Showing posts with label बुक क्लोज. Show all posts
Showing posts with label बुक क्लोज. Show all posts

Tuesday, September 22, 2020

समस्या बनेको बुक क्लोज


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले प्रस्ताव गरेको लाभांश (नगद र स्टक) को नेप्सेले मूल्य समायोजन गर्छ । स्टक (बोनस) को मात्रा जति भए पनि अनिवार्य मूल्य समायोजन हुन्छ भने नगदको हकमा बजार मूल्यको १० प्रतिशतभन्दा बढी हुनुपर्छ । कुनै कम्पनीले २० प्रतिशत नगद लाभांश घोषणा गरेमा कम्पनीको शेयर मूल्य १ सय ९९ रुपैयाँ भएमा यो लाभांश बजार मूल्यको १० प्रतिशतभन्दा बढी हुने हुँदा मूल्य समायोजन भएर कारोबारका लागि प्रस्तावित लाभांश २० रुपैयाँ घटाएर १ सय ७९ रुपैयाँ कायम हुन्छ । बजार मूल्य २ सय रुपैयाँ भएमा बजार मूल्यको १० प्रतिशत मात्र हुने हुँदा समायोजन हुँदैन । मूल्य समायोजन साधारणसभा हुनु (कम्तीमा १५ दिन) अघि नै गर्ने गलत अभ्यासले निरन्तरता पाइरहेको छ । यस्तो गलत अभ्यासले ल्याएको समस्याको बारेमा तालुकी निकाय (कम्पनी रजिस्ट्रार, नेप्से र नेपाल धितोपत्र बोर्ड) र शेयरधनी जानकार भए पनि निरन्तरता पाइरहेको छ ।

फरकफरक उदाहरण

साधारणसभाअगावै लाभांशसमेतका लागि बुक क्लोज गर्दा केकस्तो समस्या आइलाग्छन् भन्ने बुझ्नका लागि केही उदाहरण पेश गर्नु श्रेयस्कर हुन्छ । यसले साधारणसभा अगावै बुक क्लोज गर्दा देखापर्न सक्ने सबै सम्भावनालाई समेटेको छ ।

१. मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष (आव) २०६७/६८ मा २५ प्रतिशत नगद लाभांश घोषणा गरेर  २०६८ साल मङ्सिर १६ गते बुक क्लोज र पुस १ गतेको साधारणसभा डाकेको थियो । बुक क्लोज भएको सातापछि केन्द्रीय बैंकले बैंक (मुक्तिनाथ) को २०६७ साल भदौ र असोजमा पूँजीकोष नपुगेको कारण लाभांश रद्द गरिएको जानकारी आएको सूचना सार्वजनिक गर्‍यो ।

२. २०७४ साल भदौ ११ गते तत्कालीन देव विकास बैंक (हाल कुमारी बैंकमा गाभिएको) ले १७ दशमलव १ प्रतिशत स्टक लाभांश घोषणा गर्‍यो र कात्तिक २३ गते बुक क्लोज गर्‍यो र नेप्सेले मूल्य समायोजन गर्‍यो ।

३. २०७६ साल फागुन २० गते सेन्चुरी कमर्शियल बैंकले ४ दशमलव ७५ प्रतिशत नगद र २ प्रतिशत स्टक लाभांश घोषणासहित चैत १४ गते साधारणसभाको मिति तोकी सूचना प्रकाशन गर्यो र फागुन ३० गते बुक क्लोज गर्ने घोषणा गर्‍यो । चैत ११ गतेबाट सरकारले स्थानहद लगाएका कारण साधारणसभा हुनसकेन र आजको मितिसम्म नयाँ मिति घोषणा भएको छैन । बैंकले घोषित नगद लाभांशमध्ये ३ प्रतिशत रकम असार महीनामा अन्तरिम रूपमा शेयरधनीलाई बाँडिसकेको छ ।

४. केही लघुवित्तले जारी गरेको स्टक लाभांशको नेप्सेले मूल्य समायोजन गरी तत् तत् कम्पनीका साधारणसभाले पारित गरिसक्दा पनि नेप्सेमा सूचीकृत भएका छैनन् ।

यी फरकफरक प्रकारका चारओटा परिस्थितिको परिणाम के हुन्थ्यो होला वा भइरहेको छ त्यसको संक्षिप्तमा चर्चा गरौं :

