Showing posts with label बजार. Show all posts
Showing posts with label बजार. Show all posts

Wednesday, March 18, 2020

शेयरबजार : पार्क एट योर ओन रिस्क


शेयरबजारमा हुने मूल्यको उतारचढाव नै कमाउने र गुमाउने बिन्दु हो । कम्पनीका शेयर मूल्य स्वाभाविक वा अस्वाभाविक छुट्टयाउन नसकेमा गुमाउन बेर लाग्दैन । शेयरबजारमा प्राप्त हुने पूँजीगत लाभ सांयोगिक भएकोले लिनसक्ने खुबी हुनुपर्छ । शेयरबजारबाट हुने नाफा वा घाटा व्यक्तिगत हुने हुँदा साधुसन्तले जस्तो सत्यबचन कसैले पनि बोल्दैन । शेयरबजारमा अलिकति छलछाम र जालझेललाई स्वाभाविक नै मानिन्छ । तर, बढी नै हुन् लाग्यो भने त्यसलाई नियन्त्रण (निषेधै गर्न सकिन्न) र त्यस्ता व्यवहार गर्नेलाई आर्थिक अपराधमा दोषी ठहर गर्नुपर्छ र गरिन्छ ।

अस्वाभाविक र अन्डरभ्यालु    
                                  
पछिल्लोपटक नेपालको शेयरबजारमा अस्वाभाविकरुपमा कारोबार रकम र मूल्यमा बढोत्तरी आएको छ । यसरी बढोत्तरी आउनुलाई चिनमा देखिएको कोरोना भाइरसका कारण चिनियाँ सामान आयात गर्ने रकम र यही बेला बैंकले बचतको ब्याजदर कटौती गरेका कारण शेयरबजारमा आएको भने पनि पुष्टि गर्ने आधार छैन । यति हुँदाहुँदै पनि शेयरबजारमा दिनहुँ नयाँ-नयाँ रेकर्ड कायम थपिएको छ । हुनत शेयरबजारमा कारोबार रकम र सहभागिता बढ्नुलाई अस्वाभाविक भनिहाल्न सकिन्न तर, अस्वाभाविक मूल्य वृद्धिले ल्याउनसक्ने सङ्कट घातक हुनसक्छ । अहिले देखिएको केही कम्पनीको मूल्य वृद्धिको टेक्ने र समाउनेआधार केही पनि छैन । केही कम्पनीको मूल्य वृद्धि स्वाभाविक पनि छ । केही राम्रा भनिएका कम्पनीका शेयर मूल्य अन्डरभ्यालुमा कारोबार भएको देख्न सकिन्छ र यस्तो अवसर वा अवस्था प्राय: संधै नै देखिन्छ । यस्ता कम्पनीले सामान्यतया पूँजीगत लाभ धेरै दिंदैनन तर, दीर्घकालमा भने पर्याप्त लाभ दिन्छन । सामान्यरुपमा यस्ता कम्पनी चिन्नको लागि व्यवसायियक वृद्धिदर, विगतको नाफा वितरण, सम्भावित व्यवसायिक अवसर, संचित कोष, खुद सम्पत्ति, लगानीमा वार्षिक प्रतिफल र व्यवस्थापकीय नेतृत्व आदि आधार हुन्छन ।

जालसाजीको प्रस्थानविन्दु

शेयरबजारमा लगानी गरेर रातारात धनी बनिने सपना सबैको हुन्छ । फलानोले फलानो कम्पनीको शेयर किनबेच गरेर गाडी घर किनेछ भन्ने सुनेकै भरमा त्यही कम्पनीको शेयेर किनेर गाडी र घर किन्ने सपना हुन्छ । शेयर कारोबारमा लाभ हुँदै नहुने भन्ने हैन तर, त्यसमा संयोगधैर्यताको पाटो छ । संयोग भन्दा धैर्यताले राम्रो लाभ दिन्छ । तर, न्यूनतम निश्चित प्रतिफल विनाको कम्पनीमा लगानी गरेर जति धैर्यता देखाए पनि लाभ पाउन सकिन्न । यस्ता कम्पनीमा पनि सांयोगिक लाभको अवसरलाई नकार्न सकिन्न तर, सुनिश्चित हुन्न ।

शेयरबजारमा जालसाजी गरेर रातरात धनी बन्ने खेल सन् १८१४ फ्रेबुअरी २१ तारिख सोमबारको दिन बिहान लण्डन स्टक एक्सचेन्जमा खेलिएको बताइन्छ । नेपोलियन मारिएको झुटो समाचार फैलाएर गरिएको शेयर मूल्य बढाएर बेच्ने खेल केही बेरमै झुटो सावित भयो र बजार पुरानै स्थितिमा फर्किएको थियो । भारतमा हर्षद मेहता र केतन पारेखले गरेको जालसाजीले भने कयौंको सम्पत्ति डढेलोले रुखलाई ठुटापारे झैँ पारेको थियो ।

