गलत सूचना प्रवाह गम्भीर वित्तीय कसूर
मानिसको दैनिक जीवन सूचनाबाट शुरु भएर सूचनामै टुंगिन्छ l हरेक क्षेत्रमा सूचनाको
महत्व हुन्छ l शेयरबजारमा सबैभन्दा बढी कारोबार सूचनाको हुन्छ l सूचीकृत कम्पनीले
समयसमयमा सार्वजनिक गर्ने औपचारिक सूचना बाहेक अनौपचारिकरुपमा पनि थुप्रै सूचना
सार्वजनिक भईरहेको हुन्छ l औपचारिक सूचना तथ्ययुक्त हुन्छन् भने अनौपचारिक सूचनाको
तथ्य स्थापित हुन् पनि सक्छ, नहुन पनि सक्छ l यस्ता सूचना पत्रिका, टेलिभिजन,
युट्युव च्यानलमार्फत आइरहेको हुन्छ l खासगरी पत्रिका (अनलाईन) ले यस्ता सूचना बढी
प्रवाहित गर्छन l सूचनाको स्रोतमा ‘विश्वस्त’, ‘विशेष’, ‘कम्पनीको उच्च स्रोत’, र
‘गोप्य’ जस्ता अनेक उपमा हुनेगर्छ l यस्ता उपमायुक्त सुत्रले वास्तविक सूचना दिएको
हुन्छ वा हुन्न तर, यसरी लेखिने समाचारले शेयरबजारमा राम्रो कारोबार गराउँछ l
शेयरबजार साधुसन्तको आश्रम नभएको हुँदा केही हदसम्म यस्ता अफवाहलाई जायज पनि
मान्नुपर्ने हुन्छ l तर, अतिचार भयो भने यस्ता सूचना प्रसारकलाई कारवाही गर्नुपर्छ
l अफवाहयुक्त सूचनाको प्रवाह अहिले मात्र हैन, पौराणिककालमा पनि देख्न सकिन्छ l
महाभारत युद्धमा आचार्य द्रोणले सूचनाको सत्यतालाई पुष्टि गर्न नसक्दा ज्यान गुमाएका थिए l महाभारत युद्धमा द्रोण कौरवका तर्फबाट लडेका थिए l कौरव सेनाका सेनापतिसमेत बनेका द्रोण पाण्डवप्रति नरमभाव राख्थे l उनलाई युद्ध मैदानबाट नहटाएसम्म पाण्डवको विजय सम्भव थिएन l अर्जुनका सारथी बनेका श्रीकृष्णले बनाएको एक कूटनीतिक योजनाअनुसार भीमले ‘अश्वत्थामा’ नाम गरेको हात्तीलाइ मारेर युद्ध भूमिमा अश्वाथामा मारिएको हल्ला फैलाइयो l द्रोणले यसा घटनाको सत्यतथ्य सत्यवादी धर्मराज युधिष्ठिरलाई सोधे l उनले ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः, अर्थात् ‘अश्वत्थामा मारिए तर हात्ती हो वा मानव म जान्दिनँ’ भन्ने कूटनीतिक जवाफ दिए ।यतिबेलै श्रीकृष्णले शंखनाद गरेकाले पछिल्लो वाक्य ‘नरो वा कुंजरो वा’ भन्ने द्रोणले सुन्न पाएनन् l ‘अश्वत्थामा हतो हत:’ भन्ने पहिलो वाक्यले नै उनको होश हराईसकेको हुँदा बाँकी शब्दलाई सायद ध्यान नदिएका हुनसक्छन् l यही अधुरो सूचना सुनेर द्रोण शक्तिहीन भए र धृष्टदुम्नले उनको बध गरेका थिए l
पहिलो अफवाह
शेयरबजारलाइ छिटो पैसा कमाउने स्थलको रुपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन l वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महिना दिन पनि नलगाई कमाउन सकिन्छ l अफवाह कस्तो कसरी चल्छ पत्तो पाउन सकिन्न l यस्ता गतिविधिमा उच्च पदस्थकोसमेत संलग्नता हुन्छ l २१ फ्रेबुअरी सन् १८१४ सोमबारको दिन बिहान लण्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झुटो समाचार फैलाएर शेयर कारोबार गरिएको थियो । छानविनको क्रममा सोमबार बेचिएका अधिकाँश शेयर अगिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो ।
कम्पनी र पत्रकार
कम्पनी र पत्रकार मिलेर पनि गलत सूचना सम्प्रेषण गराउन सक्छन l सन् १९९९ मा ढाका स्टक एक्सचेन्जमा सूचीकृत बंगलादेश वेल्डिंग इलेक्ट्रोडस कम्पनी संचालन घाटामा थियो l कम्पनीको आर्थिक स्थिति नाजुक हुँदै गएपछि बैंकको ऋण तिर्न जग्गासमेत बेच्नु परेको थियो l चुक्ता मूल्य १० टाका रहेको कम्पनीको शेयर मूल्य सन् २००६ को नोभेम्बर डिसेम्बरताका ६ टाकासम्म झरिसकेको थियो l यस्तो अवस्थामा शेयर मूल्यमा अचानक तीव्र वृद्धि आयो l तीव्रता आउनुको कारणकोरुपमा एउटा इमेल थियो l घटनानुसार आफूलाई साउदी अरबको अल आवाद समूहको स्थानीय प्रतिनिधि बताउने एक व्यक्तिबाट कम्पनीलाई एउटा इमेल आयो l उक्त इमेलमा अल आवाद समूहले