Showing posts with label नामसारी. Show all posts
Showing posts with label नामसारी. Show all posts

Wednesday, May 18, 2022

शेयर नामसारीमा सकस

प्राइभेट कम्पनीलाई पनि ओटीसीमा लानु उचित

दोपाया र चौपाया जस्तै शेयर पनि चल सम्पत्ति हो l दोपाया र चौपाया जुनसुकै बेला जसलाई पनि हक छाडेर हस्तान्तरण गर्न सकिन्छ र यस्तो हस्तान्तरणको कुनै निकायमा अभिलेख गराउन पर्दैन l चल सम्पत्ति कहिले कसलाई दिइन्छ, यसको खासै हिसाब राखिन्न l ‘दोपाया चौपाया धन गन्दै नगन’ भन्ने लोकोक्ति यही कारण चलेको हुनुपर्छ l तर, शेयर चल सम्पत्ति भए पनि यसको हक हस्तान्तरण गर्दा निकायबाट अभिलेखित गराउनुपर्छ l यसरी अभिलेख नगरेसम्म यसको हस्तान्तरणले मान्यता पाउँदैन l सूचीकृत कम्पनीको हस्तान्तरणका सम्पूर्ण प्रक्रिया नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बाट हुन्छ भने असूचीकृत पब्लिक कम्पनीको शेयर हक हस्तान्तरण ओभर द काउन्टर (ओटीसी) बाट हुन्छ l प्राइभेट कम्पनीको शेयर हस्तान्तरणको अभिलेख कम्पनी पञ्जीकरण (रजिष्ट्रार) कार्यालयबाट हुन्छ l नेप्से र ओटीसीबाट हुने  हस्तान्तरण तुलनात्मकरुपमा सरल छ भने कम्पनी पञ्जीकरणबाट हुने हस्तान्तरणमा जटिलता छ l 

खरिदबिक्री प्रक्रिया

कुनै पनि प्राइभेट कम्पनीको शेयरधनीले पूरै वा आँशिक शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएर सञ्चालक समितिको अनुमति लिनुपर्छ l सञ्चालक समितिले बिक्रीसम्बन्धि निवेदन प्राप्त भएपछि कम्पनीको नियमावलीमा भएको व्यवस्थाअनुसार किनबेचको स्वीकृति दिन्छ l कायम शेयरधनी कसैले पनि किन्नको लागि निवेदन नदिएमा बाह्य व्यक्तिले उक्त शेयर किन्न निवेदन दिएर स्वीकृति माग्नुपर्छ l सञ्चालक समितिले किन्न र बेच्न स्वीकृति दिएपछि क्रेता र बिक्रेताबीच बिक्री लिखत हुन्छ l सो लिखतसहित क्रेताले कम्पनीमा हक कायम गराईदिन निवेदन दिनुपर्छ l यसरी निवेदन प्राप्त भएपछि सञ्चालक समितिले विधिपूर्वक शेयर हस्तान्तरण भए वा नभएको जाँच गरी निवेदकको माग अनुरुप शेयर दाखिल खारेज गरी नियमानुसार क्रेताको नाममा शेयर लगत कायम गर्ने निर्णय गर्छ l यति गरेपछि शेयरसहित अभिलेख गराउन पञ्जीकरण कार्यालयमा कम्पनीले नै पत्राचार गर्छ l यतिसम्मको प्रक्रियालाई सामान्यरुपमा नै लिन सकिन्छ l किनबेच भईसक्यो, लेनदेन पनि आपसीरुपमा भईसक्यो, बिक्री लिखतको आधारमा शेयरधनीको लगत पनि बनिसक्यो तर, यसलाई अभिलेख गराउन भने ‘फलामको चिउरा’ चपाउनुसरहको स्थिति पञ्जीकरण कार्यालयले सिर्जना गरेको छ l  

