नेपालको शेयरबजार कवि भूपेन्द्रमान
(भूपि) शेरचन (हल्लैहल्लाको देश), कवि तथा गीतकार हरिभक्त कटुवाल
(चर्कंदो र भूकम्प पर्खंदो) र मिर्जा गालिव (धूल चहेरे पे था) का रचनाको अंश जस्तै
छ । शेयरबजार सत्य वचन मात्र सुन्न पाइने साधुसन्तको कुटी होइन । शेयरबजारमा अलिकति
हल्ला र अफवाह हुन्छ । तर, नेपालको शेयरबजारमा चाहिनेभन्दा
बढी नै हल्ला चल्छ । त्यसैले पनि होला बाँचिरहेका भए ८४ वर्ष पुग्ने तर, ३० वर्षअघि नै दिवंगत भइसकेका भूपिले उहिले ‘यो
हल्लैहल्लाको देश’ भनेर लेखे । भूपिको ‘हल्लैहल्लाको देशमा’ आजको अंकमा यस्तै ‘हल्ला’ लेख्न प्रयास गरिएको छ ।
हरिभक्तको भित्तो
भूपिसँगै एकै वर्ष प्रवास (भारत, आसाम) मा
जन्मेका, ‘यो घरको भित्ता जहाँ म बस्छु चर्कंदो छ’, कुनै ठुलो भूकम्प पर्खंदो छ’ कवि हरिभक्त कटुवालको
रचनाको एक अंश हो । सूचीकृत कम्पनी, शेयर संख्या, दैनिक कारोबार संख्या, दैनिक कारोबार हुने शेयर
संख्या, चुक्तापूँजी, बजार पूँजीकरणका
आधारमा बैंक र वित्तको अंश अझ पनि ८० प्रतिशत हाराहारीमा हुँदाहुँदै पनि यही
संस्थालाई शेयर दलालीको अनुमति दिने प्रक्रिया अघि बढाएर नेपालको शेयरबजारमा भयावह
दुर्घटनालाई निम्तो दिने कार्य हुँदै छ । निम्तोपत्र छाप्ने कार्यमा शेयरबजारको
तालुकी अड्डा नै लाग्नु दुर्भाग्य बाहेक केही होइन । अन्यत्रको अभ्यासमा जसले दलाल
पाउने हो उसको अंश शेयरबजारमा २० प्रतिशतभन्दा कम हुनुपर्छ । तर, यहाँ त २० प्रतिशत चाहिँ अन्य क्षेत्रको छ । यस्तो स्थितिमा बैंकलाई दलाली
दिने प्रक्रिया कवि कटुवालको शब्दमा शेयरबजार ‘चर्कंदो र
भूकम्प पर्खंदो भित्ता’ हो ।
गालिबको ऐना र अनुहार
‘धूल चहेरे पे थी और आइना साफ करता रहा’ अर्थात्
धूलो अनुहारमा थियो तर ऐना सफा गर्दै रहे’ भन्ने उर्दू
भाषाका कवि मिर्जा गालिबको रचना अंश जस्तै शेयर कारोबारी देखिएका छन् । शेयर लगानी
जोखीम हो भन्ने कुरालाई बेवास्ता गरेर मनलाग्दी पाराले कम्पनीको प्रोफाइल नै नहेरी
लगानी गरेका व्यक्तिहरू घाटामा गएपछि त्यसको दोष अर्थमन्त्री, शेयर दलाल, एक्सचेन्ज र अमुक व्यक्ति आदिलाई
दिइरहेका छन् । शेयर जारी गर्ने हरेक कम्पनीले विवरणपत्रमा जोखिम पक्षलाई हेरेर
लगानी गर्न आह्वान गरेका हुन्छन् । अझ दोस्रो बजारमा हुने कारोबार मूल्यले
वास्तविक मूल्य नजनाउने पनि भनिएको हुन्छ । लगानी आफ्नो विवेकले हुन्छ । शेयर
लगानी व्यक्तिगत नाफा घाटाको लागि हुन्छ । यस्ता लगानी गर्नेको कुनै संघ र संगठन
