Showing posts with label मुअक विवाद. Show all posts
Showing posts with label मुअक विवाद. Show all posts

Friday, December 29, 2017

मूअक लगाउने कि कारोबारको दायरा बढाउने

आर्थिक वर्ष २०७४/७५ को शुरूदेखि नै शेयर कारोबारमा मूल्य अभिवृद्धि कर (मूअक) लगाउने कर प्रशासनको चाहना पूरा हुन सकेन । विषय उठान गर्दै पछि हट्दै गरेको देख्दा मूअक लगाउन खोजेको हो कि कसैको बहकावमा आएर वा आफ्नै निहित स्वार्थ पूरा गर्न मनोवैज्ञानिक त्रास सृजना गरेर अवाञ्छित लाभ लिन खोजेको हो, शङ्का गर्ने प्रशस्त आधार दिएको छ । शेयबजारको प्राथमिक अङ्ग दलाल र लगानीकर्ताबीच सम्बन्ध चिस्याइएका बेला कर प्रशासनले मूअक ‘दलालको कमिशन’मा लगाइने हो, लगानीकर्तालाई थप भार पर्दैन भन्दै मूअकको सैद्धान्तिक पक्षको खिल्ली उडाइएको छ । असारमा झण्डै २ हप्ता चलेको मूअकसम्बन्धी जुहारी यसपटक भने १ हप्ता पनि नचली पटाक्षेप भएको छ ।

चार सङ्गठनको एकता

गत असारमा लगानीकर्ताको एउटा सङ्गठन र ‘धितोपत्र दलाल सङ्घ’ मात्र मूअकविरुद्ध एकताबद्ध भएका थिए भने लगानीकर्ताको अर्को एउटा सङ्गठन सरकारी पक्षमा उभिएको थियो । तर, अहिले भने माथि उल्लिखित पक्ष–विपक्षका दुवै सङ्गठन, भर्खर जन्मेको ‘पूँजीबजार लगानीकर्ता सङ्घ’ नामक नयाँ सङ्गठन र दलाल सङ्घसमेत ४ समूहको एकीकृत आवाजले सरकारी पक्ष १ हप्ता पनि नटिकी थप अध्ययन गर्नुपर्ने भन्दै पछि हटेको छ । शेयरबजार वित्तीय क्षेत्र हो, यसमा मूअक लाग्न सक्दैन भन्दै गत असारमै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्शले वक्तव्य जारी गरेका थिए । त्यस्तै धितोपत्र बजारलाई नजीकबाट नियालिरहेका अधिवक्ता, चार्टड एकाउण्टेण्ट, पूर्वअर्थमन्त्री, सम्बद्ध निकायका पूर्वअधिकारीहरू तथा करका जानकारहरूले पनि लगाउन हुन्न र मिल्दैन भनिसकेका छन् ।

संयुक्त पूँजी कम्पनी र पूँजीबजार

संयुक्त पूँजी कम्पनी र पूँजीबजारको शुरुआतपछि सामान्य नागरिक पनि राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीका साझेदार बनेर लाभमा सहभागी हुने अवसर पाएका छन् । नागरिक र सरकार दुवैले प्रत्यक्ष र अप्रत्यक्षरूपमा आम्दानी गर्ने अवसर पूँजीबजारले सृजना गरेको छ । पूँजीवादी भनिएका देशका सरकारले धेरै अघि नै पूँजीबजारलाई सुव्यवस्थित बनाएर नागरिक र आफ्नो आम्दानीको दायरा बढाएका छन् । सन् १६०० तिरै डच इष्ट इण्डिया कम्पनीले सर्वसाधारण नागरिकलाई समेत कम्पनीमा अंश (शेयर) दिएर लाभमा सहभागी बनाएको इतिहास पाइन्छ । ६ लाख जनसङ्ख्या भएको भुटान र टापुहरूको देश माल्दिभ्समा समेत स्टक एक्सचेञ्ज खडा भएका छन् । नेपालमा विसं १९९४ मा संयुक्त पूँजी कम्पनीका रूपमा ‘नेपाल बैङ्क’ र ‘विराटनगर जुट मिल्स’ खडा भएर शेयर जारी गरेको इतिहास छ ।

