Showing posts with label सिमित दायित्व. Show all posts
Showing posts with label सिमित दायित्व. Show all posts

Saturday, January 23, 2021

कम्पनी र शेयरधनीको स्वतन्त्र अस्तित्व

 सालोमनको मुद्दा कोसेढुंगो

कम्पनीमा शेयरधनीको दायित्व सीमित तथा कम्पनी र शेयरधनीको अलगअलग अस्तित्व हुने कुरालाई संसारभर मान्यता प्राप्त छ । कम्पनीलाई स्वतन्त्र अस्तित्व र शेयरधनीलाई सीमित दायित्व दिनुको कारण व्यावसायिक सुगमताकालागि हो । (नेपाल कानून पत्रिका २०६८, निर्णय नं. ८८१४) कम्पनीलाई व्यावसायिक सुगमताका लागि यस्तो सुविधा दिन थालिएको १ शताब्दीभन्दा बढी भएको छ । इङल्यान्डको हाउस अफ लर्डले सन् १८९६ मा यसलाई विस्तृतरूपमा व्याख्या गरेको थियो । यसभन्दा पहिला पनि सन् १८६७ मा पनि यस्तै प्रकारको मुद्दा सुनुवाइ भएको भए पनि त्यति विस्तृत थिएन । कम्पनीको मन, मस्तिष्क, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय नभए पनि एक व्यक्तिसरहको कानूनी अधिकारप्राप्त छ । कम्पनीले आफ्नो नाममा चलअचल सम्पत्ति किनबेच दुवै गर्न सक्छ । त्यस्तै, आफूले उजुर गर्न आफूविरुद्ध उजुर सुन्न पनि सक्छ । प्रशासकीय सम्पूर्ण कार्य कम्पनीको नाममा हुन्छ । यसको आफ्नै छुट्टै छाप पनि हुन्छ ।

प्राइभेट र पब्लिकको अस्तित्व


कम्पनी स्वरूपको व्यावसायिक ढाँचा संसारभर प्रचलनमा छ । १ जनादेखि जति पनि कम्पनीका हितग्राही (शेयरधनी) हुनसक्छन् । शेयरधनीको संख्याको आधारमा कम्पनीलाई प्राइभेट र पब्लिक गरी दुईओटामा विभक्त गरिएको छ । १ जना व्यक्तिले मात्र पनि प्राइभेट कम्पनी स्थापना गर्नसक्छ । प्राइभेट कम्पनीमा बढीमा १ सय १ जनासम्म शेयरधनी हुन सक्छन् । तर, यस्ता कम्पनीले कर्मचारीलाई शेयर बेच्ने योजनाअन्तर्गत कम्पनीका शेयर किनेका कर्मचारी वा त्यस्तो योजनाअन्तर्गत शेयर किनिसकेका तर तत्काल कम्पनीको सेवामा नरहेका कर्मचारीलाई शेयरधनीको अधिकतम संख्या निर्धारण नगरिने कानूनी व्यवस्था छ । कम्पनीका शेयरधनीको दायित्व सीमित हुने सर्वमान्य सिद्धान्त भए पनि प्राइभेट र पब्लिक कम्पनीका शेयरधनीको सीमित दायित्वलाई समान रूपमा लिइँदैन । सामान्यतया प्राइभेट कम्पनीमा अपवादको रूपमा मात्र बढी शेयरधनी हुनसक्छन् । ४/५ जना मात्र शेयरधनी हुने र ती सबै कम्पनी सञ्चालनमा संलग्न हुने हुँदा यिनको दायित्वलाई सीमित गर्न नसकिएको हो । प्राइभेट कम्पनीको सञ्चालक संख्या कम्पनी ऐन, २०६३ ले तोकेको छैन । यस्ता कम्पनीले आफ्नो नियमावलीमा आफैले सञ्चालकको संख्या तोक्न सक्छन् र अपवादबाहेक सामान्यतया सबै शेयरधनी सञ्चालकका रूपमा रहेका हुन्छन् । पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक हुनुपर्ने तथा ७ जनासम्म सञ्चालक रहने भए १ जना र ११ जनासम्म सञ्चालक रहने भए २ जना स्वतन्त्र वा व्यावसायिक सञ्चालकसमेत नियुक्त गर्नुपर्ने हुन्छ । पब्लिक कम्पनी स्थापना गर्न कम्तीमा ७ जना शेयरधनी र १ करोड रुपैयाँ पूँजी हुनुपर्छ । यी सातै जना शेयरधनी सञ्चालकमा रहनसक्ने अवस्थाको विद्यमानता कम्पनी ऐनले देखाउँदैन । यसर्थ पब्लिक कम्पनीका सबै शेयरधनी कम्पनी सञ्चालनमा सक्रिय हुन पाउँदैनन् । कम्पनी सञ्चालनका लागि आफूमध्येबाट चुनेर पठाएका शेयरधनीले कम्पनी सञ्चालन गर्छन् र यिनै सञ्चालकले कम्पनीका तर्फबाट बेहोर्नुपर्ने फौजदारी र देवानी दायित्व बेहोर्नुपर्ने हुँदा यिनको दायित्व शेयरधनीको झैं सीमित हुँदैन ।

