Showing posts with label धिबो वार्षिक नीति. Show all posts
Showing posts with label धिबो वार्षिक नीति. Show all posts

Tuesday, August 18, 2020

सेबोनको नीति र कार्यक्रम बिरालो बाँध्ने परम्परा


नेपाल धितोपत्र बोर्डले वार्षिक नीति र कार्यक्रमको चौथो संस्करण सार्वजनिक गरेको छ । बोर्डले विगत ४ वर्षदेखि नीति र कार्यक्रम सार्वजनिक गर्न थाले पनि शेयरबजारको तालुकी अड्डाको नीति र कार्यक्रममा शेयर कारोबारी र लगानीकर्ता दुवैलाई खासै चासो हुँदैन । शेयरबजारको मुख्य तालुकी अड्डा भए पनि बोर्डले लिने नीति र कार्यक्रमले शेयरबजारलाई मार्गदर्शन गर्नुपर्नेमा त्यसो नहुँदा बोर्ड पनि झारा टाराईमै सीमित भएको देखिन्छ । श्राद्धमा बिरालो बाँध्ने भन्ने उक्तिझैँ यसपाला पनि बोर्डले नीति र कार्यक्रम सार्वजनिक गरेको छ ।

गतवर्षको समीक्षा

आर्थिक वर्ष २०७६/७७ मा बोर्डले ल्याएका (१) बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रूपमा कार्यान्वयनमा ल्याउने, (२) हकप्रद शेयरमा हकभन्दा बढी आवेदन गर्न पाइने, (३) राफसाफको समय घटाउने, (४) वास्तविक, जलविद्युत् क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषका विवरण प्रवाहका लागि प्रतिवेदन ढाँचा तयार गर्ने, (५) संस्थापक शेयरको लक इन पिरियड (विक्री बन्देज अवधि) सम्बन्धमा सुधार गर्ने, (६) ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रूपमा शीघ्र सञ्चालन गर्न सहजीकरण गर्ने, (७) दलालको कार्यक्षेत्र विस्तार गर्न ब्रोकर डिलरसिप र परामर्श सेवाको कार्य गर्न दिने व्यवस्था गर्ने जस्ता केही कार्यक्रम मुख्य रूपमा रहेका थिए । यी उल्लिखित कार्यमध्ये बुँदा १ र ६ आंशिक कार्यान्वयनमा आयो । ३ नं. को बुँदा हचुवामा आएको हुँदा यसको कार्यान्वयन हुन् अझ केही वर्ष लाग्ने सम्भावना छ । परिपत्रको भरमा हुने बुँदा नं. २ कम्पनी हितार्थनहुने हुँदा कार्यान्वयनमा आएन । ट्रस्ट (ट्रस्टी) ऐन र भित्री कारोबार नियन्त्रण नियमावलीको मस्यौदासम्म बनेन । अन्य कार्यक्रम कार्यान्वयनमा आउनै नसक्ने खालका थिएनन् । तर, तीनमहीने स्थानहद भनेर पन्छिन सजिलो बनेको छ । गतवर्षको कार्यक्रममा परेको खुलामुखी सामूहिक कोष सञ्चालनमा आएको छ । केही नियमावली संशोधन गरी लागू गरे पनि खास उल्लेखनीय छैनन् । सामूहिक लगानी कोषसम्बन्धी नियमावलीले कोष सञ्चालन शुल्कमा कमी ल्याएको पक्षलाई भने सकारात्मक मान्नुपर्छ । तर, अझै पनि योजना व्यवस्थापकले लिन पाउने शुल्क अधिक हुँदा कटौती गर्नु आवश्यक छ ।