विश्वामित्रजस्ता कर प्रशासन

नेपालमा दलालमार्फत शेयर कारोबार गर्न थालिएको २५ वर्षे अवधि बितिसक्दा पनि पूँजीबजार भने शुरुआती चरणमा झैं देखिन्छ । संसारले परीक्षण गरी सबल–दुर्बल पक्षको पुष्टि गरिसक्दा पनि हामी पुनः परीक्षण गर्न लागिरहेझैं व्यवहार गर्छौं । पौराणिक कालका ऋषि विश्वामित्रले राजा हरिश्चन्द्रको सत्यवादिताको पुनः परीक्षण गरेजस्तो पारा हाम्रो राजनीति र प्रशासनमा प्रशस्त देखिन्छ । कर प्रशासनले शेयरबजारमा मूअक लगाउन गरेको तैयारी ऋषि विश्वामित्रले राजा हरिश्चन्द्रको सत्यवादिताको परीक्षा लिएभन्दा कुनै कुराले फरक देखिन्न । राजा हरिश्चन्द्र सत्यवादी हुन् भनेर इन्द्रादि तेत्तीसकोटी देवले भन्दा समेत ऋषि विश्वामित्रले आफ्नो हठ कायम राखेर सत्यवादिताको पुष्टि गरेका थिए । हरिश्चन्द्र सत्यवादी ठहरिएपछि उनले भनेका थिए, ‘अरूले भन्थे मात्र मैले पुष्टि नै गरेँ ।’ अहिले शेयरबजारमा मूअक लगाउन हुन्न र मिल्दैन भन्दाभन्दै जबर्जस्ती लगाउन खोज्दा असफल भएर खारेज गर्नुपर्ने अवस्था आएपछि कर प्रशासनले विश्वामित्रको शैली अपनाउनेछ ।

सीमित घेरामा दलाल

दलालहरू बाहिर गएनन् पुतलीसडक र अनामनगर क्षेत्रमा मात्र केन्द्रित भए भन्ने आरोप र लाञ्छना लागे पनि दलालले चाहेर पनि यी क्षेत्र छाड्ने अवस्था छैन । स्टक एक्सचेञ्जले दलाललाई उपत्यकाबाहिर रिमोट वर्क स्टेशन (आरडब्ल्यूएस)मार्फत सेवा विस्तार गर्न अनुमति दिए पनि शेयर अभौतिक नभएको अवस्थामा यसले आशातीत सफलता पाएन । शेयर अभौतिक भइसकेपछि यसको केही हदसम्म प्रभावकारिता आएको छ र परिणामस्वरूप उपत्यकाबाहिर धेरै आरडब्ल्यूएस स्थापना भएका छन् । उपत्यकाबाहिर आरडब्ल्यूएस पुगे पनि लगानीकर्ताको बढी पहुँच हुने उपत्यकाभित्र भने दलालको सेवा ‘बत्तीमुनि अँध्यारो’ बनेको छ । उपत्यकाका कलङ्की, बालाजु, गोंगबु, महाराजगञ्ज, चाबहिल, सूर्यविनायक, थिमी, कोटेश्वरजस्ता घनाबस्तीमा रूपान्तरण भएका क्षेत्रमा आरडब्ल्यूएस खोल्न अनुमति पाउँदैनन् । साँखु वा सूर्यविनायकमा मुख्य कारोबार केन्द्र राखेर सम्भव हुन्न । माथि उल्लेख गरिएका क्षेत्रमा दलाललाई सहजरूपमा आरडब्ल्यूएस चलाउन दिने हो भने लगानीकर्ताको पहुँच र सहभागिता सहजै बढाउन सकिँदा कारोबारको दायरा बढ्न गई बढी राजस्व प्राप्त हुन सक्ने विषयलाई नकार्न सकिन्न । शेयरबजारको चाल वक्रीय हुन्छ लगानीकर्तालाई यसको चाल बुझाउने जिम्मा अहिलेसम्म बोर्ड र एक्सचेञ्जले लिएका छैनन् । शेयरबजारको अभिन्न र प्राथमिक अङ्ग दलाललाई ग्राहकको आदेश प्रविष्टि गर्नेबाहेक अन्य सेवाका क्षेत्र नदिँदा लगानीकर्ता अनुशिक्षण, परामर्श, अनुसन्धान र विकाससम्बन्धी कार्य गर्न पाएका छैनन् । लगानी अनुशिक्षण नहुँदा लगानीकर्ताले अहिलेसम्म पनि ‘बूक क्लोज’ जस्तो अत्यन्त महत्वपूर्ण पक्षलाई बुझ्न सकेका छैनन् । बूक क्लोजपछि हुने मूल्य समायोजन कसरी र किन हुन्छ भन्ने समेत बुझाउन सकिएको छैन । हिँड्ने खुट्टालाई बाँधेपछि कसरी हिँडिएला ? यस्तो जान्दाजान्दै पनि खुट्टा बाँध्ने डोरी फुस्काउनुको सट्टा अझ कसेर खुट्टालाई गाली गरेर बसेजस्तो भएको छ । यस्तै अवस्था मर्चेण्ट बैङ्करको पनि छ ।

