कति उचित कति अनुचित
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/०८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी
नीति तथा कार्यक्रमको बुँदा नं ४.२ मा जलविद्युत क्षेत्रका कम्पनीलाई उत्पादन
शुरु गरेपछि मात्र प्राथमिक शेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ l यसले
जलविद्युत विकासकर्ता कम्पनी झस्किएका छन् l मन्त्रिपरिषदले पारित गरेको आर्थिक
सुधार कार्यान्वयन कार्ययोजना, २०८२ को बुँदा नं. ९४ मा उल्लेखित जलविद्युत
कम्पनीलाई उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्नसक्ने व्यवस्थाबाट
प्रेरित भएर गरेको हो l मन्त्रिपरिषदले पनि यस्तो व्यवस्था पूर्व सचिव रामेश्वर खनालको
अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझाएको प्रतिवेदन, २०८१ को
आधारमा गरेको हो l यस विषय कार्यान्वयन उचित हो कि होइन यस
विषयमा चर्चा गरिन्छ l
आईपीओको सैद्धान्तिक पक्ष
शेयर कम्पनीको पुँजीको विभाजित अंश हो l कुनै पनि कम्पनीको पुँजी हुन्छ l यस्तो पुँजीलाई विभिन्न खण्डमा विभाजन गरिन्छ l यसरी विभाजित खण्डलाई शेयर भनिन्छ l यसरी विभाजित खण्डको रुपमा रहने पुँजी प्राप्ति कम्पनी संस्थापकबाट मात्र प्राप्त हुन नसक्ने हुँदा केही हिस्सा सर्वसाधारणसँग पनि माग गरिन्छ l यसलाई इनिसियल पब्लिक अफरिङ्ग (आईपीओ) भनिन्छ l शेयरमा गरिने लगानीमा उच्च लाभ र जोखिम दुवै हुन्छ l कुनै पनि शेयरमा लगानी गर्दा जोखिम र लाभको उचित विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ l आईपीओ जारी गर्दा परिस्कृत वित्तीय विवरण, भावी व्यवसाय योजना र यसमा अन्तर्निहित जोखिमको खुलासा गरिएको हुन्छ l आईपीओमा गएपछि कम्पनीले हरेक त्रैमासिकमा वित्तीय विवरण सार्वजनिकीकरण जस्ता नियमले कम्पनीमा पारदर्शिता, संस्थागत संस्कार र सुशासन प्रवर्द्धन गर्छ l आईपीओले पुँजी सङ्कलन गर्न, व्यवसाय विस्तार गर्न, ऋण तिर्न वा नयाँ परियोजनामा लगानी गर्न सहयोग गर्छ । आमव्यक्तिलाई कम्पनीले खुलासा गरेको विवरणले लगानी गर्ने वा नगर्ने दुवै कुराको जानकारी दिन्छ l देशीय नीति, अर्थतन्त्र आदिले बजारमा ल्याउने अस्थिरताले कम्पनीको भविष्यको प्रदर्शन अनिश्चित हुनसक्छ। आइपीओ जुनसुकै क्षेत्रका कम्पनीले जारी गर्न सक्छन l आईपीओ जारी गर्न के कस्ता शर्त पूरा गर्नुपर्छ भन्ने सम्बन्धमा शेयरबजारको नियामकले शर्त निर्धारण गर्छन l यस्ता शर्त निर्धारण गर्दा शेयरबजारको नियामकले स्वतन्त्ररुपले गर्नुपर्ने सैद्धान्तिक पक्ष भए पनि नेपालमा व्यवसाय नियामक (नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, विद्युत नियमन आयोग) सबै शेयरबजार नियामक बनिरहेका छन् l हुँदाहुँदा व्यवसायिक संस्था ईण्डेपेण्डेड पावर प्रोड्युसर्स एसोसिएसन, नेपाल (इप्पान) पनि नियामकको हैसियतमा आफूलाई प्रस्तुत गरिरहेको छ l
आईपीओका विद्यमान शर्त
