नीतिमा लेखिन्छ कार्यान्वयनमा जाँदैन
नेपालमा शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) दुबैको स्थापना भएको ३३ वर्ष भयो l २०३३ सालमा स्थापना भएको सेक्युरिटी खरिद-बिक्री केन्द्रलाई नेपालको शेयरबजारको प्रस्थान विन्दु मान्ने हो भने नेपालमा शेयर कारोबार हुन थालेको झन्डै ५० वर्ष भयो l अझ नेपाल बैंक लिमिटेडले शेयर जारी गरेको समयदेखि गणना गर्ने हो भने ८९ वर्ष भयो l बोर्ड र नेप्सेको स्थापना भएको साललाई आधार लिँदा पनि तीन दशक नाघेको छ l तीन दशक बितिसक्दा पनि नेपालको शेयरबजार भने लगभग पुरानै अवस्थामा छ भन्दा फरक पर्दैन l शेयरबजारको सन्दर्भमा शुरुआतमा जे जति भएको देखियो त्यसपछिका समयमा ‘गरिनेछ’ मै सिमित रह्यो l यो अवधिमा ‘भयो/गरियो’ भन्ने शब्द विरलै सुन्न पाइयो l ४० वर्षभन्दा बढी समयमा सरकारी नीतिगत दस्तावेज बजेट वक्तव्यमा एकै कुरा हरेक वर्ष जस्तै आए तर, कार्यान्वयनका हिसाबले कागजमै सिमित रहे l ४० वर्षभन्दा बढी अवधिमा बजेट वक्तव्यमा कुन कुरा कतिपटक आए त्यसको त्यसको सिंहावलोकन यस आलेखमा गरिन्छ l
नेपालमा शेयर र
नियामक
नेपाल बैंक लिमिटेडले बिक्रम सम्बत
१९९४ मा पहिलोपटक शेयर जारी गरेको थियो l नेपाल बैंक कानुन, १९९४ को दफा ४(ख) मा ‘हाल उठाउने २५ हजार शेयर मध्ये कमसेकम चार खण्डको एक खण्ड शेयर सरकारबाट
लिईबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकहरुले लिन पाउनेछन्’ र दफा ४(ग) मा ‘कदाचित हाल उठाउने २५
हजार शेयरको मूलधनले बैंकको काम चलाउन मूलधन नपुगी अरु शेयरबाट हदसम्ममा जति
चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको शेयर साविक शेयरवालाहरुले
लिएसम्म अरुले लिन पाउने छैन’ भन्ने व्यवस्था थियो । यी
दुई व्यवस्थामध्ये पहिलो व्यवस्था अहिलेको आईपीओ (इनिसियल पब्लिक अफरिङ्ग र दोस्रो
व्यवस्था हकप्रदसँग सम्बन्धित छ l झन्डै ९० वर्ष अगाडि समेत यति
व्यवस्थित गरिएको शेयरसम्बन्धी व्यवस्था अझै परिस्कृत हुँदै जानुपर्नेमा झनझन्
गएगुज्रेको अवस्थामा पुगेको छ भन्दा
अत्यक्ति हुन्न l पहिलोपटक शेयर जारी भएको ५६ वर्षपछि शेयरबजारको नियामक निकायको
रुपमा नेपाल धितोपत्र बोर्ड गठन भएपछि यसले शेयरबजारलाई व्यवस्थित बनाउला भन्दा
झनझन् रसातलतिर लाँदै गरेको जस्तो देखिन्छ l नेपाल धितोपत्र बोर्डसँगसँगै
गठन भएको भारतको शेयरबजार नियामक सेक्युरिटी एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) संसारको
अब्बल नियामकको रुपमा उभिएको छ l
पटकपटक दोहोरिएको
विषय