कार्यालयमा विवरण प्रविष्टि

शेयर बिकी भएर कायम लगत अभिलेख गराउन माथि उल्लेखित बिक्री र खरिद गर्न पाउँ भन्ने निवेदन, सञ्चालक समितिको खरिदबिक्री स्वीकृति दिने निर्णय, बिक्री लिखत, क्रेताको हक कायम गरिपाउँ भन्ने निवेदन र सञ्चालक समितिको हक कायम गराउने निर्णयका अतिरिक्त अन्य कागजात विद्युतीय माध्यममार्फत पञ्जीकरण कार्यालयमा पेश गर्नुपर्छ l यति भएपछि शेयर लगत तयार पार्न कागजात पर्याप्त हुनुपर्नेमा बिक्रेताको बैंक खातामा क्रेताकै नामबाट रकम जम्मा भएको देखिने बैंक विवरण माग गरेर पञ्जीकरण कार्यालयले व्यक्तिगत गोप्यता नै भंग गराईदिन्छ l बिक्रेताले पैसा पायो कि भनेर व्यक्तिको बैंक विवरण माग्नु कदाचित उचित कार्य हैन l यसरी मागिएको व्यक्तिका व्यक्तिगत वित्तीय विवरण बाहिरिएर अपराधिक चरित्रका व्यक्तिको हातमा नपुग्ला भन्न सकिन्न l यसो भएमा कुनै दिन कुनै बिक्रेता व्यक्तिको ‘जिउज्यानमाथि सांघातिक हमला, शरीर बन्धक वा अपहरण’ जस्ता घटना हुने सम्भावनालाई टार्न सकिन्न l यसरी व्यक्तिगत वित्तीय विवरण मागिएको कारण शेयर किनबेच गर्नकै लागि भनेर छुट्टै बैंक खाता खोल्ने कुरा पनि सान्दर्भिक हुन्न l बेच्नेले रकम नपाईकन बिक्री लिखत गरिदिने कुरा पनि हुन्न l बिक्री लिखतमा तीनजना साक्षीसमेत हुन्छन् l शेयर किनबेचमा अवाञ्छित कार्य नहोस् भनेर नोटरी पब्लिकले आफ्नो सामुन्ने बिक्री लिखत भएको हो भन्ने व्यहोरा प्रमाणितसमेत गरेको हुन्छ l बिक्रीकर्ताले रकम पायो कि पाएन भन्ने कुरा पञ्जीकरण कार्यालयको चासो बन्नुपर्ने विषय पनि हैन l लेनदेन तत्काल नगदमै हुनुपर्छ भन्ने पनि छैन l क्रेता बिक्रेताबीच कुनै पुरानो हिसाब मिलाउन पनि शेयर दिएको हुनसक्छ l त्यस्तै, नगदको सट्टा जिन्सिमा पनि हिसाब मिलान भएको हुनसक्छ l क्रेता र बिक्रेताबीच सहमति भएर दुवै पक्ष राजीखुशी भएर भएको किनबेचमा रकम जम्मा भएको बैंक विवरण माग्नुको औचित्य नै छैन l शेयर बिक्री भएपछि दाखिल खारेज गर्ने कार्य कम्पनीको हो र त्यसको अभिलेख गर्ने जिम्मा मात्र पञ्जीकरण कार्यालयको हो  l

सकस दिलाउने अमूर्त कारण

बिक्रेताको बैंक खातामा क्रेताकै नामबाट रकम जम्मा भएको बैंक विवरण देखाउनुपर्ने कारणको रुपमा  अनियमितता र जालसाजी भएको भन्ने अमूर्त कुरालाई आधार देखाईएको छ l यस्तै सम्भावित कारणबाट संरक्षण दिनको लागि अर्को रक्षा कवचकोरुपमा नोटरी पब्लिकले बिक्री लिखत प्रमाणित गराउनुपर्ने व्यवस्था पनि गरिएको छ l २०७० साल अघि पञ्जीकरण कार्यालयमा कम्पनीले कम्पनी अद्यावधिक छ भनेर वार्षिकरुपमा पेश गर्ने दफा ५१, ८० र १११ बमोजिमका विवरण, प्रवन्धपत्र र नियमावली संशोधन हुनेगरी विशेष सभामा पेश भएका प्रस्ताव, शेयर नामसारीसम्बन्धी लगायतका सम्पूर्ण कागजात भौतिकरुपमा पेश गर्नुपर्थ्यो l २०७० सालपछि पञ्जीकरण कार्यालयमा पेश गर्नुपर्ने समस्त कागजात विद्युतीय स्वरुपमा पठाउने व्यवस्था गरियो l यसरी सम्पूर्ण कागजात विद्युतीय प्रणालीबाट पठाउने व्यवस्था भए पनि भौतिकरुपमा सम्पूर्ण कागजात भारी कसरे लानुपर्ने व्यवस्था भने यथावात थियो l

