Showing posts with label धितोपत्र दलाल. Show all posts
Showing posts with label धितोपत्र दलाल. Show all posts

Tuesday, August 18, 2020

पूँजीबजार सम्बन्धी संसदीय प्रतिवेदन


वाणिज्य बैंक (बैंकका सहायक कम्पनी) लाई धितोपत्र दलाल अनुमतिपत्र दिने माग उठे पनि दिनुपर्ने तात्त्विक कारण माग्नेलाई पनि थाहा छैन । शेयरबजारमा सूचीकृत कम्पनीको पूँजीकरणलाई आधार मान्ने हो भने नेपालमा सूचीकृत कम्पनी (बैंक) लाई कहिले पनि दलाल अनुमतिपत्र दिन सकिँदैन । व्यवसाय विशिष्टीकरणको सिद्धान्तले झन् दिनै मिल्दैन । दलाल व्यवसाय अनुमति प्रणालीबाट सञ्चालन हुने पूँजीबजारको प्राथमिक अंग हो । बजार सञ्चालक (स्टक एक्सचेन्ज) ले आवश्यकता र एक्सचेन्जको क्षमताअनुसार विभिन्न चरणका परीक्षा लिएर चाहिएको भन्दा २५ प्रतिशत बढी संख्यामा सिफारिश गर्छ र पूँजीबजारको सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्ड (नेपालको सन्दर्भमा) ले अनुमतिपत्र दिन्छ र बोर्डकै नियमनमा रहेर वित्तीय मध्यस्थताको कार्य गर्छ । बोर्डको आफ्नै अंग (दलाल) लाई बोर्डले नै बेलाबेलामा मानमर्दन गर्ने कार्य नै नेपालमा दलालको व्यावसायिक र शेयरबजार विकासको मूल बाधक हो ।

समिति गठन र प्रतिवेदन

दलालको विषयमा खासगरी बोर्डका अघिल्ला अध्यक्ष बढी पूर्वाग्रहयुक्त देखिए । उनले पूर्वाग्रह राख्दै विद्यमान दलाल (अप्रत्यक्ष रूपमा आफ्नै) मानमर्दन गर्दै बैंकलाई दलाली दिने कुरा बारम्बार बोलिरहे । दलालसम्बन्धी छुट्टै कानून, आचारसंहिता र व्यावसायिक मर्यादा आदि सबै कुरा भएको अवस्थामा त्यसको व्यावसायिक विकास गर्दै अनुगमन र नियमन गर्ने जिम्मा बोर्डकै हातमा छ । तर, उनले दलालको नाममा समग्र पूँजीबजारकै मानमर्दन गरे । यति हुँदाहुँदै पनि कार्यकालको
उत्तरार्द्धमामा आफ्नो सोचले दलाली दिने कार्यक्रम नआएको खुलासा गरेर प्रमाण कानूनको भाषामा मृत्युकालीन घोषणागरे । संसद् (अर्थ समिति) मा दलाल (वास्तवमा आफै) लाई अक्षम, अपारदर्शी र सुशासन नभएको भनेर आरोप लगाए । दलालको प्रतिप्रश्न पछि हच्किएजस्तो गरे पनि बजार सञ्चालक अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अविलम्ब बैंकलाई दलाल सिफारिश गर्न निर्देशन दिए । बोर्डको यस्तो निर्देशन आएपछि नेप्सेले पनि रातारात तदर्थ पाराको कार्यविधि तयार गरी आवेदन माग गर्‍यो । बैंकले बैंकासुरेन्सको नाममा जीवन बीमालेख बेच्न पाउने नीतिगत व्यवस्था केन्द्रीय बैंकले खारेज गरेपछि बैंकलाई दलाली गर्न दिनु बीमालेख बेच्न दिनुभन्दा घातक हुने आम निष्कर्ष आएपछि संसद् (अर्थ समिति) ले २९ साउन २०७६ मा पूँजी र मुद्रा बजारसम्बन्धी अध्ययन उपसमितिगठन गरेको थियो । उपसमितिले दिएको प्रतिवेदन संशोधनसहित पारित पनि भइसकेको छ ।

सरोकारवालासँगको छलफल तथा भारत, बंगलादेश र श्रीलंकाको स्थलगत अवलोकन भ्रमण गरी तयार प्रतिवेदनको सिफारिश खण्डमा (१) बोर्डको संस्थागत तथा नियमन क्षमता सबलीकरण, (२) नेप्सेको संरचनागत सुधार, (३) पूर्वाधारयुक्त क्लियरिङ कम्पनी, (४) धितोपत्र कारोबारलाई पूर्णरूपमा विद्युतीय प्रणालीमा आबद्ध गरी स्वचालित बनाउने, (५) दलालको क्षमता विस्तार, (६) बैंकलाई दलाली, (७) पूँजीबजारको औजार विविधीकरण, (८) ऋणपत्रको बजार विस्तार, (९) धितोपत्रको जनचेतना र (१०) अन्य गरी विभिन्न सुझाव समेटिएका छन् ।

