Monday, July 1, 2019

शेयरबजार : हल्लैहल्ला, चर्कंदो, पर्खंदो र अनुहारको धुलो


नेपालको शेयरबजार कवि भूपेन्द्रमान (भूपि) शेरचन (हल्लैहल्लाको देश), कवि तथा गीतकार हरिभक्त कटुवाल (चर्कंदो र भूकम्प पर्खंदो) र मिर्जा गालिव (धूल चहेरे पे था) का रचनाको अंश जस्तै छ । शेयरबजार सत्य वचन मात्र सुन्न पाइने साधुसन्तको कुटी होइन । शेयरबजारमा अलिकति हल्ला र अफवाह हुन्छ । तर, नेपालको शेयरबजारमा चाहिनेभन्दा बढी नै हल्ला चल्छ । त्यसैले पनि होला बाँचिरहेका भए ८४ वर्ष पुग्ने तर, ३० वर्षअघि नै दिवंगत भइसकेका भूपिले उहिले यो हल्लैहल्लाको देशभनेर लेखे । भूपिको हल्लैहल्लाको देशमाआजको अंकमा यस्तै हल्लालेख्न प्रयास गरिएको छ ।
हरिभक्तको भित्तो 
भूपिसँगै एकै वर्ष प्रवास (भारत, आसाम) मा जन्मेका, ‘यो घरको भित्ता जहाँ म बस्छु चर्कंदो छ’, कुनै ठुलो भूकम्प पर्खंदो छकवि हरिभक्त कटुवालको रचनाको एक अंश हो । सूचीकृत कम्पनी, शेयर संख्या, दैनिक कारोबार संख्या, दैनिक कारोबार हुने शेयर संख्या, चुक्तापूँजी, बजार पूँजीकरणका आधारमा बैंक र वित्तको अंश अझ पनि ८० प्रतिशत हाराहारीमा हुँदाहुँदै पनि यही संस्थालाई शेयर दलालीको अनुमति दिने प्रक्रिया अघि बढाएर नेपालको शेयरबजारमा भयावह दुर्घटनालाई निम्तो दिने कार्य हुँदै छ । निम्तोपत्र छाप्ने कार्यमा शेयरबजारको तालुकी अड्डा नै लाग्नु दुर्भाग्य बाहेक केही होइन । अन्यत्रको अभ्यासमा जसले दलाल पाउने हो उसको अंश शेयरबजारमा २० प्रतिशतभन्दा कम हुनुपर्छ । तर, यहाँ त २० प्रतिशत चाहिँ अन्य क्षेत्रको छ । यस्तो स्थितिमा बैंकलाई दलाली दिने प्रक्रिया कवि कटुवालको शब्दमा शेयरबजार चर्कंदो र भूकम्प पर्खंदो भित्ताहो ।
गालिबको ऐना र अनुहार
धूल चहेरे पे थी और आइना साफ करता रहाअर्थात् धूलो अनुहारमा थियो तर ऐना सफा गर्दै रहेभन्ने उर्दू भाषाका कवि मिर्जा गालिबको रचना अंश जस्तै शेयर कारोबारी देखिएका छन् । शेयर लगानी जोखीम हो भन्ने कुरालाई बेवास्ता गरेर मनलाग्दी पाराले कम्पनीको प्रोफाइल नै नहेरी लगानी गरेका व्यक्तिहरू घाटामा गएपछि त्यसको दोष अर्थमन्त्री, शेयर दलाल, एक्सचेन्ज र अमुक व्यक्ति आदिलाई दिइरहेका छन् । शेयर जारी गर्ने हरेक कम्पनीले विवरणपत्रमा जोखिम पक्षलाई हेरेर लगानी गर्न आह्वान गरेका हुन्छन् । अझ दोस्रो बजारमा हुने कारोबार मूल्यले वास्तविक मूल्य नजनाउने पनि भनिएको हुन्छ । लगानी आफ्नो विवेकले हुन्छ । शेयर लगानी व्यक्तिगत नाफा घाटाको लागि हुन्छ । यस्ता लगानी गर्नेको कुनै संघ र