Sunday, October 28, 2018

नामको नियमन

साविक वीरगञ्ज फाइनान्स र हिमचुली विकास बैङ्क तथा नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कमा अरू चार ओटा विकास बैङ्क गाभिएपछि क्रमशः ‘फेडरल डेभलपमेण्ट बैङ्क ’ तथा ‘नेशनल बैङ्क लिमिटेड’ नाम राख्न केन्द्रीय बैङ्क (नेपाल राष्ट्र बैङ्क)ले सहमति दिएन । माथिको यस प्रसङ्गलाई हेर्दा बैङ्क र वित्तीय संस्थाको नामप्रति केन्द्रीय बैङ्क निकै संवेदनशील रहेछ भन्ने देखिन्छ । तर, विद्यमान केही नाम अझ खासगरी ‘घ’ वर्गका लघुवित्तका नाम हेर्दा भने सोचे भन्दा फरक स्थिति देखापर्छ ।

वाणिज्य र विकास बैङ्कका नाम
 
कृषि विकास बैङ्क ऐन २०२४ नामक विशेष कानूनद्वारा संस्थापित ‘कृषि विकास बैङ्क’ अहिले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को मातहतमा आएर वाणिज्य बैङ्कका रूपमा कार्य गर्दा पनि नाम भने जन्मदात्री ऐनकै पालाको धारण गरिरहेको छ । साविक विशेष ऐनले विशेष किसिमको बैङ्किङ गर्न र गराउने उद्देश्य सहित स्थापना गरेको बैङ्कले उद्देश्य नै परिवर्तन गरेर ‘युनिभर्सल’ बैङ्किङ गर्न थालिसकेपछि नाम पनि सोही अनुरूप परिवर्तन गर्नुपर्नेमा त्यसो गरेको छैन । अझ रमाइलो कुरा त ‘ख’ वर्गको बैङ्कले झुण्ड्याउने ‘विकास’ भन्ने फुर्कोले ‘वाणिज्य’ वा ‘विकास’ कुन बैङ्क हो थाहा पाउन समेत गाह्रो भएको छ । मुलुकमा सञ्चालित २८ ओटै वाणिज्य बैङ्कको नाममा एकरूपता छैन । ‘राष्ट्रिय वाणिज्य बैङ्क’ अर्को उदाहरण हो । अन्य कुनै बैङ्कले नजोडेको अङ्ग्रेजी भाषाको ‘कमर्शियल’ भन्ने फुर्को ‘प्राइम’ र ‘सेञ्चुरी’ले मात्र जोडेका छन् । नामको शुरूमै ‘बैङ्क’ राख्ने ‘बैङ्क अफ काठमाण्डू’ हो । अर्थ नै नभएको नाम राख्ने नबिल, एनएमबी, ग्लोबल आईएमई र एनआईसी एशिया बैङ्क हुन् । ‘बैङ्क’ भन्ने शब्द पछि ‘नेपाल’ फुर्को हाल्ने ‘जनता’ र ‘मेगा’ हुन् । दक्षिण भारतको जस्तो नाम राख्ने ‘हिमालयन बैङ्क’ हो । केन्द्रीय बैङ्कले ‘ख’ वर्गका वित्तीय संस्थालाई विकास बैङ्क भनेर वर्गीकरण गरेको छ । विकास बैङ्कका नाममा त्यति असान्दर्भिकता नदेखिए पनि नाम पछि ‘विकास’ र ‘डेभलपमेण्ट’ राखेको देखिन्छ । ‘डेभलपमेण्ट’ राखेर किन अङ्ग्रेजी मोह देखाएका हुन् सञ्चालकहरू नै जानून् ।
वित्त कम्पनीका नाम

फाइनान्स पनि भनिने वित्त कम्पनीका नाम त झन् रङ्गीचङ्गी नै छन् । समस्याग्रस्त ‘क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स’ जस्ता नाम धेरै छन् । यी वित्त कम्पनी हुन् कि धितोपत्र कानून अनुसारको कार्य गर्ने ‘मर्चेण्ट बैङ्क’ हुन् छुट्ट्याउनै गाह्रो पर्छ । मर्चेण्ट बैङ्क र वित्तीय कारोबार गर्ने अनुमति एकै संस्थाले पाउँदैनन् । अनुमति नै नपाउनेले किन ‘मर्चेण्ट बैङ्क’ भन्ने फुर्को हालेका हुन् उनै जानून् | ‘इन्भेष्टमेण्ट’ नाम राख्ने ‘श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स’ हो । अर्थ नै कसैले नबुझेको सङ्क्षिप्त रूपयुक्त नाम ‘आईसीएफसी फाइनान्स’ छ । धितोपत्र कारोबार गराउने स्टक एक्सचेञ्जको जस्तो नाम भएको ‘नेपाल शेयर मार्केटस् एण्ड फाइनान्स’ समस्याग्रस्त अवस्थामा छ । यसको केन्द्रीय कार्यालय रहेको भवनलाई ‘शेयर मार्केट कम्प्लेक्स’ भनिन्छ । धेरै व्यक्तिले यसैलाई ’शेयर मार्केट’ अर्थात् शेयर कारोबार गराउने ‘नेपाल स्टक एक्सचेञ्ज’ नै यही हो भनेर बुझ्ने गरेको पनि पाइन्छ । वास्तविक शेयर कारोबार गराउने ‘शेयर मार्केट’ भने सिंहदरबारको पश्चिम ढोकाअगाडि नेपाल दूरसञ्चार कम्पनीसँगै इच्छुमती खोलाको छेउमा रहेको कमैलाई मात्र अवगत छ ।

लघुवित्तका नाम
 
‘आँखाको नयनको लोचनको नेत्रमा’ भनेजस्तो सप्तरङ्गी नाम लघुवित्तको छ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ जारी हुनु अघि लघुवित्तको नाम वाणिज्य वा विकास बैङ्कको जस्तै पनि थिए । उदाहरणका लागि ‘निर्धन उत्थान बैङ्क ’ र ‘साना किसान विकास बैङ्क’ वाणिज्य र विकास बैङ्कको जस्तै थियो । बैङ्किङ कानूनमा संशोधन पश्चात् पनि लघुवित्तको नाममा उचित सुधार हुन सकेन । लघुवित्तले नाम पछि ‘लघुवित्त वित्तीय संस्था’ भन्ने फुर्को राख्नुपर्ने गरी ऐन संशोधन भएको छ । ऐनको संशोधन पश्चात् नाममा परिवर्तन आएको भए पनि कुनै पनि नाम मीठासयुक्त हुन सकेका छैनन् । उदाहरणका लागि थोक लघुवित्त कारोबार गर्ने साविकको ‘फर्ष्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्क’को नाम पहिले पनि उचित खालको थिएन । किनकि ‘माइक्रोफाइनान्स’ (लघुवित्त) लेखेपछि ‘डेभलपमेण्ट बैङ्क’ (विकास बैङ्क) भन्ने अर्को फुर्को अनावश्यक थियो । यस्तै अनावश्यक फुर्को हटाउने उद्देश्यले गरिएको ऐनको संशोधनले यही कम्पनीको नामलाई ‘फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था’ राख्न अनुमति दिएर ‘झिकी दे गाँड भन्दा थपि दे गाँड’ भने जस्तो भएको छ । शुरूको नामपछि ‘लघुवित्त लिमिटेड’ मात्र राख्न लगाउनुपर्नेमा अनावश्यक फुर्कोले नामको मिठासलाई मार्ने कार्य भएको छ । उदाहरणका लागि ‘फर्ष्ट लघुवित्त लिमिटेड’जस्तै सङ्क्षिप्त नाम राख्दा हुने सरल, सहज र मिठासयुक्त उच्चारणलाई ‘लघुवित्त’ पछि थपिएको ‘वित्तीय’ र ‘संस्था’ दाँतमा ढुंगा लागेझैं हुन्छ । ‘लघुवित्त’ भनिसकेपछि ‘वित्तीय’ फुर्को आवश्यक नै छैन । कम्पनी भनेका स्वतः संस्था हुन् भन्ने जान्दाजान्दै ‘संस्था’ पनि जोड्नुपर्ने अर्को आवश्यकता नै थिएन ।