२०७७ भदौ १ गतेदेखि भने सञ्चालक र शेयर लगत, प्रवन्धपत्र तथा नियमावलीमा हुने संशोधनका कागजात मात्र भौतिकरुपमा लैजानुपर्ने व्यवस्था शुरु भएको छ l कागजीरुपमा पेश गर्नुपर्ने बेलामा कम्पनीको छाप, लेटरहेडलगायत नक्कली बनाएर हुनसक्ने दुरुपयोगको विद्यमानतालाई अस्वीकार गर्न सकिन्न l तर, एकादुई यस्ता घटनालाई देखाएर बहुसंख्यकलाई ‘सकसमा’ पार्नुलाई  सक्षम प्रशासकीय व्यवस्था भन्न मिल्दैन l विद्युतीय प्रणाली पनि पूर्ण सुरक्षति छैन l अपराधिक चरित्रका व्यक्ति अनलाईनमा पनि भेटिन्छन् l अपराध हुन्छ भनेर तर्सिनेभन्दा पनि कसरी सामना गर्ने भन्ने व्यवस्था बढी आवश्यक छ l कम्पनीले कुनै पनि कागजात पेश गर्नको लागि पञ्जीकरण कार्यालयले नै दिएको ‘युजर नेम र पासवर्ड’ उपयोग गरी प्रविष्ट गर्नुपर्छ l यस्तो युजर नेम र पासवर्ड कम्पनीले ‘पत्याएको’ व्यक्तिलाई मात्र उपलब्ध गराईने हुँदा ‘युजर नेम र पासवर्ड’ दुरुपयोग हुने कुराको सम्भावना अत्यन्तै न्यून हुन्छ l यस्तो भईहालेमा कम्पनीले तुरुन्त छानविन गर्नसक्छ र दोषी पत्ता लगाउन सक्छ l

ओटीसीमा सूचीकरण

कम्पनीमा शेयरधनी आउने र जाने नियमित प्रक्रिया हो l एउटा जान्छ अर्को आउँछ तर, कम्पनी कहिँ जान्न l सूचीकृत र असूचीकृत पब्लिक कम्पनीको शेयर नामसारीमा सहजता भए पनि प्राइभेट कम्पनीको शेयर नामसारीमा पञ्जीकरण कार्यालयले अघोषितरुपमा प्रतिवन्ध लगाए झैँ देखिन्छ l यसलाई पनि सहजता दिनुपर्नेमा जटिलता थपेको छ l यस्तो जटिलता हटाउन प्राइभेट कम्पनीलाई पनि ओटीसीमा सूचीकरण गरेर सहजता दिन सकिन्छ l ओटीसी मार्केट नेप्सेले सञ्चालन गर्ने जिम्मा पाए पनि शेयरबजार हैन l ओटीसी सरकारले नै चलाएको शेयर नामसारी गराउने संयन्त्र हो l यसले पञ्जीकरण कार्यालयको कार्यबोझलाई कम गरेर कम्पनी सञ्चालनको विषयमा पञ्जीकरण कार्यालयलाई नीतिगत विषयमा थप कार्य गर्ने अवसर दिन्छ l प्राइभेट र असूचीकृत कम्पनीको शेयर पनि केन्द्रीय निक्षेपकमा अभौतिकरुपमा राख्न सकिने गरी व्यवस्था मिलाउन सकिन्छ l

१८ माघ २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/402237

Friday, September 1, 2017

शेयर हस्तान्तरण सम्बन्धि व्यवस्था


सृष्टिकालदेखि नै सम्पत्तिको अवधारणा विकास भएको हो | व्यक्तिसँग जुनसुकै स्वरुपमा रहेको चिज सम्पत्ति हो | विकासक्रमसँगै सम्पत्तिको महत्व बढ्दै गयो | मुद्राको आविष्कार पश्चात सम्पत्तिको मौद्रिक मूल्य कायम हुन थालेपछि अहिले यसलाई मौद्रिक मूल्यमा गणना गरिन्छ |

सम्पत्तिको प्रकार

सम्पत्तिलाई चल-अचल, भौतिक-अभौतिक, स्पर्श्य-अस्पर्श्य आदी बिभिन्न स्वरुपमा वर्गीकरण गर्न सकिन्छ | नेपाल कानुन व्याख्या सम्बन्धि ऐनमा जग्गा जमिन, जग्गाबाट हुने लाभ र जमिनमा जडिएको वस्तुलाई अचल यसबाहेक अन्य सबै प्रकारको सम्पत्तिलाई चलको श्रेणीमा राखिएको छ |

सम्पत्ति प्राप्ति

सम्पत्ति प्राप्त हुने विभिन्न विधिहरू रहेका छन् | देवर्षि  नारदले १२ वटा र मनुले ७ वटा विधि रहेको बताएका छन् | मनुकै शब्दमा सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो जय: | प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ||’ दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त पारिश्रमिक), सत् प्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ | आधुनिक कालमा पनि करिब यहि ७ तरिकाबाट नै सम्पत्ति प्राप्त हुनसक्छ |

