Showing posts with label पूँजीकरण. Show all posts
Showing posts with label पूँजीकरण. Show all posts

Thursday, September 5, 2024

बजार पुँजीकरण र कुल ग्रार्हस्थ उत्पादन

एकअर्काबीच अन्तरसम्बन्ध हुन्छ कि हुन्न ?

शेयरबजारको पुँजीकरण र कुल ग्रार्हस्थ उत्पादन अर्थात ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) बीच अन्तरसम्बन्धको बारेमा चर्चा हुनथालेको छ l बजार पुँजीकरण बढ्दै जाँदा यस्तो बहस हुनेगर्छ l यस्तै बहस २०७८ सालमा पनि चलेको थियो l बहस चल्दै गयो, बजार घट्दै गयो, चर्चा र बहस पनि सकियो, विषय पनि हरायो l यस वर्ष पनि चर्चा चल्न थालेको छ l बजार पुँजीकरण घट्दै गएपछि अन्तरसम्बन्ध हुन्छ कि हुन्न भन्ने विषय नटुंगिकन सकिनेछ र बजार बढ्दै गएपछि फेरी चर्चा शुरु हुनेछ l यो क्रम निरन्तर चल्नेछ l पुँजीकरण बढ्दा मात्र यसको चर्चा चल्नुले यी दुइ बीचको कुनै सम्बन्ध छैन र यो केवल ‘तर्साउने’ अस्त्र मात्र हो भन्ने देखिन्छ l शेयर बजार पुँजीकरण, जीडीपीसँगको अन्तरसम्बन्ध र अहिले देखिएको बजार पुँजीकरण वास्तविक हो कि हैन, वास्तविक पुँजीकरण कति छ भन्ने बारेमा विस्तारमा चर्चा गरिन्छ l

जीडीपी र पुँजीकरण

कुल ग्रार्हस्थ उत्पादन भन्नाले कुनै पनि देशको एक निश्चित समयावधिमा वस्तु तथा सेवाको अन्तिम बजार मूल्यको योग हो l यसको मापन एक आर्थिक वर्षको समयावधि लिएर गरिन्छ l कुनै पनि वस्तु वा सेवा सोही तोकिएको समयभित्र उत्पादन भएको हुनुपर्छ l यसमा उपभोगका लागि तयार भईसकेको वस्तु तथा सेवा मात्रै समावेश हुन्छन l उत्पादनमा उपयोग हुने कच्चा पदार्थ यसमा पर्दैन । कुल गार्हस्थ्य उत्पादन बजार मूल्यमा मापन गरिने हुँदा वस्तु तथा सेवाको बजार मूल्य बढ्दा कुल गार्हस्थ्य उत्पादनको मानसमेत वृद्धि हुन्छ l अहिले नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ l आर्थक वर्ष २०८१/०८२ मा जीडीपी झण्डै ५८ खर्ब पुग्ने अनुमान गरिएको छ l

स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको कुल बजार मूल्यलाई बजार पुँजीकरण भनिन्छ l यसको मापन गर्दा सूचीकृत शेयर सङ्ख्यालाई त्यसको बजार मूल्यले गुणन गरि निकालिन्छ l उदाहारणका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को सूचीकृत शेयर सङ्ख्या १८ करोडलाई त्यसको बजार मूल्यले गुणन गर्दा यस कम्पनीको बजार पुँजीकरणको अङ्क आउँछ l २०८१ भदौ १३ गतेका दिन बजार बन्द हुँदाको अन्तिम मूल्य ९ सय ९२ रुपैयाँ १० पैसाको हिसाबले यस कम्पनीको बजार पुँजीकरण १ खर्ब ७८ अर्ब ५७ करोड ८० हजार रुपैयाँ हुन्छ l यसैगरी अन्य सूचीकृत कम्पनीको पनि यसैगरी बजार पुँजीकरण निकालिन्छ र सबै कम्पनीको बजार पुँजीकरणलाई जोडेर कुल बजार पुँजीकरण निकालिन्छ l २०८१ भदौ १३ गतेका दिन बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख ५५ हजार १ सय ८५ र फ्लोट पुँजीकरण १५ खर्ब ४० अर्ब ४ करोड ६६ लाख ७० हजार रुपैयाँ थियो l  

