Saturday, May 26, 2018

लाभकर कि कारोबार कर

शेयर कारोबारमा कस्तो कर लगाउने भन्ने बहसको शुरुआत भएको छ । कुनै पनि कर प्रणाली लागू गर्नु अघि यस्ता बहस र छलफल हुनु नितान्त जरुरी हुन्छ । धितोपत्र दलाल सङ्घले केही समयअघि शेयर कारोबारमा लगाइने करप्रणालीमा सुधार गर्न सल्लाह दिएर उचित कार्यको थालनी गरेको छ ।

विद्यमान अवस्था
 
शेयर कारोबारमा दलाल कमिशनका अतिरिक्त धितोपत्र बोर्ड (सेबोन) र डीपी शुल्क तथा नाफा भएमा पूँजीगत लाभकर तिर्नुपर्छ । कारोबार रकमको शून्य दशमलव ४ देखि शून्य दशमलव ६ सम्म कमिशन दर तोकिएको छ । सेबोन र डीपी शुल्क क्रमशः शून्य दशमलव शून्य १५ र रू. २५ तोकिएको छ । एकै दिन एकै कम्पनीको जतिपटक शेयर किने पनि बेचे पनि डीपी शुल्क रू. २५ मात्र लाग्छ । तर, फरकफरक कम्पनीको शेयर किन्दा र बेच्दा कारोबारैपिच्छे रू. २५ तिर्नुपर्ने हुन्छ । शेयर बेचेर नाफा आर्जन गरेमा आर्जित नाफामा किन्दा बेच्दाको कमिशन, डीपी शुल्क, सेबोन शुल्क कटाएर बाँकी रहेको खुद नाफा रकममा प्राकृतिक व्यक्ति र संस्थाले क्रमशः ५ र १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । संस्थाका लागि अग्रिम कर मानिने लाभकर व्यक्तिका लागि अन्तिम कि अग्रिम भन्ने विवाद कायम रहेको छ ।

कमिशन, दस्तुर र कर निर्धारक
 
शेयरबजारको नियामक धितोपत्र बोर्डले दलाल कमिशन तोक्ने र समयानुकूल परिवर्तन गर्ने गर्छ । पूँजीगत लाभकर निर्धारण नेपाल सरकारले गर्छ । तोकिएका शुल्क, दस्तुर, कर तिर्नु लगानीकर्ताको कर्तव्य हो । लगानीकर्ताले १ लाखको कारोबार गर्दा दलाल कमिशन रू. ५ सय ५०, डीपी शुल्क २५ र सेबोन शुल्क रू. १५ गरी ५ सय ९० र नाफा भएमा सबै खर्च कटाएर भएको खुद नाफाको गणना गरी व्यक्ति र संस्थाले क्रमशः ५ र १० प्रतिशत लाभकरसमेत तिर्नुपर्छ । दलाल कमिशनबाट नेप्से र बोर्डले क्रमशः २० र शून्य दशमलव शून्य ६ प्रतिशत लिने गरेका छन् ।

लाभकर गणना विधि
 
लाभकरको गणना गर्दा प्राप्त गरिएको शेयर मूल्यको आधारमा गरिन्छ । जुन प्रकारले शेयर प्राप्ति गरिएको छ सोही मूल्यअनुसार लाभकर गणना गरिन्छ । प्राथमिक शेयरको लागि परल मूल्य रू. १ सय र म्युचुअल फण्ड एकाइको लागि रू. १० लाई आधार मूल्य मानिन्छ । कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गरेको अवस्थामा परल र प्रिमियम मूल्यको योगलाई आधार मूल्य मानिन्छ । परल मूल्यभन्दा बढी मूल्यमा विक्री गर्दा दलाल कमिशन, अन्य शुल्क कटाएर पूँजीगत लाभकरका लागि योग्य रकम हिसाब गरिन्छ । हकप्रद र बोनस शेयरका लागि अर्थ मन्त्रालयले तोकिदिएको सूत्रको आधारमा बूक क्लोजपछिको पहिलो दिन ‘बेस प्राइस’ (आधार मूल्य) तोकिन्छ । यो मूल्य अर्कोपटक हकप्रद र बोनस शेयर जारी नहुँदासम्म कायम रहन्छ । दोस्रो बजारबाट खरीद गरिएको शेयरका लागि भने किन्दा र बेच्दाको मूल्य अन्तरलाई लाभकर प्रयोजनको लागि करयोग्य रकम निर्धारण गरिन्छ ।