पहुँचका कुरा

प्रतिवेदनमा बैंकलाई दलाल अनुमति दिँदा सबै स्थानीय तहमा पूँजीबजारको पहुँच पुगी लगानी प्रवर्द्धन हुने, पूँजी बजारसम्बन्धी साक्षरता विकास हुने र माग सृजना भई सकारात्मक प्रभाव पार्नेकुरालाई बढी जोड दिएको देखिन्छ । प्रतिवेदनले भनेको स्थानीय तह विशुद्ध गाउँ हो । लगानी प्रवर्द्धनहुने भन्ने वाक्य सुन्दा जति मीठो हुन्छ, त्यसको वास्तविक कार्यान्वयन भएमा सबैभन्दा ठूलो विष हुनेछ । गाउँमा शेयरबजार होइन, उद्यमशीलता पुर्‍याउने हो । शेयरबजार जोखिम लिन सक्नेका लागि मात्र हो । शेयर लगानीमा समेत लाभ सुनिश्चितहुँदैन भने शेयरबजारमा सुनिश्चित लाभ छ वा हुन्छभन्नु बहुलट्टी विज्ञताहो । शेयरबजारमा आउने ९० प्रतिशत गुमाएर जान्छन् भने १० प्रतिशतले मात्र कमाउँछन्, यो तीतो यथार्थ हो । सन् २०१०/११ मा बंगलादेशले गाउँगाउँमा शेयरबजार पु
¥याउन खोज्दा १ वर्षको अवधिमा झन्डै १० लाख व्यक्तिले शेयरबजारबाट पैत्रिक सम्पत्तिसमेत गुमाएको नमीठा पीडालाई बिर्सनु हुँदैन । चाइनाजस्तो आर्थिक क्षेत्रमा तीव्र प्रगति गरेको देशमा पनि सन् २०१५/१६ मा शेयरबजारमा लगानी गर्ने लाखौं चिनियाँले आफ्नो जीवनभरको कमाइ गुमाएका थिए । शेयर कारोबारको पहुँच कतिसम्ममा पु¥याउने भन्ने सन्दर्भमा संसारको दोस्रो ठूलो जनसंख्या भएको देश भारतलाई हेर्न सकिन्छ । त्यहाँ शेयर करोबारीको संख्या २ प्रतिशत पनि छैन । शेयरबजारबाट बसिबसी लाभ हुने भए संसारकै १० र ११ नम्बरमा पर्ने बम्बे र नेशनल स्टक एक्सचेन्ज रहेको मुम्बई शहरमा भिख माग्ने मान्छे रातारात धनी भइसक्ने थिए । जसजसले गाउँमा शेयरबजार पुगेन पुर्‍याउनुपर्‍यो भनेका छन् तिनको अभीष्टता भनेको म धनी हुनका लागि तिमी (गाउँले र शेयरबजार नबुझेका)लाई लोभको ललिपप देखाएर लुट्ने दाउमात्र हो ।

११ प्रश्नको उत्तर

प्रतिवेदनको सिफारिश खण्डमा बैंकलाई दलाली दिनुअघि निक्र्योल गर्न उठाएका ११ ओटा प्रश्नमध्ये केही महत्त्वपूर्ण प्रश्नको संक्षिप्त उत्तर दिने प्रयास गरिएको छ ।

१.    सहायक र मुख्य कम्पनी : सहायक कम्पनी मुख्य कम्पनीको पूर्ण नियन्त्रणमा हुन्छ र सञ्चालक तथा व्यवस्थापक मुख्य कम्पनीले नियुक्त गर्छ । मुख्य कम्पनीको नियन्त्रणमा सहायक कम्पनी हुने हुँदा सूचना चुहिँदैन भन्ने सुनिश्चित गर्न सकिँदैन । स्मरण रहोस्, यहाँ उल्लिखित सहायक कम्पनीले मुख्य कम्पनीको शेयर विक्री गर्ने दलाल व्यवसाय प्रधान तत्त्व छ ।

२.    भित्री कारोबार नियन्त्रण : अहिले पनि भित्री कारोबार नियन्त्रण हुनसकेको छैन । सूचीकृत कम्पनीले नै दलाली गर्न थालेपछि यसको स्वरूप र आकार आकलन गर्नै सकिँदैन । धितोपत्रसम्बन्धी ऐन २०६३ मा भएको व्यवस्था अपर्याप्त होइन, कार्यान्वयन गर्ने मनसाय मात्र अपर्याप्त हो । अहिले त यस्ता गतिविधिलाई हेर्न पनि नसक्ने बोर्डले सूचीकृत कम्पनी आफैले आफ्नो शेयर दलाली पनि गर्न पाएपछि हेर्न सक्ला भन्ने आशा गर्नु बेकार छ ।

३.    क्षेत्रगत अंश : प्रतिवेदनमा नै बंगलादेश र श्रीलंकामा बराबर २६ प्रतिशत र भारतमा २३ प्रतिशत वित्तीय क्षेत्रको उपस्थिति रहेको उल्लेख भएको हुँदा यो प्रश्नको थप उत्तर खोज्नुपर्ने आवश्यकता देखिँदैन । नेपालमा ७५ प्रतिशतभन्दा बढी उपस्थिति वित्तीय क्षेत्रको छ । यो अंश २० प्रतिशतभन्दा कम हुनुपर्ने हुन्छ ।

४.    कसको शाखा : शेयर कारोबार देशभर पुर्‍याउने भन्नु नै असान्दर्भिक विषय हुँदा कुन शाखाले गर्ने वा नगर्ने कुनै प्रश्न होइन । बैंकिङ सेवा नै देशभर पुर्‍याउन वा सबै नागरिकमा पुग्ने स्थिति रहँदैन भने दलाली सेवा पुर्‍याउने भन्ने नै कुतर्क हुन्छ । उदाहरणका लागि देशभर शेयर कारोबार पुर्‍याउने २०१०/११ बंगलादेशको घटना काफी छ । दलाल अनुमति दिएमा बैंकका शाखाशाखाले निक्षेपकर्ता र ऋणीलाई शेयर किन्न बाध्य पार्ने कुरामा शंकै गर्नु पर्दैन । ऋणीलाई जबर्जस्ती जीवन बीमालेख किन्न बाध्य पारेको घटना यहाँ स्मरणीय छ ।

अर्थ समितिले बोर्ड र नेप्सेमा आबद्धलाई प्राथमिक शेयरमा आवेदन गर्नै नदिने कुरा मौलिक हकविपरीत र यति समयभित्र पूँजी बढाऊ भन्ने सिफारिशलाई विधायिकी हस्तक्षेप भन्नुपर्ने हुन्छ । प्रतिवेदनमा अन्य केही सान्दर्भिक सुझाव पनि परेका छन् । नेप्सेको संरचनागत सुधारको कुरा आए पनि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ नियम १२(३) को विषयमा केही नबोलिनुले दिनका लागि दिएकोसुझावसरह हो ।

