Showing posts with label अक्सन मार्केट. Show all posts
Showing posts with label अक्सन मार्केट. Show all posts

Friday, May 1, 2020

अक्सन मार्केट : कसरी हुन्छ कारोबार ?


शेयरबजारमा शर्टसेल, क्लोज आउट र अक्सन मार्केट चर्चाको विषय बनेका छन । सामान्य बिक्री र शर्टसेल दुबै क्लोज आउट समस्या सर्जक हुन् भने अक्सन मार्केट यसको समाधान हो । सामान्य बिक्रीमा मूलतः भूलवश र शर्टसेलमा जानाजान समस्या सिर्जना हुन्छ । नेपालमा शर्टसेल सम्बन्धि कानुनी प्रवन्धन नभए पनि नियमककै अप्रत्यक्ष ‘रेखदेख’ मा मौलाएको छ । नेपालमा अक्सन मार्केटसम्बन्धि कानुनी व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा आएको छैन । अक्सन मार्केट नहुँदा क्लोज आउट व्यवस्थित हुन् सकेको छैन । कानुनी व्यवस्था भएर पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अक्सन मार्केट संचालन नगरेको कारण क्लोज आउट पर्दा (पार्दा) राफसाफ मिति नै सारिंदा पनि सर्वोच्च नियमक नेपाल धितोपत्र बोर्डले नदेखे झैँ गरेर शेयरबजारमा वित्तीय अपराधलाई प्रवर्द्धन गरिरहेको जस्तो देखिएको छ ।

बिक्रीसम्बन्धि दुई दृष्टान्त

आफूसँग कुनै कम्पनीको जति संख्यामा शेयर छ, त्यति वा सोभन्दा कम बिक्री गरिनु (गर्नु) सामान्य र प्रचलित विधि हो । बिक्री आदेश प्रविष्ट गर्दा कहिलेकाहीँ भूलवश गलत अंक प्रविष्ट हुने सम्भावनालाई नकार्न सकिन्न । १ सय कित्ता प्रविष्ट गर्दा एउटा शून्य (०) अंक बढी भएर १ हजार कित्ता हुनसक्छ । त्यस्तै ३ सय ३७ कित्ता प्रविष्ट गर्दा ३ सय ७३ पनि हुनसक्छ । यस्तो थाहा पाउनासाथ कार्यान्वयन (बिक्री) हुनुपूर्व नै रद्द गर्न सकिन्छ । प्रविष्ट आदेश रद्द गर्न नभ्याउँदै बिक्री भएमा कारोबार रद्द गर्न सकिन्न र क्रेतालाई जसरी पनि शेयर दिनुपर्छ ।

यसबाहेक शर्टसेल पनि शेयर खरिदबिक्रीको एउटा स्वरूप हो । आफूसँग हुँदै नभएको कम्पनीको शेयर उच्च मूल्यमा बेचेर न्यून मूल्यमा किन्ने विधिलाई शर्टसेल भनिन्छ । तर, यस्तो बिक्री र खरिद एकै दिन सम्पन्न हुनुपर्छ । दृष्टान्तको लागि आइतबार मध्यान्ह १२ बजे आफूसँग नभएको अमुक कम्पनीको १ हजार कित्ता शेयर ५ सय रुपैयाँका दरले बिक्री गरिन्छ । अब सोही कम्पनीको त्यति नै कित्ता शेयर बजार बन्द हुनेबेलासम्ममा ५ सय रुपैयाँभन्दा कम मूल्यमा किन्ने प्रयास गरिन्छ । कथम ५ सय कित्ता शेयर ४ सय ९५ रुपैयाँमा र बाँकी वा पुरै कित्ता (१ हजार) ५ सय १० रुपैयाँमा भए पनि किन्नैपर्ने बाध्यता हुन्छ । नभएको शेयर बेचेर सोही दिन फेरी किन्न सकिएन भने स्वत: क्लोज आउटमा पर्छ  कथम घटी मूल्यमा किन्न पाइएन भने बेचेकोभन्दा बढी मूल्यमा भए पनि किन्नैपर्ने बाध्यता यस्तो बिक्रीमा हुन्छ । बेचेको भन्दा कम मूल्य वा बढी मूल्यमा किन्न खोज्दा पनि नपाइन सक्ने सम्भावनालाई टार्न सकिन्न ।

