल सरकार विरुद्ध रवीन्द्रलाल श्रेष्ठ (२०७३) को मुद्दा पर्याप्त छ l सञ्चालकको निगरानी कुनै निकाय (कम्पनी रजिष्ट्रार, व्यवसाय इजाजत दिने निकाय, नियामक) ले राख्नुपर्छ भनेर शेयरधनी पन्छिन मिल्दैन l कम्पनीमा हुने कुशासनको परिणाम शेयरधनीले भोग्नुपर्ने हुँदा सञ्चालकको निगरानी शेयरधनीले राख्नुपर्छ l शेयरधनीलाई कम्पनी कानुनले व्युत्पन्न अधिकारसमेत दिएको छ l यस्ता अधिकारको उपयोग गरेर शेयरधनीले कम्पनीले कम्पनीलाई सुधारको बाटोमा ल्याउन सक्छन l


२६ मङ्सिर २०८१ 

आर्थिक अभियान 

https://abhiyandaily.com/article/snycaalk-pdmuktismbndhii-kaanuun-snycaalk-smitile-snycaalk-httaaun-skch



Wednesday, July 10, 2024

कम्पनी सञ्चालकको योग्यता तोक्ने कसले ?

ईण्डेपेण्डेटण्ट पावर प्रोड्युसर्स एसोसिएसन, नेपाल (इप्पान) र नेपाल धितोपत्र बोर्डबीच केही समय अघि भएको चार बुँदे सम्झौताको निर्णय नं. ४ मा स्वतन्त्र सञ्चालकको सम्बन्धमा २ वटा बुँदा उल्लेख छ l ति बुँदामा के छन भन्ने विषयमा प्रवेश गर्नु अघि कम्पनीका सञ्चालक सम्बन्धमा बुझ्नु उपयुक्त हुन्छ l कम्पनी ऐन, २०६३ को दफा २(म) मा ‘सञ्चालक भन्नाले कम्पनीको सञ्चालक र सो शब्दले वैकल्पिक सञ्चालकसमेतलाई जनाउँछ’ भनेको छ l त्यस्तै, दफा २(य) मा ‘सञ्चालक समिति भन्नाले कम्पनीको सञ्चालक समिति सम्झनुपर्छ’ भनेको छ l ऐनको दफा ८६(१) अनुसार प्राइभेट कम्पनीमा नियमावलीमा तोकिएबमोजिम बढीमा ११ जनासम्म सञ्चालक हुन्छन् l दफा ८६(२) अनुसार पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक हुनसक्छन् l पब्लिक कम्पनीमा महिला पनि शेयरधनी भएमा कम्तिमा १ जना महिला सञ्चालक हुनुपर्छ l पब्लिक कम्पनीमा ७ जनासम्म सञ्चालक भए कम्तीमा १ जना र ७ जनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा २ जना स्वतन्त्र सञ्चालक हुनुपर्छ l

सञ्चालकको समूहलाई सञ्चालक समिति भनिन्छ र यिनै सञ्चालकले आफूमध्येबाट एकजना सञ्चालकलाई अध्यक्ष चयन गर्छन् l सञ्चालकको वैकल्पिक सञ्चालक पनि हुन्छन् l सञ्चालकलाई जति अधिकार हुन्छ, त्यति अधिकार वैकल्पिक सञ्चालकलाई पनि हुन्छ l ऐनको दफा ८८ अनुसार सञ्चालक हुनको लागि नियमावलीमा शेयर सङ्ख्या तोकिएको भए सो बमोजिमको शेयर लिएको हुनुपर्छ l नियमावलीमा यस्तो सङ्ख्या नतोकिएमा कम्तीमा १ सय कित्ता शेयर लिएको हुनुपर्छ l स्वतन्त्र सञ्चालक र वैकल्पिक सञ्चालकले शेयर लिएको हुनुपर्दैन l कम्पनीमा कस्ता व्यक्ति सञ्चालक हुनसक्छन् भन्ने सम्बन्धमा कम्पनी ऐन, २०६३ ले व्यवस्था गरेको छ l 

सञ्चालकको योग्यता/अयोग्यता 

सञ्चालकको नियुक्ति ऐनको दफा ८९ र कम्पनी नियमावलीमा अधिनमा रही साधारण सभाले गर्छ l साधारण सभा शेयरधनीको सभा हो l यसमा शेयरधनी सकेसम्म आफैं उपस्थित हुनुपर्छ l नसकेमा प्रतिनिधि अर्थात् प्रोक्सीमार्फत पनि उपस्थित हुनसक्छन l शेयरधनीमध्येबाटै सञ्चालक निर्वाचित हुन्छन् र शेयरधनीले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सञ्चालक निर्वाचनमा मत हाल्छन् l शेयरधनी जोसुकै सञ्चालक बन्न सक्छन तर, योग्यता भने पुगेको हुनुपर्छ l ऐनको दफा ८९(१) अनुसार (१) पब्लिक कम्पनीको हकमा २१ वर्ष उमेर नपुगेको, (२) मगज बिग्रेको वा बहुलाएको, (३) दामासाहीमा परी ५ वर्षको अवधि पूरा नभएको, (४) भ्रष्टाचार वा नैतिक पतन देखिने अन्य कसूरमा सजाय पाएको, (५) कुनै प्रकारको चोरी, ठगी, कीर्ते वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा कसूरदार ठहरी सजाय भुक्तान भएको ३ वर्ष पूरा नभएको, (६) सम्बन्धित कम्पनीको व्यवसाय वा कुनै ठेक्कापट्टा वा कारोबारमा कुनै प्रकारको निजी स्वार्थ भएको, (छ) समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको, (७) सम्बन्धित कम्पनीलाई रकम बुझाउन बाँकी रहेको ठहर भएको अवस्थामा त्यस्तो शेयरधनी, (८) दफा १६० बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले एक वर्ष ननाघेको वा दफा १६१ बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले ६ महिना ननाघेको, (९) कुनै खास व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा प्रचलित कानूनले कुनै योग्यता तोकेको भए त्यस्तो योग्यता नपुगेको वा कुनै अयोग्यता तोकिएको रहेछ भने त्यस्तो अयोग्यता भएको, (१०) लगातार ३ आर्थिक वर्षसम्म कम्पनी ऐनअनुसार कार्यालय (कम्पनी रजिष्ट्रार) मा पेश गर्नुपर्ने विवरण तथा प्रतिवेदन पेश नगर्ने कुनै कम्पनीको सञ्चालक रहेको, (११) दफा ८१(२) बमोजिम जरिबाना रकम तिर्न बाँकी रहेको, (१२) अर्को कुनै सूचीकृत कम्पनीबाट बैठक भत्ता र बैठक स्थलमा आउन, जान, बस्नका लागि लाग्ने वास्तविक खर्चबाहेक अन्य पारिश्रमिक वा कुनै सुविधा प्राप्त हुने सञ्चालकको पदमा बहाल रहेको कुनै पनि व्यक्ति सञ्चालक बन्न सक्दैनन् l यसमा सूचीकृत असूचीकृतको भेद हुन्न l यसबाहेक कम्पनीमा स्वतन्त्र सञ्चालक पनि हुन्छन् l 