दोषयुक्त बाँडफाँट

उपत्यकामा आरडब्ल्यूएस र दलाललाई थप कार्यक्षेत्र नदिनु कारोबार नबढ्नु एउटा कारण हो भने राजनीतिक घोषणापत्र र राहत बाँडेजस्तो १० कित्ते बाँडफाँट नीतिले लगानीकर्ताको आगमनलाई पलायन गराएको छ । पुरानो शेयरले मात्र बजार चलायमान हुन्न । पुराना शेयरहरूबाट लगानीकर्ताले पर्याप्त लाभ लिइसकेको हुने हुँदा त्यस्ता शेयरको लागत मूल्य शून्यमा झरिसकेको हुन्छ र यस्ता शेयर बेच्न खासै कोही चाहँदैनन् । ट्रेडरहरू जहिले पनि नयाँ कम्पनीको शेयरमा खेल्न चाहन्छन् । तर, यसरी खेल्नका लागि बजारमा पर्याप्त शेयर नहुँदा ट्रेडर अर्कै क्षेत्रतिर लाग्छन् । यसो हुँदा बजारमा दीर्घकालीन लगानीकर्ता मात्र बाँकी रहन्छन्, यस्ता लगानीकर्ता मूल्य घटेमा शेयर सिरान हालेर सुत्छन् र बजारमा कारोबार घट्न जान्छ । जबसम्म बजारका लागि पर्याप्त शेयर हुन्न तबसम्म ट्रेडर फर्केर आउने वातावरण बन्दैन । कारोबार घट्न थालेपछि पूँजीगत लाभकरलगायत दलाल कम्पनी, एक्सचेञ्जले तिर्ने आयकर पनि स्वतः घट्ने नै हुन्छ ।

अन्त्यमा, पूँजीबजार विकासको सरकारी सल्लाहकार धितोपत्र बोर्डले बजार सुदृढीकरण, विस्तार र विकासका लागि साझेदारहरूसँग बृहद् विमर्श गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति र कार्यनीतिसहितको दस्तावेज तयार गरी सरकारलाई दिनु आवश्यक छ । कर प्रशासन नीति कार्यान्वयनकर्ता निकाय भएकाले छलफल विचारविमर्श राजनीतिक तह (सरकार)सँग गरेर कुन कर लगाउन मिल्छ कुन कर लगाउन मिल्दैन र कुन कर लगाउँदा कति आय हुन्छ, तुलनात्मक अध्ययनसमेत गर्नुपर्छ । किनकि बोर्ड पूँजीबजारको सर्वेसर्वा निकाय हो ।

