Sunday, March 31, 2019

डिवेन्चर : पूँजीबजारको वित्तीय उपकरण

ऋणपत्र (डिवेन्चर) जारी गर्ने क्रम बढेको छ  पहिले यदाकदा सुनिने ऋणपत्र अहिले भने शेयर भन्दा बढी सुनिन थालेको छ  शेयरमा मात्र आवेदन गरिरहेकाहरुको लागि ऋणपत्र अनौठो विषय बनेको छ  केन्द्रीय निक्षेपक (सिडिएस) ले विद्युतीय माध्यम (मेरो शेयर) बाट ऋणपत्रमा पनि आवेदन गर्न मिल्ने बनाइदिएपछि यसमा चासो बढेको हो  मेरो शेयरमा केन्द्रीय निक्षेपकले यसलाई आइपिओ नै भनेर राखिदिएको तर प्रतिकित्ता १ हजार रुपैयाँ र न्यूनतम २५ कित्ता आवेदन गर्नुपर्ने व्यवस्थाले भने आइपिओ (शेयर) जस्तै हो कि हैन भन्ने दुबिधा पनि देखिएको छ  यस आलेखमा ऋणऋणपत्र वा डिवेन्चर शब्दावलीको उपयोग गरिएको हुँदा यसलाई एकै अर्थमा बुझ्न आग्रह गर्दै शेयर र ऋणपत्रका मुलभूत भेद एवम ऋणपत्रको समग्र पक्षलाइ केलाउने प्रयास गरिएको छ 

ऋणपत्रको कानुन

सामान्य अर्थमा ऋणपत्र भनेको कम्पनीलाई दिएको ऋण हो । व्यक्ति-व्यक्ति, बैंक/वित्त वा अन्य प्रकारका संस्थाले व्यक्ति वा संस्थालाई ऋण दिए जस्तै व्यक्ति वा संस्थाले पनि कम्पनीलाई ऋण दिनसक्छन । यसलाई कम्पनी भाषामा डिवेन्चर वा ऋणपत्रभनिन्छ । अन्य ऋण जस्तै यस्तो ऋणमा पनि व्याज पाइन्छ र निश्चित समयपछि ऋण फिर्ता हुन्छ । कम्पनीले ऋण लिँदाका बखत गरेको शर्त वन्देजको आधारमा ऋणपत्र शेयरमा पनि परिणत हुनसक्छ । कम्पनी ऐन २०६३ दफा २(ध) मा डिबेञ्चर भन्नाले कम्पनीको जायजेथा धितो राखी वा नराखी कम्पनीले जारी गरेको ऋणपत्र सम्झनुपर्छभनेको छ । यसरी जारी हुने ऋणपत्र धारकको हित रक्षा संरक्षणको लागि डिबेञ्चर ट्रष्टीको व्यवस्था समेत गरिएको हुन्छ । त्यस्तो डिबेञ्चर ट्रष्टी धितोपत्र वोर्डबाट स्वीकृति प्राप्त हुनुपर्नेछ । ऋणपत्र पब्लिक र प्राइभेट दुवै प्रकारका कम्पनीले उठाउन सक्छन । पब्लिक कम्पनीले खुलारुपमा प्रस्ताव आव्हान गरि उठाउन सक्छन भने प्राइभेट कम्पनीले खुलारुपमा उठाउन सक्दैनन् । कम्पनी ऐन २०६३ को दफा २०(२)(प) मा कम्पनीले ऋण उठाउन सक्ने व्यवस्था कम्पनीको नियमावलीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

शेयर र डिबेञ्चरको अन्तर

सिडिएसले डिबेञ्चरमा आवेदन गर्न सरल बनाउने क्रममा शेयर सरह आइपिओभनेर उल्लेख गरिदिएपछि शेयरमा आवेदन गरिरहेका लगानीकर्ताको लागि दुविधा उत्पन्न भएको छ । सिडिएसले आइपिओ लेखिदिए पनि शेयर र डिबेञ्चरमा तात्विक अन्तर छ । कम्पनीको लागि भने यी दुबै पूँजीको आवश्यकता पुरा गर्ने वित्तीय उपकरण भएकोले आवश्यकता अनुसार ऋण पूँजी (डिबेञ्चर) लाइ पनि उपयोग गर्न सक्छन । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ४९(१)(ट) र ४(झ) मा पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि डिबेञ्चर जारी गर्नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार देखि वर्गसम्मका बैंक/वित्तीय संस्थाले डिबेञ्चर जारी गर्न सक्छन् । कानुनले सबै वर्गका बैंक/वित्त्लाई डिबेञ्चर जारी गर्नसक्ने अधिकार दिए पनि वर्गका वाणिज्य बैंकले मात्र यस्तो अभ्यास गरेका छन् । कुनै पनि वर्गका बैंक/वित्तले डिबेञ्चर जारी गर्नु अघि ऐनको दफा १०(३) अनुसार राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । बोलीचालीमा कम्पनीका शेयर धारण गर्नेलाई साहुभन्ने गरिए पनि कानुनी अर्थमा साहु भनेका कम्पनीलाई ऋण दिने व्यक्ति/संस्था वा यस्तै डिबेञ्चर धारण गर्नेहरु हुन् । शेयरधनी कम्पनीका मालिक वा हिताग्राही हुन् । कम्पनीको शेयर हित हो भने यसलाइ धारण गर्ने हिताधिकारी हुन् । कम्पनीको हित (शेयर) धारण गर्नेको दायित्व सिमित हुन्छ । तर कम्पनीको दायित्व भने असिमित हुन्छ । सिमित दायित्वको बारेमा विस्तृत चर्चा कुनै आलेखमा छुट्टै गरिनेछ । शेयर र डिबेञ्चरको मूल अन्तरलाई तालिकामा देखाइएको छ ।

शेयर र डिवेन्चरको मूलभूत भिन्नता
आधार
शेयर
डिबेञ्चर
अर्थ
कम्पनीको विभाजित पूँजीको अंश हो ।
कम्पनीले लिएको सापटी वा ऋण हो ।
धारकको स्थिति
शेयरधनी
साहु
प्रतिफल
असिमित लाभांश (बोनस वा नगद)   
सिमित (निश्चित) व्याज  
प्रतिफल प्राप्तिको शर्त
नाफा-नोक्सान हिसाबबाट बाँकी रहेमा मात्र प्राप्ति हुन्छ ।
नाफा नभए पनि व्याज प्राप्ति हुन्छ ।
सुरक्षण
शेयर जारी गर्दा राखिएको हुन्न ।
सुरक्षण राखेर जारी हुन्छ ।
मतदान र संचालक
शेयरधनीलाइ मतदान गर्ने संचालक हुने अधिकार हुन्छ ।
डिबेञ्चरधनीलाई यस्तो अधिकार हुन्न ।
परिवर्तन
शेयर परिवर्तित भएर ऋण बन्दैन ।
डिबेञ्चर परिवर्तन भएर शेयर बन्न सक्छ ।
कम्पनी खारेजीको परिणाम
अन्तिममा बाँकी रहेमा भुक्तानी गरिन्छ ।
प्राथमिकतामा हुन्छन् शेयरधनीलाई भन्दा पहिले भुक्तानी गरिन्छ ।
अवधि
शेयर पूँजीको अवधि हुन्न ।
डिबेञ्चर निश्चित अवधिको लागि लिइन्छ ।
जोखिम
अधिक (नाफा नपाईन सक्छ जस्तै नेशनल हाइड्रोपावर)
सुरक्षण राखिएकोमा जोखिमरहित र सुरक्षण नराखिएकोमा न्यून जोखिम हुनसक्छ ।
मुल्य
शेयर प्रिमियम मुल्यमा जारी हुनसक्छ ।
डिबेञ्चर परल मुल्यमा मात्र जारी हुन्छ ।