लाभकर गणनामा अन्योल
 
वर्तमान कारोबार प्रणालीमा प्राथमिक र दोस्रो बजारबाट किनेको शेयरको आधार मूल्य गणना गर्न कुनै जटिलता छैन । तर, हकप्रद र बोनस शेयरको आधार मूल्य गणनामा अन्योल रहेको छ । निकट भविष्यमा अनलाइन कारोबार प्रणालीमा गएपछि प्राथमिक र दोस्रो बजारबाट किनेको शेयरमा पनि लाभकर गणनामा जटिलता थपिनेछ । हिताग्राहीको अभौतिक खातामा एकमुष्ट कित्ता देखिने भएकाले विक्रेताले यति कित्ता भनी विक्री आदेश दिने गरेका छन् । विक्री भइसकेपछि राफसाफ सदस्य (क्लियरिङ मेम्बर) आफैले ट्राञ्जेक्शन हिष्ट्री (शेयर प्राप्त भएको विधि) हेरी आधार मूल्य लगाई पूँजीगत लाभकर गणना गरिदिएका छन् । विद्यमान कारोबार प्रणालीमा राफसाफ सदस्यले कर गणनाका लागि आधार मूल्य लगाउँदा आफैले औचित्यका आधारमा लगाउने हुँदा अहिले जेनतेन लाभकर गणना भइरहेको छ । महालेखाले समेत लाभकर छली भएको भनेर प्रतिवेदन दिएको अवस्थामा अबका दिनमा यसलाई यथार्थ र तथ्यगत बनाउन पर्ने भएको छ ।

मलेपको कैफियत
 
महालेखा परीक्षक (मलेप) को प्रतिवेदन २०७४ मा ‘आयकर ऐन २०५८ को दफा ९५क(२) मा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने, लाभ गणना गर्ने प्रयोजनका लागि बूक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद शेयरको अनुपातले समायोजन गरी औसत गणना गरेर आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यको अङ्कमा खर्च छूट दिने अर्थमन्त्रीस्तरबाट २०६५ मङ्सिर २२ गते निर्णय भएको, यो व्यवस्था पूँजीगत लाभकर निर्धारण गर्ने अर्को व्यवस्था नभएसम्मका लागि लागू भएको, आयकर ऐन २०५८ को दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टी गर्न मिल्ने व्यवस्थाअनुकूल नदेखिने, शेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा बढी लागत खर्च दाबी हुने गरेको छ’ भनिएको छ । मलेपले हकप्रद एवम् बोनस शेयरको सन्दर्भमा कैफियत लेखिसकेको अवस्थामा अनलाइन कारोबार प्रणाली शुरू भइसकेपछि यो जटिलता अझ बढी हरेक वर्ष यसरी नै लेख्दै जाँदा अङ्क बढ्दै जानेछ । यसको निराकरणका लागि अहिले नै पहल गरेर हटाउन लाग्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

विकल्प कारोबार कर
 
मलेपले लाभकर सम्बन्धमा कैफियत देखाएको विषय माथि उल्लेख भइसकेको सन्दर्भ र शेयर कारोबार स्वचालित अनलाइन प्रणालीमा गएपछि स्वाभाविक रूपमा आउन सक्ने समस्यालाई टार्नका लागि अहिलेदेखि नै तयारीमा जुट्नुपर्ने हुन्छ । केही दिनमा आर्थिक वर्ष २०७५ र ७६ को वार्षिक बजेट प्रस्तुत हुन लागेकाले बजेट वक्तव्यमा यसलाई सम्बोधन गराई सम्भावित विकल्पको रुपमा कारोबार कर लगाउन पहल गर्नु आवश्यक छ ।

