धितोपत्र दर्ता तथा
निष्कासन नियमावली २०७३ को अनुसूची १६ मा लाभांश घोषणालाई पनि ‘विशेष घटना वा
परिस्थिति’ भनेर सूचीकरण गरिएको छ | नियमावलीको नियम २६(५) मा ‘धितोपत्र सूचीकरण
गराएको सँगठित संस्थाले सूचिकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना
वा कारोबार भएमा त्यस्तो विषयको सूचना ३ दिनभित्र वोर्डमा पेश गर्नुपर्नेछ’ भन्ने
व्यवस्था गरेको छ | शेयरबजार सूचना संवेदनशील भएकोले मूल्यमा प्रभाव पार्न सक्ने सकारात्मक
वा नकारात्मक जस्तोसुकै गतिविधि भए पनि सो को जानकारी गराउनुपर्छ | संवेदनशील
सूचनाहरु एकपटक जारी गरिसकेपछि सच्याउने कार्यलाई स्वस्थ बजारको सूचक मान्न सकिन्न
|
पहिलो र दोस्रो
सूचना
नेपाल इन्भेष्टमेन्ट
बैंकको संचालक समितिले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय
नेप्सेको वेवमा सार्वजनिक भयो | बजार निरन्तर घटिरहेको र केन्द्रीय बैंकले तोकेको पूँजी
पुगिसकेका (तोकेको भन्दा झन्डै १ अर्ब २५ करोड बढी पूँजी भएको) बैंकले अबदेखि नगद
लाभांश मात्र दिन्छन भन्दै शेयर किन्न नै छाडिसकेका लगानीकर्तालाइ बैंकको निर्णय
पश्चात संजीवनी बुटीले जस्तै उत्साह थपेको थियो | तर यो उत्साह धेरै बेर कायम रहेन
| बैंकको तर्फबाट प्रस्ताव गरिएको लाभांश सम्बन्धि निर्णयको पत्र ‘टंकन’ गर्ने
क्रममा उल्टो परेको र वास्तविक अंक १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश हो
भन्ने संशोधित सूचना पुन: नेप्सेको वेव मार्फत सार्वजनिक भयो | केहि बेर अघिसम्म
शेयर किन्न उत्साहित देखिएका लगानीकर्ताको उत्साह सेलायो र बढिरहेको बजार र बैंकको
भाउ घट्न लाग्यो | यसले अर्को संशय समेत थपिदियो | यो सूचना पनि संशोधन भएर अर्कै
पो आउने हो की !
बोनस हैन शुद्ध
सूचना
बैंकको लाभांश घोषणा
सम्बन्धि दुइथरी सूचना आएपछि लगानीकर्ता र लगानीकर्ता संघ तथ्यमा प्रवेश नगरी हिलो
छ्यापाछ्यापमा लाग्नु कसूरदारलाई उन्मुक्तिको मार्ग प्रशस्त गरिदिनु हो | दलाल,
नेप्से र ठूला लगानीकर्ताको शंकास्पद व्यवहार भन्दै लगानीकर्ता र लगानीकर्ता संघ कुर्लिए
तर बैंक विरुद्ध उजुरी गर्न कोहि गएनन् | ऐनमा वर्णित ‘झुक्क्याउने’ सूचना दिई हानी-नोक्सानी पुर्याउने बैंकका
अधिकारी/पदाधिकारीसँग खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले भएको हानी
नोक्सानी भराई लिन सकिने व्यवस्था छ | ऐनको व्यवस्था नजरअन्दाज गर्दै लगानीकर्ता संघले ‘नेप्से’ लाई गाली गरेर कसूरदारको
ताबेदारी गरेको देखियो | पहिले घोषणा गरेको २५ प्रतिशत बोनस पाउनुपर्ने विज्ञप्ति
निकाल्यो तर शुद्ध सूचना माग गरेन | लगानी गरेपछि लाभको अपेक्षा गर्नु स्वाभाविक
हो तर हामीले भने बमोजिम हुनुपर्छ भन्नु चाहिँ गलत हो | कम्पनीको संचालक समितिले
प्रस्ताव गरेको कुनै पनि लाभांश शेयरधनीलाई साधारणसभा मार्फत अस्विकार गर्ने
अधिकार छ तर संशोधन गर्ने अधिकार छैन |
धितोपत्र सम्बन्धि कसूर
शेयरको मूल्यलाई असर
पार्न सक्ने सार्वजनिक नभएको सूचना वा जानकारीको आधारमा आफू वा आफन्त मार्फत शेयर
कारोबार गर्नु, यस्ता सूचना अरुलाई उपलब्ध गराउनु भित्रि कारोबार हो | यसबाहेक
अन्य थुप्रै धितोपत्र सम्बन्धि कसूर हुनसक्छन् | अनेक प्रकारको हल्ला चलाएर कसैलाई
किन्न र बेच्न उत्साहित वा निरुत्साहित पार्ने कार्यहरु पनि धितोपत्र सम्बन्धि कसूर
हो | झुक्क्याउने विवरण (सूचना) दिएर मूल्यमा उतारचढाव पार्ने कार्य पनि धितोपत्र
सम्बन्धि गम्भीर कसूर हो | इन्भेष्टमेन्ट बैंकका आधिकारी/पदाधिकारीले पनि मूल्य संवेदनशील
मानिने लाभांश घोषणाको सूचनालाई गलत सम्प्रेषण गरि झुक्क्याउने कार्य गरेका छन् | झुक्क्याउने
सूचना सम्प्रेषण गर्नु दण्डनीय कार्य हो |
कसूर र तहकिकात
धितोपत्र सम्बन्धि कसूर गरेको वा गर्न लागेको थाहा पाएमा सरोकारवाला
व्यक्तिले नेपाल धितोपत्र वोर्ड सम्बन्धि नियमावली २०६४ को अनुसूची–२ बमोजिमको ढाँचामा