स्वतन्त्र सञ्चालकको लागि माथि उल्लेखित अयोग्यताबाहेक अन्य अयोग्यता पनि तोकिएको छ l ऐनको दफा ८९(२) अनुसार (१) दफा ८९(१) मा उल्लेखित व्यक्ति, (ख) सम्बन्धित कम्पनीको शेयरधनी, (ग) सम्बन्धित कम्पनीले कारोबार गर्ने विषयसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी सम्बन्धित क्षेत्र वा कम्पनी व्यवस्थापनसम्बन्धी काममा कम्तीमा १० वर्षको अनुभव प्राप्त वा अर्थ, वित्त, व्यवस्थापन, लेखा, तथ्याङ्क, वाणिज्य, व्यापार प्रशासन वा कानून विषयमा कम्तीमा स्नातक गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त नगरेको व्यक्ति, (घ) सम्बन्धित कम्पनीको पदाधिकारी, लेखापरीक्षक, कर्मचारी वा त्यस्तो कुनै पदबाट अवकाश प्राप्त गरेको ३ वर्ष पूरा नभएको व्यक्ति, (ङ) सम्बन्धित कम्पनीको पदाधिकारीको नजिकको नातेदार र (च) सम्बन्धित कम्पनीको लेखापरीक्षक वा निजको साझेदार स्वतन्त्र सञ्चालक बन्न सक्दैनन् l

सञ्चालकको दायित्व

कम्पनी सञ्चालकको योग्यता/अयोग्यता पछि सञ्चालकको दायित्व के हुन्छन त्यसबारेमा छोटो चर्चा गरौँ l कम्पनीको दायित्वलाई पनि देवानी र फौजदारी गरि दुई प्रकारले विभाजन गरिएको छ l यस्ता दायित्व कसले वहन गर्छ/गर्छन् भन्ने प्रश्न उठ्छ l कानुनअनुसार ऐन/नियमले दिएको अख्तियारी नाघेर गरेको कार्यको जवाफदेही सञ्चालक हुनुपर्छ l मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ५१ मा ‘कसैले कानूनी व्यक्तिको तर्फबाट कुनै कामकारबाही गर्दा कसैलाई कुनै किसिमको हानि-नोक्सानी पर्न गएमा त्यसको जिम्मेवारी त्यस्तो कानूनी व्यक्ति (कम्पनी) को हुनेछ र त्यसको क्षतिपूर्ति सम्बन्धित कानूनी व्यक्तिले व्यहोर्नु पर्नेछ । तर, कानूनी व्यक्तिको उद्देश्य वा कार्यक्षेत्र बाहिर रही गरेको वा वदनियतपूर्वक गरेको कामकारबाहीबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो काम गर्ने सञ्चालक वा व्यक्ति नै व्यक्तिगतरूपमा जिम्मेवार हुनेछ’। त्यस्तै, मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को दफा ३० मा ‘कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस संहिता वा कानूनबमोजिम कसूर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नुपर्ने’ व्यवस्था छ l 

कम्पनी ऐन, २०६३ को दफा १६० मा कम्पनीका सञ्चालक लगायतलाई तोकिएको कार्य नगरेमा २० देखि ५० हजार रुपैयाँसम्म जरिमाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ l यसमा भएको कैदको व्यवस्था कम्पनीका सञ्चालक र पदाधिकारीलगायतले व्यहोर्नुपर्ने फौजदारी दायित्व हो l त्यस्तै, दफा १६१ मा १० देखि ५० हजार रुपैयाँसम्म जरिमाना मात्र हुने व्यवस्था देवानी दायित्व हो l युनिटी लाईफ न्टरनेशनल लिमिटेड (नेपाल कानुन पत्रिका २०६८, निर्णय नं. ८८१४) को मुद्दामा कम्पनीको ‘देवानी तथा फौजदारी दायित्व विषयमा विस्तृत व्याख्या गरिएको छ lकम्पनीको भौतिक अस्तित्व नभई अमूर्त हुने हुँदा यसलाई कैद गर्न नसकिनेयसको स्वतन्त्र मनमस्तिस्क वा सोच्न सक्ने दिमाग तथा आत्मा नभएको हुनाले यसले आत्मदाह गर्ने अवस्था पनि नहुने हुँदा कुनै फौजदारी आपराधिक मनसाय (मेन्स रिया) पनि राख्न वा बोक्न नसक्ने’ भनिएको छ l कुनै ऐनमा नै कम्पनीको तर्फबाट काम गर्ने सञ्चालककर्मचारी वा व्यक्ति नै व्यक्तिगतरुपमा सजायका भागी हुने भन्ने स्पष्ट व्यवस्था गरिएको अवस्थामा कम्पनीको नाममा काम गर्ने सञ्चालककर्मचारी वा व्यक्ति विरुद्ध कारवाही चलाउन पाइने आदेशमा उल्लेख छ l 