जीडीपी र पुँजीकरणको सम्बन्ध

जीडीपी बढ्दा कम्पनीको नाफा बढ्नसक्छ l कम्पनीको नाफा बढ्दा शेयर मूल्य बढ्न सक्छ l शेयर मूल्य बढ्दा बजार पुँजीकरण पनि बढ्दै जान्छ l यस हिसाबले जीडीपी र बजार पुँजीकरणबीच सकारात्मक सम्बन्ध छ भन्न सकिन्छ l यसको सम्बन्ध हुने भए पनि जीडीपी र बजार पुँजीकरण सँगसँगै जानुपर्छ वा जान्छ भन्ने हुन्न l कुनै पनि कम्पनीको शेयर मूल्य कम्पनीको नाफाले मात्र बढ्छ भन्ने निरपेक्ष आधार हुन्न l किनभने शेयर बजारमा लगानी मात्र गरिन्न, बस्तुसरह कारोबार पनि गरिन्छ l कारोबार गर्दा कारोबारयोग्य शेयरको उपलब्धता पनि दृष्टिगत गरिएको हुन्छ l कारोबारीको मनोभावना, आर्थिक अवस्था, राजनीतिक स्थिरता र कम्पनीको व्यवसायिक अवस्थालगायत शेयर बजारलाई असर गर्ने धेरै कारक तत्वले बजार पूँजीकरण जीडीपीभन्दा फरक हुन सक्छ। जीडीपी र बजार पुँजीकरणको सम्बन्धको बारेमा पहिलोपटक अमेरिकन शेयर कारोबारी वारेन बफेटले उल्लेख गरेका थिए l आजको दिनमा बफेटले नै यसको उपयोग गर्न छाडिसकेका छन् l बफेटले शुरु गरेको यो विषयमा कुनै प्राज्ञिक निकायले शोध गरेको छैन l एक कारोबारीले आफ्नो लागि बनाएको एउटा सुत्र मानक सिद्धान्त बन्न सक्दैन l यस्तो हुन्थ्यो भने हरेक व्यक्तिले आफूलाई उपयुक्त ठानेको चिज आमसमुदायलाई उत्तिकै उपयोगी हुनेथियो तर, यस्तो हुँदैन l अंग्रेजीमा ‘वान म्यान्स फूड मे बी पोइजन फर एनोदर’ अर्थात एकजनाको खाना अर्को व्यक्तिको लागि विष हुनसक्छ भन्ने भनाई छ l

अङ्कको रुपमा पुँजीकरण

बजार पुँजीकरण एउटा विशुद्ध अङ्क वा हिसाब मात्र हो l २०८१ भदौ १३ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को विवरणअनुसार विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य ४ हजार ५ सय २९ रुपैयाँ थियो l यस दिन यस कम्पनीको १ सय ६५ कित्ता शेयर कारोबार भएको थियो l १ सय ६५ कित्ता कारोबार भए पनि सबै शेयरको कारोबार भएसरह हिसाब निकालिन्छ l नेप्सेमा सूचीकृत सबैभन्दा कम ४ लाख ९१ हजार ४ सय कित्ता शेयर भएको विशाल बजार कम्पनी लिमिटेडको एकैदिन सबै शेयर कारोबार भएमा २ अर्ब २२ करोड ५५ लाख ५० हजार ६ सय रुपैयाँ रकम चाहिने रहेछ l यही रकमलाई नै बजार पुँजीकरण भनिन्छ l थोरै शेयर भएको कम्पनीको सबै शेयर बिक्री हुँदा त दुइ अर्ब रुपैयाँभन्दा बढि रकम चाहिन्छ भने सूचीकृत सबै कम्पनीको शेयर एकैदिन कारोबार हुने हो भने झण्डै ४३ खर्ब रुपैयाँ चाहिन्छ l सूचीकृत सबै शेयर कारोबारयोग्य हुन्न l नेपालको सन्दर्भमा बैकिङ्ग र बिमा कम्पनीको ४९ प्रतिशत मात्रै शेयर खुलाबजारमा कारोबार हुन्छन् l यसको विपरित बाँकी ५१ प्रतिशत शेयर खुलाबजारमा कारोबारयोग्य हुँदैनन् l त्यस्तै, बैकिङ्ग र बिमाबाहेकका क्षेत्रका कम्पनीका शेयर तीन वर्षपछि सबै कारोबारयोग्य हुन्छन् l संसारमा कहीं नहुने दुइ र तीनथरी शेयर मूल्य नेपालमा मात्र देख्न पाइन्छ l बैकिङ्ग र बिमा कम्पनीको संस्थापक र सर्वसाधारण गरि शेयरको मूल्य छुट्टाछुट्टै छ l तर, पुँजीकरण गणना गर्दा संस्थापक शेयरलाई सर्वसाधारण अर्थात् फ्लोटको आधारमा गरिन्छ l यसबाट के बुझ्नुपर्छ भने बजार पुँजीकरण अङ्क मात्र हो l