अबको बाटो
 
नियमन कामको मात्र होइन, नामको पनि हुनुपर्छ । स्पष्ट र एकरूपता भएको नामले मात्र त्यसको क्षेत्रगत स्वभाव जनाउँछ । थरीथरीका नामले त्यसका सेवाग्राहीलाई समेत भ्रमित बनाउँछ । धितोपत्र बोर्डबाट मर्चेण्ट बैङ्किङ गर्न अनुमति प्राप्त ‘नबिल इन्भेष्टमेण्ट बैङ्किङ’ले नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतप्राप्त ‘नेपाल इन्भेष्टमेण्ट बैङ्क’को झल्को दिन्छ । सरकारको एकलौटी स्वामित्वको ‘राष्ट्रिय वाणिज्य बैङ्क’ र बैङ्कहरूको बैङ्क ‘नेपाल राष्ट्र बैङ्क’को नामले धेरैलाई भ्रम पारेको अनुभव पङ्क्तिकारले पनि गरेको छ । पङ्क्तिकारको कार्यालय बालुवाटारमा हुँदा ‘नेपाल राष्ट्र बैङ्क’ खोज्दै आएका व्यक्तिसँग कहिलेकहीँ जम्काभेट हुँदा ‘राष्ट्रिय बैङ्क’ कहाँ छ भनेर सोध्ने धेरै भेटेको थियो । बालुवाटार आएर ‘राष्ट्रिय वाणिज्य बैङ्क’ पक्कै खोजेको होइन, होला ‘राष्ट्र बैङ्क’ हो भनेर प्रतिप्रश्न गर्दा अलमलमा पर्थे । बालुवाटारमा ‘राष्ट्रिय वाणिज्य बैङ्क’ छैन भनेपछि बल्ल ‘राष्ट्र बैङ्क’ नै हो भन्ने बुझ्दा रहेछन् । यस्ता समस्या आउनुको कारण झण्डै झण्डै उस्तै नाम हुनु हो । 

नाममा एकरूपता हुनु जरुरी छ । सबै ‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय संस्थालाई एकै किसिमको नाम राख्न केन्द्रीय बैङ्कले निर्देशन दिनु र नाम राख्नु अघि केन्द्रीय बैङ्कको सहमति लिनु जरुरी छ । अन्य देशमा के छ भनेर हेर्नुभन्दा हामीले आफ्नै पद्धति बनाएर जानु आवश्यक हुन्छ । अर्काले जे गर्यो हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन । आफ्नोपन अर्काले कायम गरिदिने होइन । आफ्नो मौलिकता आफ्नै जस्तो हुनुपर्छ । अक्कल विना अरूको नक्कल गरेर धारणा बनाउँदा ब्रह्माजीले सुन्दर सृष्टि गरेँ भनेर मख्ख परेको ‘उँट’ जस्तो नहोस् । हामीले नाममा पनि नियमन गरेर क्षेत्रगत स्वभाव जनाउने स्पष्ट र अर्थपूर्ण नाम राखेको खण्डमा अरूका लागि अनुकरणीय बन्न सक्छ ।

२०७५ कार्तिक ६ गते अभियान दैनिकमा प्रकाशित 
http://www.abhiyan.com.np/?p=287322

Wednesday, October 24, 2018

अर्थको आध्यात्मिक चिन्तन

शरद्ऋतुको मध्यतिर आइपुगिएको छ । शरद्ऋतु गर्मी र सर्दी मौसमको समाप्ति र शुरुआतको विन्दु हो । शरद्ऋतुसँगै आउने दशैं पर्व पनि शुरू भइसकेको छ । शरद्को याम दशैं पर्व परेर मात्र उल्लासमय भएको होइन । बेँशी र टारमा पहेंलै भएर झुल्ने धानका सुनौला बालाले खेल्ने तरेली र टारकै छेउमा बग्ने सफा कञ्चन नदी, सयपत्री, गोदावरी र मखमलीजस्ता फूल फूल्ने याम पर्ने हुँदा वातावरणलाई मनमोहक बनाएको हुन्छ ।

शक्ति सञ्चय र सम्भार पर्व
 
दशैं शारीरिक शक्ति सञ्चय र घरको उचित मर्मत-सम्भार गरी आयु बढाउने पर्व हो । असारसाउन महीनाको झरीमा भिजेर शारीरिक शक्ति क्षय गर्दै खेती लगाएका कृषकका लागि मङ्सिरमा फेरि टार र बेँशीबाट अनाज भित्र्याउनुपर्ने हुन्छ । वर्षामासको झरीमा रुझेर भिझेर मेहनत गर्दा शारीरिक शक्ति क्षय हुने हुँदा त्यसलाई पुनः सञ्चय गर्न मिष्ठात्र र पोषकयुक्त भोजनले दशैं शारीरिक शक्ति सञ्चय गर्ने पर्व पनि बनेको छ । वर्षाको समयमा बेफुर्सदी हुने हुँदा जीवन बिताउने आश्रय स्थल घरको मर्मत-सम्भार गर्ने समय पनि यही हो । भत्केको ठाउँ टालटुलदेखि लिपपोत रङरोगन आदि गरेर घरको आयुलाई बढाउने कार्य पनि यही बेला हुन्छ । विवाह गरेर गएका चेलीदेखि लिएर धनार्जनका लागि परदेशिएका आफन्तजनको मिलन हुने सुखमय अवसर दशैं वा कुनै विशेष पर्व बाहेक अरू केही हुन्न । भौगोलिक दूरीले टाढा भएका आफन्तजन को मरे को बाँचेका छन् खबर प्राप्त नहुने त्यति बेलाको समयमा दशैं कुशल मङ्गलको सन्देश आदान-प्रदान गर्ने भेटघाटको प्रसङ्ग त झन् अर्को महत्त्वपूर्ण विशेषता हो ।