१. पहिलो परिस्थितिको सन्दर्भमा अहिले जस्तो नगद लाभांश पनि समायोजन हुने व्यवस्था प्रचलनमा रहेको भए कम्तीमा ५ दिनसम्म भएको कारोबारको अस्तित्व के हुन्थ्यो होला ? सबै कारोबार रद्द गर्ने पनि सहज थिएन किनकी पुनः विक्री भएको पनि हुन्थ्यो । खोजीखोजी कारोबार रद्द गर्दा कति झन्झट सहनुपर्थ्यो होला । भएका कारोबार यथावत् राख्न पनि मिल्ने स्थिति हुन्नथ्यो किनकि शेयरधनीले लाभांश नपाएको अवस्थामा मूल्य समायोजन हुनु उचित हुन्नथ्यो ।

२. दोस्रो परिस्थितिमा रोचक के थियो भने साधारणसभा आह्वान गरिएको थिएन । साधारणसभा हुने तिथि घोषणा नहुँदै स्टक लाभांशको लागि बुक क्लोज भएको थियो । साधारणसभाको बेलामै लाभांश वितरण गर्ने बुक क्लोज नै उल्टो छ भनिरहेका बेला यहाँ त झन् साधारणसभा हुने समय पत्तो थिएन । बैंकले ७ महीनापछि असारमा साधारणसभा गरेको थियो । ७ महीनापछि भएको सभाले लाभांश प्रस्ताव अस्वीकार गरेको भए (नेपालमा स्टक मोही शेयरधनी भएको हुँदा अस्वीकार हुँदैन) अवस्था के हुन्थ्यो होला ? कात्तिकमा स्टक लाभांशका लागि बुक क्लोज गरेको बैंकले असारअघि पुनः एकपटक हकप्रदका लागि बुक क्लोज गरेको थियो ।

३.  तेस्रो परिस्थिति पनि रोचक नै छ । यो परिस्थिति पनि माथि २ मा उल्लिखित जस्तै छ ।

४.  चौथो परिस्थिति पनि माथिका (२) र (३) जस्तै भए पनि किन फरक छ भने यसमा सभाले प्रस्ताव पारित गरिसकेको छ । नीतिगत कारणले अभिलेख हुनसकेको छैन । यसका कारण सृजित समस्या शेयरधनीले भोगिरहेका छन् । यसो हुनुको कारण कम्पनी रजिस्ट्रार कार्यालयले कम्पनी संस्थापन र शेयर धारण गर्न प्राकृतिक व्यक्ति, विशिष्टीकृत कानूनले संस्थापन गरेको संस्था (जस्तो कर्मचारी सञ्चय कोष) र कम्पनी मात्र योग्य हुने भन्ने नीतिगत व्यवस्था हो । गैर (सरकारी संस्था लघुवित्तमा प्रवद्र्धक रहेका कारण तिनले निर्देशनविपरीत शेयर विनिवेश नगरेका कारण स्टक लाभांशपछि पूँजी वृद्धि अभिलेख नभएका कारण नेप्सेमा सूचीकरण हुनसकेको छैन ।

बुक क्लोज र लाभांशको कानून

कम्पनी सञ्चालन र लाभांशको विषय कम्पनी कानूनको क्षेत्रमा पर्छ । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले ७ दिनको सूचना दिई १ आवभित्र एकपटकमा ३० दिन नबढाई पटक (पटक गरेर बढीमा ४५ दिनसम्म बुक क्लोज अर्थात् शेयरधनीको दाखिला र खारेज बन्द गर्नसक्ने व्यवस्था छ । बुकभनिरहँदा कुन बुकभन्ने परिभाषा नभए पनि शेयधनीको दर्ता किताब सम्झनुपर्छ । यही दर्ता किताब हकप्रद शेयर निर्गमन गर्दा, लाभांश वितरण गर्दा र सभा (साधारण वा विशेष) गर्दा शेयरधनी कायम गर्न बन्द गर्ने गरिन्छ । यही मितिसम्म कायम रहेका शेयरधनी मात्र तत् तत् विषयमा सहभागी हुनसक्छन् । बुक क्लोज हुनुभन्दा अघि शेयरधनी कायम भएपछि शेयर विक्री गरे पनि लाभांश, हकप्रद र सभामा सहभागी हुन् योग्य हुन्छन् ।