तीन गुणा पुँजीकरण

२०८१ भदौ १३ गते नेपालमा बजार पुँजीकरण जीडीपीको करिब ८२ प्रतिशत थियो l यो अनुपात बढेर ८८ प्रतिशतसम्म पुगेको छ l यतिबेलै शेयरबजार ‘ओभरभ्यालुड’ भन्यो, जोखिम बढ्यो भन्ने चर्चा शुरु चलेको छ l यता यस्तो चर्चा चलिरहँदा साउदी अरबको बजार पुँजीकरण जीडीपीभन्दा १ सय ५० प्रतिशत बढि छ l साउदी अरबको जीडीपी २६ निल र बजार पुँजीकरण ३७ निल नेपाली रुपैयाँ छ l सन् २०१९ डिसेम्बर ११ मा साउदी अरबको बजार पूँजीकरण जीडीपीको झण्डै तीन गुणा थियो l यसरी पुँजीकरण बढ्नुमा त्यहाँ सूचीकृत कम्पनीको शेयर मूल्य तीन गुणा बढेको थिएन l साउदी सरकार स्वामित्वको पेट्रोलियम उत्पादक साउदी अरेबियन आयल कम्पनी सूचीकरण भएको थियो l यसले पहिलो कारोबार दिनमै २५ निल २६ खर्ब नेपाली रुपैयाँभन्दा बढीको बजार पूँजीकरण कायम गरेको थियो l साउदी अरबको स्टक एक्सचेञ्जको त्यतिबेलाको बजार पुँजीकरण करिब ३० निल जीडीपी १२ निल नेपाली रुपैयाँ हाराहारी थियो l अहिले जीडीपी बराबर बजार पुँजीकरण पुग्न लाग्यो, जोखिम बढ्यो भन्ने जुन प्रचार भईरहेको छ, यसको सत्यतथ्यको बारेमा खासै चर्चा भएको देखिन्न l खोजी हुन्थ्यो भने साउदी अरबको जीडीपी र पुँजीकरणको चर्चा अवश्य नै हुनेगर्थ्यो l यस्तो उदाहरण अरु पनि भेटिन सक्छ l