बिक्रेताले सामान्य बिक्रीमा गलत अंक प्रविष्ट गरेर वा शर्टसेल गर्दा सिर्जना हुने यस्ता समस्यामा क्रेताको कुनै गल्ति नहुने हुँदा उसलाई जसरी पनि शेयर वा जरिवाना दिनुपर्ने हुन्छ । यस्तै कारणबाट सिर्जित समस्या समाधानका लागि अक्सन मार्केटको अवधारणा आएको हो ।

अक्सन मार्केटमा कारोबार

माथिको अनुच्छेदमा वर्णित बिक्रीबाट सिर्जना हुने समस्याको अनौपचारिक जानकारी पहिलो दिनदेखि नै हुने भए पनि औपचारिक जानकारी चौथो दिन (बुधबार) मात्र हुन्छ । आइतबार बेचिएको शेयर क्रेताको खातामा पठाउने कार्य बुधबार हुन्छ । सोमबार र मंगलबार (दोस्रो र तेस्रो) दिन पूँजीगत लाभकर हिसाब गर्ने लगायतका अन्य कार्य सम्पन्न गरिन्छ । सबै प्रक्रिया पूरा गरेर क्रेताको खातामा शेयर पठाउने बेलामा मात्र सिडीएसले शेयर प्राप्त नभएको अर्थात् क्लोज आउटमा परेको औपचारिक जानकारी प्राप्त गर्छ । यसपछि सिडीएसले नेप्से र कारोबार सम्वद्ध दलाललाई जानकारी दिन्छ । यसरी जानकारी गराएपछि नेप्सेले नियमित राफसाफ (आइबारको बुधबार, यसैक्रमले सोमबारको बिहिवार र मंगलबारको शुक्रबार) पश्चातको भोलिपल्ट (बिहीबार) को नियमति कारोबार सकिएको आधा घण्टापछि आधा घन्टाको लागि अक्सन मार्केट खुल्ला गर्छ । आइतवारका जो जो बिक्रेता क्लोज आउटमा परेका छन् तिनका दलालले ग्राहकको तर्फबाट नपुग शेयर किन्न एकैपटक वा पटकपटक आदेश प्रविष्ट गर्छन । अक्सन मार्केटमा कारोबारको लागि मूल्य निर्धारण सोही दिनको अन्तिम कारोबार वा आइतवारपछि भएको पछिल्लो अन्तिम मूल्यलाई लिइन्छ र यस मूल्यमा १० प्रतिशत घट्न वा बढ्न पाइन्छ । मानौं आइतबार ५ सय रुपैयाँमा बेचेर क्लोज आउट परेको कम्पनीको बिहिवार वा आइतवारपछि भएको पछिल्लो अन्तिम कारोबारको अन्तिम मूल्य ५ सय २० रुपैयाँ भएमा सोही मूल्यमा १० प्रतिशतले हुने न्यूनतम मूल्य ४ सय ६८ रुपैयाँदेखि अधिकतम मूल्य ५ सय ७२ रुपैयाँसम्ममा किन्नुपर्ने हुन्छ । क्लोज आउटमा परेको कारण जसरी पनि शेयर दिनुपर्ने वा जरिवाना तिर्नुपर्ने हुँदा किन्नैपर्ने बाध्यता हुँदा सो दिनको बन्द मूल्यभन्दा कममा पाउने सम्भावना विरलै हुन्छ । क्लोज आउटमा परेको रकमको जरिवाना तिर्नुभन्दा यस्तो मार्केटमा ५ सय ७२ रुपयाँमा भए पनि किन्नु फाइदा हुन्छ ।