त्यस्तै, कम्पनी ऐन, २०६३ दफा १८२ मा लाभांश दिने निर्णय भएको ४५ दिनभित्र लाभांश वितरण गरी सक्नुपर्ने व्यवस्था छ । केही अपवादको स्थितिमा भने यो व्यवस्था लागू हुँदैन ।

बाधारहित कानून

माथि विभिन्न अनुच्छेदमा लाभांशका कारण घटेका र भविष्यमा हुन सक्ने घटनाले गम्भीर समस्या ल्याउनसक्ने सम्भावनालाई टार्न वा नकार्न सकिँदैन । यसका लागि कम्पनीले सभाबाट लाभांश प्रस्ताव (नगद वा स्टक वा दुवै) पारितमात्र गराउनुपर्छ । सभाले लाभांश पारित गरेपछि नगद लाभांश वितरणका लागि भोलिपल्ट ७ दिनको सूचना दिएर बुक क्लोज गर्ने र स्टक लाभांशको हकमा सम्बद्ध निकायबाट अभिलेख वा अन्य आवश्यक कार्य गरेपछि पुनः ७ दिनको सूचना दिई बुक क्लोज गरेर वितरण गर्न सकिन्छ । यति गर्न कुनै पनि हिसाबले कुनै कानूनी बाधा छैन । लाभांश पारित भएपछि ४५ दिनभित्र दिनुपर्छ भन्ने व्यवस्थाको आशय नै सम्बद्ध निकायबाट अभिलेखीकरण वा जेजे गर्नुपर्छ गरेर मात्र दिनु भन्ने हो । यसो गर्दा माथि उल्लिखित गन्जागोलको स्थिति पनि नआउने र शेयरधनीले प्राप्त गर्ने स्टक लाभांश भारित औसतमा गणना गर्न पाउने छन् । यस विषयलाई आगामी साधारणसभादेखि नै कम्पनी आफैले कार्यान्वयन ल्याउन सक्छन् वा एकरूपता गराउन नेप्से, बोर्ड र कम्पनी रजिस्ट्रारले समन्वय गरी उचित कदम चालून् ।

६ असोज २०७७, आर्थिक अभियान 
https://www.abhiyandaily.com/newscategory-detail/374992


Saturday, December 8, 2018

साधारणसभाको बुक क्लोजमा त्रुटि

कम्पनी व्यवसाय गर्ने एउटा स्वरूप वा ढाँचा हो । अहिले संसारभर व्यवसाय गर्ने स्वरूपका रूपमा कम्पनी सर्वाधिक प्रचलित र स्वीकार्य विधि हो । कम्पनी शरीरधारी व्यक्तिको समूहले खडा गरेको कानूनी व्यक्ति हो । कम्पनीलाई कानूनले व्यक्ति सरहको हैसियत दिएको हुन्छ । कम्पनीका जे जस्ता व्यावसायिक गतिविधि हुन्छन्, आबद्ध व्यक्ति (शेयरधनी) को नाममा नभएर कम्पनीको नाममा हुन्छ । कम्पनी आफैले सम्पत्ति किन्न र बेच्न समेत सक्छ । कम्पनीको सम्पत्तिमा शेयरधनीको प्रत्यक्ष हक लाग्दैन । कम्पनी कुनै कारणवश विघटन भएमा सर्वप्रथम कम्पनीका साहू तिरेर बाँकी रहेमा मात्र शेयरधनीको हक लाग्छ । तर, कम्पनीले साहू तिर्दातिर्दै सम्पत्तिले नपुग भएमा शेयरधनीले घर-घरानाबाट ल्याएर तिर्नु पर्दैन । यसलाई शेयरधनीको सीमित दायित्व भनिन्छ । कम्पनीले आर्जन गरेको आम्दानीबाट सबै खर्च र कर तिरेर बाँकी रहेको खुद नाफा मध्येबाट सञ्चालक समितिले निर्णय गरे बमोजिम शेयरधनीलाई वार्षिक रूपमा साधारणसभाबाट पारित गराएर लाभांश बाँडिन्छ । सूचीकृत कम्पनीमा शेयरधनीको आगमन र बहिर्गमन निरन्तर चलिरहने हुँदा लाभांश बाँड्ने प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द गर्नुपर्ने हुन्छ । यसलाई बुक क्लोज, रेकर्ड डेट वा डेट अफ रेकर्ड भनिन्छ । यसरी तोकिएको दिनसम्म कायम शेयरधनीले मात्र कम्पनीले घोषणा गरेको साधारण, विशेष सभा, लाभ वा हकप्रदमा सहभागी हुन पाउँछन् । यो व्यवस्था सामान्यतया सबै कम्पनीका लागि लागू हुन्छ ।