दशैंको जमघट

दशैंमा विभित्र देवीको उपासना गरिन्छ । यी देवी भनेका को हुन् भन्ने सन्दर्भमा ऋग्वेदमा इला सरस्वती मही तिस्रो देविर्मयोभुवः । बर्हिः सिदन्त्वस्रीधः अर्थात् इला (मातृभाषा), सरस्वती (मातृ सभ्यता र संस्कृति) र मही (मातृभूमि) लाई देवी भनिएको छ । दशैं वा कुनै पनि पर्वले मानवका सांस्कृतिक पक्षलाई प्रतिबिम्बित गर्ने भएकाले यसको महत्व सांस्कृतिक छ । त्यसैले यजुर्वेदमा सा प्रथमा संस्कृतिर्विश्ववाराभनिएको छ । ऋग्वेदमाआनो भद्राः क्रतवो, यन्तु विश्वतःअर्थात् सबैतिरबाट शुभ प्राप्त होस् भन्ने कामना गरिएको सन्दर्भमा दशैं पर्वमा हुने जमघट र भेटघाटलाई जोडेर हेर्न सकिन्छ । अथर्ववेदमा यसरी हुने जमघट र भेटघाटले अन्यो अन्यमभिर्यत’ (एकअर्कासँग प्रेम बढ्छ) भनिएको छ । कुनै पनि जात समुदायले मनाउने पर्वबाट गृहस्थको जीवन ऐश्वर्यसम्पत्र हुने कुरा अथर्ववेदमा सुनृतावन्तः सुभगा इरावन्तो हसामुदाः । अतृष्या अक्षुध्यास्त गृहा मास्मद विभितन ।भनेर व्यक्त गरिएको छ । पर्वमा हुने सामाजिक जमघटले मनोवाञ्छा पूरा हुने कुरालाई यजुर्वेदले अदिनाः स्याम शरदः शतम् । भूयश्च शरदः शतात् ।हामी सय वर्षभन्दा बढी वैभव सम्पत्र भएर सम्मानसाथ बाँचौं भनेको छ । यथा नः इज्जनोनमीवसबैले परस्पर सज्जनताको व्यवहार गरौं भनेर यजुर्वेदले भनेको छ ।पश्च देवस्य काव्यं न ममार न जीर्यतिअर्थात् वेद सबै सत्य विद्यायुक्त पुस्तक भएकाले यसको महत्त्वलाई अथर्ववेदले प्रस्ट्याएको छ ।

शास्त्रमा धनार्जन
 
मानव धनको दास भएकाले जतिखेर पनि धनार्जन गर्ने सोचमा रहेको हुन्छ । धनविना जीवन नचल्ने हुँदा उद्योग पौरखलाई महाभारतमा उद्योगं पुरुषलक्षणम्’ (उद्योग पौरखीको लक्षण हो) भनिएको छ । अजेष्ठासो अकनिष्ठास ऐते संभ्रातरो वावृधुः सौभगाय । युवां पितास्वया रुद्र एषं सुदुधा पृथिवि सुदिना महद्भ्य ।’ (ठूलो वा सानो कोही नभएकाले सबै साथ मिलेर अघि बढ पृथ्वी (भूमि) रक्षक र धनधान्य गराउने माता हुन्) ऋग्वेदमा भनिएको छ । ऋग्वेदले मज्ज्यन्त्य विचेतः’ (ज्ञानविना धोका खाइने) तथा अनुब्रुबाणो अध्येति न स्वपन्’ (अभ्यासबाट सिकिने) बताएको छ । त्यस्तै सबै कुरामा पूर्व ज्ञान नहुने हुँदा नजानेका र नबुझेका कुरा अग्रजबाट सिकेर बुझ्न जान्न सकिने तथ्यलाई यजुर्वेदमा अशिक्षायै प्रश्निनम्भनिएको छ । धनार्जनको बाधा के के हुन् भनेर नारदस्मृतिमा यत्रश्रीर्यौवनं वापि परदारोपि तिष्ठति । तत्र सर्वान्धिता नित्यं मूर्खत्वं चापि जायते’ (जहाँ धन, यौवन र परस्त्री हुन्छ, त्यहाँ सबै अन्धा र मूर्ख हुन्छन्) भनिएको छ । ईश्वरकृत भूमिमा उद्योग लगायत पुरुषार्थ गर्नेलाई ईश्वरले सदा साथ दिने भन्दै ऐतरेय ब्राह्मणले इन्द्र इच्चरतः सखाभनेका छन् । महाभारतमा उत्थानं संयमो दाक्ष्यमप्रमादो धृतिः स्मृति । समीक्षं च समारम्भो विद्धि मूलं भवस्य तुअर्थात् उद्योग, संयम, दक्षता, सावधानी, धैर्य, स्मृति र सोचविचार नै उन्नतिको मूल होभनिएको छ । धनार्जनको बाटोमा हिँड्दा आफ्नो बुद्धिविवेकको बढी उपयोग गर्नुपर्ने तथ्यलाई मनन गराउन ऋग्वेदमा न स्रेधन्तं रयिर्नशतभनिएको छ ।

अर्थ र अध्यात्म
 
अर्थ (धन) विना जीवन अधुरो हुने हुँदा अर्थ अपरिहार्य तत्त्व हो । तर, यसको प्राप्ति सहज नभएकाले धैर्यको खाँचो पर्छ । आजको भोलि नै मनोवाञ्छित धन प्राप्ति हुन्न । कि धन लामो बाटोबाट, कि धन बाख्राको पाठोबाट, कि धन ससुराली पाटोबाट भन्ने उक्ति चलनचल्तीमा छ । मुण्डक उपनिषद्ले बताएकोसत्यमेव जयते नानृतम्को मर्मलाई आत्मसात् गरेर धन प्राप्तिको बाटोमा सत्कर्मका साथ लाग्दा अवश्य लाभ प्राप्त हुन्छ । यजुर्वेदमा भनिएको भद्रं कर्णेभिः श्रणुयामराम्रा कुरा सुनेर (ज्ञान लिएर) कुनै पनि क्षेत्रमा लगानी गर्न सकिन्छ । ऋग्वेदमा भनिएको अचेतनस्य पथः मा विदुक्षः’ (अज्ञानको बाटोमा) लागेर धनार्जन हुन्न । थाहा नभएको र नबुझेको क्षेत्रमा लगानी हाल्दा त्यसबाट पनि लाभ पाउन सकिन्न । अकेतवे केतुं कृण्वन्’ (अज्ञानीलाई ज्ञान) देऊ भनेर ऋग्वेदमा भनिएको छ । ज्ञान मात्र लिएर हुन्न प्रयत्नशील पनि हुनुपर्छ भनेर अथर्ववेदमा सहो रुरोह रोहितःभनिएको छ । पाएको ज्ञानको सदुपयोग गरेर उन्नति गर्नु अवनति हुने कार्य नगर्नु भनेर अथर्ववेदमा नैउद्यानं ते पुरुष नावयानम्भनिएको छ । रमन्त्यां पुण्या लक्ष्मीः’ (इमानदारीपूर्वक आर्जन गरेको धन दिगो हुन्छ) भनेर अथर्ववेदले बताएको छ ।

