Showing posts with label एक्सचेन्ज. Show all posts
Showing posts with label एक्सचेन्ज. Show all posts

Wednesday, August 16, 2017

औचित्यहिन अर्को स्टक एक्सचेन्ज


उपभोग्य सामान किन्दा क्रेता र बिक्रेता दुबैको एकै ठाउँमा भौतिक उपस्थिति हुन्छ तर शेयर किनबेच गर्दा क्रेता र विक्रेताको एकै ठाउँमा भेट हुनुपर्दैन । क्रेता र बिक्रेता जहाँसुकै बसेर पनि बजार खुलेको बेला शेयर किन्न वा बेच्न सक्छन । शेयर किनबेच गर्न तोकिएको स्थानलाई धितोपत्र बजार’ वा प्रचलित भाषामा स्टक एक्सचेन्ज’ भनिन्छ । स्टक एक्सचेन्जले आफ्नो सदस्यको रुपमा रहेका दलाल वा प्रचलित भाषामा ब्रोकर’ मार्फत शेयर किनबेच गर्ने सुबिधा उपलब्ध गराउँछन । संसारका प्राय: सबै देशमा शेयर किनबेच गर्ने स्टक एक्सचेन्ज खडा भइसकेका छन । यस्ता एक्सचेन्ज आवश्यकता अनुसार एक भन्दा बढी पनि हुनसक्छन । तर अहिले शेयर कारोबार प्रविधिमैत्री हुँदै गएकोले बहु एक्सचेन्जको अवधारणा विस्तारै हराउँदै गएर एकलमा फर्किन लागेका छन् । केहि वर्ष अघि नेपाल धितोपत्र वोर्डले बहु एक्सचेन्जको अवधारणा अगि सारे पनि त्यत्तिकै हराएको थियो । फेरी अहिले हराइसकेको र औचित्यहीन बनिसकेको बहु स्टक एक्सचेन्जलाई वोर्डले ब्युँताउने प्रयास गर्नु ‘.....कुम्लो बोकी थिमीतिर’ लाई चरितार्थ गर्ने कार्य गरिरहेको छ ।

स्टक एक्सचेन्ज सम्बन्धि कानून

धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिदबिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजारस्थान वा सुबिधा सम्झनुपर्छ’ भनेर धितोपत्र सम्बन्धि ऐनमा स्टक एक्सचेन्जको परिभाषा गरिएको छ । ऐनको व्यवस्था अनुसार धितोपत्र बजार संचालन गर्न चाहनेले ऐन बमोजिम वोर्डबाट संचालन अनुमति लिनुपर्नेछ’ भनिएको छ । स्टक एक्सचेन्ज संचालन गर्न पाउँ भनेर कसैले निवेदन दिएकै भरमा मात्र अनुमति पाउन सकिन्न भन्ने कुरा ऐनको दफा ४० मा भएको व्यवस्थाले रोकेको छ । दफा ४० मा उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको संचालन गर्न आवश्यक नभएमा र लगानीकर्ताको हित संरक्षणको निमित्त धितोपत्र बजार संचालन गर्न उचित र उपयुक्त नदेखिएको अवस्था’ मा अनुमति दिन इन्कार गर्ने व्यवस्था छ ।

कारोबारको विद्यमान अवस्था 

पछिल्लो विवरण अनुसार नेपाल स्टक एक्सचेन्जमा करिब २३० कम्पनी सूचीकरण भएका छन । शेयर प्रमाणपत्रको अभौतिकरण शुरु भएको डेढ वर्षको अवधिमा हालसम्म २०३ वटा कम्पनी केन्द्रीय निक्षपक कम्पनीमा अभौतिकरणको लागि दर्ता भएका छन् । नेपालको शेयर बजारमा संख्यात्मक रुपमा पनि धेरै कम्पनी छैनन् । पूँजीको हिसाबले दुई करोडदेखि १५ अर्वसम्म चुक्ता पूँजी भएका कम्पनी सूचीकरण भएका छन् । संस्थापक शेयरलाई साधारण शेयर सरह कारोबारयोग्य मानिन्न । यस्ता शेयरको संख्या औसतमा आधा अर्थात ५० प्रतिशत हिस्सा रहेको छ ।

