Monday, August 14, 2017

धितोपत्र वोर्डको असफलता


पूँजीबजारमा ठूलो संकट नआएसम्म सुधारको प्रक्रियाले गति लिन नसक्ने रहेछ भन्ने तथ्य भारत, पाकिस्तान र बंगलादेशलाई हेरे पुग्छ । यी देशले बिभिन्न कालखण्डमा ठूला ठूला संकट भोगेपछि मात्र सुधारको बाटो खोजेका हुन् । नेपालको बजारमा नियमक र सूचिकृत कम्पनीले देखाएको छाडा व्यवहार हेर्दा कुनै संकट पर्खिरहे झैँ लाग्छ । नियमकले कार्यक्षेत्र र कानून नाघ्न थालेपछि कम्पनी नियमनको दायरामा आउने कुरै हुँदैन । ? पूँजीबजार नियमक नेपाल धितोपत्र वोर्ड भविष्यको पूँजीबजार कस्तो हुने यसका लागि के कस्ता नीतिगत सुधार र विकास गर्दै लैजाने भन्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिविहीन अवस्थामा छ । बजारमा लगानीकर्ताको चाप बढ्दो छ तर लगानी सुरक्षा कसरी हुन्छ त्यसबारेमा वोर्डले कुनै नीति बनाएको छैन । बेला-बेलामा नआत्तिन र होशियारीसाथ राम्रा कम्पनी छानेर लगानी गर्न विज्ञप्ति निकाल्ने बाहेक अन्य नीतिगत सुधारको बाटोमा गएको देखिन्न । विज्ञप्तिमा पूर्ण अभौतिक कारोबार गराएको, बजार गहिराइ हेर्न दिएको र दलाल कमिसन घटाएको विषयलाई ट्रेडमार्कजस्तो बारम्बार प्रचार गरिएको हुन्छ । २०७३ श्रावणदेखि हालसम्म वोर्डले कानुन विपरित गएर धेरै कार्य गर्यो र लगानीकर्ता हित विपरित कार्य गर्ने कम्पनीलाई उन्मुक्ति दियो । यी गतिविधि हेर्दा वोर्ड दिशाहिन र नेतृत्व असफल भएको प्रष्ट देखिन्छ ।

कालोधन छानविन

पूँजीबजार नियमकहरुको अन्तर्राष्ट्रिय संस्थाले लगानीकर्ता हितलाई मुख्य उद्देश्य बनाएको छ । धितोपत्र सम्बन्धि ऐनको प्रस्तावनामा समेत लगानीकर्ताको हित संरक्षण गर्न भन्ने वाक्यांश छ । वोर्डले ऐनको मूल भावना र तोकिएको काम, कर्तव्य र अधिकारक्षेत्र बाहिर गई कालोधन छानविनगर्ने भन्दै समिति गठन तर्फ लाग्नु विचलन थियो । आफ्नो कार्यक्षेत्र भित्रबाट मुद्रा निर्मलीकरण हुनसक्ने कार्य रोक्न सम्वद्ध निकायलाई सहयोग गर्नुपर्छ तर समिति नै बनाएको घोषणा गर्नुपर्ने आवश्यकता थिएन । केन्द्रीय बैंकले वित्तीय जानकारी इकाईखडा गरे जस्तै इकाई खडा गरेर प्रथम वा द्वितीय श्रेणीको अधिकृतलाई सम्पर्क व्यक्ति तोकेर कस्ता कस्ता लगानी वा लगानीकर्ताको कस्तो व्यवहार शंकास्पद हुनसक्छ भनेर दलाल कम्पनीलाई आन्तरिकरुपमा परिपत्र गरेर त्यस्ता सूचना गोप्यरुपमा प्राप्त गरि सम्बन्धित संस्थालाई दिनसकिन्थ्यो । तर आफैंले समिति बनाएर छानविन गर्ने सार्वजनिक घोषणा वुद्धिमत्तापूर्ण थिएन । परिणामस्वरूप समिति खारेज गरिएको अर्को सार्वजनिक घोषणा गर्नुपर्यो । उद्देश्य राम्रो र प्रष्ट हुँदाहुँदै पनि प्रस्तुत हुने ढंग नपुग्दा त्यसको असर खुद्रा लगानीकर्तालाई पर्यो र यीनले करोडौं गुमाए । वोर्डको घोषणा चोरलाई चौतारो साधुलाई सुलीहुनपुग्यो ।  