इप्पानको सम्झौताको बुँदा 

कम्पनी सञ्चालकको बारेमा यति कुरा गरिसकेपछि इप्पानले नेपाल धितोपत्र बोर्डसँग गरेको सम्झौताको बुँदा नं. ४ मा प्रवेश गरौँ l इप्पानले धितोपत्र बोर्डसँग गरेको सम्झौतामा (१) सूचीकृत कम्पनीको संस्थागत सुशासनको अवस्थालाई थप सुदृढ बनाउन प्रचलित कानुनको व्यवस्थासँग सामञ्जस्यता कायम गरी स्वतन्त्र सञ्चालकको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन बोर्डबाट स्वतन्त्र सञ्चालकको योग्यतासहितको रोस्टर तयार गर्ने साथै स्वतन्त्र सञ्चालकबाट पालना गर्नुपर्ने व्यवस्था र प्रवाह गर्नुपर्ने विवरणलगायत आवश्यक कुराहरु तोकिदिने व्यवस्था पूर्णरुपमा पालना भएको हुनुपर्ने र (२) बोर्डबाट तोकिएका स्वतन्त्र सञ्चालकसम्बन्धी व्यवस्था सूचीकृत कम्पनीले पूर्णरुपमा पालना गर्नुपर्ने भन्ने छ l सम्झौताका यी दुवै बुँदा अर्थहिन छन् l पहिलो बुँदा ‘सूचीकृत कम्पनीको संस्थागत सुशासनको अवस्थालाई थप सुदृढ बनाउन प्रचलित कानुनको व्यवस्थासँग सामञ्जस्यता कायम गरी स्वतन्त्र सञ्चालकको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन बोर्डबाट स्वतन्त्र सञ्चालकको योग्यतासहितको रोस्टर तयार गर्ने’ भन्ने कुराभित्र अन्योलबाहेक केही छैन l कुनै पनि कम्पनीको ‘संस्थागत सुशासन थप सुदृढ’ बनाउने काम स्वतन्त्र सञ्चालकको मात्र हैन l स्वतन्त्र सञ्चालक र अन्य सञ्चालकको अस्तित्व अलग-अलग पनि हुन्न र सबै सञ्चालक एकै हुन् l सञ्चालकको समूह नै सञ्चालक समिति हो l यसमा स्वतन्त्र र अन्य सञ्चालकको लागि अलग गरिएको हुन्न भन्ने कुरा अदालती आदेशमा पनि उल्लेख गरिएको कुरा आघिल्लो अनुच्छेदमा उल्लेख गरिसकिएको छ l 

यति हुँदाहुँदै पनि कम्पनी ऐनले तोकेको स्वतन्त्र सञ्चालकको योग्यता/अयोग्यता धितोपत्र बोर्डलाई तोक्न लगाउने कार्यको कुनै हिसाबले पनि तर्कसङ्गत छैन l कम्पनी ऐनले तोकेको स्वतन्त्र र अन्य सञ्चालकको योग्यतामा के पुगेको छैन ? धितोपत्र बोर्ड सञ्चालकको योग्यता तोक्ने निकाय हैन भन्ने कुरा इप्पानले नबुझेको हैन, बुझ पचाएको देखिन्छ l कम्पनी ऐनले कुनै खास व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा प्रचलित कानूनले कुनै योग्यता तोक्नसक्ने व्यवस्था गरेको छ l तर, खास व्यवसाय कुन कुन हुन् भन्ने सम्बन्धमा कम्पनी ऐन बोलेको छैन l यस हिसाबले जलविद्युत प्रवर्द्धक गर्ने कम्पनीलाई मनखुशी ‘खास व्यवसाय’ भन्न मिल्दैन l बैंकिंग र बिमा व्यवसाय सञ्चालन गर्ने कम्पनीको लागि यसको नियामकले ‘खास योग्यता’ तोकेको छ l खास व्यवसायबाहेकका सम्पूर्ण कम्पनीको लागि कम्पनी ऐनले तोकेको योग्यता पुगेका व्यक्ति स्वतन्त्र सञ्चालक हुन्छन् l कम्पनी ऐन/निर्देशिकाले सञ्चालक हटाउने व्यवस्था पनि गरेको छ l इप्पानका पदाधिकारी र इप्पानमा आवद्ध जलविद्युत उत्पादक कम्पनीले बोर्डले योग्यता नतोकेको र रोष्टर नबनाएको कारण स्वतन्त्र सञ्चालक नियुक्त नगरी बसेका छन् ? यस्ता अर्थ न बर्थका व्यवस्था राखेर इप्पानले के गर्न खोजेको हो ? 

त्यस्तै, ‘स्वतन्त्र सञ्चालकबाट पालना गर्नुपर्ने व्यवस्था र प्रवाह गर्नुपर्ने विवरण लगायत आवश्यक कुराहरु तोकिदिने’ के भनेको यो ? स्वतन्त्र सञ्चालकले कहाँ, के, कस्तो विवरण प्रवाह गर्ने ? स्वतन्त्र सञ्चालक कम्पनीको छुट्टै निकाय हो र ? अर्को बुँदा ‘बोर्डबाट तोकिएका स्वतन्त्र सञ्चालकसम्बन्धी व्यवस्था सूचीकृत कम्पनीले पूर्णरुपमा पालना गर्नुपर्ने’ भन्ने छ l अहिलेसम्म इप्पानका पदाधिकारीले कम्पनी ऐनले तोकेको स्वतन्त्र सञ्चालकसम्बन्धी व्यवस्था पालना गरेका रहेनछन् भन्ने यसले अर्थ दिंदैन ? कम्पनी ऐनले स्वतन्त्र र अन्य सञ्चालकका लागि निर्दिष्ट गरेको योग्यता/अयोग्यता पर्याप्त छ l


अन्नपूर्ण पोष्ट 

माघ ३, २०८० बुधबार

https://www.annapurnapost.com/story/450371/


  

Saturday, January 27, 2024

सञ्चालकको स्वघोषणा खोइ ?

