Showing posts with label धितोपत्र कसुर. Show all posts
Showing posts with label धितोपत्र कसुर. Show all posts

Sunday, August 21, 2022

नाम चित्रा काम विचित्र

ईश्वरीय शक्तिको नाममा अर्बौं घोटाला

आज तिमी खुब राम्री देखिएकी छौ’, ‘तिमीले विभिन्न तरिकाले कपाल बाँध्न सिक्नुपर्छ, जसले तिमीलाई अझ आकर्षक बनाउनेछ’, ‘सामान बाँधेर तयार पारिराख, मैले आउने महिना सेसेल्स जाने योजना बनाएको छु, तिमी पनि मसँगै आउ’, ‘तिमीलाई पौडिन आउँछ भने हामी समुद्री स्नानको मजा लिँदै समुद्र तटमा आराम गर्नसक्छौं’ युवा प्रेमी प्रेमिकाको जस्तो लाग्ने यी सम्वाद सन् २०१५ फ्रेबुअरीमा नेशनल स्टक एक्सचेञ्ज लिमिटेड (एनएसई) कि तत्कालिन कार्यकारी प्रमुख चित्रा रामाकृष्ण र एक अज्ञात साधुको हो l चित्रालाई कार्यकारी प्रमुख हुँदा यिनै साधुको आडमा एक्सचेञ्जमा अरबौं रुपैयाँ घोटाला गरेको आरोप लागेको छ l

 

तीन वेदको इमेल वार्ता

 

‘ग्रुप चिफ कोअर्डिनेसन अफिसरको पद र भूमिका ठिकै हो, यसलाई अघि बढाउन सकिन्छ l तर, मेरो बिचारमा यसलाई ग्रुप प्रेसिडेन्ट एवम् चिफ कोअर्डिनेसन अफिसरको रुपमा पनि राख्न सकिन्छ l पछि हजुरको जस्तो निर्देशन हुन्छ हामी एक्सचेञ्जलाई ‘जि’ को अधीनमा ल्याएर चिफ अपरेटिङ अफिसर बनाईदिन्छौ l यसमा हजुरको मार्गनिर्देशन चाहियो स्वामी’, ‘............. हाम्रो सोच जति ठूलो र दृष्टिकोण स्पष्ट हुन्छ, परिस्थिति त्यति नै सजिलो हुँदै जान्छ, आशीर्वाद l’ यो सम्वादले चित्रा साधुको सल्लाह विना कुनै पनि कार्य गर्दिन थिईन भन्ने पुष्टि गर्छ l साधुलाई चित्राले सम्पूर्ण गोप्यता उपलब्ध गराउँथिन l साधुले आफूलाई साँच्चीकै साधु देखाउन ऋग, यजुर र साम तीनवटा वेदको नामबाट ‘ऋगयजुरसाम’ नामको इमेल बनाएका थिए l साधुको आशीर्वाद (आदेश) ले चित्राले शेयर र शेयरबजारको कुनै पनि जानकारी नभएका व्यक्ति आनन्द सुब्रमनियणलाई महत्त्वपूर्ण पदमा नियुक्ति गरेर धनलाभ गराएकी थिइन् l घोटालामा साधु, सुब्रमनियण र चित्रा मूलरुपमा जोडिएका छन् l इमेल वार्तामा आएको अक्षर ‘जि’ यिनै सुब्रमनियण हुन भन्ने अनुमान गरिन्छ l साधुको भेषमा कुरा गर्ने पनि सुब्रमनियण नै हुन् भन्नेसमेत अड्कल गरिएको छ l

 

चित्राको जीवनचित्र

 

सन् १९६३ मा मुम्बईमा जन्मेकी चित्रा चार्टर्ड एकाउन्टेन्ट हुन् l उनले सन् १९८५ मा ईण्डष्ट्रियल डेभलपमेन्ट बैंक अफ इण्डिया (हाल आईडीबीआई बैंक) बाट जागिरे जीवन शुरु गरेकी थिइन् l भारतीय शेयरबजार नियामक सेक्युरिटीज एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) गठन गर्ने मुख्य टोलीमा संलग्न थिइन् l सेबीको गठनपछि पनि उनी सेबीका दोस्रो बजार सल्लाहकार र प्रकटीकरण तथा लेखमान जस्ता समितिमा रहेर काम गरेकी थिईन l एनएसईको गठनमा पनि सहभागी भएकी उनी २१ वर्षपछि सन् २०१३ मा सोही एक्सचेञ्जको प्रमुख कार्यकारी बनिन l आफैँले स्थापना गरेको संस्थामा प्रमुख कार्यकारी भएपछि पक्कै पनि त्यसको श्रीवृद्धिमा नै समय लगाउलान भनेर अनुमान गर्दा अन्यथा हुन्न l तर, चित्राको हकमा भने यो कुरा लागु भएन l सुरेखा सल्लाहेवा (कोलम्बो स्टक एक्सचेञ्ज) र लिपिङ सोंग (सेञ्जेन स्टक एक्सचेञ्ज, चीन) पछि एसिया प्रशान्त क्षेत्रका एक्सचेञ्जको प्रमुख कार्यकारी हुने तेस्री महिलाको  श्रेय पाएकी थिइन् l चित्रालाई फर्चुन नामक पत्रिकाले शक्तिशाली महिलाको १७औं स्थानमा राखेको थियो l उनी एक्सचेञ्ज र क्लियरिङ हाउसको संगठन वर्ल्ड स्टक एक्सचेञ्ज फेडरेसनको बोर्ड अध्यक्ष पनि नियुक्त भएकी थिइन् । चित्रा कोलो (को-लोकेसन) काण्डमा मुछिईन र तोकिएको समय (५ वर्ष) पूरा नहुँदै  सन् २०१६ मा राजिनामा गरिन l यसमा एकजना ‘अदृश्य हिमाली साधु’ जोडिएका छन् तर, उनी को हुन् चित्राले पनि बताएकी छैनन् l

 

चित्राको बिचित्र काम र कुरा

भारत सरकार स्वामित्वको बामर लोरी एण्ड कम्पनी लिमिटेडमा वार्षिक १५ लाख भारतीय रुपैयाँ (भारु) तलबमा काम गरिरहेका आनन्द सुब्रमनियणलाई साधुकै आशिर्वादमा चित्राले वार्षिक झन्डै २ करोड भारु तलब सुविधासहित सन् २०१३ मा मुख्य रणनैतिक सल्लाहकार नियुक्त गरेकी थिइन् l उनी सन् २०१५ मा ग्रुप अपरेटिङ अफिसरमा नियुक्त भए l सुब्रमनियणको सेवा र सुबिधा दिन दुगुणा रात चौगुणा दरमा बढ्दै गयो l सुब्रमनियणलाई सप्ताहमा ३ दिन मात्र काम गरे हुने अर्को छुट साधुले गराएका थिए l अन्तिम समयमा आएर सुब्रमनियणलाई सप्ताहमा ४ दिन काम गर्ने गरी उनको वार्षिक तलब बढाएर ४ करोड ५० लाख भारु पुर्याउने पनि उनै साधु थिए l यति प्रभावशाली भूमिका खेल्ने साधु को हुन् थाहा नभएको बयान चित्राले दिएकी छिन l चित्राको भनाइअनुसार साधुसंग उनको भेट गङ्गा नदीको कुनै घाटमा भएको थियो l चित्राले साधुलाई ‘परमहंस’ भन्दै उनी हिमालय क्षेत्रमा विचरण गर्ने बताएकी छिन l हिमालयमा बस्ने साधुसंग इमेल सुबिधाको प्रसंगमा चित्राले आध्यात्मिक शक्तिले जहाँ पनि इमेल चलाउन सक्ने क्षमता हुने बताएकी थिइन्  l साधुको आशिर्वादस्वरूप सुब्रमनियण पत्नी सुनिताले पनि वार्षिक ७ लाख भारु तलब सुबिधासहित एनएसईको चेन्नईस्थित क्षेत्रीय कार्यालयमा सल्लाहकारको पद पाएकी थिइन् l सुनिताको तलब सुबिधा पनि ३ वर्षमा बढ्दै गएर १ करोड ३३ लाख भारु पुगेको थियो l

