Saturday, September 16, 2017

पूँजी र कित्ता

कम्पनीले लाभांश बजार मूल्य अनुसार घोषणा गर्दैन । बोनस थोरै दियो भन्दै कम्पनीलाई गाली गरेको प्रशस्त देखियो । बोनस भनेको कित्ता मात्र बढाउने हो भन्ने सोचाइ लगानीकर्तामा देखियो । बोनसले कम्पनीको पूँजी बढ्ने हो पूँजी बढेको हुनाले कित्ता बढेको हो । बोनस कति दिने भन्ने कुरा कम्पनीलाई आवश्यक पर्ने पूँजीमा निर्भर हुन्छ ।

पूँजी बढाउन नियमकीय बाध्यता परेको अवस्थामा बाहेक आवश्यकता तत्व मूल हुन्छ । कम्पनीले आवश्यकीय तत्वलाइ मध्येनजर राखेर बोनस जारी गर्ने हुन ।

बिचार पुर्याएर लगानी गरौं ।

लगानी गर्दा थाहा पाउनुपर्ने केही कुराहरु

शेयरमा गरिने लगानी जोखिमयुक्त छ । जोखिम व्यवस्थापन गर्न सकेमा लाभ पनि छ । पैसा हाल्दा धेरै जानकारी लिनुपर्छ जुन विभिन्न माध्यमबाट लिनसकिन्छ ।

१. सुचिकृत कम्पनीले प्रकाशन गर्ने ३ महिने वित्तीय विवरण

२. कम्पनीको वार्षिक प्रतिवेदन

३. कम्पनीको वेबसाईट

४. सम्बन्धि विषयको कानुन

५. नियमक भए नियमकको निर्देशन/परिपत्र

६. बैंकको हकमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन/परिपत्र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, नेपाल राष्ट्र बैंक ऐन विभिन्न निर्देशिकाहरु

७. बिमाको हकमा बिमा समितिको निर्देशन/परिपत्र बिमा ऐन नियम निर्देशिका

८. नेपाल स्टक एक्सचेञ्ज

९. धितोपत्र वोर्डको निर्देशन, धितोपत्र सम्बन्धि कानुन नियम निर्देशिका परिपत्र
१०. कम्पनी ऐन निर्देशिका

११. अन्य आवश्यक कुराहरु

कानुन वकिलले मात्रै पढ्ने चिज हैन । कानुन सबैले जानेको हुन्छ बन्ने कानुनी सिद्धान्त छ । कानुन जानिन भनेर कानुन विपरीत गरिएको कार्यबाट उन्मुक्ती पाइन्न । आफुलाइ सरोकार पर्ने कानुन आफैले अध्ययन गर्ने गरौं ।

बोनस, हकप्रद, टेन्सन र पेन्सन

अहिले अधिकांश बोनस र हकप्रद बाहेक अरु केही देख्दैनन । यी सबै अति महत्वाकांक्षी हुन । यिनलाई  शेयरमा पैसा लगाएपछि व्हात्तै कमाइन्छ भन्ने भ्रम छ जुन कुनै बेला नेटवर्क मार्केटमा थियो ।

देखिइसकेको छ नेटवर्क बजार कहाँ पुग्यो कति घर न घाटका भए ।

त्यही भएर अध्ययन गर्नुस । साधना विना ज्ञान पाइदैन । म पनि अध्ययन नै गरेर आएको हो । नबुझेसम्म लेखिएन । जब अलि अलि बुझ्न थालियो अनि लेख्न थालेको हो ।

हकप्रद र बोनस मोह अब धेरै दिन कायम रहन्न । व्यवसाय बिस्तार गर्न सक्ने क्षमता राख्ने केही कम्पनीले मात्रै पूँजी थप्छ्न बाँकी कति प्रभूशरणम हुने हुन थाहा छैन ।

यो अवस्था आउन अब धेरै छैन । जुन दिन यो अवस्था आउँछ अनि हकप्रद र बोनस मोहको सपना चकनाचुर हुन्छ । कति खोलामा हाम फाल्लान अनि पेट्रोलियम डोरीको पनि माग बढ्ला !

तर जसले सम्भावित प्रतिफल हेरेर लगानी गरेका छन उनिहरुको लागि पेन्सन हुन्छ उपरखुट्टी लगाएर खान्छन् ।
हकप्रद र बोनस मोहमा लाग्नेहरु पेन्सन हैन टेन्सन खाएर बस्छ्न ।

सुरक्षित लगानी गरौं ।

Thursday, September 14, 2017

धितोपत्र सम्बन्धि कसूर र धितोपत्र वोर्ड

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ मा लाभांश घोषणालाई पनि ‘विशेष घटना वा परिस्थिति’ भनेर सूचीकरण गरिएको छ | नियमावलीको नियम २६(५) मा ‘धितोपत्र सूचीकरण गराएको सँगठित संस्थाले सूचिकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना ३ दिनभित्र वोर्डमा पेश गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ | शेयरबजार सूचना संवेदनशील भएकोले मूल्यमा प्रभाव पार्न सक्ने सकारात्मक वा नकारात्मक जस्तोसुकै गतिविधि भए पनि सो को जानकारी गराउनुपर्छ | संवेदनशील सूचनाहरु एकपटक जारी गरिसकेपछि सच्याउने कार्यलाई स्वस्थ बजारको सूचक मान्न सकिन्न |  