ऋण उठाउने कार्यविधि

कम्पनी ऐनको दफा ३४(१) मा कुनै पब्लिक कम्पनीले ऋण उठाउन आवश्यक ठानेमा त्यसको कारणत्यसबाट सम्पन्न हुने कार्ययोजना र त्यसको लागि आवश्यक बजेट समेत निर्धारण गरी कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण उठाउन सक्ने व्यवस्था रहेको छ । त्यस्तै सम्बन्धित निकायबाट कारोबार शुरु गर्ने स्वीकृति लिएर जारी पूँजी पूर्णरुपमा चुक्ता गरेको हुनुपर्छ । ऋणपत्र जारी गर्ने सम्बन्धमा डिबेञ्चर ट्रष्टी र कम्पनी बीच (१) कम्पनीको सम्पत्तिको मूल्यांकनपरियोजना विश्लेषण वा व्यवस्थापन विश्लेषण गर्न गराउन सक्ने कुरा(२) डिबेञ्चरवालाले खरिद गरेको डिबेञ्चरको साँवा र ब्याज भुक्तानी गर्ने समयब्याज दरसाँवा ब्याज भुक्तानी गर्ने प्रक्रिया र डिबेञ्चरलाई शेयरमा परिणत गर्ने व्यवस्था भए तत्सम्बन्धी कुरा(३) कम्पनीको जायजेथामा अरु साहूको हक र भविष्यमा उत्पन्न हुने दायित्वका सम्बन्धमा भएको व्यवस्था सम्बन्धी कुरा(४) सम्झौतामा उल्लिखित शर्तहरु उल्लङ्घन भएमा वा पुरा नगरेमा वा अन्य कुनै मनासिव कारणले कम्पनीको आर्थिक कारोबार नियन्त्रणमा लिनुपर्ने भएमा वा सम्झौता बमोजिमको धितो कब्जामा लिनुपर्ने भएमा डिबेञ्चर ट्रष्टीले त्यस्तो कम्पनीको जायजेथा वा सम्पत्ति वा डिबेञ्चर ट्रष्टीले धितो जमानतमा लिएको सम्पत्ति आफ्नो कब्जामा लिन सक्ने वा धितो जमानत आफैले राख्न वा लिलाम बढाबढ वा अन्य उपयुक्त तरिकाले बिक्री गर्न सक्ने कुरा, (५) डिबेञ्चर ट्रष्टीको हैसियतले कार्य गर्दा कम्पनी वा डिबेञ्चरवालालाई कुनै हानि नोक्सानी वा घाटा भएमा जिम्मेवारी वहन नगर्ने कुरा(६) कम्पनी विघटन गर्नुपर्ने अवस्था उत्पन्न भएमा डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवालाको तर्फबाट गर्न सक्ने कानूनी कारबाही र डिबेञ्चरवालाको अधिकार प्रयोग गर्ने कुरालगायतका आवश्यक कुरा खोलेर सम्झौता गर्नुपर्छ । डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवालाको हित संरक्षणको निमित्त कम्पनीको जायजेथा सुरक्ष णस्वरुप लिन र त्यस्तो सुरक्षण प्रचलित कानून बमोजिम आफ्नो नाममा पारित गराई राख्न सक्नेछ ।

अन्तमा, डिबेञ्चरमा हुने लगानीलाई तुलनात्मकरुपमा सुरक्षित मानिन्छ । अर्धवार्षिक वा वार्षिकरुपमा प्रचलित कानुन बमोजिम ब्याजकर कटाएर व्याज प्राप्ति हुन्छ । डिबेञ्चर धितोबन्धक राखेर ऋण लिन पनि सकिन्छ । यसलाई स्टक एक्सचेन्जबाट सहज कारोबार गराउन सकेमा यसको उपादयेता अझ बढ्ने निश्चित छ । डिबेञ्चरको अवधि ७ देखि १० वर्षको हुने गरेको छ । अवधि समाप्तिपछि धारकले मूलधन फिर्ता पाउँछ । एक प्रकारले यो मुद्दती जस्तै हो ।



आर्थिक अभियान दैनिक २०७५ चैत ४ 

शेयरबजारमा स्थायी लेखा नम्बरको पिरलो

शेयरबजारलाई मूल्य अभिवृद्धि कर (मूअक) ले सताउनुसम्म सतायो । महालेखा परीक्षकको ५४औं वार्षिक प्रतिवेदन २०७३ मा धितोपत्र दलालले दलाली शुल्क बापत मूअक नतिरेको भन्दै कैफियत जनाएपछि शुरू भएको मूअकको रडाकोले शेयरबजार तताएको थियो । कर प्रशासनले पनि सुझबुझ विना दलाली शुल्क (कमिशन) मा मूअक लगाउने घोषणा गरेपछि शेयर कारोबारीका सङ्गठन पनि ‘लगाउनैपर्छ’  ‘लगाउनु हुँदैन’ भनेर पक्षविपक्षमा देखिएको जुहारी २ वर्ष चल्यो । अन्ततः डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि पहिलो बजेट वक्तव्यले यसलाई सदाका लागि समापन गरिदियो ।

मूअकपछि प्यान 

शेयरबजार वित्तीय क्षेत्र भएकाले सैद्धान्तिक रूपमा मूअक लाग्दैन भन्ने जानकारी नभएर वा बुझ पचाएर धितोपत्र बोर्ड र कर प्रशासनका कारण मूअक विवादलाई समापन गर्न ठूलै पापड बेल्नुपर्‍यो । मूअकको घाउ बिसेक भएपछि सरकारी नीति (नीति तथा कार्यक्रम र बजेट) विना नै बोर्डले आफूखुशी आफ्नो वार्षिक नीति तथा कार्यक्रममा शेयर कारोबारमा प्यान लगाउने स्वघोषणा गरेर ‘प्यान कार्यान्वयन गराउनु’ भन्दै नेपाल स्टक एक्सचेन्जलाई आदेश जारी गर्‍यो । बोर्डको आदेश आएपछि नेप्से प्रशासनले पनि आन्तरिक रूपमा छलफल नै नगरी लगानीकर्तालाई ‘प्यान लिऊ’ र दलाललाई ‘प्यान सहजीकरण कक्ष स्थापना गर’ भन्दै प्रतिआदेश जारी गर्‍यो । आदेश र प्रतिआदेशको सिलसिला हेर्दा बोर्ड सर्वोच्च कर प्रशासकनेप्से मध्यम र दलाल कार्यान्वयनकर्ता जस्ता देखिएका छन् । कानूनतः यी तीन निकायको कार्यक्षेत्र धितोपत्र कानूनले निर्दिष्ट गरेको विशिष्ट प्रकारको हुँदाहुँदै करसम्बद्ध प्यान लगाउने सम्बन्धमा हात हाल्नु अधिकार क्षेत्रविहीन कार्य हो ।

प्यान र आयकर कानून

अंग्रेजी भाषाको पर्मानेन्ट एकाउन्ट नम्बरको संक्षिप्त रूप ‘प्यान’ हो । नेपालीमा यसलाई स्थायी लेखा नम्बर भनिन्छ । यस्तो लेखा नम्बर सामान्यतया पेशाव्यवसाय र रोजगारमा आबद्ध व्यक्तिले अनिवार्य लिनुपर्ने हुन्छ । आयकर नियमावली २०५९ दफा २(ख) मा ‘स्थायी लेखा नम्बर’ भन्नाले कर प्रयोजनका लागि कुनै व्यक्तिको पहिचान गर्न विभागले त्यस्तो व्यक्तिलाई प्रदान गरेको लेखा नम्बर सम्झनुपर्छ । आय हुने धेरै विधि हुन्छन् तर सबै आयमा कर लाग्दैन र लाग्दा पनि त्यसको सीमा हुन्छ । कर निर्धारणयोग्य आय भएका व्यक्तिको हकमा कर प्रयोजनका लागि व्यक्ति पहिचान गर्न विशेष पहिचान विधि हुन्छ । प्यान त्यही विधि हो । सबै व्यक्ति करदाता (प्रत्यक्ष) हुन सक्दैनन् । आयकर ऐन २०५८ दफा ७८(१) मा यस ऐनको अधीनमा रही कुनै व्यक्तिको पहिचान गर्ने प्रयोजनका लागि विभागले त्यस्तो व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्नेछ ।