२०७४ मंगसिर १० गते अभियान दैनिकमा प्रकाशित 

http://www.abhiyan.com.np/new/Articles/view/110865

Saturday, August 26, 2017

वित्तीय सेवाका क्षेत्र र भ्याटमुक्त शेयरबजार



शेयर कारोबारमा भ्याट लगाउने कि नलगाउने भन्ने विषयमा बहस शुरु भएको छ | लगानीकर्ताको एउटा संघले लगाउनुपर्छ र अर्कोले लगाउनु हुन्न भनेर वक्तव्य जारी गरेका छन् | नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले पनि लगाउनु हुन्न भन्दै वक्तव्य जारी गरे | धितोपत्र बजारलाई नजिकबाट नियालिरहेका लगानीकर्ता, अधिवक्ता, चार्टड एकाउन्टेन्ट, पूर्व अर्थमन्त्री, सम्वद्ध निकायका पूर्व अधिकारीहरु तथा करका जानकारहरुले पनि लगाउन हुन्न र मिल्दैन भन्ने विचार व्यक्त गरेका छन् |   

हस्तान्तरणमा लाग्ने दस्तुर

शेयर हस्तान्तरण गरिदिए वापत दलालले धितोपत्र वोर्डले तोकिदिएको शुल्क लिन्छन | शुल्क कारोबार रकममा आधारित छ | कारोबार रकम बढ्दै जाँदा घट्ने र घट्दै जाँदा बढ्ने गरि कमिसन तोकिएको छ | न्यूनतम ०.४ देखि अधिकतम ०.६ प्रतिशतसम्म तोकिएको छ र कमिसन रकम रु. २५ भन्दा कम नहुने व्यवस्था गरिएको छ | दलालले लिएको कमिसन मध्येबाट २० प्रतिशत स्टक एक्सचेन्जलाई, बाँकी रहेकोबाट अग्रिम कर कट्टी वापत १५ प्रतिशत सरकारलाई बुझाउने गरेका छन् | ०.६ प्रतिशत वोर्डलाई तिर्ने गरेका छन् | ग्राहकले कमिसनका अतिरिक्त वोर्डलाई कारोबार रकमको ०.०१५ प्रतिशत छुट्टै तिर्नुपर्छ | त्यस्तै डिपी शुल्क र पूँजीगत लाभ भएमा लाभकर समेत बुझाउनुपर्छ | पूँजीगत लाभकर गणनाको लागि स्टक एक्सचेन्जले हकप्रद र बोनसको लागि आधार मूल्य तोकिदिने गर्छ भने प्राथमिक शेयरको लागि परल मूल्यलाइ आधार मानिन्छ | दोस्रो बजारबाट किनिएको शेयरको हकमा खरिद र बिक्री मुल्यको अन्तर अनुसार पूँजीगत लाभकर निर्धारण गरिन्छ |  

विवादको प्रस्थान विन्दु

महालेखा परीक्षकले मूल्य अभिवृद्धि कर नियमावली अनुसार रु. २० लाख भन्दा बढीको वस्तु वा सेवाको कारोबार गर्दा मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुनुपर्ने उल्लेख गरेको र मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूचीमा उल्लेखित कर छूट हुने वस्तु वा सेवाको सूचीमा धितोपत्र दलाली सेवालाई मुअक छूट नदिएकोले असुल गर्नुपर्ने भन्दै प्रतिवेदन दिएपछि विवाद सतहमा आएको हो |

विवाद समाधानको पहल

विवाद उठेपछि समाधान गर्न पहल गर्ने क्रममा ‘धितोपत्र दलाल संघ’ ले धितोपत्र वोर्डलाई अनुरोध गरेपछि वोर्डले तालुकदार मन्त्रालयलाई ‘धितोपत्र दलाली’ ‘वित्तीय सेवा’ मा पर्ने र वित्तीय सेवा प्रदायकले मुअकमा दर्ता भई र मुअक तिर्नु नपर्ने भएकोले अनुसूचीमा समावेश गरिदिन पहल गरेको देखिन्छ |