कम्पनीलाई कानुनले व्यक्ति माने पनि आफैँ सञ्चालन नहुने भएकोले यसको सञ्चालन प्राकृतिक व्यक्तिले गर्छन् l यस्ता व्यक्तिलाई सञ्चालक र यिनको समूहलाई सञ्चालक समिति भनिन्छ l प्राइभेट कम्पनीमा कम्पनीको नियमावलीमा व्यवस्था भएबमोजिम बढीमा ११ जना तथा पब्लिक कम्पनीमा कम्तिमा ३ र बढीमा ११ जना सञ्चालक हुन्छन् l महिला पनि शेयरधनी भएका पब्लिक कम्पनीमा कम्तिमा एकजना महिला पनि सञ्चालक हुनुपर्ने व्यवस्था छ l पब्लिक कम्पनीमा ७ जनासम्म भएमा १ र ११ जनासम्म सञ्चालक भएमा २ जना स्वतन्त्र सञ्चालक हुन्छन् l सञ्चालकलाई महिला, स्वतन्त्र र अन्य जे जे भनिए पनि यी सबैको काम, कर्तव्य र वहन गर्नुपर्ने दायित्व एकै हुन्छ l स्वतन्त्रबाहेक महिला वा पुरुष सञ्चालकको योग्यता/अयोग्यता एकै हुन्छ l स्वतन्त्र सञ्चालकको हकमा भने केही फरक हुन्छ l प्राइभेट र असूचीकृत कम्पनीको सञ्चालकले कम्पनीको स्वीकृति लिएर आफूले धारण गरेको शेयर बेच्न सक्छन तर, सूचीकृत कम्पनीका सञ्चालकले शेयर किनबेच गर्न सक्दैनन् l सूचीकृत कम्पनीका सञ्चालकलाई धेरै कुरामा बन्देज लगाईएको भए पनि शेयरबजारको अग्रपंक्ति (फ्रण्टलाईन) को नियामक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले के कस्ता स्वघोषण गर्नुपर्छ भन्ने सम्बन्धमा कुनै कानुनी व्यवस्था गरेको छैन l

सञ्चालकका शर्तबन्देज

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८(१क) मा ‘सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्षरुपले सङ्लग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक बर्षसम्म सम्बन्धित कम्पनी वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ भन्ने व्यवस्था छ l तर, नियमावलीको नियम ३८(२) मा बिक्री वा हस्तान्तरण गर्न नपाईने गरी तोकिएको समयावधि (लकइन पिरियड) भित्र त्यस्तो कम्पनीको धितोपत्र बिक्री वा हस्तान्तरण नभएको कारणले कम्पनी सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न हुन गएमा त्यस्तो शेयरवालाको बीच धितोपत्र बिक्री वा हस्तान्तरण गर्न बोर्डले स्वीकृति दिनसक्नेछ ।

नियम ३८(३) मा धितोपत्र धारकको मृत्यु भएको अवस्थामा सम्बन्धित हकवालाको नाममा हस्तान्तरण गर्न बाधा नपर्ने व्यवस्था छ l नियम ३९(१) मा निश्चित अवधिका लागि बिक्री गर्न नपाइने शेयर प्रमाणपत्रहरुमा कुन मितिदेखि कुन मितिसम्म शेयर हस्तान्तरण गर्न बन्देज रहने हो, सो व्यहोराको छाप लगाएको हुनुपर्ने नियम ३९(२) मा अभौतिकरुपमा जारी गरेको धितोपत्र भएमा शेयर हस्तान्तरण गर्न बन्देज रहने मितिसम्म कारोबार नहुने गरी केन्द्रीय निक्षेपक (सिडीएस) मा आवश्यक व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

नियमावलीमा उल्लेखित व्यक्तिले पदमा रहेका बखत धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१ अनुसार भित्री कारोबार गरेमा त्यो दण्डनीय हुन्छ l उक्त दफा ९१ मा’कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामाबाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ l यसैको स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ’ भनेको छ l

भित्री कारोबारमा को को सङ्लग्न हुनसक्छन भन्ने विषयमा ऐनको दफा ९२(१) मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी, (२) सो कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति (बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, सञ्चालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ l ऐनको दफा ९२ मा उल्लेखित व्यक्ति र नियमावलीको नियम ३८ मा उल्लेख गरिएका व्यक्ति लगभग एकै हुन् l दफा ९२ मा उल्लेखित व्यक्तिले दफा ९१ अनुसारको कारोबार गरेमा यसलाई वित्तीय अपराधको रुपमा परिभाषा गरि दण्डनीय बनाईएको छ l यस्ता व्यक्तिले ऐनको दफा ९१ मा उल्लेखित कारोबार गरेको ठहरेमा ऐनको दफा १०१ अनुसार विगोबमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । यस्ता व्यक्तिले उल्लेखित सजाय पाएमा ऐनको दफा १०८ अनुसार त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पूरा नभएसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने व्यवस्था छ l

स्वघोषणा खै ?

पङ्क्तिकार स्वयम् नेप्सेमा सूचीकृत एक जलविद्युत कम्पनीमा स्वतन्त्र सञ्चालकमा नियुक्त भएको ८ महिना पूरा हुँदा पनि नेप्सेलाई कम्पनीले सञ्चालक समितिक गठन भएको बेहोरायुक्त पत्राचार गरेकोबाहेक सञ्चालकको तर्फबाट कुनै पनि स्वघोषणासम्बन्धी कागजात बुझाएको छैन l नियमावलीको नियम ३८ र ऐनको दफा ९२ मा वर्णित व्यक्तिले शेयर कारोबार र भित्री कारोबार गर्न नहुने कानुनी व्यवस्था गरे पनि उल्लेखित व्यक्तिले कुनै पनि प्रकारको स्वघोषणा गर्नुपर्ने कुनै पनि किसिमको कानुनी व्यवस्था छैन l स्वतन्त्र सञ्चालक भएको कारण पङ्क्तिकारसँग उक्त कम्पनीको तत्काल शेयर नभए पनि भविष्यमा किन्नसक्ने हुँदा पङ्क्तिकारलाई  शेयर किन्न रोक लगाउने कुनै संयन्त्र छैन l शेयर कारोबार र भित्री कारोबार गर्न नहुने व्यवस्था गरेर मात्र ऐन र नियमावलीमा उल्लेखित उद्देश्य पूरा हुँदैन l