अन्त्यमा, दशैंको सन्दर्भमा सङ्क्षिप्त रूपमा गरिएको आध्यात्मिक अर्थ चिन्तनको सिलसिलालाई यही टुङ्गोमा पुर्‍याउँदै तैत्तरिय उपनिषद्को ॐ सह ना भवतु सह नौ भुनक्तु सहविर्यं करवावहै, तेजस्वीनावधीतमस्तु मा विदिषावहै । ॐ शान्तिः शान्तिः शान्तिःश्लोकसँगै समस्त पाठक वर्गलाई दशैंको मङ्गलमय शुभकामना अर्पण गर्छु ।

२०७५ आश्विन २९ अभियान दैनिक
http://www.abhiyan.com.np/?p=286601


Thursday, October 11, 2018

सञ्चालक र सञ्चालक समितिका विविध पक्ष

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई भदौ २८ गते गरेको पत्राचारले निकै चर्चा पायो । नेप्सेले भोलिपल्ट भदौ २९ गते कम्पनीका पदाधिकारीलाई किन कारबाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्दै कारोबार स्थगित गरेको सूचना जारी गर्‍यो । नेप्सेलेमूल्य संवेदनशीलसूचना बेलैमा उपलब्ध नगराएकाले स्पष्टीकरण सोधेको थियो । बहुराष्ट्रिय कम्पनी भए पनि नेपालको प्रचलित कम्पनी ऐन अनुसार नेपालमा दर्ता कायम रहेको कम्पनीको सञ्चालक समिति बैठकस्थल देश बाहिर (भारत) उल्लेख गरेको विषयलाई लिएर प्रश्न उठाउने पनि प्रशस्त देखिएका छन् । यस आलेखमा न्यायिक निर्णय सहित उल्लेख गरेर सञ्चालक समितिको बैठकस्थल कहाँ हुनसक्छ भन्ने विषय केलाउने प्रयास गरिएको छ ।

व्यक्तिका रूपमा कम्पनी

कम्पनीलाई कानूनी व्यक्ति भनिन्छ । यसले व्यक्तिसरह कानूनद्वारा निर्दिष्ट गरिएका हकअधिकार उपभोग गर्छ । कम्पनीको सम्बन्धमा सङ्गठित संस्थाको स्थिति कानूनको दृष्टिमा एउटा व्यक्तिसरह भए पनि यस्तो संस्थाका व्यक्तित्व कानूनी परिकल्पनाको एउटा उपज हो । कानूनले सङ्गठित संस्थालाई व्यक्तित्व धारण गराए तापनि आत्मा र शरीर विनाको सङ्गठित संस्थाले प्राकृतिक व्यक्ति सरह आफ्नै स्वेच्छा र विवेकले आफ्नो कामकारबाही निर्धारित गर्न सक्दैन । त्यस्ता संस्थाका लागि संस्थाको नाममा संस्थाका अधिकारप्राप्त प्रतिनिधि वा अभिकर्ताले काम गर्छन् । यथार्थमा काल्पनिक व्यक्तिले आफैले कुनै काम गर्ने प्रश्नै उठ्दैन । सङ्गठित संस्थाले गर्नुपर्ने यस्ता जुनसुकै कामकारबाही पनि सो संस्थाको नाउँमा संस्थाका लागि कानून बमोजिम अधिकारप्राप्त व्यक्ति वा व्यक्तिहरूले गर्नुपर्ने हुन्छभनेर सर्वोच्च अदालतले दुर्गाबहादुर विरुद्ध श्री ५ को सरकार (नेपाल कानून पत्रिका, २०३१, निर्णय नं. ८३४, पृष्ठ १९५) को मुद्दामा बोलेको छ । कम्पनीमा वैयक्तिक तर सामूहिक रूपमा कामकारबाही गर्ने प्राकृतिक व्यक्ति वा समूहलाई सञ्चालक वा सञ्चालक समिति भनिन्छ ।

सञ्चालक समिति गठन 

कानूनद्वारा परिकल्पित व्यक्ति भएकाले यसले गर्नुपर्ने कामकारबाही आफै गर्न सक्दैन । यसमा काम गर्न शरीरधारी प्राकृतिक व्यक्तिको खाँचो पर्छ । यस्ता व्यक्तिलाई सञ्चालक वा सञ्चालक समिति भनिन्छ । सञ्चालकहरू कम्पनी कानूनमा भएको प्रावधान र कम्पनीको प्रबन्धपत्र र नियमावली बमोजिम मनोनीत वा निर्वाचित हुन्छन् । सञ्चालक भनेका कम्पनीको शेयर धारण गरेका शेयरधनीमध्येबाट विभिन्न विधिले नियुक्त, मनोनीत वा निर्वाचित हुने गर्छन् । कम्पनीमा कतिजना सञ्चालक हुन सक्छन् भन्ने विषय कम्पनी कानूनले निर्धारण गर्छ । पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक रहन सक्ने गरी कम्पनी कानूनले तोकिदिएको छ । पब्लिक कम्पनीमा ७ जनासम्म र ७ जनाभन्दा बढी सञ्चालक रहने भएमा क्रमशः १ र २ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्छ । सञ्चालकमध्येबाट छानिएको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ । शेयरधनी वा स्वतन्त्र जुनसुकै विधिबाट चयन भएको सबै सञ्चालकको हैसियत समान हुन्छ र जुनसुकै सञ्चालक अध्यक्षमा पनि चयन हुनसक्छ ।

सञ्चालकको नियुक्ति

कम्पनीको सञ्चालक कसले कसरी नियुक्ति गर्ने भन्ने कुरा कम्पनीको नियमावलीमा उल्लिखित हुन्छ । सामान्यतया सञ्चालकको नियुक्ति संस्थापक, सञ्चालक समिति, साधारणसभा र सङ्गठित संस्थाद्वारा गरिन्छ । कम्पनीको गठन पश्चात् प्रथम वार्षिक साधारणसभा नभएसम्मका लागि सञ्चालकको नियुक्ति संस्थापकहरूद्वारा गरिन्छ । यस्ता सञ्चालकलाई प्रथम सञ्चालक भनिन्छ र पहिलो वार्षिक साधारणसभाले निरन्तरता नदिएमा पदमुक्त हुन्छन् । पब्लिक कम्पनीले कारोबार गर्ने इजाजत पाएको १ वर्षभित्र पहिलो साधारणसभा गर्नुपर्छ । साधारणसभाले निर्वाचित गरेको कुनै सञ्चालकले राजीनामा दिएमा, मृत्यु भएमा, कुनै कसुरमा अदालतबाट दोषी ठहर भएमा वा अन्य कुनै कारणवश पदमुक्त भएमा बाँकी कार्यकालका लागि सञ्चालक समितिले अर्को सञ्चालक मनोनयन गर्न सक्छ । यसरी मनोनयन गर्दा जुन समूहको सञ्चालकको पद रिक्त भएको हो सोही समूहमा मनोनयन गर्नुपर्छ । साधारणसभाले निर्वाचन मार्फत सञ्चालकको नियुक्ति गर्छ । यस्ता सञ्चालकको योग्यता कम्पनी कानून र क्षेत्रगत नियमकले तोकेबमोजिम हुन्छ । कम्पनीको शेयर कुनै अर्को कम्पनीले लिएको भए शेयरको अनुपातमा सञ्चालक पठाउन सक्छ । कम्पनीमा वैकल्पिक सञ्चालक पनि हुन सक्छन् ।