कारोबार करप्रणालीले कर गणनामा सहजता ल्याउने हुँदा यस्तो प्रकारको कर प्रणाली अवलम्बन संसारभर भएको देख्न सकिन्छ । कारोबार करमा गएपछि पारदर्शिता र समयमा सरकारले कर प्राप्त गर्न सक्छ । यस्तो कर कारोबार सम्पन्न हुनासाथ निर्धारित हुन्छ । गैरभुक्तानी र गलत भुक्तानीजस्ता समस्या निराकरण गर्न सघाउ समेत पुर्‍याउने हुँदा कर छली वा चुहावट समेत रोक्न सकिन्छ । अनौपचारिक तथ्याङ्कअनुसार कारोबार करप्रणालीले लाभकर प्रणालीभन्दा बढी रकम योगदान दिन सक्छ । भारतमा सन् २००४ मा तत्कालीन अर्थमन्त्री पी.चिदम्बरम्ले कर छली रोक्न शेयर कारोबारमा यस्तो करको शुरुआत गरेको थिए ।

सन् १९३६ मा बेलायती अर्थशास्त्री जोन मिनार्ड किन्सले पहिलोपटक यस्तो कर प्रणालीको प्रस्ताव गरेका थिए । सम्भवतः यसपछि नै यस प्रकारको करप्रणाली अस्तित्वमा आउने बाटो खुलेको अनुमान गर्न सकिन्छ । अमेरिकी स्टक मार्केटमा हुने गरेको स्पेकुलेशनलाई रोक्नका लागि किन्सले यस्तो प्रकारको करप्रणाली प्रस्ताव गरेका थिए । उनले यसो गर्दा सट्टाबाजी गर्नेको वर्चस्व कम हुनेतर्फ सङ्केत गरेका थिए ।

अन्त्यमा, देशले धितोपत्र र धितोपत्रबजारसम्बन्धी विषयका समेत विज्ञ अर्थमन्त्री पाएको बेला ढिला नगरीकन दलाल सङ्घले गरेको शुरुआतलाई बोर्डले आफ्नो जिम्मामा लिई सम्बद्ध क्षेत्रका रूपमा रहेका नेप्से, केन्द्रीय निक्षेपक, बजार अध्ययनकर्ता, करका विज्ञ, चार्टड एकाउण्टेण्ट र लगानीकर्ता समेतसँग बृहद् मन्थन गरी कर प्रशासनलाई सुझाव दिनुपर्ने आवश्यकता देखिएको छ । साथै यसलाई व्यक्तिका हकमा अन्तिम कर मान्नुपर्ने समेत आवश्यकता रहेको छ ।

अभियान दैनिकमा २०७५ जेष्ठ ७ गते प्रकाशित 
http://www.abhiyan.com.np/2018/05/21/205762

Sunday, May 20, 2018

महालेखा परीक्षकले नबुझेको हकप्रद शेयर

‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भन्ने उखान शेयरबजारमा ठ्याक्कै मेल खाएको छ । पूँजीबजारकै नियामक बजारप्रति सकारात्मक नदेखिएका बेला महालेखा परीक्षक (मलेप) ले पनि प्रहार गर्नु बेजोड सङ्गम हो । दलालप्रति नकारात्मक बनेको मलेप यस पटकदेखि भने लगानीकर्ताप्रति पनि नकारात्मक बनेको छ । मलेपको ५५औं वार्षिक प्रतिवेदन, २०७४ मा पूँजीबजारलाई लक्षित गरिएको टिप्पणीप्रति सबैको ध्यानाकर्षण भएको छ ।

