वित्तीय
क्षेत्रमा प्रचलित 'शेयर' अंग्रेजी भाषाबाट आएको आगन्तुक शब्द हो | सामान्य
बोलीचालीमा ‘शेयर’ भन्नाले 'बाँड्नु', र 'मिलेर उपयोग गर्नु' भन्ने अर्थ पनि लाग्छ
| शेयरको नेपाली रुपान्तरित शब्द नभएकोले नेपालमा पनि शेयर नै भन्ने गरिएको छ | अंग्रेजीमा ‘शेयर’ को समुहलाई ‘स्टक’, नेपालमा
‘धितोपत्र’ र भारतमा 'प्रतिभूति' भनिन्छ
| शेयर लगानी जोखिम र नाफा दुबैको संगमस्थल हो |
साधारण र
अग्राधिकार शेयर
सामान्य बुझाईमा
प्राथमिक निष्काशन (आइपिओ/एफपिओ)
मार्फत बिक्री गरिने पूँजीको अंश शेयर हो | तर वृहद अर्थमा कम्पनीको सम्पूर्ण पूँजी
(आइपिओ/एफपिओ र संस्थापक शेयर) साधारण शेयर हो | दुबै प्रकारका शेयरधनीले समान
लाभांश (बोनस वा नगद), मतदान गर्न र संचालक हुन पाउँछन | निश्चित
लाभांश प्राप्त हुने अग्राधिकार शेयर पनि हुन्छ | यसको स्वभाव केहि हदसम्म साधारण
शेयर र ऋणपत्रसँग मेल खाने भएकोले यसलाई ठिमाह शेयर पनि भनिन्छ | अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुनसक्ने र ऋणपत्रमा जस्तो निश्चित
लाभ (व्याज) पाइने भएकोले यसो भनिएको हो | अग्राधिकार शेयरधारकले अग्राधिकार शेयरकै
विषयमा हुने मतदानमा भाग लिन सक्छन | संस्थापक, आइपिओ/एफपिओ,
दोस्रोबजार (स्टक एक्सचेन्ज) वा लिलामी मार्फत शेयर लगानी गर्न सकिन्छ |
कम्पनी र शेयरधनी
कम्पनी
कानुनी व्यक्ति हो | कुनै भवितव्य परेर सबै शेयरधनीको एकैपटक मृत्यु भए पनि कम्पनी
जीवित रहन्छ | खारेजी वा दामासाहीमा परेमा मात्र कम्पनीको अस्तित्व समाप्त हुन्छ |
शेयरमा लगानी गर्नेले लगानीको अनुपात अनुसार
मुनाफामा समानुपातिक लाभ पाउँछन | कम्पनीको दायित्व असिमित हुन्छ तर शेयरधनीको
दायित्व सिमित हुन्छ | कम्पनीका साहु (कम्पनीलाई ऋण
दिने वा सामान आपूर्ति व्यक्ति वा संस्था) ले शेयरधनीबाट दायित्व भराउन सक्दैनन् | कम्पनीको दायित्व बढी भइ दामासाहीमा परेमा कम्पनीको सबै जायजेथा
बेच्दा पनि साहु तिर्न नपुगेको रकम शेयरधनीले घरघरानाबाट जायजेथा ल्याएर तिर्नुपर्दैन
| तर कम्पनी संचालकले बदनियत गरेर घाटा पुर्याउने नियत राखेको पुष्टि भएमा भने
तिर्नु/बुझाउनुपर्छ |
शेयर लगानीका
फाईदा
स्थान,
सम्भाव्यता, समय, जनशक्ति जस्ता पूर्वाधार विना थोरै रकमबाट शेयर लगानी गर्न
सकिन्छ | घर/कार्यालय वा हिंड्दाहिड्दै खरीद-बिक्री आदेश दिन सकिन्छ | एउटा कम्पनी छाडेर अर्को कम्पनीमा जान सकिने लचकता
पनि हुन्छ | बिक्री गर्दा लाग्ने सामान्य कमिसन, अन्य शुल्क र नाफा भएमा पूँजीगत
लाभकर बाहेक कुनै रकम तिर्नुपर्दैन | व्यापार/व्यवसाय बढ्दोरुपमा
रहेको कम्पनीले हरेक साल वा केहि वर्षको अन्तरमा पूँजी वृद्धि गर्ने हुँदा लगानी
अझ बढ्दै जान्छ | थोरै रकमबाट शुरु हुने यस्ता लगानी बढ्दै जाँदा सन्तान-दरसन्तानको