पहिलो र दोस्रो सूचना

नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समितिले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय नेप्सेको वेवमा सार्वजनिक भयो | बजार निरन्तर घटिरहेको र केन्द्रीय बैंकले तोकेको पूँजी पुगिसकेका (तोकेको भन्दा झन्डै १ अर्ब २५ करोड बढी पूँजी भएको) बैंकले अबदेखि नगद लाभांश मात्र दिन्छन भन्दै शेयर किन्न नै छाडिसकेका लगानीकर्तालाइ बैंकको निर्णय पश्चात संजीवनी बुटीले जस्तै उत्साह थपेको थियो | तर यो उत्साह धेरै बेर कायम रहेन | बैंकको तर्फबाट प्रस्ताव गरिएको लाभांश सम्बन्धि निर्णयको पत्र ‘टंकन’ गर्ने क्रममा उल्टो परेको र वास्तविक अंक १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश हो भन्ने संशोधित सूचना पुन: नेप्सेको वेव मार्फत सार्वजनिक भयो | केहि बेर अघिसम्म शेयर किन्न उत्साहित देखिएका लगानीकर्ताको उत्साह सेलायो र बढिरहेको बजार र बैंकको भाउ घट्न लाग्यो | यसले अर्को संशय समेत थपिदियो | यो सूचना पनि संशोधन भएर अर्कै पो आउने हो की !

बोनस हैन शुद्ध सूचना

बैंकको लाभांश घोषणा सम्बन्धि दुइथरी सूचना आएपछि लगानीकर्ता र लगानीकर्ता संघ तथ्यमा प्रवेश नगरी हिलो छ्यापाछ्यापमा लाग्नु कसूरदारलाई उन्मुक्तिको मार्ग प्रशस्त गरिदिनु हो | दलाल, नेप्से र ठूला लगानीकर्ताको शंकास्पद व्यवहार भन्दै लगानीकर्ता र लगानीकर्ता संघ कुर्लिए तर बैंक विरुद्ध उजुरी गर्न कोहि गएनन् | ऐनमा वर्णित ‘झुक्क्याउने’ सूचना दिई हानी-नोक्सानी पुर्याउने बैंकका अधिकारी/पदाधिकारीसँग खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले भएको हानी नोक्सानी भराई लिन सकिने व्यवस्था छ | ऐनको व्यवस्था नजरअन्दाज गर्दै लगानीकर्ता संघले ‘नेप्से’ लाई गाली गरेर कसूरदारको ताबेदारी गरेको देखियो | पहिले घोषणा गरेको २५ प्रतिशत बोनस पाउनुपर्ने विज्ञप्ति निकाल्यो तर शुद्ध सूचना माग गरेन | लगानी गरेपछि लाभको अपेक्षा गर्नु स्वाभाविक हो तर हामीले भने बमोजिम हुनुपर्छ भन्नु चाहिँ गलत हो | कम्पनीको संचालक समितिले प्रस्ताव गरेको कुनै पनि लाभांश शेयरधनीलाई साधारणसभा मार्फत अस्विकार गर्ने अधिकार छ तर संशोधन गर्ने अधिकार छैन |

धितोपत्र सम्बन्धि कसूर  

शेयरको मूल्यलाई असर पार्न सक्ने सार्वजनिक नभएको सूचना वा जानकारीको आधारमा आफू वा आफन्त मार्फत शेयर कारोबार गर्नु, यस्ता सूचना अरुलाई उपलब्ध गराउनु भित्रि कारोबार हो | यसबाहेक अन्य थुप्रै धितोपत्र सम्बन्धि कसूर हुनसक्छन् | अनेक प्रकारको हल्ला चलाएर कसैलाई किन्न र बेच्न उत्साहित वा निरुत्साहित पार्ने कार्यहरु पनि धितोपत्र सम्बन्धि कसूर हो | झुक्क्याउने विवरण (सूचना) दिएर मूल्यमा उतारचढाव पार्ने कार्य पनि धितोपत्र सम्बन्धि गम्भीर कसूर हो | इन्भेष्टमेन्ट बैंकका आधिकारी/पदाधिकारीले पनि मूल्य संवेदनशील मानिने लाभांश घोषणाको सूचनालाई गलत सम्प्रेषण गरि झुक्क्याउने कार्य गरेका छन् | झुक्क्याउने सूचना सम्प्रेषण गर्नु दण्डनीय कार्य हो |