हर्षद र केतन

भारतमा ठुलै जालसाजी गरेर शेयरबाट लाभ लिएका हर्षद मेहताकै सामिप्यतामा केतन पारेखको उदय भयो । मेहता र पारेखले कर्नरिंग’, ‘सर्कुलर ट्रेडिङपम्प एण्ड डम्पगरेर धेरैलाई कंगाल बनाइदिए । पारेखले सर्कुलर ट्रेडिङ गर्नको लागि आफैले २० वटा भन्दा बढी कम्पनी खोलेका थिए । पारेखले बढी खेलाएका शेयरलाई केटेन स्टकनामकरण गरिएको थियो । सन् १९९७ देखि २००१/२००२ मा डटकम बुम चलिरहेको थियो । खासगरी प्रविधि र दूरसञ्चार क्षेत्रका कम्पनीको शेयरमा बढोत्तरी आइरहेको बेला पारेखले पेन्टाफोर सफ्टवेयरको शेयर भाउ १ सय ७५ बाट २ हजार ७ सय, ग्लोबल टेलिसिष्टमको ८५ बाट ३ हजार १ सय, हिमाचल फ्यूचरिस्टिक कम्युनिकेसन्स लिमिटेडको ४२ बाट २ हजार ३ सय, जीको ७ सय ५० बाट ११ हजार भारतीय रुपैयाँसम्म पुर्याएका थिए । पारेखको शेयर मूल्य बढाउने खेलमा ग्लोबल ट्रष्ट बैंक र माधवपुरा मर्कन्टाइल कोअपरेटिभ बैंक डुबेका थिए । यी दुई बैंक डुब्नुमा पारेख बाहेक बैंकका अधिकारी पनि सामेल थिए । त्यस्तै, हर्षद मेहताले पनि कम्पनीका शेयर बढाउने क्रममा एसिसि सिमेन्टको शेयर भाउ २ सयबाट ९ हजार भारतीय रुपैयाँसम्म पुर्याएको थिए । यी त केही उदाहरण मात्र हुन् यस्ता अन्य कयौं कम्पनीमा यी दुइले खेल्नुसम्म खेलेका थिए ।

कसरी हुन्छ जालसाजी

शेयर बजारमा कुनै एक कम्पनीको शेयर सकेसम्म जम्मा गरिन्छ र त्यसपछि त्यसका बारेमा बढाईचढाई प्रचार गरेर बेच्ने कार्यलाई पम्प एण्ड डम्पभनिन्छ । सर्कुलर ट्रेडिङ गर्दा समूहमा गरिन्छ । बाहिरबाट हेर्दा यस्ता कारोबार स्वाभाविक जस्तो देखिन्छ तर, भित्रीरुपमा भने आफू-आफुबीच नै कारोबार भईरहेको हुन्छ । बजारमा माग बढाउनको लागि यस्ता समूह आफू-आफूले कारोबार गरेर शेयर र कारोबार संख्या बढाउँछन्, बाहिरबाट हेर्दा माग र कारोबार बढेको देखिन्छ । अन्य व्यक्ति त्यो शेयर प्रति जबसम्म आकर्षित हुँदैनन् त्यतिबेलासम्म बढाउने कार्य भईरहन्छ । समूहभन्दा बाहिरबाट त्यसको माग आउन थालेपछि एकैपटक वा मौका हेरेर सबै शेयर डम्प गरेर (बेचेर) बाहिरीन्छन र बजारमा शेयर छरपष्ट भेटिन थाल्छ । त्यतिबेला त्यस्ता शेयर किन्नेभन्दा बेच्ने बढी भेटिन्छन र मूल्यमा गिरावट शूरु भएर पुरानै स्थितिमा फर्किन्छ । बिक्रेताको चाप बढेपछि त्यहि शेयर पुन: तिनै समूहले लिएर फेरी अर्को सर्कुलर ट्रेडिङको तानाबाना बुन्न शुरु गर्न सक्छन वा त्यसलाई छोडेर अर्को कुनै कम्पनीमा छिरिसकेका हुन्छन् ।

शेयरबजारमा लागेर छिटो नाफा कमाउन खोज्ने व्यक्ति पारेख जस्ताले थापेको जालमा माछा परे जस्तै पर्नु नियति हुन्छ । खोला-नदीमा माछाका लागि प्रशस्त आहार भए पनि खोज्ने झन्झट लिनुभन्दा मुखैमा आइपुगेको टिप्न खोज्दा बल्छीमा पर्छ । शेयरमा लगानी गर्दा हुने लाभ भनेको यसले दिने वार्षिक प्रतिफल हो तर, बढ्यो-बढ्यो अब किनेर बेचिहाल्छु पैसा मुठ्याईहाल्छु भन्दा माछा जस्तै बल्छीमा परिन्छ । शेयरबजारमा देखिएको पछिल्लो गतिविधि र केही कम्पनीको मूल्यमा देखिएको अस्वाभाविक वृद्धि पम्प एण्ड डम्पनहोला भन्न सकिन्न ।

