Tuesday, April 10, 2018

राजनीतिक प्रतिवद्धता र लगानी सचेतना


गत वर्षको यहि बेला झैँ यसपाला पनि शेयरबजार ओरालो झर्नुलाई नियमित तालिका नै मान्नुपर्ने हो कि जस्तो देखिन थालेको छ | बजार ओरालो झर्नुको मूलभूत कारण 'हो' वा 'हैन' जसरी उत्तर दिन सकिने अवस्था छैन | पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन, शेयरबजारमा मुअक, व्याजदर, एनसेलको लाभांश, प्यान अनिवार्य जस्ता घटनालाई मात्र कारण मान्न सकिन्न | पहिलो त्रयमास हेरेर चौथो त्रयमास ठ्याक्कै यस्तै हुन्छ भनेर अंकगणितीय हिसाब निस्कन्न | एकादुई कम्पनीलाई छाड्ने हो भने कुनै पनि कम्पनी घाटामा गएका देखिंदैन | गतवर्ष एकैपटक ५० अर्व भन्दा बढी रकम २ महिना भन्दा बढी समय एकै बैंकमा थुप्रिएपछी बैंकिंग प्रणालीमा अस्तव्यस्तता आउँदा बैंकले नगद प्रवाहलाई कायम राख्न अधिक व्याजदरमा निक्षेप स्वीकारेका परिणामस्वरूप लागत बढेको कारण खूद ब्याज आम्दानीतर्फ कमि भएकोले खूद नाफा घटेको देखिएको हो | साधारणसभाको लागि बुक क्लोज भएपछि शेयर मूल्यमा सामान्यतया गिरावट आउने भए पनि अधिक गिरावट आएको छ |

राजनीतिक प्रतिवद्धता

हालै सम्पन्न निर्वाचनमा एमाले र माओबादी संलग्न बामपन्थी गठबन्धनले बढी स्थान पाएको छ | कुनै नयाँ घटनाक्रमको विकास नभएमा सम्भवत यहि गठबन्धनले सरकार बनाउने पक्कापक्की छ | गठबन्धनको नेता एवम 'प्रतिक्षारत प्रधानमन्त्री' लाई विभिन्न माध्यममा उभ्याएर 'यसो भनिदिनु पर्यो उसो भनिदिनु पर्यो' भन्दै शेयरबजारबारे भाषण गर्न लगाउने कार्यले पूँजीबजारको दीर्घकालीन विकासलाई सम्बोधन गर्दैन | शेयरबजारको दीर्घकालीन विकासको लागि नीतिगत स्पष्टता हुनु जरुरी हुन्छ | अहिलेसम्मको राजनितिक दलको नीतिगत दस्तावेजमा पूँजीबजार प्राथमिकतामा परेको देखिन्न र भविष्यमा पनि परिहाल्ला भनेर अनुमान गर्न सकिन्न | सबै दलको रणनीति र कार्यनीतिमा सहकारीको लागि जे जति शब्द खर्चिएको छ, त्यसको एक चौथाई पनि पूँजीबजारको विषयमा परेको देखिन्न | संसारले अर्व/खर्व लाग्ने आयोजना पूँजीबजार मार्फत सम्पन्न गरेका प्रशस्त उदाहरण भएपनि नेपालमा चुनावी नारा र भोटको लागि वितरणमुखी बजेट बनाउने परिपाटीले वास्तविक क्षेत्रको विकास गर्न कुनै नीतिगत व्यवस्था नगर्दा देश परनिर्भरतामा फस्दै गएको छ |

