Showing posts with label शेयरको इतिहास. Show all posts
Showing posts with label शेयरको इतिहास. Show all posts

Friday, April 24, 2026

शेयरबजारका शुरुआती दुई दशक

घोषणा धेरै, काम कम

धितोपत्र कारोबार ऐन, २०४० जारी भएपछि नेपालमा शेयरबजारको विधिवत शुरुआत भएको मान्न सकिन्छ l यो ऐन आउनु अघि २०३३ सालमा सेक्युरिटी खरिद-बिक्री केन्द्र स्थापना भएको थियो l हालको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड यसैको पछिल्लो रुप हो l ऐन आएपछि विधिवतरुपमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय विमा संस्थान, नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौं पाउरोटी लिमिटेड र पोखरा पाउरोटी लिमिटेड गरि सात वटा कम्पनी सूचीकरण भएका थिए । २०४० सालपछिको चार दशकमा बजेट वक्तव्यमा शेयरबजारका बारेमा के के लेखिए र के के काम भए त्यस बारेमा यस र आगामी आलेखमा सिंहावलोकन गरिनेछ l यस आलेखमा २०४० सालदेखि २०६० सालसम्मको दुई दशकमा के के भए घोषणा भए र के के कार्यान्वयन भए त्यसको बारेमा चर्चा गरिन्छ l 

विशेष कोष र कर छुट

पहिलो दशक २०४० देखि २०५० अन्तर्गत आर्थिक वर्ष (आव) २०४१/०४२ सालको बजेट वक्तव्यमा ‘जनसहभागिताको आधारमा नयाँ आर्थिक इकाई खडा गर्न र प्रतिस्पर्धात्मकरूपमा चलाउन पुँजी तथा शेयरबजारको आवश्यकता स्पष्ट छ । यस परिप्रेक्षमा सेक्युरिटी खरिद-बिक्री  केन्द्रलाई शेयरबजार  खडा गर्न लगाउन कानुनी व्यवस्था मिलाई सकिएको छ र चाँडै नै देशका केही कम्पनीको शेयर सूचीकरण गराई शेयरबजारको सञ्चालन गरिनेछ । शेयर सूचीकरणलाई प्रोत्साहन गर्न सूचीकरण गर्ने कम्पनीलाई आयकरमा केही सहुलियत दिने व्यवस्था पनि मिलाइएको छ । साथै नयाँ शेयर अण्डरराइट (प्रत्याभूत) गर्न नेपाल राष्ट्र बैङ्कमा एक विशेष कोष पनि खडा गरिएको छ । हाल केही कम्पनीको शेयर सेक्युरिटी खरिद-बिक्री  केन्द्रमार्फत बिक्री गर्दा जनतामा देखिएको उत्साह हेर्दा राष्ट्रको नयाँ आर्थिक इकाईको स्वामित्वमा व्यापक जनसहभागिता गराउन सकिने’ भन्ने उल्लेख गरिएको थियो l

आव २०४२/०४३ को बजेट वक्तव्यमा ‘सेक्युरिटी खरीद-बिक्री संस्थानले शेयरबजार खडा गर्न र शेयरको सूचीकरण गर्ने काममा यस वर्ष केही प्रगति गरेको छ । हाल सेक्युरिटी खरीद-बिक्री केन्द्रमा ११ कम्पनीका शेयर सूचीकरण भएको छ र भविष्यमा यसको सङ्ख्या बढेर जाने स्पष्ट छ‘ उल्लेख थियो l वक्तव्यमा ‘आउँदो वर्षमा यो गतिलाई अझ अगाडि बढाइने, शेयरको सूचीकरण गर्ने कम्पनीलाई बढी सुविधा तथा प्रोत्साहन दिइने र यसबाट पुँजीको सङ्कलन तथा उपयोगको जग अझ बलियो भएर जाने’ उल्लेख थियो l आव २०४२/०४३ मा १२ वटा संस्थानको शेयर जनसाधारणलाई उपलब्ध गराइने र यसबाट देशको नयाँ सम्पत्तिको संरचनामा जनताको सहभागिता बढ्नुको साथै संस्थान बढी सक्षम हुने एवम् यिनीहरूमा आर्थिक उत्तरदायित्व बलियो भएर जाने उल्लेख थियो l सूचीकृत कम्पनीले वितरण गर्ने लाभांशमा लाग्ने करको दरले लगानी प्रोत्साहन नभएको कारणले शेयरबजारलाई प्रोत्साहन दिनको लागि लाभांशमा आयकर नलाग्ने व्यवस्था गरिएको थियो l