संगठन हुँदैन । यदि यस्ता संघ र संगठन बनाएर लगानी हुन्छ भने यसले त्यहाँ अवाञ्छित गतिविधि भएको बुझ्नुपर्ने हुन्छ । यस्तो कार्य स्वतः गैरकानूनी हो । यस्ता सङ्गठनलाई मान्यता दिनु भनेको संगठित अपराधलाई मान्यता दिनु हो । यस्तै संगठन नामक केही पारिवारिक समूहले रातारात मालामाल हुने दाउमा गरेको लगानी फसेपछि लगाएको दोष गालिबले भने झैं आइना साफ करता रहाभन्दा अरू केही होइन ।
बैङ्कासुरेन्सले दिएको संकेत 
कार्य विशिष्टीकरण विपरीत शेयर दलाल अनुमति दिने कार्यले कति भयावह अवस्था ल्याउने हो, त्यसको केही संकेत बैङ्कासुरेन्सले देखाउन थालिसकेको छ । बैंकलाई बीमा अभिकर्ता दिँदा ऋणीलाई अनिवार्य बीमालेख लिन लगाएको र नलिने ग्राहक (ऋणी) लाई सकेसम्म ऋण नदिने र दिए पनि ढिला गर्ने गरिएको छ । बैंकले बीमालेख विक्री गर्नुको अन्तर्निहित पाटो भने बीमालेख विक्री बापत प्राप्त हुने कमिशन आम्दानी र ग्राहकले तिर्ने प्रिमियम रकम निक्षेपका रूपमा पाउने लालसा मात्र बनेको छ । बीमाको पहुँच बढोस् घटोस् बैंकको चासो बनेको छैन ।
यिनै बैंकले कार्य विशिष्टीकरण विपरीत शेयर दलाल अनुमति पाएमा वा लिन खोजेका कारण बीमालेखमा झैं कमिशन आम्दानी र कारोबार भएको रकम आफ्नो बैंकका लागि निक्षेप बनाउन खोज्नु बाहेक अरू केही होइन । बैंक भनेको भुक्तानी प्रणाली विकासकर्ता र पैसा किनेर पैसा बेच्ने बाहेक अरू कार्यमा लाग्ने संस्था बन्नु हुँदैन । भनिन्छ, बैंकलाई सुन आयात गर्न दिएपछि नाफा नदेखिएका कारण पर्याप्त सुन आयात नगरिदिँदा अहिले सुनको तस्करी बढेको छ ।
शेयरबजार कहाँकहाँ पुर्‍याउने 
शेयरबजार गाउँगाउँमा पुगेन भन्ने अर्को अरण्यरोदनको सन्दर्भमा पनि अहिले जेजति हल्ला गरिएको वा भएको छ यसको पनि कुनै अर्थ छैन । शेयरबजार पूँजीबजार हो र पूँजी भएका ठाउँमा नै केन्द्रित हुन्छ । गाउँगाउँमा पुर्‍याउने भनेको उद्यमशीलता हो । शेयरबजार जोखिम हो, जोखिम लिने र लिन सक्नेका लागि मात्र हो । सन् २०१०/११ मा बंगलादेशमा यहीँको जस्तो गाउँगाउँमा बजार पुर्‍याउने अभियानले ९ लाख ६० हजार बंगाली नागरिक कंगाल भएका र ती आज पनि कंगाल अवस्थामै छन् । शेयरबजारले समृद्धि र सम्पन्नता ल्याउने भए संसारमा गरीबभन्ने शब्द नै हटिसक्थ्यो होला तर यस्तो हुँदैन । शेयरबजारमा लगानी गरेर कम्पनीले दिने वार्षिक प्रतिफल खान र लिनका लागि हो । यो निवृत्तिभरण पनि हुन सक्छ । तर, के भुल्नु हुँदैन भने संसारका ठूलाठूला कम्पनी टाट पल्टेका उदाहरण पनि छन् । भारतमा सत्यम कम्प्युटर, किंगफिशर एयर र जेट एयर टाट पल्टेको घटना धेरै भएको छैन । अमेरिकाको ऊर्जा कम्पनी एनरोन पनि एउटा उदाहरण हो ।