सूचीकरण भएका मध्ये नियमित कारोबार हुने कम्पनी १५० वटाको हाराहारीमा रहेका छन । नेपालको शेयरबजारमा केहि अन्य क्षेत्रका कम्पनीको उपस्थिति भए पनि बैंकको बाहुल्यता अधिक छ । कानुनले नै बाध्य पारेको बैंक र विमा बाहेक अन्य क्षेत्रका कम्पनी ल्याउन अहिलेसम्म उचित पहल गरिएको छैन । अर्थतन्त्रको ऐना भनिने वास्तविक क्षेत्र शेयरबजार बाहिरै छ । यस्ता कम्पनीलाई ल्याउन पहल गर्नुपर्नेमा त्यतातिर सरकार र पूँजीबजार नियमक कसैको पनि पर्याप्त ध्यान गएको देख्न सकिन्न । पछिल्लो प्रयासको रुपमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले केहि सहजीकरण गर्ने व्यवस्था गरेपनि त्यो नै पर्याप्त हो भन्न सकिने अवस्था छैन । यस्ता कम्पनीलाई बजारमा ल्याउनको लागि गर्नुपर्ने धेरै कार्य बाँकी छ । पूँजीबजारमा कम्पनीको संख्यात्मक वृद्धि गर्ने भन्दा गुणात्मक वृद्धि हुनेगरी कम्पनीहरुलाई आकर्षित गर्न पट्टी नियमकको ध्यान जानुपर्छ । भएको एक्सचेन्जको गुणात्मक सुधार र विकासको लागि नियमकले सबैभन्दा बढी पहल गर्नुपर्छ । 

एकलबाट बहु र फेरी एकल

एकल स्टक एक्सचेन्जले पुगेन भन्दै बहु स्टक एक्सचेन्ज खोल्न अनुमति दिएका देश अहिले फेरी एकलमा नै फर्केका छन् । छिमेकी देश पाकिस्तानमा सन् २०११ सम्म कराँचीइस्लामवाद र लाहोर शहरमा तीनवटा स्टक एक्सचेन्ज थिए । तर अहिले यी तीनवटा स्टक एक्सचेन्ज एकआपसमा गाभिइसकेका छन् । इस्लामवाद र लाहोरमा रहेका स्टक एक्सचेन्ज कराँची स्टक एक्सचेन्जमा गाभिएर अहिले पाकिस्तान स्टक एक्सचेन्ज’ नामबाट संचालन भइरहेको छ । स्टक एक्सचेन्ज गाभिनु अघि सन् २०००२००५ र २००८ गरि तीनपटकसम्म गम्भीर संकटको सामना गरेको पाकिस्तानी शेयरबजार अहिले उत्कृष्ट बजार बनिसकेको छ । पाकिस्तानी बजारमा संकट आउनुको कारणको रुपमा पूँजीबजार नियमकले लिने तदर्थ र आकस्मिक नीतिगत निर्णय मुख्य कारण रहेको थियो । सन् २००८ जनवरीदेखि सोहि वर्षको डिसेम्बरमा आइपुग्दा सूचक १४,०७५ बाट झरेर ६,९२४ मा आइपुगेको थियो । सन् २००८ को संकटको अध्ययन गर्न गठित साहीम अहमद खानको प्रतिवेदनमा सर्वोच्च नियमकले बजार विकास र विस्तारको लागि अल्पकालीनमध्यकालीन र दीर्घकालीन नीति बनाउनुपर्ने मुख्य सुझाव दिएका थिए ।  

त्यस्तै बंगलादेशमा ढाकाको अतिरिक्त चटगाउँमा अर्को स्टक एक्सचेन्ज रहेपनि ढाका जति सक्रिय देखिंदैन । ढाका स्टक एक्सचेन्जको लामो संचालन इतिहास भएकोले यहाँ अहिलेसम्म ७५० वटा भन्दा बढी कम्पनी सूचिकृत छन् भने चटगाउँमा २५० वटा मात्र कम्पनी सूचिकृत छन् । चटगाउँको स्टक एक्सचेन्जको स्थापना सन् १९९१ मा भएको भए पनि कारोबार गर्न सन् १९९५ अक्टोबरसम्म पर्खनु परेको थियो । नोभेम्बर १९९५ मा विधिवतरुपमा उद्घाटन भएको थियो ।