सालोमनको मुद्दा


कम्पनीको स्वतन्त्र अस्तित्वसम्बन्धी सिद्धान्त सर्वव्यापक छ । कम्पनी स्वरूपको व्यवसाय ढाँचाको परिकल्पना देवर्षि नारदले गरेको शास्त्रीय प्रमाण भेटिन्छ । वणिक् प्रभृतयो यत्र कर्म सम्भूय कुर्वते । तत्तत् सम्भूय समुत्थानं व्यवहारपदं स्मृतम् ।अर्थात् व्यक्तिहरू एकसाथ मिलेर व्यापार व्यवसाय गर्छन् भने यस्तो व्यावसायिक गतिविधिलाई सम्भूय समुत्थान भनिन्छ । (नारदस्मृति) यसको मूल उद्देश्य फलाहेतोरूपायन कर्म सम्भूय कुर्वताम्अर्थात् लाभ आर्जन हो । कसले कति लाभ पाउँछन् भन्ने विषयमा आधारभूतः प्रक्षेपस्तेनोत्तिष्ठेयुरंशतःअर्थात् जसको जति लगानी छ सोही आधार हुन्छ । कम्पनीको विकासक्रम इङल्यान्डबाट शुरू भयो भनिए पनि नारदस्मृतिको यी श्लोकले यसको उत्पत्ति वैदिककालदेखि नै थियो भन्ने दर्शाउँछ । यस विषयमा विश्वविद्यालयका कानून सङ्कायले थप अध्ययन गर्नुपर्ने देखिन्छ । वैदिककालमा यसको स्वरूपको चिन्तन गरिए पनि आधुनिककालमा इङल्यान्डले कम्पनीको विकासमा योगदान दिएको कुरालाई उपेक्षा गर्न सकिँदैन । कम्पनीको स्वतन्त्र अस्तित्व र शेयरधनीको सीमित दायित्वलाई संस्थागत रूपमा विकास गराउन इङल्यान्डको अदालतले प्रतिपादन गरेका नजीर (कानूनी सिद्धान्त) संसारभरका लागि मार्ग दर्शक बनेको छ । कम्पनीको स्वतन्त्र अस्तित्व र शेयरधनीको सीमित दायित्वको सिद्धान्त प्रतिपादन गर्न कोसेढुंगा बनेको सालोमनको मुद्दाको संक्षिप्त चर्चा गरिन्छ ।

इङल्यान्डका आरोन सालोमन नाम गरेका एक व्यक्ति प्रोपाइटरशिपमा परम्परागत छालाको जुत्ता व्यापार गर्थे । निकै राम्रोसँग चलिरहेको व्यापारलाई अझ विस्तार गर्न उनले सालोमन एन्ड कम्पनी लिमिटेड खडा गरे । सालोमनको प्रोपाइटरशिपमा रहेको जुत्ता व्यापारलाई गठित कम्पनीले ३८ हजार पाउन्डमा किन्यो । कम्पनीसँग सोलोमनको व्यापार किनेबापतको भुक्तानी दिन पर्याप्त रकम थिएन । व्यापार बेचेको रकमबापत सालोमनले कम्पनीको २० हजार ७ मध्ये २० हजार १ कित्ता शेयर लिए । बाँकी रहेको शेयर उनकी पत्नी, छोरी र ४ छोरा प्रत्येकले १ र १ कित्ता लिए । कम्पनीले अझ पनि व्यापार किनेको (सालोमनको) रकम भुक्तान गर्न बाँकी थियो । अतः कम्पनीले सुरक्षित र असुरक्षित गरी २ प्रकारको ऋणपत्र जारी गर्‍यो । सालोमनले १० हजार पाउन्डको सुरक्षित ऋणपत्र लिए । यसको जमानतका रूपमा कम्पनीको सम्पत्ति (सालोमनले बेचेको जुत्ता बनाउने मेशिन औजार) सालोमनले धितोका रूपमा लिए । कम्पनीले ७ हजार पाउन्ड असुरक्षित ऋणपत्र पनि जारी गर्‍यो । सालोमन कम्पनीको प्रबन्ध सञ्चालकमा उसको २ छोरा सञ्चालक नियुक्त भए । कम्पनीको व्यापार (जुत्ता) राम्रैसँग चलिरहेको थियो । १ वर्षपछि हडतालका कारण कम्पनीको व्यापार नोक्सानीमा जान थालेपछि कम्पनी खारेजीमा लैजानुबाहेक अर्को उपाय भएन । कम्पनीको सम्पत्ति र दायित्व मूल्यांकन गर्दा ऋण (दायित्व) १७ हजार पाउन्ड र कम्पनीको सम्पत्ति ६ हजार पाउन्ड मात्र थियो । यस्तो अवस्थामा सबै साहूको सबै ऋण तिर्न सक्ने अवस्थामा कम्पनी थिएन । कम्पनी खारेजकर्ताले सबैभन्दा पहिला सुरक्षित साहूको ऋण तिर्ने क्रममा सुरक्षित साहूका रूपमा रहेका सालोमनको ६ हजार पाउन्ड फिर्ता दियो । सुरक्षित साहूको रूपमा रहेको सालोमनकै अझ ४ हजार पाउन्ड ऋण तिर्न कम्पनी अक्षम भइसकेको थियो । बाँकी रहेका असुरक्षित साहूको कुरै आउनेवाला थिएन ।

