सुधारसँगै मुहूर्त कारोबार थप हुनुपर्ने
शेयर कारोबार मुख्यतः ११ बजेदेखि ३ बजेसम्म हुन्छ । यसका
अतिरिक्त अन्य समयमा पनि शेयर कारोबार र आदेश प्रविष्ट हुन्छ । मुख्य समय अगाडि
(११ बजे अघि) र पछाडि (३ बजेपछि) पनि शेयर कारोबार हुन्छ । अगाडि र पछाडिको
कारोबार समयमा मुख्य समयमा जस्तो धेरै सहभागिता हुँदैन । यसो हुनुको कारण यसबारेमा
जानकारी र नहुनुलाई कारण मान्न सकिन्छ । नेपालमा मात्र होइन, संसारकै ठूला एक्सचेन्जभित्र पर्ने भारतमा पनि यस्तो समयमा सहभागिता कम छ
। मुख्य समयभन्दा बाहेकको समयमा हुने कारोबारलाई अवसरका रूपमा पनि लिइन्छ । मुख्य
समयबाहेक अतिरिक्त समयमा हुने कारोबारमा मूल्य परिवर्तन सीमा र आदेश प्रविष्ट
गर्ने समयमा तात्त्विक भिन्नता हुन्छ ।
विभाजित समय
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लागू गरेको धितोपत्र
कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ११ अनुसार
कारोबार समयलाई (१) प्रारम्भिक (२) बोलकबोल वा निरन्तर र (३) अन्तिम गरी ३ भागमा
विभाजन गरिएको छ । कारोबार समय नेप्सेले तोकेबमोजिम हुन्छ र आवश्यकताअनुसार हेरफेर
पनि गर्नसक्छ । सार्वजनिक बिदाको दिनबाहेक हरेक हप्ता आइतवारदेखि बिहीवारसम्म शेयर
कारोबार हुन्छ । विभाजित समयको उपादेयताको संक्षेपमा चर्चा गरिन्छ ।
१. प्रारम्भिक सत्र - हरेक दिन मुख्य कारोबार समय शुरू हुनुअघि उक्त दिन
कारोबारको लागि मूल्य अन्वेषण गर्न बिहान १० : ३० बजेदेखि ११ बजेसम्म प्रारम्भिक
सत्र (प्रिओपन सेशन) सञ्चालन गरिन्छ । यस समयमा हरेक व्यक्ति सहभागी भएर आदेश
(खरीद वा विक्री) प्रविष्ट गर्न सक्छन् । अघिल्लो दिन बन्द मूल्यको ५ प्रतिशत तल
वा माथि रहेर आदेश प्रविष्ट गर्नका लागि १५ मिनेट अर्थात् १० : ४५ सम्मको समय
निर्धारण गरिएको छ । तोकिएको अवधिसम्म प्रविष्ट आदेश संशोधन वा रद्द गर्न सकिन्छ ।
यस अवधिमा प्रविष्ट गरिएको आदेश मुख्य कारोबार समय शुरू हुनुअघि नै कार्यान्वयन
हुन्छ । अघिल्लो दिन बजार बन्द भएदेखि भोलिपल्ट मुख्य कारोबार समय शुरू हुनुअघि
शेयर मूल्यलाई प्रभाव पार्ने कुनै घटना घटेमा त्यसको प्रत्यक्ष असर नपरोस् भन्नाका
लागि प्रारम्भिक सत्रमार्फत मूल्य अन्वेषण गरिन्छ । यस अवधिमा अन्वेषण भएको
मूल्यको २ प्रतिशत तल वा माथि मूल्यमा प्रविष्ट भएको आदेश निरन्तर सत्रमा सर्छ ।
पछिल्लोपटक नेपाल धितोपत्र बोर्डले नियामकीय कार्यबाट पन्छेर २ प्रतिशत मूल्य
परिवर्तन सीमा कायम गर्न निर्देशन दिएर मूल्यमा समेत अवाञ्छित हस्तक्षेप गरी
नियन्त्रण गर्ने खेदजनक दुष्प्रयास गरेको छ ।
२. बोलकबोल वा निरन्तर सत्र : प्रारम्भिक सत्र सकिनासाथ ११ बजेबाट यस्तो समय
शुरू भएर दिउँसो ३ बजेसम्म कायम रहन्छ । खरीदका लागि बढी मूल्य र विक्रीका लागि कम
मूल्य कबोल गर्ने आदेशलाई प्राथमिकता दिने तर, आदेश दिइएको
मूल्य समान भएमा समयानुसार पहिलो आदेशलाई पहिलो प्राथमिकता हुने मूल्य समय
प्राथमिकता (प्राइस टाइम प्रायोरिटी) को आधारमा हुन्छ । प्रारम्भिक सत्रमा मूल्य
अन्वेषण भएमा सोही मूल्यबाट र नभएमा अघिल्लो दिन बन्द मूल्यको १० प्रतिशतको
सीमाभित्र रही २ प्रतिशतका दरले तल वा माथि हुँदै कारोबार हुन्छ । यो समयमा
प्रविष्ट गरिएको आदेशलाई डे (दिनभर), गुड टिल डे (निश्चित
दिनसम्म कायम रहने) र गुड टिल क्यान्सिल (रद्द नगरेसम्म कायम रहने) सम्म कायम
राख्न सकिन्छ । त्यस्तै, आदेश प्रविष्ट गर्दा लिमिट (तोकिएको
सीमामा आफैले मूल्य प्रविष्ट गर्ने विधि) र मार्केट (बजारमा जुन मूल्य चलेको छ
