Wednesday, March 27, 2019

संस्कृत भाषामा कति शब्द बन्लान्

संस्कृत भाषामा कति शब्द बन्लान् ? पढेर तपाँइ छक्क पर्नुहुनेछ ।
के तपाँइले कहिल्यै सोच्नु भएको छ ? नेपालीमा खा, जा, पठ् जस्ता धातुबाट बन्ने शब्दका रूपहरू कति होलान् ? अझ एउटै 'खा' धातु बाट बन्ने शब्द रूपहरू अनुमान गर्नुस् । जस्तै - खान्छ, खान्छन्, खान्छिन्, खानुहुन्छ, खाइँदै, खान्छे, खान्छस्, खानेछस्, खानेछु, खानुहुनेछ, खानेछिन्, ख्वाइनेछ, ख्वाइनेछिन् आदि । यस्ता शब्दका रूपहरू लिङ्ग, वचन, काल, पुरूष आदिमा चल्दछ । अब अनुमान गर्नुहोस्, कति वटा शब्दहरू बन्ला? कति २०? ५० ? १०० ? २००? वा ५०० ? अझ दिमाखलाइ फराकिलो बनाएर सोच्दा यो अङ्क १००० वा २००० भन्दा माथी जान सक्दैन भनेर पनि अनुमान गर्नु भएको होला। यस्तै अंग्रेजीमा कति बन्लान् त? अरू भाषाहरूमा नी ? तर संस्कृतमा एउटै धातुबाट बन्ने शब्दरूप तपाँइले सोच्न पनि नसक्ने अंकमा बन्दछ । पत्याउनु भएन ? आफैं हेर्नुहोस् ।
संस्कृतमा महर्षि पाणिनिले पदहरूलाइ सुबन्त र तिङन्तगरि दुइ भागमा विभक्त गरेका छन् । नामआदि सुबन्त पदहुन् भने क्रियापदआदि तिङन्त पद हुन् । संस्कृत भाषामा एक -एक धातु बाट लाखौं शब्दहरु बन्दछन् । संस्कृतको विशेषता भनेकै यहि हो । जुन भाषामा शब्दमा विविधता पाइन्छन् त्यो भाषा समृद्ध भाषाको श्रेणीमा आउँछ । अब हामी उदाहरणबाट बुझ्ने कोशिश गरौं ।
संस्कृतमा दश लकार हुन्छन् । लट्, लिट्, लुट्, लृट्, लेट्, लोट्, लङ्, लिङ्, लुङ्, लृङ् । लकारको अर्थ काल हो । लेट् लकार वेदमा मात्र प्रयुक्त हुन्छ । प्रायः व्यवहारमा लेट् लकारको प्रयोग गरिदैन । लिङ् लकारको दुइ भेद हुन्छ । विधिलिङ् र आशीर्लिङ् । यसरी हेर्दा सामान्य व्यवहारमा पनि दश लकारको प्रयोग पाइन्छ ।
प्रत्येक लकारमा तीन पुरूष हुन्छन् । प्रथम, मध्यम र उत्तम पुरूष र प्रत्येक पुरूषमा तीन वचन पनि हुन्छ । एकवचन, द्विवचन र बहुबचन । यसकारण एउटा लकारमा न्यूनतम ९ वटा पदरूप हुन जान्छन् । कहिँ कहिँ त रूपभेदको कारणले यो संङ्ख्या बढ्छ पनि ।
यसरी लट् लकारमा भू धातुको- भवति, भवतः, भवन्ति, भवसि, भवथः, भवथः, भवामि, भवावः, भवामः इत्यादि ९ वटा र बाँकी ९ लकारको रूप पनि यसैगरि बन्दा- ९x१०=९० वटा रूप बन्छ ।
यहाँ यो रूप कर्तृवाच्य परस्मैपदको हो । यदि धातु आत्मनेपदवाला हुन्छ भने यसै गरी ९० वटा रूप बन्छ । यसैगरी कर्म वाच्यमा पनि ९० वटा रूप सिद्ध हुन्छ ।
चाहना भन्ने अर्थमा धातुमा सन् प्रत्यय लाग्दछ । 'बुभूषति' = हुन चाहन्छ । कुनै पनि भाषामा यस्तो विशेषता पाइदैन । 'जिगमिषति'= जान चाहन्छ । यसै गरि यसमा पनि परस्मैपदि र आत्मनेपदि गरी १० लकारमा १८० रूप बन्छ । यसको पनि कर्मवाच्य आदिमा 'बुभूष्यते' आदि ९० रूप बन्छ ।
बार बार हुनु अर्थमा धातुमा यङ् प्रत्यय हुन्छ । यो प्रत्यय एकाच धातुमा मात्र हुन्छ, जसको आदि वर्ण हल वा व्यञ्जन हुन्छ । जस्तै भ् + ऊ -- भू , प+अठ् -- पठ् । यसबाट 'बोभूयते'=आदि ९० रूप बन्छ । यङ् लोप भएमा बन्ने रूप 'बोभवीति' तथा 'बोभोति' आदि एकवचनमा दुइ रूपको कारणले ३०+९०=१२० वटा रूप बन्छ । र यसको कर्मवाच्य, भाववाच्य कर्म कर्तृवाच्य आदिमा पनि १० वटै लकारमा रूप बन्दछ ।