अर्को स्टकको विकल्प

अर्को स्टक खडा गरेर मात्र शेयरबजारको विकास हुनसक्दैन । स्टक एक्सचेन्ज खडा गर्नुपर्ने उद्देश्य प्रष्ट हुनुपर्छ । अर्को स्टक एउटा विकल्प हुनसक्छ तर निर्विकल्प भने हैन । बिभिन्न विकल्प मध्येबाट उत्तम विकल्पको छनौट गर्नु प्रशासकको सफलता हो । लोकप्रियता र प्रशंसाको भोको प्रशासकले तदर्थ निर्णय गरेर लोकप्रियता कमाउन सक्ला तर दीर्घकालमा त्यो लोकप्रियता प्रशासक स्वयम र त्यसका उपभोक्ताको लागि समेत प्रत्युत्पादक हुन्छ । गलत निर्णयले गलत परिणाम ल्याउँछ र त्यसलाई सच्च्याउन लाग्दा सिर्जनात्मक कार्य गर्ने समय त्यत्तिकै खेर जान्छ । धितोपत्र वोर्डको स्थापनाको २५ वर्ष समय वित्न लाग्दा पनि तदर्थ निर्णय गर्ने प्रवृति अझ गएको देखिएन । संस्थाको लागि २५ वर्षको समय भनेको अत्यधिक धेरै हो । संस्थालाई काम गरेर देखाउन व्यक्तिलाई जस्तो उमेर हद पार गर्नु पर्दैन । संस्था गठन भएको वर्ष नै जति पनि कार्य गरेर देखाउन सक्छ ।

अर्को स्टक एक्सचेन्ज नै ल्याउनुपर्ने कुनै कारणको विद्यमानता अहिलेको परिस्थितिले देखाएको छैन । एउटा एक्सचेन्ज र त्यसका सदस्य (दलाल) लाई नियमन गर्न कमिलालाई....पहिरो’ जस्तो भईरहेको बेला अर्को स्टक एक्सचेन्ज र त्यसका सदस्यलाई नियमन गर्नु महाभारतको अर्को लडाइँ जित्नु भन्दा बढी गाह्रो पर्ने निश्चित छ । यसको बदलामा भईरहेको स्टकलाई डिम्युचुलाइजेसन’ गरेर जान सकिने सरल र सहज बाटो छ ।

पाकिस्तानले तीनवटा स्टक गाभ्ने मात्र हैन डिम्युचुलाइजेसन’ सम्बन्धि कानुन बनाएर डिम्युचुलाइजेसन समेत गरिसकेको छ । त्यस्तै बंगलादेशका दुबै स्टक डिम्युचुलाइजेसनमा गईसकेका छन् । डिम्युचुलाइजेसन गर्ने कार्य जटिल पनि छैन । वोर्डले चाहेमा यो कार्य अत्यन्त छोटो समयमा सम्पन्न गरेर स्टक एक्सचेन्जको गुणात्मक सुधार गर्न सकिन्छ ।


८ वैशाख २०७४, आर्थिक अभियान


   



Thursday, July 20, 2017

अर्को एक्सचेन्ज कसको आवश्यकता ?


आजका दिनमा कसैलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कतिवटा कम्पनीको सेयरमा लगानी गर्न सिफारिश गर्न सकिएला ? सूचीकृत कम्पनीको आधारभूत पक्षलाई विश्लेषण गर्ने हो भने कुनै पनि कम्पनीको सेयरलाई सिफारिस गर्न सकिँदैन ।

किनभने कुनै पनि कम्पनीको सेयरमा अन्तर्निहित र बजार मूल्य मेल खाँदैन । सट्टेबाजी गर्ने हो भने जुनसुकै कम्पनीको सेयर किन्दा हुन्छ । सेयरमा सट्टेबाजी र लगानी फरक कुरा हुन् । यस्तो जोखिमयुक्त दोस्रो बजारमा अर्को एक्सचेन्जको आवाज किन उठिरहेको छ, त्यसको विश्लेषण गर्नु जरुरी छ ।

उच्च उतारचढावयुक्त बजारमा लगानीका अवसर कम हुन्छन्, सट्टेबाजी प्रशस्तै । बजार गहिरो भयो, परिपक्व भयो भने उतारचढाव कम हुन्छ, लगानीका अवसर धेरै । हाम्रो बजारलाई गहिरो बनाउन गर्नुपर्ने काम धेरै छन् । धेरैभन्दा धेरै कम्पनी बजारमा आउनुपर्छ साँचो अर्थमा । नाम मात्रका लागि कम्पनीहरू सेयर बजारमा आउनुको तुक छैन, यसले लगानीकर्ताको हित हुँदैन ।