धितोपत्र कारोबार ऐन, २०४०
लागू भएको साललाई नेपालमा धितोपत्र बजारको सुरुवात मान्दा ४२
वर्षको अवधिमा बजेट वक्तव्यमा धितोपत्र बजारका कुरा धेरैपटक उल्लेख भएका छन्। त्यसमध्येमा
पनि नेपाल धितोपत्र बोर्डको विषयमा सबैभन्दा धेरैपटक उल्लेख भएको छ l तर, कार्यान्वयनका पक्ष भने जहाँको तँही छ l बोर्डको विषयमा मात्र हैन,
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को बारेमा पनि धेरैपटक उल्लेख भए l यसबाहेक
अन्य विषयमा पनि धेरै पटक उल्लेख भएका छन् l नेपाल टेलिकमको शेयर मिति तोकेरै
विनिवेश गर्ने भनिएको कुरोसमेत अहिलेसम्म कार्यान्वयन भएन l
यसमा सरकारलाई शेयर बेच्दा र त्यही शेयर बजारमा किनबेच हुँदा मनग्गे लाभ आउँथ्यो l यस्तो कुरा पनि नीतिमा आएर हरायो l २०४० सालदेखि
२०८२ सालसम्मको अवधिमा बजेटमा केही विषय कतिपटक उल्लेख भए भन्ने कुरा तालिकामा पेश
गरिएको छ l
पटक पटक
दोहिरिएका विषय
|
क्रसं |
उल्लेख भएका विषय |
पटक |
कार्यान्वयन स्थिति |
|
|
१ |
धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण |
१३
|
·
केही पूरा भए जस्तै: धितोपत्रसम्बन्धी ऐन, २०६३ जारी
भई केही प्रावधान संशोधन l
· बजेटमा आएको बोर्डको सुपरिवेक्षण क्षमताको अभिवृद्धि गर्ने,
पुनर्संरचना गर्ने कुरा कार्यान्वयन नभएको l |
|
|
२ |
नेप्से/सीडिएससी सुधार र पुनर्संरचना |
१०
|
·
नेपाल राष्ट्र बैंकले धारण गरेको नेप्सेको केही शेयर
बिक्री l
·
नेप्सेको पुनर्संरचनाको कुरो कागजमै सिमित l
·
नेप्सेको कारोबार प्रणाली
विद्युतीय प्रणालीमा रुपान्तरण l
·
नेप्सेलाई सरकारी छायाँबाट मुक्त गर्ने कार्यक्रम
पुरा नभएको l
·
सीडिएससीको पुनर्सचना अधुरै l
|
|
|
३ |
गैर-आवासीय नेपाली र विदेशीलाई लगानी अनुमति/प्रोत्साहन |
९
|
· २०५३
सालमा विदेशी लगानी आकर्षित गर्न कानुनी, संस्थागत, र प्रक्रियागत व्यवस्था गरिने उल्लेख
भएको तर, आजसम्म यस सम्बन्धमा केही हुन नसकेको l
· गैर-आवासीय नेपालीलाई लगानी गर्न दिने कुरा पनि कागजमै सिमित l
|
|
|
४ |
संस्थागत लगानीकर्ताको प्रोत्साहन |
४ |
· आइपीओमा
बन्देज कायम l
|
बोर्डको सुधार र विकास
शेयरबजारको सर्वोच्च नियामक निकाय नेपाल
धितोपत्र बोर्ड जङ्गलमा बाटो बिराएको यात्री जस्तै अवस्थामा पुगेको छ l बोर्डको कार्यकारी
प्रमुखको रुपमा रहने अध्यक्ष नियुक्तिमा संधै जसो किचलो हुने गरेको छ l बोर्डले
कहिल्यै पनि एउटा अध्यक्षको कार्यकाल सकिएको भोलिपल्टै अध्यक्ष पाउँदैन l अध्यक्षको नियुक्ति सरकारले हैन, स्वार्थ समुहले गर्छ भन्ने आमधारणा