प्रतिवेदनमा पूँजीबजार

‘पूँजीबजारका पूर्वाधारहरूको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पूँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति लिने तथा उत्पादनशील क्षेत्रमा लगानीका लागि पूँजीबजारले लगानी तथा बचत अभिवृद्धि गराई आर्थिक वृद्धि हुने अवस्थामा पु¥याउँछ’ भन्दै पूँजीबजारबाट हुने सम्भावित लाभको उजागर गरिएको छ । त्यस्तै ‘कर्पोरेट पेपर तथा ऋणपत्रले बजार प्रवेश नपाएको, पूँजीबजारले सर्वसाधारण तथा साना लगानीकर्तालाई लाभ पुर्याउने र आर्थिक विकासमा सहभागी हुने केही मौका प्रदान गरेको’ उल्लेख गरी कमी र सहभागीता पक्षको चर्चा गरिएको छ । ‘धितोपत्रमा लगानीसम्बन्धी शिक्षा दिने प्रक्रियाको थालनी भएको, सूचीकृत कम्पनीको सङ्ख्या न्यून भएको, उत्पादनमूलक लगायत बहुसङ्ख्यक कम्पनीले धितोपत्र निष्कासन नगरेको, केही म्युचुअल फण्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र कारोबार अधिकांश काठमाडौंमा सीमित रहेको, निश्चित सङ्ख्यामा रहेका धितोपत्र दलालको उपस्थितिले लागत घटाउन नसकिएको र निजीक्षेत्रलाई भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायले बनाउन नसकेको’ भन्दै आगामी दिनमा पूँजीबजार विस्तार र वृद्धिको लागि कदम चाल्न सूची नै बनाइदिएको छ । त्यस्तै ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गरी पूँजीबजारको दायरा र आकार वृद्धि गराउन’ जरुरी भएको आवश्यकतालाई ब्यूँझाइदिएको छ ।

प्रतिवेदनमा मूअक

प्रतिवेदनमा धितोपत्र बजारलाई सकारात्मक रूपमा लिएको भए पनि मूअकको प्रश्न उठाएर अबुझपना, अदूरदर्शी सोच र कार्यशैली छताछुल्ल पारेको छ । ‘धितोपत्र बजारमा हुने कारोबार वित्तीय क्षेत्रभित्र पर्छ भन्ने विषयलाई प्रतिवेदनले राम्रैसँग बुझेर पनि पुनः मूल्य अभिवृद्धि कर ऐन र नियमावलीका दफा तथा नियम उल्लेख गरेर धितोपत्रको मध्यस्थकर्ता सेवा प्रदान गर्ने करदाता (धितोपत्र दलाल) ले सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्ने दलाली कमिशनमा मूअक छूट दिएको देखिँदैन’ भन्दै असुल हुनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेको छ ।

हकप्रद र बोनसको प्रसङ्ग 

प्रतिवेदनमा ‘आयकर ऐन, २०५८ को दफा ९५क(२) मा’ सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने, लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद शेयरको अनुपातले समायोजन गरी औसत गणना गरेर आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यको अङ्कमा खर्च छूट दिने अर्थमन्त्रीस्तरबाट २०६५ मङ्सिर २२ गते निर्णय भएको, यो व्यवस्था पूँजीगत लाभकर निर्धारण गर्ने अर्को व्यवस्था नभएसम्मका लागि लागू भएको, आयकर ऐन, २०५८ को दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टी गर्न मिल्ने व्यवस्था अनुकूल नदेखिने, शेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा बढी लागत खर्च दाबी हुने गरेको छ’ भनिएको छ ।