३० असार २०७७, आर्थिक अभियान


Wednesday, September 18, 2019

बैंकलाई दलाल अनुमति : समितिलाई केही सुझाव


संसद्को अर्थ समितिले पूँजीबजार सम्बन्धमा अध्ययन गर्न २ महिना समय दिएर उपसमिति गठन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीलाई दलाल अनुमतिको लागि गरेको आव्हान उपसमितिको प्रतिवेदन नआएसम्मको लागि स्थगन गरेको छ । बैंकका सहायक कम्पनीलाई हचुवाको आधारमा दलाल अनुमति दिने गरी शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले तदर्थ पाराको निर्णय गरेपछि अर्थ समितिले थप अध्ययन गर्न लागेको हो । यस आलेखमा दलाल, धितोपत्र बजारको वर्तमान झलक र उपसमितिले समेट्नुपर्ने केही पाटाहरुको संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

एक्सचेन्जभन्दा पहिला दलाल

दलालको अर्को परिचय मध्यस्थताकर्ता हो । दलालहरु प्राचीनकालदेखिनै कुनै न कुनै रुपमा अस्तित्वमा भए पनि अहिले जस्तो व्यवस्थितरुपमा थिएन । चौतारो, चिया पसल, चौर, पानी पँधेरो जहाँसुकै भेटिनसक्थे । एउटासँग बिक्रेता र अर्कोसँग खरिदकर्ता हुन्थे । यी दुबैले एक-अर्कालाई भेट गराइदिएर कारोबार सम्पन्न हुन्थ्यो र दलालले ज्याला पाउँथे । पछि यिनै दलालको संगठन बन्न थाल्यो र संगठितरुपमा कारोबार हुन थाल्यो । नेपालमा अहिले पनि अव्यवस्थितरुपमा दलालमार्फत सम्पत्ति खरिद-बिक्री भईरहेको छ भने व्यवस्थितरुपमा शेयर खरिद-बिक्री गर्ने कार्य दलालमार्फत हुन्छ । दलालमार्फत शेयर कारोबार हुन थालेको रजत अवधी (२५ वर्ष) पूरा भईसकेको छ । २५ वर्षको यो अवधीमा नेपालमा शेयर दलाली अनुशासित तवरमा चल्दै विस्तारित हुँदै गएको छ । संसारमा एक्सचेन्ज स्थापना हुनु अघि नै दलालको अस्तित्व थियो भन्ने कुराको प्रमाणको रुपमा भारतको बम्बे स्टक एक्सचेन्जलाई उदाहरण लिन सकिन्छ । बम्बे स्टक एक्सचेन्ज दलालहरुको संगठनको रुपमा विकास भइ एक्सचेन्जमा रुपान्तरण भएको थियो । दलालले व्यवस्थित गर्दै ल्याएको शेयरबजारमा अहिले 'तर' खाने हिसाबले तेस्रो पक्षमार्फत हस्तक्षेप गराउन एक्सचेन्जभन्दा पछि जन्मेको नियमक नै अग्रपंतिमा देखिनु बदनियतकै हिसाबले हेर्नुपर्छ । अहिले 'बैंकलाई दलाली चाहियो, आजै देउ, अहिले देउ' भनेर कराउने दुई/चार जना कारोबारीको पारिवारिक संगठन र नियमकको एकै स्वर देखिनु धितोपत्रबजारलाई थप जटिल बनाउने कार्य बाहेक अरु केही हुनसक्दैन ।

धितोपत्र बजारको झलक

नेपालको धितोपत्र बजारमा २ सय १६ वटा (साप्ताहिक प्रतिवेदन, नेप्से, भदौ ६, २०७६) कम्पनी सूचीकरण भएको देखाईए पनि करोबार हुने वास्तविक कम्पनीको संख्या २ सयभन्दा कम छ । सूचीकरण भएका कम्पनी मध्ये पनि बैंक तथा वित्तीय संस्था ('क' देखि 'घ' वर्गसम्म) संख्या र पूँजी दुबैमा अग्रणी रहेका छन् । त्यसपछि बीमा कम्पनीको संख्या पनि उल्लेख्य रहेको छ । निकट भविष्यमै थप बिमा कम्पनी आउने क्रममा रहेका छन् । संख्यात्मकरुपमा जलविद्युत कम्पनी देखिए पनि गुणात्मक देखिएको छैन । कुल बजार पूँजीकरणको आधारमा बैकिंग र बिमाको योगदान ८० प्रतिशतकै हाराहारीमा छ । शेयरबजारमा सूचनाको मुख्य उत्पादक यिनै बैंक र बीमाकै वर्चश्व कायम छ । स्थिति यस्तो देखिंदा-देखिंदै धितोपत्र बोर्ड र केन्द्रीय बैंक यिनकै हातमा धितोपत्र दलाल अनुमति 'टक्र्याउन' किन मरिहत्ते गरिरहेका छन्, अचम्मलाग्दो छ । बैंकलाई दलाल दिनै नमिल्ने भन्ने पनि हैन दिन मिल्छ तर, यसो हुनको लागि कुल बजार पूँजीकरणमा २० प्रतिशतभन्दा कम हिस्सा हुनुपर्छ । केन्द्रीय बैंकले चालू वर्षको मौद्रिक नीतिमार्फत बैंकलाई जीवन बीमालेख बिक्री गर्न रोक लगाएको सन्दर्भमा यतापट्टी किन दृष्टि दिएन सोचनीय छ । बीमालेख बिक्री गर्न रोक लगाएको केन्द्रीय बैंकको दलाली गर्न दिने नीति र दलाल अनुमतिको लागि यथाशीघ्र सिफारिस गर भन्दै 'हुकुम' चलाउने बोर्ड दुबैको नीतिमा खोट छ । केही समय अघि एक वाणिज्य बैंकका कार्यकारीले 'ब्रह्मा, विष्णु र महेश्वर' भन्दै बोर्डका अध्यक्ष रेवत कार्कीको प्रशस्ति गाएको प्रसँग दलाल अनुमतिसँग जोड्न सकिन्छ ।