वर्ष २०७७/७८ का सपना

गतवर्षका कार्यान्वयन गर्न सकिने कार्यक्रमसमेत दराजको कुनामा थन्केको बेला फेरि नयाँ सपना (कार्यक्रम) को अर्को संस्करण आएको छ । बोर्डको आगामी सपनामा (१) कारोबार प्रणालीलाई बैंक तथा डिम्याट खातासँग आबद्ध गर्ने, (२) राफसाफ तथा फछ्र्योट प्रणाली टी प्लस २ मा हुने र ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)लाई प्रभावकारी बनाउने, (३) केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, (४) धितोपत्र व्यापारी (स्टक डिलर)लाई अनुमति दिने, (५) विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिने, (६) दलाल कम्पनीको आधिकारिक प्रतिनिधिको व्यवस्था गर्ने, (७) साना तथा मझौला कम्पनीहरूलाई छुट्टै कारोबार स्थल (एसएमई प्लेटफर्म) बनाउने र अन्य कम्पनीको कारोबारका लागि मुख्य थलो (मेन बोर्ड) को व्यवस्था गर्ने, (८) ट्रस्ट (ट्रस्टी) ऐनको मस्यौदा गर्ने, (९) नेपाल धितोपत्र तथा विनिमय बोर्ड ऐन र धितोपत्र कारोबार तथा धितोपत्र व्यवसायीहरूको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोबारसम्बन्धी ऐनको मस्यौदा गर्ने, (१०) भित्री कारोबार बन्देज नियमावली कार्यान्वयनमा ल्याउने, (११) सार्वजनिक निर्गमनमा बुक बिल्डिङ प्रणाली लागू गर्ने, (१२) सूचीकृत कम्पनी मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने, (१३) गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने र (१४) सूचनाप्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका बनाउनेजस्ता विषय परेका छन् ।

त्यस्तै, जलविद्युत् कम्पनीको अनुमति अवधि सकिएपछि सम्बद्ध कम्पनी तथा शेयरधनीको अवस्थाका सम्बन्धमा अध्ययन गर्ने, इन्डेक्स फन्ड तथा इक्विटी डेरिभेटिभ्स औजार जारी गर्न सक्ने व्यवस्था मिलाउने, नेप्से परिसूचक र सोको गणना विधिलाई समयसापेक्ष बनाउने सम्बन्धमा अध्ययन गर्ने, म्युनिसिपल बन्ड, सर्ट सेलिङजस्ता विषयहरूमा अध्ययन गर्ने, धितोपत्रको फ्युचर्स बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्था स्थापना सम्बन्धमा अध्ययन गरी आवश्यक कार्य अगाडि बढाउने भएको छ ।

सधैं र सबैजसो नीतिगत दस्तावेजको गायत्री मन्त्रबनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने विषय छुटेको छैन । प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिने, धितोपत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडमार्फत एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापनको व्यवस्था मिलाउने जस्ता महत्त्वाकांक्षी कार्यक्रम पनि परेको छ ।

छुटेका कार्यक्रम र कार्यान्वयन

सरकारले धितोपत्र बजारका अङ्गलाई वित्तीय संस्थासरह आयकर लिइरहेको देख्दादेख्दै पनि वित्तीय संस्थाको माउ थलो (केन्द्रीय बैंक)मा विशिष्ट श्रेणीसम्म पुगेका बोर्ड अध्यक्षले आफू (बोर्ड) र आफ्नो मातहतका संस्थालाई वित्तीय संस्थाको मान्यता दिलाउने किसिमको कार्यक्रम नपार्नु दुःखद हो । नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनका लागि पूँजीबजारका निकायलाई वित्तीय संस्थाको मान्यता दिएको बाहेक राष्ट्रको तर्पmबाट अहिलेसम्म वित्तीय संस्थाको मान्यता पाएको छैन । त्यस्तै, दलालको आधिकारिक प्रतिनिधिसँगै वर्गीकरणको नीति पनि आउन सकेन । साधारणसभाको बुक क्लोज गोरुभन्दा गाडा अगाडिहुँदा पनि यसलाई सुधार गर्ने कुरा आएन । हकप्रदसम्बन्धी कानून छरपस्ट भएको हुँदा छुट्टै कानून निर्माण हुने आशा पनि पूरा हुने सङ्केत देखिएन । विशिष्टीकृत नियमनभन्दा बाहिर रहेका कम्पनीले साधारणसभा गर्न बोर्डबाट स्वीकृति लिनुपर्ने र बोनस शेयर जारी गर्दा औचित्य पुष्टि हुने कागजात पेश गर्न लगाउने कुरा पनि आएन ।