बनिसकेको छ l यसले गर्दा बोर्डले गर्नुपर्ने काम गर्न सकेको
छैन l लामोसमयसम्म बोर्ड अध्यक्षविहिन भएको कुरो कतैबाट पनि लुकेको छैन l बोर्ड
विशिष्टीकृत नियामक निकाय भए पनि यसको हैसियत अर्थमन्त्रालयको एउटा शाखाभन्दा माथि
उठ्न सकेको छैन l मन्त्रालयको एक शाखाभन्दा माथिको हैसियत नहुँदा बोर्डले प्रभावकारी
भूमिका निर्वाह गर्न सकेको छैन l पदेनरुपमा आउने बोर्ड सदस्यले शेयरबजारको विषयमा
चिन्तन गर्ने अवस्था छैन l भारतको सेबीमा तीनजना पूर्णकालीन सदस्य हुन्छन् l यसको
संरचना केन्द्रीय बैंकको जस्तै हुनुपर्नेमा एकजना मात्र पूर्णकालीन सदस्य हुँदा
धेरै काम हुन सकेको छैन l भारतलगायत कयौं देशमा बहुसंख्यामा पूर्णकालीन सदस्य हुन्छन्
l यसो हुँदा क्षेत्रगतरुपमा सदस्यले अधययन अनुसन्धान गरेर विकासका धेरै काम गर्न
पाउँछन् र शेयरबजारले गुणात्मक उचाई पाउँछ l नेपालमा ४२ वर्षको अवधिमा बजेटमा नेपाल
धितोपत्र बोर्डको सुधारको कुरा आए पनि आजसम्म विशेष यो काम भयो भन्ने कुरा देख्न
सकिएको छैन l सुधार र पुनर्सचनाको यस्ता कुरा आगामी वर्षका बजेट,
सरकारी नीति तथा कार्यक्रममा आई नै रहने कुरा भने पक्का छ l २०५३
सालदेखि २०८२ सालसम्मको बजेटमा धितोपत्र बोर्डको क्षमता वृद्धि, पुनर्संरचना कुरो १३ पटक आएको छ l बजेटमा
जति लेखिए पनि तर, देख्न सकिने गरि केही अनुभूत हुने काम देखिएन l
नेप्सेको पुनर्संरचना
शेयरबजारको दोस्रो स्थानमा पर्ने बजार सञ्चालक (स्टक
एक्सचेञ्ज) अर्को महत्त्वपूर्ण निकाय हो l ‘जेठो मामाको त भाङ्ग्राको धोती, कान्छो मामाको कुन गति’ भने जस्तै अवस्था नेप्सेको छ l यसको पनि पुनर्सरचनाको कुरा आएको वर्षौ भएको छ l सँगसंगै
जस्तै स्थापना भएका बोर्ड र नेप्से पुनर्संरचनाको विषय उस्ताउस्तै अवस्थमा छ l
नेप्से पनि बोर्ड जस्तै अर्थमन्त्रालयको शाखाभन्दा माथिको हैसियतमा
छैन l बजार सञ्चालकसंगै जोडिएर आउने केन्द्रीय निक्षेपक
(सीडीएस ) पनि उस्तै अवस्थाबाट गुज्रिरहेको छ l यी दुवै
निकायको पुनर्संरचनाको कुरा जति उठे पनि कार्यान्वयनमा जाने सम्भावना अझै कयौं
वर्ष देखिन्न l नेप्से पुनर्संरचनाको लागि कयौं अध्ययन भए तर,
पनि ‘हलो कहाँ अड्किन्छ’ कसैलाई पत्तो हुन्न l नेप्सेमा विदेशी लगानी ल्याउने भनेको पनि धेरै सुनियो तैपनि कसको के स्वर्थामा
कहाँ पुगेर फाइल हराउँछ यसको पनि कसैलाई पत्तो छैन l नेप्सेको
पुनर्संरचनाको कुरा दशौं पञ्च-वर्षीय योजना (२०५९-२०६४) मा निजीकरणमार्फत गरिने
उल्लेख थियो l त्यस्तै, वित्तीय