स्वार्थ बाझिने खेल

केही समय अघिसम्म ऋणदाता निकायको कर्मचारीलाई शेयर आरक्षण सुनिश्चित गरेको बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मार्फत हटाएको यहाँ स्मरणीय हुन आउँछ । नियम ४०(१) मा (१) कुनै कम्पनीको धितोपत्र सोही कम्पनीको स्वामित्व ग्रहण गर्ने संस्थाको कर्मचारीलाई दिने, (२) कुनै कम्पनीको धितोपत्र सोही कम्पनीलाई ऋण दिने संस्थाको कर्मचारीलाई दिने, (३) कुनै कम्पनीको धितोपत्र सोही कम्पनीको स्वामित्व ग्रहण गर्ने कम्पनीको मुख्य कम्पनी वा सहायक कम्पनीलाई दिने, (४) कुनै कम्पनीको धितोपत्र सोही कम्पनीलाई ऋण दिने कम्पनीको मुख्य वा सहायक कम्पनीलाई दिने, (५) कुनै कम्पनीको धितोपत्र सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशनका क्रममा सो संस्थाका बहालवाला शेयरधनी,  बहालवाला शेयरधनीका एकाघरका परिवार वा बहालवाला शेयरधनी संलग्न भएको संस्थाले खरिद गर्ने कार्यलाई स्वार्थ बाझिने भन्ने व्यवस्था छ । बोर्ड आफैले यो यो अवस्थामा स्वार्थ बाझिने प्रष्ट व्यवस्था गरेपछि बैंक (सूचीकृत) कम्पनीलाई नै आफ्नो शेयर दलाली गर्न दिँदा स्वार्थ बाझिन्न भनेर पुष्टि गर्ने सामर्थ्य बोर्डसँग छँदैछैन र हुन पनि सक्दैन भन्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग छ । यो विषयमा केन्द्रीय बैंकले पनि यही हिसाबले सोचविचार गर्नुपर्छ ।

शेयरबजार पुगेन

शेयरबजार गाउँ-गाउँमा पुगेन भन्ने 'लठेब्रा' तर्क पनि सुन्न पाइन्छ । यस्ता तर्क गर्नेमा शेयरबजारको सतहीसम्म ज्ञान नराख्ने 'प्रशिक्षक, कारोबारीका पारिवारिक संगठनका नेता र लगानीविज्ञ हुँ' भन्नेहरु छन । यस्ता कथित विद्वान र प्रशिक्षकहरु शेयरको प्रकारसम्म नबुझेर संस्थापक शेयरलाई 'पूर्वाधिकार' र 'बढी लाभांश' खान्छन् भन्दै लेख्छन र बोल्छन् । गाउँ-गाउँमा शेयरबजार हैन उद्ध्यमशिलता पुर्याउने हो । शेयरबजार भनेको पूँजीपतिको बजार भएकोले २/४ हजार डुब्दा केही फरक पर्दैन । शेयरमा समेत 'लाभ सुनिश्चित' हुन्न भने शेयरबजारमा 'सुनिश्चित लाभ छ वा हुन्छ' भन्नु 'बहुलट्ठी विज्ञता' हो । बाख्रा-पाठा, दुध-घिउ बेचेर वा ज्यालादारी गरेर  दुई/हजार आयआर्जन गरी नून-तेलको गर्जो टार्नेको लागि शेयरबजार हुँदै हैन । परिवारको मुली कथम मरिहालेमा पनि परिवार सकिन्न किनकि उ मर्दा एक्लै मर्छ तर दुखजिलो गरेर बचाएको रकम शेयरबजारमा हालेर नोक्सानीमा गएमा आफू नमरीकन सबैलाई मारिदिन्छ । 'शेयरबजारमा डुबेको धन र डढेलोले खाएको वन' एकै हो । डढेलोले खाएको 'ठुटो' नपलाए जस्तै शेयरबजारमा गरेको लगानी फर्केर आउँदैन । शेयरबजार बचत पूँजी भएका र जोखिम लिनसक्नेको लागि मात्र हो । सन् २०१०/११ मा बंगलादेशले गाउँ-गाउँमा शेयरबजार पुर्याउन खोज्दा एक वर्षको अवधीमा झन्डै १० लाख व्यक्तिले शेयरबजारबाट पैत्रिक सम्पत्ति गुमाएका थिए । चाइना जस्तो आर्थिक क्षेत्रमा तिब्र प्रगति गरेको देशमा पनि सन् २०१५/१६ मा शेयरबजारमा लगानी गर्ने लाखौं चिनियाँले पनि आफ्नो जीवनभरको कमाइ स्वाहा पारेका थिए ।

केही सुझाव

पेशा व्यवसाय गर्ने पहिलो अधिकार नागरिकको भएकोले दलाल अनुमति खुल्ला गर्ने हो भने पहिला नागरिकलाई दिनुपर्ने र माथि उल्लेखित विषयमा वृहद अध्ययन गरी प्रतिवेदन तयार गर्न समितिलाई सन्दर्भ सामग्री बन्न सक्ने केही सुझाव निम्न हुनसक्छन् ।