प्रस्तावित कार्यक्रम कार्यान्वयनको पाटोबाट हेर्दा कार्यान्वयन हुनै नसक्ने कुनै पनि देखिँदैन । नेप्सेमा रणनीतिक साझेदार ल्याउने कुरामा सदाझैं संशय छ । यसका लागि पहिलो बाधक धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन मुख्य विषय बन्छ । यसको संशोधन गरिने कुरा नआएकाले रणनीतिक साझेदार ल्याउन अवरोध कायम रहन्छ । यो पहिरो नहटाएसम्म साझेदारको गाडीअगाडि बढ्न सक्दैन । एसएमई प्लेटफर्ममेन बोर्डको व्यवस्थालाई कार्यान्वयन गर्न सकेमा उपलब्धि हुनेछ । गतवर्ष उल्लेख भएको राफसाफको समय घटाउने विषय यसपटक पनि परेको छ । राफसाफ गर्दा बंगलादेशले अभ्यास गरेको टी प्लस ३ र टी प्लस ९ दुईओटा विधिलाई आधार मानी नेप्सेको वर्गीकरणअनुसार टी प्लस २ देखि टी प्लस ७ सम्म गर्न सकिन्छ । मूल्य संवेदनशील सूचना प्रवाहलाई प्रभावकारी बनाउने भनिएको वर्षौं बितिसक्यो । आजसम्म पनि यस विषयमा कुनै उन्नति प्रगति भएको छैन । गाभ्ने र गाभिने कम्पनीले विशेष साधारणसभाको सूचनामा शेयर आदानप्रदान अनुपात कति हो भन्नेसम्म खुलाउन लगाउन एउटा परिपत्र पर्याप्त हुने कार्यसमेत नगरेको बोर्डले अरू केके गर्न सक्ला ? यस्तै, कुरा हरेको वर्ष लेख्न पाइएको छ, शायद यसैमा गर्व गर्ने त होला नि पुराना सपना’ (नीति र कार्यक्रम) दराजमा थन्किएको बेला अर्को सपनाराख्न दराजमा ठाउँ खोज्नुपर्ने नभए राम्रो हुन्थ्यो भन्ने कामना गर्नुबाहेक अर्को विकल्प छैन ।

१३ साउन २०७७, आर्थिक अभियान

धितोपत्र बोर्डको आगामी वर्षको नीति तथा कार्यक्रम


नेपाल धितोपत्र बोर्डले वार्षिक नीति तथा कार्यक्रम साझेदार र अन्य अध्येताका लागि सार्वजनिक गर्ने थालेको केही वर्ष बितेको छ । यसै क्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम तयार पार्न साझेदार र विषयविज्ञसँग सल्लाहसमेत लिएको छ । तर, दुर्भाग्यका रूपमा बोर्डले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा भने विरलै जान्छ र हरेक वर्षजस्तो उही कार्यक्रम दोहोरिरहेको हुन्छ । गतवर्ष र त्योभन्दा पहिलेदेखि परिलक्षित गरिएका कार्यक्रमको प्रगतिको पाटो भने लगभग शून्यको अवस्थामा रहेको छ भन्दा अत्युक्ति हुँदैन ।

आगामी वर्षका विषयवस्तु

नेपालमा समग्र देशीय अर्थव्यवस्थालाई प्रभाव पार्ने सरकारको नीति तथा कार्यक्रम, बजेट र क्षेत्रगत निकायको नीति तथा कार्यक्रम प्रायशः जहिले पनि ओझेलमा परेको देखिन्छ । योभन्दा बढी ध्यान केन्द्रीय बैंकको मौद्रिक नीतिमा केन्द्रित हुन्छ । शेयरबजारको हकमा पनि यो हुबहु लागू हुन्छ । तालुकी अड्डा (बोर्ड) ले आगामी वर्षका लागि कस्तो कार्यक्रम ल्याउला भन्ने खासै चासो शेयरबजारमा देखिँदैन । शेयरबजारको तालुकी अड्डा र सरकारको समेत पूँजीबजार सल्लाहकार भएको नाताले बोर्डको नीति र कार्यक्रम मह
Œवपूर्ण हुन्छ । तर, बोर्ड पनि नीतिगत र कार्यगत सुधारका पाटामा दत्तचित्त नभई केन्द्रीय बैंकतिर आँखा लगाएर बसे जस्तो देखिन्छ । बोर्डले नीति तथा कार्यक्रमलाई नियमित र विकासात्मक गरी २ भागमा बाँड्ने गरे पनि नियमित कार्य पनि गर्न सकेको देखिँदैन भने विकासात्मकको त कुरै छाडौं । गतवर्षको कार्यक्रममा परेको हकभन्दा बढी हकप्रद आवेदन गर्न पाइने कुरो शब्दमा सीमित भएको छ र सम्भवतः यसपटक पनि यो कार्यक्रमले स्थान पाउनेछ । यस्ता झीनामसिना विषय कार्यान्वयन गर्न नीतिमा उल्लेख नगरी प्रशासकीय निर्णयद्वारा नै सम्पन्न गर्न सकिन्छ । यस्तै अनिश्चयबीच बोर्डले आगामी वर्षका लागि नीति तथा कार्यक्रम लेखन (पुनर्लेखन) गर्दै गरेको सन्दर्भमा निम्न कार्यक्रम समावेश र कार्यान्वयनसमेत हुन जरुरी छ :