क्षेत्र विकास रणनीति (२०७३-२०७८) मा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले धारण गरेको
शेयर विनिवेश गर्ने उल्लेख थियो l दशौं योजना र विकास रणनीति
दुबैको अवधि सकिँदा केन्द्रीय बैंकले केही शेयर विनिवेश गरे पनि सरकारको शेयर
यथावत छ l बजेटमा संस्थागत सुधार, संरचनागत
सुधार, सार्वजनिक-निजी साझेदारीलगायत अनेकौं विषय उल्लेख
गरेर सरकारले नेप्सेबाट हात झिक्ने कुरा कार्यान्वयन गर्ने सन्दर्भ ‘घुमिफिरी
रुम्जाटार’ मै पुगेको छ l
पञ्च-वर्षीय योजना,
विकास रणनीति, वार्षिक नीति तथा कार्यक्रम र बजेटमा नेप्सेको पुनर्सचना गर्ने कुरा
गरेर सरकार कहिल्यै थाकेन l नेप्सेलाई जे जसरी हुन्छ शसक्त बनाएर लैजानुपर्नेमा सरकार
आवश्यकै नभएको अर्को एक्सचेञ्जको अनुमति दिन तयार भएर बसेको छ l संसारभर एक्सचेञ्ज गाभिएर ‘एक देश एक एक्सचेञ्ज’ मा गईरहेका बेला नेपाल
भने उल्टो गति लिएर अर्को एक्सचेञ्जको रटान लगाउन थालेको छ l अझ केही देश ‘एक देश
एक एक्सचेञ्ज’ लाई पनि छाडेर ‘बहुदेश एक एक्सचेञ्ज’ मा समेत गइसकेका छन् l अचम्म त
के छ भने धेरैवटा एक्सचेञ्ज भएपछि प्रतिष्पर्धा हुन्छ भन्ने भाष्य बनाईएको छ l
जबकी एक्सचेञ्ज न बैंक जस्तो हो न यातायात जस्तो हो, यो त विशुद्ध शेयर खरिद
बिक्री गराउने एउटा थलो मात्र हो l धेरैवटा एक्सचेञ्ज हुँदा प्रतिष्पर्धा हुने भए
भारतले २० वटाभन्दा बढी एक्सचेञ्जलाई कायमै राखेर अरु बीसौं एक्सचेञ्ज खोल्न
अनुमति दिने थियो l सरकारले अर्को एक्सचेञ्ज ल्याउने कुरा
छाडेर नेप्सेको केही शेयर (बढीमा १५ प्रतिशत) आफूले राखेर निजीकरण गर्नुपर्छ l सरकारले
नेप्सेमा रहेको आफ्नो नियन्त्रण हटाएर कर्पोरेट हिसाबले कार्य गर्न दिनु नै
शेयरबजारको उज्ज्वल भविष्य हो
गैर-आवासीय र
संस्थागत लगानी
नेपालको शेयरबजारमा गैर-आवासीय नेपालीलाई
लगानी गर्न दिने र संस्थागत लगानीकर्तालाई प्रोत्साहन दिने भनिए पनि यी कुरा सबै
कागजमै सिमित भएका छन् l नेपालको शेयरबजारमा गैर-आवासीय नेपालीले साँच्चीकै लगानी
गर्लान कि नगर्लान त्यो अनिश्चित नै छ l किनभने नेपालको शेयरबजारमा लगानी गरेर नगद
लाभांश विरलै पाइन्छ l लगानी पुँजीगत लाभको लागि मात्र हुन्छ भन्ने अर्को एउटा भाष्य
पनि नेपालमै हुनसक्छ l लगानीबाट नगद प्राप्त नहुने बजारमा को आकर्षित होलान यो
एउटा ज्यूँदो प्रश्न छ l सम्भवत नेपालमा सूचीकृत कम्पनीले हरेक वर्ष बाँड्ने बोनस
शेयरप्रति मोह नभएर गैर-आवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्न प्रोत्साहन गरिने