सन् २०१५/१६ मा चिनिया शेयरबजारले पनि दुःखद परिस्थितिको सामना गरिसकेको छ । त्यहाँका एक लगानीकर्ताले कुकुरलाई देखाउँदै पहिला म जे खान्थेँ यो कुकुर त्यही खान्थ्यो, अहिले कुकुर जे खान्छ म त्यही खान्छु, यस्तै स्थिति रहे मैले यो कुकुर खान्छुभन्ने मर्मस्पर्शी अभिव्यक्ति दिएका थिए । यी त एक प्रतिनिधि उदाहरण मात्र हुन् । चीनमा त्यतिबेला लाखौंले अनगिन्ती रकम गुमाएका छन् । यसले पनि के कुराको संकेत गर्छ भने शेयरबजारमा लगानी गर्न गराएको प्रोत्साहन घातक हुन सक्छ । घातक प्रोत्साहनका शिकार बजारमा जति खोजे पनि भेटिन्छ । लगानी आफ्नै विवेकले गरेर नाफाघाटाको भागीदार आफै हुनुपर्छ भन्ने दृष्टान्त चीन र बंगलादेशबाट सिक्नुपर्छ ।
केही फुटकर चर्चा 
अर्थमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईले शेयरबजार जुवा जस्तै चलेको रहेछभन्ने अभिव्यक्ति दिएपछि अर्थमन्त्रीले शेयरबजारलाई जुवाघर भन्यो भन्ने हल्ला निकै वर्ष चल्यो । पछिल्लो समयमा धितोपत्र बोर्डका उच्च अधिकारीले पनि जुवा नै होभनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् । केही हदसम्म शेयर जुवा हो तर पूर्ण जुवा भने होइन । कम्पनीको पूँजीको विभाजित अंशका रूपमा रहने शेयर हित हो । जुवामा हितको पाटो हुँदैन भने शेयरमा हित गाँसिएको हुन्छ । जुवामा कसैले पनि प्रत्याभूति दिएको हुँदैन तर शेयरमा कम्पनीले प्रत्याभूति दिएको छ । यद्यपि त्यो प्रत्याभूति पूरा हुन्छ हुँदैन सुनिश्चित भने हुँदैन । तर, सुनिश्चित नभए पनि प्रत्याभूतिको पाटो अहम् हुन्छ ।
एउटा शेयर रजिस्ट्रारले शेयरधनीको खातामा बढी शेयर पठायो । तर, सौभाग्यको कुरा उक्त शेयर कारोबार रोक्का रहेको हुँदा खातामा शेयर आएको भोलिपल्ट विक्री हुन पाएन । कारोबार खुलेको अवस्था भएको भए र त्यो बेचिएर गएको भए हुने भयावह अवस्थाको जिम्मेवारी को हुन्थ्यो होला ? शेयर रजिस्ट्रारले शेयर फिर्ता लिइनेछ भन्ने अभिव्यक्ति दिएको सुनियो तर के आधारमा बढी शेयर पठाए के आधारमा फिर्ता लिने हुन् उत्तर छैन ।
केन्द्रीय बैंकका गभर्नरले लघुवित्तको शेयरमूल्य बढी र वाणिज्य बैंकको शेयर मूल्य कम भयो भनेर दिएको अभिव्यक्ति पनि कार्य विशिष्टीकरण विपरीत हो ।
अन्त्यमा, जोखिमको बलिवेदी (शेयरबजार) मा नागरिकको होम हालेर दुई/चार जना कारोबारी पोस्न र बैंकलाई थप आम्दानी गराउनकै लागि नागरिकलाई कंगालीकरण नगरौं ।
 आर्थिक अभियान दैनिक, ९ असार २०७६