उक्त कम्पनिसंगको संयुक्त लगानीमा चिट्टगोंगमा अक्सिजन प्लान्ट स्थापनाको लागि मार्च २००७ मा स्थलगत अवलोकन गर्ने व्यहोरा उल्लेख थियो l कम्पनीका प्रवन्ध संचालक नुरुल इस्लामले तत्काल उक्त सूचना ढाका स्टक एक्सचेन्जमार्फत सार्वजनिक गरे l सूचना सार्वजनिक हुनासाथ शेयर मूल्यमा तीव्र वृद्धि आयो l शेयर मूल्यमा आएको तीव्र वृद्धिलाई स्वाभाविकरुपमा लिने अवस्था नभएकोले एक्सचेन्जले प्रारम्भिक छानविन शुरु गर्दा उक्त इमेल फर्जी भएको पोल खुलेको थियो l इमेल पठाउने व्यक्ति विक्ली इन्डष्ट्री (हाल डेली इन्डष्ट्री) का सम्पादक इनायत करिम भएको पत्तो लाग्यो l करिमले इमेल पठाउनु अघि डिसेम्बर २००६ देखि फ्रेबुअरी २००७ सम्मको अवधिमा २० हजार ५ सय कित्ता शेयर ६ देखि ७ टाकासम्म किनेका थिए l उक्त शेयर सोही वर्षको फ्रेबुअरीमा ३३ देखि ४६ टाकासम्म बेचिएको थियो l
करिमलाई फर्जी इमेल लेखाउन कम्पनीका प्रवन्ध संचालक नुरुल इस्लाम र उच्चतहका अधिकारीको पनि संलग्नता भेटिएको थियो l साउदी कम्पनीको आगमन हुने सूचना ११ फ्रेबुअरी २००७ मा सार्वजनिक भएको थियो l यस विषयमा विस्तृत छानविन गरेको बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिसनले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराएर मूल्य हेरफेर गरेको भन्दै ढाका मजिष्ट्रेटसमक्ष मुद्दा दायर गर्यो l सन् २०१२ मा गठित क्यापिटल मार्केट ट्राईबुनले यस मुद्दाको सुनुवाई गर्दै इस्लाम र करिम दुबैलाई ३ वर्षको जेल सजाय र २० लाख टाका जरिवानाको फैसला सुनाएको थियो l
नेपाल सन्दर्भ
विश्वव्यापी समस्या बनेको शेयरबजारमा अफवाह फैलाएर हुने कारोबारमा नेपाल पनि अछुतो हुने कुरै भएन l यस्ता कार्यमा सबैभन्दा बढी अनलाईन न्युज पोर्टल, फेसबुकका समूह, युट्युव च्यानल, भर्खरै आएको क्लब हाउस बढी सक्रिय छन् भन्दा अत्युक्ति हुन्न l यस्ता अनलाईन लगायतका सूचनाका माध्यम अफवाहको लागि बढी उपयोग भइरहेको अनुमान लाउन सकिन्छ l आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति बाचन नसकिंदै एउटा अनलाईनले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गरेको केही मिनेटमै हटाएको थियो र समाचार पढेपछि कर्जा घट्ने चिन्ताले कर्जा लिएर लगानी गरेकाले धमाधम शेयर बेचे । यो घटना ‘नेपोलियन मारिए’ भनेर गरिएको प्रचारजस्तै थियो । त्यस्तै, हकप्रदलाई विषय बनाएर लेखिने अफवाह समाचार पनि राम्रोसँग बिक्छ l नेपाल पुनर्बिमा कम्पनीले गराएको रेटिंगलाइ हकप्रदसँग जोडेर ‘हकप्रद जारी गर्न रेटिंग गरायो’ भन्ने समाचार सम्प्रेषण भएको थियो l रेटिंग प्रतिवेदनमा यस्तो विषय कतै पनि थिएन र कम्पनीको त्यस्तो उद्देश्य पनि थिएन l
समाचार वा सूचनाको सत्यता पुष्टि गर्ने जिम्मा
केही हदसम्म सूचना पाउनेको पनि हुन्छ l सबै सूचनाको सत्यता पुष्टि गर्न सकिन्न l
द्रोणले जस्तो एउटा वाक्य सुनेर हताश र उत्साहित पनि हुनुहुन्न l द्रोणले आफ्नो
पुत्रलाई भीमले मार्नसक्छन कि सक्दैनन् भन्ने कुराको ख्याल गर्न सकेनन् र हताश
मनस्थितिमा पुगे l शेयरबजारमा हताश र उत्साहित दुवै मनस्थिति घातक हुनसक्छ l
बंगलादेशको जस्तो परिस्थितिमा कम्पनीले नै एक्सचेन्जलाई दिएको सूचनालाई अन्यथा
भन्न पनि सकिन्न, तैपनि केहीहदसम्म परीक्षण गर्न सकिन्छ l ‘बार बारे तिल जोगिन्छ’
भन्ने पूरानो भनाईलाई आत्मसात गरेमा शेयरबजारमा आउने अफवाहयुक्त सूचनाबाट धन
जोगाउन सकिन्छ l नियामकीय निकायले पनि यस्ता अफवाह फैलाउनेलाई निगरानीमा राखी
आवश्यक कारवाही गर्न पछि पर्न हुन्न l
३० कार्तिक २०७८, आर्थिक अभियान दैनिक
https://www.abhiyandaily.com/newscategory-detail/397883
No comments:
Post a Comment