जलविद्युत कम्पनीले विगत लामोसमयदेखि आईपीओ जारी गरिरहेका छन् l आइपीओको तालुकी निकाय नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीका लागि आईपीओ जारी गर्दा पालना गर्नुपर्ने शर्त व्यवस्था गरेको छ l धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ मा सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक कुनै पनि कम्पनीले जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी आईपीओ जारी गर्नसक्ने व्यवस्था गरेको छ l जलविद्युत क्षेत्रका कम्पनीले कम्तिमा १० र बढीमा ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्छन l अहिले अघोषितरुपमा कम्तिमा २० प्रतिशत जारी गर्नुपर्ने व्यवस्था गरिएको छ l आईपीओ जारी गर्ने कम्पनीको सञ्चालक तथा एक प्रतिशत वा सो भन्दाबढी शेयर स्वामित्व रहेका शेयरधनी कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको हुनुपर्छ l नियम ३ अनुसार बैंकिङ/बीमाबाहेकका अन्य कम्पनीले आईपीओ जारी गर्दा (क) पब्लिक कम्पनीको रुपमा उद्देश्यअनुसार कारोबार सञ्चालन गर्नका लागि आवश्यक कार्य अगाडि बढाई पूरा एक आर्थिक वर्षको अवधि पूरा गरेको, (ख) प्रचलित कानूनबमोजिम लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गरेको र लेखापरीक्षण प्रतिवेदनमा उक्त संस्था भविष्यमा पनि निरन्तर सञ्चालन (गोइङ्ग कन्सर्न) हुने आधारमा कुनै कैफियत नभएको पुष्टि भएको, (ग) उद्देश्यअनुसार कारोबार सञ्चालन गर्नका लागि प्रचलित कानूनबमोजिम कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमति वा स्वीकृति लिइसकेको, (घ) आवश्यक पर्ने जग्गा खरीद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना भवन, कार्यालय भवन, गोदामघर तथा अन्य आवश्यक सुविधाको निर्माण कार्य शुरु गरिसकेको, (ङ) उत्पादनको प्रविधि छनौट गरी उद्योगको लागि आवश्यक पर्ने यान्त्रिक उपकरण तथा त्यसका पार्टपूर्जा आदि खरीद गर्नुपर्ने भएमा टेण्डर आदि गरी खरीद प्रकृया अगाडि बढाई सकेको, (च) आईपीओ जारी गर्न निष्काशन तथा निर्गमन प्रबन्धकसँग सम्झौता भइसकेको, (छ) आयोजनाको निर्माण अवधिभर कम्पनीको ऋण र पुँजीको अनुपात तोकिएको अनुपातमा राख्न सहमत भएको, (ज) संस्थापकले लिन कबुल गरेको शेयरबापतको रकम शतप्रतिशत चुक्ता भईसकेको, (झ) परियोजना निर्माणका लागि वित्तीय प्रबन्धन (फाइनान्सियल क्लोजर) भईसकेको, (ञ) जलविद्युत कम्पनी भएमा, विद्युत खरीद सम्झौता गरिसकेको, (ट) सर्वसाधारणका लागि जारी गर्न लागेको शेयर तोकिए बमोजिम प्रत्याभूति गराएको हुनुपर्न व्यवस्था छ l
प्रहारै-प्रहार खेप्दै जलविद्युत
बैंकिङ्ग र बिमाबाहेकका कम्पनीमध्ये जलविद्युत विकास कम्पनीले अहिले सर्वत्र प्रहार खेपिरहेको छ l जलविद्युत देशको उर्जाको मूल स्रोत हो l देशमा उपलब्ध जल उर्जामा निजि क्षेत्रले दिएको हिस्सा सबैभन्दा बढी छ तर, यही क्षेत्र संधै उपेक्षाको शिकार बनेको छ l कुनै विदेशीले लगानी गर्दा उसलाई रोयल्टीसमेत मिन्हा दिने गरिएको छ l विदेशीका लागि परिवर्त्य विदेशी मुद्रा (डलर) मा विद्युत खरिद गरिदिएका छन् l उर्जा उत्पादनका लागि सर्वेक्षण र उत्पादनको अनुमति लिएर आधाभन्दा बढी निर्माण कार्य सम्पन्न गरेर आइपीओको पर्खाइमा रहेका उर्जा कम्पनी उत्पादन पछि मात्र आईपीओ जारी गर्न पाउने नीतिगत निर्णयले रनभुल्ल परेका छन् l नेपालको सरकार त हरेक क्षेत्रको विकासको बाधकै हो भन्दा फरक पर्दैन l उदाहरणको लागि जलविद्युत विकासको सन्दर्भमा जुनसुकै बेला अनेक बहानामा विस्फोटक पदार्थ आयातमा रोक लगाउने र रुख कटान गर्न नदिएर आयोजना निर्माणमा बाधा गरिरहेको हुन्छ l