सोही मूल्यमा आदेश कार्यान्वयन हुने) गरी दुई प्रकारले मूल्य प्रविष्ट गर्न सकिन्छ
। मार्केट विधिमा आदेश प्रविष्ट गर्दा डे, गुड टिल डे र गुड
टिल क्यान्सिल जस्ता सुविधा प्राप्त हुँदैन । मार्केट र लिमिट दुवै सेवा उपयोग
गर्दा आदेश कार्यान्वयन हुने सबै वा कुनै पनि होइन अर्थात् अल अर नोन (एओएन),
तुरुन्त वा रद्द अर्थात् इमिडियट अर क्यान्सिल (आईओसी) र फिल अर किल
(एफओके) सुविधा प्राप्त हुन्छ । यस अवधिमा प्रविष्ट गरिएको आदेश जुनसुकै बेला
संशोधन र रद्द गर्न सकिन्छ ।
३. अन्तिम सत्र : बोलकबोल वा निरन्तर सत्र सकिनासाथ ३ : ०५ सम्म
५ मिनेट अवधिको अन्तिम कारोबार सत्र हुन्छ । यस सत्रमा मूल्य प्रविष्ट गर्न
पाइँदैन । ३ बजेभन्दा अगाडि भएको कारोबार मूल्यको भारित औसत मूल्यमा कारोबार हुन्छ
। यसका लागि सामान्यतया अन्तिमको आधा घण्टा समय निर्धारण गरिन्छ । अन्तिम कारोबार
सत्रलाई भारतमा ‘पोस्ट क्लोजिङ्ग सेशन’ नाम दिइएको छ । भारतमा औसत मूल्य गणनाका लागि आधा घण्टाको ‘क्लोजिङ प्राइस क्यालकुलेशन’ समय निर्धारण गरिएको छ
। यस्तो गणना इन्डेक्स गणनामा सामेल कम्पनीको मात्र गरिन्छ । बम्बे स्टक
एक्सचेन्जको मानक इन्डेक्स सेन्सेक्समा सामेल ३० ओटा र नेशनल स्टक एक्सचेन्जको
निफ्टीफिफ्टीमा सामेल ५१ ओटा कम्पनीको मात्र भारित औसत गणना गरिन्छ । नेपालमा मानक
इन्डेक्स गणना गर्ने कुनै पनि कम्पनीको समूह नभएको हुँदा यहाँ यस्तो व्यवस्था छैन
।
यसबाहेक नयाँ कम्पनी
सूचीकरण भएपछि मूल्य अन्वेषण गर्न विशेष प्रारम्भिक सत्र (स्पेशल प्रिओपन सेसन)
सञ्चालन गरिन्छ । कारोबार विधि प्रारम्भिक सत्रको जस्तै तर मूल्य परिवर्तन सीमा
फरक हुन्छ । यसमा नेप्सेले पहिलो कारोबारका लागि दिएको मूल्य सिमा (नेटवर्थदेखि
त्यसको तीनगुणा) भित्र रहेर आदेश प्रविष्ट गर्नुपर्छ । त्यस्तै, अक्शन मार्केट पनि हुन्छ र यो नेपालमा शुरू भएको
छैन । लगानीकर्तालाई सहजता दिनका लागि एएमओ (आफ्टर मार्केट अर्डर) राख्न पाउने
सुविधा दलाल आफैले निर्धारण गर्नसक्छन् । यसमा प्रविष्ट गरिएको आदेश कारोबार समय
शुरू भएपछि स्वतः प्रणालीमा जाने व्यवस्था मिलाइएको हुन्छ । भारतमा दलालले यस्तो
सुविधा दिए पनि नेपालमा शुरू भएको छैन ।
सुधार र थप्नुपर्ने समय
शेयरबजारको एउटा अभिन्न अंग बनेको प्रारम्भिक सत्रलाई सुधार गर्दै
यसमा सहभागिता बढाई विश्वसनीय बनाउनुपर्नेमा बोर्डले हस्तक्षेप गर्नु सर्वार्थ
अनुचित कार्य हो । मूल्यमा नियन्त्रण गर्न खोज्नुभन्दा प्रणाली सुधारमा पहल गरेको
भए त्यसलाई उचित मान्न सकिन्थ्यो । यस सत्रमा आदेश कार्यान्वयन हुने इकोनमिक अर्डर
क्वान्टिटी तथा इकोनमिक अर्डर प्राइस विधि त्यति भरपर्दो नदेखिएको अवस्थामा यसलाई
बहुपक्षीय कार्यान्वयन प्रणाली (मल्टिल्याटरल म्याचिङ सिस्टम) मार्फत प्रविष्ट
आदेशको कार्यान्वयन गराउनेतर्पm बोर्ड र नेप्सेले पहल नगर्नु
खेदजनक छ । यही विधिबाट नयाँ सूचीकृत कम्पनीको पहिलो कारोबार मूल्य अन्वेषण गराउन
सकिन्छ । त्यस्तै, नेप्सेले पनि पहिलो कारोबारका लागि मूल्य
सीमा तोकेर मूल्य नियन्त्रणमा लिएको छ । यसलाई पनि खुला छाड्दै सुधारका पाटालाई
अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्छ ।
त्यस्तै, वर्षको १ दिन मुहूर्त कारोबारका लागि समय निर्धारण
गर्नुपर्छ । भारतमा लक्ष्मी पूजाको दिन साँझपख १ घण्टा मुहूर्त कारोबार हुने गरेको
छ । नेपालमा पनि कोजाग्रत पूर्णिमा वा लक्ष्मीपूजाको दिन १ घण्टा मुहूर्त कारोबार
गराउनु आवश्यक छ ।