२०४० सालमा जारी भएको धितोपत्र सम्बन्धि कानुनले 'उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउन पूँजीबजार परिचालन गर्ने सोच राखेको थियो | कानुन जारी भएको ३ दशक नाघिसक्दा समेत पूर्वाधार विकास र निर्यातमूलक उद्योगको लागि पूँजीबजारबाट पूँजी परिचालन गर्न प्रोत्साहनयुक्त नीतिगत व्यवस्था नहुनुले अहिलेको दलीय र शासकीय प्रतिवद्धता छैन भनेर बुझ्न सकिन्छ | दलीय प्राथमिकतामा परेको सहकारीले ८ अर्व भन्दा बढी रकम अपचलन गरेको तथ्य सार्वजनिक भईसक्दा पनि दल उही सहकारीको आलाप गाउन छाड्दैन | यसको अर्थ सहकारीलाई महत्वहीन हो भन्न खोजिएको हैन | त्यो भन्दा वृहद क्षेत्र ओगट्ने र अर्थतन्त्रलाई प्रतिविम्वित गर्ने पूँजीबजार दलीय र शासकीय प्रतिवद्धताता परेन भन्ने हो | अथाह प्राकृतिक स्रोत र साधनको परिचालन गरी निर्यातमूलक उद्योग स्थापना गरि देशलाई समृद्ध बनाउने कार्यमा पूँजीबजार जतिको सहयोगी अरु क्षेत्र हुनसक्दैन | भएका उद्योग व्यापारलाई पूँजीबजारमा ल्याउन प्रोत्साहनयुक्त नीतिगत व्यवस्था नगर्नुको कारण अप्रत्यक्षरुपमा दलीय नेताको लगानी हुनु, पारदर्शिता देखाउनुपर्ने, सर्वसाधारण समुहबाट संचालक ल्याउनुपर्ने हुँदा सहकारीमा जस्तो अपचलन गर्न पाइन्न | 'नेपाल विद्युत प्राधिकरण ऐन २०४२' मा सर्वसाधारणलाई शेयर जारी गरिने भनेर गरिएको व्यवस्थालाई कार्यान्वयन नगर्नु दलीय स्वार्थ हावी रहनु हो | आयल निगम, वायुसेवा निगम, नेपाल औषधि कम्पनी जस्ता कयौं कम्पनीलाई पूँजीबजारमा ल्याउन सकिन्छ तर दलीय सरकार यस्ता कम्पनीलाई ल्याउन चाहिरहेको छैन | अरवौं कारोबार गर्ने दूरसञ्चार, वायुसेवा, औषधि, सिमेन्ट, डण्डी पूँजीबजारमा ल्याउन कहिल्यै नीति बनेन | केन्द्रीय बैंक र विमा समितिले ठेलेर ल्याएको बैंक र बिमा कम्पनीले धानेको बजारमा भाषण गराएर २ दिन त बढ्ला त्यसपछि अर्को मसला खोज्नुपर्ने हुन्छ | कान मन्तरेर भाषण गराएको भरमा दलीय ध्यान आकृष्ट गराउन सकिएला भनेर कदापी पनि विश्वस्त हुन् सकिने स्थिति बन्दैन |  

अरुको भरमा लगानी

एकातिर राजनीतिक प्रतिवद्धता र अर्कातिर लगानीकर्तामा लगानी सचेतना छैन | यी दुबैको पूर्ण सामन्जस्यता शेयरबजारमा अभूतपूर्व छ | शेयरबजारमा लगानी गरेर पाइने पूँजीगत लाभ बाहेक प्रतिफल हेर्ने गरिएको छैन | फेसबुकका समुहमा एकै व्यक्तिले दर्जनौं खातामार्फत 'म्यानुपुलेसन' गर्न फुर्काउने उद्देश्यले लेखेको सामग्री पढेर आदर्श पात्र मान्दै देवत्वकरण गर्दा आफ्नो झोली डुबेको पत्तो नपाउने धेरै छन् | कुरा सबैको सुनेर निर्णय आफैले गर्नुपर्छ तर कस्तो कम्पनीमा लगानी गर्दैछु, किन गर्दैछु भन्ने सामान्य हेक्का समेत नराखी लगानी गर्दा घाटा पर्न थालेपछि एक्सचेन्ज, दलाल र अन्य लगानीकर्ताले भाउ घटाए भन्दै गालीगलौज गर्दा मनको तुष मेटिए पनि लगानी फिर्ता आउँदैन | २० रुपैयाँ मुठाको साग किन्दा २० पल्ट ओल्टाई-पल्टाई हेरे जस्तै २० सौं लाख लगानी गर्दा त्यो भन्दा बढी ओल्टाई-पल्टाई हेर्नुपर्छ | शेयर र शेयरबजार के हो भन्ने सामान्य अर्थ समेत नबुझी शेयर किनेर महिना दिन नपुग्दै दोब्बर लाभको मनगढन्ते कल्पनाशीलतालाई लगानी गर्ने आधार बनाउन हुन्न |   