प्रचलित बुक क्लोज
 
कम्पनी मूलतः प्राइभेट र पब्लिक हुन्छन् । यस बाहेक मुनाफा वितरण नगर्ने कम्पनी पनि हुन्छन् । पब्लिक कम्पनी सूचीकृत र असूचीकृत हुन्छन् । प्राइभेट कम्पनी भन्दा बृहद् दायरा हुने पब्लिक मध्ये सूचीकृत कम्पनीलाई धितोपत्र कानून पनि लागू हुन्छ । धितोपत्र कानूनले निर्दिष्ट गरेका थप कानूनी व्यवस्थाको पालना गर्नुपर्ने दायित्व पब्लिक सूचीकृत कम्पनीको हुन्छ । बुक क्लोज सम्बन्धमा दोस्रो बजारमा लगानी गर्ने सधैं अलमलमा परेको देख्न सकिन्छ । (बुक क्लोज सम्बन्धी अन्योल र वास्तविकता, अभियान जेठ १, २०७४) नेपालमा सामान्यतया तीन ओटा प्रयोजनका लागि बुक क्लोज हुने प्रचलन रहेको छ । नेपालको कम्पनी ऐनमा अन्तरिम लाभांश दिन सकिने व्यवस्था भए पनि हाल यसको प्रचलन नदेखिएकाले सामान्यतया वार्षिक साधारणसभाका लागि वर्षमा एकपटक बुक क्लोज हुने गरेको छ । तर, कहिलेकाहीँ साधारणसभा भइसकेपछि पनि प्रबन्धपत्र र नियमावली नै संशोधन गर्नुपर्ने आवश्यकता परेमा हुने विशेष सभाको लागि पनि बुक क्लोज हुने गरेको छ । त्यस्तै हकप्रद शेयर जारी गर्नुपर्दा पनि बुक क्लोज हुने गरेको छ । पहिलो अवस्थाको बुक क्लोज बाहेक बाँकी दुई ओटा बुक क्लोजमा खास कुनै समस्या देखिएको वा देखिएला जस्तो छैन । कम्पनी ऐन अनुसार १ वर्षभित्र एकपटकमा ३० दिन नबढाई बढीमा ४५ दिनसम्म शेयरधनीको दाखिला र खारेज बन्द गर्न सकिने कानूनी व्यवस्था रहेको छ । बुक क्लोज गर्दा कम्तीमा ७ दिनको सूचना दिनुपर्ने कानूनी व्यवस्था छ । बुक क्लोज अवधिमा कुनै पनि शेयरधनीले शेयरधनीको विवरण प्राप्त गर्न सक्दैन । बुक क्लोज नभएको अवस्थामा शेयरधनीले तोकिएको शुल्क तिरेर दर्ता किताबको प्रतिलिपि लिनसक्छ ।

