फरक–फरक
दिनु उचित कि अनुचित ?
ईण्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर
(आईएसआईएन) स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीले जारी गरेको वित्तीय उपकरणलाई चिनाउन
दिइने अक्षर र अङ्कको अद्वितीय संयोजन हो l यसमा अक्षर र अङ्क गरी १२ वटा पदको समिश्रण
हुन्छ l
कम्पनीको
एउटै प्रकारको उपकरणका लागि एउटै आईएसआईएन दिइन्छ l विभिन्न उपकरण (शेयर,
डिवेञ्चर, अग्राधिकार शेयर, म्युचुअल फण्डका एकाई) का लागि फरक-फरक
आईएसआईएन दिइन्छ l
एकै
उपकरणका फरक-फरक आईएसआईएन हुँदैन l
तर, नेपालमा
अन्तर्राष्ट्रिय प्रचलनविपरित जाने अभ्यास भईरहेको छ l विशेष गरी बैंकिङ्ग र बिमा कम्पनीका साधारण
शेयर ‘संस्थापक’ र ‘सर्वसाधारण’ फरक-फरक उपकरणको रुपमा परिभाषा गरेर फरक-अलग-अलग
आईएसआईएन दिईदै आएको छ l
यस्तो
व्यवस्था हटाएर एकै आईएसआईएन दिनुपर्नेमा अन्य क्षेत्र कम्पनीका एकै प्रकारको
उपकरणलाई पनि ‘झिकी दे गाँड भन्दा थपी दे गाँड’ जस्तो दोहोरा आईएसआईएन दिने नीति
ल्याउन सिडीएस एण्ड क्लियरिंग लिमिटेड (सिडीएस) लागेको छ l एकै उपकरणलाई फरक-फरक आईएसआईएन दिनु उचित हो
कि अनुचित हो यस विषयमा चर्चा गरिन्छ l
सैद्धान्तिक पक्ष
आईएसआईएन प्रणालीमा हुने अक्षर
र अङ्कका १२ वटा पदले के के जनाउँछ त्यसबारेमा बुझ्नु आवश्यक छ l यसको
स्वरूपमा हुने १२ वटा पदमध्ये शुरूको पहिलो दुई पदले देश, बीचको ९ अक्षर/अङ्कले उपकरणको अद्वितीय सङ्केत र अन्तिमको एक अङ्कले जाँच (चेक) नम्बर जनाउँछ l आईएसआईएनले
सैद्धान्तिकरुपमा उपकरणको परिचय जनाउँछ l यसले उपकरण कसले धारण गरेको छ भन्ने कुनै
अर्थ दिँदैन l नेपालमा अहिले केही समयदेखि हरेक सूचीकृत कम्पनीका साधारण शेयरलाई दुईवटा
आईएसआईएन दिने कुराले बजार तातेको छ l यसमा दुई पक्ष निस्किएका छन् l एउटा समूह दुईवटा
र अर्को समूह एउटा मात्र दिनुपर्छ भन्ने पक्षमा उभिएको छ l एउटा मात्र दिनुपर्छ
भन्ने पक्ष बढी वजनदार देखिएको छ भने दुईवटा दिनुपर्छ भन्ने पक्ष कमजोर देखिएको छ
l एउटा मात्र दिनुपर्छ भन्ने पक्ष यसको सैद्धान्तिक पक्षबाट सान्दर्भिक छ भने दुईवटा
दिनुपर्छ भन्ने पक्ष सैद्धान्तिक आधारबाट विचलित देखिन्छ l एउटा मात्र आईएसआईएन
दिनुपर्छ भन्ने पक्ष एकै प्रकारको उपकरण भएकोले यसलाई विभाजन गर्नुहुन्न भन्ने
सैद्धान्तिक आधारमा वजनदार देखिएको हो l दुईवटा दिनुपर्छ भन्ने पक्ष संस्थापकलाई संधै
साङ्गलामा बाँधेर राख्नुपर्छ र कहिल्यै बहिर्गमन गर्न दिनुहुन्न भन्ने मान्यता
राख्छ l अझ यो पक्ष संस्थापकले कुनै पनि ‘संस्थागत लाभ’ (लाभांश) लिन पाउनु हुन्न
भन्ने किसिमको अवधारणासमेत राख्छ l यद्यपी यो कुरा खुलेर नगरे पनि आचरणगत
व्यवहारले यस्तै देखिन्छ l यही कारण यो पक्ष दुईवटा आईएसआईएन (संस्थापकले धारण
गरेको शेयरलाई छुट्टै आईएसआईएन) दिनुपर्छ भन्ने मान्यता राख्छ l आईएसआईएनको उद्देश्य उपकरणको प्रकृति पहिचान गर्नु/गराउनु हो l यसको कारोबार र
स्वामित्वसँग कुनै साइनो छैन l यही कारण
दुइवटा आईएसआईएन दिनुपर्छ भन्ने अवधारणा अन्तर्राष्ट्रिय मानक र आईएसआईएनको उद्देश्यसँग