आव २०४७/०४८ को बजेट वक्तव्यमा ‘सूचीकृत पव्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित उद्योगबाट प्राप्त हुने लाभांशमा कर नलाग्ने तर, अन्य सूचीकृत कम्पनीको हकमा भने व्यक्तिले पाएको लाभांशमा ८५ प्रतिशत छुट दिई बाँकी १५ प्रतिशत खूद आय मानी आयकर लगाउने गरिएकोले शेयर लगानी निरुत्साहित भई पुँजीबजारको विकासमासमेत अवरोध आएको देखिएकोले सम्पूर्ण लाभांशमा आयकर नलाग्ने व्यवस्था गरेको उल्लेख गरिएको थियो । त्यस्तै, धितोपत्र कारोबार ऐन, २०४० र यसअन्तर्गत बनेको सूचीकरण नियमावलीअनुरुप सेक्युरिटी खरिद-बिक्री  केन्द्रमा आफ्नो शेयर तथा सेक्युरिटीलाई सूचीकरण गराउने सङ्गठित संस्थालाई लाग्ने आयकरमा ५ प्रतिशत छुट दिई आएकोमा सो कायमै राखी शेयर पुँजीको कम्तिमा ३० प्रतिशत शेयर १ सय वा सोभन्दा कम शेयर लिनेको हातमा रहने गरी स्वाभित्व कायम राख्ने संस्थालाई थप ५ प्रतिशतका दरले आयकरमा छुट दिने प्रस्ताव गरेको र यस व्यवस्थाबाट कम्पनी तथा संस्थालाई सर्वसाधारणमा शेयर जारी  गरी संस्थाको स्वामित्वमा साना लगानीकर्तालाई प्रतिनिधित्व गराउन प्रोत्साहन मिल्ने उल्लेख थियो l

बोर्ड र विनिमय बजार गठन

दोस्रो दशक अर्थात २०५० सालदेखि २०६० अन्तर्गत आव २०५०/०५१ मा नेपाल धितोपत्र बोर्ड गठन भएको थियो l वित्तीय क्षेत्र सुधारअन्तर्गत सेक्युरिटी बजार विकास गर्ने हेतुले ‘दोश्रो बजार’ स्थापना गर्ने कार्य पनि भईराखेको र पुँजीबजारको विकासका निम्ति पनि उचित नीतिगत र कानुनी आधार तयार भएपछि संस्थागत गतिविधि प्रारम्भ भएका छन् भनिएको थियो । सोही वर्षको बजेट वक्तव्यमा उद्योगपति र लगानीकर्तालाई पुँजीप्रति सहज पहुँच पुर्याउने उद्देश्यले साविकको ‘सेक्युरिटी खरिद-बिक्री  केन्द्र लिमिटेड’ लाई ‘नेपाल धितोपत्र विनिमय बजार लिमिटेड’ मा परिणत गराइएको र स्वस्थ एवं प्रतिस्पर्धात्मक धितोपत्र बजारको विकास गराउन ‘नेपाल धितोपत्र बोर्ड’ गठन गरिएको उल्लेख गरिएको छ l त्यस्तै, परिवर्तित सन्दर्भमा कैयौ निजी कम्पनीले स्टक या वण्ड जारी गरी बजारबाट पुँजी परिचालन गर्ने योजना बनाइरहेका छन् । पुँजीबजारको विकासबाट बचतकर्तालाई पनि विविध प्रतिफल, जोखिम र भुक्तानी अवधिका कर्जा उपकरण उपलब्ध हुन गई लगानी अवसर मिल्ने र यसबाट अन्ततः राष्ट्रिय बचत दर नै उकास्न सहयोग पुग्ने हुँदा आउँदा दिनमा वित्तीय सुधारको क्रमलाई अझ व्यापक र प्रभावकारी बनाइने उल्लेख गरिएको थियो l