एनएसईको कोलो सुविधाको माध्यमबाट कारोबार सदस्य (दालल) ले आफ्नो सर्भर एक्सचेञ्जको डाटा सेन्टरमा  राख्न सक्थे l यस्तो सुविधाले टाढाबाट कारोबार गरिरहेका कारोबारीभन्दा पहिला आफ्नो डाटा पठाएर लाभ लिनसक्थे l यसो गर्दा अरुभन्दा पहिला आफूले शेयर किन्ने अवसर पाउँथे l शेयर कारोबारमा आदेश प्रविष्ट गरेको समयानुसार एकैपटक आदेश कार्यान्वयन प्रणाली (अर्डर म्याचिंग सिष्टम) मा पुग्ने बहुप्रेषण (मल्टिकाष्ट) विधिको सट्टामा ‘टिक बाई टिक प्रणाली’ (एकपछि अर्को आदेश प्रविष्ट हुने युनिकाष्ट विधि) लाई उपयोगमा ल्याएर प्रभावशाली व्यक्तिलाई लाभ दिलाएर घोटाला गराईएको थियो l माइक्रोसेकेण्डले पनि आदेश कार्यान्वयनमा फरक पार्ने हुँदा ठूला कारोबारीलाइ संसारभरका एक्सचेञ्ज विशेष सुबिधा दिइएको हुन्छ l घोषितरुपमा दिईने यस्ता सुबिधालाइ चित्राको टोलीले दुरुपयोग गरेका थिए l ओपीजी नामक दलाल कम्पनीले एनएसईको ट्रेडिङ प्रणाली सञ्चालन गर्ने कम्पनीको पूर्व कर्मचारीको मद्दत लिएर एक्सचेञ्जको कुन सर्भर कुन समयमा बढी आदेश आउँछ भन्ने भित्रि कुराको जानकारी लिएको थियो l यसमा एनएसईका उच्चपदस्थ कर्मचारीको पनि संलग्नता रहेको थियो चित्राले लाभ गराएका विभिन्न ठूला कारोबारी सेबीले जाँच शुरु गरेपछि शेयर बेचेका थिए l

सीबीआईको प्रवेश

सेबीले सन् २०१५ मा एक व्हिसल ब्लोअरको बेनामी उजुरी प्राप्त गरेको थियो l मनिलाइफ नामक एक आर्थिक पत्रिकालाई पनि उपलब्ध गराइएको उक्त पत्रको आधारमा यस घटनालाई सुचेता दलालले सार्वजनिक गरेकी थिइन् l यस घटनामा तात्कालिक अर्थमन्त्री पी. चिदम्बरमको पनि संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ l त्यतिबेला चिदम्बरमले शेयरबजार सम्वद्ध सबै संस्थामा आफ्ना नजिकका व्यक्ति नियुक्त गरेका थिए l चित्रा पनि तिनै मध्येको एक मानिएकी छिन l अहिले यो घटनालाई सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई) ले अनुसन्धान गरिरहेको छ l चित्रा र सुब्रमनियण दुवै अहिले हिरासतमा छन् l सत्यम कम्प्युटर घोटाला काण्ड ३३ महिना लगाएर छानविन गरेको सीबीआईले यो घटनालाई कहिले निष्कर्षमा पुर्याउने हो र ककसलाई दोषी ठहर गर्ने हो त्यो हेर्न बाँकी छ l

१ चैत २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/404568 

Sunday, May 15, 2022

शेयरबजार र गलत सूचना

गलत सूचना प्रवाह गम्भीर वित्तीय कसूर 

मानिसको दैनिक जीवन सूचनाबाट शुरु भएर सूचनामै टुंगिन्छ l हरेक क्षेत्रमा सूचनाको महत्व हुन्छ l शेयरबजारमा सबैभन्दा बढी कारोबार सूचनाको हुन्छ l सूचीकृत कम्पनीले समयसमयमा सार्वजनिक गर्ने औपचारिक सूचना बाहेक अनौपचारिकरुपमा पनि थुप्रै सूचना सार्वजनिक भईरहेको हुन्छ l औपचारिक सूचना तथ्ययुक्त हुन्छन् भने अनौपचारिक सूचनाको तथ्य स्थापित हुन् पनि सक्छ, नहुन पनि सक्छ l यस्ता सूचना पत्रिका, टेलिभिजन, युट्युव च्यानलमार्फत आइरहेको हुन्छ l खासगरी पत्रिका (अनलाईन) ले यस्ता सूचना बढी प्रवाहित गर्छन l सूचनाको स्रोतमा ‘विश्वस्त’, ‘विशेष’, ‘कम्पनीको उच्च स्रोत’, र ‘गोप्य’ जस्ता अनेक उपमा हुनेगर्छ l यस्ता उपमायुक्त सुत्रले वास्तविक सूचना दिएको हुन्छ वा हुन्न तर, यसरी लेखिने समाचारले शेयरबजारमा राम्रो कारोबार गराउँछ l शेयरबजार साधुसन्तको आश्रम नभएको हुँदा केही हदसम्म यस्ता अफवाहलाई जायज पनि मान्नुपर्ने हुन्छ l तर, अतिचार भयो भने यस्ता सूचना प्रसारकलाई कारवाही गर्नुपर्छ l अफवाहयुक्त सूचनाको प्रवाह अहिले मात्र हैन, पौराणिककालमा पनि देख्न सकिन्छ l

 महाभारतको एउटा प्रसंग

महाभारत युद्धमा आचार्य द्रोणले सूचनाको सत्यतालाई पुष्टि गर्न नसक्दा ज्यान गुमाएका थिए l महाभारत युद्धमा द्रोण कौरवका तर्फबाट लडेका थिए l कौरव सेनाका सेनापतिसमेत बनेका द्रोण पाण्डवप्रति नरमभाव राख्थे l उनलाई युद्ध मैदानबाट नहटाएसम्म पाण्डवको विजय सम्भव थिएन l अर्जुनका सारथी बनेका श्रीकृष्णले बनाएको एक कूटनीतिक योजनाअनुसार भीमले ‘अश्वत्थामा’ नाम गरेको हात्तीलाइ मारेर युद्ध भूमिमा अश्वाथामा मारिएको हल्ला फैलाइयो l द्रोणले यसा घटनाको सत्यतथ्य सत्यवादी धर्मराज युधिष्ठिरलाई सोधे l उनले नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः, अर्थात् अश्वत्थामा मारिए तर हात्ती हो वा मानव म जान्दिनँभन्ने कूटनीतिक जवाफ दिए ।यतिबेलै श्रीकृष्णले शंखनाद गरेकाले पछिल्लो वाक्य नरो वा कुंजरो वा’ भन्ने द्रोणले सुन्न पाएनन् l ‘अश्वत्थामा हतो हत:’ भन्ने पहिलो वाक्यले नै उनको होश हराईसकेको हुँदा बाँकी शब्दलाई सायद ध्यान नदिएका हुनसक्छन् l यही अधुरो सूचना सुनेर द्रोण शक्तिहीन भए र धृष्टदुम्नले उनको बध गरेका थिए l

पहिलो अफवाह

शेयरबजारलाइ छिटो पैसा कमाउने स्थलको रुपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन l वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महिना दिन पनि नलगाई कमाउन सकिन्छ l अफवाह कस्तो कसरी चल्छ पत्तो पाउन सकिन्न l यस्ता गतिविधिमा उच्च पदस्थकोसमेत संलग्नता हुन्छ l २१ फ्रेबुअरी सन् १८१४ सोमबारको दिन बिहान लण्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झुटो समाचार फैलाएर शेयर कारोबार गरिएको थियो । छानविनको क्रममा सोमबार बेचिएका अधिकाँश शेयर अगिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो ।