त्यस्तै, सूचीकृत कम्पनीहरूको बोनस तथा हकप्रद शेयर विक्रीको मात्र हिसाब गर्दा आव २०७२।७३ मा बढी दाबी गरेको लागत खर्च रू. ५ अर्ब ३२ करोड ३० लाख र आव २०७३।७४ को रू. १० अर्ब २६ करोड ६७ लाखसमेत रू.१५ अर्ब ५८ करोड ९७ लाखमा आयकर ऐन, २०५८ को अनुसूची १(४)ख३ बमोजिम ५ प्रतिशतले हुने कर रू. ७७ करोड ९५ लाख छूट भएको देखिन्छ । यसमा संस्थापक शेयर सदस्यको आय वर्ष २०७२।७३ र २०७३।७४ को बोनस तथा हकप्रद शेयर विक्री मात्र हिसाब गर्दा बढी दाबी गरेको लागत खर्च रू.५ अर्ब ७४ करोड २ लाखमा ५ प्रतिशतले हुने पूँजीगत लाभकर रू. २८ करोड ७० लाख छूट भएको छ । साधारण शेयर तथा संस्थापक शेयरको २ वर्षको बोनस र हकप्रद शेयरको कारोबारमा वास्तविक लागत खर्च कट्टी गर्नुपर्नेमा माथि उल्लेख भएअनुसार आधार मूल्य छूट दिएको कारणले कुल राजस्व रू. १ अर्ब ६ करोड ६५ लाख घटी असुल भएको छ । यस्तो कारोबार विगत वर्षमा समेत रहेकोले थप छानबिन गरी कर निर्धारण गर्नुपर्छ । तसर्थ ऐनको दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टी गर्ने व्यवस्था हुनुपर्छ’ भनिएको छ ।


गोलमटोल प्रतिवेदन

मलेपले माथि उल्लिखित हकप्रद र बोनसको सन्दर्भमा दिएको टिप्पणीको छेउ र टुप्पो कुन हो पढ्दापढ्दै हराइन्छ । माथिको अनुच्छेदमा परेको ‘लाभ गणना गर्ने प्रयोजनका लागि’ वाक्यको अन्तिममा आएको ‘…आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत’ भनिएको छ्र यो ३ पटकको मूल्य भनेको कुन कुन हो स्पष्ट छैन । प्रतिवेदनमा अर्थमन्त्रीस्तरबाट अर्को व्यवस्था नभएसम्म भनिएको छ । तर, अहिलेसम्म अर्को व्यवस्था भएको पाइएको छैन भने यस्तो अवस्थामा जे प्रचलनमा छ सोही निर्णय अनुसरण गरिने हो र गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा ‘सूचीकृत कम्पनीहरूको बोनस तथा हकप्रद शेयर विक्रीको मात्र हिसाब गर्दा’ भन्ने वाक्यांशमा ‘…रू. ७७ करोड ९५ लाख छूट भएको देखिन्छ भनिएको छ । प्रतिवेदनको यी अंश हेर्दा मलेपले हकप्रद र बोनस शेयरको मूल्य शून्य राखेको देखिन्छ । हकप्रदलाई परल मूल्यमा राख्ने विषय नै सर्वसम्मत हुन नसक्ने स्थितिमा बोनस शेयरलाई शून्य मूल्यको भन्न कसरी सकिएला ? प्राथमिक बजार (आईपीओ) बाट लिएकाको हकमा हकप्रदको लागि कर गणना गर्न परल मोल सान्दर्भिक होला । तर, दोस्रोबजारबाट लिएकाको हकमा भने कुन आधारमा परल मान्न सकिएला ? किनकि हकप्रद शेयरको लागि बूक क्लोज गरेर मूल्य समायोजन गरिन्छ । मूल्य समायोजन हुने भएकाले यसलाई परल मोलमा हकप्रद पाएको भन्न मिल्ने हुन्न । बोनस शेयरलाई शून्य राख्नुपर्ने तर्कमा पनि सहमत हुन सकिन्न । आईपीओबाट लिएकाको हकमा समेत यसो गर्न सकिन्न भने दोस्रोबजारबाट किन्नेको हकमा हकप्रदकै नियम लागू हुन्छ ।

माथि उल्लिखित अनुच्छेदको ‘साधारण शेयर तथा संस्थापक शेयरको २ वर्षको बोनस र हकप्रद शेयरको कारोबारमा…’ भन्ने वाक्य पनि अर्थ लगाउन सकिने खालको छैन । यहाँ २ वर्ष भनेर के कुरालाई सङ्केत गर्न खोजिएको हो सो समेत खुल्दैन ।