मेल खाँदैन l
उपकरणको विशिष्ट
परिचय
माथिका दुइवटा अनुच्छेदमा आईएसआईएनले कारोबार र
स्वामित्वको पहिचान गराउने हैन, उपकरणको प्रकृति पहिचान गर्नु/गराउनु हो भन्ने
कुराको उठान गरियो l आईएसआईएन विशुद्धरुपमा कुनै पनि उपकरणलाई चिनाउने संयन्त्र
हो l यसले कुनै पनि उपकरण कसले धारण गरेको छ भन्ने विषयमा कुनै चासो र सरोकार
राख्दैन l पुँजीबजारमा पुँजी जुटाउने अनेकौं उपकरण हुन्छन् l ति सबै उपकरणलाई
सजिलै पहिचान दिन सकियोस भनेर अङ्क र अक्षरको समिश्रण गरि अद्वितीय परिचय दिनको
लागि आईएसआईएन दिन शुरुआत गरिएको हो l शेयर भन्ने शब्दले अंश वा खण्ड भन्ने जनाउँछ
l यो कसले कति धारण गरेको छ भन्ने कुराको जानकारी दिँदैन l शेयर सबैभन्दा बढी चल्तीको
उपकरण हो l शेयर ‘साधारण’ र ‘अग्राधिकार’ गरि दुई प्रकारका हुन्छन् l शेयरै भए पनि
‘साधारण’ र ‘अग्राधिकार’ शेयरलाई दुई फरक-फरक पहिचान वा परिचय सङ्केत दिइन्छ l
त्यस्तै, अग्राधिकार शेयर पनि परिवर्त्य र अपरिवर्त्य, सञ्चित र असञ्चित, फिर्ता
हुने र फिर्ता नहुने गरि तीन प्रकारका हुन्छन् l यसलाई पनि फरक-फरक परिचय वा
पहिचान सङ्केत दिइन्छ l अग्राधिकार शेयरलाई फरक-फरक आईएसआईएन दिनुको कारण यसको
प्रकृतिको हो l साधारण शेयर पनि फरक-फरक प्रकृतिका हुन्छन् l यस्तो अवस्थामा फरक-फरक परिचय सङ्केत दिइन्छ l
त्यस्तै, डिवेञ्चरअन्तर्गत पनि एकै प्रकारका उपकरण जारी भएका छन् l त्यसैले यसको पनि परिचय सङ्केत एकै प्रकारको छ l नेपालमा जारी भएका डिवेञ्चर सबै अपरिवर्त्य हुन् र यसलाई एनसीडी अर्थात् ननकन्भर्टीएबल डिवेञ्चर भनिन्छ l नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको ट्रेड म्यानेजमेन्ट सिष्टममा एनसिडीबाहेक एफसीडी (फुल्ली कन्भर्टीएबल डिवेञ्चर), पीसीडी (पार्सल्ली कन्भर्टीएबल डिवेञ्चर) गरि तीन प्रकारको डिवेञ्चर उल्लेख छ l यसबाहेक ओएफसीडी (अप्सन्नली फुल्ली कन्भर्टीएबल डिवेञ्चर) पनि हुन्छ l यी चार थरी डिवेञ्चर जारी भएको खण्डमा यसको पनि फरक-फरक परिचय सङ्केत हुन्छ l डिवेञ्चर जस्तै स्वभाव भएको बोन्डको लागि पनि फरक परिचय सङ्केत हुन्छ l त्यस्तै, वारेन्टस जारी भएमा यसको पनि फरक परिचय सङ्केत हुन्छ l
सिडीएसको प्रस्ताव
सिडीएसले संस्थापक र सर्वसाधारण
शेयरधनीले धारण गरेको शेयरलाई छुट्टाछुट्टै आईएसआईएन दिने प्रस्ताव गरेको छ l सिडीएसले यसो गर्नु खोज्नुको कारण लकइन अवधिमा रहेको संस्थापकले धारण
गरेको शेयर झुक्क्याएर बेचे भन्ने आधार लिएको छ l सिडीएसले
धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ नाम
दिएर बनाएको कानुनको दफा २(ख) मा ‘आइजिन’ भनेर गरिएको नामकरण नै गलत छ l आईएसआईएन अन्तर्राष्ट्रस्तरको पहिचान प्रणाली भएकोले यसलाई अन्तर्राष्ट्रियस्तरमा
जे नामले पुकारिन्छ सोही नाम उल्लेख गरिनुपर्छ l परिभाषामा
कम्पनीले जारी गरेका धितोपत्रसम्बन्धी उपकरणलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने
धितोपत्रको अन्तर्राष्ट्रिय परिचय नम्बर (ईण्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन
नम्बर - आईएसआईएन) लाई सम्झनुपर्छ भनेर लेखेपछि यसको नाम मनखुशी तरिकाले ‘आइजिन’
लेख्न मिल्दैन l यसको सट्टामा आईएसआईएन नै उल्लेख हुनुपर्छ l
निर्देशिकाको दफा ७ सबैभन्दा
विवादास्पद व्यवस्था हो l दफा ७(१) मा अभौतिकीकरणको सम्झौता भएपश्चात
धितोपत्रको निक्षेप गर्नका लागि कम्पनीले जारी गरेको धितोपत्र (उपकरण) को
प्रकारअनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई
छुट्टाछुट्टै आईएसआईएन दिनुपर्ने, तर कम्पनीको प्रबन्धपत्र
तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको शेयर छुट्टिएको अवस्थामा संस्थापक र
सर्वसाधारण शेयर समूहलाई छुट्टाछुट्टै आईएसआईएन दिने व्यवस्था छ l त्यस्तै, दफा ७(२)
मा निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको
लागि एउटै आईएसआईएन दिई लकइन अवधिमा भएका धितोपत्रसमेतलाई निर्देशिका लागु भए
पश्चात फरक-फरक आईएसआईएन दिने व्यवस्था छ l
दफा ७(१) मा उल्लेखित ‘धितोपत्रको
प्रकारअनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई
छुट्टाछुट्टै आईएसआईएन दिनुपर्ने’ विषय सान्दर्भिक छ l किनभने आईएसआईएनको उद्देश्य भनेको धितोपत्रको प्रकारअनुसार यसको परिचय
खुलाउनु हो l तर, ‘कम्पनीको
प्रबन्धपत्र तथा नियमावलीमा ‘संस्थापक’ र ‘सर्वसाधारण’ समूहको शेयर छुट्टिएको
अवस्थामा संस्थापक र सर्वसाधारण शेयर समूहलाई छुट्टाछुट्टै आईएसआईएन दिने’ भन्ने
कुरा आईएसआईएनको अन्तर्राष्ट्रिय उद्देश्यसँग कतै मेल खाँदैन l किनभने संस्थापक र सर्वसाधारणले धारण गरेको शेयर फरक-फरक हैन, एकै किसिमको साधारण शेयर हो l
यिनले धारण गरेको शेयरले उपभोग गर्ने अधिकार फरक-फरक हुँदैन,
समान हुन्छ l साधारण शेयरलाई फरक-फरक अधिकार
दिएको खण्डमा भने यसलाई छुट्टाछुट्टै आईएसआईएन दिनुपर्छ l
त्यस्तै, दफा ९ को व्यवस्थाको कुनै औचित्य छैन l दफा ७ को
कुनै अर्थ र औचित्य नभएको अवस्थामा दफा ९ औचित्य हुने कुरा भएन l यस दफा ९ मा एकै प्रकारको उपकरणलाई फरक-फरक आईएसआईएन दिएपछि मिश्रण अर्थात
एकै प्रकारको बनाइने उल्लेख छ l दफा १० को पनि कुनै औचित्य
छैन l यसमा दुई वा दुईभन्दा बढी कम्पनी गाभिएमा दफा ७ बमोजिम
फरक-फरक आईएसआईएन दिने कुरा छ l दफा ११ त झन् अचम्म लाग्दो व्यवस्था छ l यस दफामा
कुनै धितोपत्रलाई एउटै आईएसआईएन दिइएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित
कानुनबमोजिम फरक-फरक आईएसआईएन आवश्यक पर्ने देखिएमा सम्बन्धित कम्पनीको अनुरोधमा सिडिएसले
आवश्यकताअनुसार उपलब्ध गराएको आईएसआईएन छुट्याई फरक-फरक आईएसआईएन दिनसक्ने उल्लेख
छ l यो व्यवस्था के कुन सन्दर्भमा उल्लेख गरेको हो कतै खुल्दैन
l
उचित कि अनुचित
माथिका विभिन्न अनुच्छेदमा एकै
प्रकारको उपकरणलाई सिद्धान्तत: एकै परिचय दिने कुरा विभिन्न पाटाबाट चर्चा गरियो l नेपालको शेयरबजार अन्य देशको शेयर बजारभन्दा फरक हुन सक्दैन l धितोपत्र बजार नियामक र स्टक एक्सचेञ्ज दुबैको अन्तर्राष्ट्रिय सङ्गठन छ l
नेपाल यी दुवै सङ्गठनको सदस्य बनेको छ l यस