नियमकीय दायित्व

कर्नरिंगसर्कुलर ट्रेडिङकारोबार हो वा हैन त्यसको निगरानी राख्ने काम बजार संचालक (नेपाल स्टक एक्सचेन्ज) र धितोपत्र बोर्डको हो तर, नियमकमा यो ज्ञान वा क्षमता छ/छैन अहिलेसम्म देखिएको छैन । कम्पनीले त्रैमासिक विवरणमा प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात गलत प्रकाशन गर्दा यसलाई पनि जालसाजीको अर्को रुप बनाउन सक्ने सम्भावना हुन्छ । नेपाल फाइनान्सियल रिपोर्टिंग स्ट्याण्डर्ड (एनएफआरएस) विधि अनुसार हुने लेखापरीक्षणमा सम्पति पुनर्मूल्यांकनबाट सिर्जित कोष र वास्तविक नगदमा आधारित कोष अनुसारको दुइवटा नेटवर्थ देखाउनुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर देखाउने कार्य भईरहेको छ । यसले कम्पनीसँग प्रशस्त रकम छ अर्को वर्ष लाभांश टन्न दिन्छ भन्ने भ्रम सिर्जना गराएर जालसाजी कारोबार गर्नेको लागि राम्रो अस्त्र बनेको छ ।

कम्पनीको आम्दानीको स्रोत पनि लगानीका लागि महत्वपूर्ण पाटो हुन्छ । कम्पनीले कहिलेकाही गैरव्यवसायिक सम्पत्ति बेचेर वा कुनै आकस्मिक लाभ (जलविद्युत कम्पनीले पाएको पोष्टेड रेटको भुक्तानी) प्राप्त गरी कुनै त्रैमासिकमा बढी आम्दानी देखाएर सोही अनुपातमा वार्षिकीकरण गरेका हुन्छन । यस्ता कुरा कम्पनीले घोषणा नगर्दा जालसाजी गर्नेको लागि अर्को राम्रो चाराबन्छ । जलविद्युत कम्पनीले आम्दानीलाई वार्षिकीकरण गरेर सार्वजनिक गर्ने प्रतिवेदन पनि जालसाजीको अर्को चारा हो ।

अन्तमा, सबै कुरा नियमकले मात्र गरिदेला र बसिबसि खाउँला भन्ने सोचले मात्र लगानी हुन्न । नियमक गोठालो मात्र हो, सबै पशुको पछि लाग्न सक्दैन । लगानीकर्ताले अलिकति समय त्रैमासिक तथा वार्षिक प्रतिवेदन र अन्य सन्दर्भ सामग्रीको अध्ययनमा खर्च गर्नुपर्छ । पार्क एट योर ओन रिस्कभने जस्तै जोखिम, नाफा वा घाटाको नियमन आफैले गर्नुपर्छ ।

२७ फागुन २०७६, आर्थिक अभियान दैनिक 


Friday, April 27, 2018

संचित घाटा र नाफा

कुनै पनि कम्पनीको त्रैमासिक वित्तीय विवरण हेर्ने बित्तिकै तपाईको पहिलो नजर प्रतिशेयर आम्दानी र नेटवर्थमा पर्छ | अरु कुरामा खासै नजर पर्दैन | प्रतिशेयर आम्दानी हेरेर यसले यति र उति दिन्छ भनेर जोड घटाउ शुरु गर्नुहुन्छ | तर तपाइँले जोड घटाउ गरेको हिसाब मिल्दैन |

त्यति धेरै कमाएर र जगेडामा भएर पनि कम्पनीले केहि दिएन भनेर गुनासो गर्नुहुन्छ | तर वास्तविक पाटो भने अर्कै हुन्छ |

आज यसै विषयमा केहि छलफल गरौँ |

उदाहरणको लागि गत २०७४  पौष महिनामा नेपाल ग्रामीण विकास बैंकले प्रकाशन गरेको दोश्रो त्रैमासिक वित्तीय प्रतिवेदनलाई आधार मानेर हेरौं |

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २९.९० रहेको छ र नेटवर्थ १ सय ३६ छ | यो प्रतिवेदन हेरेर अधिकाँशले गर्ने अनुमान हो अब नेपाल ग्रामीणले अर्को वर्ष कम्तिमा २० प्रतिशत लाभांश दिन्छ | तर यो अनुमान सरासर गलत हुन्छ | कसरी गलत हुन्छ भनेर अलमलमा पर्नुहुन्छ |

कसरी गलत हुन्छ यसको विस्तृत बुझ्नको लागि कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्नुपर्छ | कम्पनीको आव २०७३/७४ को लेखापरीक्षण भएको वार्षिक वित्तीय प्रतिवेदनमा मात्र यस सम्बन्धि विवरण हुन्छ |

आव २०७३/०७४ को वार्षिक प्रतिवेदन अध्ययन गर्दा कम्पनी अझसम्म पनि संचित घाटामा रहेको छ | कम्पनीको संचित नोक्सानी ३७ करोड रहेको छ |