कम्पनी र पत्रकार

कम्पनी र पत्रकार मिलेर पनि गलत सूचना सम्प्रेषण गराउन सक्छन l सन् १९९९ मा ढाका स्टक एक्सचेन्जमा सूचीकृत बंगलादेश वेल्डिंग इलेक्ट्रोडस कम्पनी संचालन घाटामा थियो l कम्पनीको आर्थिक स्थिति नाजुक हुँदै गएपछि बैंकको ऋण तिर्न जग्गासमेत बेच्नु परेको थियो l चुक्ता मूल्य १० टाका रहेको कम्पनीको शेयर मूल्य सन् २००६ को नोभेम्बर डिसेम्बरताका ६ टाकासम्म झरिसकेको थियो l यस्तो अवस्थामा शेयर मूल्यमा अचानक तीव्र वृद्धि आयो l तीव्रता आउनुको कारणकोरुपमा एउटा इमेल थियो l घटनानुसार आफूलाई साउदी अरबको अल आवाद समूहको स्थानीय प्रतिनिधि बताउने एक व्यक्तिबाट कम्पनीलाई एउटा इमेल आयो l उक्त इमेलमा अल आवाद समूहले उक्त कम्पनिसंगको संयुक्त लगानीमा चिट्टगोंगमा अक्सिजन प्लान्ट स्थापनाको लागि मार्च २००७ मा स्थलगत अवलोकन गर्ने व्यहोरा उल्लेख थियो l कम्पनीका प्रवन्ध संचालक नुरुल इस्लामले तत्काल उक्त सूचना ढाका स्टक एक्सचेन्जमार्फत सार्वजनिक गरे l सूचना सार्वजनिक हुनासाथ शेयर मूल्यमा तीव्र वृद्धि आयो l शेयर मूल्यमा आएको तीव्र वृद्धिलाई स्वाभाविकरुपमा लिने अवस्था नभएकोले एक्सचेन्जले प्रारम्भिक छानविन शुरु गर्दा उक्त इमेल फर्जी भएको पोल खुलेको थियो l इमेल पठाउने व्यक्ति विक्ली इन्डष्ट्री (हाल डेली इन्डष्ट्री) का सम्पादक इनायत करिम भएको पत्तो लाग्यो l करिमले इमेल पठाउनु अघि डिसेम्बर २००६ देखि फ्रेबुअरी २००७ सम्मको अवधिमा २० हजार ५ सय कित्ता शेयर ६ देखि ७ टाकासम्म किनेका थिए l उक्त शेयर सोही वर्षको फ्रेबुअरीमा ३३ देखि ४६ टाकासम्म बेचिएको थियो l

करिमलाई फर्जी इमेल लेखाउन कम्पनीका प्रवन्ध संचालक नुरुल इस्लाम र उच्चतहका अधिकारीको पनि संलग्नता भेटिएको थियो l साउदी कम्पनीको आगमन हुने सूचना ११ फ्रेबुअरी २००७ मा सार्वजनिक भएको थियो l यस विषयमा विस्तृत छानविन गरेको बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिसनले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराएर मूल्य हेरफेर गरेको भन्दै ढाका मजिष्ट्रेटसमक्ष मुद्दा दायर गर्यो l सन् २०१२ मा गठित क्यापिटल मार्केट ट्राईबुनले यस मुद्दाको सुनुवाई  गर्दै इस्लाम र करिम दुबैलाई ३ वर्षको जेल सजाय र २० लाख टाका जरिवानाको फैसला सुनाएको थियो l

नेपाल सन्दर्भ

विश्वव्यापी समस्या बनेको शेयरबजारमा अफवाह फैलाएर हुने कारोबारमा नेपाल पनि अछुतो हुने कुरै भएन l यस्ता कार्यमा सबैभन्दा बढी अनलाईन न्युज पोर्टल, फेसबुकका समूह, युट्युव च्यानल, भर्खरै आएको क्लब हाउस बढी सक्रिय छन् भन्दा अत्युक्ति हुन्न l यस्ता अनलाईन लगायतका सूचनाका माध्यम अफवाहको लागि बढी उपयोग भइरहेको अनुमान लाउन सकिन्छ l आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति बाचन नसकिंदै एउटा अनलाईनले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गरेको केही मिनेटमै हटाएको थियो र समाचार पढेपछि कर्जा घट्ने चिन्ताले कर्जा लिएर लगानी गरेकाले धमाधम शेयर बेचे । यो घटना नेपोलियन मारिए’ भनेर गरिएको प्रचारजस्तै थियो त्यस्तै, हकप्रदलाई विषय बनाएर लेखिने अफवाह समाचार पनि राम्रोसँग बिक्छ l नेपाल पुनर्बिमा कम्पनीले गराएको रेटिंगलाइ हकप्रदसँग जोडेर ‘हकप्रद जारी गर्न रेटिंग गरायो’ भन्ने समाचार सम्प्रेषण भएको थियो l रेटिंग प्रतिवेदनमा यस्तो विषय कतै पनि थिएन र कम्पनीको त्यस्तो उद्देश्य पनि थिएन l

 

समाचार वा सूचनाको सत्यता पुष्टि गर्ने जिम्मा केही हदसम्म सूचना पाउनेको पनि हुन्छ l सबै सूचनाको सत्यता पुष्टि गर्न सकिन्न l द्रोणले जस्तो एउटा वाक्य सुनेर हताश र उत्साहित पनि हुनुहुन्न l द्रोणले आफ्नो पुत्रलाई भीमले मार्नसक्छन कि सक्दैनन् भन्ने कुराको ख्याल गर्न सकेनन् र हताश मनस्थितिमा पुगे l शेयरबजारमा हताश र उत्साहित दुवै मनस्थिति घातक हुनसक्छ l बंगलादेशको जस्तो परिस्थितिमा कम्पनीले नै एक्सचेन्जलाई दिएको सूचनालाई अन्यथा भन्न पनि सकिन्न, तैपनि केहीहदसम्म परीक्षण गर्न सकिन्छ l ‘बार बारे तिल जोगिन्छ’ भन्ने पूरानो भनाईलाई आत्मसात गरेमा शेयरबजारमा आउने अफवाहयुक्त सूचनाबाट धन जोगाउन सकिन्छ l नियामकीय निकायले पनि यस्ता अफवाह फैलाउनेलाई निगरानीमा राखी आवश्यक कारवाही गर्न पछि पर्न हुन्न l


३० कार्तिक २०७८, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/397883

Tuesday, September 25, 2018

धितोपत्र न्यायाधिकरणको आवश्यकता

शेयरबजारमा अफवाह फैलाएर अनुचित लाभ लिने कार्य लगभग यसको शुरूदेखि नै भएको पाइन्छ । शेयरबजारबाट छिट्टै धन आर्जन गर्ने ध्येय राख्ने लगानीकर्ताले कुनै न कुनै रूपमा आर्थिक अपराध गर्ने दुस्प्रयास गर्नु नौलो कार्य होइन । मानव सामाजिक प्राणी भएकाले समाजशास्त्रीहरू अपराधरहित समाज हुनै नसक्ने तर्क राख्दै अपराधले समाजलाई एकत्रित पार्ने हुँदा समाजमा धेरथोर अपराध हुनुपर्छ भन्ने मान्यता राख्छन् । शेयरबजार पनि वित्तीय क्षेत्रको एउटा पाटो भएकाले यहाँ अपराध नहुने भन्ने प्रश्नै आउँदैन । अपराध जुनसुकै क्षेत्रमा हुने भएकाले राज्यले त्यसलाई नियन्त्रण गर्न अनेकौं संयन्त्रको विकास गरेको छ । शेयरबजारमा पनि यस्तै अपराध बढेपछि यस्ता आपराधिक गतिविधिलाई छिटो र कुशलतापूर्वक निष्कर्षमा पुर्याउन नियमित (सामान्य) अदालतको सट्टा विशेष प्रकृतिका अदालत (न्यायाधिकरण) गठन गरेर मुद्दा चलाउन थालिएको छ ।

पहिलो अफवाह

तथ्यगत रूपमा शेयरबजारको शुरुआत रोमन कालदेखि भएको पाइए पनि विधिवत् रूपमा भने अलि पछि भएको पाइन्छ । इङल्याण्डमा कम्पनीको शुरुआत भए पनि सन् १६०२ मा हल्याण्डको ‘डच इष्ट इण्डिया कम्पनी’ शेयर जारी गर्ने पहिलो कम्पनी बन्यो । सन् १८१४ फ्रेबुअरी २१ तारीख सोमवारका दिन नेपोलियन मारिए भन्ने अफवाह फैलाएर लण्डन स्टक एक्सचेञ्जमा गरिएको कारोबारलाई सम्भवतः शेयरबजारको पहिलो घटना मानिन्छ । अफवाह फैलिएपछि एक्सचेञ्जमा एक्कासि भाउ बढेको थियो र त्यो समाचार झूटो भएको अर्को समाचार आउनासाथ तुरुन्तै पुरानै स्थितिमा फर्किएको थियो । छानविनको क्रममा उक्त दिन कारोबार भएका अधिकांश शेयर अघिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम् विख्यात नौसेना अधिकारी लर्ड थोमस कोच्रेनउनका काका सांसद एण्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो । दोषी भेटिएका यी उच्च अधिकारीलाई अत्यन्त कडा सजाय सुनाएर ‘पिलोरी’ भन्ने एउटा विशेष प्रकारको आसनमा राखेर निश्चित समयका लागि दैनिक सार्वजनिक समेत गरिएको थियो ।