सम्पत्ति हस्तान्तरण

स्वामित्व र भोगमा रहेको सम्पत्ति तोकिएको विधि र प्रक्रिया पुरा गरि निरपेक्ष हस्तान्तरण गर्न सकिन्छ र प्राप्त गर्ने सर्वाधिकारसम्पन्न हुन्छ | हस्तान्तरण अभिलेख गरेर वा नगरी दुबै तरिकाले हुन्छ | जग्गा र घर जस्ता अचल सम्पत्ति अभिलेख गरेर मात्र हस्तान्तरण हुन्छ | रुख अचल भएपनि यसको अभिलेख हुन्न | चल सम्पत्ति भएपनि शेयरको हस्तान्तरण अभिलेख गरेर मात्र हुन्छ |

शेयर हस्तान्तरण

कम्पनीको पूँजीको विभाजित अंश मानिने शेयर अत्याधिक तरल चल सम्पत्ति भएकोले बिक्री केन्द्र मार्फत सहज हस्तान्तरण गर्न सकिन्छ | घर वा जग्गा हस्तान्तरण गर्दा घरसारमा कागज गरि निश्चित समयपछि रजिष्ट्रेशन पास गरिदिने गरि बैनापट्टा गरेर तोकिएको समयमा मालपोत कार्यालयमा दुई पक्ष उपस्थित भइ लेनदेन गर्नसक्छन् | शेयरको खरीद-बिक्री घरजग्गा जस्तो घरसारमा कागज गरेर बैनापट्टा गर्न सकिन्न | शेयर हस्तान्तरणलाई बोलीचालीमा बेच्नेभनिन्छ | अन्य चल सम्पत्ति बेचे जसरी शेयर बेच्न नमिल्ने भएकोले निर्दिष्ट गरिएको बिक्री केन्द्र पुग्नुपर्छ | यस्ता बिक्री केन्द्रलाई दलालभनिन्छ | दलालको संख्या ५० वटा रहेको छ | आवश्यकता अनुसार दलालले यस्तो सेवा देशभरबाट दिनसक्छन् | शेयर आधारभूतसम्पत्ति नभएकोले यसलाई बेच्न मालपोत कार्यालय जस्तो देशभर बिक्री केन्द्र राखिएको हुन्न | यसको एउटा छुट्टै विशेषता भनेको खरीद-बिक्रीको लागि क्रेता-विक्रेता आमने-सामने हुनुपर्दैन |

सम्बन्धित कानुन  

शेयर दिनदिनै किनबेच हुने मौद्रिक उपकरण हो | एकजनाले बेच्छ अर्कोले किन्छ र केहि दिन पछी सो व्यक्तिले पुन: बिक्री गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ | एकै शेयर अनगिन्ती पटक किनबेच भइरहन्छ | कम्पनी कानुन अनुसार कुनै शेयरधनी मरी वा निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयरमा प्रचलित कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाणसाथ त्यसरी हक प्राप्त गर्ने वा हक कायम भई आएको व्यक्तिले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर सहित कम्पनीमा निवेदन दिएमा कम्पनीले त्यस्तो शेयर निजको नाममा दाखिल खारेज गरिदिनु पर्ने व्यवस्थागरेको छ |

मृत्यु हस्तान्तरण

शेयर धारकको मृत्यु भएमा स्टक एक्सचेन्जले हक कायम गरि दाखिला खारेज पश्चात नामसारी गरिदिन सम्बन्धित कम्पनीलाई सिफारिस गरिदिन्छ | धारकको हकवालाले (क) मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपि (ख) नाता प्रमाणित प्रमाण-पत्रको प्रतिलिपि (ग) शेयर लिने व्यक्तिको निवेदन (घ) हकवालाको मन्जुरीनामा (ङ) शेयर नामसारी गरिलिने र मन्जुरीनामा दिनेको नागरिकता प्रमाण-पत्र (च) भौतिकरुपमा प्रमाण-पत्र रहेको भए सक्कल प्रमाण-पत्र र अभौतिकरुपमा रहेको भए हिताग्राही खाता रहेको निक्षेप सदस्यबाट प्रमाणित नामसारी हुने शेयरको विवरण (छ) दस्तुर बुझाएको निस्सा सहित (क) देखि (ङ) सम्मका कागजात २/२ प्रति संलग्न गर्नुपर्छ | संस्थापक शेयर हस्तान्तरण हुने भए कर चुक्ता प्रमाण-पत्र र कर्जा सूचना केन्द्रको पत्र पनि संलग्न गर्नुपर्छ | नामसारी दस्तुर १ देखि ५ सय कित्तासम्म शून्य दशमलव ५, ५ सय १ देखि १ हजार कित्तासम्म शून्य दसमलव ४ र १ हजार १ कित्ता भन्दा माथि शून्य दसमलव ३ प्रतिशत लाग्छ | दस्तुर हिसाब परल मूल्य अनुसार गरिन्छ | माथि (घ) मा लेखिएको मन्जुरीनामा दिने भन्नाले हकवाला धेरै भएर कुनै हकवालाले हक छाड्न चाहेमा हक छाड्न मन्जुर भएको मन्जुरीनामा दिनुपर्छ | सबै हकवालाले लिने भएमा मुलुकी ऐन अंशवण्डाको महल अनुसार बाँडफाँड गरिदिनुपर्छ | हकवाला कायम गर्दा पनि यहि मुलुकी ऐन अंशवण्डाको महल बमोजिम गर्नुपर्छ