अर्ध वार्षिक प्रगतिलाई हेर्दा वार्षिकरुपमा कम्पनीले २० देखि २२ करोडसम्म खूद नाफा गर्नसक्ने देखिन्छ | यसबाट साधारण जगेडा कोष लगायत अन्य आवश्यक व्यवस्था गर्दा करिब १५ देखि १८ करोड खूद नाफा देखिन सक्छ | अब संचित घाटा ३७ करोड पुरा चालु आव २०७४/७५ मा पनि हुनसक्ने देखिन्न | अर्को वर्षको लागि पनि संचित घाटा कायम रहने स्थिति देखिन्छ |

यसको सिधा अर्थ नेपाल ग्रामीणले आव २०७४/७५ र ७५/७६ मा पनि नाफा दिन सक्ने स्थिति देखिन्न |
त्यसपछि ७६/७७ मा भने कम्पनीले लाभांश दिनसक्ने देख्न सकिन्छ |

नेपाल बैंक पनि अझसम्म संचित घाटामा छ | यसको संचित घाटा २ अर्ब भन्दा बढी रहेको छ | प्रभू बैंकको आव २०७२/७३ सम्म १ अर्ब ७१ करोड संचित घाटा रहेको छ | आव २०७३/७४ को वार्षिक साधारणसभा नभएकोले पछिल्लो संचित घाटा/नाफा यकिन गर्न सकिन्न |

Tuesday, August 8, 2017

पूँजीबजारमा वास्तविक क्षेत्रको प्रवेश


पूँजीबजारलाई देशीय अर्थतन्त्र हेर्ने ऐना भनिन्छ तर नेपालमा अर्थतन्त्रको प्रतिविम्व देखाउने वास्तविक क्षेत्र पूँजीबजारबाट बाहिर छ | यस्तो अवस्थामा पूँजीबजारको सूचकलाई अर्थतन्त्रको सूचकसँग दाँजेर हेर्न मिल्दैन | पूँजीबजारमा सेवा क्षेत्र बाहेक वास्तविक क्षेत्रका कम्पनीको रुपमा जलविद्युत कम्पनीको उपस्थिति अलि बढी छ | यसबाहेक अन्य एकादुई वास्तविक क्षेत्रका कम्पनी सूचिकृत भएका भए पनि यिनको पूँजीगत योगदान अत्यन्त कम छ | वास्तविक क्षेत्र आफैँ आउनुपर्ने हो वा सरकारले ल्याउने हो यसमा स्पष्ट रेखांकन गरिएको छैन | सरकारले पूँजीबजारमा जाउ भने पनि त्यसलाई प्रवर्द्धन हुने प्रकारले कुनै नीतिगत व्यवस्था गरिदिएको छैन | वजेट वक्तव्यमा १५% आयकर छूट दिने भनेपनि करयोग्य रकमको १५% हो कि लाग्ने आयकरमा १५% घटाउने भनिएको हो प्रष्ट नहुनाले दुविधा छ | सरकारको तर्फबाट नीतिगत स्पष्टता नभए पनि पूँजीबजारको नियमक धितोपत्र वोर्डले भने धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा वास्तविक क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउन केहि खुकुलो भने पारिदिएको छ

नयाँ व्यवस्था कस्ता छन्

नियमन नहुने क्षेत्रका कम्पनीले जारी पूँजीको न्यूनतम दशदेखि अधिकतम उनन्चास प्रतिशतसम्म प्राथमिक शेयर जारी गर्न पाउने व्यवस्था गरेको छ | यस्ता कम्पनीले आफ्नो उद्देश्य अनुसार कारोबार संचालनको लागि आवश्यक कार्य अगाडी बढाई एक वर्ष पुरा गरी लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गरेको, कम्पनीको उद्देश्य बमोजिम कार्य गर्न इजाजत, अनुमति वा स्वीकृति लिएको हुनुपर्ने र कम्पनीको लागि भौतिक सामग्री कार्यालय भवन, जग्गा खरिद वा भाडामा लिएर आवश्यक पर्ने संसाधनको व्यवस्था भइसकेको हुनुपर्ने लगायत छन् | त्यस्तै उत्पादनको प्रविधि छनौट गरि यान्त्रिक उपकरणको लागि टेन्डर वा अन्य उपयुक्त विधिबाट खरिद प्रक्रिया अगाडी बढेको हुनुपर्ने व्यवस्था नियमावलीले गरेको छ | आयोजनाको निर्माण अवधिभर ऋण र पूँजीको अनुपात तोकिएबमोजिम राख्न सहमत भएको, संस्थापकले लिन कबुल गरेको धितोपत्रको रकम शतप्रतिशत चुक्ता भइ वित्तीय प्रवन्धन भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ | जलविद्युत कम्पनीको हकमा विद्युत खरिद विक्री सम्झौता सम्पन्न भएको हुनुपर्नेछ | यति कार्य सम्पन्न भैसकेपछि विक्री प्रवन्धक नियुक्त गरेर बिक्रि गरिने शेयरको प्रत्याभूति समेत गराएको हुनुपर्छ |