सञ्चालकको बैठक 

कुनै पनि पब्लिक कम्पनी सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा ६ पटक बस्नुपर्छ र एउटा बैठक र अर्को बैठकको अन्तर ३ महीनाभन्दा बढी हुनु हुन्न । सञ्चालक समिति बैठकमा सञ्चालक आफै उपस्थित हुनुपर्छ । ५१ प्रतिशत सञ्चालकको सङ्ख्या नपुगी कुनै बैठक हुन सक्दैन । यसरी बोलाइएको बैठक गणपूरक सङ्ख्या नपुगेमा कम्तीमा ३ दिनको सूचना दिई अर्को बैठक बोलाइएकोमा ५१ प्रतिशत नपुगे पनि बैठक बस्न बाधा पर्दैन । सञ्चालक समितिको बैठकमा निर्णय बहुमतको आधारमा गरिन्छ मत बराबर भएमा अध्यक्ष निर्णायक मत दिन्छ । सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालक, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माइन्यूट) को छुट्टै अभिलेख राखेर उपस्थित सबै सञ्चालकले हस्ताक्षर गर्नुपर्छ । कुनै सञ्चालकले फरक मत राख्न चाहेमा त्यस्तो मत लेखी त्यसको पनि अभिलेखन गर्नुपर्छ ।

विवाद र निर्णय 

नेपालको प्रचलित कम्पनी कानूनले सञ्चालक समितिको बैठक कहाँ बस्नसक्छ वा बस्नुपर्छ भन्ने ठोस व्यवस्था नगरेको सन्दर्भमा कुनै विवाद उठेमा त्यसको निराकरणका लागि बेलायती अदालतले गरेका न्यायिक निर्णयलाई समाएर जानुपर्ने हुन्छ । एउटा मुद्दामा कम्पनीका सञ्चालकहरूको संयोगले भेट भएको स्थानलाई सञ्चालक समितिको बैठक बस्न सक्ने स्थलका रूपमा अदालतले मान्यता दिएको छ । २ जना मात्र सञ्चालक भएको एउटा कम्पनीको सञ्चालक समितिको बैठकमा अर्को सञ्चालक नियुक्त गर्ने भन्ने विषय खोलेर विधिपूर्वक बोलाइएको भए पनि बैठक बोलाइएको स्थलमा अर्का सञ्चालक उपस्थित भएनन् । अर्को सञ्चालक अनुपस्थित सञ्चालकको कक्षतर्फ जाँदा संयोगले दुवैको बाटो (प्यासेज) मा भेट भयो । दुवै त्यही उभिएको बखत अध्यक्ष समेत रहेका सञ्चालकले अर्को सञ्चालक मनोनयन गरेको प्रस्ताव राखे । अर्को सञ्चालकले विरोध गरे पनि प्रस्ताव राख्ने सञ्चालक अध्यक्ष समेत भएकाले निर्णायक मत दिएर प्रस्ताव पारित भएको घोषणा गर्यो । तर, अर्को सञ्चालक सहमत भएन । अदालतसम्म पुगेको विवादको निराकरण गर्दै प्यासेज पनि बैठकस्थल हुनसक्ने निर्णय दिइयो ।

अर्को यस्तै खालको विवादमा सञ्चालकको इच्छा विपरीत बैठक बस्न बाध्य पार्न नसकिने निर्णय दिएको छ । २ जना मात्र सञ्चालक रहेको अर्को एउटा कम्पनीका सञ्चालकबीच बोलचालसमेत थिएन । कम्पनी सुचारू रूपमा सञ्चालन गर्न थप सञ्चालकको आवश्यकता परेको थियो । अध्यक्षसमेत रहेको सञ्चालक र अर्को सञ्चालकको भेट रेलवे स्टेशनमा भयो र अध्यक्ष सञ्चालकले अरू ३ जना सञ्चालकको नाम प्रस्तुत गर्‍यो । तर, अर्को सञ्चालक केही नबोली चुप रह्यो । तर, प्रस्तावक सञ्चालक अध्यक्षसमेत रहेको आधारमा निर्णायक मत दिएर प्रस्ताव पारित भएको घोषणा गर्‍यो । यहाँ पनि विवाद अदालतसम्म पुग्यो । अदालतले सञ्चालकको इच्छाविपरीत बैठक बस्न नसक्ने भन्दै अतिरिक्त सञ्चालकको मनोनयन बदर गर्‍यो ।

यी दुईओटा दृष्टान्तले सञ्चालक समितिको बैठकस्थल जहाँ पनि हुन सक्ने रहेछ । नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीले बैठकस्थल उल्लेख नगर्ने अभ्यास देखिएकोमा युनिलिभरले देशबाहिर (भारत) को नाम उल्लेख गर्दा (राजनीतिकरूपमा) झस्किएको हुनुपर्छ । पत्राचार गर्दा सञ्चालक समितिको बैठकस्थल खुलाउनुपर्छ भन्ने कानूनी व्यवस्था नभएको अवस्थामा नेप्सेमा सूचीकरण भएका कम्पनीले स्थानसमेत खुलाएर बैठकको निर्णय सार्वजनिक गर्नुपर्छ भन्ने व्यवस्था धितोपत्र सूचीकरण विनियमावली २०७५ मा थप गर्नुपर्ने आवश्यकता देखिएको छ ।