आयकर कानून अनुसार ब्याजलाभांशआकस्मिक लाभ र बहाल (शर्तसहित) कर मात्र अन्तिम कर हो । यी ३ ओटा बाहेक कुनै पनि स्रोतमा तिरिएको वा कट्टी भएको कर अन्तिम होइनअग्रिम हो । अग्रिम हो भन्नुको अर्थ आय निर्धारण हुन बाँकी छ । एक आर्थिक वर्ष पूरा भएपछि मात्र अन्तिम आय निर्धारण हुने हुँदा तत्कालका लागि स्रोतमा केही अंश मात्र असुल गरिएको हो र वर्षान्तमा करदाताले आय विवरण दाखिला गरी सीमाभन्दा बढी आय भएमा तोकिएको थप कर दाखिल गरी कर चुक्ता प्रमाणपत्र लिनुपर्ने हुन्छ ।

असान्दर्भिक नीति

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा कहीँ कतै शेयर कारोबारमा प्यान कार्यान्वयन गर्ने भनेर उल्लेखै नगरेको विषय धितोपत्र बोर्डको नीति र कार्यक्रममा पर्नु नै उदेकलाग्दो कुरो थियो । धितोपत्र बोर्डको कार्यक्षेत्रमा यस्ता कुरा पर्दैन भन्ने सामान्य विषय पनि ज्ञात नहुनु लज्जास्पद कुरा हो । बोर्डको कामकर्तव्य र अधिकारक्षेत्रभन्दा बाहिर आएर प्यान लगाउन खोज्नुभन्दा के कस्ता कार्य गरेर शेयरबजारमा कसरी आमसहभागिता बढाएर यसलाई विश्वस्त बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्नेपर्ने हो । सरकारले नीतिमा व्यवस्था गर्न अघि धितोपत्र कारोबारमा के कसरी प्यान लगाउन सकिन्छ वा सकिँदैन भनेर बोर्डसँग सल्लाह लिनुपर्ने हुन्छ । यसरी सल्लाह माग भई आएमा बोर्डले वस्तुस्थिति कारोबार प्रणाली आदिको विविध पक्षमा सम्बद्धसँग छलफल गरेर के कसरी लगाउन सकिन्छ वा सकिन्न भन्ने राय दिनुपर्छ । सरकारको नीतिमा नै नभएको विषय (प्यान) लगाउन तम्सेको बोर्डले नै ‘प्यान नबुझेको स्वीकार’ गरिसकेको छ ।

जस्केलोबाट छिरेको प्यान 

बोर्डको वार्षिक कार्यक्रममा पर्नु र बजेटको मध्यावधि समिक्षामा प्यान कार्यन्वयन गर्ने भनेर तोकिनु जस्केलो नीति हो । तोकिएको दिन क्रेतालाई मात्र अनिवार्य गरिएको छ । १० लाखभन्दा बढीको शेयर किनबेचमा क्रेताविक्रेता दुवैलाई अनिवार्य छ भन्ने कुरा थाहा नभएझैं देखिएको छ । त्यस्तै बैंकवित्त र बीमाका जति कित्ता संस्थापक शेयर लिन पनि कर चुक्ता अनिवार्य गरिएको छ । प्यान विना कर चुक्ता पाइँदैन । प्यान लगाउने नै भएपछि विक्रेताबाट शुरू गरिनुपर्थ्यो । क्रेतालाई लगाउनुको अर्थ ‘कर उठाउने प्रयोजन होइन’ भनेर एकतर्फी रूपमा फकाउन खोजिएको देखिन्छ । विक्रेता मख्ख परेर सरकारी नीतिको समर्थन गर्छन् भनेर सरकार ढुक्क देखिएको छ । एक माघले जाडो नजाने हुँदा विक्रेताले एकपटक बेचेपछि फेरि किन्नुपर्छ भन्ने बुझ्न जरुरी छ ।

लगानी कि व्यापार 

शेयर मूलतः लगानी भएकाले लाभांश पाइन्छ । आयकर कानून अनुसार लाभांशमा तिरिएको लाभकर अन्तिम हुन्छ । शेयरलाई व्यापारको रूपमा पनि कारोबार गर्न सकिन्छ । शेयर लगानीबाट लाभांश मात्र लिइरहँदासम्म यसमा करको विषय जेलिएर आउँदैन । तरजब यसलाई वस्तुसरह किनबेच गरिन्छ र छिटोछिटो नाफा लिने प्रयास हुन्छ त्यतिबेला यो व्यापार हुन्छ । शेयर कारोबारलाई व्यापारका रूपमा पनि स्वीकार गरिएको हुँदा कारोबारबाट प्राप्त नाफामा ‘पूँजीगत लाभकर’ लाग्छ । वर्तमान समयमा जहिलेसुकै बेचे पनि एकै दर ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तोकिएको छ । भारतमा किनेको दिनदेखि ३ सय ६५ दिनभित्र विक्री गरेमा १५ प्रतिशत र त्यसपछि विक्री गर्दा शून्य लाभकर लाग्छ । तरनेपालमा भने अहिलेसम्म यसलाई धारण अवधिको आधारमा लाभकर लिने गरिएको छैन ।

निचोड 

शेयर कारोबारमा भुक्तानी बैंकिङ प्रणालीबाट हुने हुँदा पारदर्शिता र लगानी स्रोत पहिचान गर्न कुनै जटिलता नभएकाले यसलाई बारम्बार सताउनु औचित्यहीन छ । दैनिक ‘यति कारोबार भयो’, ‘अमुक कम्पनीका लगानीकर्ताले कमाए’ भनेर समाचारमा आए जस्तो कमाइ भएको पनि हुँदैनन् । शेयर कारोबार अनुमानको भरमा गरिने जोखिमको व्यापार भएकाले सुनिश्चित नाफा छैन । नाफा हुनासाथ स्रोतमै कर (लाभ) कट्टा गरेर भुक्तानी हुने हुँदा पारदर्शितामा पनि शंका गर्नुपर्दैन । तर पनि ‘सरकार’ र शेयर लगानीकर्ताको हित संरक्षणकर्ता ‘बोर्ड’ को सुदृष्टि देखिएको छैन । नीति हेर्दा बोर्ड र सरकार शेयरबजार बन्द गराउन उद्यत भएको जस्तो देखिन्छ । हकप्रद र बोनस शेयरमा कर गणना कसरी गर्ने टुंगो नलागेको बेला प्यानलाई अहिले थान्को लगाएर विस्तृत अध्ययन पश्चात् मात्र लागू गराउनु अहिलेको लागि श्रेयस्कर हन्छ । कुनै पनि नीति लागू गर्दा त्यसको उपादेयता असर र प्रभाव मूल्यांकन नगरी लागू गर्न खोज्दा त्यसबाट दुष्परिणाम आउँछ । यस्तो अवस्थामा देशले अब्बल विज्ञ अर्थमन्त्री पाएको बेला मूअकलाई सदाका लागि समापन गरेझैँ प्यानको विवादलाई पनि समापन गर्न अग्रसर हुनुपर्ने देखिन्छ ।