असुरक्षित साहूले सालोमन र कम्पनी एकै भएको, कम्पनी नाम मात्रको भएको र कम्पनी सालोमनको एजेन्ट हो भन्ने विषयलाई लिएर मुद्दा गरे । कम्पनीमा सालोमन एक्लैको पूर्ण चुक्ता भएको अधिकांश शेयर रहेकाले सबै असुरक्षित साहूको ऋण सालोमनले चुकाउनुपर्ने मुख्य दाबी लिएका थिए । शुरू अदालतले असुरक्षित साहूको पक्षमा निर्णय सुनायो । हाउस अफ लर्ड्समा पुगेको यस मुद्दामा सालोमन र सालोमन एन्ड कम्पनी अलग व्यक्ति हुन् तथा कम्पनी आफ्नो शेयरधनीको एजेन्ट हुन सक्दैन भन्ने फैसला सुनाएको थियो ।


२१ पुष २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/379948 

 

Thursday, April 18, 2019

शेयरधनीको सिमित दायित्व


शेयरधनीले शेयरधनीको दायित्व सीमित हुन्छभन्ने वाक्य कैयौं पटक सुनेका छन् । भौतिक रूपमा प्राप्त हुने शेयर प्रमाणपत्रको सिरानमा शेयरधनीको सीमित दायित्व भएकोभन्ने वाक्यांश समेत लेखिएको हुन्थ्यो । आजकल शेयर अभौतिक रूपमा रहन थालेपछि शेयरधनीले यस्तो लेखिएको वाक्यांश नदेखे पनि शेयरधनीको दायित्व सीमित हुन्छ भन्ने सुनिरहेका छन् । त्यस्तै, प्राथमिक शेयर जारी गर्दा कम्पनीले प्रकाशन गर्ने विवरणपत्रमा शेयरधनीको दायित्व सीमित हुनेभन्ने वाक्यांश लेखिएको हुन्छ । जताततै उल्लेख हुने र भइरहेको सीमित दायित्व भनेको के हो भन्ने अत्यन्त थोरैले मात्र बुझेका छन् । नबुझेकाहरूका लागि यसको शुरुदेखिको संक्षिप्त इतिहास अदालती अभ्यास समेतको चर्चा यस आलेखमा गर्ने प्रयास गरिएको छ ।
ऐतिहासिक पक्ष
कानूनले परिकल्पना गरेको कम्पनी कानूनी व्यक्ति हो भन्ने विषयमा धेरै चर्चा गरिसकिएकाले यहाँ दोहोर्‍याइएको छैन । कम्पनी एक व्यक्ति हो भन्ने मान्यता स्थापित भइसकेकाले यसका दायित्व असीमित हुन्छन् भन्ने कुरा पनि बताइरहनु पर्दैन । व्यक्ति वा कम्पनीका दायित्व सापेक्ष र निरपेक्ष हुन सक्छन् भन्ने विषयमा कुनै सन्दर्भमा छुट्टै चर्चा गरिनेछ । व्यक्तिका रूपमा कम्पनीको दायित्व असीमिति भए पनि कम्पनीका शेयरधनीको दायित्व भने सीमित हुन्छ । शेयरधनीको सीमित दायित्वका विषयमा हाउस अफ लर्ड्स (बेलायत) ले प्रशस्त सिद्धान्त कायम गरेको छ । त्यस मध्येमा सालोमन विरुद्ध सालोमन एन्ड कम्पनी (सन् १८९६) को मुद्दामा हाउस अफ लर्ड्सले कम्पनी र शेयरधनी अलग-अलग व्यक्ति हुन् भन्ने निर्णय सुनाएको थियो ।