हिसाबले नेपालले फरक मानक बनाउन सक्दैन l अन्तर्राष्ट्रिय सङ्गठनको
सदस्य बनेपछि त्यस्ता सङ्गठनले अवलम्वन गरेका नीति नियमको पालना गर्नुपर्छ l
यसको विपरित सिडीएसले कुनै पनि बहानामा एकाङ्की ढङ्गले कुनै पनि
नियम बनाएर जवर्जस्ती लागु गर्न सक्दैन l आईएसआईएनको
उद्देश्य उपकरणलाई विशिष्ट पहिचान दिनु हो l यसको
सैद्धान्तिक आधार भनेकै एकै प्रकारको उपकरणलाई एउटै परिचय दिनु हो l एकै प्रकारका उपकरणले उपभोग गर्ने अधिकार र कर्तव्य पनि एकै हुन्छ l
एकै प्रकारको उपकरणलाई फरक-फरक पहिचान (आईएसआईएन) दिनु सैद्धान्तिक
आधारबाट उचित हुन्न l सिडीएसले लकइन अवधिमा रहेको शेयर
बेचिएको हुँदा यसलाई नियन्त्रण गर्न फरक-फरक आईएसआईएन दिने गरि जारी गर्न लागेको
निर्देशिकाको कुनै औचित्य छैन l सीडीएस आफैं राफसाफकर्तासमेत
भएको हुँदा राफसाफ गर्दा यस्ता कुरा विचार पुर्याउनुपर्छ l लकइन
अवधिमा रहेको बेला शेयर बेचेको भेटिएमा त्यस्ता व्यक्ति वा संस्थालाई कारवाही
गर्नुपर्छ l लकइनमा रहेको शेयर धारणकर्ताको निर्णयले मात्र
बिक्री हुन सक्दैन l यसमा निक्षेपक तथा राफसाफकर्ताको
भूमिकामा रहेको सीडीएस, दलाल, एक्सचेञ्ज, शेयर रजिष्ट्रार र बिक्रीकर्ता कुनै न
कुनै रुपमा नमिली यस्तो कारोबार हुनसक्दैन l यदि यस्तो शेयर
बिक्री भएको हो भने यसमा क-कसको भूमिका रह्यो सम्बन्धित
निकायले प्रचलित कानुनबमोजिम छानविन र कारबाही गर्नुपर्छ l आईएसआईएनको अन्तर्राष्ट्रिय मानकअनुसार यसलाई उपकरणको प्रकार पहिचान
गर्ने संयन्त्रको रूपमा मात्र उपयोग गर्नुपर्छ। अन्तर्राष्ट्रिय सङ्गठनको सदस्य
भएको हुँदा अन्तर्राष्ट्रिय सङ्गठनले निर्धारण गरेका मानकलाई नेपालले पनि अवलम्बन
गर्नुपर्छ l त्यसकारण एउटै प्रकारका उपकरणलाई फरक-फरक
आईएसआईएन दिने कार्य सैद्धान्तिक र व्यवहारिक दुवै आधारमा अनुचित छ l
निष्कर्षमा, दुईवटा आईएसआईएन दिने
अभ्यासले बजारमा भ्रम, जटिलता र अतिरिक्त प्रशासनिक बोझ थपिन
सक्छ । आईएसआईएन दुईवटा दिने फेरी गाभ्न पाउँ भन्ने झन्झटिलो प्रक्रिया अपनाउने
कार्यलाई वुद्धिमतापूर्ण भन्न सकिन्न l अहिले नेपालमा
मूलतः संस्थापक, स्थानीय र कर्मचारीले धारण गरेको शेयरलाई तीन वर्षसम्म लकइनमा
राखिन्छ l यस्ता शेयरलाई ‘रजिष्ट्री फ्ल्याग’ वा अन्य उपयुक्त विधि अपनाएर व्यवस्थापन
गर्न सकिने हुँदाहुँदै फरक-फरक आईएसआईएन दिनुपर्ने कुनै औचित्य देखिन्न l सीडीएसले
जारी गर्न लागेको यस्तो निर्देशिका उपकरणको प्रकारमा आधारित हुनुपर्छ l
सीडीएसले आईएसआईएनसम्बन्धी निर्देशिका निर्माण गर्दा र धितोपत्र बोर्डले स्वीकृत गर्दा
आईएसओ सिक्स वान सिक्स सिक्स (६१६६)
ले निर्धारण गरेको अन्तर्राष्ट्रिय मानकलाई अवलम्बन गर्नुपर्छ l फरक-फरक आईएसआईएन दिने अभ्यास हटाएर उपकरणको प्रकृति र
प्रकारअनुसारको अन्तर्राष्ट्रिय मानक प्रणाली अपनाउनु नै उपयुक्त मार्ग हो। अहिले बैंकिङ्ग,
बिमा र अन्य कम्पनीलाई दिइएको दोहोरो आईएसआईएन खारेज
गरी एकै आईएसआईएन दिनुपर्छ l
आर्थिक अभियान
https://www.abhiyandaily.com/news/451943/equipment-one--isin-many-difference-fark/