२०७५ साल आश्विन २२ अभियान दैनिक
http://www.abhiyan.com.np/?p=284724


Monday, October 8, 2018

नेपाल बैङ्कको एफपीओ र प्रत्याभूतकर्ता

नेपाल बैङ्कले गत असारमा अङ्कित मूल्य रू. १ सयमा प्रिमियम १ सय ८० थप गरी रू. २ सय ८० मा जारी गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ (फरदर पब्लिक अफरिङ) पूर्ण रूपमा विक्री हुन सकेन । जारी हुनुअघि प्रिमियम मूल्यको औचित्य विषयमा विवाद हुँदाहुँदै धितोपत्र बोर्डले स्वीकृति दिएको थियो । अहिले प्रत्याभूतकर्ताले छुट्टै धितोपत्र बजार सिर्जना गरेको भन्ने विषय जोडिएर अर्को विवाद आएको छ ।
प्रतिकूल अनुमति
नेपाल बैङ्कलाई एफपीओ विक्री गर्न दिइएको अनुमति प्रतिकूल समयमा परेको थियो । बजार घट्दो अवस्थामा रहेको बेला सामान्यतया संसारभर कहीँ पनि ठूलो रकमयुक्त निष्कासनलाई अनुमति दिइन्न । उदाहरणका लागि सन् २०१५/१६ मा चिनियाँ शेयरबजारमा निरन्तर गिरावट आउन थालेपछि नयाँ शेयर जारी गर्न रोक लगाइएको थियो । तर, बोर्डले यस्तो कुरालाई विचारै नगरी जे पर्ला भन्ने शैलीमा जुनसुकै बेला शेयर जारी गर्ने अनुमति दिने गरेको छ । एनएमबीले धितोपत्रसम्बन्धी कानून विपरीत शेयर विक्री भइरहेको अवस्थामा आव २०७३/७४ को वार्षिक साधारणसभामा १५ प्रतिशत बोनस लाभांश जारी गर्ने गैरकानूनी घोषणाको 'तुरूप' फालेर शेयर बिकाउन विवरणपत्रमा लेखिएभन्दा बाहिरको दाउपेच लगाउँदा पनि बोर्ड चुपचाप बसिदियो । नेपाल बैङ्कले पनि प्रिमियम रकम उपयोग गरी ३२ प्रतिशतसम्म बोनस शेयर जारी हुनसक्ने भन्दै घुमाउरो पाराले एनएमबीले जस्तै तुरूप हानेको भए पनि आव २०७३/७४ को वार्षिक सभा सम्पन्न भइसकेको हुँदा उधारो तुरूपले कुनै ‘करिश्मा’ देखाउन नसक्दा पर्याप्त आवेदन परेन । नियमानुसार प्रिमियम मूल्यमा जारी हुने यस्ता धितोपत्र पूर्णरूपमा प्रत्याभूत गराइएको थियो । धितोपत्र कानूनमा ‘सङ्गठित संस्थाले सार्वजनिक निष्कासन गरेको धितोपत्र विक्री नभएको अवस्थामा त्यस्तो धितोपत्र खरीद गर्ने गरी धितोपत्र व्यवसायीले गरेको करार सम्झनुपर्छ’ भनेर गरिएको प्रत्याभूतिको परिभाषाले विक्री नभएको धितोपत्र प्रत्याभूतकर्ताले आफूले सकारेको सम्झनुपर्ने हुन्छ । नेपाल बैङ्कको शेयरको हकमा निर्धारित समयावधिभित्र जति कित्ता शेयरका लागि आवेदन प¥यो, त्यति कित्ता शेयर आवेदकलाई रितपूर्वक बाँडफाँट गरी बाँकी रहेको शेयर कित्ता स्वतः प्रत्याभूतकर्तालाई बाँडफाँट गर्नुपर्ने हुन्छ । यस्तो बाँडफाँट सामान्य अवस्थामा गरिएको सरह मान्यता कायम हुन्छ ।
छुट्टै बजार सञ्चालन 
शेयरको विधिपूर्वक बाँडफाँट भएपछि सूचीकरण प्रक्रियामा प्रवेश गर्छ । तर, नेपाल बैङ्कले नियमानुसार साउन महीनाभित्र एक्सचेञ्जमा सूचीकरण गराउनुपर्नेमा यससम्बन्धी कुनै प्रक्रिया शुरू गरेको थिएन भन्ने तथ्य बाँडफाँट भएको २ महीना बित्न लाग्दासमेत नगराउनुले पुष्टि गर्छ । साउनमा एक्सचेञ्ज र बोर्डबीच सूचीकरण विनियमावलीको विषयमा चलेको शीतयुद्धको कारण सूचीकरण हुन नसकेको अवस्थालाई स्वीकार गर्न सकिन्छ । सूचीकरण विनियमावलीको शीतयुद्ध टुङ्गिएर धमाधम सूचीकरण भइरहँदा शेयर सूचीकरण नगराउने नेपाल बैङ्कका पदाधिकारी तथा अधिकारीलाई बोर्डले उन्मुक्तिका लागि अभयदान दिएको छ भन्दा अत्युक्ति हुन्न । बैङ्कको शेयर विक्री बन्द भएपछि अमुक व्यक्ति वा संस्थालाई अमुक कित्ता शेयर सार्वजनिक निष्कासन गर्दा तोकिएको भन्दा कम मूल्यमा बाँडफाँट गरिदिनु भन्ने बेहोराको पत्र निष्कासक कम्पनीलाई प्रत्याभूतकर्ताले पठाएको भन्नेसम्म पनि चर्चा आएको छ । यदि यस्तो कुरा सत्य हो भने तोकिएको न्यूनतम मूल्यभन्दा कम मूल्यमा के र कुन आधारमा प्रत्याभूतकर्ताले शेयर दिन सक्छ ? के प्रत्याभूतकर्तालाई छुट्टै ‘शेयरबजार’ सञ्चालन गर्न पाउने गरी धितोपत्रसम्बन्धी कानूनले छूट दिएको छ ? अनि ती आवेदक विक्री खुला भएको अवधिमा आवेदन नगरेर बन्द भइसकेपछि किन प्रत्याभूतकर्ताकोमा निवेदन लिएर गए ? यदि विक्री बन्द भएपछि नाम पठाइएको हो र निष्कासक कम्पनीले त्यसलाई स्वीकार गरेको हो भने यो एक प्रकारले आफ्नो शेयर आफैले किने (बाई ब्याक) सरह हो । आफ्नो शेयर आफैले किन्न पाइन्छ तर यसका पनि निश्चित शर्त बन्देज रहेका छन् । धितोपत्र कानूनविपरीत गतिविधि भइरहँदा शेयर र शेयर बजारको तालुकी अड्डा स्पष्टीकरणको एउटा खोष्टा सम्प्रेषण गरेर किन उन्मुक्तिको बाटोमा हिँड्न खोज्दै छ ? कानून उल्लङ्घन भएको प्रष्ट भइसकेपछि ‘पहिले थुन अनि सुन’को प्रक्रियामा जानुपर्ने होइन ? ‘दिउँसो दिँदा तेल नखाने, राति कोल चाट्ने’ आवेदकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।
कानूनी प्रावधान 
धितोपत्रसम्बन्धी ऐनले धितोपत्र, यसको कारोबार र बजार सम्बन्धमा के भनेको रहेछ एकपटक त्यसको पनि सङ्क्षिप्त अध्ययन यहाँ सान्दर्भिक हुन्छ । धितोपत्रसम्बन्धी ऐन–२०६३ को दफा ३६(१) र (२) मा धितोपत्र बजार सञ्चालन गर्न ऐनबमोजिम बोर्डबाट अनुमतिपत्र लिनुपर्ने र अनुमतिपत्र प्राप्त नगरी धितोपत्र बजार सञ्चालन गर्न वा धितोपत्र खरीदविक्री वा विनिमय गर्न÷गराउन पाउने छैन र त्यस्तो अनुमतिपत्र प्राप्त नगरी कसैले धितोपत्र बजारको नाम प्रयोग गर्नसमेत हुँदैन भन्ने व्यवस्था गरेको छ । दफा २(झ) मा ‘धितोपत्र बजार’ भन्नाले धितोपत्र खरीदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरीदविक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्झनुपर्छ । सोही ऐनको दफा २(छ) मा ‘धितोपत्र कारोबार’ भन्नाले धितोपत्रको निष्कासन, खरीदविक्री वा विनिमय तथा तत्सम्बन्धी अन्य कार्य सम्झनुपर्छ’ भनेको छ । दफा २(झ) मा ‘सूचीकरण’ भन्नाले धितोपत्र बजारमार्फत धितोपत्रको खरीदविक्री वा विनिमय गर्ने प्रयोजनका लागि धितोपत्र बजारमा गरिने धितोपत्रको सूचीकरण सम्झनुपर्छ ।
यी माथि उल्लिखित कानूनी व्यवस्थाले कहीँकतै पनि प्रत्याभूतकर्तालाई आफै मनखुशी बजार सञ्चालन गर्न सक्ने अधिकार भएको देखिन्न ।
नाम मात्रको मर्चेण्ट बैङ्क 
मर्चेण्ट बैङ्किङ र क्यापिटल नाम राखेर बोर्डले अनुमति दिएका संस्था वास्तविक प्रत्याभूतकर्ता नै होइनन् भन्ने बोर्डलाई ज्ञान नभएको हो कि ज्ञान भएर पनि बुझ पचाएको हो बुझ्न सकिएको छैन । उल्लिखित मर्चेण्ट बैङ्किङ र क्यापिटल भनेको सम्पत्ति व्यवस्थापन कम्पनी वा एसेट म्यानेजमेण्ट कम्पनी (एएमसी) पनि बन्न सकेका छैनन् भन्ने कुरा यिनले गरेको ‘लगानी व्यवस्थापन’ र ‘सामूहिक लगानी कोष (म्युचुअल फण्ड)’ हेरे पुग्छ । यिनको अहिलेको अधिकतम पूँजी २० करोड रहेको छ । यस्ता कम्पनीसँग अन्य सम्पत्ति पनि खास केही नदेखिएको सन्दर्भमा यिनको खुद सम्पत्ति (नेटवर्थ) पनि उल्लेखनीय हुन्न तैपनि धितोपत्र व्यवसायी (मर्चेण्ट बैङ्कर) नियमावली २०६५ (पहिलो संशोधन) को अनुसूची ९(ग) मा अन्तिम लेखापरीक्षण भएको नेटवर्थको ५ गुणासम्म प्रत्याभूत गर्न सक्नेछ भन्ने व्यवस्था के आधारमा राखिएको हो ? जम्माजम्मी २० देखि २५ करोड पूँजीकोष हुनेले कहाँबाट ल्याएर प्रत्याभूत गर्न सक्छन् भनेर यस्तो व्यवस्था गरिएको हो ? जस्तोसुकै परिस्थितिमा शेयर बेच्ने अनुमति दिएको भए पनि नेपाल बैङ्कको शेयरले अब साँच्चीकै मर्चेण्ट स्थापना गर्ने बेला भएको बाटो खोलिदिएको छ । यस्तो कम्पनीले प्रत्याभूतलगायत अन्य बैङ्किङ संस्थालाई परेको बेला ऋण दिनसक्ने र बजार निर्माताको माग भइरहेको बेला यसले बजार निर्माण पनि गर्न सक्ने भएकाले कम्तीमा पनि २० अर्ब चुक्तापूँजी भएको ‘मर्चेण्ट वा इन्भेष्टमेण्ट बैङ्क’को टड्कारो खाँचो अहिले देखिएको छ । यसतर्फ अब नेपाल राष्ट्र बैङ्क, सरकार र धितोपत्र बोर्डले संयुक्त पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

