Saturday, August 25, 2018

शेयरबजारको वार्षिक समीक्षा

आर्थिक वर्ष (आव) २०७४/७५ को शेयरबजार अपेक्षामा बित्यो । बैङ्किङ क्षेत्र पूँजी वृद्धिको अन्तिम कसरत गरिरहेका बेला २०७४ साल लाग्दै गर्दा भएको पहिलो र आव सकिन लाग्दा असारमा भएको दोस्रो चरणको स्थानीय चुनावपछि शेयरबजार ह्वात्तै बढ्छ भन्ने प्रचार गरियो । पूँजी वृद्धिको सङ्कट खेपिरहेका बैङ्कलाई आव सकिन लाग्दा मौद्रिक नीतिले थप १ वर्षको कृपावधि दिएपछि केही सन्तोषको सास फेरेका थिए । थोरै समयमा अधिक बढेको पूँजी अनुपातमा गुणात्मक (प्रतिशेयर) आम्दानी बढ्दैन भन्ने अध्ययन विश्लेषण गरेका लगानीकर्ता रणनीतिक रूपमा सुरक्षित बनिसकेका थिए । लाभको वास्तविक पक्ष नबुझ्ने र हकप्रद एवम् बोनस कहिले दिन्छ, कति दिन्छ, किन नदिएको जस्ता कुरा गर्ने लगानीकर्ता भने अहिले नराम्रोसँग फसेका छन् । गएको आवमा बजार कस्तो रह्यो त्यसको सङ्क्षिप्त समीक्षा तल गर्ने प्रयास गरिएको छ :

कारोबारको सारांश

आव २०७३/७४ मा नेप्से सूचकले कायम गरेको १ हजार ८ सय ८१ दशमलव ४५ (१,८८१.४५) अहिलेसम्मको उच्चतम विन्दु हो । यो विन्दु २०७४/७५ मा २ सय १३ दशमलव ५१ अङ्कले घटेर १ हजार ६ सय ६७ दशमलव ९४ (१,६६७.९४) कायम गरेको छ । आव २०७३/७४ मा १ हजार १ सय ५२ दशमलव ५ (१,१५२.५०) सम्म झरेको नेप्से सूचक आव २०७४/७५ मा १ हजार १ सय ६८ दशमलव ५५ (१,१६८.५५) मा झरेको थियो । कुल कारोबार रकममा ४० प्रतिशतले कमी आएको छ । समूहगत कारोबार रकममा वाणिज्य बैङ्कको ५६ प्रतिशतले कमी आएको छ । वित्तस मूहको कारोबार रकममा सबैभन्दा धेरै ६० प्रतिशतले कमी आएको छ । उत्पादन र प्रशोधन समूहको कारोबार भने झण्डै ४२ प्रतिशतले बढेको छ । जलविद्युत् समूह र सबैभन्दा धेरै पूँजी भएको कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको कारोबार रकममा क्रमशः ९ र २२ प्रतिशतले बढोत्तरी भएको छ । बैङ्क गाभिने र विलय हुने क्रम बढेकाले सूचीकृत कम्पनीको सङ्ख्या घटेको छ ।