जलविद्युत निर्माण जस्तो कठिन कार्यमा भौगोलिक अवस्थिति आदिले सानो कुराले पनि लागत बढ्छ l लागत घटाउन पहल हुनुपर्नेमा विद्युत नियमन आयोगले अधिकारक्षेत्र बाहिर गएर जलविद्युत कम्पनीको शेयर निष्कासन निर्देशिका जारी गरेर अर्थहीन पूर्वस्वीकृतिको नाममा रकम असुलिरहेको छ l पूर्वस्वीकृति दिने कुरा विद्युत नियमन आयोग ऐन, २०७४ को प्रस्तावना र काम कर्तव्य अधिकारक्षेत्र बाहिरको कार्य हो l आयोगको प्रस्तावनामा ‘विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत महसुल नियमन गर्न, विद्युत उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युतको बजारलाई प्रतिस्पर्धात्मक बनाउन तथा विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन विद्युत नियमन आयोगको व्यवस्था गर्न वाञ्छनीय भएकोले’ भन्ने लेखिएको छ l आयोगले निर्देशिका जारी गर्ने आधार लिएको ऐनको दफा ४३ ले धितोपत्र बजारमा प्रवेश गर्न पाउने अधिकार दिएकै छैन l दफा ४३ मा आयोगले आफ्नो काम, कर्तव्य र अधिकार क्षेत्रभित्रका विषयमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम विपरीत नहुने गरी निर्देशिका, मापदण्ड वा संहिता (कोड) बनाई लागू गर्नसक्नेछ भनिएको छ l
जलविद्युतलाई प्रहार गर्ने क्रमको अर्को सिलसिला उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझाएको प्रतिवेदन, २०८१ हो l यस प्रतिवेदनले देशको आर्थिक सुधारको बाधक जलविद्युत कम्पनीले निर्माणकै बेला आईपीओ जारी गर्नु हो भन्ने किटेरै लेखेको छ l जलविद्युत कम्पनीले विद्युत उत्पादन गरेपछि आइपीओको अनुमति दिँदा आर्थिक सुधारको मूल ढोका खुल्ने गजबको निष्कर्ष निकालेको छ l यसैलाई टेकेर सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा जस्ताको तस्तै राखेर सरकारले आर्थिक सुधार गर्ने भएको छ l यी दुवै कुरालाई नेपाल धितोपत्र बोर्डले पनि नीति र कार्यक्रममा जस्ताको तस्तै सारेर शेयरबजारमा गुणात्मक सुधार र विकास गर्ने भएको छ l
उचित कि अनुचित
जलविद्युत विकास कठिन कार्य हो l सहज हुन्थ्यो
भने सरकारले वर्षैपिच्छे आयोजना बनाउने थियो होला तर, कठिन भएकै कारण र वित्तीय
स्रोत नभएरै उर्जा विकास गर्न सकेन l सरकारले बनाएका हरेक आयोजना सर्वाधिक महङ्गा
सावित भएका छन् l यस्तो अवस्थामा निजि कम्पनीले उर्जा विकासको क्षेत्रमा हात
हालेकै कारण उत्पादन क्षमता करिब ३,२४३ मेगावाट (नेपाल
सरकार, उर्जा विकास मार्गचित्र, २०८१)
पुगेको छ l यसमा निजि क्षेत्रको योगदान करिव ८० प्रतिशत र सरकारको लगानी
भएको नेपाल विद्युत प्राधिकरणको योगदान २० प्रतिशत छ । निजि क्षेत्रबाट मात्र करिव
७,५०० मेगावाट बराबरका आयोजना निर्माणका चरणमा छन् । निजी क्षेत्रले करिब २,६०० मेगावाट बराबरका जडित क्षमताको विद्युत आयोजना निर्माण गरेकै कारण देश
उर्जा क्षेत्रमा आत्मनिर्भर उन्मुख भएको छ । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष
गरी करिब सात लाख रोजगारी सिर्जना पनि गरेको छ l आगामी २०८५/०८६ सम्म जडित क्षमता