कुन पुँजीकरण वास्तविक

नेप्सेले कुल र फ्लोट गरि दुइथरि बजार पुँजीकरण सार्वजनिक गरिरहेको छ l कुल पुँजीकरणको चर्चा चल्दा फ्लोट पुँजीकरणको बारेमा कसैले पनि वास्ता गरेको देखिन्न l यद्यपी कुल पुँजीकरणलाई लिँदा पनि यसले कुनै असर पार्ने हैन l किनकी यो एउटा अङ्क मात्र हो, यसले कुनै तात्त्विक असर पर्दैन भन्ने कुरा साउदी अरबको बजार पुँजीकरण र जीडीपीको अङ्क हेर्दा ज्ञात हुन्छ l साउदीको उदाहरणले देखाउने कुरो के हो भने अन्य कम्पनीको शेयर मूल्य नबढे पनि कुनै एउटा कम्पनीले पनि बजार पुँजीकरणमा तात्त्विक असर पर्दोरहेछ l नेप्सेमा सूचीकृत विभिन्न १२ वटा समूहका २ सय ६८ वटा कम्पनीको ८ अर्ब १८ करोड ७१ लाख ४५ हजार ९ सय ३५ कित्ता शेयर सूचीकृत भएका छन् l यो अङ्कमा खारेजीको क्रममा रहेका (क्रिष्टल फाइनान्स लिमिटेड) र सूचीकरणमा रहेका तर, कारोबार स्थगन भएको (क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड) शेयरलाई समावेश गरिएको छैन l यसमा सोल्टी होटेल लिमिटेडको अङ्कित मूल्य १० रुपैयाँ र हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको अङ्कित मूल्य ५० रुपैयाँ रहेका शेयरलाई अङ्कित मूल्य १ सय रुपैयाँको हिसाबले गणना गरिएको छ l २०८१ भदौ १३ गतेको विवरणअनुसार यी सबैको बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख ५५ हजार १ सय ८५ र फ्लोट पुँजीकरण १५ खर्ब ४० अर्ब ४ करोड ६६ लाख ७० हजार रुपैयाँ छ l

कुल पुँजीकरण कसरी गणना गरिन्छ भन्ने कुरा माथि उल्लेख भईसकेको छ l फ्लोट गणना कसरी गरिएको छ भनेर नेप्सेले सार्वजनिक गर्ने गरेको छैन l सिद्धान्तत: फ्लोटमा कारोबारयोग्य शेयर मात्र गणना गरिन्छ l बैकिङ्ग र बिमाबाहेकका कम्पनीको शेयर निश्चित अवधिसम्म बिक्री बन्देजमा रहन्छ l यस्ता बिक्री बन्देजमा रहेका शेयरलाई फ्लोटमा राखिएको छ वा छैन सार्वजनिकरुपमा प्रकाशमा नआएको हुँदा यस बारेमा यकिन भन्न सकिन्न l फ्लोट पुँजीकरण हेर्दा यस्ता शेयरलाई राखिएको छैन होला भन्नेसम्मको अनुमान गर्न सकिन्छ l जलविद्युत समूहका अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड र चिलिमे जलविद्युत कम्पनी लिमिटेडका संस्थापक शेयरलाई कुन वर्गमा राखिएको छ, यसको पनि सार्वजनिक जानकारीमा आएको छैन l खुलारुपमा कारोबारमा आउने शेयरको अनुमानित संख्या ४ अर्ब ५० करोड कित्ता छ l अनुमान गरिएको फ्लोटेड शेयरको बजार पूँजीकरण करिब २७ खर्ब रुपैयाँ अनुमान गर्न सकिन्छ l तालिकामा सूचीकृत क्षेत्र, कुल शेयर संख्या, अनुमानित फ्लोटेड शेयर संख्या र अन्तिम बजार मूल्यअनुसारको बजार पूँजीकरण पेश गरिएको छ l

शेयर संख्या र बजार पूँजीकरण

स्फ्द्फद्द्द

  स्रोत : नेप्से, २०८१ भदौ १३ 

तालिकामा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स), लघुवित्त, जीवन बिमा र निर्जीवन बिमा कम्पनीका शेयरलाई एकै ठाउँमा राखिएको छ l यी समूहका कम्पनीका ४९ प्रतिशतसम्म शेयर सर्वसाधारण अर्थात फ्लोटमा राख्न सकिने हुँदा हाल फ्लोटमा नआए पनि भविष्यमा जुनसुकै बेला फ्लोटेड बनाइने हुँदा अहिले नै यसलाई फ्लोटमा राखिएको छ l जलविद्युत समूहका तामाकोशी, चिलिमे, साञ्जेन, रसुवागढी र मध्य भोटेकोशीको ४९ प्रतिशत शेयरलाई फ्लोटेड मानी अन्य कम्पनीका पूरै शेयरलाई कारोबारयोग्यका रुपमा लिईएको छ l यसमा पनि लकिङ्ग खुल्न बाँकी रहेका कम्पनीको क्रमशः लकिङ्ग खुलि खुलाबजारमा कारोबार हुनेहुँदा अहिले नै फ्लोटेडमा राखिएको हो l लगानी समूहको नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूर्वाधार बैंक लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेडको क्रमशः २०, २०, ४० र १० प्रतिशत शेयरलाई कारोबारयोग्यको रुपमा लिईएको छ l अन्य समूहको एनटीसी, नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमशः ८, १६ र ३० प्रतिशत शेयरलाई कारोबारयोग्यको रुपमा लिईएको छ l उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन समूहका सबै शेयरलाई कारोबारयोग्य गणना गरिएको छ l त्यस्तै, व्यापार समूहको विशालबजार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको क्रमशः ८५ र ७८ प्रतिशतलाई कारोबारयोग्य मानिएको छ