आव २०५२/०५३ को पुँजीबजारको प्रवर्द्धनबाट बढी मात्रामा बचत र लगानी परिचालन हुने र यसबाट उद्योग व्यवसाय फष्टाउन सक्ने हुनाले यसतर्फ विशेष ध्यान दिइने पनि उल्लेख थियो l भर्खरै स्थापना भएको धितोपत्र बजारलाई सक्षम तुल्याउन धितोपत्र विनिमय बोर्ड (नेपाल धितोपत्र बोर्ड) लाई बढी क्रियाशिल बनाईने पनि उल्लेख थियो l विदेशी लगानी भित्र्याउने कुराको सन्दर्भमा अर्थतन्त्रको विश्वव्यापीकरणको परिप्रेक्ष्यमा धितोपत्र कारोबार (स्टक एक्सचेञ्ज) बजारको माध्यमबाट विदेशी लगानी आकर्षित गर्न आवश्यक कानुनी, संस्थागत, र प्रकृयागत व्यवस्था मिलाउने तर्फ आवश्यक कार्य शुरु गरिने छ भनिएको थियो l

शेयरबजारमा विदेशी लगानी

 

आव २०५३/०५४ को बजेट वक्तव्यमा धितोपत्र बजारमा देखिएको उतार-चढावमा सुधार ल्याई जनविश्वास अभिवृद्धि गर्न बजारसँग सम्वद्ध निकायको जिम्मेवारी वृद्धि गरी सूचना प्रणालीमा सुधार गरिने उल्लेख थियो l नेपालमा पहिलोपटक सञ्चालनमा आएको एनसिएम म्युचुअल फण्डको व्यवस्थापनमा भएको समस्याले गर्दा लगानीकर्ताले बेहोर्नु परेको नोक्सानीलाई ध्यानमा राखी यस म्युचुअल फण्डलाई उद्धार र पुनसंरचना गरी चाँडै नै खरिद-बिक्रीको व्यवस्था सञ्चालनमा ल्याइने उल्लेख थियो l धितोपत्र बोर्डलाई अनुगमन, रेखदेख र व्यवस्थापन गर्ने कार्यमा बढि सक्षम गराइने उल्लेख यसपटक पनि गरिएको थियो l पुँजीबजारसँग सम्वद्ध निकायको नियमनलाई प्रभावकारी बनाउन विधेयक तर्जुमा गरी सदनसमक्ष प्रस्तुत गरिने पनि उल्लेख थियो l

आव २०५४/०५५ को बजेटमा पनि धितोपत्र बजारको वर्तमान अवस्था सन्तोषजनक नदेखिएकोले विगतमा अवलम्बन गरिएका व्यवस्थाहरुको पुनर्मूल्यांकन गरी पुँजीबजारको विकाससम्बन्धी अध्ययन तुरुन्त प्रारम्भ गरिने उल्लेख थियो l यसका अतिरिक्त यस क्षेत्रको पुनरुत्थानका निम्ति संस्थागत लगानीकर्ताको प्रवेश एवं सहभागितामा वृद्धि, युनिट ट्रष्ट, म्युचुअल फण्ड जस्ता अप्रत्यक्ष लगानी संवाहकको प्रवेश गराउने तथा विदेशी लगानीकर्ताका लागि स्टक एक्सचेञ्ज खुल्ला गर्ने कार्यलाई अगाडि बढाउँदै लगिने उल्लेख थियो l आव २०५५/०५६ मा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको मध्य वा दीर्घकालीन ऋणमध्ये आर्थिक स्थिति सुदृढ भएका सङ्गठित संस्थासँग रहेको पूर्ण सुरक्षित ऋणको जमानत वा धितोमा डिवेन्चर जारी गरी बैंक तथा वित्तीय संस्थाले पुँजी उठाउन सक्ने जस्ता धितोपत्रीकरण (प्रतिभूतिकरण) गरिने उल्लेख गरिएको थियो l यस वर्षको बजेटमा आएको यो नयाँ कार्यक्रम थियो l पुँजीबजार तथा धितोपत्र बजारको विकास, प्रवर्द्धनन र सुदृढीकरण गर्ने उद्देश्यले अध्ययन सम्पन्न गरी अरु समयसापेक्ष सुधार गरिने कुरा यो वर्ष पनि छुटेन l