कसूर र तहकिकात

धितोपत्र सम्बन्धि कसूर गरेको वा गर्न लागेको थाहा पाएमा सरोकारवाला व्यक्तिले नेपाल धितोपत्र वोर्ड सम्बन्धि नियमावली २०६४ को अनुसूची बमोजिमको ढाँचामा बोर्ड समक्ष उजुरी दिनुपर्छ | कसूर भयो वा हुनलागेको छ भन्ने उजुरी नपरे पनि कसूर मानिने कार्य भएको वा भैरहेको कुरा कुनैपनि माध्यमबाट जानकारी प्राप्त गरेमा वा वोर्ड आफैँले थाहा पाएमा सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही चलाउन उजुरी नपरेको कारणले मात्र कुनै बाधा पर्दैन । उजुरी परेमा वा जानकारी प्राप्त हुन आएमा तहकिकात गर्न र मुद्दा दायर गर्नुपर्ने देखिएमा बोर्डको कम्तीमा अधिकृतस्तरको कुनै कर्मचारीलाई तहकिकात अधिकारी तोक्नुपर्ने व्यवस्था छ |

तहकिकात अधिकारीले तहकिकात गर्दा सरकारी वकिलको राय लिएर आवश्यक छानवीन गर्ने, अभियुक्त वा कसूरसँग सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण माग, बयान लिई कसूर सम्बन्धी तहकिकात गर्नेछ । प्रारम्भिक छानविनबाट मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा बोर्ड समक्ष सोही बमोजिमको सिफारिस गर्नुपर्छ । तहकिकात अधिकारीले कसूरदारलाई तारेखमा राख्न वा नराख्न सक्छ | कानूनी प्रक्रिया पुरा गरि जेथा जमानत लिनसक्ने व्यवस्था छ | खानतलासी लिनुपर्ने भएमा वा कुनै उपकरण वा कागजात बरामद गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा सँगठित संस्थालाई पूर्व सूचना दिई त्यस्तो स्थानमा प्रवेश गर्न र कसूरसँग सम्बन्धित उपकरण वा कागजात कब्जामा लिन सक्छ | तहकिकातको सिलसिलामा कुनै अभियुक्तलाई पक्राउ गर्नुपर्ने अवस्थामा बोर्डको पूर्व स्विकृती लिई पक्राउ गर्न प्रहरी कार्यालयमा लेखि पठाउन सकिन्छ ।

मुद्दा हेर्ने अधिकारी

धितोपत्र वोर्ड अर्ध-न्यायिक निकाय समेत भएकोले कानुन अनुसार कतिपय विषयमा आफैं निर्णय गर्नसक्छ | धितोपत्र सम्बन्धि कसूरको सम्बन्धमा निर्णय गर्ने अधिकारक्षेत्र वोर्ड र जिल्ला अदालतलाई तोकिएकोले कसूर हेरी वोर्डले निर्णय गर्ने र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यहोरा खुलाई सोही बमोजिमको राय सहितको प्रतिवेदन तहकिकात अधिकारीले बोर्ड समक्ष पेश गर्नुपर्छ । तहकिकात अधिकारीले सरकारी वकिलको राय लिई तहकिकातको कार्य पुरा भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्छ | अदालतको फैसला चित्त नबुझेमा बोर्डले मुद्दाको तथ्य, सम्बद्ध कानुन, अदालतको फैसला तथा सम्बन्धित अन्य पक्षहरू समेतको आधारमा पुनरावेदन गर्ने वा नगर्ने कुराको निर्णय गर्नेछ ।

उन्मुक्तिको बाटोमा वोर्ड

नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको कसूरको सम्बन्धमा उजुरी पर्नु पर्ने कानूनी वाध्यता छैन भन्ने तथ्य माथिका बिभिन्न प्रकरणमा उल्लेख भईसकेको छ | उजुरी नपरे पनि स्वयम जानकारीमा लिएर तहकिकात अधिकारी नियुक्त गर्नुपर्नेमा स्पष्टीकरण सोधिरहनु आवश्यक छैन | यस्ता स्पष्टीकरण सोध्ने, वयान लिने, खानतलासी लिने आदी जे जे गर्नुपर्छ तहकिकात अधिकारीले गर्छ | वोर्डले उक्त दिन भएको कारोबारको राफसाफ रोक्न दिएको निर्देशनको कानूनी अस्तित्व शून्य बराबर छ | राफसाफ रोक्ने हैन कारोबारलाई यथावत कायम राखेर उक्त दिनको ‘कुनै एउटा मूल्य’ लाई आधार मानी त्यो भन्दा बढी मूल्य तिरेका लगानीकर्तालाई क्षतिपूर्ति उपलब्ध गराउने गरि मुद्दा चलाउनुपर्छ | ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानूनी सुत्र छ | इन्भेष्टमेन्ट बैंकका अधिकारी/पदाधिकारीले ज्ञान वा अज्ञानमा जे जसरी भए पनि कानुनको उल्लंघन गरिसकेको छन् | कसूर मानवीय त्रुटीबाटै हुने र दण्डित पनि हुनुपर्ने भएकोले यसलाई अनेक संज्ञा दिएमा अराजकता र वेथितिको शुरुवात हुन्छ | शास्त्रीय विद्वान मनुले ‘न हि दण्डादृते शक्य: कर्तु पापविनिग्रहः अर्थात ‘पापको प्रायश्चित दण्डबाहेक अरुबाट हुन्न’ भनेका छन | वोर्डले यतिखेर शेयरबजारलाई शुद्धीकरण र सुदृढिकरणतर्फ लैजानुपर्ने आवश्यकता छ | वोर्ड उन्मुक्तिको बाटोमा नलागोस |