१. नाम परिवर्तन : बोर्डको नाम काम सुहाउँदो नभएकाले यसको नाम परिवर्तन गरी धितोपत्र तथा विनिमय प्राधिकरण वा आयोगराख्नुपर्छ । निष्कासनशब्दको शाब्दिक अर्थ धितोपत्रसँग मेल नखाने हुँदा धितोपत्रसम्बन्धी विभिन्न कानूनमा रहेको उक्त शब्दलाई मेल खाने निर्गमनशब्दले प्रतिस्थापन गर्नुपर्छ ।

२. वित्तीय संस्थाको मान्यता : नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनका लागि पूँजीबजारका निकायलाई वित्तीय संस्थाको मान्यता दिएको बाहेक राष्ट्रका तर्फबाट अहिलेसम्म वित्तीय संस्थाको मान्यता पाएको छैन । आफू र आफू मातहतका निकायलाई वित्तीय संस्थाको मान्यता दिलाउने कार्य बोर्डको भएकाले यथाशीघ्र मान्यता दिलाउनुपर्छ ।

३. नेप्से र केन्द्रीय निक्षपकको पुनःसंरचना : नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सरकारी कम्पनीबाट मुक्त हुनेगरी यसको पुनःसंरचना गर्न धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १२(३) ले बाधा पुर्‍याएको छ । यस्ता बाधा पुर्‍याउने नियम रहेसम्म नेप्सेको पुनःसंरचना एकादेशको कथा हुन्छ । यसलाई आगामी आर्थिक वर्षभित्रै संशोधन गरी नेप्सेको वास्तविक पुनःसंरचना हुनुपर्छ । त्यस्तै, केन्द्रीय निक्षेपकलाई नेप्सेको सहायक कम्पनीबाट अलग गरी यसको पनि यथाशीघ्र पुनःसंरचना गर्नुपर्छ ।

४. दलाल र वर्गीकरण : दलाल शेयरबजारको प्राथमिक अंग भएकाले यसको व्यावसायिक संरक्षण गर्दै व्यवसायलाई विशिष्टीकृत गर्नुपर्छ । बोर्डबाटै बेलाबेलामा सार्वजनिक रूपमा दलालको सातो काढ्ने कार्य गर्नु आफ्नै अकर्मण्यता छताछुल्ल पार्नु भएकाले यस्ता कार्य रोकिनुपर्छ । दलाल सेवालाई फुल सर्भिस र डिस्काउन्ट ब्रोकरका रूपमा वर्गीकरण गर्नुपर्छ ।

५. इन्डेक्स सुधार : नेप्सेले गणना गरिरहेको नेप्से इन्डेक्स भरपर्दो नभएकाले यसलाई सुधार गरी २० ओटा कम्पनी समावेश गरेर नेप्से ट्वान्टीमानक सूचक बनाउनु आवश्यक छ ।

६. बुक क्लोजमा सुधार : साधारणसभाको बुक क्लोजमा त्रुटि भएको हुँदा पहिले सभाका लागि मात्र र त्यसपछि लाभांश (नगद र बोनस) का लागि छुट्टै बुक क्लोज गराउनुपर्छ । नगद लाभांशको हकमा सभा सम्पन्न भएको १५ दिनभित्र र बोनस शेयर वितरणका लागि तत्तत् निकायबाट अभिलिखित भएर आएको ७ दिनभित्र बुक क्लोज गर्नुपर्छ ।