त्यस्तै प्रेरणा अर्थमा धातुमा णिच्, भएर फेरी आत्मनेपद र परस्मै पद गरी १८० वटा रूप बन्छ । जस्तै भावयति, भावयतः, भावयन्ति परस्मैपदिमा र भावयते, भावयेते, भावयन्ते आदि आत्मनेपद रूपमा । यसको संख्या पनि १८० नै भयो ।
त्यस्तै सन्, यङ्, णिच् प्रक्रियाले बने शब्दहरू पुनः मिलेर ९०-९० वटा रूप बन्छ । जस्तै - पुनः पुनः भवितुमिच्छति = 'बोभूयिषते' (फेरि फेरि हुन चाहन्छ ।) , पुनः पुनः भावयितुमिच्छति = बोभूययिषति आदि ।
वेदमा त अझ प्रयुक्त हुने लेट् लकारको धेरै रूप हुन्छन् । जस्तै भू धातुको लेट् लकारको केवल प्रथम पुरूषको एकवचनमा बन्ने रूपहरू - भविषति, भाविषाति, भाविषद्, भाविषाद् , भाविषत्, भाविषात्, भविषति, भविषाति, भविषद्, भविषाद्, भविषत्, भविषात्, भवति, भवाति, भवद्, भवाद् , भवत्, भवात् आदि । त्यस्तै द्विवचनमा ६ खालको रूप, बहुवचनमा १२ खालको रूप, मध्यम पुरूषको द्विवचनमा ६, बहुबचनमा ६, उत्तम पुरूषको एकवचनमा, द्विवचन र बहुवचनमा १२-१२ प्रकारका रूपहरू बन्दछन् ।
अन्य लकार समान लेट् मा पनि आत्मनेपद, भाववाच्य, कर्मवाच्य, सन्, यङ्, णिच् आदि प्रक्रियाबाट पद बन्न सक्छ ।
यसरी केवल 'भू' धातुकाट लेट् लकार सहित सबै ११ वटा लकारमा बन्ने तिङन्तरूप ६३३६ हुन्छ ।
क्रियापदमा निष्पन्न रूपको साथमा लाग्ने, तरप्, तमप्, कल्पप्, देश्य, देशीयर, अकच्, रूपप् आदि केही तद्धित प्रत्यहरू विशिष्ट अर्थमा लाग्दछ । त्यस अनुसार 'भवतितराम्','भवतितमाम्','भवतिकल्पम्','भवतिदेश्यम्', भवतिदेशीयम्, भवतकि, भवतिरूपम् बन्छ । जुन अव संख्यामा ६३३६x७=४४३५२ वटा रूपहरू बन्ने भए । जुन पूर्व रूपसँग मिलेर (४४३५२+६३३६)=५०६८८ रूप हुन्छन् ।
अब उपसर्गमा पनि लागौं न होइन त?
उपसर्गको योगले धातुको अर्थमा विशिष्टता आउँदछ भने कहिँ अर्थ पनि बदलिन सक्छ । जस्तै प्रभवः, पराभवः, सावः, अनुभवः विभवः आभव, अधिभव, उदव, अभिभवः, प्रतिभवः, परिभवः आदि । नेपालीमा जस्तै, आहार, विहार, संहार प्रहार बनेजस्तै । संस्कृतमा जम्मा २२ उपसर्ग छन् । यी उपसर्गको योगमा (५०६८८×२२)= १११५१३६ रूप बन्ने भए । अब जम्मा जम्मी (११,१५,१३६+५०,६८८)= ११,६५,८२४ (एघार लाख, पैंसठ्ठी हजार आठसय चौबिस ) रूप बन्ने भए । जुन केवल भू धातुबाट बन्ने रूपहरू हुन् ।
अझै चित्त बुझेन ?
पाणिनीय धातुपाठमा २००० भन्दा अधिक धातुहरू रहेका छन् । यिनीहरूमा कुनै धातु स्वरादि रहेका छन् जसमा यङ् प्रत्यय नहुने कारणले यङन्त रूपमा कमी हुन्छ । यदि औषतरूपमा बन्ने रूपको संख्या १० लाख मान्ने हो भने पनि सबैधातु बाट बन्ने रूप करीव दुइ अरब (१००००००×२०००)= २,००,००,००,००० बन्छ ।
माथीको संख्या केवल पाणिनीय धातुपाठ बन्ने संख्या हो । यदि पाणिनी अतिरिक्त काशकृत्स्न धातुपाठका लगभग ८०० वटा धातु, सौत्र धातु अष्टाध्यायी र जिनेन्द्र व्याकरण आदिको लगभव २०० धातु जुन पाणिनिकृत व्याकरणमा छैन जोड्ने हो भने १००० धातु बाट फेरि पूर्वोक्त रिती अनुसार करिव १ अरव रूप अरू बन्छ । येसरि जम्मा तीन अरब (३,००,००,००,०००) त संस्कृतमा केवल धातुरूप मात्रै बन्छ ।
काँ यतिमै मात्र सिमित हो र ? अझै बाँकी छ ।
नामरूप आदिको त मैले व्याख्या नै गरेको छुइन नी । यो व्याख्यालाइ म बढाउँदै गर्छु । तपाँइहरूले पनि साथ दिनुहोला है ।
जयतु संस्कृतम् ।।

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...