अफवाहका स्वरूप

शेयरबजारलाई गतिशीलता दिने अस्त्रको रूपमा कम्पनीको लाभ दिनसक्ने क्षमता हुनपर्नेमा कारोबार मापन गर्ने सूचक बनेको छ । यही सूचक तत्त्वलाई खेलाएर अफवाह फैलाउने सबैभन्दा सजिलो अस्त्र बनेको छ । नेपालमा कारोबार मापन गर्दा सूचीकृत सबै कम्पनीलाई लिइएको भए पनि यसमा मुख्यतः १० देखि १५ ओटा जति कम्पनीको कारोबारले सूचकलाई तलमाथि बनाउनसक्छ । सूचक एउटा सामान्य कुरा भए पनि अधिकांश लगानीकर्ताको लगानी यसैमा आधारित रहेको हुन्छ । यसैमा आधारित लगानी भएकाले अफवाह फैलाउन पनि यसैमा सजिलो हुने हुँदा यसलाई नै बढी खेलाइन्छ । सूचकको मनोविज्ञानमा लगानी गरेकालाई सजिलै सम्मोहित पार्न सकिने हुन्छ । शेयरबजारलाई खेलाउन यही सूचक अहिले सर्वाधिक सजिलो अस्त्र बनेको छ । यति र उति (नेपालको सन्दर्भमा बोनस र हकप्रदसँगै अहिले एफपीओ पनि) लाभ दिन्छ वा आउँदैछ भन्ने पनि अर्को सरल अस्त्र बनेको छ । यस्तै गतिविधि बढेपछि बङ्गलादेश सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले शेयर मूल्यमा चलखेल गर्ने १ सयभन्दा बढी फेसबूक पृष्ठ बन्द गराउन त्यहाँको दूरसञ्चार नियमक बङ्गलादेश टेलिकम्युनिकेसन्स रेगुलेटरी कमिशनलाई पत्राचार गरेको यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ ।

दण्डनीय कसुर र सजाय

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९ मा धितोपत्र सम्बन्धी कसूर र सजायको व्यवस्था गरेको छ । ऐनको दफा ९७ मा झुक्याउने विवरणहरू अन्तर्गत कसैले कसैलाई धितोपत्र खरीद-विक्री गर्न उक्साउने उद्देश्यले (क) झूटोभ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वानुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने (ख) बदनियतसाथ कुनै तथ्य वा जानकारी लुकाउने र (ख) बदनियतसाथ झूटा वा भ्रामक विवरणप्रतिज्ञा वा पूर्वानुमान बनाउने वा प्रकाशित गर्ने कार्यलाई दण्डनीय बनाएको छ । यस्ता व्यक्ति (लगानीकर्ता) वा कम्पनीलाई सोही ऐनको दफा १०१ अनुसार १ लाखदेखि ३ लाखसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने र त्यस्तो कारोबारबाट कसैलाई भएको हानिनोक्सानी समेत भराइदिनु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।

कसूर भयो वा हुन लागेको छ भन्ने उजुरी नपरे पनि कसूर मानिने कार्य भएको वा भइरहेको कुरा कुनै पनि माध्यमबाट जानकारी प्राप्त गरेमा वा बोर्ड आफैले थाहा पाएमा सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारबाही चलाउन उजुरी नपरेको कारणले मात्र कुनै बाधा पर्दैन ।

कसुरदारहरू

अहिले एकथरी सूचक ९ सयमा आउने र अर्का एकथरी १ वर्षमै २५ सय पुग्ने बेमौसमी आलाप मार्फत अफवाहको खेतीमा लागेका छन् । सामाजिक सञ्जालमा नक्कली खाता खोलेर भ्रमित पार्ने खालका सामग्री पस्केर दिग्भ्रम पार्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । ब्लगफेसबूक पृष्ठ र कतिपय अवस्थामा अनलाइन मिडिया पनि यस्ता गतिविधिमा संलग्न भएका प्रशस्त भेटिएका छन् । कसुरदार व्यक्ति मात्र होइनसूचीकृत कम्पनी पनि हुन सक्छन् । नेपालको धितोपत्र बजारमा व्यक्ति र कम्पनी दुवैले धितोपत्र कानून विपरीतका गतिविधि निरन्तर गरिरहेका छन् । गतवर्ष नेपाल इन्भेष्टमेण्ट बैङ्कको लाभांश घोषणा प्रकरणदेव विकास बैङ्कले बूक क्लोज गरेको ७ महीनासम्म साधारणसभा नगर्नुनेपाल टेलिकम र चिलिमे जलविद्युत् कम्पनीले बूक क्लोज सम्बन्धी कानून विपरीत दिएको अल्पसूचना धितोपत्र कानून विपरीतका कसूर हुन् । केही समय अघि जलविद्युत् लगानी तथा विकास कम्पनी र ग्रामीण विकास लघुवित्तले हकप्रद जारी गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय निकै पछि मात्र सार्वजनिक गरेका थिए । राष्ट्रिय बीमा कम्पनीले पनि एकैपटक गर्न लागेको ५ ओटा साधारणसभा सम्बन्धी निर्णय पनि विवादास्पद भएको छ ।

विशेष अदालतको आवश्यकता

धितोपत्र कानून विशेष कानून हो तर विशेष कानून भए पनि यस सम्बन्धी कसूरको मुद्दा चलाउन सामान्य अदालत (जिल्ला) तोकिएको हुँदा विषयगत ज्ञान र अध्ययनको कमी हुने हुँदा यस्ता प्रकृतिका मुद्दाको सुनुवाइ विशेष प्रकृतिका अदालतबाट हुनु आवश्यक हुन्छ । यसका लागि छुट्टै धितोपत्र न्यायाधिकरणको गठन हुनु नितान्त जरुरी भइसकेको छ । भारतमा ‘सेक्युरिटिज अपिलियट ट्राइबुनल’ र बङ्गलादेशमा ‘क्यापिटल मार्केट ट्राइबुनल’ स्थापना भइसकेका छन् । नियमक आफैं पनि अर्धन्यायिक प्रकृतिको निकाय भएकाले कतिपय स-साना विषयमा आफूले पनि क्षेत्राधिकार लिएर प्रतिरोधात्मक विधि अपनाउन सक्छ । धितोपत्र बजार पहिलो पङ्क्तिको नियमक भएकाले कम्पनीका तर्फबाट हुनसक्ने केही कसूर रोक्न धितोपत्र बजारलाई पनि अधिकार दिइनुपर्छ । जसरी सार्वजनिक प्रशासनका केही निकायले पनि न्यायिक अधिकारको प्रयोग गर्छन् त्यसरी नै धितोपत्र बजारलाई पनि यही सिद्धान्तको आधारमा केही अधिकार क्षेत्र दिनुपर्छ ।

धितोपत्र सम्बन्धी कसूर गर्नमा व्यक्तिका साथसाथै कम्पनीको पनि त्यत्तिकै भूमिका हुन्छ । सन् १९९९ मा सूचीकृत बङ्गलादेश वेल्डिङ इलेक्ट्रोड्सका प्रबन्ध निर्देशक नुरूल इस्लाम र विक्ली इण्डष्ट्रीका सम्पादक इनायत करिमलाई धितोपत्र सम्बन्धी कसूर गरेको आरोपमा बङ्गलादेशी ट्राइबुनलले दोषी ठहर गरेको छ । कम्पनीमा साउदी लगानी आउन लागेको भन्ने भ्रामक समाचार छाप्नु अघि इस्लाम र करिमले २ लाखभन्दा बढी कित्ता शेयर किनेका थिए ।

अन्त्यमाशास्त्रीय विद्वान् मनुले ‘पापको प्रायश्चित दण्डबाहेक अरूबाट हुन्न (न हि दण्डादृते शक्यः कर्तुं पापविनिग्रहः) भनेका छन् । पापको प्रायश्चित गराउन धितोपत्रसम्बन्धी कसूरको सुनुवाइ गर्ने न्यायाधिकरण अविलम्ब गठन हुनु जरुरी भइसकेको छ ।