लागि आयको राम्रो स्रोत बन्नसक्छ | शुरुको लगानी शून्य भएर
सित्तैमा नाफा प्राप्त हुने र यसले खर्च चलाउन आम्दानीको लागि गर्नुपर्ने थप
मेहनतको भार समेत कम गरिदिन्छ | शेयर अत्यन्त तरल सम्पत्ति भएकोले
जुनसुकै बेला बेचेर गर्जो टार्न सकिन्छ |
परिमाण र परिणाम
विश्लेषण
वार्षिक
प्रतिवेदन, कम्पनी संचालनको स्थिति एवम अन्य परिमाणात्मक तथ्यांकको आधारमा वित्तीय
विश्लेषण गरि आधारभूत पक्ष हेरिन्छ | कम्पनीको परिमाणात्मक विश्लेषणमा संचालन तथा गैर-संचालन आम्दानी, खूद आम्दानी,
प्रतिशेयर आम्दानी, खूद सम्पति (नेटवर्थ), ऋण, विगतको लाभांश, मूल्य-आम्दानी अनुपात, शेयरधनीको
कोषमा प्रतिफल (रिटर्न अन इक्विटी) र कुल सम्पत्तिमा प्रतिफल (रिटर्न अन एसेट)
लगायतका अनुपात हेर्नुपर्छ | यस्तो विश्लेषण गर्दा उस्तै प्रकारका अन्य कम्पनी,
समग्र बजार, कम्पनीको अगिल्लो समयको प्रस्तुति
समेत हेर्नुपर्छ |
परिणामात्मक विश्लेषण
गर्दा व्यवस्थापकीय अनुभव एवम प्रस्तुति, प्रतिष्पर्धात्मक वातावरण, सरकारी नीति, समग्र
अर्थतन्त्र, व्यापार कौशल, व्राण्ड लगायत पक्ष हेरिन्छ |
यसको मापन अंकमा गर्न सकिन्न | यस्ता पक्ष सवल भएमा त्यसको प्रभाव परिमाणमा
देखिन्छ | परिमाण र परिणामको संयुक्त पक्ष नै कुशल व्यवस्थान हो | यस्ता पक्ष हेरेर लगानी गर्दा दैनिक मूल्यमा हुने परिवर्तनले तात्त्विक
असर पर्दैन | शेयर लगानीबाट छिटो नाफा खोज्नेको लागि यी कुराहरु अनर्थ/व्यर्थ हुन्छ
|
उत्पादक कि
अनुत्पादक
शेयर लगानी उत्पादक
र अनुत्पादक दुबै हो | प्राथमिक बजार (आइपिओ/एफपिओ)
मार्फत गरिने लगानी उत्पादक हो भने दोस्रोबजारमा स्पेकुलेशन गरेर गरिने लगानी
अनुत्पादक मात्र हैन थाम्नै नसकिने जोखिम पनि हो | दोस्रोबजारमा ओभर स्पेकुलेशन
गरेर गरिने कारोबारले पूँजी निर्माण नहुने र सट्टेबाजले मूल पूँजी नै गुमाईदिन
सक्छन | केहि समय अघि बंगलादेशका अर्थमन्त्री अबुल मल अब्दुल मुहिथले 'पूँजीबजार
स्पेकुलेशन गर्ने थलो नभएको', 'भाग्यमा हैन बजारको पर्याप्त ज्ञान लिएर लगानी गर्न'
र 'स्पेकुलेशनको थलो सम्झने बजारका शत्रु हुन्' भनेका थिए | यहि कुरा अर्थमन्त्री
युवराज खतिवडाले पनि भन्दा उत्पादक र अनुत्पादकको निरर्थक बहस शुरु भएको हो |
लगानी वा
व्यापार
व्यापार र लगानीका
आफ्नै मान्यता हुन्छ | शेयरमा गरिने लगानीको पनि आफ्नै मान्यता छ | शेयरमा दीर्घकालीन
लगानी र सट्टाबाजी दुबै गर्न सकिन्छ | सट्टाबाजी गर्दा कम्पनीको परिमाणात्मक र
परिणामात्मक विश्लेषणले कुनै मतलव राख्दैन | सट्टेबाजले शेयर कारोबारलाई मापन
गर्ने सूचकलाई आधार बनाएर अफवाह फैलाउने गर्छन | यतिमा झर्ने र उतिमा पुग्ने भन्दै