आर्थिक अभियान दैनिकमा प्रकाशित


Tuesday, September 12, 2017

शेयर बजारको 'क' 'ख' र लगानी

शेयर बजारको 'क' 'ख' नपढी आउने धेरै टिक्न सक्दैनन । भदौरे भेल जस्तै आउँछन् अर्कालाइ बगाउन खोज्छन तर सक्दैनन अनि आफैं बगेर जान्छन ।
अहिले एक क्लिक गरेको भरमा सुचना जानकारी आउँछ तर यस्ता सूचना र जानकारी हेर्न भने पट्क्कै जाँगर लाएको देखिन्न ।  उचित ज्ञान जानकारी विना कुनै  पनि पेशा व्यवसाय गर्न सकिन्न । त्यसकारण सकेसम्म आफैंले पर्याप्त ज्ञान लिएर मात्रै आउनुस ।
बजार छिरेको दिनदेखी फलानोको हकप्रद कहिले आउँछ, एफपिओ किन नआएको वा सबैले दिइसके यसले किन नदिएको, बोनस कहिले आउँछ भनेर एकोहोरो पछि नलाग्नुस । शेयर लगानी प्रतिफलमा आधारित लगानी हो । कम्तिमा कम्पनीको आधारभूत पक्ष कस्तो छ भन्ने जानकारी लिएमा कम्पनीले पूँजी थप्नुपर्छ वा पर्दैन सामान्यतया जानकारी पाउन सकिन्छ । बैंकको व्यवसाय आफ्नो पूँजीको आधारमा हुन्छ । जति बढ्दो निक्षेप हुन्छ सोहि मात्रामा बैंकले पूँजी बढाउनु पर्छ । पूँजी बढाउन आर्जित आम्दानी पूँजीकरण गर्नु पर्छ । व्यवसायको आकार बढ्दो हुन्छ । आज जति पूँजीले व्यवसाय हुन्छ भोलि त्यति पूँजीले व्यवसाय चल्दैन पूँजी थपिरहनुपर्छ । सम्भवत नेपालमा निजि बैंक खुल्दा ५ करोड पूँजी थियो होला अहिले त्यही बैंकको पूँजी ८ अर्बको हाराहारीमा पुगिसकेको छ र अझ बढ्दो छ । स्मरण रहोअ केन्द्रीय बैंकले २ अर्ब पूँजी तोक्दा केही बैंकको पूँजी ५ अरबको हाराहारीमा पुगिसकेको थियो ।
प्राय सबै व्यवसायको पूँजी बढ्नै पर्छ तर जलविद्युतलाई भने हरेक साल पूँजी हाल्नुपर्दैन किनकि यो स्थिर व्यवसाय हो । यस्ले उत्पादन शुरु गरेको दिन जति क्षमता धारण गरेको हुन्छ अन्तिमसम्म त्यति नै हुन्छ । आम्दानी पनि करिबकरिब स्थिर नै हुन्छ ।
त्यही भएर व्यवसायको बढ्दो आकार हेरेर र कम्पनी चिनेर लगानी बढाऔं । लगानी गरेपछि लाभ प्राप्त हुन्छ नै ।
तर शेयरमा लगानी गरेपछि रातारात नयाँ जुनि फेरिने गरि लाभ कुम्ल्याउन आएको भए कृपया यता नआउनुस । लगानीको अरु क्षेत्र खोज्नुस ।
शेयर बजार अति सम्वेदनशिल र जोखिमयुक्त छ ।

Friday, September 8, 2017

शेयरबजारमा ठगी

आफ्नो हक नपुग्ने अर्काको हक, स्वामित्व र भोगमा रहेको चल-अचल सम्पत्ति अनेक प्रपन्च रचि सम्बन्धित पक्षको हक मेटाई लिने कार्यलाई ठगी भनिन्छ | शेयरबजारमा ठगी गर्न अनेक प्रकारका जालसाजी, धोकाधडी वा अन्य प्रपन्च अपनाइएको देखिएको छ | शेयरबाट अत्याधिक कमाइ गर्ने इच्छा, चाहना र महत्वाकांक्षी स्वभावले ठगीजन्य अपराध गर्न प्रोत्साहन मिलेको छ |

नेपोलियन मारिए !  