वित्तीय सेवाको क्षेत्र

वित्तीय सेवाका क्षेत्र कुन कुन हुन भन्ने विषयमा प्रष्ट पार्ने विशेष कानुन नभएकोले निक्षेप लिएर कर्जा प्रवाह गर्ने बैंक (विकास बैंक, वित्त कम्पनी र लघुवित्त समेत) मात्र वित्तीय संस्था हो भन्ने सामान्य बुझाई रहेको छ | यस्तो बुझाई वा सोचाई राख्नु अत्यन्त संकुचित हुन्छ | मुअक ऐनको दफा ४३ ले यस ऐन र ऐन अन्तर्गत बनेका नियममा लेखिए जतिमा सोहि बमोजिम र अरुमा प्रचलित कानुन बमोजिम हुने व्यवस्था गरेको छ | अन्य प्रचलित कानुन अध्ययन गर्दा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २()()() मा हस्तान्तरणयोग्य धितोपत्र’ भनिएको छ | यसलाई दलाल सेवा भनेर बुझ्नुपर्ने हुन्छ | त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४ को दफा २() मा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको रुपमा ‘धितोपत्र दलाललाई पनि अनुमति पाउन सक्ने संस्थाको रुपमा सूचीकृत गरिएको छ |

नीतिगत दस्तावेजको रुपमा मन्त्रिपरिषदबाट २०७३ सालमा स्वीकृत ‘वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४-२०७७/७८’ ले वित्तीय प्रणालीको संरचनामा दलाललाई समावेश गरेको छ |

मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ मा वित्तीय सेवा आपूर्ति अन्तर्गत ‘शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्काशन वा व्यबस्थापन वा खरीद बिक्रीसंग सम्बन्धित जस्ता सेवालाई वित्तीय सेवा भनिन्छ । मूल्य अभिवृद्धि कर ऐनमा यस्तो वित्तीय सेवामा कर छुट हुने व्यवस्था रहेको छ भनिएको छ |

उल्लेखित कानुनी तथा नीतिगत व्यवस्थाले दलाल वित्तीय संस्था हुन भन्ने पुष्टि गरेको छ | अन्तर्राष्ट्रियरुपमा पनि दलाली सेवालाई वित्तीय संस्था मानिएको छ | वित्तीय सेवा भित्र आर्थिक विषयवस्तु जोडिएर आउने सबै विषय समावेश हुन्छ | बैंक, मर्चेन्ट बैंक, बिमा, धितोपत्र दलाल, विप्रेषण, मुद्रा विनिमय, क्रेडिट युनियन, क्रेडिट कार्ड कम्पनी, लेखा व्यवसायी कम्पनी पनि वित्तीय सेवाको परिभाषा भित्र पर्छन् |

मुअकमुक्त हुनुपर्ने आधार

व्यवहारमा शेयर ‘किन्ने र बेच्ने’ भनिए पनि कानुनत भोगको हस्तान्तरण हो | कम्पनीको विभाजित पूँजीको इकाई वा अंशलाइ शेयर र यसलाई धारण वा भोग गर्ने व्यक्ति (प्राकृतिक वा कानूनी) लाई शेयरधनी भनिन्छ | शेयरधनीले आफ्नो आवश्यकता अनुसार इकाई वा अंश पुरै वा केहि अर्को व्यक्तिलाई हस्तान्तरण गर्छन | यसैलाई व्यवहारमा शेयर किन्ने र बेच्ने भनिन्छ | यसरी हस्तान्तरण गर्नको लागि कुनै संस्थालाइ माध्यम बनाउनपर्छ | यस्ता माध्यमकोरुपमा कार्य गर्ने संस्थालाई दलाल भन्ने गरिन्छ | दलालले हस्तान्तरणमा मात्र सहयोग पुर्याउने हो | भ्याट वस्तु र सेवाको अन्तिम उपभोग गर्नेले तिर्ने सैद्धान्तिक मान्यता रहेको छ | यस हिसाबले शेयरको अन्तिम उपभोक्ता भन्ने कोहि हुन्न | अनगिन्ती पटक हस्तान्तरण हुने भएकोले शेयर हस्तान्तरणमा भ्याट लगाईनु सर्वथा अनुचित छ र शेयर हस्तान्तरण भ्याटमुक्त हुनुपर्छ |