आव २०५६/०५७ को बजेट वक्तव्यमा पुँजीबजारमार्फत पुँजी उठाउने सङ्गठित संस्थाको सञ्चालन व्यवस्था सम्बन्धमा एक आचार संहिता तर्जुमा गरी सोहीअनुसार सङ्गठित संस्थाको सञ्चालन गर्न गराउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्था गरिने छ । सङ्गठित संस्थाहरुले अवलम्बन गर्ने लेखा प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाई धितोपत्र बजारलाई पूर्ण पारदर्शी एवं विश्वसनीय बनाइने छ । धितोपत्र कारोबारमा तत्काल तरलता प्राप्त हुने व्यवस्था गर्न र कारोबार भएका धितोपत्रको नामसारी तुरुन्त हुने व्यवस्था मिलाउन धितोपत्र निक्षेप प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने कानुनी व्यवस्था गरिने छ । अन्तर्राष्ट्रिय लेखा र लेखापरीक्षण कम्पनीलाई नेपालमा कार्यालय खोली काम गर्न दिने व्यवस्था मिलाउन आवश्यक तयारी गरिने छ उल्लेख गरिएको थियो l

आव २०५७/०५८ मा धितोपत्र सम्बन्धी नियामक प्रावधानमा सुधार ल्याउन तथा धितोपत्र कारोबारलाई सरल, पहुँचयोग्य र थप पारदर्शी बनाउन नयाँ धितोपत्र कारोबार ऐन को मस्यौदा आउँदो संसद् अधिवेशनमा प्रस्तुत गरिनेछ । धितोपत्रको स्वामित्व हक स्थानान्तरण सम्बन्धी व्यवस्था सुदृढ र सरल बनाइने उल्लेख गरिएको थियो l आव २०५८/०५९ मा धितोपत्र बोर्डको सुपरिवेक्षण क्षमताको अभिवृद्धि गर्न तथा धितोपत्र कारोबारको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डसम्बन्धी ऐनमा संशोधन गर्न संसदको यसै अधिवेशनमा विधेयक पेश गरिने छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सञ्चालन पद्धति, सँगठनात्मक ढाँचा र स्वामित्वलाई अझै पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन आगामी आर्थिक वर्षमा आवश्यक प्रारम्भिक कार्य शुरू गरिने छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीले अर्थिक वर्ष समाप्त भएको दुई वर्षभन्दा बढी अवधिसम्म पनि लेखापरीक्षण गरी वित्तीय विवरण सार्वजनिकरूपमा प्रकाशन नगरेमा त्यस्ता कम्पनीहरूलाई सूचीकरणबाट हटाई थप कानुनी कारवाही गरिने उल्लेख थियो l

२० वर्षको समिक्षा

अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको २०४०/०४१ को बजेटले शेयरबजारको लागि मार्ग प्रशस्त गरेको थियो l यसैको परिमाणस्वरू शुरुको अनुच्छेदमा उल्लेखित सात वटा कम्पनी सूचीकरण भएको अनुमान गर्न सकिन्छ l आयकरमा छुट दिएरै भए पनि शेयरबजार स्थापित गराउन पहल गर्न खोजिएको छ l त्यस्तै, शेयरबजारप्रति आकर्षण जगाउन प्रत्याभूत गराउन नेपाल राष्ट्र बैंकलाई नै जिम्मा दिएको देखिन्छ l यस हिसाबले हेर्दा आव २०४१/०४२ सालको बजेट शेयरबजारको लागि विशेष वर्ष भएको मान्न सकिन्छ l आव २०५२/०५३ को बजेटमा पहिलोपटक नेपालको शेयरबजारमा ‘विदेशी लगानी’ ल्याउने उल्लेख गरिएको थियो l नेपालको शेयरबजारमा विदेशी लगानी भित्र्याउने कुरा गरेको अहिले ठ्याक्कै ३० वर्ष पुगेको छ l धितोपत्र बोर्डलाई क्रियाशील बनाइने कुरा गरेको पनि अहिलेसम्म ३० वर्ष पुगेछ l यस्ता कुरा हरेक वर्ष जस्तो बजेट वक्तव्यमा पर्ने गरेको छ l शेयरबजारमा विदेशी लगानी भित्र्याउने, धितोपत्र बोर्ड र धितोपत्र विनियम बजार लिमिटेड (नेपाल स्टक एक्सचेञ्ज लिमिटेड) को सवलीकरण गर्ने कुरा ‘गायत्री मन्त्र’ जत्तिकै बनेको देखिन्छ l शुरुआतमा डा. प्रकाशचन्द्र लोहनीले २०४०/०४१ सालको बजेटमा उल्लेख गरेका जेजति काम भयो त्यसपछिका बजेट वक्तव्यमा आएका कुरा पूरा भएका देखिन्न l संस्थागत लगानीकर्ताको प्रवेश एवं सहभागितामा वृद्धि गराउने र सम्पत्ति धितोपत्रीकरण (प्रतिभुतिकरण) गरिने कुरा उठेको थियो l यही कुरा नेपाल राष्ट्र बैंकले जारी गरेको आव २०६४/०६५ को मौद्रिक नीतिमा सम्पत्तिको पुनःसंरचना गरी त्यस्तो सम्पत्तिउपर उपयुक्त किसिमको धितोपत्र जारी गरेमा लगानी तथा पुँजीबजारको क्षेत्र विस्तार हुने गरि सम्पत्ति प्रतिभूतिकरण (सेक्युरिटाईजेसन) गरिने उल्लेख थियो l यो कार्यक्रम पनि अहिलेसम्म घोषणामै सिमित भएको छ l केन्द्रीय निक्षेपण कम्पनीको कुरा २०५६/०५७ को बजेटमा उल्लेख गरिएको थियो l यसको व्यवहारिक कार्यन्वयन भने झन्डै १३ वर्षपछि २०७० सालमा भयो । आव २०५७/०५८ को बजेटमा उल्लेखित नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीले अर्थिक वर्ष समाप्त भएको दुई वर्षभन्दा बढी अवधिसम्म पनि लेखापरीक्षण गरी वित्तीय विवरण सार्वजनिकरूपमा प्रकाशन नगरेमा त्यस्ता कम्पनीहरूलाई सूचीकरणबाट हटाई थप कानुनी कारवाही गरिने उल्लेख भए पनि यस्तो व्यवस्था घोषणामै सिमित भएको छ l