१ असोज २०७५, आर्थिक अभियान 
http://www.abhiyan.com.np/?p=279000


Sunday, October 22, 2017

शेयरबजार कि माछाबजार

शेयरबजारमा अराजकता बढ्दैछ छ  नियमन गर्नुपर्ने निकाय ‘देख्ने बोल्दैन बोल्ने देख्दैन’  भने जस्तो अराजकतालाई प्रश्रय दिइरहेको छ  अराजकताको चरम अवस्थामा पनि कम्पनीका अधिकारी वा पदाधिकारीले उन्मुक्ति पाएका छन्  इन्भेष्टमेन्ट बैंकको लाभांश प्रकरण सेलाउन नपाउँदै चिलिमे जलविद्युत कम्पनीले हदैसम्मको लापरबाही र कानून उल्लंघन गर्दा पनि केहि नगर्नु लज्जास्पद कार्य हो  कानूनले व्यवस्था गरे बमोजिम कम्तिमा ७ दिनको म्याद दिएर बुक क्लोज गर्नुपर्नेमा २ दिनको गैर-कानूनी सूचनालाई वोर्डले सदर गरिदियो 

बुक क्लोज सम्बन्धि कानुन

बुक क्लोज दर्ता किताबसँग सम्बन्धित छ | सामान्यतया शेयरधनी (संस्थापक समेत) को लगत राखिने अभिलेख पुस्तिका भएपनि डिवेन्चरवाला, अग्राधिकार शेयरधनी, संचालक, कम्पनी सचिवको पनि दर्ता किताव खडा गर्नुपर्छ | यी अलग-अलग दर्ता किताबको अलग-अलग प्रयोजन हुन्छ | सामान्यतया बुक क्लोज साधारण शेयरधनी, अग्राधिकार शेयरधनी र डिवेन्चरवालाको लागि गरिन्छ | कम्पनीले तोकिएको ढाँचामा शेयरधनीको दर्ता किताब खडा गरि कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नुपर्ने व्यवस्था छ | सूचिकृत कम्पनीले धितोपत्र निक्षेपन सेवा प्रदान गर्न अनुमति पाएको धितोपत्र रजिष्ट्रारलाई दर्ता किताब राख्न लगाउन सक्ने व्यवस्था गरेको छ | यस्तो दर्ता किताबमा शेयरको क्रमसंख्या अनुसार प्रत्येक शेयरधनीको सम्बन्धमा (१) शेयरधनीको पुरा नाम र ठेगाना (२) लिएको शेयर संख्या (३) शेयर वापत चुक्ता गरेको जम्मा रकम र चुक्ता गर्न बाँकी रकम (४) शेयरधनीको रुपमा निजको नाम दर्ता भएको मिति (५) शेयरधनीको नाम खारेज भएको मिति र (६) शेषपछी शेयरमा हक लाग्ने कुनै व्यक्तिलाई इच्छाइएको भए त्यस्तो व्यक्तिको नाम र ठेगाना खुलाउनुपर्ने व्यवस्था छ | त्यस्तै डिवेन्चरवालाको दर्ता किताबमा पनि शेयरधनीको दर्ता किताबमा हुने सरह  विवरण राख्नुपर्ने व्यवस्था छ |

यसरी खडा गरिएको दर्ता किताब शेयरधनीले निरीक्षण गर्न चाहेमा दिनुपर्छ | पब्लिक कम्पनीले राष्ट्रियस्तरको पत्रिकामा कम्तिमा ७ दिन अघि सूचना प्रकाशन गरि वर्षभरिमा ४५ दिन नबढाई एकपटकमा ३० दिनसम्म दर्ता किताब निरीक्षण बन्द गर्नसक्छ | शेयरधनीले दर्ता किताबको प्रतिलिपि लिन चाहेमा दर्ता किताब बन्द गरिएको अवस्थामा बाहेक तोकिए  बमोजिमको दस्तुर लिई प्रतिलिपि दिनुपर्छ |

दर्ता किताबको सम्बन्धमा कानूनमा भएको व्यवस्था यति नै हो | दर्ता किताब बन्द गरिने प्रयोजन आवश्यकता अनुसार फरक-फरक हुन्छ | साधारणसभा, विशेष साधारणसभा र हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि मुख्यतः बुक क्लोज गरिन्छ |

बुक क्लोजको तात्पर्य

सूचिकृत कम्पनीको हकमा बुक क्लोज अत्यन्त संवेदनशील विषय भएकोले पर्याप्त समय सहित सूचना जारी नभएमा लगानी धरापमा पर्छ | शेयरधनी बाहिरिने र भित्रिने क्रम दैनिक हुन्छ | शेयरमा लगानी मात्र हैन सट्टेबाजी पनि हुने भएकोले यस्ता सट्टेबाजको लागि बाहिरिन पर्याप्त समय दिनुपर्छ | सट्टेबाजहरुले बजारलाई चलायमान बनाउने हुनाले बजारमा तरलताको स्थिति बनिराख्छ | कम्पनीले नगद बाहेक बोनस शेयर पनि जारी गर्ने र बोनस शेयरपछी शेयर मूल्य समायोजन हुनेगर्छ | बोनस शेयर सूचीकरण नभएसम्म त्यसको परल मूल्य मात्र हुने हुनाले सूचीकरण हुन महिनौं लाग्दा लगानीकर्ताको सम्पत्ति बन्धकमा पर्छ | बुक क्लोजपछी समायोजित मूल्यबाट मूल्य तल झरेमा मूल लगानी घटन जान्छ | यसलाई पुनर्प्राप्ति गर्न वर्षौं पनि लाग्नसक्छ | गत वर्ष अधिक बोनस र हकप्रद जारी गरेका कम्पनीको शेयर मूल्य समायोजन पश्चात अहिले बजार मूल्य धेरै तल झर्दा मूल सम्पत्ति गुमाएका घटना प्रशस्त छन् | बुक क्लोजको जानकारी यथेष्टरुपमा प्रचारप्रसार नगरिएमा यथासमयमा लगानीकर्ता बाहिरिन र भित्रिन पाउने अवस्था रहन्न |

अबुझ लगानी

नेपालको शेयरबजारमा तिब्र उतारचढावको कारक तत्त्व बोनस र हकप्रद केन्द्रित लगानी हो भन्दा अत्युक्ति हुन्न | सामान्यतया संसारभर नगद लाभांशलाई अधिक महत्व दिइन्छ तर यहाँ भने उल्टो छ | समाचार लेख्ने समेत फलानो कम्पनीको बोनस शेयर लिने समय फलानो दिनसम्म भन्ने लेखेर आर्थिक पत्रकारिताकै हुर्मत लिएको जति खोजेपनि भेटिन्छ | एक अध्ययन अनुसार लगानीकर्ताको लागि कर बाहेक ४ प्रतिशतको वार्षिक खूद लाभ (जेसुकै भएपनि) र ८ प्रतिशतको पूँजी वृद्धि हुने कम्पनीको शेयर लगानीका लागि अत्यन्त हितकारी हुन्छ | सट्टेबाजहरुको लागि भने बजारको चाल र प्रवृति महत्वपूर्ण गतिविधि हुन् | बोनस शेयर नराम्रो भनिएको हैन लाभांश प्रयोजनमा सामेल हुन नचाहने लगानीकर्ता वा सट्टेबाजलाई बाहिरिन पर्याप्त समय दिनुपर्छ भनिएको हो |

सूचीकरणमा विलम्व

सम्पूर्ण शेयर अभौतिक भईसक्दा समेत कम्पनीहरुले बोनस हकप्रद शेयर सूचीकरण गराउन महिनौं लगाउने गरेकाछन् | अभौतिक हुनु अघि हजारौं र लाखौं शेयरधनीको नाममा अलग-अलग प्रमाणपत्र छाप्दा महिनौं लाग्न सक्ने स्थितिलाई विस्थापन गरि कुन शेयरधनीको कति कित्ता छ त्यहि अंक मात्र जनाई दिए हुनेमा पनि महिनौं लगाउनुपर्ने औचित्य के हो ? लगानीकर्ता वा शेयरधनीमैत्री भनेको यहि हो ? अनि शेयरधनीको हित संरक्षण गर्नुपर्ने वोर्ड कम्पनीका अधिकारी वा पदाधिकारीलाई केहि नगरी उन्मुक्तिको साक्षी किनारा बसिदिने मात्र हो ?