बजार पूँजीकरण र सूचक

सूचकलाई महत्त्वपूर्ण योगदान दिने कम्पनी मुख्य रूपमा १० ओटा छन् । यिनै १० ओटा कम्पनीको मूल्यमा हुने उतारचढावले सूचकलाई मूलरूपमा तलमाथि पार्ने गर्छ । नेपालको शेयरबजारमा सूचक गणना गर्दा सबै कम्पनीलाई लिइने गरिन्छ । जसको बजार पूँजीकरण बढी हुन्छ त्यसले सूचकलाई जता पनि नचाउन सक्छ । सूचक गिरावट आउनुमा विभिन्न कम्पनीका बजार मूल्य बेलुन झैँ फुलेर अत्यधिक वृद्धि भई त्यो टिक्न नसकेर मूल्यमा पुनः गिरावट आउँदा त्यसले सूचक बढ्नमा दिएको योगदान अहिले कम हुनु हो । त्यस्तै बैङ्कको चुक्ता पूँजी वृद्धि गर्ने केन्द्रीय बैङ्कको निर्देशन पश्चात् हकप्रद एवम् बोनसको अत्यधिक प्रवाहले मूल्य समायोजन हुँदै जान्छ । पूँजी वृद्धिको अनुपातमा गुणात्मक (प्रतिशेयर) आम्दानी नबढ्ने यथार्थलाई मनन नगरी हकप्रद एवम् बोनस भन्ने बित्तिकै लगानीकर्ताले आँखा चिम्लेर पैसा खन्याउँछन् र प्रतिशेयर आम्दानी कम हुनासाथ भाउ घटाएर भए पनि बेच्न तम्सन्छन् । यसले कम्पनीको मूल्यमा गिरावट आउँछ र बजार पूँजीकरण घटेकाले सूचक घटेको देखिन्छ । त्यस्तै कुनै बेला ५ हजारभन्दा माथि बजार मूल्य रहेको नेपाल लाइफ इन्स्योरेन्सको मूल्यमा पनि तीव्र गिरावट आएको छ । पछिल्लोपटक संस्थापकले धारण गरेको ७० प्रतिशत शेयरमध्ये १० प्रतिशत संस्थापकसँगै रहनेगरी सर्वसाधारण समूहमा परिवर्तन गरेपछि बजारमा बढी शेयर प्रवाह हुने मनोविज्ञानले विक्री चाप बढ्दा मूल्यमा समेत दबाब परेको थियो । सूचकमा मुख्य भूमिका खेल्ने यस कम्पनीको मूल्यमा आएको गिरावटले बजार पूँजीकरण कम हुँदा सूचक घट्न मद्दत पुगेको छ । सूचकलाई बढी खेलाउने उच्च बजार पूँजीकरण भएका १० कम्पनी र पूँजीकरण तालिकामा देखाइएको छ । पूँजीकरण २०७५ असार मसान्तमा कायम बजार मूल्यलाई आधार लिइएको छ ।

सूचकको गतिशीलता 

गत आव २०७४/७५ मा २ सय ३३ दिन शेयर कारोबार भएको थियो । २०७४ साउन २३ गते १ हजार ६ सय ६७ दशमलव ९४ (१,६६७.९४) विन्दु नै सर्वाधिक उच्च विन्दु र सोही सालको चैत १२ गते १ हजार १ सय ६८ दशमलव ५५ (१,१६८.५५) सबैभन्दा न्यून विन्दु कायम भएको थियो । औसतमा वर्षभरिको सूचक १ हजार ४ सय २४ दशमलव ५८ (१४२४.५८) रहेको थियो । सर्वाधिक उच्च विन्दुबाट २०७४/७५ मा कायम भएको औसत बिन्दु बीचको अन्तर २ सय ४३ दशमलव ३६ रहेको छ ।

बजार घट्नुको कारण

माथि नै भनियो सूचकलाई घटाउन सीमित कम्पनीको हात हुन्छ । तर, सूचकमा आधारित भएर लगानी गर्ने प्रवृत्तिले गर्दा राम्रो प्रतिफल भएका कम्पनीको पनि मूल्यमा गिरावट आएको छ । बैङ्किङ र बीमाको पूँजी वृद्धिपछिको प्रतिफलभन्दा कित्ता मोहमा परी जतिसुकै मूल्य तिर्न लगानीकर्ता तयार हुन्छन् । यसले गर्दा मूल्य समायोजनपश्चात् बजार भाउ घट्न पुगेको छ । यसरी कित्ता मोहले बढाएको बजार भाउ पूँजी वृद्धिपछि देखिएको कम प्रतिफलपश्चात् घट्नु स्वाभाविक थियो । यसैको परिणामस्वरूप आव २०७४/७५ मा बैङ्किङ र बीमाको कारोबार रकममा उल्लेख्य कमी आएको तालिकामा देख्न सकिन्छ । पूँजी वृद्धिको सकस सकिएकाले अबको मुख्य ध्यान व्यावसायिक गतिविधिमा केन्द्रित हुने हुँदा आगामी वर्ष कम्पनीले स्वाभाविक आम्दानी गर्ने अनुमान गर्न सकिन्छ । उत्पादन, जलविद्युत् र अन्य समूहमा पनि सामान्य पूँजी वृद्धि भए पनि बजारले स्वीकारेको र कारोबार बढेको देख्न सकिन्छ ।

अन्त्यमा, कित्ता मोहभन्दा पनि प्रतिफललाई आधार मानेर लगानी गर्नेका लागि अघिल्लो होस् वा चालू वर्ष संधै सकारात्मक छ । भाउ बढ्छ भन्ने बकम्फुसे तर्कभन्दा प्रतिफल केन्द्रित लगानीले सूचकाङ्क घटबढले लाभ हुनबाट रोक्दैन भन्ने मनन गर्नु जरुरी छ ।

२०७५ भाद्र ४ गते अभियान दैनिक
http://www.abhiyan.com.np/?p=270649

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...