मनोवैज्ञानिकरुपमा त्रसित बनाउने औजारको रुपमा उपयोग गर्ने सूचक कसैले पिंजडामा
थुनेर राखेको छैन | सूचक बाहेक बेलाबेलामा चुनाव, दलीय सिद्धान्त, व्यक्ति, घटना, प्रवृत्ति
जस्ता अमूर्त कुरालाई आधार बनाएर त्रास फैलाउनेको पनि कमि छैन | यस्ता प्रवृतिधारीलाई
परिमाणात्मक र परिणामात्मक पक्ष केहि थाहा हुन्न | सट्टाबाजी गर्ने खेलमा सामेल नभई
प्रतिफलमा आधारित लगानी गर्दा दीर्घकालीनरुपमा प्रशस्त नाफा कमाउन सकिन्छ | सट्टाबाजी
भन्दा दीर्घकालीन लगानीले अधिक नाफा कमाएको उदाहरण पर्याप्त पाइन्छ |
शेयरबजार वा
स्टक एक्सचेन्ज
घर, जग्गा, रुख
अचल तथा कुखुरा, बाख्रा, गाई जस्ता दोपाया-चौपाया जस्तै शेयर चल सम्पत्ति हो | सबै
सम्पत्ति हस्तान्तरणयोग्य हुन्छन | अचल सम्पत्ति हस्तान्तरणमा केहि शर्त बन्देज
हुन्छ | चल सम्पत्ति हस्तान्तरणमा सामान्यतया कुनै शर्त बन्देज हुन्न तर शेयर हस्तान्तरण
गर्दा कानुनी रीत पुरा गर्नुपर्छ | घर/जग्गा आधारभूत सम्पत्ति भएको र पुस्तागत
हस्तान्तरण हुँदै जाने हुँदा यस्ता सम्पत्ति हस्तान्तरण भएको अभिलेख राख्ने कार्यको
लागि प्रत्येक जिल्लामा एउटा सरकारी अड्डाकोरुपमा मालपोत कार्यालय रहेको हुन्छ | शेयर
ऐच्छिक लगानी भएकोले यसको हस्तान्तरणको लागि मालपोत कार्यालय जस्तो हरेक जिल्लामा हस्तान्तरण
गर्ने अड्डा आवश्यक हुन्न | शेयरको हस्तान्तरण गर्ने मालपोत कार्यालयकोरुपमा स्टक
एक्सचेन्ज रहेको हुन्छ, यसैलाई शेयरबजार पनि भनिन्छ | स्टक एक्सचेन्जको शुरुवात नहुँदा
कम्पनी रजिष्ट्रार कार्यालयले हस्तान्तरण गर्ने प्रवन्ध रहेको थियो | अहिले यहि
कार्य नेपाल स्टक एक्सचेन्जले गर्ने गर्छ | बोलीचालीमा सम्पत्ति/शेयर बेच्ने भनिए पनि
वास्तवमा स्वामित्व हस्तान्तरण हो | स्वामित्व हस्तान्तरण गर्दा धारक मात्र फेरिन्छ,
नयाँ सम्पत्ति सिर्जना हुँदैन | परल मूल्य भन्दा कम वा प्रिमियम जुन मूल्यमा शेयरको
स्वामित्व हस्तान्तरण भएपनि कम्पनीलाई कुनै फाइदा/घाटा हुन्न |
अन्तमा, शेयरमा
गरिने लगानीको मूल उद्देश्य लाभ वा प्रतिफल हो | सट्टाबाजीमा प्राप्त हने लाभ
सांयोगिक भएकोले यसलाई बढी भार दिइनुहुन्न | बजारमा धेरै सट्टाबाजी हुँदा शेयर
मूल्यमा दवाव परेर गिरावट आउँदा दीघकालीन लगानी गर्नेको लागि यस्तो समय अवसर बन्न
सक्छ | शेयरकोको स्वामित्व हस्तान्तरण तत्कालिन गर्जो टार्नको लागि भैंसी बेचे
जस्तो हो |
अभियान दैनिकमा २०७५ साल बैशाख ३ गते प्रकाशित
2 comments:
नबुझिएको र बुझे जस्तो भएको तर गलत एकोहोरो पाटोमा मात्र बुझिएको धेरै कुराहरुलाई केहि बृहत रुपमा बुझ्ने मौका दिनु भएकोमा धेरै धेरै धन्नेबाद हजुर |
धन्यवाद शिशिरजी टिप्पणीको लागि | नबुझेका अन्य कुनै विषय भए भन्नुहोला बुझाउने प्रयास गर्नेछु |
Post a Comment