आर्थिक अभियान 

बुधबार, २८ जेठ, २०८२

https://abhiyandaily.com/news/450153/sheyrbjaarkaa-shuruaatii-duii-dshkh-ghossnnaa-dherai-kaam-km/

Saturday, August 26, 2017

शेयरको ऐतिहासिक विकास र शेयरबजार



‘शेयर’, ‘स्टक’, ‘सेक्युरिटीज’, ‘प्रतिभूति’ र ‘धितोपत्र’ भनिने मुद्रा उपकरण अहिले संसारभर लगानीको लागि सहज र सरल माध्यम बनेको छ | सानो रकम समेत लगानी गर्न सकिने उपकरण भएकोले यसको पहुँच अत्यन्त न्यून आय भएका व्यक्तिको लागि पनि सरल र सहज माध्यम बनेको छ | पूँजीवादी भनेर चिनिने देशका ठूला कम्पनीले शेयर जारी गरेर सर्वसाधारणलाइ निश्चित हिस्सा लगानी गर्ने अवसर दिएर मालिक बनाएका छन् | 

शेयरको शैसवकाल 

रोमन गणतन्त्र कालमा राज्यले केहि सरकारी सेवाहरु निजि संस्थालाई दिएका थिए | यी संस्थाहरु वर्तमान समयका पब्लिक कम्पनी जस्तै थिए | यसलाई ‘पब्लिकानी’, ‘सोसियटास’, ‘पब्लिकानोरुम’ भनिन्थ्यो | यस्ता संस्थाले ‘पार्टेस’ र ‘पार्टीकुलाए’ नामक शेयर जारी गरे | ग्रीक इतिहासकार पोलिविअसका अनुसार प्राय सबै नागरिक यसमा सहभागी भएका थिए | सिसेरोले त्यतिबेला शेयरको मूल्य अधिक थियो भनेर उल्लेख गरेका छन् |

पहिलो शेयर 

औपचारिकरुपमा शेयर र शेयरबजार सन् १५०० सम्म अस्तित्वमा आएको इतिहास पाइँदैन | यद्धपि अहिलेको शेयरबजार जस्ता स-साना बजार भने प्रशस्त भएको पाइन्छ | कफी शपहरु त्यतिबेलाका शेयर कारोबार गर्ने केन्द्र थिए | बेलायती महारानी एलिजावेथ प्रथमद्वारा जारी ‘शाही घोषणा’ मार्फत डिसेम्बर ३१ सन् १६०० मा ‘इष्ट इन्डिया कम्पनी’ स्थापना भयो | यसमा धनाढ्य व्यापारीहरुको मात्र शेयर रहेको थियो | शुरुमा बेलायती सरकारको यसमा शेयर थिएन तर अप्रत्यक्ष नियन्त्रण थियो | कम्पनीमा शेयरधनीको दायित्व सिमित हुने सिद्धान्तको शुरुवात पनि यसै कम्पनीबाट भयो | 