अधिकारविहिन एक्सचेन्ज

स्टक एक्सचेन्ज पहिलो पंक्तिको नियमक हो | सर्वोच्च निकायले तोकिएको शर्त बन्देजमा शेयर जारी गर्न दिएपछिको दोस्रो पाटो एक्सचेन्ज हो | एक्सचेन्जले सूचीकरण गराउनु अघि कम्पनीलाई शर्त बन्देज सहित के कस्ता सूचना कति बेला उपलब्ध गराउने नगराएमा के गर्ने भन्ने सम्बन्धमा पूर्ण अधिकार दिनु आवश्यक छ | सूचीकरण विनियममा बेलैमा सूचना नदिने वा झुक्क्याउने सूचना दिने कम्पनीका संचालक, प्रवन्ध वा कार्यकारी संचालक, कार्यकारी अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिब वा जो जुन विषयका लागि जिम्मेवार हुन्छन तिनलाई व्यक्तिगतरुपमा मौद्रिक जरिवानागर्न पाउने गरि सूचीकरण विनियममा अधिकार दिनु आवश्यक छ | संसारभर शर्त बमोजिमको सूचना नदिने कम्पनीलाई कारवाही गर्ने अधिकार एक्सचेन्जलाई दिइएको हुन्छ | जबसम्म एक्सचेन्ज अधिकारसम्पन्न भएर यस्ता कम्पनीलाई नियमनको दायरामा ल्याउन सकिन्न शेयरबजारमा सुशासन र संस्थागत संस्कार विकास हुन सक्दैन |

कार्तिक १ को पर्खाइ

पहिलो त्रयमास सकिन लागेको छ | सूचिकृत कम्पनीले एक्सचेन्जमा नवीकरण शुल्क बुझाउने अन्तिम मिति आश्विन मसान्तसम्म मात्र हो | तोकिएको समय भित्र नवीकरण शुल्क नबुझाएर कार्तिक १ गतेबाट कयौं कम्पनीको कारोबार रोकिने गर्छ | यसमा पनि कम्पनीका माथिल्ला पदाधिकारी वा अधिकारीले उन्मुक्ति पाउँछन् | नवीकरण शुल्क नबुझाएका कम्पनीको कारोबार एक्सचेन्जले रोकिदिँदा अनाहकमा लगानीकर्ताको सम्पत्ति बन्धकमा पर्दा समेत कुनै लगानीकर्ता र तिनका संगठन कम्पनी विरुद्ध चुँक्क बोल्दैनन् | गत आषाढ महिनामा शेयर कारोबारमा मूल्य अभिवृद्धि करलगाउन खोजेकोमा विरोधस्वरूप दलालले १ दिन कारोबार रोक्दा सम्पत्ति बन्धकमा परेको अरण्यरोदन गर्ने लगानीकर्ता र तिनका संगठन नवीकरण नगरेर लामो समय कारोबार रोकिँदा सम्पत्ति बन्धकमा परेको देख्दैनन् | लगानीकर्ता पनि नेता गणेशमान सिंहले भने झैँ भेडै देखिएका छन् | ‘सौताको रिसले.....भने झैँ आफ्नै खुट्टामा बन्चरो हान्ने नीतिमागिरहेका लगानीकर्तालाई कसै गरे पनि सम्झाउन सकिन्न | ‘बन्चरो नीतिआइहालेमा  शेयरबजार व्यवस्थित हैन माछाबजारजस्तो अव्यवस्थित पक्कै बन्नेछ |    


Tuesday, October 10, 2017

धितोपत्र सम्बन्धि कसूर र उन्मुक्तिको सिलसिला

झुक्क्याउने सूचना दिएर धितोपत्र सम्बन्धि कसूर गरेको नेपाल इन्भेष्टमेन्ट बैंक काण्ड १ हप्तासम्म चलेर टुङ्गो लागेको छ | वोर्डको निर्णय बाघको शिकार गर्न गएर मुसो मारेरल्याए झैँ भएको छ | कसूर छानविन गर्न अनुसन्धान अधिकृतनियुक्त गरि मुद्दा चलाउनुपर्नेमा वोर्ड आफैँले स्पष्टीकरण माग्नु घटनालाई गम्भीरताका साथ नलिनु हो | भित्री उद्देश्य कारोबार रद्द गर्ने भएपनि एकैपटक यस्तो आदेश दिन नमिल्ने भएकोले शुरुमा राफसाफ रोकेर बाटो खुलाएको थियो | कसूरको अनुसन्धान गरि क्षतिपूर्ति भराउने उद्देश्य भएको भए राफसाफ रोक्न निर्देशन दिईरहनुपर्ने आवश्यकता नै थिएन | अन्ततः कसूरदारलाई उन्मुक्ति र लगानीकर्तालाई पिडा दिएर घटना पटाक्षेप भयो |

संबिधानमा सम्पत्ति

नेपालको संबिधान, धारा २५ ले सम्पत्ति आर्जन, भोग र हस्तान्तरणलाई मौलिक हकको रुपमा व्यवस्था गर्दै प्रत्येक नागरिकलाई कानूनको अधिनमा रही रही सम्पत्ति आर्जनभोगबेचबिखनव्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ ।भन्ने व्यवस्था गरिएको छ | वैधानिक तवरले नागरिकले प्राप्त गरेको सम्पत्ति राज्यले समेत जथाभावी लिनसक्दैन | लिनुपरेमा क्षतिपूर्ति दिएर मात्र लिनसक्छ |

प्राचिन र आधुनिक विधिशास्त्र

प्राचिन र आधुनिक विधिशास्त्रले विधिसम्मत सम्पत्ति आर्जनमा रोक लगाएको छैन | प्राचिन विधिशास्त्री मनुले सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो जय: | प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ||’ अर्थात दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त पारिश्रमिक), सत् प्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ भनेका छन् | आधुनिक विधिशास्त्रले पनि शास्त्रीय र वैदिक मतलाई आधार बनाएर सम्पत्ति कानूनको निर्माण गरेको छ |  

शेयर लगानीबाट प्राप्त हुने सम्पत्ति मनुले भनेको ७ विधि मध्येको प्रयोगहो | शेयरमा लगानी गरेर लाभांश लिनु र स्टक एक्सचेन्जमार्फत बेचेर पूँजीगत लाभ लिनु दुबै वैधानिक हुन् | वैधरुपमा शेयर लगानी गरि त्यसलाई दोस्रो बजारमार्फत बेचेर पूँजीगत लाभ लिँदा लाभकर तिरिने भएकोले यसको वैधता सम्बन्धमा कुनै प्रश्न उठ्दैन |

गैर-कानूनी कार्य

वैधानिक विधि पुरा गरि किनबेच गरिएको सम्पत्ति हस्तान्तरण हुनु अघि कारोबार रद्द गर्नु नाजायज र गैर-कानूनी कार्य हो भईसकेको कारोबार रद्द हुनको लागि विशेष परिस्थितिको विद्यमानता हुनुपर्छ | इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण कारोबार रद्द गर्नुपर्ने कुनै विशेष कारणको विद्यमानता छैन | खरिद-बिक्री आदेश प्रविष्टी गर्दा कुनै त्रुटी भेटिएमा वा कुनै असामान्य परिस्थितिमा त्यतिवटा मात्र कारोबार स्टक एक्सचेन्जले रद्द गर्नसक्छ | वोर्डले सम्पूर्ण कारोबार रद्द गराएर क्रेता र विक्रेताको सिर्जना र समाप्त भएको साम्पत्तिक हक अधिकार खोसेको छ |

बेच्ने किन पिडित ?