कम्पनी ऐन, २०६३ को दफा ९२ अनुसार सञ्चालकले पद बहाल गरेको १५ दिनभित्र (१) कम्पनीको कारोबारसँग सम्बन्धित कुनै प्रकारको खरिदबिक्री वा अन्य प्रकारको ठेक्कापट्टामा आफू वा आफ्नो नजिकको नातेदारको प्रत्यक्ष सङ्लग्नता भएको वा कुनै किसिमको निजी स्वार्थ भए/नभएको, (२) कम्पनीको प्रबन्ध सञ्चालक, कम्पनी सचिव, पदाधिकारी नियुक्तिको सम्बन्धमा कुनै प्रकारको स्वार्थ भए/नभएको, (३) अन्य कुनै कम्पनीको सञ्चालक रहे/नरहेको र (४) कम्पनी वा त्यस्तो कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिबेञ्चर कारोबार गरेको भएमा त्यस्तो कारोबारको विषय खोली स्वघोषणा गरि कम्पनीलाई जानकारी गराउनुपर्छ l यस्ता स्वघोषणा सूचीकृत र असूचीकृत सबै प्रकारका कम्पनी सञ्चालकले गर्नुपर्छ l तत्पश्चात कम्पनीले यस्ता स्वघोषणा कम्पनी रजिष्ट्रार कार्यालयलाई उपलब्ध गराउनुपर्छ l नियमावलीको नियम ३८ अनुसार सामान्य अवस्थामा हुनसक्ने शेयर कारोबार र ऐनको दफा ९१ मा उल्लेखित भित्री कारोबार रोक्ने कानुनी पूर्वाधारको व्यवस्था गरिएको छैन l नियम ३९ को व्यवस्थाले नियमावलीको नियम ३८ र ऐनको दफा ९१ लाई समेट्दैन l

के के हुनुपर्छ स्वघोषणामा ?

सञ्चालकले आफ्नो व्यक्तिगत विवरण र कम्पनी ऐनको दफा ९२ उल्लेखित विषयका अतिरिक्त (१) सञ्चालकको तत्काल खोलिएका सम्पूर्ण हितग्राही खाता र भविष्यमा खोलिएमा वा कुनै हितग्राही खाता बन्द गरिएमा त्यसको अद्यावधिक विवरण, (२) अन्य सूचीकृत वा असूचीकृत कम्पनीमा सञ्चालक रहेको भए ति कम्पनीको नाम, (३) अन्य सूचीकृत वा असूचीकृत कम्पनीमा आधारभूत शेयरधनी भएमा उक्त कम्पनीको नाम, (४) कुनै फौजदारी अभियोग लागि सजाय पाएको भए सजाय भुक्तान भएको वर्ष (५) परिवारको सदस्यको नाममा खोलिएका सम्पूर्ण हितग्राही खाता र भविष्यमा खोलिएमा वा कुनै हितग्राही खाता बन्द गरिएमा त्यसको अद्यावधिक विवरण, (६) अन्य सूचीकृत वा असूचीकृत कम्पनीमा परिवारका सदस्य सञ्चालक रहेको भए ति कम्पनीको नाम, (७) अन्य सूचीकृत वा असूचीकृत कम्पनीमा परिवारका सदस्य आधारभूत शेयरधनी भएमा उक्त कम्पनीको नाम, (८) कर चुक्ता (९) सञ्चालक र तिनका परिवारको सदस्य कुनै इन्भेष्टमेन्ट कम्पनीमा सञ्चालक वा शेयरधनी भए/नभएको विवरण जस्ता अन्य आवश्यक विवरण स्वघोषणा गर्न लगाउनुपर्ने कानुनी व्यवस्था आवश्यक छ l यस्तै किसिमको स्वघोषणा कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले सङ्लग्न व्यक्तिको लागि पनि गराउने व्यवस्था हुनुपर्छ l 

यस्तो स्वघोषणाको फारम अनलाईनबाटै भर्न सकिने व्यवस्था गर्न पनि सकिन्छ l यी विवरण आएपछि नेप्से आफैँले उल्लेखित तत् तत् व्यक्तिले तत् तत् कम्पनीको शेयर किन्न वा बेच्न नसक्ने गरि प्रबन्ध गराउनुपर्छ l यति गर्दैमा भित्री कारोबार रोकिने भन्ने हैन, भित्री कारोबार उल्लेखित व्यक्ति आफूले सूचना लिएर अन्य व्यक्तिबाट पनि गर्न/गराउन   सक्छन l तर, नियम ३८ अनुसार हुने कारोबारलाई भने पूर्णतः रोक्न सकिन्छ l यद्यपि उल्लेखित व्यक्तिलाई पदमा रहँदाका बखत शेयर कारोबार गर्न नपाउने व्यवस्था गर्नु आवश्यक छैन l यी व्यक्तिलाई स्वघोषणा गरेर त्रैमासिक अवधि सकिनु १५ दिन अघि बेच्न र त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशन भएको १५ दिनभित्र किन्न दिनुपर्छ l तोकिएको समयबाहेक अन्य समयमा किनबेच गरेमा भने त्यस्तो कार्यलाई ऐनको दफा ९१ विपरित कार्य गरेको मानिने व्यवस्था गर्नुपर्छ l 