१.      धितोपत्र बोर्डको संगठनात्मक संरचना परिवर्तन गरी नेपाल राष्ट्र बैंक जस्तै बनाउने ।
२.      धितोपत्र बोर्ड र बजार संचालक (नेप्से) को स्पष्ट रेखांकन गर्ने ।
३.      दलालको वर्गीकरण गरी थप कार्यक्षेत्र दिने ।
४.      सरकारको न्यून शेयर राखी नेप्सेलाई स्वायत्तता दिने ।
५.      दलाल कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गरी सम्भव भए सूचीकरण गराउने ।
६.      मर्चेन्ट बैंकलाई बैंकको सहायक कम्पनीबाट स्वतन्त्र पार्ने ।
७.      म्युचुअल फण्डको योजना व्यवस्थापक कोष प्रवर्द्धकको सहायक कम्पनी हुनुपर्ने व्यवस्था खारेज गर्ने ।
८.      धितोपत्र कसूर सम्बन्धि मुद्दा हेर्नको लागि धितोपत्र न्यायधिकरण स्थापना गराउने ।
९.      भित्रि सूचनाको आधारमा हुने कारोबारलाई नियन्त्रण गराउने ।
   

  आर्थिक अभियान दैनिक, १० भाद्र २०७६ 




  

Sunday, May 12, 2019

बैंकिङ सम्बन्धी जेठो कानून र धितोपत्र दलाली


नेपालको बैंकिङ सम्बन्धी कानूनमा अहिलेको बैंकिङ कानूनलाई पनाति पुस्ता मान्दा फरक नपर्ला । केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक जन्मनुभन्दा १८ वर्षअघि विक्रम संवत् (विसं.) १९९४ मा नेपालमा बैंकको विधिवत् थालनी भएको थियो । १९९० सालको शक्तिशाली भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरले नेपाल बैंकको उद्घाटन गरेका थिए । नेपालमा कम्पनी कानूनको निर्माण भइसकेको हुँदा नेपाल बैंक कम्पनी कानून अनुसार दर्ता भएको थियो । बैंक स्थापना नभएकाले त्यतिबेला छुट्टै बैंकिङ सम्बन्धी कानून बन्ने कुरै भएन । बैंकले गर्न हुने र नहुने काम लगायत विषयमा व्यवस्था गर्न नेपाल बैंक कानून १९९४जारी गरिएको थियो । बैंकिङ कानूनको प्रस्थानविन्दु यहीँबाट आरम्भ हुन्छ । अहिले जस्तो त्यति बेला ऐन भन्ने गरिएको पाइँदैन । यो आलेखमा नेपालमा बैंकिङ कानूनको विकासको संक्षिप्त चर्चा र बैंकलाई धितोपत्र दलालीको प्रसंग जोड्ने प्रयास गरिएको छ :
प्रस्तावना र परिभाषा 
नेपालमा आजसम्म बैंक नभएको हुनाले मुलुकको आर्थिक उन्नतिलाई बाधा र जनतालाई बेसुबिस्ता भइरहेको हुँदा सो अभाव पूर्ति हुन गई दुनियाँलाई सुबिस्ता र मुलुकको बढिया हुन जावस् भन्ने उद्देश्यले बैंक स्थापित गरि चालु गर्ना निमित्त तल लेखिए बमोजिमको कानून जारी भएको छ’ भन्ने प्रस्तावना रहेको थियो । त्यस्तै परिभाषा खण्डमा बैंकसञ्चालक समितिडाइरेक्टर जनरलप्रतीतपत्रसिक्री जमानीसिक्युरिटीमुद्दती खाताचल्ती खाताबचत खाताडिवेन्चरबिल अफ एक्सचेन्जप्रोमिसरी नोटको परिभाषा गरिएको छ । परिभाषा गरिएका शब्दमध्ये ‘सिक्री’ त्यति नसुनिएको हो कि जस्तो देखिन्छ । यसलाई ‘एकको निमित्त सबै र सबैका निमित्त एक जना जमानी रहेको जमानत’ भनेर परिभाषा गरिएको छ । ‘सिक्युरिटी’ को परिभाषा गर्दै ‘कुनै व्यक्तिले कर्जा लिना निमित्त आफ्नो कब्जामा रहेको वा कब्जामा नरहेता पनि आफ्नो पूरा हक भएको नगदजिन्सीअरू जायज्यथा वा त्यस सम्बन्धि कागजपत्रहरू राखेको धितो’ भनेको छ ।
शेयर र शेयरमा हक 
कानूनको दफा ४ (ख) मा ‘हाल उठाउने २५ हजार शेयरमध्ये कमसे कम ४ खण्डको १ खण्ड शेयर सरकारबाट लिइबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकहरूले लिन पाउनेछन्’ र त्यस्तै दफा ४ (ग) मा ‘कदाचित हाल उठाउने २५ हजार शेयरको मूलधनले बैंकको काम चलाउन मूलधन नपुगी अरू शेयरबाट हदसम्ममा जति चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको शेयर साविक शेयरवालाहरूले लिएसम्म अरूले लिन पाउने छैन’ भन्ने व्यवस्था हकप्रद जारी गर्ने सम्बन्धी जस्तो देखिन्छ । दफा ६ मा ‘यस्तो शेयर नेपाली रैयत भइ जन्मेका वा नेपाली रैयत भएका स्त्री पुरुष बाहेक अरू कसैले खरीद गर्नु र अरू कौनै तरहबाट लिनुदिनु गर्नु हुँदैन’ भन्ने थियो । दफा ७ मा ‘गाथगादी उपर खुद लागेको ठूलो कसुर गरेमा बाहेक हरिने सर्वस्व हुने समेत कौनै कसुरमा पनि यो बैंकको शेयरमा जफत वा हरण केही हुने छैन’ भनिएको थियो । दफा ८ मा ‘कदाचित् बैंकलाई नोक्सान परी लागेको ऋण बैंकको जायज्यथाबाट भर्नु भराउनुपर्ने हुन गएमा सो जायज्यथाबाट खामेदेखि बाहेक नपुगेको ऋण शेयरवालाहरूले आफ्नो घरघरानाबाट तिर्नुपर्ने छैन’ भन्ने व्यवस्था गरेर शेयरधनीको सीमित दायित्वलाई आत्मसात् गरिएको पाइन्छ ।
बैंकको काम 
कानूनको दफा २७ मा बैंकका काम के के हुने भन्ने विषयमा उल्लेख गरिएको छ । त्यतिबेला बनेको यो कानूनमा अहिले प्रचलित बैंक कानूनभन्दा कुनै कुरामा कमी नरहने गरी काम तोकिएको छ । कानूनको दफा २७(२) मा सरकाररैती (नागरिक)विदेशीहरूको रुपैयाँ जिम्मा लिने र निजहरूका नाममा खाता खोल्नेदफा २७(३)(३) मा नेपाल कम्पनी कानून बमोजिम रजिस्टर भएका कम्पनीको शेयर वा डिवेन्चर जमानतमा लिई ऋण दिनसक्ने र यसरी धितो राखिएको शेयर र डिवेन्चर विक्री गरी असुल गर्न सक्ने व्यवस्था हेर्दा अहिलेको शेयर धितो कर्जाकै प्रारम्भिक स्वरूप हो । 
कृषि, खानी, सडक रेलवे, रोपवे इत्यादि फाइदा हुने काम उठाउने कम्पनीहरूलाई काफी जमानतमा रुपैयाँ सापट दिने वा सो काममा रुपैयाँ लगाउने ग्राहकहरू बन्दोबस्त गरिदिने काम गर्न सक्ने अर्को व्यवस्थालाई अहिले भर्खर नियम पारित भएको प्राइभेट इक्विटीभेन्चर क्यापिटलहो भनेर बुझ्न सकिन्छ । कानूनको दफा १९(१) मा ग्राहकहरूको कमिशन एजेन्ट भई लिमिटेड कम्पनीकोको शेयर वा सिक्युरिटीहरूको जिम्मा लिने, दाखिलखारिज गराउने, खरीदविक्री गरिदिने काम तोकेको देखिन्छ । त्यस्तै १९(२) मा शेयर वा सिक्युरिटीहरूको ब्याज, मुनाफा इत्यादि उठाइदिने कामलाई हेर्दा यो व्यवस्था अहिलेको शेयर रजिष्टारलगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेज)सेवा हो भन्न सकिन्छ । अर्को दफा १९(५) मा ग्राहकहरूका निमित्त मुलुकभर, हिन्दुस्तान र अरू विदेशमा रुपैयाँ भुक्तान दिने पठाउने कामलाई हेर्दा अहिलेको विप्रेषण सेवाहो । त्यस्तै, कानूनको दफा २८(१) मा नेपाल बैंक लिमिटेडको शेयर जमानत लिई कर्जा दिने काम गर्न नहुने उल्लेख छ ।
बैंकिङ कानूनको क्रम 
नेपाल राष्ट्र बैंकको स्थापना पश्चात् विदेशी विनिमय नियमित गर्नेनेपाली मुद्राको चलनचल्ती बढाउने लगायत मुद्रा सम्बन्धी कानून बने पनि बैंकिङ कानून २०२४ सालमा बनेको भेटिन्छ । २०१६ सालमा स्थापना भएको औद्योगिक कर्जा दिने अहिले राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको नेपाल औद्योगिक विकास निगम विशिष्ट प्रकारको बैंकिङ नै हो । त्यस्तै कृषि र यससँग सम्बद्ध क्षेत्रमा कर्जा परिचालन गर्न कृषि विकास बैंक ऐन २०२४ मार्फत स्थापित कृषि विकास बैंक पनि विशिष्ट प्रकारको बैंकिङ हो । अहिले वाणिज्य बैंक भनिने बैंक स्थापना गर्ने वाणिज्य बैंक ऐन २०३१ मा आएको थियो । त्यसपछि वित्त कम्पनी ऐन २०४२विकास बैंक ऐन २०४८ हुँदै यी सबै बैंकिङ सम्बन्धी कानूनलाई खारेज र एकीकरण गर्ने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ आएको थियो । यो पनि खारेज भई अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ रहेको अस्तित्वमा रहेको छ ।
धितोपत्र दलालीको प्रसंग