घरायसी हस्तान्तरण

यसबाहेक घरायसी नामसारी गर्नुपरेमा पनि एक्सचेन्जले कम्पनीलाई पत्राचार गरिदिने गरेको छ | घरायसी नामसारी गर्दाको प्रक्रिया पनि मृत्यु नामसारी सरह रहेको छ | चाहिने कागजातहरुमा (क) नामसारी गरिदिने र लिनेको दुबैको निवेदन (ख) लिनेदिने दुबैको नागरिकता प्रमाण-प्रत्र (ग) भौतिक स्वरुपमा भए सक्कल प्रमाण-पत्र र अभौतिकस्वरुपमा भए हिताग्राही खाता रहेको निक्षेप सदस्यले प्रमाणित गरेको शेयर विवरण (घ) लिने-दिने बिचको नाता प्रमाणित प्रमाण-पत्रको प्रतिलिपि र (ङ) दस्तुर बुझाएको निस्सा सहित (क) देखि (घ) सम्मका कागजात २/२ प्रति संलग्न गर्नुपर्छ | संस्थापकको हकमा कर चुक्ता, कर्जा सूचन केन्द्रको पत्र, २ प्रतिशत भन्दा तल वा माथि खुलेको सम्बन्धित कम्पनीको पत्र पनि संलग्न गर्नुपर्छ | १ देखि ५० कित्तासम्म ३, ५१ देखि २ सय कित्तासम्म २, २ सय १ देखि १ हजारसम्म १ दशमलब पाँच, १ हजार १ देखि १० हजार कित्तासम्म १ दशमलब २५ र १० हजार देखि माथि १ प्रतिशत दस्तुर लाग्ने व्यवस्था छ | दस्तुर हिसाब परल मूल्य अनुसार गरिन्छ |   

हस्तान्तरणका छिद्रहरू

शेयर विशेष परिस्थितिमा बाहेक सिद्धान्तत हक हस्तान्तरणयोग्य सम्पत्ति हैन | यसको स्वभाव नै दैनिकरुपमा निश्चित प्रणाली मार्फत खरीद-बिक्री भइ हस्तान्तरण हुने भएकोले यसलाई अन्य अचल सम्पत्ति जस्तो घरायसीभन्दै हक हस्तान्तरण गर्न दिइनु शेयरको सैद्धान्तिक मान्यता विपरित हो | निर्दिष्ट व्यवस्था विपरित हस्तान्तरण गर्नु गैर-कानुनी कार्य हो | कम्पनी ऐनले प्रष्टरुपमा शेयरधनी मरी वा निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयर प्रचलित कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाणसाथआएमा भन्ने व्यवस्थाले कस्ता अवस्थामा शेयर हस्तान्तरणयोग्य भन्ने स्पष्ट आधार तोकेको छ | ‘घरायसीहस्तान्तरण धारकको मृत्यु भएको अवस्थामा मात्र गरिनुपर्छ | वर्तमान १० कित्ते बाँडफाँड नीतिले गर्दा परिवारका सबै सदस्यको नाममा आवेदन गर्ने र बाँडफाँड भइसकेपछी शेयर एकत्रित गर्न यहि छिद्रको उपयोग गर्ने भएकोले यसलाई अविलम्ब रोक्न धितोपत्र वोर्डले निर्देशन गर्नु अत्यन्त आवश्यक छ | त्यस्तै बाबुआमा बाहेकका व्यक्ति संरक्षक रहेको नाबालकको नाममा रहेको शेयर कुनै पनि विधिबाट उमेर नपुगेसम्म हस्तान्तरण नहुने व्यवस्था मिलाउनु आवश्यक छ |  

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...