मलेपको टिप्पणी र निचोड

मलेपले प्रतिवेदन दिएर दायित्व पूरा गरेको छ । पूँजीबजार सम्बन्धमा दिएका तथ्य अलमलमा पार्ने र गोलमटोल छन् । बाहिर बसेर प्रतिवेदन अध्ययन गर्दा शेयर लगानीकर्ताले कर छलेका रहेछन् भन्ने धारणा बनाउन सकिन्छ । तर, यथार्थ के हो भने घाटामा पनि कर तिरिरहेका कयौं उदाहरण छन् । पूँजीबजारमा केही असङ्गत पक्ष नभएको होइन । तर, मलेपले भने जस्तो कर छली गर्ने असङ्गति र विसङ्गति छैन । पूँजीबजार अत्यन्त पारदर्शी क्षेत्र भएकाले कुनै असङ्गति र विसङ्गति भएमा मेटाउने दायित्व पूँजीबजारको नियमन गर्ने धितोपत्र बोर्डको हो । बोर्ड सरकारलाई पूँजीबजार सन्दर्भमा सल्लाह दिने सल्लाहकार समेत हो भने पूँजीबजारको नियामक र पूँजीबजारको सबै निकाय र लगानीकर्ताको पनि हित संरक्षक हो ।


अभियान दैनिकमा २०७५ बैशाख ३१ गते प्रकाशित

http://www.abhiyan.com.np/2018/05/14/203780

Sunday, May 13, 2018

नेपाल ब्यांकको एफपिओ


नेपाल ब्यांकले १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको  करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपिओ (फर्दर पब्लिक अफरिंग) जारी गर्न गरेको प्रस्तावका बारेमा टिका टिप्पणी भईरहेको   ब्यांकले एफपिओ जारी गर्न पाउँदैन/पाउँछ भन्ने दुइथरी बीच निकै चर्काचर्की देखिएको छ  त्यस्तै एफपिओको मूल्य सम्बन्धमा पनि विवाद ल्याइएको छ  ब्यांकका कार्यकारी प्रमुखलाई हवाला दिँदै प्रकाशित समाचारमा मूल्य निर्धारण हुनु अघि नै कार्यकारीले मूल्य तोकेर मूल्य संवेदनशीलतालाई वेवास्ता गर्दै करोडौं/अरबौं घोटाला गर्न खोजिएको भन्ने समेत सुनिएको छ 

एफपिओपछीको शेयर संरचना 

हाल नेपाल ब्यांकमा संस्थापक शेयरधनीको रुपमा नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत हिस्सा रहेको छ  एफपिओ जारी पश्चात यो अनुपात ५१ प्रतिशतमा झर्नेछ भने सर्वसाधारणको अनुपात बढेर ४९ प्रतिशत पुग्नेछ  नेपाल ब्यांकमा रहेको स्वामित्व घटाउन सरकार राजी भएपछि कम्पनीले आर्थिक वर्ष २०७३/७४ को साधारणसभामा थप शेयर (एफपिओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो  लामोसमयसम्म घाटामा संचालन हुँदै आएको ब्यांक नेपाल राष्ट्र ब्यांकले व्यवस्थापन नियन्त्रणमा लिई व्यवस्थापन गर्दै आइरहेको थियो  ब्यांकमा सुधार आएपछि केन्द्रीय ब्यांकले व्यवस्थापन शेयरधनीलाई हस्तान्तरण गरि अलग्गिएको थियो  ब्यांक अहिले स्वस्थतातर्फ अघि बढिरहेको छ  पूँजीकोष नै ऋणात्मक रहेको ब्यांकले अहिले नाफा आर्जन गर्न र लामो समयदेखिको संचित घाटा समेत पूर्ति गरि संचित नाफामा गएको छ  गत आर्थिक वर्ष २०७३/७४ सम्म २ अर्वभन्दा बढी संचित घाटा रहेको ब्यांकको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार संचित घाटा पुरा गरि नाफामा जान थालेको छ  