अक्सन मार्केटमा कथम आफूले बेचेको भन्दा सस्तो मूल्यमा अर्थात माथिकै दृष्टान्त अनुसार ४ सय ९० रुपैयाँमा शेयर पाइएमा अन्तर देखिएको १० रुपैयाँ फाइदाको रुपमा प्राप्त हुन्न । उक्त रकम राफसाफ कोषमा जम्मा हुन्छ । अक्सन मार्केट अन्य कारोबार दिन सरह आइतवारदेखि बिहिवारसम्म मात्र खुल्छ । सार्वजनिक बिदा परेमा अर्थात् आइतबार कारोबार भएर मंगलबार बिदा परेमा राफसाफ दिन पनि बुधबारबाट बिहिवारको लागि सर्छ । विहिबार नियमित राफसाफ दिन भएमा अक्सन मार्केट शुक्रबार खुल्दैन र एकैपटक आइतवार मात्र खुल्छ । सोही दिनको अन्तिम कारोबार (क्लोज आउट परेको कम्पनीको कारोबार भएमा) वा त्यो भन्दा अघि जुन दिन कारोबार भएको छ सोही दिनको अन्तिम मूल्यको आधारमा अक्सन कारोबार हुन्छ ।

शेयर नपाए जरिवाना

अक्सन मार्केटमा चाहिए जति शेयर प्राप्त नहुन पनि सक्छ । यस्तो अवस्थामा जति पाइन्छ त्यति नै लिनुपर्छ र सोको राफसाफ गर्नुपर्छ । अक्सन मार्केटमा भएको कारोबार राफसाफ भोलिपल्ट हुन्छ । यस्तो भएमा नपाएको जति शेयरको बिक्री मूल्यको २० प्रतिशत जरिवाना तिर्नुपर्छ । यसरी तिरिएको जरिवाना रकम क्रेताले प्राप्त गर्छ । माथिकै दृष्टान्त अनुसार मानौं १ सय कित्ता प्रविष्ट गर्दा भूलवश एउटा शून्य (०) अंक बढी भएर १ हजार कित्ता परेमा नपुग ९ सय कित्ता अक्सन मार्केटमा किन्न खोज्दा ५ सय कित्ता प्राप्त भयो र ४ सय कित्ता प्राप्त भएन भने सो कित्ता बेचिएको ५ सय रुपैयाँका दरले हुन आउने २ लाख रुपैयाँको २० प्रतिशत जरिवाना रकम ४० हजार रुपैयाँ क्रेतालाई बुझाउनुपर्छ । यसमा क्रेताबाट आकस्मिक लाभमा लाग्ने करवापत २५ प्रतिशतका दरले हुन् आउने रकम १० हजार रुपैयाँ कट्टा गरी बाँकी रहने ३० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

अन्तमा, क्रेताले आइतवार किनेको शेयर २ दिन ढिला (शुक्रबार) पाउनु बिना गल्तिको सजाय भएकोले क्रेतालाई शेयर मात्र दिएर पुग्दैन । क्रेतालाई बिक्रेताबाट क्लोज आउट परेको रकमको ५० प्रतिशत जरिवाना समेत तिराउनुपर्छ । त्यस्तै, क्लोज आउट परेको रकम बीचैमा गायव हुने गरेको भन्ने सुनिएको र यस्तो रकम क्रेताले पाउने भन्ने कानुनी व्यवस्था कतै नदेखिएकोले यो रकम प्राप्त हुने सुनिश्चितत वातावरण पनि मिलाउनुपर्ने देखिन्छ ।

१६ बैशाख २०७७, आर्थिक अभियान दैनिक
https://www.abhiyandaily.com/newscategory-detail/366274