आर्थिक अभियान दैनिक





Tuesday, March 26, 2019

संस्कृत भाषामा कति शब्द बन्लान्

संस्कृत भाषामा कति शब्द बन्लान् ? पढेर तपाँइ छक्क पर्नुहुनेछ ।
के तपाँइले कहिल्यै सोच्नु भएको छ ? नेपालीमा खा, जा, पठ् जस्ता धातुबाट बन्ने शब्दका रूपहरू कति होलान् ? अझ एउटै 'खा' धातु बाट बन्ने शब्द रूपहरू अनुमान गर्नुस् । जस्तै - खान्छ, खान्छन्, खान्छिन्, खानुहुन्छ, खाइँदै, खान्छे, खान्छस्, खानेछस्, खानेछु, खानुहुनेछ, खानेछिन्, ख्वाइनेछ, ख्वाइनेछिन् आदि । यस्ता शब्दका रूपहरू लिङ्ग, वचन, काल, पुरूष आदिमा चल्दछ । अब अनुमान गर्नुहोस्, कति वटा शब्दहरू बन्ला? कति २०? ५० ? १०० ? २००? वा ५०० ? अझ दिमाखलाइ फराकिलो बनाएर सोच्दा यो अङ्क १००० वा २००० भन्दा माथी जान सक्दैन भनेर पनि अनुमान गर्नु भएको होला। यस्तै अंग्रेजीमा कति बन्लान् त? अरू भाषाहरूमा नी ? तर संस्कृतमा एउटै धातुबाट बन्ने शब्दरूप तपाँइले सोच्न पनि नसक्ने अंकमा बन्दछ । पत्याउनु भएन ? आफैं हेर्नुहोस् ।
संस्कृतमा महर्षि पाणिनिले पदहरूलाइ सुबन्त र तिङन्तगरि दुइ भागमा विभक्त गरेका छन् । नामआदि सुबन्त पदहुन् भने क्रियापदआदि तिङन्त पद हुन् । संस्कृत भाषामा एक -एक धातु बाट लाखौं शब्दहरु बन्दछन् । संस्कृतको विशेषता भनेकै यहि हो । जुन भाषामा शब्दमा विविधता पाइन्छन् त्यो भाषा समृद्ध भाषाको श्रेणीमा आउँछ । अब हामी उदाहरणबाट बुझ्ने कोशिश गरौं ।
संस्कृतमा दश लकार हुन्छन् । लट्, लिट्, लुट्, लृट्, लेट्, लोट्, लङ्, लिङ्, लुङ्, लृङ् । लकारको अर्थ काल हो । लेट् लकार वेदमा मात्र प्रयुक्त हुन्छ । प्रायः व्यवहारमा लेट् लकारको प्रयोग गरिदैन । लिङ् लकारको दुइ भेद हुन्छ । विधिलिङ् र आशीर्लिङ् । यसरी हेर्दा सामान्य व्यवहारमा पनि दश लकारको प्रयोग पाइन्छ ।
प्रत्येक लकारमा तीन पुरूष हुन्छन् । प्रथम, मध्यम र उत्तम पुरूष र प्रत्येक पुरूषमा तीन वचन पनि हुन्छ । एकवचन, द्विवचन र बहुबचन । यसकारण एउटा लकारमा न्यूनतम ९ वटा पदरूप हुन जान्छन् । कहिँ कहिँ त रूपभेदको कारणले यो संङ्ख्या बढ्छ पनि ।
यसरी लट् लकारमा भू धातुको- भवति, भवतः, भवन्ति, भवसि, भवथः, भवथः, भवामि, भवावः, भवामः इत्यादि ९ वटा र बाँकी ९ लकारको रूप पनि यसैगरि बन्दा- ९x१०=९० वटा रूप बन्छ ।
यहाँ यो रूप कर्तृवाच्य परस्मैपदको हो । यदि धातु आत्मनेपदवाला हुन्छ भने यसै गरी ९० वटा रूप बन्छ । यसैगरी कर्म वाच्यमा पनि ९० वटा रूप सिद्ध हुन्छ ।
चाहना भन्ने अर्थमा धातुमा सन् प्रत्यय लाग्दछ । 'बुभूषति' = हुन चाहन्छ । कुनै पनि भाषामा यस्तो विशेषता पाइदैन । 'जिगमिषति'= जान चाहन्छ । यसै गरि यसमा पनि परस्मैपदि र आत्मनेपदि गरी १० लकारमा १८० रूप बन्छ । यसको पनि कर्मवाच्य आदिमा 'बुभूष्यते' आदि ९० रूप बन्छ ।
बार बार हुनु अर्थमा धातुमा यङ् प्रत्यय हुन्छ । यो प्रत्यय एकाच धातुमा मात्र हुन्छ, जसको आदि वर्ण हल वा व्यञ्जन हुन्छ । जस्तै भ् + ऊ -- भू , प+अठ् -- पठ् । यसबाट 'बोभूयते'=आदि ९० रूप बन्छ । यङ् लोप भएमा बन्ने रूप 'बोभवीति' तथा 'बोभोति' आदि एकवचनमा दुइ रूपको कारणले ३०+९०=१२० वटा रूप बन्छ । र यसको कर्मवाच्य, भाववाच्य कर्म कर्तृवाच्य आदिमा पनि १० वटै लकारमा रूप बन्दछ ।
त्यस्तै प्रेरणा अर्थमा धातुमा णिच्, भएर फेरी आत्मनेपद र परस्मै पद गरी १८० वटा रूप बन्छ । जस्तै भावयति, भावयतः, भावयन्ति परस्मैपदिमा र भावयते, भावयेते, भावयन्ते आदि आत्मनेपद रूपमा । यसको संख्या पनि १८० नै भयो ।
त्यस्तै सन्, यङ्, णिच् प्रक्रियाले बने शब्दहरू पुनः मिलेर ९०-९० वटा रूप बन्छ । जस्तै - पुनः पुनः भवितुमिच्छति = 'बोभूयिषते' (फेरि फेरि हुन चाहन्छ ।) , पुनः पुनः भावयितुमिच्छति = बोभूययिषति आदि ।
वेदमा त अझ प्रयुक्त हुने लेट् लकारको धेरै रूप हुन्छन् । जस्तै भू धातुको लेट् लकारको केवल प्रथम पुरूषको एकवचनमा बन्ने रूपहरू - भविषति, भाविषाति, भाविषद्, भाविषाद् , भाविषत्, भाविषात्, भविषति, भविषाति, भविषद्, भविषाद्, भविषत्, भविषात्, भवति, भवाति, भवद्, भवाद् , भवत्, भवात् आदि । त्यस्तै द्विवचनमा ६ खालको रूप, बहुवचनमा १२ खालको रूप, मध्यम पुरूषको द्विवचनमा ६, बहुबचनमा ६, उत्तम पुरूषको एकवचनमा, द्विवचन र बहुवचनमा १२-१२ प्रकारका रूपहरू बन्दछन् ।
अन्य लकार समान लेट् मा पनि आत्मनेपद, भाववाच्य, कर्मवाच्य, सन्, यङ्, णिच् आदि प्रक्रियाबाट पद बन्न सक्छ ।
यसरी केवल 'भू' धातुकाट लेट् लकार सहित सबै ११ वटा लकारमा बन्ने तिङन्तरूप ६३३६ हुन्छ ।
क्रियापदमा निष्पन्न रूपको साथमा लाग्ने, तरप्, तमप्, कल्पप्, देश्य, देशीयर, अकच्, रूपप् आदि केही तद्धित प्रत्यहरू विशिष्ट अर्थमा लाग्दछ । त्यस अनुसार 'भवतितराम्','भवतितमाम्','भवतिकल्पम्','भवतिदेश्यम्', भवतिदेशीयम्, भवतकि, भवतिरूपम् बन्छ । जुन अव संख्यामा ६३३६x७=४४३५२ वटा रूपहरू बन्ने भए । जुन पूर्व रूपसँग मिलेर (४४३५२+६३३६)=५०६८८ रूप हुन्छन् ।
अब उपसर्गमा पनि लागौं न होइन त?
उपसर्गको योगले धातुको अर्थमा विशिष्टता आउँदछ भने कहिँ अर्थ पनि बदलिन सक्छ । जस्तै प्रभवः, पराभवः, सावः, अनुभवः विभवः आभव, अधिभव, उदव, अभिभवः, प्रतिभवः, परिभवः आदि । नेपालीमा जस्तै, आहार, विहार, संहार प्रहार बनेजस्तै । संस्कृतमा जम्मा २२ उपसर्ग छन् । यी उपसर्गको योगमा (५०६८८×२२)= १११५१३६ रूप बन्ने भए । अब जम्मा जम्मी (११,१५,१३६+५०,६८८)= ११,६५,८२४ (एघार लाख, पैंसठ्ठी हजार आठसय चौबिस ) रूप बन्ने भए । जुन केवल भू धातुबाट बन्ने रूपहरू हुन् ।
अझै चित्त बुझेन ?
पाणिनीय धातुपाठमा २००० भन्दा अधिक धातुहरू रहेका छन् । यिनीहरूमा कुनै धातु स्वरादि रहेका छन् जसमा यङ् प्रत्यय नहुने कारणले यङन्त रूपमा कमी हुन्छ । यदि औषतरूपमा बन्ने रूपको संख्या १० लाख मान्ने हो भने पनि सबैधातु बाट बन्ने रूप करीव दुइ अरब (१००००००×२०००)= २,००,००,००,००० बन्छ ।
माथीको संख्या केवल पाणिनीय धातुपाठ बन्ने संख्या हो । यदि पाणिनी अतिरिक्त काशकृत्स्न धातुपाठका लगभग ८०० वटा धातु, सौत्र धातु अष्टाध्यायी र जिनेन्द्र व्याकरण आदिको लगभव २०० धातु जुन पाणिनिकृत व्याकरणमा छैन जोड्ने हो भने १००० धातु बाट फेरि पूर्वोक्त रिती अनुसार करिव १ अरव रूप अरू बन्छ । येसरि जम्मा तीन अरब (३,००,००,००,०००) त संस्कृतमा केवल धातुरूप मात्रै बन्छ ।
काँ यतिमै मात्र सिमित हो र ? अझै बाँकी छ ।
नामरूप आदिको त मैले व्याख्या नै गरेको छुइन नी । यो व्याख्यालाइ म बढाउँदै गर्छु । तपाँइहरूले पनि साथ दिनुहोला है ।
जयतु संस्कृतम् ।।