विवाद समाधानको उपाय
नआउनुपर्ने विवाद आइसकेपछि समाधान पनि खोजिनुपर्छ, विवाद (समस्या) भित्र समाधान पनि सँगै आउँछ | पूँजीबजारको अभिभावक र नियमक भएको यसको लागि पहल वोर्डले गर्नुपर्छ | वोर्डले लगानीकर्ताको विवाद स्टक र दलालसँग हो भनेर नजरअन्दाज गरेमा वोर्डकै विश्वसनीयतामा प्रश्न उठ्छ | पूर्ण अभौतिक कारोबार प्रणाली शुरु भईसकेकोले प्राथमिक, बोनस, हकप्रद र किनेको शेयर छुट्टयाउन कठिन हुने भएकोले एकीकृत कारोबार कर प्रणालीमा जान वोर्डले पहल गर्नुपर्छ यसो गर्दा कर गणना गर्न सजिलो र पारदर्शी हुन्छ | यस्तो करको दर साझेदारहरु बीच छलफल गरि निर्धारण गर्न सकिन्छ | एकीकृत कारोबार कर लगाउँदा लेखा प्रक्रिया सरल हुन्छ | कारोबार कर लागू गर्दा लगानीकर्ता र व्यापारीलाई फरकफरक दर तोक्न सकिन्छ | यसो गर्दा लामोसमयसम्म शेयर धारण गरिरहने अभ्यास बढ्दा बजारमा हुने तिब्र उतारचढावलाइ केही हदसम्म रोकेर स्थिरता कायम राख्न समेत मद्दत पुग्छ | लिएको कर रकम साझेदारहरुलाई के कति अंश भाग लगाउने भन्ने विषय नियमकको सिफारिशमा सरकारले तोकिदिनुपर्छ |



महालेखा परीक्षकको प्रतिवेदन र शेयरबजारमा मूअक



महालेखा परीक्षक (मलेप) को ५४ औँ वार्षिक प्रतिवेदन २०७३ मा धितोपत्र दलालले दलाली शुल्क वापत मूल्य अभिवृद्धि कर (मूअक) नतिरेको भन्ने अनुच्छेद छ | यसैलाई लिएर सरकारले धितोपत्र दलाली शुल्कमा मूअक लगाउने घोषणा गरेपछि यसका पक्ष र विपक्षमा क्रिया प्रतिक्रिया आइरहेका छन् | शेयर लगानीकर्ता संघ, नेपाल (संक्षिप्तमा संघ) नामक लगानीकर्ताको एउटा संगठनले मूअक लगाउनै पर्छ भनेर वक्तव्य दियो भने शेयर लगानीकर्ताकै अर्को संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले शेयरबजारको कुनै पनि सेवामा मूअक लगाउन नहुने र मुक्त हुनुपर्ने भनिरहेका छन् | करका क्षेत्रमा कार्य गरिरहेका करका जानकार, अधिवक्ता, चार्टर्ड एकाउन्टेन्टहरु शेयरबजार वित्तीय क्षेत्र भएकोले लगाउन हुन्न भनिरहेका छन् |
प्रतिवेदनको दुई अनुच्छेद
मलेप प्रतिवेदनको ४४ नं. मा ‘मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ बमोजिम ऐनको अनुसूची १ मा नेपालभित्र आपूति भएका वस्तु वा सेवामा मूअक लाग्ने व्यवस्था छ । मूअकमा दर्ता हुनुपर्ने दायित्व भएका व्यक्तिले दर्ता नभै कारोबार गरेमा कर अधिकृतले दफा २० बमोजिम कर निर्धारण गर्न सक्ने व्यवस्था र दफा २९ मा जरिबाना समेत गर्ने प्रावधान रहेको छ । धितोपत्रको ब्रोकर सेवा प्रदान गर्ने करदाताले प्राप्त गर्ने ब्रोकर कमिसनमा मूअक छुट नदिएकोमा करदाता सेवा कार्यालय पुतलीसडक र नयाँसडक अन्तर्गत ९ करदाताले रु. ४६ करोड ७० लाखको कारोबार गरेकोमा रु. ६ करोड ७ लाख मूअक असुल भएको देखिएन । उक्त कर रकम असुल हुनुपर्दछ |’ भनेको छ |
त्यस्तै प्रतिवेदनकै २८ नं. मा ‘मूअक ऐन २०५२ को अनुसूची १ को समूह ११ को (आ) मा वित्तीय सेवालाई कर छुट हुने सेवामा राखेको देखिन्छ । सो अनुरुप एक स्थानबाट अर्को स्थानमा रकमको स्थानान्तरण तथा लगानी सम्बन्धी कारोबार गर्ने मनि ट्रान्सफर तथा मर्चेन्ट बैक वित्तीय सेवासँग सम्बन्धित देखिन्छ । तर ती वित्तीय सेवा प्रवाह गर्ने संस्था वित्तीय सेवाको आधारमा मूअकमा दर्ता भएको पाइएन । वित्तीय सेवा भएको आधारमा मूअकमा दर्ता नभएकोले वित्तीय संस्थालाई लाग्ने ३० प्रतिशतका दरले कर तिर्नुपर्नेमा नतिर्ने मनि ट्रान्सफरतर्फ ५ कार्यालयका २१ करदाता र मर्चेन्ट बैङ्कतर्फ ३ कार्यालयका ९ करदाताबाट नपुग ५ प्रतिशतले छुट भएको कर रु. ४ करोड ३६ लाख असुल गर्नुपर्ने देखिन्छ |’