घोडा भन्दा गाडा अघि
 
माथि उल्लेख गरिएको ३ प्रकार वा प्रयोजनका बुक क्लोज मध्ये साधारणसभाका लागि हुने बुक क्लोजमा भने केही असान्दर्भिकता देखिन्छ । साधारणसभामा पेश गरिने लाभांश (जतिसुकै प्रतिशत बोनस वा बुक क्लोज हुँदाको अन्तिम बजार मूल्यको १० प्रतिशत भन्दा बढी नगद) प्रस्तावले सूचीकृत कम्पनीको मूल्य समायोजन गर्नुपर्ने हुन्छ । सञ्चालक समितिले लाभांश सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गरी पारित गरेपछि वितरण गर्न गरि निर्णय गरेका हुन्छन् । नियमन गर्ने निकाय भएमा नियमकले स्वीकृत गरेपछि साधारणसभामा पेश गर्नुपर्छ । साधारणसभाले पारित नगरेसम्म लाभांश सम्बन्धी प्रस्ताव घोषणामै सीमित रहन्छ । कम्पनीको सर्वोच्च अङ्ग भनेको शेयरधनीको सभा (साधारणसभा) हो । सञ्चालकहरूको समूह (सञ्चालक समिति) साधारणसभाले अख्तियारी दिएको हदसम्मको अधिकार उपयोग गर्ने शेयरधनीका प्रतिनिधि मात्र भएकाले कुनै पनि विशेष प्रकारका प्रस्ताव साधारणसभाले पारित गर्नुपर्छ । प्रस्तावित लाभांश (बोनस वा नगद) साधारणसभाले पारित नगरी एक्सचेञ्जले मूल्य समायोजन गर्ने प्रचलन रहेको छ । पारित हुन्छ वा हुन्न भन्ने निश्चित नै नभई मूल्य समायोजन गर्दा कथम साधारणसभाले लाभांश प्रस्ताव अस्वीकार गरेमा (यस्तो नहोला कि भन्ने अनुमान गर्न सकिन्छ) समायोजित मूल्यमा भएको कारोबार र राफसाफलाई के गर्ने भन्ने अन्योल उत्पन्न हुनसक्ने सम्भावना जीवित रहन्छ । मूल्य समायोजन भइसकेको तर बोनस अस्वीकार भएको अवस्थामा एक्सचेञ्ज र कम्पनीको अभिलेखमा फरक-फरक पूँजी देखिँदा सूचक गणनामा समेत त्रुटि हुन्छ । अहिले केही कम्पनीले जारी गरेको विक्री नभएको हकप्रद शेयर लीलामी वा अन्य विधिबाट विक्री नगरेको हुँदा एक्सचेञ्ज र कम्पनीको अभिलेखमा पूँजी फरक परेको देखिएको कारण सूचक गणनामा सामान्य त्रुटि देखिएको छ ।

दुईपटक बुक क्लोज
 
माथिका अनुच्छेदमा गरिएको बुक क्लोज सम्बन्धी चर्चा र साधारणसभाको बुक क्लोजमा देखिएको त्रुटिलाई सच्याउन नसकिने भने हैन । यस बारेमा कारोबार गराउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढी जिम्मेवार हुनुपर्ने हुन्छ । तर, अहिलेसम्म नेप्सेले यस विषयमा सोचेको छ जस्तो देखिँदैन । प्रारम्भिक चरणमा बनेको सूचीकरण विनियमावलीले यस्ता विषय समेट्न नसक्नुलाई उचित मान्न सकिन्छ । तर, अहिले लागू भएको विनियमावलीमा यस्ता सम्भावित विषयलाई सम्बोधन गर्नुपर्नेमा त्यसो गरेको देखिएन । साधारणसभाको बुक क्लोजमा रहेको असान्दर्भिकतालाई हटाउन साधारणसभा अघि र सम्पन्न भइसकेपछि गरी दुईपटक बुक क्लोज गरेमा माथिको अनुच्छेदमा उल्लेख गरिएको सम्भावित समस्याबाट उन्मुक्ति पाउन सकिनेछ । सूचीकृत कम्पनीले लाभांश (नगद वा बोनस) सहित साधारणसभा आह्वान गरेपछि साधारणसभामा उपस्थित हुन्छ, प्रस्ताव पारित गर्न, सञ्चालकका निर्वाचन भए उम्मेदवार हुन र मतदान गर्ने प्रयोजनका लागि अहिले गरेजस्तै गरी बुक क्लोज गर्न सकिन्छ । लाभांशको प्रस्ताव नगरीकन आह्वान गरिएको साधारणसभाका लागि भने सभा आह्वान गरेपछि अहिले गरेजस्तै एकपटक मात्र बुक क्लोज गरे हुन्छ । यस्तो बुक क्लोजसम्म कायम हुने शेयरधनी सभामा उपस्थित भएर प्रस्ताव पारित गर्नेछन् र कथम् सभा रोकिएमा फेरि अर्को सभा बोलाउन सकिन्छ । एक्सचेञ्जमा कारोबार निरन्तर भइरहनेछ । सभाले सबै प्रस्ताव पारित गरेपछि अर्को बुक क्लोज गरेर लाभांश वितरण गर्न सकिन्छ ।