२०८०/८/१२ अन्नपूर्ण पोष्ट 

https://annapurnapost.com/story/447193/

Tuesday, November 7, 2023

कम्पनी सञ्चालकसम्बन्धी कानुनी व्यवस्था

इन्द्रिय (ज्ञानेन्द्रीय र कर्मेन्द्रीय) नभए पनि कानुनले कम्पनीलाई व्यक्ति मान्दछ l व्यक्ति मानिए पनि कम्पनी आफैँ सञ्चालन नहुने हुँदा यसलाई प्राकृतिक व्यक्तिले सञ्चालन गर्छन् l यस्ता व्यक्तिलाई सञ्चालक र यसको समूहलाई सञ्चालक समिति भनिन्छ l सञ्चालकको वैकल्पिक सञ्चालक पनि हुन्छन् l कम्पनी ऐन, २०६३ को दफा २(म) मा ‘सञ्चालक भन्नाले कम्पनीको सञ्चालक र सो शब्दले वैकल्पिक सञ्चालकसमेतलाई जनाउँछ’ भनेको छ l त्यस्तै, दफा २(य) मा ‘सञ्चालक समिति भन्नाले कम्पनीको सञ्चालक समिति सम्झनुपर्छ’ भनेको छ l

सञ्चालक र सञ्चालक समिति

कम्पनी ऐनको दफा ८६(१) अनुसार प्राइभेट कम्पनीमा नियमावलीमा तोकिएबमोजिम बढीमा ११ जनासम्म सञ्चालक हुन्छन् l दफा ८६(२) अनुसार पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक हुनसक्छन् l पब्लिक कम्पनीमा महिला पनि शेयरधनी भएमा कम्तिमा १ जना महिला सञ्चालक हुनुपर्छ l पब्लिक कम्पनीमा ७ जनासम्म सञ्चालक भए कम्तीमा १ जना र ७ जनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा २ जना स्वतन्त्र सञ्चालक हुनुपर्छ l यिनै सञ्चालकले आफूमध्येबाट एकजना सञ्चालकलाई अध्यक्ष चयन गर्छन् l

सञ्चालकको नियुक्ति

सञ्चालकको नियुक्ति सामान्यतया: ऐनको दफा ८९ र कम्पनीको नियमावलीको अधिनमा रही साधारण सभाले गर्छ l तर, अपवादको रुपमा सञ्चालक समिति र संस्थापक शेयरधनीले पनि सञ्चालक नियुक्त गर्छन् l कम्पनीको प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापक शेयरधनीले सञ्चालक नियुक्त गर्छन् l संस्थापक शेयरधनी र वार्षिक साधारण सभाद्वारा नियुक्त सञ्चालकको पद कुनै बेहोराले रिक्त भएमा सो रिक्त स्थानमा सञ्चालक समितिले नियुक्त गर्छ l ऐनको दफा ८७(२) मा कुनै संगठित संस्था (कम्पनी) शेयरधनी भएमा सो कम्पनीले ग्रहण गरेको शेयर सङ्ख्याको अनुपातमा सञ्चालक र तिनको वैकल्पिक सञ्चालक नियुक्त गर्नसक्छन l मूल सञ्चालक कुनै बेहोराले सञ्चालक समितिको बैठकमा भाग लिन असमर्थ भएमा वैकल्पिक सञ्चालक बैठकमा उपस्थित हुन र मतदान गर्न योग्य हुन्छन l ऐनको दफा ८८ अनुसार सञ्चालक हुनको लागि नियमावलीमा शेयर सङ्ख्या तोकिएको भए सो बमोजिमको शेयर लिएको हुनुपर्छ l नियमावलीमा यस्तो सङ्ख्या नतोकिएमा कम्तीमा १ सय कित्ता शेयर लिएको हुनुपर्छ l स्वतन्त्र र संस्थागत शेयरधनीको तर्फबाट मनोनयन हुने सञ्चालक र वैकल्पिक सञ्चालकले शेयर लिएको हुनुपर्दैन l ऐनको दफा ९२ अनुसार सञ्चालकले पद बहाल गरेको १५ दिनभित्र (१) कम्पनीको कारोबारसँग सम्बन्धित कुनै प्रकारको खरिदबिक्री वा अन्य प्रकारको ठेक्कापट्टामा आफू वा आफ्नो नजिकको नातेदारको प्रत्यक्ष संलग्नता भएको वा कुनै किसिमको निजी स्वार्थ भए/नभएको, (२) कम्पनीको प्रबन्ध सञ्चालक, कम्पनी सचिव, पदाधिकारी नियुक्तिको सम्बन्धमा कुनै प्रकारको स्वार्थ भए/नभएको, (३) अन्य कुनै कम्पनीको सञ्चालक रहे/नरहेको र (४) कम्पनी वा त्यस्तो कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिबेञ्चर कारोबार गरेको भएमा त्यस्तो कारोबारको विषय खोली स्वघोषणा गरि कम्पनीलाई जानकारी गराउनुपर्छ l