बैंकलाई दलाल अनुमति

दलाल अनुमति बैंकलाई दिने भनेर वोर्ड नेतृत्वले घोषणा गर्यो तर दलाल अनुमति दिनुपर्ने वस्तुगत आधार र कारण केहि खुलाएन । दलाल अयोग्य भएर सेवा प्रवाह रोकिएको थिएन । दलालको दुष्कृति पनि भेटिएको थिएन भेटिई हाले पनि त्यसको निराकरण गर्ने संयन्त्र वोर्डसँगै थियो । कानूनत बैंकलाई दलाल अनुमति दिन मिल्दैन भन्ने जानकारी वोर्ड र वोर्डका सहसचिवस्तरका कानून अधिकृत र वोर्डका कानुनी सल्लाहकारलाई नभएको देखियो । दलाल कमिसन घटाएको विरोधमा बहाना बनाएर कारोबार रोक्ने दलाललाई कारवाही गर्ने आँट वोर्डले गर्न सकेन । वोर्ड नेतृत्व फेरी पनि असफल हुनुमा कानुन विपरित जानु नै थियो ।     

रिलायवल बैंकको हकप्रद

रिलायबल डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने सम्बन्धि प्रस्ताव पारित गरेर पनि स्वीकृतिको लागि तोकिएको अवधिभित्र आवेदन गर्न गएन र अन्तमा हकप्रद सम्बन्धि प्रस्ताव रद्द गर्दै अर्को बैंकसँग विलयमा जाने घोषणा गर्यो । रिलायबलले शेयरधनीलाई वेवास्ता गर्दै प्रस्ताव रद्द गर्दा समेत वोर्डले आफ्नै स्वविवेकमा सोधनीसम्म गरेन । लगानीकर्ताले दवाव सिर्जना गरेपछि सोधनीसम्म गरेको र हकप्रद कार्यान्वयन गरेर मात्र विलयमा जान निर्देशन दिएको भन्ने समाचार वोर्डले आफ्नै वेवसाइटमा राख्यो । वोर्डको वेवसाइटमा ‘...हकप्रद जारी गर्ने निर्णय मूल्य संवेदनशील सूचना समेत भएकोले सो को कार्यान्वयन नगर्दा लगानीकर्ताको हितमा प्रतिकूल असर पर्नसक्ने देखिएकोले हकप्रद जारी गरेर मात्र प्राप्ति सम्बन्धि निर्णय कार्यान्वयन गराउन रिलायबल बैंकलाई निर्देशन दिइएको छ ।भन्ने समाचार अहिलेसम्म पढ्न सकिन्छ । धितोपत्र सम्बन्धि ऐनमा लगानीकर्ताको हितलाई ध्यानमा राखी वोर्डले संगठित संस्थालाई धितोपत्र कारोबारको सम्बन्धमा ऐन, नियम तथा विनियम बमोजिम गर्नुपर्ने काम गर्न वा नगर्नुपर्ने काम नगर्न आवश्यक आदेश वा निर्देशन दिनसक्नेछ भन्ने व्यवस्थाले वोर्डलाई दिनदिनै गिज्याउन थालेको छ । रिलायबलको हकप्रद रद्द गर्ने सम्बन्धि निर्णय कर्पोरेट डिसअर्डरको लागि सहज बाटो बनेको छ र अराजकतातर्फ धकेलिने संकेत हो । कानून बमोजिम र अधिकार क्षेत्रकै अधिनमा रहेर दिएको आफ्नै निर्देशनको खिल्ली उड्यो तर वोर्ड मुकदर्शक बन्यो ।