नियमावलीमा अस्पष्टता 

वास्तविक क्षेत्रको कम्पनी पूँजीबजारमा आउने ढोका खोल्ने साँचो भनिए पनि नियमावलीमा अस्पष्टता छ | नियम ९(४) मा संगठित संस्थाले आफ्नो जारी पूँजीको दश प्रतिशतसम्म शेयर उद्द्योग आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई विक्री वितरण गर्नको लागि छुट्टयाउन सक्नेछभन्ने व्यवस्थाले सबै प्रकारका कम्पनीले दिनुपर्ने हो वा विशेष कम्पनीले मात्र भन्ने नियमावलीले प्रष्टिकरण दिएको छैन | खास गरि स्थानीयलाई शेयर दिने कुरा जलविद्युत आयोजनाको हकमा आएकोले अन्य प्रकारका उद्द्योगले पनि दिनुपर्ने हो खुल्न सकेको छैन | सिमेन्ट, औषधि, चिनी मिल आदि पूँजीबजारमा आउन खोजेमा यस्ता उद्योगले पनि दश प्रतिशत दिनुपर्ने हो कि हैन उत्तर जटिल देखिएको छ | नियमावलीमा भएको यो व्यवस्था नै सबभन्दा बढी अस्पष्ट छ |  

विवरणपत्रको ढाँचा 

विवरणपत्रले कम्पनीको विगत, वर्तमान र भविष्यको समग्र जानकारी दिनुपर्छ | विवरणपत्रलाई कर्मकाण्डी बनाउनु हुन्न | तथ्य र तथ्यांक मेल खाने हुनुपर्छ | तोकिएको ढाँचामा आएकै भरमा स्वीकृति दिनुहुन्न यसमा भएका अंकगणितको राम्रो विश्लेषण हुनुपर्छ | विगतमा कम्पनीका विवरणपत्रहरुमा अगिल्लो र पछिल्लो पृष्ठमा एकअर्कासँग बाझिने विषय परेका थिए | विवरणपत्रमा लेखिएका कुराको पुष्टिको लागि वोर्डले विशेषज्ञको समुह बनाएर कम्पनीको कार्यालय र उद्योग वा आयोजनास्थलसम्म पुगेर निरीक्षण समेत गर्नुपर्छ | जलविद्युत कम्पनीका विवरणपत्रमा आयोजनाको कुल पूँजीकरण खर्च कति हो खोज्दा सहजै भेटिन्न | वास्तविक क्षेत्रका कम्पनीको लागि पूँजीकृतखर्च सहजै देखिने गरि छुट्टै शीर्षकवा उपशीर्षकथप्नुपर्ने देखिन्छ | उद्द्योग वा आयोजनाको लागि हुने वा भएका मुख्य मुख्य खर्च के के हुनसक्छन सो समेत प्रष्ट उल्लेख गर्न लगाउनुपर्छ | कम्पनीले कति ऋण कति किस्तामा लिने योजना बनाएको छ सो कुरा तथा ऋण भुक्तानी कहिलेदेखि शुरु हुन्छ र सामान्य अवस्थामा कति समयमा पुरा हुने हो भुक्तानी तालिका र व्याजदरमा फरक पर्नसक्ने भएमा सो समेत प्रकाशन गर्न लगाउनुपर्छ | शेयर जारी गरेर प्राप्त हुने रकमलाई ऋण तिर्ने प्रयोजनमा लगाउन दिनुहुन्न तर स्वपूँजी र ऋणको अनुपात कायम गर्न ब्रिज ग्याप ऋणलिएको अवस्थामा भने जति ऋण लिएको छ त्यतिसम्म रकम ऋण तिर्ने प्रयोजनमा लगाउन भने सकिने व्यवस्था गरिनुपर्छ | विवरणपत्रमा उद्द्योग वा आयोजना निर्माण कार्यमा संलग्न मुख्य ठेकेदार र इन्जिनियरिंग परामर्शदाताको नाम र कार्यानुभव समेत उल्लेख गर्न लगाउनुपर्छ र यस्ता ठेकेदार र परामर्शदाताको कम्पनीको संचालकसँग व्यक्तिगत कारोबार नभएको समेत पुष्टि गर्न लगाउनुपर्छ | पूँजीकृत गरिएको सबै रकमलाई नै अधिकृत र जारी पूँजी देखाउने गरिएको पनि भेटिएको छ | स्वपूँजी भन्दा बढी अधिकृत र जारी पूँजी राख्न दिनुहुन्न