२०७५ आश्विन १५ गते अभियान दैनिकमा प्रकाशित 
http://www.abhiyan.com.np/?p=282832

Thursday, October 4, 2018

कारोबार विनियमका केही पक्ष

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियम २०७५ सँगसँगै धितोपत्र कारोबार सञ्चालन विनियम २०७५ पनि लागू गरेको छ । यी दुवै विनियम झण्डै २५ वर्षपछि सार्वजनिक भएका हुन् । कानून सबैले जानेकै हुनुपर्छ भनेर कानूनले अनुमान गर्छ । तर, जसलाई कानून लागू हुने हो त्यसैले सम्बन्धित कानून देख्न पाउँदैन वा पाएको छैन भने कानून जानेको हुनुपर्छ भन्ने मान्यतालाई कसरी स्वीकार गर्ने ? शेयर कारोबार गर्ने सबैले जान्नुपर्ने कारोबार सम्बन्धी कानून (विनियम) मा के कस्ता व्यवस्था रहेका छन् र यसमा के पुगेको छैन यी आदि विषयको सङ्क्षिप्त समीक्षा गरिएको छ ।

कारोबार प्रणाली र एकाइ

विनियम अनुसार नेप्सेले धितोपत्र खरीद-विक्रीका लागि स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नेछ । कारोबारको कार्यान्वयन मूल्य र समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी (पीटीपी) का आधारमा हुनेछ । पीटीपी प्रणालीले खरीद-विक्री आदेशको प्रशोधन गर्दा खरीदका लागि बढी र विक्रीका लागि कम मूल्य कबोल गर्ने आदेशलाई प्राथमिकता दिने तर आदेश दिइएको मूल्य समान भएमा समयलाई आधार मानी पहिलो आदेशलाई प्राथमिकता दिने व्यवस्था छ । प्रत्येक सदस्य (दलाल, बजार निर्माता वा धितोपत्र व्यापारी) ले कारोबार प्रणालीको माध्यमबाट मात्र धितोपत्र खरीद-विक्री गर्नुपर्नेछ । स्वचालित प्रणालीको शुरुआत नहुन्जेल यस्तो प्रणालीमा ग्राहकको पहुँच हुनेछैन । तर, स्वचालित प्रणालीको शुरुआत पश्चात् भने कारोबार सदस्य (दलाल) ले ग्राहकलाई आदेश प्रविष्ट गर्नसक्ने गरी कारोबार प्रणालीमा पहुँच दिनसक्नेछ ।

नेप्सेले बोर्डको सहमति लिई न्यूनतम कारोबारका लागि एकाइ निर्धारण गर्नसक्छ । विनियम अनुसार (१) अङ्कित मूल्य रू. १० भएमा १ सय कित्ता (उदाहरणार्थ सोल्टी होटल र सामूहिक लगानी कोषका एकाइ) र (२) अङ्कित मूल्य रू. १ सय भएमा १० कित्ता तोकिएको छ । धारकसँग तोकिएभन्दा कम कित्ता भएमा निरन्तर कारोबार सत्रमा मूल्य सीमा परिवर्तन नगरी अडलटकारोबार गर्नसक्छ । तर, अडलट बनाई कारोबार गर्न पाउने छैन ।

आदेश र अग्रिम रकम

दलालले ग्राहकबाट टेलिफोन, मोबाइल फोन, इमेल लगायत अन्य विद्युतीय माध्यमबाट आदेश प्राप्त गर्नुपर्ने र त्यस्तो आदेश अभिलेख राख्नुपर्ने हुन्छ । कारोबार आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने रकमको कम्तीमा २५ प्रतिशत अग्रिम लिनुपर्नेछ । दलालले ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्ने र सम्झौतामा (१) आदेश दिने माध्यम, (२) आदेश प्रविष्टिका लागि प्रयोग गर्ने उपकरणको पहिचान, (३) आदेश प्रविष्टिको सीमा, (४) ग्राहकको निक्षेप खाता तथा बैङ्क खातामा दलालको पहुँच, (५) मार्जिन कारोबार सुविधा उपयोग गर्ने भए सो सम्बन्धी विवरण, (६) कारोबारका लागि आवश्यक धरौटी सम्बन्धी विषय, (७) कारोबारको अन्तिम दायित्व सम्बन्धी विषय, (८) नियन्त्रण बाहिरको परिस्थिति तथा क्षतिपूर्ति सम्बन्धी विषय, (९) ग्राहक कालोसूची वा दामासाहीमा परेको भए सो सम्बन्धी जानकारी, (१०) धितोपत्र रोक्का रहे नरहेको जानकारी, (११) कारोबार प्रणालीको सुरक्षा सम्बन्धी विषय लगायत विषय खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