भनेर पटकपटक बजेटमा लेखे पनि आकर्षित नभएका हुनसक्ने अनुमान गर्न सकिन्छ l २०५३
सालको बजेटमा आएको शेयरबजारमा विदेशी लगानी आकर्षित गर्न कानुनी र संस्थागत र
प्रक्रियागत व्यवस्था गरिने भनेर उल्लेख गरिएको कुरो अहिलेसम्म अघि नबढ्नुमा पनि
यही लाभांश नै हुनसक्ने अनुमान गर्न सकिन्छ l
नेपालमा संस्थागत लगानीको अवस्था
पनि दयनीय नै छ l बजेटमा यसका विषयमा पनि धेरैपटक उठान भएको छ l स्टक डिलर ल्याउनेबित्तिकै
कायापलट नै हुन्छ भने सोच बजेटमा पटकपटक आयो l अहिलेसम्म दुइवटा डिलर आए पनि यसले
कुनै माखो मारेको छैन l म्युचुअल फण्ड र डिलर नै संस्थागत लगानीकर्ता हुन भन्ने सोच
देखिएको छ तर, यी दुवै निकाय वास्ताविकरुपमा संस्थागत लगानीकर्ता बन्न सकेका छैनन्
l वास्ताविक संस्थागत लगानीकर्ता बन्नसक्ने अन्य कम्पनीलाई प्रोत्साहन गर्ने नीति
नै आएन भन्दा पनि हुन्छ l भारतको शेयरबजारमा संस्थागत लगानीकर्तालाई आईपीओमै विशेष
सुविधा दिईएको छ l नेपालमा यी सबै कुराबाट बञ्चित गरिएको छ l आइपीओ बाँडफाँडमा
अपनाएको १० कित्ते नीतिलाई उपलब्धिको उच्चतम विन्दु भनेर ‘नाक फुलाईए’ पनि यसको
कारण नेपालको शेयरबजारमा गुणात्मक विकास हुन सकेको छैन l
अन्त्यमा, नेपालको शेयरबजार ‘गरिनेछ’ मै घुमिरहेको छ l १० कित्ते बाँडफाँड नीतिले १ हजार रुपैयाँको आवेदन दिने र परेमा दोब्बर तेब्बरमा बेचेर हिँड्ने लगानीकर्ताबाट शेयरबजारको संस्थागत विकास हुँदैन l संस्थागत विकास गराउनका लागि संस्थागत सहभागीतै चाहिन्छ l तर, नेपालमा संस्थागत लगानीकर्तालाई पूर्णत उपेक्षा गरिएको छ l संस्थागत लगानीकर्ता घाटा सहन र १० कित्ते धारकलाई धनी बनाईदिन बजार प्रवेश गर्दैनन् l त्यसैले संस्थागत लगानीकर्तालाई कम्तिमा ४० प्रतिशत आईपीओ दिनुपर्छ l बाँडफाँडमा १० कित्ता हैन, समानुपातिक विधि अपनाउनुपर्छ l लगानीको आधारमा बाँडफाँड गर्दा मात्र न्याय हुन्छ l कम्पनीले शेयर जारी केवल जारी गर्नको लागि मात्र गर्दैनन् l आईपीओबाट पुँजी मात्र हैन, नेतृत्व, व्यवस्थापन, व्यापारिक जुक्ति पनि आउँछ l कुनै समय कम्पनी वित्तीय सङ्कटमा पर्दा मजबुत वित्तीय हैसियत भएका शेयरधनीले त्यतिबेला वित्तीय सहयोग पनि उपलब्ध गराउँछन् l सरकारले शेयरबजारको गुणात्मक विकास गर्नको लागि धितोपत्र बोर्ड र एक्सचेञ्जलाई स्वायत्त ढंगले काम गर्न दिनुपर्छ l नीतिमा लेखेर मात्र हुन्न कार्यान्वयन पनि हुनुपर्छ l
आर्थिक अभियान
बुधबार, ७ साउन, २०८२
https://abhiyandaily.com/news/451231/the-development-and-restructuring-of-the-stock/