सभा सम्पन्न भएपछि पारित लाभांश वितरणका लागि अर्को बुक क्लोज मिति निर्धारण गर्न सकिन्छ । यस्तो मितिको निर्धारण गर्दा सभा सम्पन्न भएको पहिलो कार्य दिन कारोबार खुल्नु अघि कम्तीमा ५ कार्य दिन कारोबार हुने समय दिएर छैटौं दिन बुक क्लोज गर्ने सकिन्छ । सभा पश्चातको बुक क्लोज हुँदा एक्सचेञ्जले मूल्य समायोजन गर्नेछ । सभा अघिको बुक क्लोजसँग दोस्रो बुक क्लोजको कुनै सम्बन्ध हुने छैन । यसो गरेको खण्डमा गोरुभन्दा गाडा अगाडिजस्तो साधारणसभाको असान्दर्भिक बुक क्लोजमा रहेको त्रुटि समाधान हुनेछ । यसका लागि नेप्सेले अविलम्ब सूचीकरण विनियमावली संशोधन गरी नयाँ व्यवस्था थप्नु आवश्यक छ ।

२०७५ मंगसिर १७ गते अभियान दैनिकमा प्रकाशित 
http://www.abhiyan.com.np/?p=297195

Saturday, August 26, 2017

बुक क्लोज सम्बन्धि अन्योल र वास्तविकता

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएका कम्पनीमा शेयरधनीको आगमन र बहिर्गमनसँगै शेयरधनी लगतमा दर्ता र खारेजी गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ । बिक्रीकर्ता शेयरधनीको नामबाट क्रेता शेयरधनीको नाममा शेयर नामसारी भई नयाँ लगत बनिरहेको हुन्छ । शेयरधनीको लगत दर्ता र खारेजी गर्ने कार्य विशेष अवस्थामा बन्द पनि गरिन्छ । यसलाई शेयरधनी दर्ता पुस्तिका बन्दवा प्रचलित भाषामा बुक क्लोजभनिन्छ ।


बुक क्लोज सम्बन्धि कानुन

कम्पमी ऐनमा दर्ता किताब को परिभाषा गरिएको छैन । अमुक दफा बमोजिम खडा गरिएको शेयरधनी वा डिवेन्चरवालाको दर्ता किताब सम्झनुपर्छ भनेको छ । कम्पनीले तोकिएको ढाँचामा शेयरधनी र डिवेन्चरवालाको दर्ता किताब खडा गरि कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नुपर्ने व्यवस्था छ । शेयरधनीको दर्ता किताबमा शेयरको क्रमसंख्या अनुसार प्रत्येक शेयरधनीको सम्बन्धमा (१) शेयरधनीको पुरा नाम र ठेगाना,(२) लिएको शेयर संख्या, (३) शेयर वापत चुक्ता गरेको जम्मा रकम र चुक्ता गर्न बाँकी रकम, (४) शेयरधनीको रुपमा निजको नाम दर्ता भएको मिति, (५) शेयरधनीको नाम खारेज भएको मिति र (६) शेषपछी शेयरमा हक लाग्ने कुनै व्यक्तिलाई इच्छाइएको भए त्यस्तो व्यक्तिको नाम र ठेगाना खुलाउनुपर्ने व्यवस्था छ । त्यस्तै डिवेन्चरवालाको दर्ता किताबमा पनि शेयरधनीको दर्ता किताबमा हुने सरहको व्यहोरा सहितको विवरण राख्नुपर्ने व्यवस्था छ ।

यसरी खडा गरिएको दर्ता किताब शेयरधनीले निरीक्षण गर्न चाहेमा दिनुपर्छ । पब्लिक कम्पनीले राष्ट्रियस्तरको पत्रिकामा सात दिन अघि सूचना प्रकाशन गरि वर्षभरिमा ४५ दिन नबढाई एकपटकमा ३० दिनसम्म दर्ता किताबको निरीक्षण बन्द गर्नसक्छ । शेयरधनीले दर्ता किताबको प्रतिलिपि लिन चाहेमा दर्ता किताब बन्द गरिएको अवस्थामा बाहेक तोकिए  बमोजिमको दस्तुर लिई प्रतिलिपि दिनुपर्छ ।