मुद्दाका एक पक्ष सालोमनले आफ्नो प्रोप्राइटरसिपमा रहेको जुत्ताको व्यापारलाई कम्पनीमा रूपान्तरण गरेका थिए । कम्पनीका मुख्य शेयरधनी, सञ्चालक र कम्पनीका ऋणी (साहू) पनि आफैँ थिए । सालोमनको प्रोप्राइटरसिपको जुत्ता व्यापार कम्पनीले किनेको थियो । तर, दुर्भाग्य के भयो भने कम्पनी शुरू गरेको १ वर्षपछि गम्भीर आर्थिक संकटमा परेर खारेजीमा गयो । सालोमनले कम्पनीलाई ऋण दिँदा धितो लिएका थिए । सालोमन बाहेक कम्पनीका अरू पनि साहूले धितो लिएका (सुरक्षित) थिएनन् । कम्पनी खारेजीमा जाने भएपछि कम्पनीका अरू साहूले आफ्नो कर्जा सालोमन भन्दा पहिले चुकाउन भने पनि सालोमन सुरक्षित साहू भएकाले उसको प्राथमिकता पहिले आउने भन्ने विषयमा विवाद परेको थियो । विवाद हाउस अफ लर्ड्ससम्म पुग्यो र निर्णय सालोमनको पक्षमा आयो ।
सालोमन मुख्य शेयरधनी, सञ्चालक र सुरक्षित साहू भए पनि यी सबै कार्य अलग-अलग हैसियतमा गरेको हुँदा सालोमनले शेयरधनीका रूपमा सीमित दायित्व वहन र सुरक्षित साहूको प्राथमिकता प्राप्त गर्छ भन्ने मान्यता स्थापित भयो । यसका केही अपवाद पनि छन् । यसलाई कर्पोरेट भाषामा लिफ्टिङ द कर्पोरेट भेल (मखुन्डो उतार्ने सिद्धान्त)भनिन्छ । यस्तै प्रकृतिको अर्को चर्चित मुद्दाको रूपमा जोफ्री लि विरुद्ध लीज एयर फार्मिङ कम्पनी लिमिटेड (सन् १९६०) पनि रहेको छ । त्यस्तै म्याकुर विरुद्ध नर्थन इन्स्योरेन्स कम्पनी लिमिटेडको मुद्दा पनि सीमित दायित्वको सन्दर्भमा चर्चित छ ।
नेपाल कानूनमा 
संसारभर मान्य रहेको सीमित दायित्व सम्बन्धी सिद्धान्त नेपालमा अवलम्बन नहुने कुरै भएन । विक्रम संवत् (विसं) १९९४ सालमा बनेको नेपाल बैंक कानूनको दफा ८ मा कदाचित् बैंकलाई नोक्सान परी लागेको ऋण बैंकको जायजेथाबाट भर्नु भराउनुपर्ने हुन गएमा सो जायजेथाबाट खामेदेखि बाहेक नपुगेको ऋण शेयरवालाहरूले आफ्नो घरघरानाबाट तिर्नुपर्ने छैनभन्ने व्यवस्था भएबाट विसं १९९० आसपासतिर नेपालमा बनेको कम्पनी कानूनमा पनि यस सम्बन्धी व्यवस्था थियो होला भन्ने सहज अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा बनेको नेपालको कम्पनी कानूनमा सीमित दायित्वलाई आत्मसात् गरिएको छ । प्रचलनमा रहेको कम्पनी ऐन २०७३ को दफा ८ मा यस ऐन बमोजिम संस्थापित कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहनेछभन्ने व्यवस्था छ । त्यस्तै धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची ५ मा विवरणपत्रको ढाँचाको अन्तर्गत ६ नम्बरमा सीमित दायित्व सम्बन्धी विवरण बारे उल्लेख हुनुपर्ने व्यवस्था छ ।
डेरी विरुद्ध पिकको मुद्दा 
धितोपत्र सम्बन्धी कानून बमोजिम प्रकाशन हुने विवरणपत्रमा सीमिति दायित्व सम्बन्धी विवरण उल्लेख हुनुपर्ने र कम्पनी ऐनमा शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्ररहने भनेर गरिएको व्यवस्थाको सन्दर्भमा यसलाई बुझ्न बेलायतमा चलेको एउटा मुद्दामा अदालतले दिएको निर्णयलाई आधार बनाउन सकिन्छ । यस मुद्दामा गरिएको निर्णयले सीमित दायित्व मात्र होइन, विवरणपत्रको विश्वसनीयता र त्यसको उपादयेतालाई समेत समेटेको छ । कम्पनीले शेयर जारी गर्दा विवरणपत्रमा गलत विवरण दिनसक्ने र यस्ता विवरणपत्रमा भएको गलत तथ्यबाट आमसर्वसाधारणलाई कुनै मर्का पर्ने भएमा वा परेमा कम्पनी (सञ्चालक) बाट क्षतिपूर्ति भराउन सक्ने आधार पनि दिएको छ ।