७. लगानी विविधीकरण : विशिष्टीकृत लगानी कोष नियमावली, २०७४ जारी भए पनि निर्देशिका जारी नभएकाले यसको कार्यान्वयन हुन सकेको छैन । यसलाई कार्यान्वयन गर्न क्षेत्रगत रूपमा गोल्ड ईटीफ, रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्ट र इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डजस्ता कार्यक्रम सञ्चालन निर्देशिका अविलम्ब जारी गर्नुपर्छ ।

८. एक नेपाली एक डिम्याट खाता : बोर्डका अधिकारी र पदाधिकारीको मुखैमा झुन्डिएको र वर्षैपिच्छे जस्तो पुनर्लेखन हुने एक नेपाली, एक डिम्याटजस्तो हास्यास्पद कार्यक्रम खारेज गरिनुपर्छ । दुईओटा अर्थ लाग्ने यो वाक्यको दुवै अर्थ असान्दर्भिक छ । डिम्याट खाता आवश्यकताअनुसार जति पनि खोल्न र जहिलेसुकै बन्द गर्न सकिने सरल हुनुपर्छ ।

९. धितोपत्र न्यायाधिकरण : धितोपत्रसम्बन्धी कसूरमा मुद्दा चलाउन जिल्ला अदालत जानुपर्ने र त्यहाँ विषयगत विज्ञको अभावमा निर्णय प्रक्रियामा ढिलाइ भएकाले विशिष्टीकृत धितोपत्र न्यायाधिकरण अविलम्ब गठन हुनुपर्छ ।

१०. विकास बोन्ड : ठूलाठूला विकास आयोजनाका लागि रकम जुटाउन सहयोगी हुने डेभलपमेन्ट बोन्ड र म्युनिसिपल बोन्डसम्बन्धी नीति जारी हुनुपर्छ ।

११. शर्टसेल नीति : अघोषित रूपमा बजारमा शर्ट सेल भइरहेकाले यसलाई व्यवस्थित गर्दै शर्ट सेलसम्बन्धी नीति बनाउनुपर्छ । यसबाट सृजना हुनसक्ने परिस्थितिलाई सम्बोधन गर्न अक्शन मार्केट सञ्चालन गर्नुपर्छ ।

१२. सूचना प्रवाह : शेयरबजार सूचनाको आधारमा चल्ने हुँदा सूचीकृत कम्पनीले उत्पादन गर्ने सूचनाको प्रवाहलाई वास्तविक एवम यथार्थपरक बनाउने र सूचना प्रवाहमा ढिलाइ तथा बारम्बार संशोधन गर्नेलाई यथोचित कारबाही गर्नुपर्छ ।

१३. ट्रस्टी ऐनको निर्माण : ट्रप्टी ऐन निर्माण गर्ने विषय बारम्बार उठे पनि अहिलेसम्म यसको मस्यौदा पनि नबन्नु दुःखद भएकाले अविलम्ब यसको निर्माण गर्नुपर्छ ।

१४. ओटीसी मार्केट : निश्चितभन्दा बढी पूँजी भएका प्राइभेट कम्पनीलाई पनि ओभर द काउन्टर (ओटीसी) मा सूचीकरण गराउनुपर्छ ।

१५. सूचीकरणको योग्यता : कस्ता कम्पनी नेप्सेमा सूचीकरणका लागि योग्य हुन्छन् भन्ने कानूनको अभाव देखिएकाले यस विषयमा निर्णय गर्ने अधिकार बजार सञ्चालक (नेप्से) लाई दिनुपर्छ । नेप्सेको सिफारिशमा मात्र खुला शेयर विक्री गर्ने अनुमति दिनुपर्छ ।

१६. विभिन्न कानून निर्माण : हकप्रदसम्बन्धी कानून छरपस्ट भएको हुँदा छुट्टै कानून निर्माण हुनु जरुरी छ । त्यस्तै, सूचीकृत कम्पनी, दलाल, मर्चेन्ट बैंक र डीपी गाभिनेसम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्छ । मर्चेन्ट बैंक पनि सूचीकृत हुने नीतिगत व्यवस्था गर्नुपर्छ ।