लगानीकर्ताहरु बुक क्लोज सम्बन्धमा संधै अलमलमा परेको देखिन्छ । बुक क्लोज सम्बन्धि सैद्धान्तिक पक्षको जानकारी नहुँदा लगानीको सहि उपयोग गर्न सकिन्न । बुक क्लोज हुने मुख्यतः तीनवटा घटना हुन्छन ।

वार्षिक साधारणसभा

कुनै पनि कम्पनीले आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । वार्षिक साधारणसभा शेयरधनीहरुको वार्षिक भेला, वैधानिक प्रावधान र सर्वोच्च अंग पनि हो । साधारणसभाले अख्तियारी दिएको सीमाभित्र रहेर संचालक समितिले कम्पनी संचालन गर्छ । वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लाभांश, संचालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पेश हुन्छ । यस्ता सभामा सकेसम्म शेयरधनी आफैँ उपस्थित हुनुपर्छ र उपस्थित हुन नसक्ने भएमा अर्को शेयरधनीलाई आफ्नो प्रतिनिधि (प्रोक्सी) तोक्न सक्छन । प्रोक्सी मार्फत भएको उपस्थितिलाई पनि आफैँ उपस्थिति भए सरह मान्यता दिइन्छ ।

स्टक एक्सचेन्जमा सूचिकृत भएका कम्पनीका शेयर दैनिक खरिदविक्री हुन्छ । यसरी दैनिक खरिदविक्री हुने भएकोले कम्पनीले साधारणसभा प्रयोजनको लागि कुनै एउटा निश्चित दिन तोकेर शेयरधनीको दर्ता र खारेजी गर्ने कार्यको लागि बुक क्लोज गर्ने गर्छन । साधारणसभाको लागि कम्तिमा २१ दिन अगाडी शेयरधनीहरुलाई सभा हुने स्थान, मिति, छलफल हुने विषय समेत खोली व्यक्तिगतरुपमा दिईर सोहि व्यहोरा खोली राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तिमा दुईपटक सूचना प्रकाशन गर्नुपर्छ । यस्ता सूचनामा बुक क्लोज हुने सम्बन्धि सूचना समेत खोल्नुपर्छ । उदाहरणको लागि कुनै कम्पनीले पौष महिनाको २५ गते साधारणसभा गर्ने भएमा सोहि पौष महिनाको ४ गते सूचना प्रकाशन गर्नुपर्छ । यहि सूचनामा सोहि पौष महिनाको १२ गतेबाट साधारणसभा हुने दिन  पौष २५ गतेसम्म  बुक क्लोज रहने कुराको पनि जानकारी दिनुपर्छ । यो सूचना अनुसार यस कम्पनीको पौष ११ गतेसम्म शेयर किन्नेले मात्र साधारणसभामा भाग लिन र लाभांशमा सहभागी हुन् पाउँछन् । पौष १२ गतेदेखि किन्नेले पाउँदैनन् । बुक क्लोज गर्नुको सैद्धान्तिक कारण साधारणसभा हुने दिनको लागि शेयरधनी यकीन गर्नु हो । बुक क्लोजको अवधिमा पनि शेयर किनबेच भने निरन्तर हुनसक्छ ।

विशेष साधारणसभा

बुक क्लोज विशेष साधारणसभा प्रयोजनको लागि पनि हुन्छ । कम्पनीले वार्षिक साधारणसभा गरिसकेपछी कुनै विषयमा निर्णय नगरी नहुने भएमा यस्ता सभा आव्हान गर्ने गर्छन । विशेष साधारणसभाको लागि भने कम्तिमा १५ दिन अघि सूचना प्रकाशन गर्नुपर्छ । विशेष साधारणसभा हकप्रद शेयर जारी गर्ने, गाभ्ने गाभिने वा विलय, शेयर सरंचना परिवर्तन लगायत प्रवन्धपत्र नियमावली संशोधन हुने लगायतका विषय समावेश हुन्छ । यस्ता सभा कम्पनी आफैँ र कम्पनी कानुन अनुसार तोकिएका अवस्थामा बोलाइन्छ ।

