Monday, April 9, 2018

फाइनान्स कम्पनीको अर्धवार्षिक समीक्षा

आर्थिक वर्ष (आव) २०७२/७३ सालको मौद्रिक नीतिले वित्त कम्पनी (फाइनान्स) लाई पनि ४ गुणा पूँजी वृद्धि गर्नुपर्ने निर्देशन दियो । पूँजी पुगेको नारायणी नेशनल र नजिक पुगेको सगरमाथा क्रमशः सनराइज र सेञ्चुरी बैङ्कमा विलय भए । सुदूरपश्चिमको सेती सेञ्चुरीमै विलय भयो । पहिले तोकिएको पूँजी नपुर्‍याएको युनियन देवमा विलय भयो । दाङको नमस्ते सोही ठाउँको वेस्टर्न बैङ्कसँग गाभिने प्रक्रियामा रहेको छ । महालक्ष्मी अन्य फाइनान्स गाभ्दै विकास बैङ्कमा उक्लिएर यती बैङ्कसँग गाभिँदै राष्ट्रियस्तरको विकास बैङ्क बनेको छ । लुम्बिनी भिवोर सोसाइटीसँग गाभिएर लुम्बिनी विकास बैङ्क बनेको छ । अरुण, सिटी एक्सप्रेस (साविक कुवेर), ललितपुर र बेष्ट (साविक जनरल) समस्याग्रस्तबाट मुक्त भएका छन् भने नेपाल, वल्र्डमर्चेण्ट, नेपाल शेयर मार्केट र क्यापिटल मर्चेण्ट अझैसम्म पनि समस्याग्रस्तकै कोटिमा छन् । सिनर्जी बेष्टमा विलय हुन लागेको छ । गाभिन/विलय हुन लागेका र क्षेत्रीयस्तरका समेत गरी २५ ओटा फाइनान्स रहेका छन् ।

अवधि थप
 
पुस मसान्तसम्म पाँचओटा फाइनान्सले पूँजी पुर्‍याएका छन् भने बाँकी रहेका २० ओटामध्ये समस्याग्रस्त र समस्याग्रस्तबाट उत्रिएकाले थप समय पाएका छन् । मञ्जुश्रीले ५ प्रतिशत हकप्रद पश्चात् नपुग हुने पूँजीका लागि बोनस जारी गर्नुपर्ने हुन्छ । पोखरा फाइनान्सले पनि जारी गरिरहेको १५ प्रतिशत हकप्रद पश्चात् ७ प्रतिशत नपुग हुन्छ । जेविल्सले पनि ४० प्रतिशत हकप्रद पश्चात् बोनस जारी गर्ने भएको छ । रिलायन्सले जारी गरिरहेको हकप्रद पश्चात् पनि पूँजी पुग्ने छैन । सेण्ट्रलले जारी गरिरहेको ५० प्रतिशत हकप्रद पश्चात् पनि करीब २ करोड अपुग हुन्छ । श्री इन्भेष्टमेण्टले जारी गरिरहेको ८३ प्रतिशत हकप्रद पश्चात् २७ प्रतिशत पूँजी नपुग हुने देखिएको छ ।

समस्याग्रस्तबाट मुक्त भएका अरुण, बेष्ट, सिटी एक्सप्रेस, ललितपुर तथा समस्याग्रस्तकै रूपमा रहेका वर्ल्ड मर्चेण्ट, क्यापिटल मर्चेण्ट, नेपाल शेयर मार्केट र नेपाल फाइनान्सलाई अर्को २ वर्ष अवधि थप गरिएको छ । क्षेत्रीयस्तरका सृजना, जानकी र मल्टीपर्पसलाई पनि थप अवधि दिइएको छ ।


निक्षेप र लगानी

आईसीएफसी र जेविल्स क्रमशः ७ अर्ब ५७ करोड र १ अर्ब १० करोडसहित पहिलो र अन्तिम लहरमा परेका छन् । त्यसपछि क्रमशः युनाइटेड, मञ्जुश्री, गुडविल, गोर्खाज, पोखरा, श्री, सेण्ट्रल र गुह्येश्वरी १० स्थानभित्र परेका छन् । क्षेत्रीयस्तरको भएर पनि सृजनाले ३ अर्ब ८० करोड हाराहारीमा निक्षेप लिएर राष्ट्रियस्तरलाई चुनौती दिएको छ । समस्याग्रस्तबाट मुक्त भएका फाइनान्सको अहिल्यै निक्षेप खोज्नु उचित हुन्न । जेविल्सको जत्तिकै निक्षेप भएको सिनर्जी बेष्टमा विलयको अन्तिम चरणमा पुगेको छ । समस्याग्रस्त, समस्याग्रस्तबाट मुक्त तथा गाभिन/विलय हुन लागेका बाहेक राष्ट्रिय र क्षेत्रीयस्तरका १४ ओटा फाइनान्ससँग ४० अर्बभन्दा बढी र औसत २ अर्ब ८९ करोड निक्षेप रहेको छ । राष्ट्रियस्तरको रिलायन्स फाइनान्सको अर्धवार्षिक वित्तीय प्रतिवेदन अप्राप्य रहेकाले यसलाई गणना गरिएको छैन ।