इंगल्याण्डमा कम्पनीको शुरुवात भएपनि सन् १६०२ मा हल्याण्डको ‘डच इष्ट इन्डिया कम्पनी’ शेयर जारी गर्ने पहिलो कम्पनी बन्यो | 

शेयर जारी गर्न रोक 

इष्ट इन्डिया कम्पनीले सन् १६०२ देखि १६५० सम्म औसत १६ प्रतिशत लाभांश दिएको थियो | तर कम्पनी सम्बन्धि पर्याप्त कानुनी व्यवस्था नभएकोले शेयरधनीले लाभ पाउन नसके पछी इंग्ल्यान्ड सरकारले सन् १८२५ सम्म शेयर जारी गर्न रोक समेत लगायो | विधिवतरुपमा सन् १८०१ मा इंग्ल्यान्ड सरकारले लन्डन स्टक एक्सचेन्जको स्थापना गर्यो | स्टक स्थापना भएपनि शेयर जारी गर्न रोक लागेको कारण न्यूयोर्क स्टक नै स्टक एक्सचेन्जको इतिहासमा विधिवत स्थापना भएको स्टक एक्सचेन्जको श्रेय पायो | यद्धपि अनौपचारिक स्टक एक्सचेन्ज भने धेरै पहिलादेखि प्रचलनमा थिए | 

शेयरसम्बन्धि पुस्तक 

स्पेनको यहुदी परिवारका शेयर कारोबारी एवम लेखक जोसेफ डे ला भेगाले सन् १६८८ मा स्पेनिश भाषामा लेखेको कन्फ्युजन अफ कन्फ्युजनसनै शेयरबजार सम्बन्धि पहिलो पुस्तक मानिन्छ | पुस्तकमा शेयरबाट धनी हुनको लागि पैसा र धैर्यता दुबै हुनुपर्ने अहिलेको लागि पनि उत्तिकै सान्दर्भिक छ | 

नेपालमा शेयर 

बिक्रम सम्बत १९९३ सालमा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको हुकुम र कमाण्डर इन चिफ पदम शमशेरको मर्जी मुताविक कम्पनी कानुन बनेको पाइन्छ | नेपाल बैंक कानुन १९९४ मा ‘हाल उठाउने २५ हजार शेयर मध्ये कमसेकम चार खण्डको एक खण्ड शेयर सरकारबाट लिईबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकहरुले लिन पाउनेछन्’ र अर्को एउटा दफामा ‘कदाचित हाल उठाउने २५ हजार शेयरको मूलधनले बैंकको काम चलाउन मूलधन नपुगी अरु शेयरबाट हदसम्ममा जति चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको शेयर साविक शेयरवालाहरुले लिएसम्म अरुले लिन पाउने छैन’ भन्ने व्यवस्था थियो | ‘यस्तो शेयर नेपाली रैयत भइ जन्मेका वा नेपाली रैयत भएका स्त्री पुरुष बाहेक अरु कसैले खरीद गर्नु र अरु कौने तरहबाट लिनुदिनु गर्नुहुँदैन’ भन्ने समेत व्यवस्था भेटिन्छ | ‘गाथ गादी उपर खुद लागेको ठूलो कसुर गरेमा बाहेक हरिने सर्वस्व हुने समेत कौनै कसुरमा पनि यो बैंकको शेयरमा जफत वा हरण केहि हुने छैन’ भनिएको पाइन्छ | यहि वर्ष विराटनगर जुट मिल्सले पनि शेयर बेचेको थियो | शुरुवातमा नै दुईवटा कम्पनीले शेयर बेचेको इतिहास पाइन्छ | शेयर बेच्ने शुरुवात भएपनि किनबेच गर्ने व्यवस्था भने २०३३ सालमा ‘सेक्युरिटी खरिद बिक्रि केन्द्र’ को स्थापना भएपछि भएको हो | अहिलेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसैको पछिल्लो रुप हो |