Thursday, March 21, 2019

वैदिक ग्रन्थहरुमा गुरूत्वाकर्षण

Author:
Shantiman Shrestha:
#हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघाटन भएको छ । सुर्य सिद्धान्तमा सुर्य र पृथ्वी विचको दुरि , पृथ्वीले सुर्यको परिक्रमा गर्न लाग्ने समय , सुर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न लग्ने समय लगायत तमाम रहस्य हरु किटान गरिएको छ।
वैदिक ग्रन्थहरुमा गुरूत्वाकर्षण (Law Of Gravitation) को सिद्धान्त सम्बन्धि कैयौं शुत्रहरु छ्न जसलाइ बुझ्न नसक्दा हामिहरु सर आइज्याक न्युटनलाइ गुरुत्वाकर्षण नियमको प्रतिपादक मान्दै र पश्चिमीहरुलाइ बैज्ञानिक खोजको सम्पुर्ण श्रेय दिंदै आफ्नै पुर्खाको अनमोल खोज प्रती विमुख भैरहेका छौं । थाहा छैन यहाँका शिक्षाशास्त्रीहरु , शिक्षा नीति तर्जुमा गर्ने हर्ताकर्ताहरु र पाठ्यक्रम तयार गर्ने महाशयहरु कसको ईसारा बमोजिम र कसको कस्तो स्वार्थपूर्तिका लागि पाठ्यक्रम तयार गर्छन । सापेक्षतावादको सिद्धान्त , अणु-परमाणुको सिद्धान्त , चुम्बकीय ध्रुब सम्बन्धि सिद्धान्त (वास्तुशास्त्र यसैमा आधारित छ) ; पानीलाइ बरफ बनाउने विधि , ब्याट्रीको सिद्धान्त , विमान सम्बन्धी सिद्धान्त , सुर्यको प्रकाशमा सात ओटा रंग हुन्छन भन्ने सिद्धान्त लगायत खगोल विज्ञान सम्बन्धी सम्पुर्ण सिद्धान्त, प्लास्टिक सर्जरी को विधि लगायत हजारौं बैज्ञानिक खोजहरु हाम्रा ऋषिहरुले हजारौं वर्षअघि खोज गरिसकेका थिए ।
३०० वर्ष अघिसम्म पश्चिमले पृथ्वी चेप्टो छ भन्दै थियो , ग्यालेलियो ग्यालेलीले पृथ्वी गोलो छ भनेर घोषणा गरेबापत ग्यालेलियोको घोषणा बाइबिलको मान्यता बिपरित रहेको र बाइबिलको मान्यता बिपरितका सम्पुर्ण मान्यताहरु झुठ हुन भन्दै चर्चले उनको मृत्युदण्डको माग सहित उनलाइ अदालतमा उभ्याएका थिए । ग्यालेलियोले पृथ्वी चेप्टो छ भनि अदालतमा झुठ बोलेर आफ्नो ज्यान जोगाएका थिए।
हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघाटन भएको छ । सुर्य सिद्धान्तमा सुर्य र पृथ्वी विचको दुरि , पृथ्वीले सुर्यको परिक्रमा गर्न लाग्ने समय , सुर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न लग्ने समय लगायत तमाम रहस्य हरु किटान गरिएको छ।
३०० वर्ष अघिसम्म पश्चिमको यो मान्यता थियो कि रगतको संचालन कलेजोले गर्छ यसर्थ रक्त संचालनमा खराबी आएमा कलेजोको जाँच गरिन्थ्यो , डा.कृश्चियन बर्नार्डले पश्चिममा पहिलोपटक रगतको संचालन मुटुले गर्छ भन्दा उनलाइ पनि चर्चले दिनु सम्मको सास्ती दिएका थिए र उनलाइ उनी कार्यरत अस्पतालको जागिर बाटै निकाला गरेका थिए।
तर हजारौं वर्ष अघिनै यहाँका आयुर्वेदिक ग्रन्थहरुमा हृदय र रक्तसंचाल्न सम्बन्धि सम्पुर्ण तथ्यहरुको किटानी गरिएको छ तर दुर्भाग्य हामी हाम्रा सन्ततीहरुलाइ अझै पनि रक्तसंचालन मुटुले गर्छ भनेर पत्ता लगाउने डा.कृस्चियन बर्नार्ड र पृथ्वी गोलो छ भनेर पत्ता लगाउने ग्यालेलियो ग्यालिली हुन भनेर पढाइरहेका छौं। यस आलेखमा वैदिक शास्त्रहरुमा वर्णित गुरूत्वाकर्षण (Law Of Gravitation) को सिद्धान्त सम्बन्धि छोटो चर्चा गर्नेछौं।
बृहत् उपनिषदमा वर्णित गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्त :-
बृहत् उपनिषद मा गुरूत्वाकर्षण सम्बन्धी सिद्धान्तलाई "आधारशक्ती" को रुपमा वर्णन गरिएको छ। बृहत् उपनिषदका अनुसार "आधारशक्ती" २ किसिमको हुन्छ।
१. - ऊर्ध्वशक्ति = मास्तिर खिचिने शक्ति जस्तो: अग्नि माथितिर खिचिएर जान्छ।
२. - अधःशक्ति = तलतिर खिचिएर जाने शक्ति जस्तो : पानी तलतिर खिचिएर वा वगेर जान्छ त्यस्तै ढुङ्गा लगाएत अन्य वस्तुहरु।
यस उपनिषदमा वर्णित शुत्र हेरौं:-
अग्नीषोमात्मकं जगत् ।
( बृ० उप० २.४ )
आधारशक्त्यावधृतः कालाग्निरयम् ऊर्ध्वगः ।
तथैव निम्नगः सोमः । ( बृ० उप० २.८ )
अर्थात:
सारा जगत अग्नि र सोमको समन्वय हो अग्नि को स्वभाव ऊर्ध्वगति हुन्छ र सोमको गति अधोःशक्ति हुन्छ।यी दुई शक्तिको आकर्षणले नै संसार रोकिएको छ।
महर्षि पतञ्जलीले आफ्नो ग्रन्थ व्याकरण महाभाष्य मा गुरूत्वाकर्षण को नियम उल्लेख गर्दै लेखेका छन :
"लोष्ठः क्षिप्तो बाहुवेगं गत्वा नैव तिर्यक् गच्छति नोर्ध्वमारोहति ।
पृथिवीविकारः पृथिवीमेव गच्छति आन्तर्यतः"
अर्थात् :-
पृथ्वीको आकर्षण शक्ति यसप्रकारको छ कि यदि माटो को डल्लो माथी फ्याँकियो भने त्यसले आफ्नो वेग पुरा गरेपछी न त टेढो जान्छ न त अझ माथी जान्छ - जुन कि पृथ्वीको विकार हो यसैले पृथ्वी तिर नै फर्कन्छ।
भास्कराचार्य द्वितीय ले आफ्नो ग्रन्थ "सिद्धान्तशिरोमणि" मा लेखेका छन :-
"आकृष्टिशक्तिश्चमहि तया यत्
खस्थं गुरूं स्वाभिमुखं स्वशक्त्या ।
आकृष्यते तत् पततीव भाति
समे समन्तात् क्व पतत्वियं खे ।।"
अर्थात :-
पृथिवीको आकर्षण शक्ति छ जसको कारण पृथ्वीले माथिको गर्हुङ्गो वस्तुलाई आफुतिर आकर्षित गर्छ। उक्त वस्तु पृथ्वीतिर खसेको प्रतीत हुन्छ। पृथ्वी स्वयं चाहिँ सुर्य ईत्यादिकी आकर्षणको कारण रोकिएको छ ; यसैले यो निराधार आकाशमा स्थित छ तथा न त यो आफ्नो स्थानबाट हट्छ न त खस्छ। यो आफ्नो अक्षमा घुम्छ।