हुँदैन । यदि यस्ता संघ र संगठन बनाएर लगानी हुन्छ भने यसले त्यहाँ अवाञ्छित
गतिविधि भएको बुझ्नुपर्ने हुन्छ । यस्तो कार्य स्वतः गैरकानूनी हो । यस्ता
सङ्गठनलाई मान्यता दिनु भनेको संगठित अपराधलाई मान्यता दिनु हो । यस्तै संगठन नामक
केही पारिवारिक समूहले रातारात मालामाल हुने दाउमा गरेको लगानी फसेपछि लगाएको दोष गालिबले
भने झैं ’आइना साफ करता रहा’ भन्दा अरू
केही होइन ।
बैङ्कासुरेन्सले दिएको संकेत
कार्य विशिष्टीकरण विपरीत शेयर दलाल अनुमति दिने कार्यले कति भयावह
अवस्था ल्याउने हो, त्यसको केही संकेत बैङ्कासुरेन्सले
देखाउन थालिसकेको छ । बैंकलाई बीमा अभिकर्ता दिँदा ऋणीलाई अनिवार्य बीमालेख लिन
लगाएको र नलिने ग्राहक (ऋणी) लाई सकेसम्म ऋण नदिने र दिए पनि ढिला गर्ने गरिएको छ
। बैंकले बीमालेख विक्री गर्नुको अन्तर्निहित पाटो भने बीमालेख विक्री बापत
प्राप्त हुने कमिशन आम्दानी र ग्राहकले तिर्ने प्रिमियम रकम निक्षेपका रूपमा पाउने
लालसा मात्र बनेको छ । बीमाको पहुँच बढोस् घटोस् बैंकको चासो बनेको छैन ।
यिनै बैंकले कार्य विशिष्टीकरण विपरीत शेयर दलाल अनुमति पाएमा वा लिन
खोजेका कारण बीमालेखमा झैं कमिशन आम्दानी र कारोबार भएको रकम आफ्नो बैंकका लागि
निक्षेप बनाउन खोज्नु बाहेक अरू केही होइन । बैंक भनेको भुक्तानी प्रणाली
विकासकर्ता र पैसा किनेर पैसा बेच्ने बाहेक अरू कार्यमा लाग्ने संस्था बन्नु
हुँदैन । भनिन्छ, बैंकलाई सुन आयात गर्न दिएपछि नाफा नदेखिएका कारण
पर्याप्त सुन आयात नगरिदिँदा अहिले सुनको तस्करी बढेको छ ।
शेयरबजार कहाँकहाँ पुर्याउने
शेयरबजार गाउँगाउँमा पुगेन भन्ने अर्को अरण्यरोदनको सन्दर्भमा पनि
अहिले जेजति हल्ला गरिएको वा भएको छ यसको पनि कुनै अर्थ छैन । शेयरबजार पूँजीबजार
हो र पूँजी भएका ठाउँमा नै केन्द्रित हुन्छ । गाउँगाउँमा पुर्याउने भनेको
उद्यमशीलता हो । शेयरबजार जोखिम हो, जोखिम लिने र लिन
सक्नेका लागि मात्र हो । सन् २०१०/११ मा बंगलादेशमा यहीँको जस्तो गाउँगाउँमा बजार
पुर्याउने अभियानले ९ लाख ६० हजार बंगाली नागरिक कंगाल भएका र ती आज पनि कंगाल
अवस्थामै छन् । शेयरबजारले समृद्धि र सम्पन्नता ल्याउने भए संसारमा ’गरीब’ भन्ने शब्द नै हटिसक्थ्यो होला तर यस्तो
हुँदैन । शेयरबजारमा लगानी गरेर कम्पनीले दिने वार्षिक प्रतिफल खान र लिनका लागि
हो । यो निवृत्तिभरण पनि हुन सक्छ । तर, के भुल्नु हुँदैन
भने संसारका ठूलाठूला कम्पनी टाट पल्टेका उदाहरण पनि छन् । भारतमा सत्यम कम्प्युटर,
किंगफिशर एयर र जेट एयर टाट पल्टेको घटना धेरै भएको छैन । अमेरिकाको