Wednesday, April 22, 2020

अक्सन मार्केट : कानुनी प्रवन्धनका पक्षहरु


शेयरबजारमा दिनहुँ हजारौं सङ्ख्यामा कारोबार हुन्छ । कारोबार अवधीमा क-कसले कारोबार गरे भन्ने कुरा कारोबार गर्नेलाई बाहेक सामान्यतया अरुलाई विरलै थाहा हुन्छ । कारोबार अवधी समापनपछी भने कारोबार मध्यस्थताकर्ता (दलाल) लाई कारोबार कसले गर्यो भन्ने थाहा हुन्छ । कारोबार अर्थात् बेच्ने र किन्ने कार्य सम्पन्न भएको भोलिपल्टदेखि बिक्रीकर्ताले आफूले बेचेको शेयर संख्याको विवरण विद्युतीय माध्यम वा भौतिकरुपमा राफसाफ सदस्य अर्थात् क्लियरिंग मेम्बर (सीएम) को समेत कार्य गर्ने दलाललाई निर्देशन पूर्जी उपलब्ध गराउनुपर्छ । विद्युतीयरुपमा पठाईने निर्देशन पूर्जीलाई इलेक्ट्रोनिक डाइरेक्सन इन्सट्रक्सन स्लिप (ईडीआईएस) भनिन्छ । ईडीआईएस केन्द्रीय निक्षपक (सीडीएस) ले उपलब्ध गराएको ‘मेरो शेयर’ नामक सुविधाबाट प्रेषण गर्नसकिन्छ । यसरी प्रेषण गरिएको विवरण सीएमको पूल एकाउन्ट (खाता) मा पुग्छ र यसपछि राफसाफको कार्य शुरु हुन्छ ।

सामान्य राफसाफ

राफसाफ भन्नाले एक धारकले बिक्री गरेको शेयर अर्को धारक (क्रेता) को नाममा कायम वा नामसारी गर्नु हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने हरेक दिनको कारोबार राफसाफ गर्ने जिम्मा धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली २०६९ ले केन्द्रीय निक्षेपक (सीडीएस) लाई दिएको छ । नेप्सेसीएमको समेत कार्य गर्ने कारोबार सदस्य (दलाल)सीडीएस,  ग्राहकसमाशोधन (क्लियरिङ) बैंक यसका मूल साझेदार हुन् । विनियमावलीको विनियम २(ङ) मा ‘राफसाफ भन्नाले खरीदकर्ता ग्राहकले खरीद गरेको धितोपत्र आफ्नो नाममा नामसारी गर्न कम्पनीमा पठाउने र बजारबाट हुने लाभ प्राप्त गर्न खाली हस्तान्तरण (ब्ल्यान्क ट्रान्सफर) मा दर्ता गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले खरीद-बिक्री भएको धितोपत्रको नामसारी स्वचालित कारोबार प्रणाली मार्फत अभौतिकीकरण गरी वा नगरी हुने राफसाफ कार्य समेतलाई जनाउँछ’ भनेको छ । विनियम २(त) मा ‘धितोपत्रको पूल एकाउन्ट भन्नाले सिएमले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि निक्षेप सदस्यकोमा खोलेको विद्युतीय खाता (डिम्याट एकाउन्ट) सम्झनुपर्छ’ भनेको छ ।

हरेक दिन कारोबार समापन भएपछि नेप्सेले कारोबारको सम्पूर्ण विवरण सीडीएसलाई उपलब्ध गराउँछ । हरेक सीएमले राफसाफ तथा फर्छ्यौट दुबै कार्यका लागि सीडीएसमा पुल खाता (पुल एकाउन्ट) खोल्नुपर्छ । बिक्रेता दलालले बिक्री गरेको धितोपत्र र क्रेता दलालले सो बराबरको रकम (करदस्तुरशुल्क समेत) कारोबार दिन बाहेक ३ कार्य (टी+३) दिनभित्र आफ्नो पुल खाता र बैंकमा रहेको राफसाफ खातामा जम्मा गर्नुपर्छ । क्रेता र बिक्रेता दलालले तोकिएका सम्पूर्ण कार्य सम्पन्न गरेपछि सीडीएसले क्रेता दलालको पुल खातामा धितोपत्र जम्मा गरी दिन्छ । बिक्रेताको हकमा प्राप्त गर्नुपर्ने रकम राफसाफ बैंकमा रहेको पुल खाताबाट रकमान्तर गरी राफसाफ सदस्य (बिक्रेता दलाल) को खातामा जम्मा गराउन समाशोधन बैंकलाई निर्देशन दिन्छ । यसरी सामान्य हिसाबले धितोपत्र बिक्रीपछिको राफसाफ सम्पन्न हुन्छ । उल्लेखित तवरबाट राफसाफ हुन् नसकेमा सीडीएसले त्यस्ता कारोबारलाई क्लोज आउट गर्छ । क्लोज आउटमा परेमा यसको राफसाफ प्रकिया अलि छुट्टै प्रकारको हुन्छ ।

