धन कमाउने कुरा नारामा भने झैँ कल्पना मात्र
मानिसको सबैभन्दा ठूलो
ध्येय धनी बन्नु हो l कुनै व्यक्तिले कतिसम्म धन कमाउन सक्ला यसको सिमा छैन l
आचार्य चाणक्यले धनसहित आयु, कर्म, विद्या
र मृत्यु यी पाँचवटा कुरा गर्भमै निश्चित भएको हुन्छ भनेका छन् l मनुले
शरीरलाई कष्ट दिएर धन कमाउनु हुन्न भनेका छन् । ‘कि धन बाख्रापाठाबाट, कि धन
लामोबाटोबाट, कि धन ससुराली पाटोबाट’ भन्ने लोकोक्ति छ l धन कमाउन गाह्रो छ भन्ने
मनुको भनाईबाट पनि बुझिन्छ तर, वर्तमान समयमा बसिबसि धन आर्जन हुन्छ भन्ने भ्रमलाई
आत्मसात गर्दा वित्तीय अपराध र ठगि बढ्दै जाँदा कयौंले भएको पनि गुमाएका छन् l ईन्टरनेट
संजालबाट अनेक प्रलोभन देखाएर हुने ठगीको दर बढ्दो छ l यस्ता ठगीको मारमा परेर
व्यक्तिले गुमाउने एउटा पाटो त छँदैछ, देशको रकम वा देशमा विदेशबाट भित्रिनुपर्ने
विप्रेषणसमेत आउन बन्द भएको छ l श्रम प्रवेशाज्ञामा विदेश गएका नेपाली ईन्टरनेट
संजालबाट हुने यस्तो ठगिमा बढी परेको अनुमान गर्नसकिन्छ l पछिल्लो समयमा ‘करेन्सी’
नाम जोडिएको ‘क्रिप्टो’ र पिरामिड प्रकृतिको हाईपरफण्डमा नेपालबाट धेरै रकम
बाहिरिएको र विदेशबाट नेपालमा विप्रेषणमार्फत प्राप्त हुने रकम उतै लगानी (ठगि)
भएर रोकिएको अनुमान गरिएको छ l
लामो यात्राका यात्री
युट्युबमा
हाईपरफण्ड भनेर खोज्दा यसका संस्थापक भनिने रयान झूको बखान सबैभन्दा बढी भेटिन्छ l
झुले सन् २०१३ मा संस्थापन गरेको भनिए पनि यी अगाडि देखिने व्यक्ति मात्र हुन्
पछाडि अरु नै छन् भनिन्छ l स्थापना हुँदा
यसको नाम ‘हाईपरटेक’ थियो र पछि ‘हाईपरफण्ड’ हुँदै अहिले ‘हाईपरभर्स’ मा आईपुगेको छ l नाम जेसुकै फेर्दै गए पनि यसको मुख्य धन्दा भने पर्दापछाडि रहेको
र यसका संस्थापक भनिने झू ‘हात्तीको देखाउने दाँत’ मात्र हुन् l हाईपरफण्ड के हो के काम गर्छ
भन्ने कुराको निश्चित नभए पनि यसले गरिरहेको कार्य हेर्दा यो नेटवर्किंग र मल्टीलेभल मार्केटिङभन्दा
बढी केही देखिन्न l यसले आफूलाई क्रिप्टोको अंग मानिने ‘ब्लकचेन’ को विज्ञ भने पनि
त्यस्तो देखिन्न l यसले उठाएको रकम
कहाँ खर्च गर्छ वा केमा लगानी गर्छ त्यसको स्पष्ट उद्देश्य छैन l क्रिप्टो
माईनिंग गर्छु भने पनि त्यस्तो हैन भन्ने आएको छ l यसले खडा गरेको नेटवर्किंग पनि पूर्णत कानुनी छैन भन्ने पनि छ l यसको
मुख्यालय कहाँ छ र ईन्टरनेटबाट
हुने बाहेक भौतिक उपस्थिति कुन
कुन देशमा छ भन्ने पनि प्रष्ट छैन l सामान्यतया व्यापारिक कम्पनीको वेवसाइट डट
कममा डोमेन दर्ता हुने भए पनि यसको वेवसाइट डट नेटमा दर्ता छ l वेवसाइटमा कम्पनीको
दर्ता तथा
कर्पोरेट कार्यालय, संस्थापक, मुख्य व्यवस्थापक आदिको बारेमा केही उल्लेख छैन l वेवसाइट खोल्नेबित्तिकै गृहपृष्ठमा ‘जहाँ वास्तविकता
समाप्त हुन्छ, त्यहाँ कल्पना शुरु हुन्छ’ (अंग्रेजीबाट गरिएको अनुवाद) भन्ने नारा (स्लोगान) देखिन्छ l यसले
एबाउट असमा लेखेका कुरा पढ्दा कम्प्युटर गेम निर्माण कम्पनीको जस्तै काल्पनिक कुरा
देखिन्छ l त्यसमा
‘हाईपरभर्स लाखौं ग्रहहरूमिलेर बनेको भर्चुअल मेटाभर्स हो।यसमा सहभागीले
साथीहरूसँग जोडिन, विभिन्न
संस्कृति र जीवनशैलीको अनुभव गर्न, व्यवसाय सुरु गर्न र ब्रह्माण्डको
अन्वेषण गर्न सक्छन्’ लेखिएको छ l यस्ता सहभागीलाई उसले ‘भोयजर’ अर्थात ‘लामो यात्राका
यात्री’ भनेको छ l
हाईपर र क्रिप्टो
