खारेजीसम्बन्धी कानुनको एकीकरण आवश्यक
कम्पनीलाई पब्लिक बनाएर स्टक एक्सचेन्जमा शेयर सूचीकरण गराए जस्तै स्टक एक्सचेन्जबाट सूचीकरण खारेज गराएर प्राइभेट लिमिटेड पनि बनाउन सकिन्छ l सूचीकरणमा आउँदा सर्वसाधारणलाई शेयर किन्न आव्हान गरिन्छ भने सूचीकरण खारेज गर्दा तिनै सर्वसाधारणले धारण गरेको शेयर फिर्ता लिइन्छ l यहाँ सर्वसाधारण भन्नाले संस्थागत धारक जस्तैः म्युचुअल फण्ड, बिमा कम्पनी र अन्य संस्थागत निकाय पनि पर्छन् l कम्पनीका प्रवर्द्धकले शेयर किनेर सूचीकरण खारेज गराउन सक्छन l नेपालमा कानुनले बाध्य बनाएका (बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी) र स्वेच्छाले सूचीकरणमा आउने गर्छन l कानुनले बाध्य बनाएर सूचीकरणमा आएका कम्पनीको सूचीकरण अनिवार्य बाहेक स्वेच्छिक खारेजी हुनसक्दैन l तर, स्वेच्छाले सूचीकरणमा आएका कम्पनीले स्वेच्छिक सूचीकरण खारेज गराउन सक्छन l सूचीकरण खारेजी स्वेच्छिक र अनिवार्य गरी दुईप्रकारका हुन्छन् l अनिवार्य खारेजी सहज छ भने स्वेच्छिक खारेजी जटिल छ l कम्पनी खारेज भएमा, गाभिएमा र नियामकीय नीति नियम पालना नगरेमा अनिवार्य खारेजी हुन्छ l सूचीकरणको स्वेच्छिक खारेजी हुँदा कायम शेयरधनीले धारण गरेको शेयरको हैसियत के हुन्छ भन्ने चासो सर्वत्र हुन्छ l नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत थुप्रै कम्पनी के कारणले हराए त्यसको एकमुष्ट जानकारी दिन बजार संचालक नेप्से र बजार नियामक नेपाल धितोपत्र बोर्डले आवश्यक ठानेका छैनन् l डा. चिरन्जीवी नेपाल बोर्डको अध्यक्ष हुँदा हराएको कम्पनी खोजी गर्ने बताए पनि उनी बोर्डबाट बाहिरिएपछि त्यसपछिका अध्यक्षले निरन्तरता दिएनन् l
बुक बिल्डिङ र रिभर्स बुक बिल्डिङ
बुक बिल्डिङ प्राथमिक शेयरको मूल्य कति राख्ने पत्ता लगाउने 'मूल्य अन्वेषण (प्राइस डिस्कोभरी) विधि हो । यसमा तल्लो (फ्लोर) र माथिल्लो (क्याप) मूल्यको सिमा दिएर मूल्य लगाउन आव्हान गरिन्छ । तल्लो र माथिल्लो मूल्यको अन्तर २० प्रतिशतभन्दा बढी हुँदैन l तल्लो मूल्य १ सय रुपैयाँ तोकियो भने माथिल्लो मूल्य १ सय २० रुपैयाँ वा सोभन्दा कम तोकिन्छ र यही तोकिएको सीमामा मूल्य लगाउनुपर्छ l सतहीरुपमा हेर्दा यो विधि लिलामी जस्तो देखिए पनि माथिल्लो मूल्यमा आवेदन गर्नेले त्योभन्दा कम मूल्यमा शेयर पाउँछन् । यस विधिमा मूल्य निर्धारण गर्दा कम्पनी संचालन अवधि, संचित कोष, नेटवर्थ, भविष्यको सम्भावना, प्रतिशेयर आम्दानी, सम्भावित लगानीकर्ताले तिर्न चाहेको मूल्यलाई आधार लिईन्छ । त्यस्तै उस्तै प्रकारको कम्पनी शेयरबजारमा सूचीकरणमा रहेको भए त्यसको बजार भाउलाई पनि एउटा आधार लिइन्छ ।
बुक बिल्डिङको उल्टो रिभर्स बुक बिल्डिङ हो l बुक बिल्डिङमा प्राथमिक शेयर निर्गमनका लागि मूल्य अन्वेषण गरिन्छ भने रिभर्स बुक बिल्डिङमा त्यही शेयर शेयरधनीबाट फिर्ता लिनको लागि मूल्य अन्वेषण गरिन्छ l बुक बिल्डिङमा झैँ रिभर्स बुक बिल्डिङमा पनि कुनै पनि इन्भेष्टमेन्ट बैंक (मर्चेन्ट बैंक) लाई जिम्मा लगाइन्छ l बुक बिल्डिङ र रिभर्स बुक बिल्डिङको मुख्य भिन्नता भनेको रिभर्समा तल्लो मूल्य (फ्लोर प्राइस) मात्र तोकिन्छ, माथिल्लो मूल्य (क्याप प्राइस) तोकिन्न l रिभर्स बुक बिल्डिङमा पनि मूल्य निर्धारण गर्दा अपनाइने विधि लगभग बुक बिल्डिङमा जस्तै हुन्छ l रिभर्स बुक बिल्डिङको उपयोग सूचीकरणमा रहेको कम्पनीको सूचीकरण खारेज गर्दा कायम शेयरधनीलाई कति रुपैयाँका दरले दिएर तिनले धारण गरेको शेयर किन्ने भनेर बहिर्गमन मूल्य (एक्जिट प्राईस) निर्धारण गरिन्छ l
सूचीकरण खारेजको कार्यविधि