क्लोज आउट राफसाफ

हरेक दिन गरिने वा गरिएका कारोबार सामान्य (त्रुटिरहित) रुपमा सम्पन्न हुन्छन् भन्ने सुनिश्चित हुन्न । कहिलेकाहीँ कारोबार गर्दा बिक्रेताको पक्षबाट त्रुटी वा भूल हुनसक्छ । बिक्री आदेश प्रविष्ट गर्दा अंकमा गडबड हुनसक्ने सम्भावनालाई टार्न सकिन्न । ४७ कित्ता प्रविष्ट गर्दा ७४ वा १ सय कित्ता प्रविष्ट गर्दा १ हजार कित्ता प्रविष्ट हुनसक्छ । पछिल्लोसमयमा आफूसँग नभएको शेयर अल्पबिक्री (शर्ट सेल) समेत हुने गरेको छ । कानुनले नचिन्ने यस्ता अवान्छित गतिविधि बढेको हुँदा जानीजानी आदेश प्रविष्ट हुने गरेकोले राफसाफमा जटिलता आएको छ । यस्तो अवस्थामा सम्वद्ध निकायको मिलेमतोमा राफसाफ दिन सार्ने कार्य भईरहेको समाचार बाहिरिएको छ । भूलवश वा जनानाजान हुने प्रविष्टिलाई सामान्य त्रुटी भनेर उन्मुक्ति दिइनुहुन्न । कानुन सबैले जानेको हुन्छ भनेर कानुनले अनुमान गर्ने हुँदा ‘कानुनको अज्ञानता अक्षम्य हुन्छ’ भन्ने विधिशास्त्रीय मान्यता (सिद्धान्त) छ l शेयरबजारको पनि आदेश प्रविष्ट र राफसाफ सम्बन्धि आफ्नै कानुन छ । सामान्यतया अपराध हुनको लागि मनसाय र कार्य प्रधान तत्त्व हुन् तर, पनि कहिलेकाहीँ मनसाय विना पनि कार्य (अपराध) हुनसक्छ । कानुनले वर्जित गरेको मनसायरहित कार्य (अपराध) को घटना घट्न जाँदा पनि कानुनत: दण्डित हुनुपर्छ । यस्ता मनसायरहित कार्यबाट सिर्जित कसुर (अपराध) लाई भूल वा अन्जानवश भएको भनेर उन्मुक्ति दिन सकिन्न र न्यूनतम दण्ड सजाय गरिन्छ । यस्तै दण्डसजाय दिनको लागि शेयरबजारमा अर्को छुट्टै प्रकृतिको बजार संचालन गरिन्छ । भूलवश आदेश प्रविष्ट भएर दिन नसकिएको शेयर यस्तै बजारबाट किनेर दिनुपर्ने हुन्छ । यस्तो बजारमा शेयर किनेर दिनुपर्दा बिक्रेतालाई घाटा वा बराबर दुबै हुनसक्छ ।  