सन् १८१४ फ्रेबुअरी २१ तारिख सोमबारको दिन बिहान लण्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झुटो समाचार फैलाएर गरिएको धोकाधडीलाई अहिले पनि स्टक एक्सचेन्जको इतिहासमा ठूलो धोकाधडी मानिन्छ | नेपोलियन मारिएको समाचारले बढेको शेयरको भाउ वास्तविक समाचार आउनासाथ तुरुन्तै पुरानै स्थितिमा फर्किएको थियो | छानविनको क्रममा सोमबार बेचिएका अधिकाँश शेयर अगिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो | घटनामा सांसद एवम विख्यात नौसेना लर्ड थोमस कोच्रेन,  उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन  र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड  सामेल भएको पाइयो |

समाचारबाट जालसाजी

उठेदेखि नसुतेसम्म जीवनशैली सूचना प्रणालीसँग जोडिएको हुन्छ | पत्रिकामा सत्यतथ्य छापिन्छ भन्ने विश्वास गरिन्छ | पत्रकारलाई राज्यको चौथो अंगको सम्मान छ | जीवनशैलीको अभिन्न अंग बनेको पत्रिका पनि आफू लाभ लिन वा अरुलाई लाभ दिलाउन बदनियतसाथ समाचार सम्प्रेषण गरिदिन्छन | अहिले ब्रोडशिट भन्दा अनलाइन पत्रिका बढी पढिने सूचनाको माध्यम बनेको छ | धेरै पढिने माध्यम भएकोले जालसाजी गर्ने राम्रो आधार बनेको छ गभर्नरले आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति बाचन नसक्दै एउटा अनलाइन पत्रिकाले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर १ सय ८० दिनमा कायम औसत मूल्यको ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गर्यो | गभर्नरले बाचन गरेको नीतिमा प्राथमिक पूँजीको ४० प्रतिशत मार्जिन प्रकारको कर्जा प्रवाह गर्न पाइने भन्ने बाक्य थियो | समाचार पढेपछि कर्जा घट्ने चिन्ताले शेयर कर्जा लिएर लगानी गरेकाले धमाधम बेचे | यो घटना नेपोलियन मरे भनेर गरिएको प्रचारसँग हुबहु दाँज्न सकिन्छ |  

मार्केट गुरु, शेयर गुरु, बजार गुरु......

फेसबुकमा शेयरसम्बन्धि छलफल गर्ने भनेर खोलिएका समुह र सहभागी हुनेको संख्या बढेको छ | फेसबुकमा दर्ता हुन नाम, ठेगाना, तस्विर लगायत कुनै पनि वास्तविक विवरण नचाहिने भएकोले जालसाजी गर्नेको लागि बाँदरलाई लिस्नुबनेको छ | एकै व्यक्तिले बिभिन्न छद्म नाम राखेर दर्जनौं खाता खोलेर आफैँ लेख्दै आफ्नो अर्को खाताबाट टिप्पणी गर्दै जालसाजी गर्न सहज बनेको छ | छद्म नामयुक्त व्यक्तिको निहित उद्देश्य जालसाजी र धोकाधडी बाहेक अरु केहि हैन | यस्ता छद्मभेषी मार्केट गुरु, शेयर गुरु, बजार गुरु बन्दै साना लगानीकर्ताको हित संरक्षण भन्दै तिनै साना भनिएकालाई चोपल्दै निचोर्दैगर्ने गरेका छन् | अब यसको र त्यसको बढ्ने पालो भन्दै भ्रम पनि यिनै छर्छन | बंगलादेशमा यस्तै खालका दुष्प्रचार गर्ने १ सयवटा फेसबुक पृष्ठ बन्द गर्न बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले बंगलादेश टेलिकम रेगुलेटरी कमिसनलाई पत्रचार गरिसकेको छ |   

छलफलको निचोड र आमाको सल्लाह

छलफलको निचोडको आधारमा अमुक कम्पनीका अमुक कित्ता शेयर भोलि नै किन्ने निर्णय गरेको भन्दै घुमाउरो पाराले गरिएको प्रचार जालसाजीको नौलो स्वरूप हो | नयाँ स्वरूप अपनाउने क्रममा सबैभन्दा सम्मानित साइनो आमालाई पनि जालसाजीमा सामेल गराइसकेका छन् | प्रिय र आत्मीययुक्त सम्बन्ध आमाले भनेको अमुक कम्पनीको शेयर किनेर यति नाफा भो भन्दै गरिएको प्रचारमा नकरात्मक सोच्ने ठाउँ नै हुन्न | लगानीकर्ताको मनोविज्ञान पनि आमाले भनेको कम्पनी किनेर पो फाइदा हुने रहेछ भनेर त्यतापट्टी ओइरिन्छ | एउटी आमा थाहै नपाई छोराछोरीले गर्ने जालसाजीको मतियार बन्छिन अर्की आमाका छोराछोरी सम्पत्ति गुमाउँछन |