जोखिमको अवस्था  

शेयरबजारको पुँजीकरण कति हुनुपर्ने भन्ने कुनै सिमा हुन्न l शेयरबजारमा कम्पनी बाहिरिनेभन्दा भित्रिने अर्थात् सूचीकरण हुने दर बढि हुन्छ l नयाँ कम्पनी सूचीकरण भईरहने हुँदा पुँजीकरण पनि बढ्दै जान्छ l पुँजीकरण कति हुँदा ठिक कति हुँदा बेठिक भन्ने कुनै सुत्र हुन्न l जोखिम कुल बजार पुँजीकरणले हैन तत् तत् कम्पनीको शेयर मूल्यले निर्धारण गर्छ l पूँजीकरण केवल गणना मात्र भएको र यो वास्तविक रकम नभएको हुँदा यसले लगानी र कारोबारमा कुनै असर गर्दैन l तालिकामा अनुमान गरिएको झण्डै २७ खर्ब रुपैयाँ  पनि वास्तविक अङ्क भने हैन l बजार पुँजीकरणमा २७ प्रतिशत योगदान दिने बैकिङ्ग र बिमाको ४९ प्रतिशत फ्लोट मानिए पनि अझसम्म पनि कतिपय कम्पनीको ३० प्रतिशत शेयर मात्र फ्लोट भएको छ l १५ प्रतिशतको योगदान दिने जलविद्युत समूहका धेरै कम्पनीको लकिङ्ग खुल्न बाँकी छ l जीडीपी र पुँजीकरणको बीच प्रत्यक्षरुपमा कुनै सम्बन्ध स्थापित गर्न नसकिएको अवस्थामा शेयरबजार ‘ओभरभ्यालुड’ भयो भन्नुको कुनै अर्थ देखिन्न l यदि यी दुइ बीचमा सम्बन्ध हुने रहेछ भनेर प्रमाणित नै भयो भने पनि शेयरबजार ‘ओभरभ्यालुड’ भएको देखिन्न l नेप्सेले सार्वजनिक गरेको फ्लोट पुँजीकरणलाई आधार मान्ने हो भने जीडीपीको एक चौथाई र तालिकामा देखाइएको अनुमानित पुँजीकरणलाई आधार मान्दा पनि आधा मात्र पुगेको छ l बजार पुँजीकरणले कुनै पनि कम्पनीको शेयर मूल्य ओभरभ्यालुड हुन्न l कम्पनीगत शेयर मूल्यको आधारमा कम्पनी चाहिँ ‘ओभरभ्यालुड’ हुनसक्छ l पूँजीकरणसँगै बेला बेला शेयर कारोबार मापन गर्ने इन्डेक्सलाई लिएर पनि अनेकौं कुरा आउँछ l कुनै बेलाको झण्डै ३ हजार २ सयको इन्डेक्स घटेर फेरी त्यति नै अङ्क पुग्दा एकै हुन्न l किनभने यस बीचमा थुप्रै कम्पनी सूचीकरणमा आइसकेका हुन्छन् l इन्डेक्स गणना गर्दा लिइने आधार पुँजीकरण नयाँ कम्पनी सूचीकरण हुनासाथ परिवर्तन हुन्छ l पूँजीकरण र इन्डेक्सलाई अङ्कको हिसाबले घटीबढी भयो भन्नुभन्दा यस्तो हिसाब बुझ्नको लागि आधार पूँजीकरण लिएर तुलनात्मकरुपले हेर्नुपर्छ l यसका लागि नेप्सेले हरेक हप्ता आधार पूँजीकरण र फ्लोट पुँजीकरण गणना गर्दा लिएका आधार पनि साप्ताहिकरुपमा सार्वजनिक गर्नुपर्छ l यस्तो विवरणमा कुन कम्पनीको कति शेयर फ्लोटमा आएको छ भन्ने पनि उल्लेख गर्नुपर्छ यसो गर्दा आमरुपमा फ्लोट पुँजीकरण विश्वसनीय हुनजान्छ र अध्येयतालाई पनि तुलनात्मक अध्ययन गर्न सघाउ पुग्छ l 