नेप्सेमा हुने कारोबारको न्यून अनुपात (७ प्रतिशतभन्दा कम अर्थात् बजारमा सूचीकृत १ सय सेयरमा वर्षभरिमा ७ वटा मात्र किनबेच हुन्छ) ले यही संकेत गर्छ । सर्वसाधारणलाई लगानी अवसर दिने हो भने हाम्रो बजारलाई गहिरो बनाउनुपर्छ । बजारलाई उर्लंदो बर्खे भेल होइन, एकनाशको प्रवाहयुक्त विस्तारित नदी बनाउनुपर्छ । अर्को एक्सचेन्जको प्रसंगले भइरहेकै तलाउलाई पनि भत्काएर पोखरी बनाउन खोजिएको भान हुन्छ । एउटा सुन्दर तलाउ भत्काएर दुईवटा छिपछिपे पोखरी बनाउनु कत्तिको जायज हो

पुँजीबजारले सर्वसाधारणलाई दिने भनेको लगानीको अवसर हो । यसले उनीहरूको सम्पत्तिको उचित मूल्यांकन हुने कुशल संयन्त्र उपलब्ध गराउनुपर्छ । बजार सञ्चालकले जोखिम व्यवस्थापन गर्ने सबल पद्धत्ति निर्माण गर्नुपर्छ ।

न्यून लागतमा कारोबार हुन सक्ने वातावरण बनाउनुपर्छ । स्टक एक्सचेन्जहरू अस्तित्वमा आउनुको मुलभूत उद्देश्य यिनै हुन् । यिनै उद्देश्यहरूमार्फत स्टक एक्सचेन्जले मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउने हो, सर्वसाधारणको आर्थिक कल्याण सुनिश्चित गर्ने हो ।

के नयाँ एक्सचेन्जले उल्लिखित कुरा दिन सक्छ ? यी कुरा स्टक एक्सचेन्जको अधीनका हुन् ? नेप्से यी कुरामा साँच्चिकै असफल भएको हो ? यी कुराको बृहत् समीक्षापश्चात् हामी निष्कर्षमा पुग्न सक्छौं । 

लगानीको अवसर

लगानी अवसरको दृष्टिकोणबाट दुईवटा स्टक एक्सचेन्ज हुँदा अवस्था झन् बिग्रने देखिन्छ । कतिपयले दुईवटा स्टक एक्सचेन्ज भए प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धाले सिर्जनशीलताको विकास हुन्छ भन्ने तर्क गरेका छन् । कर्णप्रिय लाग्ने यो सिर्जनशीलताको प्रवद्र्धन साँच्चिकै नयाँ एक्सचेन्जले गर्न सक्छ ?

हामीलाई विकसित मुलुकमा कारोबार हुने वित्तीय औजारका बारेमा जानकारी नभएको हो कि ती औजारको प्रभावकारी माग नभएर हो, खुट्याउनुपर्छ । हामीकहाँ अहिले ऋणपत्रको कारोबार किन भइरहेको छैन ? किन सबै लगानीकर्ता सेयरमा केन्द्रित भएका हुन् ? कुनै बेला च्याउ उमिएसरि आएका कमोडिटी एक्सचेन्ज अहिले कता हराए ? किनकि ती हाम्रो आर्थिक अवस्थासँग मेल खाने खालका थिएनन् । ती हाम्रा आवश्यकता थिएनन् ।

मूल्य निर्धारण

स्टक एक्सचेन्ज वित्तीय औजारहरूको निरन्तर मूल्य निर्धारण गर्ने अद्वितीय संरचना हो । निरन्तर मूल्य निर्धारण हुने प्रक्रियामा जति धेरै सहभागी हुन्छन् त्यति नै यो कार्य प्रभावकारी हुन्छ । दुईवटा स्टक एक्सचेन्जले यसमा सहयोग पु¥याउला ? दुईवटा स्टक एक्सचेन्ज भनिसकेपछि यसले बजारमा विभाजन ल्याउँछ । खण्डीकृत बजारले मूल्य निर्धारण प्रक्रियालाई सहयोग होइन, झन् कमजोर बनाउँछ । मूल्य निर्धारण प्रक्रिया अहिलेको भन्दा अझ विकृत हुन्छ । 