तालिम र प्राविधिक विश्लेषण

हरेक विषयको आधारभूत र सैद्धान्तिक पक्ष हुन्छ | यस्ता विषय नबुझेसम्म त्यसको व्यवहारिक पक्ष बुझ्न सकिन्न | शेयर र शेयरबजारको सैद्धान्तिक पक्षको कुरै नगर्ने र रेखा तानेर तल माथि देखाउँदै यो र त्यो सपोर्टलेभल भन्ने प्रशिक्षक र प्राविधिक विश्लेषक छन् | १/२ घण्टे गफलाई तालिमको संज्ञा दिने यस्ता अर्धज्ञानीको उद्देश्य जालसाजी बाहेक अरु केहि हुन्न | कुनै पनि तालिम र अभिमुखीकरण कम्तिमा क्रमशः १५ र ५ घण्टाको हुनुपर्छ | शेयर लगानी प्रतिफलमा आधारित भएकोले प्राविधिक विश्लेषणको औचित्य छैन |  

त्यस्तै, नाफा जति संस्थापकले खाएर साधारण शेयरधनीलाई थोरै नाफा दिन्छन भन्ने अफवाह फैलाउने जालसाजीको अर्को रुप पनि देखिएको छ |

मुलुकी र धितोपत्र ऐन

माथि उल्लेखित समस्त गतिविधि मुलुकी ऐन, ठगीको महल तथा धितोपत्र सम्बन्धि ऐन विपरितका कार्य हुन् | ठगीको महल १ नं. मा आफ्नो हक नपुग्ने सम्पत्ति माथि अनधिकृत कब्जा जमाउन अनेक प्रपन्च रच्नु, झूटो कुरालाई सद्दे हो भन्नु र अरु जुनसुकै तवरले झुक्याउनु ठगी हो | त्यस्तै २ नं. मा नाउँ ढाट्नु, अर्कै हो भन्नु, म होइन भन्नु, अर्कोको नाउँलाई मेरो हो भन्दै बेइमानीका नियतसँग अरू कसैलाई धोकागफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफनो फाइदा हुने काम गर्नु ठगी हो |

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९८ अनुसार कसैले कसैसँग धितोपत्र खरिद-बिक्री वा विनिमय गर्ने उद्देश्य लिई (क) कसैलाई झुक्याउन कुनै प्रविधियोजना वा काम गरेमाझुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमाजालसाजी गरेको मानिने व्यवस्था छ |

ठगीमा सजाय  

मुलुकी ऐनमा ठगीको विगो कायम भएमा विगो भराई दिने र विगो कायम नभएमा ५ हजार जरिवाना र ५ वर्ष कैद हुन्छ | धितोपत्र कानुनमा जालसाजी गर्नेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्छ ।

न्यायधिकरणको आवश्यकता

धितोपत्र सम्बन्धि ठगीको लागि गरिने जालसाजीको स्वरूप बदलिंदै गएको र सुनुवाई पनि विशेष प्रकारले गर्नुपर्ने भएकोले धितोपत्र सम्बन्धि कसुरको मुद्दा हेर्न छुट्टै धितोपत्र न्यायधिकरणको आवश्यकता परिसकेको छ | वर्तमान धितोपत्र कानुनले धितोपत्र सम्बन्धि कसुरको सुनुवाई जिल्ला अदालतले गर्ने व्यवस्था गरेको छ | विशेष प्रकृतिको मुद्दा भएकोले यस्ता मुद्दा नियमित अदालतको सट्टा विशेष किसिमको अदालतबाट किनारा लगाउँदा प्रभावकारी हुने भएकोले धितोपत्र न्यायाधिकरणको टड्कारो आवश्यकता छ |

भारतमा सेक्युरिटीज अपिलियट ट्राबुनल’, बंगलादेशमा क्यापिटल मार्केट ट्राइबुनलर नाइजेरियामा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज ट्राइबुनलस्थापना भैसकेका छन् | बंगलादेशी ट्राइबुनलले सन् १९९६ र सन् २०१०/११ मा शेयरबजारमा घटेका घटनाको सुनुवाई गर्ने क्षेत्राधिकार पाएको छ | यसअघी ढाका मजिष्ट्रेटले यसको क्षेत्राधिकार ग्रहण गरेको थियो |

बंगलादेशी ट्राइबुनलले महबुव सरवर नामक एक व्यक्तिलाई ब्लग र वेवसाइट मार्फत मूल्य हेरफेर गर्न प्रभाव परेको भन्दै दुई वर्षको जेल सजाय सुनाएको थियो | सरवरले फेसबुकमा १० वटा पृष्ठ चलाउने गरेका थिए |






Friday, September 1, 2017

शेयर हस्तान्तरण सम्बन्धि व्यवस्था


सृष्टिकालदेखि नै सम्पत्तिको अवधारणा विकास भएको हो | व्यक्तिसँग जुनसुकै स्वरुपमा रहेको चिज सम्पत्ति हो | विकासक्रमसँगै सम्पत्तिको महत्व बढ्दै गयो | मुद्राको आविष्कार पश्चात सम्पत्तिको मौद्रिक मूल्य कायम हुन थालेपछि अहिले यसलाई मौद्रिक मूल्यमा गणना गरिन्छ |