२०८१ भदौ १९ 

आर्थिक अभियान 

https://www.abhiyandaily.com/article/bjaar-puunjiikrnn-r-kul-gaarhsthy-utpaadn-ekarkaabiic-antrsmbndh-hunch-ki-hundain

 

  




 

Friday, July 16, 2021

नेपालको शेयरबजार पूँजीकरण

जोखिम बढेको तर्कमा सत्यता कति ?

नेपालको शेयरबजारको पूँजीकरण ४० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ र अझ बढ्दो क्रममा छ । नयाँ कम्पनी सूचीकरण हुने र बजार मूल्य बढ्ने क्रमले पूँजीकरण पनि बढ्दो छ । पूँजीकरणमा भएको वृद्धिले शेयरबजारमा जोखिम बढेको तर्क पनि आएको छ । यस्तो तर्क आउनुको एउटा कारण कुल गार्हस्थ्य उत्पादन अर्थात् ग्रस डोमेस्टिक प्रोडक्ट (जीडीपी) बराबर शेयरबजारको पूँजीकरण पुगेको भन्ने छ । बजार पूँजीकरण र जीडीपीको अन्तरसम्बन्ध हुन्छ कि हुन्न भन्ने दुवै तर्क छ । अमेरिकी नागरिक वारेन बफेटले कुनै बेला उपयोगमा ल्याएको बजार पूँजीकरण र जीडीपीको अन्तरसम्बन्धलाई बफेट आफैले छाडिसकेका छन् । जीडीपीको हाराहारीमा पुगेको र योभन्दा पनि माथि जानसक्ने सम्भावना रहेको स्थितिमा साँच्चै जोखिम बढेको हो ? यसबारेमा बुझ्न शेयरबजारको पूँजीकरण र नेपालको शेयरबजारको पूँजीकरणबारे बुझ्नु आवश्यक हुन्छ ।

संक्षेपमा पूँजीकरण

सूचीकृत शेयर संख्यालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरी पूँजीकरण निकालिन्छ । दृष्टान्तका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को १५ करोड शेयर कित्तालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरिन्छ । मानौं कुनै दिनको अन्तिम मूल्य १ हजार ५ सय रुपैयाँ कायम भए एनटीसीको बजार पूँजीकरण २ खर्ब २५ अर्ब रुपैयाँ हुन्छ । यसको अर्थ सबै शेयर सोही दिन किनबेच भएमा त्यति मूल्य कायम हुन्छ भनिएको हो । तर, एकै दिन सबै शेयर कारोबार हुँदैन र हुन सक्दैन । त्यस्तै, सबै शेयर खुलारूपमा कारोबारयोग्य पनि हुँदैन । तर, नेपालमा निश्चित समयको विक्री बन्देज अवधि सकिएपछि सबै शेयर खुला रूपमा कारोबार हुनसक्छ । यसमा सञ्चालक समितिमा रहेका शेयरधनीले धारण गरेको शेयर भने कारोबार योग्य हुँदैन । शेयर मूल्यमा घटबढ भइरहने हुँदा पूँजीकरण सधैं स्थिर रहँदैन र तलमाथि भइरहन्छ । पूँजीकरण लागि सामान्यतया खुला रूपमा कारोबार हुनसक्ने प्रवाहित (फ्लोटेड) शेयरलाई मात्र गणना गर्नुपर्नेमा नेपालमा भने सम्पूर्ण शेयरलाई सामेल गरिएको छ । नेपालमा अहिले सर्वसाधारण, संस्थापक र खुला कारोबारयोग्य संस्थापक (उदाहरणका लागि राष्ट्रिय वाणिज्य बैंकले बेचेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवर्द्धक शेयर) गरी ३ किसिमको शेयर छन् । यी तीनैथरी शेयरको फरकफरक मूल्य भए पनि सर्वसाधारणतर्फको बजार मूल्यलाई आधार मानेर पूँजीकरण गणना गरिन्छ । यसकारण पनि नेपालको शेयरबजारको पूँजीकरणलाई यथार्थपरक छैन र यसले वास्तविक चित्र दिँदैन भनिएको हो ।

