Tuesday, August 8, 2017

मनोवैज्ञानिक त्रास र शेयरबजार


शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । ओरालो लाग्नुपर्ने तात्विक कारण केहि छैन । पहिलो त्रयमास समाप्तिसँगै सूचिकृत कम्पनीहरुले वित्तीय प्रतिवेदन प्रकाशन गरिसकेका छन् । प्रकाशित विवरण अनुसार सबै कम्पनीले राम्रो आम्दानी गरेका छन् । अर्को वर्ष अहिले भन्दा बढी वा अहिलेकै हाराहारीमा लाभांश दिनसक्ने हैसियत देखिएको छ । यतिबेला अधिकाँश कम्पनीले लाभांश घोषणा गरेर शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेका छन् । अब लाभांश पाउनको लागि एक वर्ष पर्खनुपर्नेहुन्छ । लाभांश घोषणा गर्न बाँकी कम्पनीतर्फ जानको लागि लाभांश पाइसकेको कम्पनी छाड्ने क्रममा त्यस्ता कम्पनीको मूल्यमा गिरावट आउनुलाई सामान्य नै भन्नुपर्छ । शेयर मूल्यमा सामान्यतया गिरावट आउने समय भए पनि अप्रत्याशितरुपमा अधिक गिरावट आउनुलाई सामान्य स्थिति भन्न सकिन्न । लाभांश घोषणा भइसकेको कम्पनी छाडेका कारण मात्र मूल्यमा गिरावट आएको भने पक्कै हैन । गिरावट आउनुका सम्भावित  कारणहरुको संक्षिप्त चर्चा यस आलेखमा गर्ने प्रयास गरिएकोछ । 

महत्वकांक्षी लगानीकर्ता

उच्च महत्वकांक्षा सदा हानिकारक हुन्छ । लगानीकर्ताहरु कम्पनीको लाभांश दिनसक्ने क्षमता भन्दा अधिक अपेक्षा राख्छन र सोहि अनुसार शेयर किन्न थाल्छन र कम्पनीले आफ्नो वास्तविक क्षमता अनुसारको लाभांश घोषणा गर्नसाथ निराश हुन्छन र कम्पनीलाई गालि गर्दै सस्तैमा शेयर हुत्त्याईदिन्छन जसले गर्दा कारण विना नै मूल्यमा गिरावट आउँछ । जबकी घोषित लाभाँश कम्पनीको क्षमता अनुसार अपर्याप्त हुन्न । यसो हुनुको कारण कम्पनी विश्लेषण गर्न नसक्नु हो । लगानी गर्नेले कम्तिमा वासलात र नाफा-नोक्सान हिसाब आफैंले बुझ्नसक्ने हैसियत राख्नुपर्छ । शेयर लगानीको लागि यी सामान्य कुरा हुन् । 
   
लाभांशको अन्योल 

यसपटक लाभांश घोषणामा पनि अन्योल देखियो । नेप्सेमा एउटा अंक पठाए पनि पाउने बेलामा अर्कै अंक लगानीकर्ताले पाए । कहिलेसम्म कायम पूँजीलाई लाभांश दिएको भनेर कम्पनीले प्रष्ट नपार्दा अन्योल सिर्जना भयो । लाभांश घोषणा गरेका प्राइम माछापुच्छ्रे लगायतको वास्तविक लाभांश कति आउला भन्ने यकिन लगानीकर्ताले गर्न सकेका छैनन् । प्राइमले नेप्सेमा दिएको सूचनामा घट्न सक्ने मात्र भनेको छ तर कति घट्ने भनेको छैन । यस्ता कुरा प्रष्ट नहुँदा कतिमा लगानी गर्ने भनेर अलमल हुँदा मूल्यमा गिरावट आउनु स्वाभाविक हो ।

हकप्रदको चटारो 

यतिखेर धेरै कम्पनीले हकप्रद जारी गरेका छन् । केहि समय अघि मात्र अरुण कावेली हाइड्रोपावरले ३० लाख कित्ता साधारण शेयर जारी गरेको र त्यसमा अरवौं रुपैया लगानी भइसकेको छ । हिमालयन, काष्ठमण्डप, सगरमाथा, सेवा, सिद्धार्थ, कन्चन लगायत थुप्रै बैंकको हकप्रद आइरहेको छ । जति पनि कम्पनीका हकप्रद आएका छन् ति सबैमा लगानी गर्ने लगानीकर्ता एकै हुन् । एकैपटक धेरै कम्पनीमा लगानी गर्नुपर्दा रकमको अभाव पर्ने नै हुन्छ र रकमको जोहो गर्ने एकमात्र ठाउँ शेयरबजार नै हो । रकम जोहो गर्ने दवाव यतातिर परेको कारण पनि केहि घट्नु स्वाभाविक नै हो ।

माथि उल्लेखित बाहेक बजार घट्नुपर्ने भनिएका अन्य सबै कारण मनोवैज्ञानिक मात्र हुन् । ति मनोवैज्ञानिक त्रासको पनि संक्षिप्त चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । 

ट्रम्पको विजय 

शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपतिको चुनाव सम्पन्न भयो र कट्टरपन्थी स्वभावका डोनाल्ड ट्रम्पले आगामी चार वर्षको लागि व्हाइट हाउसको नेतृत्व पाएका छन् । हिलारीप्रति नरम भाव राखेका नेपाली नागरिकको लागि ट्रम्पको विजय अलि पाच्य भएन । अमेरिकीको लागि समेत नौलो नभएको परिणाम हाम्रो लागि झन् नौलो नहुनुपर्ने हो किनकि हाम्रो लागि ट्रम्प वा हिलारी जो आएपनि भतुवालाई बिगौतीसरह हो । तर शेयरबजार घट्नुलाई ट्रम्पको विजय र आप्रवासीप्रति भविष्यमा गर्नसक्ने व्यवहारलाई लिएर टिकाटिप्पणी भइरहेको छ । यो फगत मनोवैज्ञानिक त्रास मात्र हो । 