लगानीकर्ता सबभन्दा बढी अलमलमा पर्ने यस्तै विशेष साधारणसभा हुन् । उदाहरणको लागि कुनै कम्पनीले पौष महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरिसकेको रहेछ र चैत्र महिनामा हकप्रद जारी गर्ने सम्बन्धि निर्णय संचालक समितिले गरेमा यसलाई शेयरधनीको सभाले पारित गर्नुपर्ने भएकोले विशेष साधारणसभा बोलाउनुपर्छ । यस्ता सभाका लागि हुने बुक क्लोजलाई नै हकप्रद भर्ने समय तोकियो भनेर हतार-हतार शेयर किनिरहेका हुन्छन । तर वास्तवमा यो दिन हकप्रद भर्न कायम शेयरधनी यकीन गर्न बुक क्लोज गरिएको हुन्न । बुझ्नुपर्ने चुरो कुरो यहि हो । यो बुक क्लोज विशेष साधारणसभाको लागि हो । सभाले निर्णय पारित गरेपछि पनि त्यसलाई कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेख गर्ने, आवश्यकता अनुसार क्रेडिट रेटिंग गर्ने र अन्तमा धितोपत्र वोर्डबाट स्वीकृति लिन अझ धेरै समय बाँकी नै हुन्छ ।

हकप्रद बिक्री

माथि उल्लेखित दुई अवस्था बाहेक अर्को एउटा समय पनि छ । यो समय भनेको कुनै कम्पनीले हकप्रद प्रस्ताव पारित गरि सम्वद्ध निकायबाट स्वीकृत लिएपछि हकप्रद विक्रीको  लागि शेयरधनी कायम गर्नको लागि एक दिन बुक क्लोज मिति घोषणा गरिन्छ । जस्तो कुनै कम्पनीले हकप्रद जारी गर्न स्वीकृत पाएपछि जेष्ठको ११ गते एकदिन बुक क्लोज हुने सूचना सात दिन अघि जेष्ठ ३ प्रकाशन गर्छ । बुक क्लोज हुने भनिएको अगिल्लो दिन जेष्ठ १० गतेसम्म स्टक एक्सचेन्जबाट शेयर किन्ने व्यक्ति मात्र हकप्रद लिन योग्य हुन्छ र त्यसपछि किन्ने व्यक्ति योग्य हुन्न । लगानीकर्ताले नबुझी नहुने एउटा महत्वपूर्ण बुक क्लोज यो पनि हो ।

यसबाहेक म्युचुअल फण्डका इकाई पनि नेप्सेमा खरिदबिक्री हुने भएकोले यसको व्यवस्थापकले लाभांश वितरणको लागि  इकाईधनी कायम गर्न सात दिनको सूचना दिएर एक दिन बुक क्लोज गर्छन । यस्ता फण्डले साधारणसभा भने गर्नुपर्दैन ।

शेयरमा सजिलै लगानी हुन्न । शेयरबजार सम्बन्धि यस्ता र अन्य धेरै प्राविधिक शब्दावलीहरुको राम्रो ज्ञान  राख्नुर्छ। कम्पनीले दिने सूचनामा लगानीकर्ता सदा सचेत हुनुपर्छ । स्टक एक्सचेन्ज र धितोपत्र वोर्डको सूचना प्रणाली अत्यन्त कम्जोर छ । शेयरधनीले सरल र सहजरुपमा सूचनाहरु पाउन सक्ने अवस्था अग्रपंक्तिको नियमक स्टक एक्सचेन्जले गराउन सकेको छैन । स्टक एक्सचेन्ज आफैँ जिम्मेवार बन्न नसकेकोले कम्पनीलाई जिम्मेवार बनाउन सकिने अवस्था हुन्न । यसको लागि धितोपत्र वोर्डले स्टक एक्सचेन्जलाई जिम्मेवार बनाई लगानीकर्ता हितको लागि कार्य गराउन आवश्यक छ । वोर्डले पनि सूचना नदिने वा सूचना चुहाउनेलाई गम्भीर फौजदारी अभियोगसम्म लगाउन पछी पर्नु हुन्न । 

आर्थिक अभियान दैनिकमा २०७४ जेष्ठ १ गते प्रकाशित 
http://www.abhiyan.com.np/?p=139512



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...