सञ्चालकको अयोग्यता

जोसुकै व्यक्ति कम्पनीमा सञ्चालक बन्न सक्दैनन् l कस्ता कस्ता व्यक्ति सञ्चालक हुन अयोग्य हुन्छन् भन्ने सम्बन्धमा ऐनको दफा ८९(१) मा व्यवस्था गरिएको छ l उक्त दफामा गरिएको व्यवस्थाअनुसार (१) पब्लिक कम्पनीको हकमा २१ वर्ष उमेर नपुगेको, (२) मगज बिग्रेको वा बहुलाएको, (३) दामासाहीमा परी ५ वर्षको अवधि पूरा नभएको, (४) भ्रष्टाचार वा नैतिक पतन देखिने अन्य कसूरमा सजाय पाएको, तर प्राइभेट कम्पनी भए त्यस्तो सजाय भुक्तान भएको मितिले ३ वर्ष पूरा नभएको, (५) कुनै प्रकारको चोरी, ठगी, कीर्ते वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा कसूरदार ठहरी सजाय भुक्तान भएको ३ वर्ष पूरा नभएको, (६) सम्बन्धित कम्पनीको व्यवसाय वा कुनै ठेक्कापट्टा वा कारोबारमा कुनै प्रकारको निजी स्वार्थ भएको, (छ) समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको तर, एउटा प्राइभेट कम्पनीको त्यस्तो व्यक्ति समान उद्देश्य भएको अर्को प्राइभेट कम्पनीमा सञ्चालक हुनसक्छ, (७) सम्बन्धित कम्पनीलाई रकम बुझाउन बाँकी रहेको ठहर भएको अवस्थामा त्यस्तो शेयरधनी, (८) दफा १६० बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले एक वर्ष ननाघेको वा दफा १६१ बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले ६ महिना ननाघेको, (९) कुनै खास व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा प्रचलित कानूनले कुनै योग्यता तोकेको भए त्यस्तो योग्यता नपुगेको वा कुनै अयोग्यता तोकिएको रहेछ भने त्यस्तो अयोग्यता भएको, (१०) लगातार ३ आर्थिक वर्षसम्म कम्पनी ऐनअनुसार कार्यालय (कम्पनी रजिष्ट्रार) मा पेश गर्नुपर्ने विवरण तथा प्रतिवेदन पेश नगर्ने कुनै कम्पनीको सञ्चालक रहेको, (११) दफा ८१(२) बमोजिम जरिबाना रकम तिर्न बाँकी रहेको, (१२) अर्को कुनै सूचीकृत कम्पनीबाट बैठक भत्ता र बैठक स्थलमा आउन, जान, बस्नका लागि लाग्ने वास्तविक खर्चबाहेक अन्य पारिश्रमिक वा कुनै सुविधा प्राप्त हुने सञ्चालकको पदमा बहाल रहेको कुनै पनि व्यक्ति सञ्चालक बन्न सक्दैनन् l

त्यस्तै, स्वतन्त्र सञ्चालकको पनि अयोग्यता तोकिएको छ l ऐनको दफा ८९(२) अनुसार (१) दफा ८९(१) मा उल्लेखित व्यक्ति, (ख) सम्बन्धित कम्पनीको शेयरधनी, (ग) सम्बन्धित कम्पनीले कारोबार गर्ने विषयसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी सम्बन्धित क्षेत्र वा कम्पनी व्यवस्थापनसम्बन्धी काममा कम्तीमा १० वर्षको अनुभव प्राप्त वा अर्थ, वित्त, व्यवस्थापन, लेखा, तथ्याङ्क, वाणिज्य, व्यापार प्रशासन वा कानून विषयमा कम्तीमा स्नातक गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त नगरेको व्यक्ति, (घ) सम्बन्धित कम्पनीको पदाधिकारी, लेखापरीक्षक, कर्मचारी वा त्यस्तो कुनै पदबाट अवकाश प्राप्त गरेको ३ वर्ष पूरा नभएको व्यक्ति, (ङ) सम्बन्धित कम्पनीको पदाधिकारीको नजिकको नातेदार र (च) सम्बन्धित कम्पनीको लेखापरीक्षक वा निजको साझेदार स्वतन्त्र सञ्चालक बन्न सक्दैनन् l

कार्यकाल र पद रिक्तता

कुनै पनि निकायमा नियुक्त व्यक्तिले एउटा निश्चित समय पूरा गरेपछि अवकाश प्राप्त गर्छ l ऐनको दफा ९०(१) अनुसार प्राइभेट कम्पनीको सञ्चालकको कार्यकाल नियमावलीमा व्यवस्था गर्न सकिन्छ l दफा ९०(२) अनुसार पब्लिक कम्पनीको सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भएबमोजिम बढीमा ४ वर्ष हुन्छ l नेपाल सरकार वा संस्थागत निकायद्वारा नियुक्त (मनोनित) सञ्चालक नियुक्त गर्ने संस्थाको इच्छाअनुसारको अवधिसम्म बहाल रहन्छन् l कम्पनी दर्ता भएपश्चात संस्थापकद्वारा नियुक्त सञ्चालक प्रथम वार्षिक साधारण सभा नभएसम्म मात्र बहाल रहन्छन l कुनै सञ्चालकको कार्यकाल पूरा नहुँदै पद रिक्त भई सो पदमा नियुक्त सञ्चालक बाँकी कार्यकालसम्म बहाल रहन्छन् l दफा ९०(३) अनुसार प्रचलित कानून वा नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एक कार्यकाल पूरा गरेको सञ्चालकको पुनः नियुक्त हुनसक्छन l

कम्पनीमा नियुक्त व्यक्तिले सामान्यतया: सेवा अवधि पूरा गरेपछि अवकाशप्राप्त गर्छ l यसबाहेक जुनसुकै बेला पनि अवकाश पाउन सक्छ l ऐनको दफा ८९(३) अनुसार (१) दफा ८९(१) र (२) मा लेखिएबमोजिम योग्यता पुगेर नियुक्त सञ्चालक नियुक्त भईसकेपछि कुनै योग्यताबाट अयोग्य भएमा, (२) साधारण सभाले सञ्चालकबाट हटाउने प्रस्ताव पारित गरेमा, (३) सञ्चालकले आफ्नो पदबाट दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेमा, (४) कम्पनीको कामकारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट ठहर भएमा, (५) कम्पनी ऐनबमोजिम सञ्चालकले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेको वा गर्नुपर्ने भनी तोकिएको कार्य नगरेको भनी अदालतबाट ठहर भएमा, (६) प्रचलित कानूनबमोजिम बैंक वा वित्तीय संस्थाको ऋण नतिरी अधिकारप्राप्त निकायले कालो सूचीमा राखी कालो सूचीको अवधि कायम रहेको भएमा सञ्चालक पदमुक्त हुन्छन् l कुनै व्यक्तिलाई सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन अयोग्य ठहर्याउनु अघि कम्पनीले निजलाई सो कुराको सूचना दिई सफाई पेश गर्ने मनासिब मौका दिनुपर्छ ।