परस्पर विरोधी प्रतिवेदन
उल्लेखित मलेपको यी दुई अंश एकअर्कासँग बाझेको प्रष्ट देख्न सकिन्छ | मर्चेन्ट बैंकलाई वित्तीय संस्था र मूअक छूट पाउने अनुसूचीमा सुचिकृत हो भनेर आफैँ व्याख्या गर्ने महालेखाले दलालीलाइ वित्तीय सेवा भनेर देखेन | मलेपले मर्चेन्ट बैंकलाइ वित्तीय सेवा मानिसकेपछी दलाललाइ पनि सोहि कोटिमा राखेर दलाल कम्पनीलाई पनि नपुग भएको ५ प्रतिशतले छुट हुन गएको रकम कति हुन्छ त्यति असुल गर्न भन्न सक्ने प्रशस्त ठाउँ रहेको छ | मलेपले भने जस्तो मूअक छूट पाउने अनुसूचीमा मर्चेन्ट बैंक नै भनेर उल्लेख गरिएको छैन | मलेपले मर्चेन्ट बैंकले ‘लगानी सम्बन्धी कारोबार गर्ने’ र मनि ट्रान्सफरले ‘एक स्थानबाट अर्को स्थानमा रकमको स्थानान्तरण’ गर्ने भनेर आफैंले जानकारीमा लिएर वित्तीय क्षेत्र भन्ने अर्थ लगाएको छ | मलेप आफैँले जानकारीमा लिएको ‘लगानी व्यवस्थापन’ र ‘रकम स्थानान्तरण सेवा’ भन्दा ‘दलाली सेवा’ कुन प्रसंगले फरक छ ? जसरी मनि ट्रान्सफर गर्नेले आफूसँग भएको रकम स्थानान्तरण गरिदिने हैनन् ग्राहकको रकम अर्को स्थानमा पुर्याउने गर्छन त्यसै गरि दलालले पनि एउटा व्यक्तिको भोगमा रहेको शेयर अर्को व्यक्तिलाई हस्तान्तरणमा मात्र सहयोग गर्छन | मनि ट्रान्सफर र दलाली सेवामा स्वरुपको बाहेक तात्त्विक कुनै भेद छैन | 

नीति र कानुनमा दलाली सेवा 

नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७३ सालमा स्वीकृत ‘वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४-२०७७/७८’ ले वित्तीय प्रणालीको संरचनामा दलाललाई समावेश गरेको छ | रणनीतिको परिचय खण्डमा नै ‘नेपालको वित्तीय प्रणालीको विकास विगत आठ दशकदेखि क्रमिकरूपमा हुँदै आएको छ । वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएसँगै नेपालमा आधुनिक वित्तीय प्रणालीको विकासको शुरुवात भएको हो । सोही वर्ष विराटनगर जुट मिल तथा नेपाल बैंक लिमिटेडको साधारण शेयर निष्काशन गरी ‘धितोपत्र बजार’ का क्रियाकलापहरू पनि सुरु गरिएको थियो ।.....’ भनिएको छ | रणनीतिले नै ‘धितोपत्र बजार’ का क्रियाकलापहरु भनेर वित्तीय सेवाको शुरुवातलाई जोडेको छ | यति बुझिसकेपछि ‘धितोपत्र दलाली’ सेवा पनि धितोपत्र बजारका क्रियाकलाप हुन् भनिरहनु पर्दैन |