वराहमिहिर ले आफ्नो ग्रन्थ "पञ्चसिद्धान्तिका" मा लेखेका छन :-
पंचभमहाभूतमयस्तारा गण पंजरे महीगोलः ।
खेयस्कान्तान्तःस्थो लोह इवावस्थितो वृत्तः ।।
अर्थात :-
तारासमूहरूपी पंजरमा गोलो पृथ्वी यस प्रकारले रोकिएको छ जस्तो कि दुई ठुला चुम्बकको बिचमा फलाम।
(बराहमिहिर को माथिको शुत्रले पृथ्वी गोलो छ भन्ने , गुरुत्वाकर्षणको सिद्धान्त र चुम्बकीय ध्रुबको सिद्धान्त पनि एकसाथ प्रष्ट्याउँछ।)
आचार्य श्रीपतिले आफ्नो ग्रन्थ "सिद्धान्तशेखर" मा उल्लेख गरेका छन :-
"उष्णत्वमर्कशिखिनोः शिशिरत्वमिन्दौ,.. निर्हतुरेवमवनेःस्थितिरन्तरिक्षे ।।
नभस्ययस्कान्तमहामणीनां मध्ये स्थितो लोहगुणो यथास्ते ।
आधारशून्यो पि तथैव सर्वधारो धरित्र्या ध्रुवमेव गोलः ।।"
अर्थात :-
पृथ्वी अन्तरिक्षमा अडिनु यसै प्रकारले स्वभाविक छ जस्तो सुर्यमा गर्मी , चन्द्रमा शितलता र वायुमा गतिशीलता । दुई ठुला चुम्बकको बिचमा फलामको डल्लो स्थिर रहन्छ त्यसैप्रकारले पृथ्वी पनि आफ्नो कक्षमा रोकिएको छ।
६००० वर्ष पहिला नै ऋषि पिप्पलाद ले प्रश्न उपनिषद् मा उल्लेख गरेका छन:-
"पायूपस्थे - अपानम् ।
पृथिव्यां या देवता सैषा
पुरुषस्यापानमवष्टभ्य० ।
पृथिव्याम् अभिमानिनी या देवता ...
सैषा पुरुषस्य अपानवृत्तिम् आकृष्य....
अपकर्षेन अनुग्रहं कुर्वती वर्तते ।
अन्यथा हि शरीरं गुरुत्वात् पतेत् सावकाशे वा उद्गच्छेत् ।"
अर्थात :-
अपानवायु द्वारा नै दिसा-पिसाव तल आउँछ। पृथ्वीले आफ्नो आकर्षण शक्तिको माध्यमले नै मनुष्यलाइ धर्तिमै रोकेको छ नत्र मनुष्य आकासमा उड्थ्यो ।
पृथ्वीको गुरूत्वाकर्षण सम्बन्धी वैदिक शास्त्रमा उल्लेखित केही शुत्रहरुको बारे माथी चर्चा गरियो ; अन्य कैयौं ग्रन्थमा यस सम्बन्धि विस्तृतमा उल्लेख छ । हाम्रा स्वनामधन्य शिक्षाशास्त्रीहरु चाहिँ गुरुत्वाकर्षणको नियमलाइ सर आइज्याक न्युटनको नाममा "Newton's Law Of Gravitation" भन्दै झुठ कुरा घोकाइराखेका छन अझ उसलाइ जसको पुर्खाले हजारौं वर्ष पहिलानै गुरुत्वाकर्षणको नियम प्रतिपादन गरिसकेका थिए।
शिक्षाविद भै टोपलिएका यी उल्लूहरुको खोपडीमा थोरैपनि समझ बाँकी रहेछ भने गुरुत्वाकर्षणको नियमलाइ "Newton's Law Of Gravitation" होइन "Nature's Law Of Gravitation" लेखोस पाठ्यक्रममा ( के न्युटन जन्मनु अघि पृथ्वीको गुरुत्वाकर्षण शक्ति नै थिएन ?????? ) र नेपालका शिक्षकहरुको खोपडीमा गोबर होइन गिदि छ भने गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने तिम्रा पुर्खाहरु हुन भनेर पढाउन ।
मैकालेले भनेका थिए - " पुर्वीयहरुलाइ प्राचीन ऋषिहरुको अनमोल खोजको बारे जानकारी दिनु हुँदैन , यिनका पुर्खाले गरेको सम्पुर्ण खोजहरु दबाउन पर्छ नत्र यिनिहरु कहिल्यै पनि हाम्रो गुलाम हुन तयार हुँदैनन।"
भारतियहरुको मानसपटल बाट पुर्खाले खोज गरेको तमाम बैज्ञानिक रहश्यहरु विस्मृत गराउन मैकालेले बेलायती सरकारको गुप्त योजना मुताबिक शिक्षा नीति बनाएका थिए र सोही अनुसार पाठ्यक्रम तयार गरेका थिए - मैकालेको योजना मुताबिक तयार गरिएको पाठ्यक्रम भारत - नेपालमा हालसम्म पढाइ भैरहेको छ - अन्य देशहरूको कुरै नगरौं। मैकालेले भनेका थिए - " पुर्वीयहरुलाइ प्राचीन ऋषिहरुको अनमोल खोजको बारे जानकारी दिनु हुँदैन , यिनका पुर्खाले गरेको सम्पुर्ण खोजहरु दबाउन पर्छ नत्र यिनिहरु कहिल्यै पनि हाम्रो गुलाम हुन तयार हुँदैनन।"
मैकालेले हाम्रो पुर्खाले गरेको सम्पुर्ण अनमोल खोजहरु दबाउन र जनमानसको मस्तिष्कबाट ती खोजहरुको बारे सम्पुर्ण तथ्य विस्मृत गराउन लिएको खुराफाती शिक्षा नीतिलाई कार्यान्वयन गर्न Peace Core नामको INGO नेपाल छिरेको थियो - कुखुराको खोरमा छट्टु श्याल छिरे झैं .... दुर्भाग्य मान्नुपर्छ तुलनात्मक रुपले राष्ट्र्वादी र देशप्रेमी मानिएको राजा महेन्द्रले पंचायति व्यवस्थालाइ पश्चिमा देशहरुबाट आधिकारिक मान्यता दिलाउने मेसोमा Peace Coreलाई नेपाल प्रवेशको अनुमती प्रदान गरेका थिए । Peace Coreको आन्तरिक नियत बुझेर उनले केही वर्ष नरोकेको होइन तर काँग्रेस र भारतको त्रास देखाएर पश्चिमाहरु Peace Core को नाममा नेपाल छिर्न सफल भैछाडे ।
यो खुराफाती INGO ले आफ्नो पहिलो निशाना नेपालको शैक्षिक पाठ्यक्रमलाई बनायो किनकी उनिहरुलाइ थाहा छ तथ्यगत र वास्तविकतामा आधारित पाठ्यक्रम तयार हुने हो भने यो धर्तिमा एउटा पनि चिज यस्तो बच्ने छैन जुन पश्चिमिहरुले हामिले भन्दा पहिले पत्तालगाएको , जानेको वा बुझेको होस । समृद्धीकै कुरा गरौं , आज पश्चिम जुन स्थितिमा छ र सम्पन्नताको शिखर चुमेको भनिन्छ त्यो भन्दा कैयौं गुणा सम्पन्नता र वैभवता पुर्वले भोगेको र चुमेको थियो ।
वास्तवमा पस्चिमको यो सम्पन्नता कृतृम हो ; पश्चिमको यो सम्पन्नताको पछाडि युद्ध , हतियारको व्यापार , करोडौं नागरिकको रगत , खुराफात लुकेको छ । विश्वमा युद्ध मात्र रोकिने हो भने यिनको कथित सम्पन्नता एकाएक ९०% ले तल झर्छ , यसको कारण छ । फ्रान्स , बेलायत , रुस , अमेरिका , जर्मनी लगाएतका कथित सम्पन्न राष्ट्रको मुल आम्दानी नै हतियारको बिक्री हो ।