निर्देशनको अरण्यरोदन

बैंकलाई चुक्ता पूँजी वृद्धि गर्नको लागि केन्द्रीय बैंकले दिएको समयसीमा आगामी आषाढ महिनामा समाप्त हुँदैछ र पूँजी बढाउने चटारो असार पन्ध्र भन्दा कम छैन । बैंकले पूँजी बढाउन पाएको निर्देशन वोर्डलाई अवगत छ । हकप्रदको लागि बैंकले आवेदन दिने र स्वीकृति दिने क्रम चलिरहेको अवस्थामा अन्य क्षेत्रलाई केहि समय पर्खाउन सकिन्थ्यो । नेपाल लाईफ इन्सुरेन्सलाई अत्यन्त महँगो मूल्यमा एफपिओ जारी गर्न सम्बन्धि निर्णय पछी सार्न नसकिने अवस्था थिएन । मूल्य निर्धारण प्रक्रियामा प्रशस्त त्रुटी हुँदाहुँदै पनि चर्को मूल्यमा एफपिओ बेच्न स्वीकृति दियो । जतिखेर बैंक कर्जा-निक्षेप अनुपात कायम राख्न नसकेर थलिएका थिए यस्तो बेलामा चर्को मूल्यमा शेयर जारी गर्न अनुमति दिनु सर्वार्थ गलत निर्णय थियो । अझ माघ एक गतेबाट लागू हुन लागेको आस्बालाई पर्खने धैर्यता पनि देखाएन । आस्बा लागू भएपछी जारी गर्न अनुमति दिएको भए निष्काशन बैंकमा जम्मा हुने आधा भन्दा बढी रकम आवेदककै खातामा रोकिएर बस्ने थियो र बैंकबाट निक्षेप बाहिरिने थिएन र अहिलेको समस्या केहि हदसम्म आउने थिएन ।जब भयो राती अनि बुढी तातीभने जस्तो बजारमा तरलताको संकट देखिने भएपछी वोर्डले हतास मानसिकता देखाउँदै नेपाल लाइफको विक्री प्रवन्धकलाई धितोपत्र निष्काशन निर्देशिका मिच्दै मिति तोकेर फलाना दिनभित्र बाँडफाँड गरिदेउ भन्दै निर्देशनको अरण्यरोदन जारी गर्यो । यस्तै निर्देशन फरवार्ड लघुवित्तको विक्री प्रवन्धकलाई पनि दियो । निर्देशन दिनु अघि दुबै विक्री प्रवन्धकसँग आन्तरिकरुपमा कहिलेसम्म बाँडफाँड गर्न सकिन्छ सरसल्लाह गरि आन्तरिकरुपमा नै मिति तय गर्न सकिन्थ्यो तर सहज बाटो छोडेर निर्देशन जारी गर्दा लाटो लड्छ एक बलड्याङ बाठो लड्छ तीन बलड्याङभन्ने उखान चरितार्थ भएको छ । चार्टड बैंकलाई एफपिओ जारी गर्न स्वीकृति दिनासाथ रोक्नु भन्ने निर्देशन र लगाम छाडेर घोडालाई रोकिई भन्नु एकै हो । वोर्ड नेतृत्व फेरी असफल भयो ।

संकटलाई निम्तो

आधा वर्षको अवधिमा लगातार पाँच पटकसम्म असफल हुनु नियमक पूर्ण असफल भएको हो भनेर जोसुकैले सहज बुझ्न सक्छ । यी पाँचवटा त देखिएका मात्र हुन् नदेखिएका त कति होलान । अदूरदर्शी निर्णय गर्दै असफल हुँदै जाने हो भने वोर्ड नेतृत्वको उपादेयता समाप्त भएको र नेपालको शेयरबजारले बंगलादेश पाकिस्तानले भोगेका भयानक काण्डलाई निम्तो दिएको हो भनेर बुझ्न कुनै कठिन छैन । कवि तथा गीतकार हरिभक्त कटुवालको शब्द यो घरको भित्ता चर्कंदो छ, सायद कुनै ठूलो भूकम्प पर्खंदो छ ।को स्थितिमा नेपालको पूँजीबजार रहेको छ । वोर्ड सचेत बनोस् ।

१८ फागुन २०७३, कारोबार


No comments:

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...