Showing posts with label केवाईसी. Show all posts
Showing posts with label केवाईसी. Show all posts

Tuesday, September 1, 2020

केन्द्रीकृत केवाईसी भण्डारण


सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) ले केन्द्रीकृत ग्राहक पहिचान (सीकेवाईसी) सेवासम्बन्धी कार्यसञ्चालन निर्देशिका२०७७ को मस्यौदा सार्वजनिक गरेको छ । मूलतः धितोपत्र बजारका सेवाग्राहीको ग्राहक पहिचान विवरण (केवाईसी) अनलाइन प्रविधिमा आधारित केन्द्रीकृत प्रणालीको विकास गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । यस्तो विवरण (केवाईसी) राख्ने निकाय सरकारीस्तरबाट नै आउनुपर्नेमा सीडीएसले गरेर झकझक्याउने कार्य गरेको छ ।


सीकेवाईसीका साझेदार


प्रस्तावित निर्देशिकाअनुसार यसका साझेदारहरूमा सीडीएस, केवाईसी दर्ता प्रतिनिधि र ग्राहक गरी चारओटा मुख्य साझेदारका रूपमा रहेका छन् । शेयर प्रमाणपत्रलाई अभौतिकरूपमा भण्डारण गरी राख्ने एवं शेयर कारोबारको राफसाफ गर्ने निकाय सीडीएस केवाईसी वा सीकेवाईसीको केन्द्रीय निकायका रूपमा रहनेछ । केवाईसी दर्ता प्रतिनिधिका रूपमा (१) निक्षेप सदस्य अर्थात् डिपोजिटरी पार्टिसिपेन्ट (डीपी), (२) धितोपत्र दलाल, (३) लगानी व्यवस्थापक, (४) मर्चेन्ट बैंकर्स, (५) बजार निर्माता (स्टक डिलर), (६) सामूहिक लगानी कोष व्यवस्थापक रहनेछन् । यी संस्थाले दर्ता प्रतिनिधि हुन सीडीएसमा निवेदन गर्नुपर्नेछ । दर्ता प्रतिनिधिका रूपमा कार्य गर्न अनुमति प्राप्त गरेपछि सीडीएसबाट एडमिन लगइनप्राप्त गर्नेछन् । दर्ता प्रतिनिधि प्राप्त गर्ने संस्थाले आफ्ना शाखाबाट पनि कार्य गर्न चाहेमा प्रत्येक शाखाका लागि छुट्टाछुट्टै लगइनमार्फत कार्य गर्नुपर्नेछ । ग्राहकले दर्ता गरेको ग्राहक पहिचान विवरण (केवाईसी) सीडीएसको सीकेवाईसीमा भण्डारण हुनेछ । सीकेवाईसीमा प्रविष्ट भएका ग्राहकको विवरण प्रमाणीकरणपश्चात् प्रणालीमा पृथक् स्थायी परिचय नम्बर (केवाईसी आईडी) उत्पन्न हुनेछ । यसअघि केवाईसी अस्थायी परिचय नम्बर वा अस्थायी परिचय नम्बरउत्पन्न हुनेछ । पूँजी बजारमा आबद्ध हुने प्रयोजनका लागि आफ्नो व्यक्तिगत विवरण दर्ता गर्ने प्राकृतिक व्यक्ति र संस्था वा कम्पनी ग्राहकका रूपमा रहनेछन् ।