पूर्व समिक्षा र सत्यम काण्ड 

विगतमा जुत्ता, धागो, जुट, इँट, विमान कम्पनीहरु नआएका हैनन् तर अहिले यस्ता कम्पनी पनि थिए भन्यो भने अहिलेका पुस्ता आश्चर्यमा पर्छन | विगतमा वास्तविक क्षेत्र पनि थिए भन्ने थाहा नभएकाहरु वास्तविक क्षेत्र आउनुपर्छ भन्दै आवाज उठाउँदा नियमकले विगत किन तिक्त रहयो त्यसको पूर्व समिक्षा गर्नुपर्छ | व्यवसायिक सुरक्षाको अभाव, कर नीति, मागमा कमि वा संचालकको वद्नियत के कारण थियो त्यसको अध्ययन गरिनुपर्छ | भारतमा केहि समय अघि सत्यम कम्प्युटरनामक सूचना प्रविधि कम्पनी धराशायी भई विलिन भएको घटनालाई पनि हृदंगम गर्नुपर्छ | चालिस हजार जनालाई प्रत्यक्ष रोजगारी दिईरहेको कम्पनी एकाएक ध्वस्त हुनु व्यवसायिक सुरक्षा वा कर नीतिका कारण थिएन | कम्पनी धराशायी हुनुमा पारिवारिक वर्चस्व एउटा मुख्य कारण थियो | कम्पनीमा अध्यक्ष रामालिंगा राजुकी पत्नी नन्दी राजु, छोरा तेजा राजु र भाइ रामाराजु लगायत परिवारका सदस्यको वर्चस्व रहेको थियो | परिवारको वर्चस्वको फाइदा उठाउँदै राजुले हुँदै नभएका १३ हजार फर्जी कर्मचारी देखाएर मासिक दुई करोड भारु लिने गर्थे | २००९ मा राजुले १ अर्व ४७ करोड डलर बराबरको घोटाला गरेका थिए | २००९ बाट शुरु भएको सत्यम काण्ड २०१५ अप्रिलमा हैदरावाद अदालतले राजु सहित १० जनालाई जनही ५५ लाख जरिवाना र ७ वर्षको जेल सजाय सुनाएपछि समाप्त भयो

कानुन बमोजिम संस्थापना भएपछी कम्पनीले स्वतन्त्र व्यक्तिको हैसियत प्राप्त गर्छ | कम्पनीले प्रवन्धपत्रमा उल्लेखित उद्देश्य प्राप्तिको लागि कार्य गरिरहँदासम्म मात्र स्वतन्त्र व्यक्तिको मान्यता कायम रहन्छ | तर वद्नियत राखेर कम्पनीका साहु, साधारण शेयरधनीलाई धोका दिने, कुनै गैरकानुनी कार्य गर्ने मानसिकता राख्छन त्यतिबेला कम्पनीको आवरण हटाउने सिद्धान्तको उपयोग गर्नुपर्छ | नियमकले गलत लेखापरीक्षण गर्ने लेखापरीक्षकको अनुमति खारेज गर्नेसम्मको अधिकार क्षेत्र ग्रहण गर्नुपर्छ | सत्यम काण्डमा भारतीय पूँजीबजार नियमक भारतीय प्रतिभूति विनिमय वोर्ड (सेवि) ले प्राइस वाटर हाउस कुपर्सनामक वेलायती लेखापरीक्षक दोषी भेटिएमा भारतमा कार्य गर्न पाएको अनुमति खारेज गर्नेसम्मको कारवाही गर्ने बताएको थियो

वास्तविक क्षेत्र पूँजीबजारमा आउनुपर्छ भन्नेमा कसैको विमति छैन तर नियमन हुन नसकेमा सत्यम काण्ड दोहोरिन सक्नेतर्फ संधै सचेत हुनुपर्छ

९ माघ २०७३, कारोबार


मनोवैज्ञानिक त्रास र शेयरबजार


शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । ओरालो लाग्नुपर्ने तात्विक कारण केहि छैन । पहिलो त्रयमास समाप्तिसँगै सूचिकृत कम्पनीहरुले वित्तीय प्रतिवेदन प्रकाशन गरिसकेका छन् । प्रकाशित विवरण अनुसार सबै कम्पनीले राम्रो आम्दानी गरेका छन् । अर्को वर्ष अहिले भन्दा बढी वा अहिलेकै हाराहारीमा लाभांश दिनसक्ने हैसियत देखिएको छ । यतिबेला अधिकाँश कम्पनीले लाभांश घोषणा गरेर शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेका छन् । अब लाभांश पाउनको लागि एक वर्ष पर्खनुपर्नेहुन्छ । लाभांश घोषणा गर्न बाँकी कम्पनीतर्फ जानको लागि लाभांश पाइसकेको कम्पनी छाड्ने क्रममा त्यस्ता कम्पनीको मूल्यमा गिरावट आउनुलाई सामान्य नै भन्नुपर्छ । शेयर मूल्यमा सामान्यतया गिरावट आउने समय भए पनि अप्रत्याशितरुपमा अधिक गिरावट आउनुलाई सामान्य स्थिति भन्न सकिन्न । लाभांश घोषणा भइसकेको कम्पनी छाडेका कारण मात्र मूल्यमा गिरावट आएको भने पक्कै हैन । गिरावट आउनुका सम्भावित  कारणहरुको संक्षिप्त चर्चा यस आलेखमा गर्ने प्रयास गरिएकोछ । 