डेरी विरुद्ध पिक (सन् १८८९) को मुद्दामा बेलायतको हाउस अफ लर्ड्सले अन्तिम निर्णय दिएको यस मुद्दाको तथ्य यस्तो थियो । गुर्नेनामक कम्पनीले शेयर जारी गर्न प्रकाशित गरेको विवरणपत्रमा त्रुटियुक्त जानकारी भेटेपछि सर हेनरी विलियम पिकले त्यसमा आवेदन गरेनन् । तर, विवरणपत्रको बारेमा जानकारी नभएका वा जानकारी भएर पनि दोस्रो बजारमा बेचिहाल्छु भन्ने सोच राख्नेले भने आवेदन गरे । दोस्रो बजारमा शेयर सूचीकरण भयो । पहिलो बजारमा शेयर नकिनेका पिकले दोस्रो बजारबाट शेयर किने । तर, दुर्भाग्य पिकले शेयर किन्नासाथ कम्पनी खारेजीमा गयो । कम्पनी खारेजीमा जाने भएपछि पिकसँग बाँकी रकम जम्मा गर्न भनियो । तर, पिकले विवरणपत्रमा गलत जानकारी प्रकाशित गरिएको हुँदा आफूले नतिर्ने बताए । यो विषय न्यायिक कठघरामा आयो र हाउस अफ लर्ड्ससम्म पुग्यो । हाउस अफ लर्ड्सका न्यायाधीश लर्ड हाल्सबेरीले पिकले बाँकी रकम तिर्नुपर्ने आदेश दिए । यहाँ स्मरणीय कुरा के छ भने उक्त शेयरको पूरा मूल्य चुक्ता हुन बाँकी रहेको थियो । यही चुक्ता हुन बाँकी रकम भराई पाउन कम्पनी खारेजकर्ता अदालत गएका थिए ।
दोस्रो बजारको हकमा 
शेयर पहिलो बजार (कम्पनी) बाट मात्र किनिँदैन । दोस्रो बजार (स्टक एक्सचेन्ज) बाट पनि किनिन्छ । दोस्रो बजारबाट लिएको शेयरबाट हुने वा भएको घाटाका लागि कम्पनी वा अरू कसैलाई पनि दोषी बनाउन सकिँदैन । शेयर कारोबारमा शेयरधनी आफैँ जिम्मेवार हुनुपर्छ भन्ने मान्यतालाई पनि पिकको मुद्दाले स्थापित गरेको छ । पिकको मुद्दामा स्थापित सिद्धान्तलाई आधार मानेर एउटा कल्पना गरौं । हालै शेयर जारी भएको त्रिशूली जलविद्युत् कम्पनीको शेयरको पूरा मूल्य चुक्ता हुन बाँकी छ । यस्तो अवस्थामा पिकको मुद्दामा झैं त्रिशूली जलविद्युत् कम्पनी खारेजीमा गएमा अहिले कायम सबै शेयरधनीले चुक्ता हुन बाँकी रहेको ९० प्रतिशत रकम चुक्ता गर्नुपर्ने दायित्व हुन्छ । कम्पनी ऐनमा भएको व्यवस्था (शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कबुल गरेको) अनुसार हाल १० प्रतिशत रकम मात्र बुझाएर बाँकी ९० प्रतिशत माग भएका बखत तिर्न कबुल गरिसकेको छ । विवरणपत्रमा पनि यस सम्बन्धमा व्यवस्था उल्लेख गरिएको हुँदा शेयरधनी र कम्पनीबीच करार भइसकेको छ । पिकले झैं बाँकी रकम तिर्दिनँ भनेर उन्मुक्ति पाउन सकिँदैन । सिद्धान्ततः सार्वजनिक जानकारीका लागि प्रकाशन भएको विवरणपत्र सबैले पढेको मानिन्छ ।
अभियान दैनिक, चैत २५, २०७५ 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...