एफपिओ सम्बन्धि कानुन 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम १४(१) मा धितोपत्रको प्रारम्भिक निष्काशन गरि सूचीकरण भईसकेको संगठित संस्थाले आफ्नो पूँजी वृद्धि गर्नुपरेमा धितोपत्रको थप निष्काशन (फर्दर पब्लिक इस्यू) गर्नसक्ने व्यवस्था गरेको छ  यस्ता कम्पनीले एफपिओ जारी गर्न (१) विगत ५ वर्षमा कम्तिमा ३ वर्ष खूद मुनाफामा संचालन भइ प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजी भन्दा बढी भएको, (२) सार्वजनिक निष्काशन गरेको ३ वर्ष पुरा भएको, (३) वार्षिक साधारणसभाबाट प्रस्ताव पारित र (४) प्रिमियम मूल्यमा जारी गर्न मूल्य निर्धारण गरिएको विधि र सो को औचित्य पुष्टि गर्ने आधार उल्लेख भएको हुनुपर्ने व्यवस्था गरेको छ  प्रतिशेयर 'नेटवर्थ (खुद सम्पत्ति)भन्नाले शेयरको चुक्ता पूँजी तथा जगेडा कोषहरू (सम्पत्तिको पुर्नमूल्याङ्कनबाट सृजित कोष बाहेक) को कुल जोडमा सञ्चित नोक्सानीको कुल रकम र अपलेखन गर्न बाँकी स्थगन र विविध खर्चहरू तथा ख्याति घटाई बाँकी रहन जाने रकम सम्झनुपर्ने कानुनी व्यवस्था रहेको छ  एफपिओ जारी गर्दा प्राथमिक शेयर जारी गर्दा धितोपत्र वोर्डबाट विवरणपत्र स्विकृत गराउनुपर्छ  त्यसै नियम २५ मा तोकिएको शर्त र अवस्था पुरा गर्ने कम्पनीले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्न सक्ने गरि बाटो खोलिदिएको छ 

धितोपत्र निष्काशन निर्देशिका

धितोपत्र निष्काशन निर्देशिका २०७४ को दफा ७ मा कम्पनीको प्रवन्धपत्रनियमावलीमा एफपिओ सम्बन्धि व्यवस्था र निष्काशन पछि कम्पनीको पूँजी संरचना तथा संचालक समितिमा हुनसक्ने परिवर्तन सम्बन्धमा पनि व्यवस्था गर्नुपर्ने हुन्छ  एफपिओ जारी गर्ने निर्णय भएको २ महिना भित्र वोर्डमा निवेदन दिनुपर्ने र निवेदनमा (१) धितोपत्रको थप सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाको निर्णय(२) पछिल्लो ५ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण(३) धितोपत्रको थप सार्वजनिक निष्काशनका लागि नियुक्त गरिएको निष्काशन तथा बिक्री प्रबन्धकसँग गरिएको सम्झौता(४) निष्काशन गरिने धितोपत्र प्रत्याभूत गरिएको भए प्रत्याभूतिकर्तासँग गरिएको सम्झौता समेत संलग्न गर्नुपर्छ  पछिल्लोपटक वोर्डले जारी गरेको परिपत्रमा प्रिमियममा जारी हुने शतप्रतिशत धितोपत्र प्रत्याभूत गराउनुपर्ने नयाँ व्यवस्था गरेको छ 

मूल्य निर्धारण विधि

कुनै पनि कम्पनीले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्नुअघि औचित्य खुल्ने आधार र त्यसलाई पुष्टि गरि मूल्य निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ  धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को दफा ३७ मा प्रिमियम गणना गर्ने विधि सम्बन्धि रहेको छ  गणना विधि अनुसार (१) पछिल्लो ३ वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), (२) भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र (३) बोर्डमा निवेदन दिनु भन्दा ७ दिन अगाडिको १ सय ८० दिनको औसत बजार मूल्य गणना गर्नुपर्नेछ । यसरी प्राप्त योगलाई ३ ले भाग गरेर आउने भागफल प्रस्तावित एफपिओको प्रिमियम वापत थप हुने रकम हुन्छ 