हाईपरफण्डलगायतका क्रिप्टो ईन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इंग्ल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ l हाईपरफण्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन l क्रिप्टो प्रतिवन्धित बन्दै जाने क्रममा टर्कीले कुनै पनि प्रकारको क्रिप्टोमाथि प्रतिवन्ध लगाईसकेको छ l नाममा ‘करेन्सी’ जोडे पनि यो वास्तविक मुद्रा भने हैन l यसलाई डिजिटल मुद्राको स्वरूप भनिए पनि यसलाई कुनै पनि देश र देशको केन्द्रीय बैंकले प्रत्याभूत गरेको छैन l एक देशमा समानान्तर अर्को मुद्रा चल्न सक्दैन l अचम्म के छ भने नाममा करेन्सी धारण गरे पनि यसलाई किन्न जमानती वा कानुनी मुद्रा (फियट करेन्सी) नै चाहिन्छ l अपवादको रुपमा कहिलेकाहीँ क्रिप्टोले क्रिप्टो किनेको भने हुनसक्छ l क्रिप्टो व्यक्ति व्यक्तिबीच हुने कारोबार हो l यो भौतिक अस्तित्व नभएको तरंग मात्र हो l प्राप्त गर्नेले अंक मात्र प्राप्त गर्छ l हुनत शेयर पनि भौतिक स्वरुपमा नभएर अंकमा देखिन थालेको छ l यसलाई देखाएर क्रिप्टो पनि त्यहि हो भन्ने तर्क आउनसक्ला तर, यस्तो तर्कको कुनै अर्थ हुन्न l शेयरलाइ कम्पनीले प्रत्याभूत गरेको हुन्छ तर, क्रिप्टो कुनै पनि निकाय वा देशले प्रत्याभूत गरेको हुन्न l क्रिप्टो नभनिकन क्रिप्टोकै कारोबार गरिरहेको हाईपरफण्डमा शुरुमा प्रवेश गर्नेले केही लाभ पाए पनि पछि प्रवेश गर्नेको लगानी सुरक्षा कसैले पनि गर्न सक्ने देखिन्न l यसै सन्दर्भमा इंग्ल्यान्डको ‘फाईनान्सियल कन्डक्ट अथोरिटी’ ले यस (हाईपरफण्ड) ले इंग्ल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाईज फाईनान्स) को नाममा अनुमतिबिना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिनको लागि दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म हाईपरफण्ड लगायत कुनै पनि दर्ता नभएको बताएको छ l त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिंदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ l
भारत र नेपालमा क्रिप्टो
कुनै पनि क्रिप्टोप्रति अनुदार देखिएको भारतले यसलाई
शुरुदेखि नै रुचाएको थिएन र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले प्रतिवन्ध लगाएको
थियो l पछि सर्वोच्च अदालतले वस्तुसरह कारोबार गर्न अनुमति दिएको थियो l अहिले
यसको कारोबार वस्तुसरह भईरहेको छ र सेक्युरिटीज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)
लाई कमोडिटीसरह नियमन गर्ने कानुन निर्माण गर्दैछ l पछिल्लो समयमा भारत सरकारले हाईपरफण्डलाइ
पनि निगरानीमा राखेको छ l हाईपरफण्डको बारेमा उजुरी आउन थालेपछि आरबीआई, अर्थ
मन्त्रालय र सेबी आदिले कुनै पनि क्रिप्टोको कारोबार नगर्न चेतावनी दिएको छ l अर्थ
मन्त्रालयले भर्चुअल करेन्सी मुद्रा हैन र यसमा कानुनी शक्ति छैन भनेको छ l
त्यस्तै, आरबीआईले पनि कुनै पनि निकायलाई यस्ता करेन्सी (भर्चुअल) को संचालन वा
लेनदेनको अनुमति नदिईएको बताएको छ l आरबीआईले आफ्नै आधिकारिक डिजिटल करेन्सी ‘ई-रुपैयाँ’
छिटै जारी गर्ने योजना बनाएको बताएको छ l भारतमा सन् २०१८ मा अमित भारद्वाज र विवेक
भारद्वाज नामक दाजुभाईलाइ बिटक्वाइन माइनिंग गरेको र ८ हजार व्यक्तिको २ अर्ब भारतीय
रुपैयाँ ठगि गरेको आरोपमा पुने पुलिसले पक्राउ गरेको थियो l
नेपालमा पनि हालै नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टोकरेन्सीको
कारोबार नगर्न तथा यससँग सम्बन्धित हाईपरफण्ड जस्ता विभिन्न नामका नेटवर्क
मार्केटिंगमा आवद्ध नहुन ध्यानाकर्षण गराएको छ l यस्ता सबै प्रकारका कार्य
गैरकानुनी भएको बताउँदै गैरकानुनी वित्तीय औजार भनेको छ l त्यस्तै, गृहमन्त्रालयले
‘गैरकानुनी आर्थिक क्रियाकलाप’ भन्दै क्रिप्टो र हाईपरमा सहभागी नहुन विज्ञप्ति
प्रकाशन गरेको छ l ईन्टरनेटबाट हुने यस्ता नेटवर्किंग गतिविधिमा संलग्न हुनेलाई
कानुनी कारवाही गरिने व्यहोरा उल्लेख गरेको छ l
No comments:
Post a Comment