स्टक एक्सचेन्जमा सूचीकरणमा रहेको कम्पनीले सूचीकरण खारेज गर्ने निर्णय विशेष सभाबाट पारित गर्नुपर्छ l प्रस्ताव पारित भएपछि सर्वसाधारण शेयरधारकले धारण गरेको शेयर तोकिएको तल्लो वा सोभन्दा माथिको मूल्यमा आफ्नो शेयर बिक्री गर्न शेयरधारकसँग बिक्री प्रस्ताव मागिन्छ l यस्तो प्रस्ताव दिनको लागि निश्चित दिन तोकेर स्टक एक्सचेन्ज वा अनलाईन बिडिङ प्रणाली उपयोगमा ल्याइन्छ l सूचीकरणमा आउनको लागि व्यवसाय नियामकले तोकेको हकमा सोहीअनुसार र नतोकेकोमा कम्तिमा १० प्रतिशत सार्वजनिक निर्गमन गरिएको हुन्छ l सूचीकरण खारेज गराउन चुक्ता पूँजीको ९० प्रतिशत शेयर प्रवर्द्धकले किन्नुपर्ने हुन्छ l यसका लागि मूल्य अन्वेषण गरी तोकिएको तल्लो मूल्यबाट बढ्दो क्रममा शेयर किन्दै जानुपर्छ l माथिल्लो मूल्य नतोकिने हुँदा माथि कतिसम्म जाने भन्ने सिमा हुन्न l जुन मूल्यमा पुग्दा चाहिएको मात्रा (९० प्रतिशत) शेयर प्राप्त हुन्छ सो मूल्यलाइ बहिर्गमन मूल्य भनिन्छ l उदाहरणको लागि सूचीकरण खारेजीको प्रक्रियामा रहेको कुनै कम्पनीमा ७० प्रतिशत शेयर प्रवर्द्धकसंग रहेछ भने सूचीकरण खारेज गरी कम्पनीलाई प्राइभेट बनाउन प्रवर्द्धकभन्दा बाहिर रहेको २० प्रतिशत शेयर प्राप्त गर्नुपर्ने हुन्छ l सो कम्पनीले तल्लो मूल्य ३ सय रुपैयाँ राखेको रहेछ भने यही मूल्यमा पुग्दो शेयर प्राप्त गर्न सक्छ वा सक्दैन l तल्लो मूल्यबाट बढ्दो मूल्यमा चाहिने जति शेयर किन्दै जाँदा मानौं ५ सय रुपैयाँमा पुग्दा भने जति शेयर पाएमा यही ‘बहिर्गमन वा अन्वेषित मूल्य’ हुन्छ l
स्वीकार वा प्रतिप्रस्ताव
प्रवर्द्धकले ‘बहिर्गमन वा अन्वेषित मूल्य’ लाई स्वीकार वा अस्वीकार दुवै गर्नसक्छन l स्वीकार गरेमा निश्चित दिनभित्र धारकबाट शेयर फिर्ता लिई धारकलाई रकम भुक्तानी गर्नुपर्छ l अन्वेषण भएको बहिर्गमन मूल्य प्रवर्द्धकले अस्वीकार गरेमा निश्चित दिनभित्र प्रवर्द्धकले शेयर खरिदको लागि प्रतिप्रस्ताव (काउन्टर अफर) गर्नसक्छ। प्रतिप्रस्ताव गर्दा कम्पनीको कितावी मूल्य (नेटवर्थ) भन्दा माथि र अन्वेषित मूल्यभन्दा कम हुनुपर्छ। कितावी मूल्य २ सय र अन्वेषित मूल्य ५ सय रुपैयाँ आएमा २ सयभन्दा माथि र ५ सय रुपैयाँभन्दा तल बीचको मूल्य प्रतिप्रस्तावमा तोक्नुपर्छ l नियमित रिभर्स बुक बिल्डिङको समयमा आफ्नो शेयर बिक्री गर्न बोलपत्र दिएका र नदिएका दुवै सर्वसाधारण शेयरधारकले प्रतिप्रस्तावलाई स्वीकार गर्दै आफूले धारण गरेको शेयर बिक्री गर्ने प्रस्ताव दिनसक्छन् l प्रतिप्रस्ताव बिडिङको लागि निश्चित दिन तोक्नुपर्छ l यस्तो समय देशीय परिस्थिति अनुसार तोक्न सकिन्छ l
नेपालमा खारेजीको अभ्यास र कानुन
नेप्सेमा सूचीकृत कम्पनीका शेयर सूचीकरण खारेज भएका छन् तर, के कसरी भएका छन् वा हुँदैछन् भन्ने जानकारी छैन l हालै नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग लिमिटेडले स्वेच्छिक सूचीकरण खारेज गर्ने विशेष प्रस्तावसहितको विशेष सभा सम्पन्न गरेको छ l सूचीकरण खारेजीको लागि विशेष कानुनको अभाव छ l यसका लागि छुट्टै विशिष्टीकृत कानुनको निर्माण हुनुपर्नेमा धितोपत्र सूचीकरण तथा कारोबार नियमावलि, २०७५ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा छरिएको छ l यी दुई कानुनमा पनि अस्पष्टता धेरै छन् l शेयरधनीको शेयर कुन मूल्यमा कसरी किन्ने भन्ने स्पष्टता छैन l सूचीकरण खारेजीको प्रसंगमा बुक बिल्डिङको कुरो कता कता नमिले जस्तो देखिए पनि सूचीकरण खारेजीको लागि उपयुक्त विधि बन्नसक्छ l बुक बिल्डिङले शेयर निर्गमन गर्न मूल्य अन्वेषण गराए जस्तै खारेजीमा पनि मूल्यको अन्वेषण गराउँछ l
२९ मंगसिर २०७८, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/399512
No comments:
Post a Comment