त्यस्तैकम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रतिशेयर शेयर नेटवर्थको ४ गुणा रकम पनि प्रिमियम निर्धारण गर्ने अर्को विधि पनि रहेको छ 

माथि उल्लेख गरिएका दुईवटा मूल्य मध्ये जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ  दोस्रो विधिबाट प्रिमियम रकम निर्धारण गरिएको अवस्थामा बाहेक प्रिमियम निर्धारण गर्दा अवलम्बन गरिएका मान्यता तथा आधारहरू खुलाई सो को औचित्य समेत स्पष्ट गर्नुपर्ने हुन्छ ।

प्रिमियम रकमको उपयोग

कम्पनी ऐनको दफा २९ अनुसार कम्पनीले प्राप्त गरेको अंकित मूल्य भन्दा बढी प्रिमियमको रुपमा प्राप्त भएको रकम प्रिमियम खाता खोली जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यसरि प्राप्त हुने रकम (क) जारी नगरिएको शेयर पूँजीमध्येबाट शेयरधनीहरुलाई पूर्ण मूल्य चुक्ता भएको बोनस शेयर बाँडफाँड गरी जारी गर्न(ख) फिर्ता हुने कुनै अग्राधिकार शेयर फिर्ता गर्दा तिर्नु पर्ने प्रिमियमको सम्बन्धमा रकम व्यवस्था गर्न(ग) कम्पनीले गरेको प्रारम्भिक खर्च मिन्हा गर्न र (घ) कम्पनीको शेयर जारी गर्ने सम्बन्धमा भएको खर्च वा भुक्तानी गरिएको कमिशन वा डिस्काउण्ट रकम व्यहोर्न वा शोधभर्ना गर्न खर्च गर्न पाइने व्यवस्था छ 

संवेदनशील र असंवेदनशील

एफपिओ प्रिमियमसहित वा रहित अंकित मूल्यमा हुन्छ भन्ने बारेमा यकिनसाथ भन्न तत्काल सकिन्न तर पनि मोटामोटी अनुमान गर्न भने सकिन्छ  वास्तविक प्रिमियम मूल्य तोक्ने कार्य भने मूल्य निर्धारण विधि सम्बन्धि कानुनी व्यवस्थाले गरे बमोजिम हुन्छ  यस सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था भएकोले सम्पत्ति र दायित्व सम्बन्धि ड्यु डिलिजेन्स अडिट पश्चात तय हुने भएकोले अहिले जे जति होला भनिएको छ त्यो संबै अनुमान मात्र हो  एफपिओको प्रिमियम मूल्य कति होला भन्ने विषय शेयरबजारलाई असर पार्ने विषयवस्तु बन्दैन  मूल्य संवेदनशील त्यति बेला मात्र हुन्छजतिबेला कम्पनीले एफपिओ मार्फत पूँजी वृद्धि गर्ने नीतिगत निर्णय गरेर त्यसलाई सार्वजनिक गर्न ढिलाई गर्छ वा निर्णय नहुँदै सुचना चुहाउँछ  एफपिओ जारी गर्ने निर्णयले साधारण शेयर (संस्थापक र साधारण) को संख्यात्मक वृद्धि भइ प्रतिशेयर आम्दानीमा प्रतिकूल असर पर्छ  एफपिओ सम्बन्धि निर्णय सार्वजनिक भईसकेपछि एफपिओको मूल्य कति भने विषय मूल्य संवेदनशील सूचना हैन/हुँदैन 

अन्तमानेपाल ब्यांकले प्रिमियम मूल्य थप्न पाउने/नपाउने भन्ने विषय सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनबाट प्राप्त गर्न सकिने हुँदा त्यतिन्जेल पर्खनुपर्ने नै हुन्छ 



 २०७५ बैशाख २४ गते अभियान दैनिकमा प्रकाशित