नेपाल बैंकले शेयर जारी गरेको अघि वा पछि विराटनगर जुट मिल्सले पनि शेयर जारी गरेको थियो । शेयर जारी गरेपछि खरीदविक्री हुन्छ भन्ने ज्ञात त्यतिबेला नभएको भन्न मिल्दैन तर पनि नेपाल बैंक कानूनमा नेपाल बैंकले शेयर दलाल गर्न सक्ने व्यवस्था गरिएको थिएन । यस कानूनमा मात्र होइन, त्यसपछि बनेको कुनै पनि बैंक सम्बन्धी कानूनमा यस्तो व्यवस्था गरिएको छैन । यसबाट कार्य विशिष्टीकरणलाई प्रारम्भिक कालदेखि नै प्रधानता दिएको देखिन्छ । तर, अहिले कार्य विशिष्टीकरण विपरीत शेयरबजारको नियमक नेपाल धितोपत्र बोर्ड नै बैंकलाई दलाल दिने भनेर बेसुर आलाप गर्नु अर्थहीन कुरा हो ।
अन्त्यमा, २०३३ सालमा शेयर खरीदविक्री गराउने कार्यका लागि स्थापना भएको सेक्युरिटी खरीदविक्री केन्द्र नेपाल स्टक एक्सचेन्जमा रूपान्तरित हुँदासम्म पनि धितोपत्र दलालको छुट्टै व्यवस्था थिएन । २०४९ सालबाट मात्र यस्तो अवधारणा ल्याइएको हो । छुट्टै दलाल नचाहिने बैंकले गरेर हुने भए त्यतिबेलै बैंकलाई दलाल बनाइन्थ्यो होला तर बनाइएन । यसको सीधा अर्थ विसं. १९९४ देखि नै कार्यलाई विशिष्टीकृतगरिएको रहेछ भनेर बुझ्नुपर्छ । बोर्डले कार्य विशिष्टीकरणलाई प्राथमिकतामा राखेर कार्य गरोस् ।
१८ चैत २०७५, अभियान दैनिक 