वैधानिक तवरले सम्पत्ति प्राप्त गरि भोगचलन गर्न पाउने नैसर्गिक अधिकारलाई राज्यले समेत रोक लगाउन नसक्ने अवस्थामा वोर्डले रोक लगाएको छ | पहिलो सूचनाले उत्साहित भएर किन्नेलाई दोस्रो सूचनाले पिडित पारेको बेला सम्पूर्ण कारोबार रद्द हुँदा खुशी मिल्यो तर पहिलो सूचना आएपछि बेचेर नाफा आर्जन गरेको व्यक्ति किन पिडित बन्नुपर्ने ? के उसलाई नाफामा बेच्ने अधिकार छैन ? पहिलो सूचनालाई आधार मानेर सम्पत्ति बेच्ने कार्य कसूर हो ? कसूर हैन भने बेचेको नाफा खै ? कारोबार रद्द गरिँदा भएको क्षतिपूर्ति खै ? झुक्क्याउने सूचना दिएर लगानीकर्ता ठग्ने कम्पनीका पदाधिकारीलाई कानूनी कठघरामा ल्याएर क्षतिपूर्ति दिलाउनुपर्ने निकाय वोर्ड नै भक्षक भएपछी लगानीकर्ता कसको शरणमा जाने ? वोर्डले जवाफ दिनु जरुरी छ |

कसूर र सजाय

धितोपत्र सम्बन्धि ऐन २०६३ को परिच्छेद ९ को दफा ९१ देखि १००क सम्म धितोपत्र सम्बन्धि कसूर र कसूरमा संलग्न हुनसक्ने व्यक्ति लगायतका विषयमा उल्लेख गरिएको छ | बिभिन्न दफा (क) १०१ मा दण्ड सजाँय, (ख) १०३ मा कसूरको तहकिकात र दायरी कसले, कसरी गर्ने, (ग) १०४ मा अनुसन्धानकर्ताले के कस्ता विधि अपनाएर तहकिकात गर्ने (घ) १०५ मा कसूरदारले कसूर गरेको कारण पुगेको हानि-नोक्सानीको लागि क्षतिपूर्ति भराई लिन सकिने (ङ) १०६ मा वोर्डले गरेको सजायमा पुनरावेदन गर्न सकिने र (च) १०८ मा कसूरमा संचालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको व्यक्तिले दण्ड सजाय पाएमा त्यस्तो व्यक्ति १० वर्षसम्म सो सरहको पद धारण गर्न अयोग्य हुने व्यवस्था छ | दफा १०२ मा दफा ९१, ९४, ९५, ९६, ९७, ९८,९९ र १०० मा वर्णित कसूर नेपाल सरकार वादी हुने व्यवस्था छ | धितोपत्रको कसूर सम्बन्धि मुद्दा सरकारवादी भएपनि यसलाई सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को अनुसूचीमा राखिएको छैन | अनुसूची १ मा परेका फौजदारी अनुसूची २ मा परेका देवानी मुद्दा हुन् | धितोपत्र सम्बन्धि मुद्दा देवानी प्रकृतिको फौजदारी मुद्दा हो |

कसूर अनगिन्ती......

धितोपत्र सम्बन्धि कानुनमा वर्णित धितोपत्र सम्बन्धि कसूर गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो हैन | धितोपत्र कानूनको उल्लंघन गर्दै कयौं कम्पनीले कसूरजन्य कार्य गरेका छन् | साधारणसभाको लागि ७ दिन अघि बुक क्लोजको सूचना नेप्सेलाई दिनुपर्नेमा नदिएका घटना गनिसाध्य छैन | यो पनि कसूर नै हो तर पनि यस्ता कम्पनीका संचालक/व्यवस्थापक दण्डित भएका छैनन् | संचालक समितिले हकप्रद जारी गर्ने निर्णय गरेको सूचना नेप्सेमा सम्प्रेषण गरि मूल्यमा प्रभाव पारी पछी रद्द गरेको घोषणा गर्नु पनि झुक्क्याउने विवरण हो | तर यस्ता कम्पनीका संचालक अहिलेसम्म दण्डित भएका छैनन् |

त्यस्तै, २०७४ साल बैशाख महिनामा एउटा विमा कम्पनीको संचालक समितिले १० प्रतिशत बोनस शेयर जारी गरि कायम हुने पूँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेर झन्डै ५ महिनापछी उक्त प्रस्ताव स्थगित गरिएको सूचना दियो | मूल्यलाई प्रभावित पारी स्थगित गर्ने कार्य पनि धितोपत्र सम्बन्धि कसूर हो भनिरहनु पर्दैन | बिमा समितिले स्वीकृति नदिएकोले रोक्नु परेको बताउनु उन्मुक्तिको बाटो मात्र हो | शेयरबजारमा सूचीकरण भएको कम्पनीले ५ महिना अघि मूल्य प्रभावित हुने सूचना दिएर अहिले मूल्यलाई नकारात्मक प्रभाव पार्ने गरि स्थगनको सूचना दिन पाइन्छ ? लाभांश घोषणा गरेको ५/५ महिनासम्म साधारणसभा किन नगरेको भनेर सोध्ने कार्यसम्म गरेको देखिएन |

एउटा वाणिज्य बैंकको संचालकले भित्री कारोबार गरेको प्रष्ट भईसक्दा समेत छानविन गरि अभियोग लगाइएको छैन | कसूरसँग धितोपत्रसँग सम्बन्धित भएकोले वोर्डले नै मुद्दा चलाउनुपर्ने हुन्छ |

विदेशका कुरा 

संसारभर धितोपत्र कसूरलाई गम्भीर अपराध मानिन्छ | बेलायतमा हाउस अफ लर्डसले एउटा मुद्दामा कम्पनी नाफामा छ नियमित लाभांश बाँडिरहेको छ ऋणपत्र किन्नुसभनेर जारी गरेको विवरणपत्रमा कम्पनी घाटामा चलेको कुरा लुकाईएकोमा त्यसका प्रवन्ध संचालकलाई फौजदरी अभियोग लगाएको प्रसंग यहाँ पनि सान्दर्भिक हुन्छ | बंगलादेशमा पनि सूचिकृत कम्पनी, मर्चेन्ट बैंक र लगानीकर्ता समेतलाई धितोपत्र कसूरमा कारवाही गरेका धेरै उदाहरण छन् |

धितोपत्र वोर्डको गतिविधिलाई ऐनको प्रस्तावनामा भएको लगानीकर्ता हित संरक्षणभन्ने वाक्यांशले गिज्याउन थालेको छ |

अभियान दैनिकमा प्रकाशित


Thursday, September 14, 2017

धितोपत्र सम्बन्धि कसूर र धितोपत्र वोर्ड

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ मा लाभांश घोषणालाई पनि ‘विशेष घटना वा परिस्थिति’ भनेर सूचीकरण गरिएको छ | नियमावलीको नियम २६(५) मा ‘धितोपत्र सूचीकरण गराएको सँगठित संस्थाले सूचिकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना ३ दिनभित्र वोर्डमा पेश गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ | शेयरबजार सूचना संवेदनशील भएकोले मूल्यमा प्रभाव पार्न सक्ने सकारात्मक वा नकारात्मक जस्तोसुकै गतिविधि भए पनि सो को जानकारी गराउनुपर्छ | संवेदनशील सूचनाहरु एकपटक जारी गरिसकेपछि सच्याउने कार्यलाई स्वस्थ बजारको सूचक मान्न सकिन्न |  

पहिलो र दोस्रो सूचना

नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समितिले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय नेप्सेको वेवमा सार्वजनिक भयो | बजार निरन्तर घटिरहेको र केन्द्रीय बैंकले तोकेको पूँजी पुगिसकेका (तोकेको भन्दा झन्डै १ अर्ब २५ करोड बढी पूँजी भएको) बैंकले अबदेखि नगद लाभांश मात्र दिन्छन भन्दै शेयर किन्न नै छाडिसकेका लगानीकर्तालाइ बैंकको निर्णय पश्चात संजीवनी बुटीले जस्तै उत्साह थपेको थियो | तर यो उत्साह धेरै बेर कायम रहेन | बैंकको तर्फबाट प्रस्ताव गरिएको लाभांश सम्बन्धि निर्णयको पत्र ‘टंकन’ गर्ने क्रममा उल्टो परेको र वास्तविक अंक १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश हो भन्ने संशोधित सूचना पुन: नेप्सेको वेव मार्फत सार्वजनिक भयो | केहि बेर अघिसम्म शेयर किन्न उत्साहित देखिएका लगानीकर्ताको उत्साह सेलायो र बढिरहेको बजार र बैंकको भाउ घट्न लाग्यो | यसले अर्को संशय समेत थपिदियो | यो सूचना पनि संशोधन भएर अर्कै पो आउने हो की !