जोखिम व्यवस्थापन

वित्त बजारमा दुई किसिमका जोखिम हुन्छन् । पहिलो, निर्मूल पार्न नसकिने प्रणालीगत जोखिम हो । व्यक्तिगत लगानीकर्ताले मनोगत विश्लेषणका आधारमा गरेको लगानी निर्णयका कारण सिर्जना हुने जोखिम दोस्रो किसिमको हो ।

नियमन निकाय तथा बजार सञ्चालकको ध्यान पहिलो किसिमको जोखिम न्यूनीकरणमा हुनुपर्छ । ससाना बजारमा प्रणालीगत जोखिम उच्च हुन्छ । सेबोनको वर्तमान नियमन तथा सुपरिवेक्षकीय क्षमतालाई दृष्टिगत गर्दा दुईवटा एक्सचेन्जले जोखिम अझ बढाउने निश्चित छ ।

कारोबार लागत

आकारको मितव्ययिता एक महत्वपूर्ण आर्थिक अवधारणा हो । यो अवधारणाले उद्योगकलकारखानाको आकार जति ठूलो भयो, जति धेरै उत्पादन गर्न सकियो त्यति नै प्रतिएकाइ लागत कम हुने बताउँछ । हाम्रो सेयर बजारमा पनि सहभागीको संख्या बढाउँदै लैजान सक्यौं भने, कारोबारको आकार बढ्दै गयो भने लागत कम गर्दै जाने वातावरण बन्छ ।

कारोबार आकार बढेकै परिप्रेक्ष्यमा गत वर्ष धितोपत्र बोर्डले कमिसन घटाएको थियो, लगानीकर्ताले राहत पाएका थिए । तर, दोस्रो स्टक एक्सचेन्ज आउँदा, आजको एउटा ठूलो बजारको तुलनामा भोलि दुईवटा साना बजार हुनेछन् । बजारले अहिले कायम आकारको मितव्ययिता गुमाउनेछ । त्यस अवस्थामा दिगो रूपमा कारोबार लागत न्यूनीकरण गर्दै लैजाने सम्भावना कम हुन्छ ।

अर्कातर्फ, नेपालमा कारोबारको लागत निर्धारण गर्ने एक्सचेन्ज होइन, धितोपत्र बोर्ड हो । उसले चाह्यो र आवश्यक देख्यो भने अहिल्यै नै कारोबार लागत घटाउन सक्छ, अर्को एक्सचेन्ज थप्नु पर्दैन ।

पारदर्शिता तथा खुलापन

पारदर्शिता र खुलापनले बजारमा कुशलता ल्याउँछ, वित्त बजारका ठगी जालसाजीलाई रोक्छ । हाम्रो बजारलाई कुशल बनाउन पारदर्शिता र खुलापनमा जोड दिनुपर्छ । हाम्रो बजारको गुणात्मक विकासमा ध्यान दिनुपर्छ । परिमाणात्मक वृद्धिले दुर्घटना निम्त्याउन सक्छ भन्ने हामीले बैंकिङ क्षेत्रमा देखिसकेका छौं ।

संस्थागत सुशासन

पछिल्लो दुई दशकमा संसारभर संस्थागत सुशासनको मुद्दा चर्को बन्दै आएको छ । विभिन्न समयमा देखा परेका वित्तीय संकटको प्रमुख कारक संस्थागत सुशासनको अभावलाई मानिएको छ । हामीकहाँ संस्थागत सुशासनको अभ्यास अझ कमजोर छ । नयाँ एक्सचेन्जले संस्थागत सुशासन प्रवद्र्धन गर्ने सम्भावना अत्यन्तै न्यून छ । बरु यो अझै विकराल बन्ने हो कि भन्ने देखिन्छ ।

 हामीकहाँ सफा लगानीको सर्वथा अभाव छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरूलाई अर्को एक्सचेन्जको अनुमति दिँदा संस्थागत सुशासनको अवस्था झन् बिग्रनेछ । सूचीकृत कम्पनीमध्येबाटै स्टक एक्सचेन्ज आयो भने स्टक एक्सचेन्ज, सूचीकृत कम्पनी, ब्रोकर र लगानीकर्ता एउटै व्यक्ति हुने परिस्थिति निर्माण हुनेछ ।