Monday, February 18, 2019

बैंकलाई शेयर दलाल अनुमति : लगानीकर्ताको खुट्टामा बन्चरो

पूँजीबजार र मुद्राबजार शब्दावली हेर्दा दुवै एकै हो भन्ने लाग्न सक्छ । तर, यी दुवैको अस्तित्व र उपयोग फरक छ । रायो र तोरीको दाना उस्तै र तेल आए पनि एकै होइनन् । ठ्याक्कै यस्तै किसिमको अन्तर पूँजीबजार र मुद्राबजारको बीचमा छ । पूँजीबजारमा अहिले मुद्रा (बैंक) बजारलाई प्रत्यक्ष रूपमा धितोपत्र दलाल मार्फत छिराउने प्रयास हुँदै छ । सरकार, केन्द्रीय बैंक र धितोपत्र बोर्ड युद्धस्तरमा रातदिन खटेर लागिरहेका छन् । पूँजीबजारमा बैंकलाई छिराउन खोज्नु लगानीकर्ताको दृष्टिमा खुट्टामा बन्चरो हान्नु भन्दा कुनै कुरामा कम होइन ।

बैंक र पूँजीबजारको अर्थ र कार्य 
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले बैंकको परिभाषा गर्दै बैंकिङ तथा वित्तीय कारोबार गर्न संस्थापना भएको संगठित संस्था सम्झनुपर्छभनेको छ । त्यस्तै ऐनको प्रस्तावनामा मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्वर्द्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्नको लागिभनेको छ । बैंक आफैँमा व्यवसायी नभएर निक्षेप संकलन र कर्जा परिचालन गर्ने वित्तीय मध्यस्थकर्ता तथा भुक्तानी प्रणालीको विकासकर्ता हो । एउटासँग भएको पैसालाई किनेर (ब्याज दिएर) केही नाफा राखी अर्को व्यक्तिलाई नगद उपलब्ध गराई व्यावसायिक गतिविधिमा सहयोग पुर्याउनु हो । केन्द्रीय बैंक, बैंक र वित्त यसका मुख्य अंग हुन् ।
औद्योगिकीकरण, पूर्वाधार निर्माण र विकास जस्ता कार्यका लागि पूँजीबजारबाट शेयर, अग्राधिकार शेयर, ऋणपत्र जारी गरी पूँजी जुटाउने कार्य हुन्छ । बैंक स्वयम् पनि पूँजीको लागि आउने थलो यही हो । पूँजीबजारको अंगमा स्टक एक्सचेन्ज, दलाल, केन्द्रीय निक्षेपक, मर्चेन्ट बैंक आदि पर्छन् ।
पूँजीबजारमा लगानी र सूचना 
पूँजीबजारको अर्को पाटो दोस्रो बजार हो । पहिलो बजारमा गरिने लगानी तुलनात्मक रूपमा कम जोखिमयुक्त छ भने दोस्रो बजारमा गरिने लगानी अत्यधिक जोखिमयुक्त हुन्छ । दोस्रो बजार सूचना संवेदनशील भएको हुँदा सूचनाको भित्री पहुँचले प्रभाव पार्छ । हरेक त्रैमासमा प्रकाशित हुने सूचनालाई आधार मानेर दोस्रो बजारमा लगानी मात्र होइन सट्टाबाजी समेत हुनेगर्छ । दलाली समेत गर्न दिन लागिएको वाणिज्य बैंक धितोपत्र बजारमा सूचीकृत कम्पनी हुन् । वर्तमान नेपालको धितोपत्र बजारमा यिनै बैंकको अधिक कारोबार हुने गर्छ र बजार पूँजीकरणमा आधा भन्दा बढी योगदान रहेको हुँदा स्टक एक्सचेन्जलाई बैंक स्टक एक्सचेन्ज भन्दा पनि फरक नपर्ने स्थिति रहेको छ । पूँजीबजारको विकास र विस्तारको लागि भन्दै बैंक (सहायक कम्पनी) लाई दलाली गर्न भित्र्याउँदा यसले धितोपत्र बजारको विनाशलीला शुरू हुन्छ ।
शेयरबजारबाट सूचना उत्पादक र कारोबार मध्यस्थता छुट्याउनुपर्नेमा त्यसैलाई डाडु पन्यूदिँदा हुने स्थिति कति भयङ्कर हुन्छ विश्वामित्रले हरिश्चन्द्रको परीक्षा लिएजस्तो लिनु पर्दैन । सिधै बैंकलाई दलाल दिने हो र ? त्यसको सहायक कम्पनीलाई दिने हो भन्ने जवाफ दिए पनि सहायक कम्पनीका मालिक (शेयरधनी) बैंक नै हुन् । आफ्नो मालिकले उत्पादन गर्ने सूचना पहिले आफूले नलिईकन सार्वजनिक हुन्छ भनेर अनुमान गर्न सकिन्छ तर यथार्थ त्यस्तो हुँदैन । अहिले पनि भित्री सूचनाको आधारमा दैनिक कयौं कारोबार हुने गरेका छन् तर पनि तालुकी अड्डाले त्यसको निगरानी राख्न सकेको छैन । भित्री सूचनायुक्त कारोबारले कयौं लगानीकर्ताको पैत्रिक सम्पत्ति गुमेको उदाहरण संसारभर जति खोजे पनि भेटिन्छ । नेपालको बैंकिङ, बीमा, धितोपत्र बजारका लगानीकर्ता एकै व्यक्ति वा व्यापारिक घरानाको हातमा रहेको छ । यसलाई अलग पार्न नसकिको अवस्थामा फेरि यिनैलाई दलाली पनि दिनु आगोमा घ्यूथप्नु जत्तिकै हो । वाणिज्य बैंकको लघुवित्त र बीमा कम्पनीमा प्रत्यक्ष रूपमा रहेको लगानीले धितोपत्र बजारमा यसको अंश ८० प्रतिशतसम्म रहेको अनुमान गर्दा असान्दर्भिक हुँदैन ।
संवैधानिक हकको कसीमा 
संविधानले निर्दिष्ट गरेका मौलिक हकमा स्वतन्त्रताको हकअन्तर्गत नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताकोप्रत्याभूति गरेको छ । त्यस्तै सम्पतिको हकअन्तर्गत प्रत्येक नागरिकलाई प्रचलित कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछभनेर व्यवस्था गरेको छ । नागरिकका लागि गरिएको मौलिक हक कानूनी व्यक्तिलाई गरिएको हो र कानूनले परिकल्पना गरेको कानूनी व्यक्तिलाई सुम्पिन सक्ने गरी कानूनी व्यवस्था गर्न सकिँदैन । धितोपत्र दलाली पनि व्यवसायको एउटा प्रकार हो । व्यवसायको एउटा प्रकार र कानूनले नै व्यवस्थित गरेको धितोपत्र दलाली गर्ने अनुमति पाउने अधिकार नागरिक बाहेक अरूलाई हुँदैन ।
नेपालको बैंक सम्बन्धी पहिलो कानून नेपाल बैंक कानून १९९४ ले पनि यस्तो व्यवस्था गरेको देखिँदैन र पछिसम्म पनि यस्तो आवश्यकता देखिएन । अहिले बैंकलाई नै दलाल दिनुपर्ने कुनै विशेष परिस्थिति निर्माण भएको छैन । योग्य र सक्षम नागरिकहरू बेरोजगार भएर खाडी वा अन्यत्र रोजगारीको लागि भौंतारिरहेको सन्दर्भमा यिनै सक्षम नागरिकको हातबाट व्यवसाय खोस्ने कार्यमा राज्य र नियामक लाग्नु हुँदैन । बैंक चलाउन सक्षम हुने नागरिक धितोपत्र दलाली गर्न अक्षम हुने भन्ने तर्क उचित हुन सक्दैन । दलाल व्यवसाय सञ्चालन गर्न नागरिक असफल र अक्षम भएको कुनै पनि उदाहरण छैन बरु दलाल दिने भनिएका बैंक नै असफल भएका उदाहरण छन् । नागरिक असफल भएको अवस्थामा भने वैकल्पिक व्यवस्थाका रूपमा बैंक वा अन्य कुनै संस्थालाई अनुमति दिन सकिने कानूनको मनसाय हो ।
शेयर बजारको झलक 