बोनस हैन शुद्ध सूचना

बैंकको लाभांश घोषणा सम्बन्धि दुइथरी सूचना आएपछि लगानीकर्ता र लगानीकर्ता संघ तथ्यमा प्रवेश नगरी हिलो छ्यापाछ्यापमा लाग्नु कसूरदारलाई उन्मुक्तिको मार्ग प्रशस्त गरिदिनु हो | दलाल, नेप्से र ठूला लगानीकर्ताको शंकास्पद व्यवहार भन्दै लगानीकर्ता र लगानीकर्ता संघ कुर्लिए तर बैंक विरुद्ध उजुरी गर्न कोहि गएनन् | ऐनमा वर्णित ‘झुक्क्याउने’ सूचना दिई हानी-नोक्सानी पुर्याउने बैंकका अधिकारी/पदाधिकारीसँग खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले भएको हानी नोक्सानी भराई लिन सकिने व्यवस्था छ | ऐनको व्यवस्था नजरअन्दाज गर्दै लगानीकर्ता संघले ‘नेप्से’ लाई गाली गरेर कसूरदारको ताबेदारी गरेको देखियो | पहिले घोषणा गरेको २५ प्रतिशत बोनस पाउनुपर्ने विज्ञप्ति निकाल्यो तर शुद्ध सूचना माग गरेन | लगानी गरेपछि लाभको अपेक्षा गर्नु स्वाभाविक हो तर हामीले भने बमोजिम हुनुपर्छ भन्नु चाहिँ गलत हो | कम्पनीको संचालक समितिले प्रस्ताव गरेको कुनै पनि लाभांश शेयरधनीलाई साधारणसभा मार्फत अस्विकार गर्ने अधिकार छ तर संशोधन गर्ने अधिकार छैन |

धितोपत्र सम्बन्धि कसूर  

शेयरको मूल्यलाई असर पार्न सक्ने सार्वजनिक नभएको सूचना वा जानकारीको आधारमा आफू वा आफन्त मार्फत शेयर कारोबार गर्नु, यस्ता सूचना अरुलाई उपलब्ध गराउनु भित्रि कारोबार हो | यसबाहेक अन्य थुप्रै धितोपत्र सम्बन्धि कसूर हुनसक्छन् | अनेक प्रकारको हल्ला चलाएर कसैलाई किन्न र बेच्न उत्साहित वा निरुत्साहित पार्ने कार्यहरु पनि धितोपत्र सम्बन्धि कसूर हो | झुक्क्याउने विवरण (सूचना) दिएर मूल्यमा उतारचढाव पार्ने कार्य पनि धितोपत्र सम्बन्धि गम्भीर कसूर हो | इन्भेष्टमेन्ट बैंकका आधिकारी/पदाधिकारीले पनि मूल्य संवेदनशील मानिने लाभांश घोषणाको सूचनालाई गलत सम्प्रेषण गरि झुक्क्याउने कार्य गरेका छन् | झुक्क्याउने सूचना सम्प्रेषण गर्नु दण्डनीय कार्य हो |

कसूर र तहकिकात

धितोपत्र सम्बन्धि कसूर गरेको वा गर्न लागेको थाहा पाएमा सरोकारवाला व्यक्तिले नेपाल धितोपत्र वोर्ड सम्बन्धि नियमावली २०६४ को अनुसूची बमोजिमको ढाँचामा बोर्ड समक्ष उजुरी दिनुपर्छ | कसूर भयो वा हुनलागेको छ भन्ने उजुरी नपरे पनि कसूर मानिने कार्य भएको वा भैरहेको कुरा कुनैपनि माध्यमबाट जानकारी प्राप्त गरेमा वा वोर्ड आफैँले थाहा पाएमा सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही चलाउन उजुरी नपरेको कारणले मात्र कुनै बाधा पर्दैन । उजुरी परेमा वा जानकारी प्राप्त हुन आएमा तहकिकात गर्न र मुद्दा दायर गर्नुपर्ने देखिएमा बोर्डको कम्तीमा अधिकृतस्तरको कुनै कर्मचारीलाई तहकिकात अधिकारी तोक्नुपर्ने व्यवस्था छ |

तहकिकात अधिकारीले तहकिकात गर्दा सरकारी वकिलको राय लिएर आवश्यक छानवीन गर्ने, अभियुक्त वा कसूरसँग सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण माग, बयान लिई कसूर सम्बन्धी तहकिकात गर्नेछ । प्रारम्भिक छानविनबाट मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा बोर्ड समक्ष सोही बमोजिमको सिफारिस गर्नुपर्छ । तहकिकात अधिकारीले कसूरदारलाई तारेखमा राख्न वा नराख्न सक्छ | कानूनी प्रक्रिया पुरा गरि जेथा जमानत लिनसक्ने व्यवस्था छ | खानतलासी लिनुपर्ने भएमा वा कुनै उपकरण वा कागजात बरामद गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा सँगठित संस्थालाई पूर्व सूचना दिई त्यस्तो स्थानमा प्रवेश गर्न र कसूरसँग सम्बन्धित उपकरण वा कागजात कब्जामा लिन सक्छ | तहकिकातको सिलसिलामा कुनै अभियुक्तलाई पक्राउ गर्नुपर्ने अवस्थामा बोर्डको पूर्व स्विकृती लिई पक्राउ गर्न प्रहरी कार्यालयमा लेखि पठाउन सकिन्छ ।

मुद्दा हेर्ने अधिकारी

धितोपत्र वोर्ड अर्ध-न्यायिक निकाय समेत भएकोले कानुन अनुसार कतिपय विषयमा आफैं निर्णय गर्नसक्छ | धितोपत्र सम्बन्धि कसूरको सम्बन्धमा निर्णय गर्ने अधिकारक्षेत्र वोर्ड र जिल्ला अदालतलाई तोकिएकोले कसूर हेरी वोर्डले निर्णय गर्ने र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यहोरा खुलाई सोही बमोजिमको राय सहितको प्रतिवेदन तहकिकात अधिकारीले बोर्ड समक्ष पेश गर्नुपर्छ । तहकिकात अधिकारीले सरकारी वकिलको राय लिई तहकिकातको कार्य पुरा भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्छ | अदालतको फैसला चित्त नबुझेमा बोर्डले मुद्दाको तथ्य, सम्बद्ध कानुन, अदालतको फैसला तथा सम्बन्धित अन्य पक्षहरू समेतको आधारमा पुनरावेदन गर्ने वा नगर्ने कुराको निर्णय गर्नेछ ।

उन्मुक्तिको बाटोमा वोर्ड

नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको कसूरको सम्बन्धमा उजुरी पर्नु पर्ने कानूनी वाध्यता छैन भन्ने तथ्य माथिका बिभिन्न प्रकरणमा उल्लेख भईसकेको छ | उजुरी नपरे पनि स्वयम जानकारीमा लिएर तहकिकात अधिकारी नियुक्त गर्नुपर्नेमा स्पष्टीकरण सोधिरहनु आवश्यक छैन | यस्ता स्पष्टीकरण सोध्ने, वयान लिने, खानतलासी लिने आदी जे जे गर्नुपर्छ तहकिकात अधिकारीले गर्छ | वोर्डले उक्त दिन भएको कारोबारको राफसाफ रोक्न दिएको निर्देशनको कानूनी अस्तित्व शून्य बराबर छ | राफसाफ रोक्ने हैन कारोबारलाई यथावत कायम राखेर उक्त दिनको ‘कुनै एउटा मूल्य’ लाई आधार मानी त्यो भन्दा बढी मूल्य तिरेका लगानीकर्तालाई क्षतिपूर्ति उपलब्ध गराउने गरि मुद्दा चलाउनुपर्छ | ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानूनी सुत्र छ | इन्भेष्टमेन्ट बैंकका अधिकारी/पदाधिकारीले ज्ञान वा अज्ञानमा जे जसरी भए पनि कानुनको उल्लंघन गरिसकेको छन् | कसूर मानवीय त्रुटीबाटै हुने र दण्डित पनि हुनुपर्ने भएकोले यसलाई अनेक संज्ञा दिएमा अराजकता र वेथितिको शुरुवात हुन्छ | शास्त्रीय विद्वान मनुले ‘न हि दण्डादृते शक्य: कर्तु पापविनिग्रहः अर्थात ‘पापको प्रायश्चित दण्डबाहेक अरुबाट हुन्न’ भनेका छन | वोर्डले यतिखेर शेयरबजारलाई शुद्धीकरण र सुदृढिकरणतर्फ लैजानुपर्ने आवश्यकता छ | वोर्ड उन्मुक्तिको बाटोमा नलागोस |

आर्थिक अभियान दैनिकमा प्रकाशित


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...