Wednesday, August 23, 2017

भालुको खेती

एकजना किसानको बारी जङ्गल छेउमा रहेछ । त्यही जङ्गलमा एउटा भालु पनि बस्दोरहेछ । किसानले खेती गरेको लुकेर हेर्ने गर्दो रहेछ । 

खेती गर्न पाए कति मजा हुँदो हो । दुई चार दिन आयो, खेती गर्यो, पाकेपछी भारी कसेर लग्यो, घरमा राख्यो, बसिबसि खायो । आफूलाइ भने दिनदिनै शिकार नगइ सुख छैन । किसानसँग मिलेर खेती गर्छु र सुबिस्ताले बसेर खान्छु यस्तै यस्तै कुरा सोचेर भालु बस्दोरहेछ । तर, किसानको अगाडि गएर बोल्ने आँट चाहिँ गर्दो रहेनछ ।

किसान फेरि खेती लगाउन आएछ यसपटक भने आँट गरेर भालु किसानको छेउमा गएछ । भालुलाइ अकस्मात आफ्नो सामु देखेर किसान पनि आत्तिएछ, भालु पनि आत्तिएछ । तैपनि भालुले हिम्मत जुटाएर भनेछ 'किसान दाइ नडराउनुस म तपाईंलाई तर्साउन आएको हैन, मलाई पनि खेती गर्न मन लागेर आएको हुँ, खेती गर्न के के गर्नुपर्छ बताइदिनुस ।' 

किसान अब ढुक्क भएछ र भनेछ 'भइहाल्छ नि संगै मिलेर गरौं आएको उब्जनी बाँडेर लिउँ । अहिले मुला रोपौं , मुला तयार भएपछि तिमी माथिको लैजाउ म फेद (जरा) लान्छु हुन्न त ?'

भालुले स्वीकृति दिएछ ।

भालुले गोरु नारेर र चपरा फर्काइ-फर्काइ जोतेछ किसान छेउ भित्तो खन्न लागेछ । जोतेर सकियो । किसानले भालुलाइ मुला रोप्न ड्याङ उठाउन लगाएछ भालुले पनि कोदालो र कोदाली लिएर गजबको ड्याङ बनाइ दिएछ किसानले मुला रोपेछ ।

मुला तयार भो । किसान र भालु टुप्लुक्क आइपुगे । भालुले जरा (मुला) जति किसानको डोकोमा हालिदिएछ र पात (साग) जति आफ्नो भाग भनेर छुट्ट्याएछ । किसान जराको भारी बोकेर गएछ भालु पातको भारी बोकेर गएछ ।

भालु घर पुगेपछि पो चाल पाएछ आफू ठगिएको कुरा । रिसले मुर्मुरिँदै किसानलाइ एकै गाँस पारी दिउँ जस्तो झोक चलेछ । तर, सोचेछ खेती गर्नु छ अहिले रिसाएर पनि भएन । फेरि कस्ले सिकाउने । आफैलाइ सान्त्वना दिएछ ।

फेरि अर्को खेती लगाउने याम आएछ किसान बारीमा आयो भालु पनि त्यहिँ पुग्यो ।

भालुले सोधेछ 'अब के लगाउने ? '

किसान - 'गहुँ' 

भालु - 'गहुँको जरा मलाई है' ।

किसान 'हुन्छ । तिमी रोजेकै लैजाउ । गोरु नारेर जोत्न थाल म बीउ हाल्छु' |

गहुँ छरियो ।

गहुँ पाक्यो । किसानले शर्त अनुसार पात (बाला) जति आफूले लियो र घर गयो भालु जरा लिएर गयो ।

घर पुगेपछि पो फेरि थाहा भो यसपटक पनि ठगिएछ ।

भालुलाइ रिस त धेरै उठेको हो तर सोचेछ गल्ती त मेरै हो आफूले जान्दै नजानेको कुरा गर्छु भनेर तम्सिन नहुने थियो ।

शेयरबजारमा पनि भालु जस्ता धेरै छन जो केही जान्दैनन् तर, अर्काले कमाएको देखेर आफू पनि कमाउने सपना देख्छन । तर, त्यसको आधारभूत पक्ष केही बुझ्न चाहँदैनन् ।

केही नबुझी आउँछन्, पैसा खन्याउँछ्न । खन्याउन हुने हो कि हैन बेला हो कि हैन केही बुझ्ने प्रयत्न गर्दैनन् । अनि भालुले जस्तो कहिले पात कहिले जरा लिएर जान्छन ।

त्यसैले कुनै पनि चिजको उपादयेता बुझ्नुपर्छ । जसरी किसानलाइ बाली कहिले लगाउने, कहिले गोड्ने, जहिले मल हाल्ने, कहिले विषादी हाल्ने, कहिले बाली पाक्छ कसरी थन्क्याउने राम्रो थाहा हुन्छ त्यसैगरी शेयरमा लगानी गर्नेलाइ पनि कहिले किन्ने कहिले बेच्ने कति नाफा लिने सब कुरा बुझ्नुपर्छ अनि मात्रै सफल लगानीकर्ता बन्न सकिन्छ ।

पुस्तक पढेर लगानीकर्ता बनिने भए मुलुकी ऐन पढेर सबै वकिल भैसक्थे । मुलुकी ऐन नै सबैभन्दा ठुलो कानुनको ठेली हो ।

भालु बन्न धेरै आएकाले बजारलाई पनि बेला न कुबेला भालुले खेद्छ ।

फेसबुकमा प्रकाशित

8 comments:

Unknown said...

कुरा धेरै शंदर्भिक गर्नु भयो | मन छोयो | म पनि त्यो भालु मध्ये एक थियो कुनै बेला अझै पनि कहिले कहिँ पाउँछु आफुले आफुलाई नियालेर हेर्दा त्यसैले याँहाहरु जस्तो बुद्धिजिबी अग्रजहरुको साथ् सयहोग र सलाह अनुसार परजीबी होइन स्वजीबी बन्ने कोसिस गर्दैछु | धन्नेबाद

Unknown said...

Gajjab😂

Krishna Shrestha said...

अति सान्दर्भिक लेख !!

Unknown said...

अत्यन्तै सान्दर्भिक लेख धन्यवाद ज्योति सर

Unknown said...

Realistic story... Superb...

Unknown said...

सान्दर्भिक लेख

Jaya Narayan Bhusal said...

Very well analysed analogy.The story must be told and retold to all the novice like me.Thank you for opening my eyes.

Jaya Narayan Bhusal said...

Very well analysed analogy.The story must be told and retold to all the novice like me.Thank you for opening my eyes.

उपकरण एक आईएसआईएन अनेक

फरक–फरक दिनु उचित कि अनुचित ? ईण्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीले जारी गरेको वित्तीय उप...