नेपालको शेयरबजारमा सूचीकरण भएका १ सय ८५ कम्पनीमध्ये बैंकिङको संख्या १ सय २५ रहेको छ । तालिकामा २०७५ माघ २४ गतेको कारोबारमा आधारित रहेर नेप्सेमा सूचीकृत कम्पनी र यिनको पूँजीकरण प्रस्तुत गरिएको छ । कुल पूँजीकरण १३ खर्ब ४८ अर्ब ४५ करोड ३१ लाख ५५ हजार ९ सय ८८ आएको देखिएको भए पनि सामान्य त्रुटि हुनसक्ने कुरालाई स्वीकार गरिएको हुँदा योगदानमा देखिएको प्रतिशत मोटामोटी भए पनि यथार्थको एकदमै नजीक छ ।
 

समूहगत पूँजीकरण र योगदान
समूह
सूचिकृत संख्या
कुल पूँजी
कुल पूँजीकरण
योगदान (प्रतिशत)
वाणिज्य बैंक
२७
२,२१,४२,०४,५९,६००
६,९३,५९,७८,४४,१५०
४९.८७
विकास बैंक
३२
३३,५९,६१,१२,८६१
६७,४९,४१,८८,३२८
४.८५
वित्त
२५
२०,४१,६७,४४,५००
२६,४२,९८,२४,९६४
१.९
लघुवित्त
४०
११,५०,७९,१६,०००
८९,२९,७१,२९,७५६
६.४२
होटल
२,४८,५४,१८,०००
१९,८२,३६,२०,५८०
१.४२
उत्पादन तथा प्रशोधन
१,१५,२५,०१,६००
३३,७९,१९,६४,९०८
२.४२
जलविद्युत
२४
३२,३२,७५,५३,९००
७३,४०,९९,७६,६५६
५.२७
व्यापार
१७,१९,३३,४००
१,४५,४५,०६,१३४
०.१०
निर्जीव विमा
१५
९,६५,६१,९७,४००
८७,२२,३५,९३,७५४
६.२७
जीवन विमा
१३,१४,८७,९३,९००
१,१२,०३,०३,३८,६१४
८.०५
अन्य
२५,९०,३१,२३,१००
१,४३,९०,०१,६८,१५३
१०.३४

१८५
३,७१८६,६७,५४,२६१
१३,४८,४५,३१,५५,९८८
९६.९१
स्रोत: नेप्सेको वेबसाइट

निष्कर्ष 

नेपालको शेयरबजारमा अझ पनि बैंकको अधिक अंश रहेको छ । बाह्य अभ्यास हेर्ने हो भने पनि बैंकलाई दलाल बनाउने कार्यको लागि यसको अंश बढीमा २० प्रतिशत हुनुपर्छ । योभन्दा कम भएको खण्डमा भने परिस्थिति हेरेर दलाल बनाउन सकिने सम्भावनाको औचित्य अत्यन्त न्यून रहेको हुन्छ । तर, नागरिकको सक्षमता रहेसम्म यस्तो सम्भावनाको गुन्जायस रहँदैन । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल सरकार र लगानीकर्ता तथा यिनका सङ्गठनले मनन गरेर अविलम्ब यस्तो कार्य रोक्न पहल गरून् ।
अभियान दैनिक २०७५ माघ २९ 
http://www.abhiyan.com.np/?p=317635

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...