१७. साधारणसभाको स्वीकृति : नियमन नहुने कम्पनीले साधारणसभा गर्न बोर्डबाट स्वीकृति लिनुपर्ने र बोनस शेयर जारी गर्दा औचित्य पुष्टि हुने कागजात पेश गर्न लगाउनुपर्छ ।

१८. बजारको स्वायत्तता : सूचीकृत कम्पनीले सूचीकरण विनियमावलीको उल्लंघनमा कम्पनीका अधिकारी र पदाधिकारीलाई कारबाही गर्ने अधिकार बजार सञ्चालकलाई दिनुपर्छ ।

१९. उपकरणमा विविधता : बजारमा शेयर र म्युचुअल फन्डका एकाइ मात्र रहेकाले वित्तीय डेरिभेटिभ्सको कारोबार शुरू गराउनुपर्छ ।

२३ असार २०७७, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/370457

Wednesday, September 4, 2019

धितोपत्र बोर्डको नीति र कार्यक्रम : कार्यान्वयन नहुने कार्यक्रमको पुनर्लेखन


शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष (आव) २०७६/७७ को वार्षिक नीति र कार्यक्रम सार्वजनिक गरेको छ । शेयरबजारप्रति थोरै चासो राख्नेका लागि यस विषयमा चासो हुनु सामान्य नै हो । बोर्डको कार्यालय कोठाको दराजमा सीमित हुने यस्ता नीति र कार्यक्रम आमचासोको विषय बन्न थालेपछि सार्वजनिक हुन थालेको छ । सार्वजनिक हुन लागेको नीति र कार्यक्रमको यो तेस्रो संस्करण हो । आजको अंकमा गत र आगामी वर्षको नीति र कार्यक्रमको संक्षिप्त समीक्षा गरिएको छ । 
गतवर्षको कार्यक्रम 
बोर्डले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नीति र कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा बाँडेको छ । बोर्डले अघिल्लो वर्ष नियमित कार्यक्रम अन्तर्गत (क) धितोपत्र बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, (ख) संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, (ग) बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने, ‘एक नेपाली एक डिम्याट खातालाई अभियानका रूपमा सञ्चालन गर्ने र (घ) बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने, नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन प्रक्रिया अगाडि बढाउने लगायत रहेको थियो । 
त्यस्तै, विकासात्मक कार्यहरूमा (क) धितोपत्रसम्बन्धी नयाँ ऐन, ट्रष्ट (ट्रष्टि) ऐन, भित्री कारोबार बन्देज नियमावली तथा धितोपत्र व्यवसायी तथा सूचीकृत कम्पनी गाभ्ने तथा गाभिने सम्बन्धी नियमावली र विभिन्न निर्देशिका तर्जुमा गर्ने, वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गराउन विशेष वर्ष बनाउने, खुलामुखी सामूहिक लगानी योजनालाई प्रवेश गराउने, मूल्य संवेदनशील सूचना प्रवाहलाई प्रभावकारी बनाउने, भुक्तानी सुनिश्चित कोष स्थापना तथा सञ्चालन गराउने, इक्विटी डेरिभेटिभ्स मार्केट, लीलामी बजार (अक्शन मार्केट) को शुरुआत गर्ने, धितोपत्र न्यायाधिकरण स्थापनाका लागि आवश्यक व्यवस्था आदिमा अध्ययन गर्ने कार्यक्रम थिए ।
आगामी वर्ष धितोपत्र बोर्ड 
