नागरिकले राज्यलाई करको
नाममा दस्तुर बुझाउने प्रक्रिया प्रारम्भिक कालदेखि प्रचलनमा थियो | राज्यले कर लिनुको मुख्य प्रयोजन सुरक्षा हो | समयक्रममा पछी सुरक्षासँगै विकासमा समेत राज्य लाग्नुपर्ने भएपछी विभिन्न
प्रकारका कर असुल्न थालिएको हो | कर नागरिकले दिने अनिवार्य
योगदान हो | प्रत्यक्ष र अप्रत्यक्ष असुल हुने करका बिभिन्न
स्वरूप र नाम हुन्छन | राज्यले लिने बिभिन्न कर मध्ये ‘मूल्य अभिवृद्धि कर (मुअक)’ पनि एक हो | अन्य देशमा यसलाई ‘वस्तु र सेवा कर (गूड्स एण्ड
सर्भिस ट्याक्स)’ पनि भनिन्छ | मुअक
वस्तु वा सेवा लिने अन्तिम उपभोक्ताले तिर्नुपर्ने सैद्धान्तिक मान्यता छ |
यस्ता कर सबै क्षेत्रमा लागू गरिन्न | विधायिकी
कानुनले कर नलाग्ने भनिएका सेवा र क्षेत्रमा यो कर आकर्षित हुन्न |
सम्बन्धित कानून
बिक्री, होटेल, ठेक्का र मनोरञ्जन करलाई
विस्थापन गरि मूल्य अभिवृद्धि कर ऐन २०५२ मा बने पनि २०५४ साल मंगसिरदेखि लागू
गरिएको ऐनमा मुअकको परिभाषा गरिएको छैन | ऐनको प्रस्तावनामा ‘....राजश्व परिचालन बढाउन वस्तु वा सेवाको बिक्री, वितरण, हस्तान्तरण......’भन्ने वाक्यांश रहेको छ | ऐनको दफा ५(१)
मा कर लाग्ने विषय र अनुसूची १ मा कर नलाग्ने क्षेत्रहरुको विवरण दिइएको छ |
अनुसूचीमा ‘वित्तीय सेवा’ लाइ मुअक नलाग्ने सूचीमा राखेको छ | ‘वित्तीय सेवा’
कुन कुन हुन् भन्ने विषयमा विशेष कानुन छैन र छरपस्टरुपमा छ |
‘बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन’ लाई
नै ‘वित्तीय सेवा’ सम्बन्धि कानुन हो
भन्ने एकोहोरो बुझाई रहेको छ | यथार्थमा यो ‘वित्तीय सेवा’ सम्बन्धि कानुन नभएर ‘बैंकिंग कानुन’ हो | बैंक र
वित्तीय सेवा फरक-फरक हुन् | सबै बैंक वित्तीय संस्था हुन तर
सबै वित्तीय संस्था बैंक हैनन् |
वित्तीय सेवाका क्षेत्रहरु
‘वित्तीय सेवा’ भनेको बैंक मात्र हुन भनेर अर्थ संकुचन गर्न
सकिन्न | सामान्य बुझाईमा बैंक मात्र वित्तीय सेवा प्रदायक जस्तो देखिए पनि
मुद्रा उपकरण कारोबारमा संलग्न अन्य धेरै संस्था वित्तीय सेवा भित्र समावेश हुन्छन | वित्तीय सेवा भित्र आर्थिक विषयवस्तु जोडिएर आउने सबै समावेश हुन्छ | बैंक, मर्चेन्ट बैंक, बिमा, शेयर दलाल, लगानी कम्पनी, विप्रेषण, मुद्रा विनिमय,
क्रेडिट युनियन, क्रेडिट कार्ड कम्पनी, लेखा व्यवसायी कम्पनी लगायतका सेवा पर्छन | सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २(ब)(८)(घ) मा ‘वित्तीय संस्था’ भन्नाले ‘व्यावसायिकरूपमा आफ्नो ग्राहकको लागि वा निजको तर्फबाट ‘हस्तान्तरणयोग्य धितोपत्र कारोबार गर्ने व्यक्ति’ समेत समेटेको छ |
त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय
कारोबार ऐन २०५४ को दफा २(ख) मा ‘अन्तर्राष्ट्रिय वित्तीय संस्था’ भन्नाले दफा ४ बमोजिमको वित्तीय संस्था सम्झनुपर्छ भनेको छ | दफा ४(१)(त) मा धितोपत्र दलाललाई
पनि अनुमति पाउन सक्ने संस्थाको रुपमा सूचीकृत गरिएको छ | यसबाट पनि धितोपत्र
दलाल व्यवसाय ‘वित्तीय सेवा’ अन्तर्गत पर्नेमा
कुनै शंका रहँदैन |
दलाल कमिसन
दलालले बढी कमिसन लिए
बैंकले अहिलेको भन्दा आधा शुल्कमा देशभरबाट कारोबार गराईदिन्छन भन्ने भ्रमात्मक
प्रचार गरियो | तर यथार्थ भने कोशौं टाढा छ |
मर्चेन्ट बैंकहरु बैंककै सहायक कम्पनी हुन तैपनि यिनले माउ कम्पनीको
शाखाबाट एउटा पनि कार्य गरेका/गराएका छैनन् | दलाल कमिसन
सरकारको सहमतिमा धितोपत्र वोर्डले बनाउने नियम मार्फत निर्धारण हुन्छ | धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र