महत्वकांक्षी लगानीकर्ता

उच्च महत्वकांक्षा सदा हानिकारक हुन्छ । लगानीकर्ताहरु कम्पनीको लाभांश दिनसक्ने क्षमता भन्दा अधिक अपेक्षा राख्छन र सोहि अनुसार शेयर किन्न थाल्छन र कम्पनीले आफ्नो वास्तविक क्षमता अनुसारको लाभांश घोषणा गर्नसाथ निराश हुन्छन र कम्पनीलाई गालि गर्दै सस्तैमा शेयर हुत्त्याईदिन्छन जसले गर्दा कारण विना नै मूल्यमा गिरावट आउँछ । जबकी घोषित लाभाँश कम्पनीको क्षमता अनुसार अपर्याप्त हुन्न । यसो हुनुको कारण कम्पनी विश्लेषण गर्न नसक्नु हो । लगानी गर्नेले कम्तिमा वासलात र नाफा-नोक्सान हिसाब आफैंले बुझ्नसक्ने हैसियत राख्नुपर्छ । शेयर लगानीको लागि यी सामान्य कुरा हुन् । 
   
लाभांशको अन्योल 

यसपटक लाभांश घोषणामा पनि अन्योल देखियो । नेप्सेमा एउटा अंक पठाए पनि पाउने बेलामा अर्कै अंक लगानीकर्ताले पाए । कहिलेसम्म कायम पूँजीलाई लाभांश दिएको भनेर कम्पनीले प्रष्ट नपार्दा अन्योल सिर्जना भयो । लाभांश घोषणा गरेका प्राइम माछापुच्छ्रे लगायतको वास्तविक लाभांश कति आउला भन्ने यकिन लगानीकर्ताले गर्न सकेका छैनन् । प्राइमले नेप्सेमा दिएको सूचनामा घट्न सक्ने मात्र भनेको छ तर कति घट्ने भनेको छैन । यस्ता कुरा प्रष्ट नहुँदा कतिमा लगानी गर्ने भनेर अलमल हुँदा मूल्यमा गिरावट आउनु स्वाभाविक हो ।

हकप्रदको चटारो 

यतिखेर धेरै कम्पनीले हकप्रद जारी गरेका छन् । केहि समय अघि मात्र अरुण कावेली हाइड्रोपावरले ३० लाख कित्ता साधारण शेयर जारी गरेको र त्यसमा अरवौं रुपैया लगानी भइसकेको छ । हिमालयन, काष्ठमण्डप, सगरमाथा, सेवा, सिद्धार्थ, कन्चन लगायत थुप्रै बैंकको हकप्रद आइरहेको छ । जति पनि कम्पनीका हकप्रद आएका छन् ति सबैमा लगानी गर्ने लगानीकर्ता एकै हुन् । एकैपटक धेरै कम्पनीमा लगानी गर्नुपर्दा रकमको अभाव पर्ने नै हुन्छ र रकमको जोहो गर्ने एकमात्र ठाउँ शेयरबजार नै हो । रकम जोहो गर्ने दवाव यतातिर परेको कारण पनि केहि घट्नु स्वाभाविक नै हो ।

माथि उल्लेखित बाहेक बजार घट्नुपर्ने भनिएका अन्य सबै कारण मनोवैज्ञानिक मात्र हुन् । ति मनोवैज्ञानिक त्रासको पनि संक्षिप्त चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । 

ट्रम्पको विजय 

शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपतिको चुनाव सम्पन्न भयो र कट्टरपन्थी स्वभावका डोनाल्ड ट्रम्पले आगामी चार वर्षको लागि व्हाइट हाउसको नेतृत्व पाएका छन् । हिलारीप्रति नरम भाव राखेका नेपाली नागरिकको लागि ट्रम्पको विजय अलि पाच्य भएन । अमेरिकीको लागि समेत नौलो नभएको परिणाम हाम्रो लागि झन् नौलो नहुनुपर्ने हो किनकि हाम्रो लागि ट्रम्प वा हिलारी जो आएपनि भतुवालाई बिगौतीसरह हो । तर शेयरबजार घट्नुलाई ट्रम्पको विजय र आप्रवासीप्रति भविष्यमा गर्नसक्ने व्यवहारलाई लिएर टिकाटिप्पणी भइरहेको छ । यो फगत मनोवैज्ञानिक त्रास मात्र हो । 