वास्तविक पूँजीकरण कति

नेप्सेमा २ सय २० ओटा कम्पनी सूचीकरणमा छन् । नेपालको शेयरबजारमा अहिले पनि बैंकिङ र बीमा कम्पनीको बाहुल्य छ । नेप्सेमा ३ खर्ब ५ अर्बभन्दा बढी कित्ता शेयर सूचीकरण भएका छन् । यीमध्ये खुला रूपमा कारोबारमा आउने शेयरको अनुमानित संख्या १ खर्ब ५३ अर्ब कित्ता छ । अनुमान गरिएको प्रवाहित शेयरको बजार पूँजीकरण करीब १४ खर्ब रुपैयाँ अनुमान गर्न सकिन्छ । तालिकामा सूचीकृत क्षेत्र, कुल शेयर संख्या, अनुमानित प्रवाहित संख्या र अन्तिम बजार मूल्यअनुसारको बजार पूँजीकरण पेश गरिएको छ ।

प्रवाहित शेयरको पूँजीकरण

क्रसं

क्षेत्र

शेयर सङ्ख्या

प्रवाहितको पूँजीकरण

कुल

प्रवाहित

१

बैंकिंग र बिमा

३,०४,२१,१९,८०,०१३

१,५२,१०,५९,९०,००६

७,४२,३१,७८,४३,४५२

२

जलविद्युत

६५,९६,०८,८२२

५२,८०,४०,६७६

२,८५,३०,९९,४२,७२८

३

लगानी

३६,००,४३,७३८

१०,८०,१३,१२१

९२,४२,९९,८१,४१५

४

अन्य

२५,०४,९१,२८५

२,८४,९१,२८५

४३,३१,५९,३३,७६०

५

होटल तथा पर्यटन

११,८३,२९,६६३

 ११,८३,२९,६६३

५५,६५,७७,१८,३२६

६

उत्पादन तथा प्रशोधन

६,००,७२,०४१

६,००,७२,०४१

१,४९,०४,२६,२९,३६९

७

व्यापार

२४,११,६४६

१८,४१,३१८

१८,९९,७०,३९,४९२

जम्मा

३,०५,६६,३०,१७,२०८

१,५२,९५,०७,७८,११०

१३,८७,०७,१०,८८,५४२

(स्रोत : नेप्से २७ वैशाख, २०७८)


तालिकामा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स), लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा कम्पनीका शेयरलाई एकै ठाउँमा राखिएको छ । बैंकिङ र बीमाको कारोबारयोग्य र कारोबार अयोग्य शेयरको अंश औसत ५०/५० प्रतिशत रहेको अनुमान गरिएको छ । यसपछिको दोस्रो स्थानमा जलविद्युत् समूहका अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, सान्जेन जलविद्युत् कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर लिमिटेडको पनि कारोबारयोग्य शेयर बैंकिङ र बीमासरह ५० प्रतिशत मानी अन्य कम्पनीका पूरै शेयरलाई कारोबारयोग्यका रूपमा लिइएको छ । लगानी समूहको नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकको क्रमशः २०, २० र ४० प्रतिशत शेयरलाई कारोबारयोग्यका रूपमा लिइएको छ । अन्य समूहको एनटीसी र नेपाल पुनर्बीमा कम्पनीको क्रमशः १५ र १६ प्रतिशत शेयरलाई आधार लिइएको छ । उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन समूहका सबै शेयरलाई कारोबारयोग्य गणना गरिएको छ । त्यस्तै, व्यापार समूहको विशालबजार र साल्ट ट्रेडिङको क्रमशः ६६ र ७४ प्रतिशतलाई कारोबारयोग्य मानिएको छ ।