व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को नियम ३२ अनुसार अनुसूची १४ मा कमिसन
सम्बन्धि व्यवस्था भएकोले कमिसन आफैँले तोक्ने विषय हैन | दलालले
चाहेर पनि कमिसन छूट दिनसक्दैन | यदि यस्तो छूट दिएमा कर
छलीको कारवाही हुनसक्छ |
अन्य देशको अभ्यास
शेय दलाल सेवा विशुद्ध
वित्तीय सेवा भएकोले यसमा मुअक आकर्षित हुन्न भन्ने तथ्य अब स्थापित भईसकेको छ | शुरुमा केहि देशले यस्तो कर लगाउने प्रयास गरेको अभ्यास भएपनि
पछी यसलाई हटाइएको उदाहरण प्रशस्त भेटिन्छ | यद्यपि केहि
देशमा भने कायम पनि छ तर यस्ता देश नगन्य मात्रामा रहेकाछन् | बेलायतमा लगाउने प्रयास गरेपनि पछी यसलाई हटाइयो | दलालले
आदेश मात्र प्रविष्ट गरेमा लाग्दैन तर ग्राहकलाई वित्तीय परामर्श सेवा दिएमा भने
लाग्छ | प्रत्यक्ष हेर्दा शेयर कारोबारमा मुअक लगाएको देखिए
पनि यसमा अन्तरनिहित परामर्श सेवा पनि थपिएको छ | अष्ट्रेलिया, क्यानाडा र सिंगापुर लगायतका देशहरुमा दलाल कमिसनमा भ्याट
लाग्ने व्यवस्था छैन । नाइजेरियामा लगाएर पनि हटाइयो |
मेकाले र गलत प्रचार
सन् १८३५ मा वेलायती संसदमा
लर्ड मेकालेले सम्बोधन गर्दै ‘भारतमा उच्च
नैतिकवान व्यक्ति मात्र रहेको र यसो हुनुको कारण भारतको प्राचीन शिक्षा प्रणाली र
संस्कार भएकोले यसलाई तोडेर विदेशी र अंग्रेजी मात्र उत्कृष्ट हो भन्ने नपारेसम्म
उनीहरुको विश्वास तोड्न सकिन्न’ भनेका थिए | यसपछि पूर्वीय दर्शनका वेद, उपनिषद, दर्शनशास्त्र र स्मृतिहरु रातारात बेलायत पुर्याएर गलत अनुवाद गर्दै
भारतभर छरियो र विस्तारै पद्धति र प्रवृति अनि संस्कारबाट बिचलन गराइयो | मेकालेको यहि रणनीतिले सम्भवत भारत बेलायती उपनिवेशमा पुग्यो | नेपालको शेयरबजारमा पनि ठ्याक्कै यहि प्रवृति देखिएको छ |
शेयरबजारको अभिन्न अंगको
रुपमा रहेका दलाल र स्टकलाई लगानीकर्ताबाट विचलन गराउन दलाल र स्टकले टेरेनन भन्दै
धितोपत्र वोर्डले प्रचारमा ल्यायो | नटेर्नेलाइ टेराउने विधि वोर्डसँगै भए पनि प्रचारमा ल्याएर गलत सन्देश
प्रवाह गराइयो | विकल्पको रुपमा दलाल अनुमति बैंकलाई दिने र
अर्को स्टक एक्सचेन्ज ल्याउने तदर्थ निर्णय गरियो | यस्ता
तदर्थ निर्णयले के कस्तो गम्भीर असर पर्छ भन्ने पूर्वानुमान गर्न सकिने भए पनि
गरिएन | दलाल अनुमति बैंकलाई दिने भनेर ‘बाँदरलाइ लिस्नो’ हाले झैँ वोर्डले बोलिदिए पछी बैंक
पनि अनेक तरकिव लगाउन थाले | बैंक पनि आफ्नो मुख्य व्यवसाय
गर्न छाडेर दलाल व्यवसाय गर्छु भन्दै दश हात माथि उफ्रेर आए | बैंकले दलाल अनुमति मागे पनि दिन मिल्दैन भन्नुपर्ने थियो तर उल्टो
भइदियो |
......रुम्जाटार
अहिले दलाल र लगानीकर्ताको
सम्बन्ध अत्यन्त चिसो बनेको/बनाइएको छ | यहाँ मेकालेले भने झैँ विश्वास तोड्ने कार्य सफल भएको छ | सतहीरुपमा हेर्दा दलाल र लगानीकर्ताबीचको सम्बन्ध बिग्रिएको देखिए पनि
यथार्थमा वोर्ड र लगानीकर्ताको सम्बन्ध बिग्रिएको हो | दलाल
र स्टकमाथि अविश्वास गर्नेले वोर्डलाई पनि अविश्वास गर्नसक्छन | ८० प्रतिशत बैंकको शेयर रहेको बजारमा त्यही बैंकको सहायक कम्पनीलाई दलाल
अनुमति दिँदा बजारमा कसरी सुशासन, पारदर्शिता र स्वार्थरहित
कायम राख्न सकिएला वोर्डले नै सबैभन्दा बढी सोच्नुपर्ने हो | अहिलेको विवाद घुमीफिरी रुम्जाटार भने झैं बैंकलाई दलाल अनुमति दिने र
अर्को स्टक ल्याउनेमा केन्द्रित छ | अरु सबै विषय तपसिलका
हुन् | वोर्ड आफैले शेयरबजार वित्तीय क्षेत्र हो भन्ने
विषयमा सहमति जनाइ तालुकदारलाइ पत्राचार समेत गरेको छ | मेकाले
प्रवृति चिनौं र शेयरबजारलाई पूर्ववत सहज र सुदृढ बनाउन लागौं |
No comments:
Post a Comment