भारतीय रुपैयाँ 

भारत सरकारले एकहजार र पाँचसयको नोटलाई प्रतिवन्ध लगाएको घटनालाई पनि शेयरबजारसँग जवर्जस्ती जोडेर त्रास फैलाईएको छ । योगगुरु रामदेव र अर्थशास्त्री अनिल वोकिलको समुहले यी दुई नोट मात्र हैन रु. ५० भन्दा माथिका नोट सदाको लागि प्रतिवन्ध लगाउन र दुईहजारसम्म मात्र नगद र बाँकी सबै कारोबार बैंकिंग प्रणालीमार्फत गर्न अर्थक्रन्तिभन्ने अभियान नै चलाएका छन् । यति मात्र नभएर भारतमा प्रचलित ३२ प्रकारको कर मध्ये अन्तशुल्क र भन्सार कर बाहेक सबै खारेज गरेर कारोबार करलगाउन सल्लाह दिइरहेका छन् । भोलिका दिनमा यस्तो प्रस्ताव मोदी सरकारले लागू नगर्ला भन्न सकिन्न । यस्ता कुराबाट हाम्रो सरकारले पनि पाठ सिक्नुपर्नेमा मनोवैज्ञानिक त्रास सिर्जना गराउनेबाट सचेत हुनु जरुरी छ । नोट प्रतिवन्धको कारण आत्तिनुपर्ने कुनै कारण छैन । हाम्रो आफ्नै मुद्रा छ भारतीय मुद्रा प्रतिवन्धले हामीलाई छुनुपर्ने तात्विक कारण केहि छैन । नेपाल राष्ट्र बैंकले समेत यसबाट केहि असर नपर्ने बताइसकेकोछ । केन्द्रीय बैंकको भनाईलाई विश्वास नगरे कसलाई गर्ने

आठ अर्व 

यो पनि अर्को ठूलो त्रास बनेको छ । बैंकको पूँजी वृद्धि स्वाभाविक प्रक्रिया हो । केन्द्रीय बैंकले पूँजी वृद्धिको प्रस्ताव नल्याएको भए पनि पूँजी बढाउनु जरुरी थियो भन्ने बैंकले राम्रैसँग बुझेको विषय हो । २०७२ वैशाखको भूकम्प पश्चात पुननिर्माण र पुनस्थापनाको लागि सानोतिनो रकमले पुग्ने अवस्था थिएन । त्यस्तै देशमा पूर्वाधारको क्षेत्रमा समेत लगानी बढाउनुपर्ने आवश्यकता थियो । लगानीको लागि पूँजी दिनसक्ने एकमात्र संस्था भनेका बैंक हुन् । नेपाल भन्दा सानो अर्थतन्त्र भएको देश भुटानमा समेत बैंकको पूँजी पाँच अर्व छ भने त्यो भन्दा ठूलो अर्थतन्त्र भएको देशको लागि आठ अर्व पनि कम हो । उर्जा संकट मोचनको लागि तत्कालै ठूला तथा मझौला आयोजना निर्माणमा गईहाल्नुपर्ने अवस्था छ । यसको लागि पनि बैंक नै सक्षम हुनुपर्छ । आठ अर्व पूँजी पुर्याउन बोनस र हकप्रद दिईसकेकोले अर्को सालदेखि बोनस आउँदैन नगद लाभांश मात्र आउँछ भन्ने मानसिक त्रास बढेको छ । यो फगत स्वरै कल्पना मात्र हो । बैंकको जोखिम वहन गर्ने क्षमता वृद्धि गर्नको लागि पनि पूँजी अझ बढ्नुपर्ने आवश्यकता देखिएको छ । नेपाल लगानीका लागि उर्वर क्षेत्र बन्दैछ भन्ने कुरा अहिले विदेशी बैंकले नेपालका बैंकसँग साझेदारी गर्न देखाएको चासोले पनि पुष्टि गरिरहेको छ ।

अन्तमा 

स्वभावत शेयरको मूल्य घटवढ भइरहनुपर्छ यसको विशेषता भनेकै यहि हो । बढिरहने र घटिरहने भन्ने पनि हुन्न । शेयर बजारको घट्ने र बढ्ने चक्र भनेको रोटेपिंग जस्तै हो । रोटेपिंगमा माथि पुगेको मान्छे एकैछिनमा तल झर्छ र तलको मान्छे माथि पुग्छ । माथि जाँदा जति आनन्द महसुस हुन्छ तल झर्दा पनि त्यत्तिकै आनन्द महसुस हुन्छ । तल माथि भइरहने क्रम नहुने हो भने रोटेपिंग कुनै अर्थ हुन्न । शेयर बजारलाई पनि रोटेपिंगसँग करिब करिब सँगै राखेर हेर्न सकिन्छ । 

लगानी पछिको प्रतिफल र कम्पनीको स्थितिलाई सँगै राखेर लगानी गरेको खण्डमा आत्तिनु पर्ने स्थितिको सिर्जना हुन्न र लगानी सुरक्षित बनाउन सकिन्छ । लाभ लिन केहि समय कुर्न सक्नुपर्छ । सुरक्षित लगानी गरेमा ससाना घटनाले तर्साउन सक्दैन ।   

१२ मंगसिर २०७३, कारोबार



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...