Saturday, March 9, 2019

धितोपत्र बोर्ड, अध्यक्ष र शेयरबजार : किन बोर्डले लगानीकर्ताको पक्षमा निर्णय लिन सक्दैन ?


शेयरबजारको सर्वोच्च तालुकी अड्डा नेपाल धितोपत्र वोर्ड र प्राथमिक अंग दलालबीच भित्रभित्रै बलिरहेको ‘भुसको आगो’ सतहमा आएको छ | वोर्ड अध्यक्ष डा. रेवत कार्कीले संसदको अर्थ समितिमा दलालहरु ‘सक्षम, सुशासित र पारदर्शी’ नभएको भनेपछि दलाल संघले १४ वटा प्रश्न सहित बुझाएको ज्ञापनपत्रको जवाफमा वोर्ड र दलाल बीच चलेको पत्रयुद्ध पश्चात वार्तामा आउन दुवै पक्ष सहमत भएका छन् | दलालप्रति तीव्र नकारात्मक भाव देखाइरहेका ‘बाघ’ जस्तो स्वभावका अध्यक्ष एकाएक ‘मुसो’ बन्न पुगेको घटना र अन्य प्रासंगिक विषयमा संक्षिप्त सिंहावलोकन गर्ने प्रयास गरिएको छ |
पूर्वाग्रहले ग्रस्त
केन्द्रीय बैंक हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कार्यकारी बनेका कार्की शेयरबजारको तालुकी अड्डा वोर्डमा आएको पनि ४ वर्ष पुग्न अब ७ महिना मात्र बाँकी रहेको छ | वोर्ड अध्यक्षको रुपमा अन्तिम प्रहरको पनि अन्तिम प्रहरमा आइपुगेका कार्कीले वोर्ड आएदेखि नै शेयरबजारप्रति पूर्वाग्रह राखेको देख्न सकिन्छ | नेप्सेमा रहँदा चिच्याएर भाउ लगाउँदै हुने कारोबार प्रणालीलाई दलालको कार्यालयसम्म ल्याएर शेयरबजार र शेयर कारोबारलाई अत्यन्त ठूलो गुण लगाए | तर शेयरबजारकै तालुकी अड्डामा आएपछि दलाल प्रणालीलाई संस्थागतरूपमा शसक्त ढंगले विस्तारित गरेर अझ बढी गुण लगाउनुपर्नेमा गालीगलौजमा उत्रिए | शेयरबजार संवेदनशील क्षेत्र हो भन्ने राम्रोसँग बुझेर पनि बुझ पचाए | आफू मातहतका अड्डा (दलाल, स्टक, केन्द्रीय निक्षेपक आदि) प्रति त पूर्वाग्रही देखिए-देखिए कुनै दलीय टाँचा नलागेका लगानीकर्ताप्रति पनि पूर्वाग्रह राखेर दलीय स्वभाव पनि राम्रैसँग देखाउन भ्याए | वित्तीय क्षेत्रको नियमन निकायमा रहेको व्यक्ति तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई विर्सेर पत्रपत्रिकामा लेख छाप्न पनि भ्याए |
बालहठी स्वभाव
शेयरबजारमा खपत हुने सूचना बैंकले बढी उत्पादन गर्छन भन्ने जान्दाजान्दै पनि बैंकलाई दलाल अनुमति दिन्छु भन्दै बारम्बार बोलेर लगानीकर्तालाइ रनभुल्लमा पारिरहे | कसैले माग गरिहाले पनि बेला भएको छैन/हुन्न भन्दै सब-ब्रोकर जस्ता विधिमार्फत दलालको उपस्थितिलाई शसक्त बनाउनेतर्फ लाग्नुपर्नेमा त्यसो पनि गरेनन | पहिले उठेर निस्तेज भइसकेको अर्को स्टकको विषयलाई अनावश्यकरुपमा उचाले | भएको स्टकको पुनसंरचना कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा ‘एउटा पोखरीको पानी अर्को पोखरीमा सारेर दुइटै पोखरी’ सुकाउने बहुस्टकको अनावश्यक बहस गरेर समय वर्वाद पारे | भारत र पाकिस्तानमा एक्सचेन्ज बन्द गरिएको र गाभिएको वेवास्ता गरि अर्को स्टकको ‘बेसुरा बाजा’ बजाए | नेप्से र वोर्ड एकै प्रकृतिको संस्था हैनन् भन्ने बुझेर पनि व्यक्तिगत टकराव लिएको कुरा घाम जस्तै छर्लङ्ग छ | सायद यहि टकरावका कारण स्टकलाई दिनुपर्ने कतिपय अधिकार दिएका छैनन् | उदाहरणका लागि सूचीकरण विनियमावली अनुसार बेलैमा सूचीकरण नवीकरण नगर्ने कम्पनीलाई नेप्सेले जरीवाना लिनसक्छ तर सूचीकरण विनियममा भएका सूचीकरण सम्बन्धि अन्य व्यवस्था उल्लंघन गर्ने कम्पनीका पदाधिकारी/अधिकारीलाई जरिवाना लिन सक्दैन |
कम्पनीगत नीति
वोर्ड अध्यक्षको रुपमा उनका गतिविधि लगानीकर्ता र देश हित भन्दा कम्पनी हितमा बढी देखिएको छ | एउटा कम्पनीलाई गैर-व्यवसायिक लाभ दिनकै लागि रातारात कार्यदल बनाएर बाटो खोलिदिए | बैंक/वित्त चार गुणा पूँजी वृद्धिको कसरतमा लागेको बेला प्राथमिकतामा नै नपरेको कम्पनीको सेवामा हाजिर हुन पुग्नुको परिणाम उक्त कम्पनीले राम्रै गैर-व्यवसायिक लाभ पायो तर देशले भने राजश्व गुमायो | नेपालको शेयरबजारमा अहिले पनि एकादुई कम्पनीको शेयर मूल्य बाहेक अधिकाँश कम्पनीको शेयर मूल्य ‘कर्नरिंग र भित्रि सूचना’ बाट निर्धारण हुन्छ | यति कुराको राम्रो जानकारी हुँदाहुँदै पनि बोर्डले उक्त कम्पनीलाई वोर्डमा निवेदन दिनु भन्दा ७ दिन अगाडिको १ सय ८० दिनको औसत बजार मूल्यलाई अधिक भार दिएर प्रिमियम वापत थप हुने रकम निर्धारण गर्न तदर्थ नीति बनाए | यसरी बनाइएको नीति मार्फत उक्त कम्पनीले ४ अर्ब हाराहारीमा प्रिमियम रकम हात पार्यो | पछि नेटवर्थको ४ गुणासम्मको रकम प्रिमियम थप्न पाइने अर्को वैकल्पिक विधि समेत ल्याइयो | त्यतिबेला बढीमा ७ सय सम्ममा बेच्न दिंदा सामान्य हुने (कम्पनीको नेटवर्थ त्यतिबेला १ सय ४३ रु. रहेको) मा कम्पनीकै हितको दिनसकिने भन्दा दोब्बर मूल्यमा बिक्री अनुमति दिँदा शेयरधनीले महँगो मात्र तिर्नु परेन राज्यलाई पनि लाभकर घाटा भयो |
अवान्छित लाभको सिलसिला