नवजात शिशु हुर्काउन बाबु-आमा र शेयरबजारबाट लाभ लिन लगानीकर्ताले त्यति नै ध्यान पुर्याउनुपर्छ | यति र उति हकप्रद वा बोनस दिन्छ भन्ने अपुष्ट हल्लाको पछि लागेर लगानी हुँदैन | चिलिमेलाई हकप्रद मार्फत पूँजी संकलन गर्न आवश्यक छैन भन्ने यथार्थलाई नबुझी ५० प्रतिशत हकप्रद जारी गर्ने हल्लाको पछि लाग्नु 'मृगतृष्णा' बाहेक अरु केहि हैन | चिलिमे जस्तो कम्पनीले हकप्रद जारी गर्छ भन्ने पत्याउनेका लागि अन्य कम्पनीको शेयर 'म्यानुपुलेसन' गराउन देवत्वकरण गरिएका आदर्श पात्रले सजिलै दिमाग भुट्न सक्छन | शेयर लगानी गर्दा हकप्रद हैन, कम्पनीको आर्थिक सवलता, आम्दानी वृद्धि, लगानी वृद्धि जस्ता आधार हेरेर गर्नुपर्ने हुन्छ | लगानी गर्नेले कम्तिमा वासलात र नाफा-नोक्सान हिसाब आफैंले बुझ्नसक्ने हैसियत राख्नुपर्छ | शेयर लगानीको लागि यी सामान्य कुरा हुन्

अधिक हकप्रद अनुपात

लगानी के का लागि भन्ने प्रष्ट छैन भन्ने तथ्यलाई केहि कम्पनीले जारी गर्न लागेको अधिक अनुपातका हकप्रदको पछी लाग्नुले पनि प्रष्ट पारेको छ | अबका दिनमा हकप्रद जारी गर्ने सम्भावना नभएका कम्पनीका मुल्य अत्यन्त तल झरेकोछ | मूल्य अत्यन्त तल झरेका कम्पनीले दिनसक्ने वार्षिक प्रतिफल सरदर २० प्रतिशत देख्न सकिन्छ र यस्ता कम्पनीका शेयर अहिले बजारमा बढीमा ३ सय मूल्यमा 'दशैको मासु र तिहारको सेल' झैँ फालाफाल देखिन्छ | कविशिरोमणि लेखनाथ पौडेलले एउटा कवितामा 'काग र डुलुवा कुत्तासम्म, भात नहेर्ने यो छ अचम्म' भने झैँ स्थिति बजारमा देखिएको छ | १ सय, २ सय, ४ सय, ६ सय प्रतिशत हकप्रद घोषणा गरेका कम्पनीको भाउ हेर्दा बजार प्रतिफलले हैन यस्तै खालका घोषणाले मात्र चलेको देखिएको छ | अधिक हकप्रदपछि कम्पनीले कसरी लाभ देला भन्ने सामान्य हिसाब गर्न नसक्नु लगानीकर्तामा लगानी सचेतनाको कमि हो |

अन्तमा, राजनीतिक प्रतिवद्धता र लगानी सचेतनामा सामन्जस्यता भएमा शेयर लगानीबाट धेरै नाफा नभए पनि लगानी डुब्दैन |

अभियान दैनिकमा प्रकाशित

1 comment:

Unknown said...

लहर तान्दा पहरा हल्लिने बजार भयो नेपाली शेयर बजार, पैस्सा सकिएपछि राइट दिने हो कि बोनस दिने हो आँखा देख्न छाड्दो रहेछ | आँखा खुला भएपनि विचार बन्द हुँदो रहेछ सर | तर त्यसो गर्न नहुने रहेछ | लेख र विचार धेर उत्तम लाग्यो हजुर | यो लेख अझै २/३ बर्ष उत्तिकै शान्दर्भिक रहनेछ |

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...