सम्पत्तिको प्रकार

सम्पत्तिलाई चल-अचल, भौतिक-अभौतिक, स्पर्श्य-अस्पर्श्य आदी बिभिन्न स्वरुपमा वर्गीकरण गर्न सकिन्छ | नेपाल कानुन व्याख्या सम्बन्धि ऐनमा जग्गा जमिन, जग्गाबाट हुने लाभ र जमिनमा जडिएको वस्तुलाई अचल यसबाहेक अन्य सबै प्रकारको सम्पत्तिलाई चलको श्रेणीमा राखिएको छ |

सम्पत्ति प्राप्ति

सम्पत्ति प्राप्त हुने विभिन्न विधिहरू रहेका छन् | देवर्षि  नारदले १२ वटा र मनुले ७ वटा विधि रहेको बताएका छन् | मनुकै शब्दमा सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो जय: | प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ||’ दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त पारिश्रमिक), सत् प्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ | आधुनिक कालमा पनि करिब यहि ७ तरिकाबाट नै सम्पत्ति प्राप्त हुनसक्छ |

सम्पत्ति हस्तान्तरण

स्वामित्व र भोगमा रहेको सम्पत्ति तोकिएको विधि र प्रक्रिया पुरा गरि निरपेक्ष हस्तान्तरण गर्न सकिन्छ र प्राप्त गर्ने सर्वाधिकारसम्पन्न हुन्छ | हस्तान्तरण अभिलेख गरेर वा नगरी दुबै तरिकाले हुन्छ | जग्गा र घर जस्ता अचल सम्पत्ति अभिलेख गरेर मात्र हस्तान्तरण हुन्छ | रुख अचल भएपनि यसको अभिलेख हुन्न | चल सम्पत्ति भएपनि शेयरको हस्तान्तरण अभिलेख गरेर मात्र हुन्छ |

शेयर हस्तान्तरण

कम्पनीको पूँजीको विभाजित अंश मानिने शेयर अत्याधिक तरल चल सम्पत्ति भएकोले बिक्री केन्द्र मार्फत सहज हस्तान्तरण गर्न सकिन्छ | घर वा जग्गा हस्तान्तरण गर्दा घरसारमा कागज गरि निश्चित समयपछि रजिष्ट्रेशन पास गरिदिने गरि बैनापट्टा गरेर तोकिएको समयमा मालपोत कार्यालयमा दुई पक्ष उपस्थित भइ लेनदेन गर्नसक्छन् | शेयरको खरीद-बिक्री घरजग्गा जस्तो घरसारमा कागज गरेर बैनापट्टा गर्न सकिन्न | शेयर हस्तान्तरणलाई बोलीचालीमा बेच्नेभनिन्छ | अन्य चल सम्पत्ति बेचे जसरी शेयर बेच्न नमिल्ने भएकोले निर्दिष्ट गरिएको बिक्री केन्द्र पुग्नुपर्छ | यस्ता बिक्री केन्द्रलाई दलालभनिन्छ | दलालको संख्या ५० वटा रहेको छ | आवश्यकता अनुसार दलालले यस्तो सेवा देशभरबाट दिनसक्छन् | शेयर आधारभूतसम्पत्ति नभएकोले यसलाई बेच्न मालपोत कार्यालय जस्तो देशभर बिक्री केन्द्र राखिएको हुन्न | यसको एउटा छुट्टै विशेषता भनेको खरीद-बिक्रीको लागि क्रेता-विक्रेता आमने-सामने हुनुपर्दैन |

सम्बन्धित कानुन  

शेयर दिनदिनै किनबेच हुने मौद्रिक उपकरण हो | एकजनाले बेच्छ अर्कोले किन्छ र केहि दिन पछी सो व्यक्तिले पुन: बिक्री गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ | एकै शेयर अनगिन्ती पटक किनबेच भइरहन्छ | कम्पनी कानुन अनुसार कुनै शेयरधनी मरी वा निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयरमा प्रचलित कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाणसाथ त्यसरी हक प्राप्त गर्ने वा हक कायम भई आएको व्यक्तिले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर सहित कम्पनीमा निवेदन दिएमा कम्पनीले त्यस्तो शेयर निजको नाममा दाखिल खारेज गरिदिनु पर्ने व्यवस्थागरेको छ |