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४, अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४, मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ मा समेत धितोपत्र बजार र दलाली सेवा वित्तीय सेवामा सामेल भएको छ |

राजश्व परामर्श समितिले प्रतिवेदन तयार गर्ने सिलसिलामा गठन गरेको ‘बैंक, वित्तीय संस्था, विमा, सहकारी, बजार उपसमिति’ को कार्यक्षेत्र अन्तर्गत बैंक, वित्तीय संस्था, बिमा, रेमिटेन्स, पूँजीबजार, सहकारी, आर्थिक नीति तथा रियल स्टेट सम्बन्धि विषय रहेका छन् |

आइपीओ र हकप्रदको मूल्य ११३ !

अहिले कम्पनीहरुले जारी गरिरहेका साधारण शेयरको मूल्य रु. १०० रहेको छ | कानुनले तोकेको अवस्था पुरा गर्ने कम्पनीले मूल्य थप्न समेत पाउने व्यवस्था गरिएको छ | केहि समय अघि एउटा विमा कम्पनीले रु. १४२५ मा शेयर बेचेको थियो | शेयरबजारमा मूअक लगाउन थालियो भने साधारण शेयरको परल मूल्यमा १३ प्रतिशत मूअक थपेर ११३ मा किन्नुपर्ने हुन्छ | त्यस्तै थप मूल्यमा जारी गरेको उल्लेखित विमा कम्पनीको शेयर मूल्यमा १३ प्रतिशतले हुने १८५ रुपैयाँ २५ पैसा जोड्दा १६१० रुपैयाँ २५ पैसा हुन्छ | हकप्रद र बोनस शेयरमा पनि १३ प्रतिशत मूअक बुझाउनुपर्छ | कारोबार गर्दा लाग्ने डिपी शुल्क, धितोपत्र वोर्ड शुल्क सबैमा १३ प्रतिशत थपिन थाल्छ | यस्तै शुरुवात हुँदै जाँदा भोलिका दिनमा बैंकिंगमा पनि ब्याज बाहेक अन्य सबै सेवामा १३ प्रतिशत मूअक थपिँदै जान्छ |

आम्दानीमा मूअक ?

संघले महालेखाको प्रतिवेदनको अंश उल्लेख गर्दै लगानीकर्ताले मूअक सहित दलाल कमिसन तिरेकोले दलालले लगानीकर्ताबाट उठाएको मूअक तिर्नुपर्ने भन्दै वक्तव्य जारी गरेको छ | तर अहिलेसम्म लगानीकर्ताले मूअकको बिजक पाएका छैनन् | मूअक लिएको भए बिजकमा सो उल्लेख हुनुपर्ने हैन ? कमिसनमा मूअक लगाउन माग गर्ने संघले मूअकको सैद्धान्तिक पक्ष पटक्कै बुझेको देखिएन | कमिसन आम्दानी हो र आम्दानीमा आयकर लाग्छ र मूअक उपभोग्य वस्तु वा सेवाको अन्तिम उपभोगमा लाग्छ र शेयरको भोग मात्र हस्तान्तरण हुन्छ भन्ने सामान्य ज्ञान पनि लिन सकेको देखिन्न | स्टकलाई बुझाउनु पर्ने रकम कटाएर दलालको हिस्सामा पर्ने रकममा मात्र भएपनि मूअक लगाईदेउ भन्ने अरण्यरोदनयुक्त गजवको कमेडी पनि देखिएको छ | 

शेयरबजारको नियमक धितोपत्र वोर्ड भने परेमा ऐन संशोधन गरेर भएपनि शेयरबजारको कुनै पनि सेवामा मूअक लगाउन नदिने अठोटका साथ प्रस्तुत भएको छ | वोर्डको यो अभिव्यक्तिलाई शेयरबजार मूअकमुक्त हुनुपर्छ भनेर लागिपरेकाहरुका लागि ऊर्जा बनेको छ | 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...