तदर्थ नीति बनाएर अमुक कम्पनीलाई अवान्छित लाभ दिने प्रक्रिया शेयर बिक्रीसम्म पनि कायम रह्यो | माघ १ गतेबाट लागु हुनलागेको आस्बा प्रणाली लागु हुनु २ दिन पूर्व बिक्री अनुमति दिएर बिक्री प्रवन्धक र निष्कासन बैंकलाई अवान्छित लाभ दिलाइयो | यसो गर्दा यी दुइ संस्थाले राम्रै लाभ त लिए तर सम्पूर्ण वित्तीय प्रणालीलाई गम्भीर असर पार्यो | बैंक/वित्तमा लगानीयोग्य रकमको अभाव भइरहेको बेला शेयर आवेदन मार्फत अन्य बैंक/वित्तबाट रकम बाहिरिएर एकै बैंकमा जम्मा हुनपुग्दा त्यतिबेला आएको समस्याको असर अहिले पनि देखिइरहेको छ | त्यतिबेला ५० अर्व भन्दा बढी रकम २ महिना भन्दा बढी एकै ठाउँमा केन्द्रिकृत भएको थियो | एक हिसाबले यी गम्भीर आर्थिक कसुर हो | त्यस्तै अधिकारक्षेत्र विहिन सम्पत्ति शुद्धीकरण कानुन विपरीत ‘कालोधन छानविन’ गर्ने भन्दै छानविन समिति बनाउने कार्य पनि एक प्रकारको गम्भीर कसूर हो | यसैको कारण शेयरबजारमा तिब्र गिरावट पनि आयो | यसबाट कयौं लगानीकर्ता प्रताडित बनेर रातारात शेयर फाल्न बाध्य भए यसको लाभ अर्को समुहले सजिलै लियो |
उन्मुक्ति नै उन्मुक्ति
कम्पनीहरुले निरन्तर मूल्य संवेदनशील सूचना संशोधन गरिरहेका छन् तर पनि यस्ता कम्पनीका अधिकारी/पदाधिकारी दण्डित भएका छैनन | बरु भएको कारोबार नै रद्द गरिदिएर कम्पनीलाई उन्मुक्ति दिएर लगानीकर्तालाइ भने भुंग्रोमा हाल्ने कार्यमा वोर्ड अग्रपंक्तिमा रहेको छ | कम्पनीको सभाले पारित गरेको हकप्रद प्रस्ताव कार्यान्वयन गर्न नलगाएको घटनाको सुची पनि लामै छ | हकप्रद कार्यान्वयन गरेर मात्र विलयमा जाउ भनेर आफैले दिएको निर्देशन अझ पनि वोर्डको वेवमा देख्न सकिन्छ | त्यस्तै हकप्रद र बोनस शेयरको आधार मूल्य गणनामा स्पस्ट विचार दिन नसक्दा आफ्नै कार्यकारी निर्देशकमाथि सांघातिक हमला भयो | शेयरबजारमा मूल्य अभिवृद्धि कर लाग्दैन/लगाउन मिल्दैन भन्ने विषयमा प्रष्ट पार्न नसक्दा यो मामला वर्षौं अल्झेर बस्यो | त्यस्तै अहिले स्थायी लेखा नम्बर (प्यान) लगाउने भन्दै वोर्डले नीति बनायो तर यो किन लगाउने भन्ने विषयमा वोर्ड आफैँ प्रष्ट हुनसकेको छैन | त्यस्तै बैंकलाई दलाल बनाउने विषय समेत ‘आफ्नो चाहना’ नभएको भनेर अर्को जगहँसाई पनि देखियो |
अन्तमा, धितोपत्र वोर्डको स्थान उच्च हुन्छ | वोर्डको एक/एक वाक्य शेयरबजारका लागि अमूल्य हुन्छ | बोल्दा निर्णय गर्दा होश पुर्यांउने कार्यमा लाग्नु श्रेयस्कर हुन्छ | दलाली कसलाई दिने भन्ने मूल प्रश्न हैन आवश्यकता अनुसार जसलाई दिँदा पनि हुन्छ | सिधै बैंकलाई दिए पनि बिमा वा बिमान कम्पनीलाई दिए पनि ति दलाल नै हुन् एकै प्रणाली हो | जसलाई दिए पनि शेयरबजारको गुणात्मक विकास हुनुपर्छ | बैंकलाई दिएपछि केन्द्रीय बैंकले नियमन गरिदिन्छ वोर्डलाई हाईसन्चो हुन्छ भन्ने सोच राखिएको हो भने त्यो सरासर गलत बुझाई हो | अवान्छित गतिविधि (भित्री कारोबार र कर्नरिंग) रोकिनुपर्छ |
 आर्थिक अभियान, २०७५ फाल्गुन २० 
http://www.abhiyan.com.np/?p=322934