जोखिमको अवस्था


शेयरबजारको पूँजीकरण बढ्दैमा जोखिम बढेको हो भन्न सकिँदैन । शेयरबजारको पूँजीकरण मूलतः नयाँ कम्पनी थप हुँदा र साविककै कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा हुन्छ । पछिल्लो समयमा ठूला पूँजीयुक्त नेपाल पुनर्बीमा कम्पनी, नेपाल पूर्वाधार बैंक, तामाकोशी, रसुवा र सान्जेनजस्ता ठूला पूँजीयुक्तजस्ता कम्पनी थपिएका छन् । यसबाहेक १ अर्ब रुपैयाँभन्दा बढी पूँजी भएका जीवन बीमा, निर्जीवन बीमा र जलविद्युत् कम्पनी पनि थपिएका छन् । निकट भविष्यमा अर्को ठूलो पूँँजीयुक्त मध्यभोटेकोशी थपिने क्रममा छ । हकप्रद र बोनस शेयर थपिने क्रम पनि बढ्दो छ । उत्पादन तथा प्रशोधन क्षेत्रका अन्य कम्पनी पनि सूचीकरणमा आउन लागेका हुँदा यसले पनि पूँजीकरण बढाउँदै लानेछ । पूँजीकरण केवल गणना मात्र भएको र यो वास्तविक रकम नभएको हुँदा यसले आफ्नो लगानी र कारोबारमा असर गर्दैन । नेप्सेले सबै शेयरलाई बजार मूल्यले गुणन गरी पूँजीकरण देखाइरहेको हुँदा यसलाई वास्तविक पूँजीकरण मान्न सकिँदैन । तालिकामा अनुमान गरिएको करीब १४ खर्ब रुपैयाँ र यसैको मूल्य बढ्दा हुने रकम नै वास्तविक पूँजीकरण हो । कम्पनी थपिएसँगै पूँजीकरण र कारोबार मापन गर्ने इन्डेक्स पनि बढ्दै जान्छ । अंकका हिसाबले १० भन्दा १५ ठूलो हुन्छ तर, गुणात्मक रूपमा ठूलो हो कि होइन भन्ने कुरालाई आधार अंकसँग तुलना गर्नुपर्छ । उदाहरणका लागि १ सय रुपैयाँ लगानी गरेर १५ रुपैयाँ कमाउनु र १ हजार रुपैयाँ लगानी गरेर १ सय रुपैयाँ कमाउनु अंकको हिसाबले १ सय रुपैयाँ धेरै देखिए पनि गुणात्मक हिसाबले १५ रुपैयाँ धेरै हो । पूँजीकरण बढेको हिसाबले बढी भयो भन्न सकिन्छ । तर, गुणात्मक हिसाबले धेरै नहुन सक्छ भन्ने कुरा उदाहरणले स्पष्ट पारेको छ । तसर्थ लगानी गर्दा पूँजीकरण र इन्डेक्सको आधारमा होइन जोखिम धारण गर्नसक्ने क्षमताअनुसार गर्नुपर्छ । पूँजीकरण र इन्डेक्सलाई अंकको हिसाबले घटीबढी भयो भन्नुभन्दा यसको पनि आधार पूँजीकरण लिएर तुलनात्मक रूपले हेर्नुपर्छ । यसका लागि नेप्सेले हरेक हप्ता आधार पूँजीकरण सार्वजनिक गर्नुपर्छ ।


१ असार २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/389264


 

उपकरण एक आईएसआईएन अनेक

फरक–फरक दिनु उचित कि अनुचित ? ईण्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीले जारी गरेको वित्तीय उप...