११,७३९ मेगावाट हुने नेपाल सरकार, उर्जा विकास मार्गचित्र, २०८१ ले प्रक्षेपण
गरेको छ l विद्युत विकास गर्ने कार्य सरल र सहज छैन यसमा लाग्ने वित्तीय स्रोत
जुटाउन त्यति सहज कार्य हैन l १०/२० करोड रुपैयाँले माखो मर्दैन l यसका लागि ठूलो
धनराशी लाग्छ l यस्तो धनराशी संस्थापकले मात्र बेहोर्न सक्ने हुन्न l संस्थापक मार्गदर्शक मात्र हुन् l सर्वेक्षणदेखि
उत्पादन अनुमति लिँदासम्म करोडौं रुपैयाँ खर्च हुन्छ l निर्माण कार्यमा अरबौं
रुपैयाँ लाग्छ l यस्तो वित्तीय प्रबन्धन संस्थापकले मात्र गर्न सक्दैन l ऋणै मात्र लिएर पनि आयोजना निर्माण गर्न सकिन्न l सम्पूर्ण आयोजना ऋणले
बनाउने हो भने आयोजनाको प्रतिफल घट्छ l यस्तो अवस्थामा उत्पादन पछि मात्र आईपीओ
जारी गर्न दिने भन्ने कुराले आयोजनाको लागत झन अत्याधिक हुन्छ l किनभने निर्माणको
क्रममा आइपीओ जारी गरेर पुँजी नउठाउने हो भने कोही कसैले पनि आयोजनामा लगानी
गर्दैन l उत्पादनपछि मात्र आईपीओ जारी गर्दा निर्माणको समयमा आइपीओ बराबरको रकम
ऋणै लिनुपर्ने हुन्छ l निर्माण अवधिमा ऋण पुँजीको ब्याज त छँदैछ, त्यसमा आइपीओ
बराबरको रकमको ब्याज पनि थपिन्छ यसरी ब्याजमाथि ब्याज थपिँदा आयोजना निर्माण लागत महङ्गो
हुन्छ l यसकारण उत्पादनपछि आईपीओ जारी गर्न अनुमति दिने
निर्णय सर्वार्थ अनुचित छ l
अन्तमा, जलविद्युत उत्पादन मात्र गरिरहेका कम्पनीको ३० वर्षपछि के हुने भन्ने अन्योल छँदैछ, यसमा सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन l यस्तो अवस्थामा विद्युत उत्पादन पछि मात्र आईपीओ अनुमति दिने भन्ने कुराले नयाँ कम्पनीले यसमा हात नहालि अन्यत्र लगानी गर्लान तर, उत्पादन अनुमतिपत्र लिएर निर्माण कार्य शुरु गरिसकेका कम्पनीको हालत के हुने हो यसको समाधान दिने काम सरकारकै हो l उर्जा विकास मात्र गरिरहेका कम्पनीलाई बहुउद्देश्यीय कम्पनीमा रुपान्तरण गराएर लगानी कम्पनीका रुपमा विकास गराउनुपर्छ l खनाल प्रतिवेदनमा ‘लाभग्राहीको स्वीकृतिमा सामाजिक सुरक्षा भत्ताको ५० प्रतिशत रकम सरकारी ऋणपत्र वा जलविद्युत कम्पनीको शेयर दिने व्यवस्था गर्ने । यसले अर्थतन्त्रमा पुँजी निर्माणमा सहयोग पुग्ने। भविष्यमा लाभग्राहीलाई फाइदा हुने' (खनाल प्रतिवेदन, २०८१, सुझाव नं. ४) भनिएको छ l यही प्रतिवेदनमा उत्पादन पछि मात्र आईपीओ अनुमति दिने (खनाल प्रतिवेदन, २०८१, पुँजीबजार खण्ड, सुझाव नं. ७) उल्लेख छ l यी दुई सुझावबीच कहाँ र कसरी मेल खान्छ भन्ने प्रश्न उठ्छ। यदि बेलैमा आईपीओ जारी गर्न नपाएमा कम्पनीले त्यो बराबरको रकम ऋणबाट जुटाउनुपर्छ l ऋण लिएपछि त्यसको पनि ब्याज थपिँदा लागत वृद्धि हुन्छ। यसले कम्पनीका लगानीकर्ता वा लाभग्राहीलाई फाइदा पुर्याउँछ कि बेफाइदा भन्ने कुराको हेक्का राखिएको छैन। खनाल प्रतिवेदनले दिएको विद्युत उत्पादन पछि मात्र आईपीओ अनुमति दिने सुझावलाई कार्यान्वयन गर्दा नेपाल सरकारको उर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत उत्पादनको लक्ष्य हासिल होला कि नहोला यसतर्फ सोच्नु आवश्यक छ l
आर्थिक अभियान
बुधबार, २१ साउन, २०८२
https://abhiyandaily.com/news/451592/ipo-after-starting-the-power-generation--how/