आगामी वर्षको नीति र कार्यक्रम लेबलमात्र फेरिएको नयाँ बोतल पुरानै रक्सीजस्तो देखिन्छ । नयाँ कार्यक्रमका रूपमा (१) बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रूपमा कार्यान्वयनमा ल्याउने, (२) हकप्रद शेयरमा हकभन्दा बढी आवेदन गर्न पाइने, (३) राफसाफको समय घटाउने, (४) वास्तविक, जलविद्युत् क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषका विवरण प्रवाहका लागि प्रतिवेदन ढाँचा तयार गर्ने, (५) संस्थापक शेयरको लक इन पिरियड (विक्री बन्देज अवधि) सम्बन्धमा सुधार गर्ने, (६) ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रूपमा शीघ्र सञ्चालन गर्न सहजीकरण गर्ने, (७) ओटीसी कारोबारलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन स्वचालित कारोबार प्रणालीको शीघ्र शुरुआत गराउन सहजीकरण गर्ने, (८) मर्चेन्ट बैंकरको कार्यक्षेत्र सुदृढीकरण गदै कार्यक्षेत्र समेत विस्तार गर्ने व्यवस्था गर्ने, (९) दलालको कार्यक्षेत्र विस्तार गर्न ब्रोकर डिलरसिप र परामर्श सेवाको कार्य गर्न दिने व्यवस्था गर्नेजस्ता केही कार्यक्रम परेको छ । यसबाहेक अन्य अधिकांश गतवर्षकै कार्यक्रमले निरन्तरता पाएको छ । 
कमेडी कि कार्यक्रम 
गतवर्ष पनि परेको र अनि प्रायः सबै मञ्चमा निकै महत्त्व दिएर बोलिने एक नेपाली एक डिम्याट खाताभन्ने कार्यक्रम यसपटक पनि परेको छ । दुईओटा अर्थ लाग्ने यो वाक्यको दुवै अर्थ असान्दर्भिक हुन्छ । पहिलो अर्थ, ‘नेपालीलाई व्यक्तिअर्थ लगाएर हेर्दा व्यक्ति एक तर, डिम्याट खाता धेरै भएकालाई व्यक्ति पनि एक खाता पनि एकगर्न खोजिएको भन्ने हुन्छ । सामान्यतया एउटा मात्र डिम्याट खाता भए पुग्छ तर, कहिलेकाहीँ (आफैले र लगानी व्यवस्थापक मार्फत कारोबार गर्दा) बहुखाता आवश्यक पर्छ । यस्ता बहुखातालाई एउटा मात्र कायम गराउन खोजिएको हो ? वा, दोस्रो अर्थ, गृह मन्त्रालयले जिल्लाजिल्लाबाट नागरिकता बाँडे जस्तो बोर्डले पनि डिम्याट खातानामक नागरिकताबाँड्ने अधिकार लिन खोजेको हो भन्ने हुन्छ । एक नेपाली एक डिम्याट खाताले दिने सीधा अर्थचाहिँ यही हुन्छ । ज्ञातव्य रहोस्, ‘डिम्याट खाताखोल्न नागरिकता आवश्यक पर्छ । नागरिकता बिना डिम्याट खाताखाता खोलिँदैन । तर, बोर्डले नागरिकताकै हाराहारीमा डिम्याट खातालाई राखिदियो । बोर्डको स्मरणका लागि यति भन्नैपर्ने हुन्छ कि जसरी बैंक खाता कुनै परिचयपत्र बन्न सक्दैन त्यसरी नै डिम्याट खाताकुनै परिचयपत्र बन्न सक्दैन । यो पनि बैंक खाता जस्तै हो । बैंक खाता केही हदसम्म आवश्यक पनि हुनसक्छ तर, शेयर राख्ने डिम्याट खाता देशैभरि पुर्‍याउने कुरा बोर्डले गर्नुको अर्थ नमच्चिने पिङको सय झट्काहो । शेयरबजार आधारभूत विषय पनि होइन, इच्छा जोखिम लिनेका लागि मात्र हो । 