कारोबार सञ्चालन 

शेयर कारोबारका लागि कारोबार प्रणालीलाई (१) प्रारम्भिक (१०:३० देखि ११ बजेसम्म), (२) बोलकबोल वा निरन्तर (११ बजेदेखि ३ बजेसम्म) र (३) अन्तिम (अपराह्न ३ बजेदेखि ३:०५ बजेसम्म) गरी ३ ओटा सत्रमा बाँडिएको छ । प्रारम्भिक सत्रमा प्रविष्ट भएको आदेशको कार्यान्वयन इकोनोमिक अर्डर क्वाण्टिटी तथा इकोनोमिक अर्डर प्राइसको आधारमा निरन्तर सत्रको कारोबार समय शुरू हुनु अघि कार्यान्वयन हुनेछ । इकोनोमिक अर्डर क्वाण्टिटी तथा इकोनोमिक अर्डर प्राइसभन्नाले निर्धारित समयभित्र प्रविष्ट भएको खरीद र विक्री आदेशलाई गणना गरी माग र आपूर्तिको सिद्धान्त बमोजिम मूल्य निर्धारण गरेर प्रविष्ट भएका सम्पूर्ण आदेशलाई एकैपटक कार्यान्वयन गर्ने प्रणाली हो । निरन्तर सत्रदेखि मूल्य र समय प्राथमिकताको आधारमा आदेश कार्यान्वयन गरिनेछ । अन्तिम सत्रको कारोबार औसत मूल्यमा हुनेछ । औसत मूल्य गणनाका लागि नेप्सेले समय तथा कारोबार सङ्ख्या तोक्न सक्नेछ । निरन्तर र अन्तिम सत्रमा भएका कारोबारको विवरण नेप्सेले वेबसाइट मार्फत उही समय (रियल टाइम) मा सार्वजनिक गर्नेछ ।

मूल्य परिवर्तन सीमा 

प्रारम्भिक र निरन्तर सत्रमा मूल्य प्रविष्ट गर्दा अगिल्लो दिनको अन्तिम मूल्यको क्रमशः ५ प्रतिशत र २ प्रतिशत घटी वा बढी सीमामा रहेर गर्नुपर्नेछ । प्रारम्भिक सत्रमा प्रविष्ट भएको मूल्य कार्यान्वयन भएमा त्यसपछिको कारोबार निरन्तर सत्रको नियम बमोजिम २ प्रतिशत घटी वा बढी प्रणालीमा जान्छ । प्रारम्भिक सत्रमा प्रविष्ट आदेश कार्यान्वयन नभएमा वा सो समयमा कारोबारका लागि आदेश प्रविष्ट नभएका धितोपत्रको कारोबारका लागि निरन्तर सत्रमा मूल्य प्रविष्ट गर्दा अगिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी सीमामा रहेर प्रविष्ट गर्नुपर्छ । कुनै धितोपत्रको कारोबार लगातार १५ दिनसम्म नभएमा त्यसपछि हुने पहिलो कारोबारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुला गर्न सक्नेछ ।

धितोपत्रको सूचीकरण पश्चात् हुने पहिलो कारोबारका लागि आदेशको प्रविष्टि गर्दा उल्लेख हुने मूल्यको सीमा नेप्सेले समय-समयमा तोक्न सक्नेछ ।

सर्किट ब्रेकर 

एक्सचेञ्जले कारोबार शुरू भएको निश्चित समयभित्र सूचकमा हुने बढोत्तरी वा गिरावट नियन्त्रण गर्न सर्किट ब्रेकर लगाएर कारोबारलाई अस्थायी स्थगन गर्न सक्छ । निरन्तर सत्रको कारोबार शुरू भएको (क) १ घण्टाभित्र नेप्से परिसूचक ३ प्रतिशतले घटे वा बढेमा १५ मिनेट, (ख) २ घण्टाभित्र ४ प्रतिशतले घटे वा बढेमा ३० मिनेट र (ग) कुनै पनि समयमा ५ प्रतिशत घटे वा बढेमा पूरै दिनको कारोबार स्थगन हुन्छ । प्रारम्भिक सत्रको कारोबारमा कायम भएको मूल्यमा १० प्रतिशत घटी वा बढी हुने गरी कारोबार हुने छैन । सर्किट ब्रेकर सम्बन्धी व्यवस्था नेप्सेले समय-समयमा परिवर्तन गर्न सक्नेछ ।

केही अस्पष्टता र सुझाव 

१. जानाजान अडलटबनाई कारोबार गर्नेलाई के गर्ने भन्ने सम्बन्धमा केही उल्लेख नभएकाले यस्ता कारोबारीलाई नगद जरीवानाको व्यवस्था गर्नुपर्छ ।

२. दलालले ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्ने भन्ने गोश्वारा व्यवस्थाको सट्टा अनुसूचीमा सम्झौताको फाराम नमूना राखिदिएमा एकरूपता कायम हुन्छ ।

३. कारोबार विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दा कारोबार नं., क्रेता र विक्रेता दलाल उल्लेख हुँदा कारोबारीको गोप्यता भङ्ग हुने भएकाले कित्ता, कम्पनी र दर मात्र उल्लेख गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।

४. सूचीकरण विनियम अनुसार बीतथा जीजेडवर्गमा वर्गीकृत कम्पनीको लागि दैनिक मूल्य परिवर्तन सीमा क्रमशः १० तथा ५ प्रतिशत कायम गर्नु उपयुक्त हुन्छ । प्रारम्भिक सत्रमा पनि बीवर्गका कम्पनीका लागि ५ र जीजेडवर्गका कम्पनीका लागि २ प्रतिशत घटी वा बढी मूल्यसीमा कायम गर्नु उपयुक्त हुन्छ ।

५. अन्तर दिन कारोबार (इण्ट्रा डे) को सन्दर्भमा विनियम मौन रहेकाले यससम्बन्धी व्यवस्था उल्लेख हुनु जरुरी छ ।

६. अनुसूची २ मा दस्तुर, शुल्क, कर आदिमा सदस्य कमिशनलाई विभाजित गरी नेप्सेले लिने २० प्रतिशतलाई छुट्टै देखाउनु आवश्यक छ । क्रमसमेत नमिलेकाले निम्न बमोजिम गर्नुपर्ने देखिन्छ । शेयरको मूल्य, दलाल कमिशन (यसको लगत्तै तलपट्टि नेप्से दस्तुर २० प्रतिशत बापत हुने रकम घटाएर खुद कमिशन भन्ने देखाउनुपर्ने), बोर्ड शुल्क, डीपी शुल्क, पूँजीगत लाभकर र जम्मा प्राप्त र बुझाउनुपर्ने रकम उल्लेख गर्ने व्यवस्था गरिनुपर्छ ।

आर्थिक अभियान दैनिक, आश्विन ८ गते  
http://www.abhiyan.com.np/?p=280892