बोर्ड समक्ष उजुरी दिनुपर्छ | कसूर भयो वा हुनलागेको छ भन्ने उजुरी नपरे पनि कसूर
मानिने कार्य भएको वा भैरहेको कुरा कुनैपनि माध्यमबाट जानकारी प्राप्त गरेमा वा वोर्ड
आफैँले थाहा पाएमा सो
सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही चलाउन उजुरी नपरेको कारणले
मात्र कुनै बाधा पर्दैन । उजुरी परेमा वा जानकारी प्राप्त हुन आएमा तहकिकात गर्न र
मुद्दा दायर गर्नुपर्ने देखिएमा बोर्डको कम्तीमा अधिकृतस्तरको कुनै कर्मचारीलाई
तहकिकात अधिकारी तोक्नुपर्ने व्यवस्था छ |
तहकिकात अधिकारीले तहकिकात गर्दा सरकारी वकिलको राय लिएर आवश्यक छानवीन गर्ने, अभियुक्त वा कसूरसँग
सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण माग, बयान लिई कसूर सम्बन्धी तहकिकात गर्नेछ । प्रारम्भिक
छानविनबाट मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा बोर्ड समक्ष सोही बमोजिमको सिफारिस गर्नुपर्छ
। तहकिकात अधिकारीले कसूरदारलाई तारेखमा राख्न वा नराख्न सक्छ | कानूनी प्रक्रिया
पुरा गरि जेथा जमानत लिनसक्ने व्यवस्था छ | खानतलासी लिनुपर्ने भएमा वा कुनै
उपकरण वा कागजात बरामद गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा सँगठित संस्थालाई पूर्व सूचना दिई
त्यस्तो स्थानमा प्रवेश गर्न र कसूरसँग सम्बन्धित उपकरण वा कागजात कब्जामा
लिन सक्छ | तहकिकातको सिलसिलामा कुनै अभियुक्तलाई पक्राउ गर्नुपर्ने अवस्थामा
बोर्डको पूर्व स्विकृती लिई पक्राउ गर्न प्रहरी कार्यालयमा लेखि पठाउन सकिन्छ
।
मुद्दा हेर्ने अधिकारी
धितोपत्र वोर्ड अर्ध-न्यायिक निकाय समेत भएकोले कानुन अनुसार कतिपय विषयमा
आफैं निर्णय गर्नसक्छ | धितोपत्र सम्बन्धि कसूरको सम्बन्धमा निर्णय गर्ने अधिकारक्षेत्र
वोर्ड र जिल्ला अदालतलाई तोकिएकोले कसूर हेरी वोर्डले निर्णय गर्ने र अदालतमा
मुद्दा दायर गर्नुपर्ने व्यहोरा खुलाई सोही बमोजिमको राय सहितको प्रतिवेदन तहकिकात
अधिकारीले बोर्ड समक्ष पेश गर्नुपर्छ । तहकिकात अधिकारीले सरकारी वकिलको राय लिई
तहकिकातको कार्य पुरा भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर
गर्नुपर्छ | अदालतको फैसला चित्त नबुझेमा बोर्डले मुद्दाको तथ्य, सम्बद्ध कानुन, अदालतको फैसला
तथा सम्बन्धित अन्य पक्षहरू समेतको आधारमा पुनरावेदन गर्ने वा नगर्ने
कुराको निर्णय गर्नेछ ।
उन्मुक्तिको बाटोमा वोर्ड
नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको कसूरको सम्बन्धमा उजुरी
पर्नु पर्ने कानूनी वाध्यता छैन भन्ने तथ्य माथिका बिभिन्न प्रकरणमा उल्लेख
भईसकेको छ | उजुरी नपरे पनि स्वयम जानकारीमा लिएर तहकिकात अधिकारी नियुक्त गर्नुपर्नेमा
स्पष्टीकरण सोधिरहनु आवश्यक छैन | यस्ता स्पष्टीकरण सोध्ने, वयान लिने, खानतलासी
लिने आदी जे जे गर्नुपर्छ तहकिकात अधिकारीले गर्छ | वोर्डले उक्त दिन भएको
कारोबारको राफसाफ रोक्न दिएको निर्देशनको कानूनी अस्तित्व शून्य बराबर छ | राफसाफ
रोक्ने हैन कारोबारलाई यथावत कायम राखेर उक्त दिनको ‘कुनै एउटा मूल्य’ लाई आधार
मानी त्यो भन्दा बढी मूल्य तिरेका लगानीकर्तालाई क्षतिपूर्ति उपलब्ध गराउने गरि
मुद्दा चलाउनुपर्छ | ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानूनी सुत्र छ |
इन्भेष्टमेन्ट बैंकका अधिकारी/पदाधिकारीले ज्ञान वा अज्ञानमा जे जसरी भए पनि
कानुनको उल्लंघन गरिसकेको छन् | कसूर मानवीय त्रुटीबाटै हुने र दण्डित पनि
हुनुपर्ने भएकोले यसलाई अनेक संज्ञा दिएमा अराजकता र वेथितिको शुरुवात हुन्छ | शास्त्रीय विद्वान मनुले ‘न हि दण्डादृते
शक्य: कर्तु पापविनिग्रहः’ अर्थात ‘पापको
प्रायश्चित दण्डबाहेक अरुबाट हुन्न’ भनेका छन | वोर्डले यतिखेर शेयरबजारलाई
शुद्धीकरण र सुदृढिकरणतर्फ लैजानुपर्ने आवश्यकता छ | वोर्ड उन्मुक्तिको बाटोमा
नलागोस |
आर्थिक अभियान दैनिकमा प्रकाशित
No comments:
Post a Comment