सीकेवाईसी प्रणालीको विकास

पूँजी बजारमा आबद्ध हुने ग्राहकको व्यक्तिगत विवरण केन्द्रीकृत रूपमा राख्न सीडीएसले प्रणाली विकास गर्ने मुख्य जिम्मा लिनेछ । यस्तो प्रणालीको विकास सार्वजनिकनिजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरी लागू गर्नेछ । यसका मुख्य विशेषताहरूमा (क) ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रलगायत ग्राहकको परिचय खुल्ने प्रमाणपत्रसहितको विवरण प्रविष्टि हुने, (ख) ग्राहक आफै वा घरैबाट केवाईसी प्रतिनिधिको अधिकारप्राप्त व्यक्ति वा कर्मचारीमार्फत बायोमेट्रिक विवरण प्रविष्टि गर्न सकिने, (ग) ग्राहकको व्यक्तिगत परिचयसहितको विवरण प्रमाणित गरेपश्चात् प्रणालीबाट पृथक् केवाईसी आईडी प्राप्त हुने, (घ) ग्राहकको बायोमेट्रिक, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको आधारमा ग्राहकको दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणीकरण गर्ने, (ङ) हितग्राही खाता (शेयर कारोबार गर्न आवश्यक पर्ने) खोल्नका लागि केन्द्रीय निक्षेप प्रणालीमा आबद्ध गरिने, (च) ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न केन्द्रीकृत केवाईसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसँग आबद्ध गर्नसक्ने, (छ) केन्द्रीकृत केवाईसीमा अभिलेख भएका विवरण अन्य निकायले समेत उपयोग गर्नसक्ने, (ज) हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एकभन्दा बढी हितग्राही खातासमेत यकिन हुनेगरी पृथक् केवाईसी आईडी उपलब्ध हुने, (झ) केवाईसी प्रविष्टि, केवाईसी संशोधन, केवाईसी डाउनलोडको अडिट लग गर्नसक्ने र (ञ) हितग्राही खातालाई केवाईसी आईडीसँग आबद्ध गर्न सक्ने जस्ता विशेषता रहेका छन् ।

सीकेवाईसी दर्ता प्रक्रिया

सीकेवाईसीमा दर्ता हुनका लागि व्यक्ति (प्राकृतिक) ले (१) नागरिकताको प्रमाणपत्र र (२) नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र र संरक्षकको नागरिकताको प्रमाणपत्र समावेश गर्नुपर्छ । नाबालकको हकमा पेश गरिने प्रमाणपत्र विषयमा कतिपय व्यक्ति द्विविधामा परेर अस्पतालले दिने जन्म प्रमाणपत्र (बर्थ सर्टिफिकेट) लाई नै जन्मदर्ता प्रमाणपत्र भन्ने पनि बुझेको देखिन्छ । अस्पतालले दिने प्रमाणपत्र जीवित वा मृत जन्म भएको भन्ने मात्र हुँदा वास्तविक जन्मदर्ता प्रमाणपत्र स्थानीय निकाय (गाउँ वा नगरको वडा) बाट प्राप्त हुन्छ । जन्मदर्ता प्रमाणपत्र वालिग (१८ वर्ष) नभएसम्मका लागि नागरिकतासरहको कागजात हो । त्यस्तै, बाबुआमा स्वतः नाबालकको संरक्षक हुन्छन् र बाबुआमा नभएका नाबालकको हकमा जिल्ला प्रशासन कार्यालयले संरक्षकत्व ग्रहण गरेको सम्बन्धी छुट्टै प्रमाणपत्र जारी गरेको हुन्छ । धितोपत्र कारोबार वा सोसम्बन्धी सेवा लिनुअघि ग्राहक (व्यक्ति वा संस्था वा कम्पनी) ले हितग्राही (ग्राहक) पहिचान विवरण अनिवार्य भराई केवाईसी विवरण दर्ता गर्नुपर्नेछ । ग्राहकले ग्राहक पहिचान विवरण दर्ता गर्न कागजातहरूको सक्कलप्रति अनिवार्य र दर्ता शुल्कसहित दर्ता प्रतिनिधि वा निजले तोकेको अधिकारप्राप्त अधिकारी वा कर्मचारीसमक्ष पेश गर्नुपर्नेछ । यस्तो विवरण दर्ताका लागि आवेदन दिँदा विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ ।