सञ्चालकको दायित्व

दायित्वलाई देवानी र फौजदारी गरि दुई प्रकारले विभाजन गरिएको छ l वैशेषिक दर्शनका प्रणेता महर्षि कणादका अनुसार ‘यतोऽभ्युदयनिःश्रेयससिद्धि: स धर्म: अर्थात् अभ्युदय (उन्नति) तथा निःश्रेयस (मोक्ष) बाट परलौकिक उन्नति एवं कल्याणको बोध हुन्छ l यही बोध नै दायित्व हो l निर्जीव कम्पनीले पनि यी दायित्व वोध गरि वहन गर्नुपर्छ l तर, यस्तो दायित्व वोध कम्पनी आफैँले गर्न नसक्ने हुँदा यसको सञ्चालन गर्ने व्यक्तिले व्यहोर्नुपर्छ l कम्पनीमा शेयरधनीको सिमित दायित्व र कम्पनी तथा शेयरधनीको ‘अलगअलग’ व्यक्तित्व हुन्छ l यस हिसाबले कम्पनी आफैले दायित्व वहन गर्छ भन्ने बुझिन्छ तर, यस सिद्धान्तको अपवादको रुपमा कम्पनीका सञ्चालकको दायित्व शेयरधनीको झैँ सिमित हुँदैन l यसको कारण सबै शेयरधनी प्रत्यक्षरुपमा कम्पनी सञ्चालनमा सहभागी नहुने हुँदा शेयरधनीको दायित्व सिमित गरिएको हो l ऐन/नियमले दिएको अख्तियारी नाघेर गरेको कार्यको जवाफदेही सञ्चालक हुनुपर्छ l मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ५१ मा ‘कसैले कानूनी व्यक्तिको तर्फबाट कुनै कामकारबाही गर्दा कसैलाई कुनै किसिमको हानि-नोक्सानी पर्न गएमा त्यसको जिम्मेवारी त्यस्तो कानूनी व्यक्ति (कम्पनी) को हुनेछ र त्यसको क्षतिपूर्ति सम्बन्धित कानूनी व्यक्तिले व्यहोर्नु पर्नेछ । तर, कानूनी व्यक्तिको उद्देश्य वा कार्यक्षेत्र बाहिर रही गरेको वा वदनियतपूर्वक गरेको कामकारबाहीबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो काम गर्ने सञ्चालक वा व्यक्ति नै व्यक्तिगतरूपमा जिम्मेवार हुनेछ’। त्यस्तै, मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को दफा ३० मा ‘कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस संहिता वा कानूनबमोजिम कसूर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नुपर्ने’ व्यवस्था छ l

 

कम्पनी ऐन, २०६३ को दफा १६० मा कम्पनीका सञ्चालक लगायतलाई तोकिएको कार्य नगरेमा २० देखि ५० हजार रुपैयाँसम्म जरिमाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ l यसमा भएको कैदको व्यवस्था कम्पनीका सञ्चालक र पदाधिकारीलगायतले व्यहोर्नुपर्ने फौजदारी दायित्व हो l त्यस्तै, दफा १६१ मा १० देखि ५० हजार रुपैयाँसम्म जरिमाना मात्र हुने व्यवस्था देवानी दायित्व हो l कम्पनी दर्ता हुनुसाथ जे मन लाग्यो त्यही कारोबार गर्न पाइँदैन l व्यवसाय गर्न कुनै निकायबाट अनुमति लिनुपर्नेमा सो अनुमति लिएर मात्र कारोबार गर्न पाइन्छ l पब्लिक कम्पनीले कारोबार शुरु गर्नुअघि कम्पनी रजिष्ट्रार कार्यालयकोसमेत अनुमति लिनुपर्छ l यसरी अनुमति नलिई कारोबार गरेमा प्रबन्धपत्र र नियमावलीभन्दा बाहिर गएर कारोबार गरेमा फौजदारी दायित्व वहन गर्नुपर्छ

                   

युनिटी लाईफ न्टरनेशनल लिमिटेड (नेपाल कानुन पत्रिका २०६८, निर्णय नं. ८८१४) को मुद्दामा कम्पनीको ‘देवानी तथा फौजदारी दायित्व विषयमा विस्तृत व्याख्या गरिएको छ l कम्पनीको नामबाट भए गरेका कामकारवाहीमा सञ्चालक तथा कर्मचारीलाई कारवाही गर्नुपर्ने सम्बन्धमा अदालतले व्याख्या गर्दै कम्पनीको स्वतन्त्र अस्तित्व र सीमित दायित्वको सिद्धान्त व्यवसायिक सुगमताको लागि दिइएको सुविधा हो र यो सुविधा प्रचलित कानूनअनुरूप कम्पनीको पूर्व निर्धारित उद्देश्यअनुरूप भए गरेका वा सञ्चालन भएका कारोवारहरूको सम्बन्धमा मात्र प्राप्त हुने भनेको छ l त्यस्तै, कम्पनीको अस्तित्व र आपराधिक गतिविधिमा संलग्न हुने सम्बन्धमा व्याख्या गर्दै ‘कम्पनीको भौतिक अस्तित्व नभई अमूर्त हुने हुँदा यसलाई कैद गर्न नसकिनेयसको स्वतन्त्र मनमस्तिस्क वा सोच्न सक्ने दिमाग तथा आत्मा नभएको हुनाले यसले आत्मदाह गर्ने अवस्था पनि नहुने हुँदा कुनै फौजदारी आपराधिक मनसाय (मेन्स रिया) पनि राख्न वा बोक्न नसक्ने’ भनिएको छ l कुनै ऐनमा नै कम्पनीको तर्फबाट काम गर्ने सञ्चालककर्मचारी वा व्यक्ति नै व्यक्तिगतरुपमा सजायका भागी हुने भन्ने स्पष्ट व्यवस्था गरिएको अवस्थामा कम्पनीको नाममा काम गर्ने सञ्चालककर्मचारी वा व्यक्ति विरुद्ध कारवाही चलाउन पाइने आदेशमा उल्लेख छ l


२०८९/७/२१ मा अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित

https://annapurnapost.com/story/445441/

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...