अक्सन मार्केटको अवधारणा

कथंकदाचित कुनै ग्राहकले भूलवश गलत अंक प्रविष्ट गरी राफसाफको लागि धितोपत्र उपलब्ध गराउन नसकेको अवस्थामा हुने परिणामलाई सम्बोधन गर्नको लागि नेप्सेले अक्सन मार्केट संचालन गर्नसक्ने व्यवस्था धितोपत्र कारोबार संचालन विनियमावली २०७५ मा छ । यस्तो बजार आवश्यकता अनुसार जतिबेला पनि संचालन हुन सके पनि नेपालमा नियमित कारोबार समय सकिएको आधा घण्टापछि आधा घण्टाको लागि संचालन हुनसक्ने व्यवस्था छ । विनियमावलीको विभिन्न विनियममा (१) नियमित राफसाफ समयभित्र बिक्रीकर्ताले आवश्यक संख्यामा धितोपत्र उपलब्ध गराउन नसकेमा सिडिएसले सो सम्बन्धी जानकारी नेप्से र कारोबार सम्बद्ध कारोबार सदस्य (दलाल) लाई तत्काल उपलब्ध गराउनुपर्ने, (२) यस्तो जानकारी गराएपछि नियमित राफसाफ समय समाप्त भएपश्चात कार्यालय खुलेको दिन अक्सन मार्केट सञ्चालन हुने, (३) अक्सन मार्केटमा भएका कारोवारको राफसाफ लगत्तै भोलिपल्ट गर्नुपर्ने, (४) आवश्यक मात्रामा धितोपत्र उपलब्ध नभएमा उपलब्ध भएसम्मको धितोपत्रको राफसाफ गर्नुपर्ने, (५) नपुग धितोपत्रको सम्बन्धमा क्लोज आउट भएको कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी सिडिएसमा बुझाउनुपर्ने, (५) धितोपत्रको शुरु कारोवार हुँदा कायम भएको मूल्यभन्दा कम मूल्यमा अक्सन मार्केटमा उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम कारोवार राफसाफ कोषमा जम्मा गर्नुपर्ने, (६) धितोपत्रको शुरु कारोवार हुँदा कायम भएको मूल्यभन्दा बढी मूल्यमा उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम सम्बन्धित ग्राहक (बिक्रेता) बाट असूल गर्ने, (७) मूल्य परिवर्तन सीमा अन्तिम कारोबार दिन नियमित कारोबारको अन्तिम मूल्यको अधिकतम १० प्रतिशत घटी वा बढी हुने, (८) अक्सन मार्केटबाट पटकपटक वा एकमुष्ट जति उपलब्ध हुन्छ खरिद गर्नुपर्ने र यस्तो कारोबार मूल्यलाई सो दिनको अन्तिम मूल्य तथा बजार परिसूचक गणनामा समावेश नहुने जस्ता व्यवस्था गरिएको छ ।


अन्तमा, शेयरबजारमा हुने अवान्छित गतिविधि नियन्त्रण गर्न अविलम्ब अक्सन मार्केट संचालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । त्यस्तै, आवश्यकता अनुसार रोक्न र खोल्न मिल्ने गरी कम्पनीका योग्यता तोकेर अल्पबिक्री (शर्ट सेल) सम्बन्धि कानुन बनाई लागु गर्नुपर्छ । विना कसुर (अपराध) क्रेताले  बेलैमा शेयर नपाएर सजाय भोग्नुपर्ने हुँदा निजलाई बिक्रेताबाट कारोबार रकमको ५० प्रतिशत रकम क्षतिपूर्ति दिलाउनुपर्छ । यसले नभएको शेयर बिक्री गर्ने प्रवृतिमा स्वनियन्त्रण हुनसक्छ । यसका अतिरिक्त दलाल, सीडीएस, नेप्से र सर्वसाधारणको पनि लगानी रहने गरी छुट्टै राफसाफ (क्लियरिंग) कम्पनी खडा गर्नेतर्फ पनि ध्यान जानु जरुरी छ । 


 ९ वैशाख २०७७, आर्थिक अभियान दैनिक 




कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...