भारतीय रुपैयाँ 

भारत सरकारले एकहजार र पाँचसयको नोटलाई प्रतिवन्ध लगाएको घटनालाई पनि शेयरबजारसँग जवर्जस्ती जोडेर त्रास फैलाईएको छ । योगगुरु रामदेव र अर्थशास्त्री अनिल वोकिलको समुहले यी दुई नोट मात्र हैन रु. ५० भन्दा माथिका नोट सदाको लागि प्रतिवन्ध लगाउन र दुईहजारसम्म मात्र नगद र बाँकी सबै कारोबार बैंकिंग प्रणालीमार्फत गर्न अर्थक्रन्तिभन्ने अभियान नै चलाएका छन् । यति मात्र नभएर भारतमा प्रचलित ३२ प्रकारको कर मध्ये अन्तशुल्क र भन्सार कर बाहेक सबै खारेज गरेर कारोबार करलगाउन सल्लाह दिइरहेका छन् । भोलिका दिनमा यस्तो प्रस्ताव मोदी सरकारले लागू नगर्ला भन्न सकिन्न । यस्ता कुराबाट हाम्रो सरकारले पनि पाठ सिक्नुपर्नेमा मनोवैज्ञानिक त्रास सिर्जना गराउनेबाट सचेत हुनु जरुरी छ । नोट प्रतिवन्धको कारण आत्तिनुपर्ने कुनै कारण छैन । हाम्रो आफ्नै मुद्रा छ भारतीय मुद्रा प्रतिवन्धले हामीलाई छुनुपर्ने तात्विक कारण केहि छैन । नेपाल राष्ट्र बैंकले समेत यसबाट केहि असर नपर्ने बताइसकेकोछ । केन्द्रीय बैंकको भनाईलाई विश्वास नगरे कसलाई गर्ने

आठ अर्व 

यो पनि अर्को ठूलो त्रास बनेको छ । बैंकको पूँजी वृद्धि स्वाभाविक प्रक्रिया हो । केन्द्रीय बैंकले पूँजी वृद्धिको प्रस्ताव नल्याएको भए पनि पूँजी बढाउनु जरुरी थियो भन्ने बैंकले राम्रैसँग बुझेको विषय हो । २०७२ वैशाखको भूकम्प पश्चात पुननिर्माण र पुनस्थापनाको लागि सानोतिनो रकमले पुग्ने अवस्था थिएन । त्यस्तै देशमा पूर्वाधारको क्षेत्रमा समेत लगानी बढाउनुपर्ने आवश्यकता थियो । लगानीको लागि पूँजी दिनसक्ने एकमात्र संस्था भनेका बैंक हुन् । नेपाल भन्दा सानो अर्थतन्त्र भएको देश भुटानमा समेत बैंकको पूँजी पाँच अर्व छ भने त्यो भन्दा ठूलो अर्थतन्त्र भएको देशको लागि आठ अर्व पनि कम हो । उर्जा संकट मोचनको लागि तत्कालै ठूला तथा मझौला आयोजना निर्माणमा गईहाल्नुपर्ने अवस्था छ । यसको लागि पनि बैंक नै सक्षम हुनुपर्छ । आठ अर्व पूँजी पुर्याउन बोनस र हकप्रद दिईसकेकोले अर्को सालदेखि बोनस आउँदैन नगद लाभांश मात्र आउँछ भन्ने मानसिक त्रास बढेको छ । यो फगत स्वरै कल्पना मात्र हो । बैंकको जोखिम वहन गर्ने क्षमता वृद्धि गर्नको लागि पनि पूँजी अझ बढ्नुपर्ने आवश्यकता देखिएको छ । नेपाल लगानीका लागि उर्वर क्षेत्र बन्दैछ भन्ने कुरा अहिले विदेशी बैंकले नेपालका बैंकसँग साझेदारी गर्न देखाएको चासोले पनि पुष्टि गरिरहेको छ ।

अन्तमा 

स्वभावत शेयरको मूल्य घटवढ भइरहनुपर्छ यसको विशेषता भनेकै यहि हो । बढिरहने र घटिरहने भन्ने पनि हुन्न । शेयर बजारको घट्ने र बढ्ने चक्र भनेको रोटेपिंग जस्तै हो । रोटेपिंगमा माथि पुगेको मान्छे एकैछिनमा तल झर्छ र तलको मान्छे माथि पुग्छ । माथि जाँदा जति आनन्द महसुस हुन्छ तल झर्दा पनि त्यत्तिकै आनन्द महसुस हुन्छ । तल माथि भइरहने क्रम नहुने हो भने रोटेपिंग कुनै अर्थ हुन्न । शेयर बजारलाई पनि रोटेपिंगसँग करिब करिब सँगै राखेर हेर्न सकिन्छ । 

लगानी पछिको प्रतिफल र कम्पनीको स्थितिलाई सँगै राखेर लगानी गरेको खण्डमा आत्तिनु पर्ने स्थितिको सिर्जना हुन्न र लगानी सुरक्षित बनाउन सकिन्छ । लाभ लिन केहि समय कुर्न सक्नुपर्छ । सुरक्षित लगानी गरेमा ससाना घटनाले तर्साउन सक्दैन ।   

१२ मंगसिर २०७३, कारोबार



No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...