अर्को पनि त्यस्तै हाँसो उठ्दो कार्यक्रम ओटीसीसँग सम्बद्ध छ । ओटीसी कारोबारलाई प्रतिस्पर्धी एवम् विश्वसनीयबनाउने भनिएको छ । ओटीसी भनेको असूचीकृत पब्लिक कम्पनीको शेयर हस्तान्तरण केन्द्र हो । कागजात लिएर गएपछि शेयर हस्तान्तरण हुन्छ । धितोपत्र बोर्ड जस्तै ओटीसी भनेको एउटा मात्र हुन्छ । साविकमा कम्पनी रजिस्ट्रार कार्यालयले गर्दै आएकोमा अहिले यो कार्य नेपाल स्टक एक्सचेन्जले खडा गरेको ओटीसी मार्फत हुने गरेको छ । कसरी प्रतिस्पर्धी बनाउने भनेको हो ? अनि विश्वसनीय पनि बनाउने भनिएको छ अहिले अविश्वसनीय छ र ? स्वचालित कारोबार प्रणालीमा विकास गर्ने भनिएकोसम्म ठीक हो ।
अन्तिम नीति र कार्यक्रम 
वर्तमान बोर्ड अध्यक्ष रेवत कार्कीको चारवर्षे कार्यकाल आगामी असोज महीनासँगै सकिने हुँदा उनको कार्यकालको अन्तिम नीति र कार्यक्रम हो, यो । अध्यक्ष कार्कीको आगमनदेखि नै गायत्री मन्त्रबनेको अर्को स्टक यसपटक पनि परेको छ । भएको स्टकलाई बोर्डको समानान्तर संस्था जस्तै ठानेर सौतेनीव्यवहार गरेका अध्यक्षले अर्को स्टक ल्याएर भएको स्टक पनि सिद्ध्याउन दिलोज्यान दिए पनि अब भने त्यो डरटर्ने क्रममा रहेको छ । नेतृत्वमा आएदेखि नै स्टकदलालप्रति अत्यन्त क्रुद्ध देखिएका वर्तमान अध्यक्षको बहिर्गमन र नयाँ अध्यक्षको आगमनपछिको धितोपत्र बजार कस्तो हुने हो व्यग्र प्रतीक्षा बनेको छ । धितोपत्र जस्तो संवेदनशील क्षेत्रको नियमनमा निकायमा बसेका विज्ञ व्यक्तिमा बेलाबेलामा राजनीतिक पूर्वाग्रह देखिनु, अधिकारविहीन कार्य (कालोधन छानविन) मा रुचि देखाउनु, पत्रिकामा यो किन्ने वा नकिन्नेजस्ता सल्लाहकारी लेखरचना छपाउनु कम्पनीलाई अवाञ्छित लाभ पुग्ने गरी रातारात नियम फेरिदिनु, धितोपत्र बजारको प्राथमिक अंग दलालप्रति तीव्र रोष प्रकट गर्नु, संसद्को समितिमा आएर आप्mनो अधीनस्थ निकायलाई अपारदर्शी र अक्षमको आरोप लगाउनु पनि नियमन विपरीत थियो । 
नयाँ कार्यक्रमको कार्यान्वयन 
यसपटक देखा परेको बुक बिल्डिङ विधिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याएर मूल्य अन्वेषण प्रक्रिया शुरू मात्र गरिदिए एउटा नयाँ आयाम बन्छ । धेरै पहिलादेखि माग भएको हकभन्दा बढी आवेदन दिन व्यवस्था एउटा परिपत्रबाट कार्यान्वयन गराउन सकिन्छ । राफसाफको समय घटाउने कुरा राम्रो सुनिए पनि प्राविधिक पक्षको परीक्षण नगरी सस्तो लोकप्रियता लिने प्रयास नहोस् । दलाललाई अविलम्ब थप कार्यक्षेत्र दिई वर्गीकरण पनि गरिनुपर्छ । मूल्य संवेदनशील सूचना प्रवाहलाई प्रभावकारी बनाउने भनिएको वर्षौं बितिसक्यो आजसम्म पनि यस विषयमा कुनै उन्नति प्रगति भएको छैन । सूचीकृत कम्पनी गाभ्ने तथा गाभिनेसम्बन्धी नियमावली र विभिन्न निर्देशिका तर्जुमा गर्ने कुरा पनि गफैमा सीमित भएको छ । नीतिको कुरा त पर छाडौं गाभ्ने/गाभिने कम्पनीले विशेष साधारणसभाको सूचनामा शेयर आदानप्रदान अनुपात कति हो भन्नेसम्म खुलाउन लगाउन र एउटा परिपत्र काफी हुन्छ । अर्को वर्षको समीक्षा लेख्न बस्दा बोर्डले गरेका गरेका उत्कृष्ट कार्य यी यी हुन् भनेर सूचीबद्ध गर्न पाइयोस् । 

६ साउन २०७६, अभियान दैनिक


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...