दर्ता प्रतिनिधिले ग्राहकको विवरण रुजू गरी केवाईसी प्रणालीमा दर्ता गराउनेछ ग्राहकले अनलाइन (विद्युतीय माध्यम)मार्फत प्रविष्टि गरेका विवरणको दर्ता प्रतिनिधिले सक्कल कागजातहरूसँग विवरण तयार पार्ने (मेकर) र जाँच गर्ने (चेकर) को दुई तहमा रुजू गर्नेछ । विवरण प्रविष्टि पश्चात् दर्ता प्रतिनिधिले प्रणालीबाट प्राप्त अस्थायी परिचय नम्बरसम्बद्ध ग्राहकलाई उपलब्ध गराउनेछ । दर्ता प्रतिनिधिले केवाईसी विवरण प्रमाणित भएपश्चात् ग्राहकलाई स्थायी केवाईसी आईडीउपलब्ध गराउनेछ । यसरी प्राप्त केवाइसी आईडीग्राहकको स्वीकृतिप्राप्त गरी धितोपत्र बजारका अन्य संस्था वा कम्पनीले समेत प्रयोग गर्न सक्नेछन् ।

उपयोग र उपयोगको सीमा

केन्द्रीकृत केवाईसी प्रणालीमा अभिलेख भएका केवाईसी विवरण धितोपत्र बजारसँग सम्बद्ध अन्य संस्था वा कम्पनीहरूले हितग्राही खाता खोल्ने, धितोपत्र बजारमा कारोबार गर्न र बोर्ड वा अन्य नियामक निकायले अनुमति वा इजाजतपत्र दिएका कार्यका लागि उपयोग गर्न सक्नेछ । केवाईसी दर्ता प्रतिनिधिले ग्राहकसँग सम्बद्ध विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा नेपाल सरकार, अदालत, बोर्ड वा कानूनअनुसार अख्तियारप्राप्त अधिकारीबाट माग भएको अवस्थामा बाहेक गोप्य राख्नुपर्ने र मागेका बखत सीडीएस वा केवाईसी दर्ता प्रतिनिधिले प्रणालीमा प्रविष्टि भएका ग्राहकको विवरण, तथ्याङ्क वा जानकारी दिनुपर्नेछ । सीडीएसले आप्mनो प्रणालीअन्तर्गतका तथ्यांक सुरक्षा गर्न र भण्डारणका लागि आवश्यक व्यवस्था गर्नेछ ।

केआरएको मान्यता

सामान्यतया सीडीएस वा केन्द्रीय निक्षेपकलाई शेयर अभौतिकरूपमा भण्डारण गर्ने मात्र संस्थाका रूपमा बुझ्ने गरिए पनि यो बहुउपयोगी प्रकृतिको संस्था हो । यस्ता संस्था प्रायः सबै देशमा स्थापित भइसकेका छन् । भारतमा यस्तै प्रकृतिको दुईओटा संस्था छन् । धितोपत्रको केन्द्रीय निक्षेपण सेवा नियमावली, २०६७ को नियम २(ड) मा उपकरणको परिभाषा गर्दै विद्युतीय माध्यमबाट राख्न सकिने गोदाम रसिद, जीवन बीमालेखलगायत उपकरण वा कागजातसमेतलाई जनाउनेछ भनेको छ । परिभाषामा जीवन बीमालेख, गोदाम रसिदलगायत कागजातसमेतलाई समेटे पनि अहिलेसम्म शेयर, म्युचुअल फन्डका एकाइ र ऋणपत्र मात्र भण्डारण गरिएको छ । यसलाई नेपाल सरकारबाट केवाईसी रजिस्ट्रेशन अथोरिटी (केआरए) को मान्यता दिलाएर साँच्चीकै केन्द्रीकृत निकाय बनाउन बोर्डले पहल गर्नुपर्छ । यहाँ भण्डारण गरिएका केवाईसीलाई मुख्यतः बैंक, बीमा, दूरसञ्चारलगायत अन्य संस्थाले पनि अपनत्व लिएर उपयोग गरेमा यसको उपादेयता अझ बढ्नेछ ।

१६ भदौ २०७७, आर्थिक अभियान 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...