अहिले नै नेप्सेमा सूचीकृत बैंक, वित्तीय संस्था, बिमा कम्पनीका सञ्चालकहरूले अगाडि प्रोक्सी राखेर ब्रोकरको लाइसेन्स लिएको, विभिन्न नाममा होल्डिङ कम्पनी खोलेर कारोबार गरिरहेको कुरा सबैको जानकारीमा रहेको गोप्य विषय हो ।

यिनै सूचीकृत कम्पनीले अर्को एक्सचेन्ज ल्याए भने नेपालको पुँजी बजारमा एक अर्को विसंगतिले वैधानिकता पाउनेछ, जहाँ बजार सञ्चालक, मध्यस्थकर्ता र लगानीकर्ता एउटै हुनेछन् । नेप्सेलाई तह लाउन नसक्ने सेबोन थप निरीह हुनेछ । बैंकलाई ब्रोकरको लाइसेन्स दिने प्रसंग धन्न सेलाएको छ ।

पुँजी परिचालन

हाम्रा सूचीकृत कम्पनीहरूलाई धकेलेर पुँजी बजारमा पु¥याइएको हो । हाम्रा उद्योगीव्यवसायीले नयाँ उद्यम सुरु गर्नुप¥यो वा भइरहेको व्यवसाय विस्तार गर्नुप¥यो भने पुँजीबजारलाई सम्झिँदैनन्, पुँजीको स्रोतका रूपमा धितोपत्र बजारलाई मान्दैनन् ।

धितोपत्र बजार बोझ हो भन्ने मान्यता छ, माग पक्षमा । पुँजीबजारका आपूर्तिकर्ता सर्वसाधारणले सेयरलाई धनी हुने चिट्ठा मानेका छन् । पुँजी परिचालनको माग तथा आपूर्ति पक्षमा गलत बुझाइ व्याप्त छ । गलत तरिकाले बजारमा सहभागी भइरहेका छौं । यस अर्थमा हामीलाई यो बजार थोपरिएको हो । 

अपरिपक्व निर्णय

धरातलीय यथार्थलाई बिर्सेर पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्डले धेरै अपरिपक्व निर्णयहरू गरेको छ । स्वेच्छाचारी निर्णयले नियामकको मर्यादामा ह्रास ल्याउँछ । विगतमा धितोपत्र बोर्डको नेतृत्वमा रहेको पुँजीबजारको ज्ञानको अभावलाई नयाँ नेतृत्वले पूर्ति गर्नेछ भन्ने अपेक्षाविपरीतका निर्णयहरू आएका छन् । यसले बजारमा दूरगामी असर गर्ने निश्चित छ ।

बजारलाई प्रतिकूल असर गर्ने धेरै नराम्रा निर्णय गर्नुभन्दा थोरै तर राम्रा निर्णय गर्नु बेस हुन्छ । निर्णयको परिमाणात्मकभन्दा गुणात्मक पक्षमा जोड दिनुपर्छ । संस्थागत निर्णयमा संस्थागत विवेकको प्रयोग हुनुपर्छ । स्वायत्त र जवाफदेही बन्न खोजेको धितोपत्र बोर्ड अझ गम्भीर हुनु जरुरी छ । पुँजी बजार भनेको लाखौं जनताको खर्बौं रुपैयाँ व्यवस्थापन गर्ने संयन्त्र हो, यसमा खेलाँची हुनु हुँदैन ।

मिडियामा आएका समाचारहरूका अनुसार सेबोन र नेप्सेको नेतृत्वको द्वन्द्वका कारण नयाँ एक्सचेन्जको प्रसंग झिकिएको हो । करदाताको पैसाले चल्ने यी निकायका प्रमुखलाई यस्तो मनपरी गर्ने छुट हुँदैन ।

उनीहरूको झगडाले अर्को एक्सचेन्जको आवश्यकता साबित हँुदैन । लगानीकर्ता पनि सचेत हुनैपर्छ । खबरदारी गर्नुपर्छ । हाम्रा लागि भनिएको अर्को एक्सचेन्ज हाम्रै लागि हो

फाइनान्सियल इन्क्लुजन नेटवर्कसँग आबद्ध प्रदीप बरालको कारोबार दैनिकमा छापिएको यो आलेख सान्दर्भिक भएकोले यहाँ राखेको छु

 http://www.karobardaily.com/news/80158



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...