गोर्खाज्, गुडविल, मञ्जुश्री, युनाइटेड र आईसीएफसीले ४ देखि ६ अर्बसम्म लगानी गरेका छन् भने पोखरा, श्री, सेण्ट्रल र गुह्येश्वरीले ३ अर्बसम्म लगानी गरेका छन् । क्षेत्रीयस्तरको सृजनाले २ अर्ब ८९ करोड लगानी गरेको छ । राष्ट्रिय र क्षेत्रीयस्तरका १४ ओटा फाइनान्सले ३४ अर्बभन्दा बढी र औसत २ अर्ब ४८ करोड लगानी गरेका छन् ।

सूचकहरूको स्थिति
पोखरा फाइनान्सले ८ दशमलव ५ प्रतिशतमा पाएको निक्षेप सबैभन्दा सस्तो र मल्टीपर्पसको ११ दशमलव १५ प्रतिशत महँगो दर हो । राजधानी केन्द्रित रहेका फाइनान्समा गोर्खाजले ८ दशमलव ८८ प्रतिशतमा पाएको निक्षेप तुलनात्मकरूपमा न्यून हो । आईसीएफसीले ९ प्रतिशत हाराहारीमा पाएको छ । ९ प्रतिशतभन्दा बढी लागत तिर्ने ६ ओटा र १० देखि ११ प्रतिशत तिर्ने चारओटा रहेका छन् । सबै तहका फाइनान्सको लागत औसत ९ दशमलव ५५ प्रतिशत रहेको देखिन्छ ।

फाइनान्सहरूको सामान्य अवस्थामा पनि ब्याजदर बढी हुने भएकाले लगानी दर अलि बढी हुनुलाई सामान्य नै मान्नुपर्ने हुन्छ । अहिले निक्षेपको लागत बढेको अवस्थामा पनि फाइनान्सले लिएका कर्जाको ब्याजदर हेर्दा आत्तिहाल्नुपर्ने अवस्था देखिएको छैन । न्यून आधार दर पोखरा फाइनान्सको छ भने अधिक प्रोग्रेसिभको देखिएको छ । मल्टीपर्पसले आधार दर खुलाएको छैन । १३ ओटाको औसत १२ दशमलव ६४ प्रतिशत रहेको देख्न सकिन्छ ।

मञ्जुश्रीले सबैभन्दा न्यून ३ दशमलव ६५ प्रतिशत स्प्रेडमा लगानी गरेको छ । गुडविलसहित सातओटाले ४ देखि ५ प्रतिशत र गोर्खाजले ५ दशमलव १ प्रतिशत लिएको अन्तर नै सबैभन्दा अधिक हो । आईसीएफसीसहित पाँचओटाले स्प्रेड उल्लेख गरेका छैनन् । स्प्रेड उल्लेख गरेका नौओटा फाइनान्सको औसत स्प्रेड दर ४ दशमलव ५ प्रतिशत रहेको छ ।

पूँजी वृद्धि भएकाले पूँजीकोष सामान्यभन्दा बढ्नु स्वाभाविक हो । भर्खर–भर्खर पूँजी प्राप्त भएकाले लगानी हुन नसकेको हुँदा यस्तो कोष बढेको देखिएको छ । १४ दशमलव २३ प्रतिशत पूँजीकोष कायम गरेर आईसीएफसी तुलनात्मक रूपमा न्यून र जेविल्स ४५ दशमलव ४३ प्रतिशतसहित अधिक देखिएको छ । औसत २४ दशमलव २४ प्रतिशत पूँजीकोष रहेको छ ।

अन्तमा, बेलाबेलामा फाइनान्स मास्नुपर्छ भन्ने आवाज उठ्ने गर्छ । यसो भन्नेले सानास्तरका वित्तीय संस्थाको महत्त्वलाई कमजोर ठानेका हुन् । लघुवित्तले दिने कर्जा पर्याप्त नहुने र ठूला बैङ्कमा जान पनि नसक्ने वर्गका लागि वित्तीय स्रोत परिचालन गरिरहेका फाइनान्सलाई मास्ने हैन अझ बढी प्रवद्र्धन गरिनुपर्छ । कुनै बेला सहकारीलाई ‘फाइनान्स’ लेख्न छूट दिँदा तिनले अर्बौं रकम अपचलन गरी बेपत्ता हुँदा ‘धान खाने मुसो….भ्यागुतो’को स्थितिमा फाइनान्स पुगेका छन् । केन्द्रीय बैङ्कले फाइनान्स (वित्तीय संस्था) भनेर वर्गीकरण गरे पनि कार्य भने ‘युनिभर्सल बैङ्किङ’को गरिरहेकाले ‘ख’ वर्गका विकास बैङ्क भनिएजस्तै फाइनान्सलाई ‘ग’ वर्गको बैङ्क लेख्न पाउने गरी बैङ्किङ कानूनमा अविलम्ब संशोधन गर्नु आवश्यक रहेको छ ।

http://www.abhiyan.com.np/2018/03/05/185177

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...