ऊर्जा कम्पनी एनरोन पनि एउटा उदाहरण हो ।
सन् २०१५/१६ मा चिनिया शेयरबजारले पनि दुःखद परिस्थितिको सामना
गरिसकेको छ । त्यहाँका एक लगानीकर्ताले कुकुरलाई देखाउँदै ‘पहिला
म जे खान्थेँ यो कुकुर त्यही खान्थ्यो, अहिले कुकुर जे खान्छ
म त्यही खान्छु, यस्तै स्थिति रहे मैले यो कुकुर खान्छु’
भन्ने मर्मस्पर्शी अभिव्यक्ति दिएका थिए । यी त एक प्रतिनिधि उदाहरण
मात्र हुन् । चीनमा त्यतिबेला लाखौंले अनगिन्ती रकम गुमाएका छन् । यसले पनि के
कुराको संकेत गर्छ भने शेयरबजारमा लगानी गर्न गराएको प्रोत्साहन घातक हुन सक्छ ।
घातक प्रोत्साहनका शिकार बजारमा जति खोजे पनि भेटिन्छ । लगानी आफ्नै विवेकले गरेर
नाफाघाटाको भागीदार आफै हुनुपर्छ भन्ने दृष्टान्त चीन र बंगलादेशबाट सिक्नुपर्छ ।
केही फुटकर चर्चा
अर्थमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईले शेयरबजार ‘जुवा जस्तै चलेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि
अर्थमन्त्रीले शेयरबजारलाई जुवाघर भन्यो भन्ने हल्ला निकै वर्ष चल्यो । पछिल्लो
समयमा धितोपत्र बोर्डका उच्च अधिकारीले पनि ‘जुवा नै हो’
भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् । केही हदसम्म शेयर जुवा हो तर
पूर्ण जुवा भने होइन । कम्पनीको पूँजीको विभाजित अंशका रूपमा रहने शेयर हित हो ।
जुवामा हितको पाटो हुँदैन भने शेयरमा हित गाँसिएको हुन्छ । जुवामा कसैले पनि
प्रत्याभूति दिएको हुँदैन तर शेयरमा कम्पनीले प्रत्याभूति दिएको छ । यद्यपि त्यो
प्रत्याभूति पूरा हुन्छ हुँदैन सुनिश्चित भने हुँदैन । तर, सुनिश्चित
नभए पनि प्रत्याभूतिको पाटो अहम् हुन्छ ।
एउटा शेयर रजिस्ट्रारले शेयरधनीको खातामा बढी शेयर पठायो । तर, सौभाग्यको कुरा उक्त शेयर कारोबार रोक्का रहेको हुँदा खातामा शेयर आएको
भोलिपल्ट विक्री हुन पाएन । कारोबार खुलेको अवस्था भएको भए र त्यो बेचिएर गएको भए
हुने भयावह अवस्थाको जिम्मेवारी को हुन्थ्यो होला ? शेयर
रजिस्ट्रारले शेयर फिर्ता लिइनेछ भन्ने अभिव्यक्ति दिएको सुनियो तर के आधारमा बढी
शेयर पठाए के आधारमा फिर्ता लिने हुन् उत्तर छैन ।
केन्द्रीय बैंकका गभर्नरले लघुवित्तको शेयरमूल्य बढी र वाणिज्य बैंकको
शेयर मूल्य कम भयो भनेर दिएको अभिव्यक्ति पनि कार्य विशिष्टीकरण विपरीत हो ।
अन्त्यमा, जोखिमको बलिवेदी (शेयरबजार) मा नागरिकको होम हालेर
दुई/चार जना कारोबारी पोस्न र बैंकलाई थप आम्दानी गराउनकै लागि नागरिकलाई
कंगालीकरण नगरौं ।