कानुनमा शेयर 

कम्पनी ऐन २०६३ को दफा २ (ढ) अनुसार ‘शेयर’ भन्नाले कम्पनीको शेयर पूँजीको विभाजित अंश सम्झनुपर्छ | त्यस्तै दफा २(द) मा ‘शेयरधनी’ भनाले कम्पनीको शेयरमा स्वामित्व भएको व्यक्ति भनेर परिभाषा गरेको छ | शेयरको चुक्ता मूल्य १ सय तोकिएको छ | 

सिमित दायित्व

कम्पनी स्वतन्त्र व्यक्ति भएकोले यसमा लगानी गर्ने शेयरधनी र कम्पनीको अस्तित्व अलग हुन्छ | कम्पनीले आफ्नै नाममा कारोबार गर्ने भएकोले यसलाई व्यक्तिसरह नालिस उजुरी गर्ने र आफू विरुद्ध पनि नालिस उजुरी लाग्छ | कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहन्छ । इष्ट इन्डिया कम्पनी गठनदेखि यस्तो प्रचलन भएपनि ‘सालोमन विरुद्ध सालोमन एण्ड कम्पनी’ को मुद्दामा ‘हाउस अफ लर्ड्स’ ले कम्पनीको स्वतन्त्र व्यक्तित्व सम्बन्धमा विस्तृत न्यायिक व्याख्या गरेको छ | अहिले संसारभर यो मुद्दालाई कम्पनीको क्षेत्रमा कोशेढुङ्गो मानिन्छ |  

साधारण र अग्राधिकार शेयर 

संस्थापक, बोनस, हकप्रद, व्यवस्थापक, स्थानीय आदि जे जस्ता नाम दिएपनि यी सबै साधारण शेयर हुन् | साधारण शेयरलाई कम्पनीको संचालक हुन र संचालकको निर्वाचनमा मत दिन लगायत कम्पनीको महत्वपूर्ण निर्णयमा मतदानको अधिकार हुन्छ | लशेयर लगानी गर्नुको अर्थ लाभ प्राप्त गर्नु हो तर यस्ता शेयरले हरेक वर्ष लाभांश नपाउन पनि सक्छ | 

अग्राधिकार शेयर धारकलाई साधारण शेयर धारक जस्तो अधिकार हुन्न तर लाभांश प्राप्त गर्ने विषयमा अग्राधिकार हुन्छ | अग्राधिकार शेयर (क) हरेक वर्ष निश्चित लाभांश प्राप्त हुने (ख) प्राप्त गर्ने लाभांश संचित हुने वा नहुने (ग) सामान्य अवस्थामा मताधिकार हुँदैन तर अग्राधिकार शेयरको विषयमा मतदान हुने भए तोकिएको अनुपात अनुसार मतदान (घ) खारेजी वा दामासाहीमा परेमा रकम फिर्ता गर्दा अग्राधिकार हुने/नहुने, (ङ) निश्चित समयपछि फिर्ता हुने वा कहिले पनि फिर्ता नहुने (च) फिर्ता हुने भए प्रिमियम सहित वा परल मूल्य (छ) निश्चित समयपछि साधारण शेयरमा परिवर्तन हुने भए कति समयको अन्तरमा कतिका दरले हुने आदि व्यवस्था गरिएको हुन्छ | 

यसका अतिरिक्त कम्पनी कानुन अनुसार फरक अधिकार भएका शेयर समेत जारी हुने व्यवस्था रहेको छ | 

शेयर कि शेयरबजार ?

लगानीको प्रथम शर्त आम्दानी हुनुपर्छ तर शेयरबजारबाट कि कम्पनीले दिने मुनाफाबाट भन्ने प्रश्न सर्वाधिक चासोको विषय हो | वारेन बफेटको भनाई ‘म शेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिन र शेयर किन्दा भोलि नै बजार बन्द गर्छन र आगामी पाँच वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु’ | बफेटका अनुसार शेयर लगानीबाट प्राप्त गरिने लाभ भनेको बजारमूल्यमा हुने उतारचढाव हैन | शेयरबजारले नयाँ व्यक्तिलाई शेयर किन्न अवसर मात्र दिएको हो नाफा दिने त कम्पनी हो |   

शेयरबजारका शुरुआती दुई दशक

घोषणा धेरै , काम कम धितोपत्र कारोबार ऐन, २०४० जारी भएपछि नेपालमा शेयरबजारको विधिवत शुरुआत भएको मान्न सकिन्छ l यो ऐन आउनु अघि २०३३ सालमा सेक्...