मृत्यु हस्तान्तरण

शेयर धारकको मृत्यु भएमा स्टक एक्सचेन्जले हक कायम गरि दाखिला खारेज पश्चात नामसारी गरिदिन सम्बन्धित कम्पनीलाई सिफारिस गरिदिन्छ | धारकको हकवालाले (क) मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपि (ख) नाता प्रमाणित प्रमाण-पत्रको प्रतिलिपि (ग) शेयर लिने व्यक्तिको निवेदन (घ) हकवालाको मन्जुरीनामा (ङ) शेयर नामसारी गरिलिने र मन्जुरीनामा दिनेको नागरिकता प्रमाण-पत्र (च) भौतिकरुपमा प्रमाण-पत्र रहेको भए सक्कल प्रमाण-पत्र र अभौतिकरुपमा रहेको भए हिताग्राही खाता रहेको निक्षेप सदस्यबाट प्रमाणित नामसारी हुने शेयरको विवरण (छ) दस्तुर बुझाएको निस्सा सहित (क) देखि (ङ) सम्मका कागजात २/२ प्रति संलग्न गर्नुपर्छ | संस्थापक शेयर हस्तान्तरण हुने भए कर चुक्ता प्रमाण-पत्र र कर्जा सूचना केन्द्रको पत्र पनि संलग्न गर्नुपर्छ | नामसारी दस्तुर १ देखि ५ सय कित्तासम्म शून्य दशमलव ५, ५ सय १ देखि १ हजार कित्तासम्म शून्य दसमलव ४ र १ हजार १ कित्ता भन्दा माथि शून्य दसमलव ३ प्रतिशत लाग्छ | दस्तुर हिसाब परल मूल्य अनुसार गरिन्छ | माथि (घ) मा लेखिएको मन्जुरीनामा दिने भन्नाले हकवाला धेरै भएर कुनै हकवालाले हक छाड्न चाहेमा हक छाड्न मन्जुर भएको मन्जुरीनामा दिनुपर्छ | सबै हकवालाले लिने भएमा मुलुकी ऐन अंशवण्डाको महल अनुसार बाँडफाँड गरिदिनुपर्छ | हकवाला कायम गर्दा पनि यहि मुलुकी ऐन अंशवण्डाको महल बमोजिम गर्नुपर्छ


घरायसी हस्तान्तरण

यसबाहेक घरायसी नामसारी गर्नुपरेमा पनि एक्सचेन्जले कम्पनीलाई पत्राचार गरिदिने गरेको छ | घरायसी नामसारी गर्दाको प्रक्रिया पनि मृत्यु नामसारी सरह रहेको छ | चाहिने कागजातहरुमा (क) नामसारी गरिदिने र लिनेको दुबैको निवेदन (ख) लिनेदिने दुबैको नागरिकता प्रमाण-प्रत्र (ग) भौतिक स्वरुपमा भए सक्कल प्रमाण-पत्र र अभौतिकस्वरुपमा भए हिताग्राही खाता रहेको निक्षेप सदस्यले प्रमाणित गरेको शेयर विवरण (घ) लिने-दिने बिचको नाता प्रमाणित प्रमाण-पत्रको प्रतिलिपि र (ङ) दस्तुर बुझाएको निस्सा सहित (क) देखि (घ) सम्मका कागजात २/२ प्रति संलग्न गर्नुपर्छ | संस्थापकको हकमा कर चुक्ता, कर्जा सूचन केन्द्रको पत्र, २ प्रतिशत भन्दा तल वा माथि खुलेको सम्बन्धित कम्पनीको पत्र पनि संलग्न गर्नुपर्छ | १ देखि ५० कित्तासम्म ३, ५१ देखि २ सय कित्तासम्म २, २ सय १ देखि १ हजारसम्म १ दशमलब पाँच, १ हजार १ देखि १० हजार कित्तासम्म १ दशमलब २५ र १० हजार देखि माथि १ प्रतिशत दस्तुर लाग्ने व्यवस्था छ | दस्तुर हिसाब परल मूल्य अनुसार गरिन्छ |   

हस्तान्तरणका छिद्रहरू

शेयर विशेष परिस्थितिमा बाहेक सिद्धान्तत हक हस्तान्तरणयोग्य सम्पत्ति हैन | यसको स्वभाव नै दैनिकरुपमा निश्चित प्रणाली मार्फत खरीद-बिक्री भइ हस्तान्तरण हुने भएकोले यसलाई अन्य अचल सम्पत्ति जस्तो घरायसीभन्दै हक हस्तान्तरण गर्न दिइनु शेयरको सैद्धान्तिक मान्यता विपरित हो | निर्दिष्ट व्यवस्था विपरित हस्तान्तरण गर्नु गैर-कानुनी कार्य हो | कम्पनी ऐनले प्रष्टरुपमा शेयरधनी मरी वा निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयर प्रचलित कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाणसाथआएमा भन्ने व्यवस्थाले कस्ता अवस्थामा शेयर हस्तान्तरणयोग्य भन्ने स्पष्ट आधार तोकेको छ | ‘घरायसीहस्तान्तरण धारकको मृत्यु भएको अवस्थामा मात्र गरिनुपर्छ | वर्तमान १० कित्ते बाँडफाँड नीतिले गर्दा परिवारका सबै सदस्यको नाममा आवेदन गर्ने र बाँडफाँड भइसकेपछी शेयर एकत्रित गर्न यहि छिद्रको उपयोग गर्ने भएकोले यसलाई अविलम्ब रोक्न धितोपत्र वोर्डले निर्देशन गर्नु अत्यन्त आवश्यक छ | त्यस्तै बाबुआमा बाहेकका व्यक्ति संरक्षक रहेको नाबालकको नाममा रहेको शेयर कुनै पनि विधिबाट उमेर नपुगेसम्म हस्तान्तरण नहुने व्यवस्था मिलाउनु आवश्यक छ |