विवरणविनाको विवरणपत्र
नेपाल
स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ५७ अर्ब २९ करोड ३७ लाख ९७ हजार १ सय रुपैयाँ
पूँजी बराबरका ३५ ओटा जलविद्युत् कम्पनी सूचीकरण भइसकेका छन् । सूचीकरण हुने क्रम
बढेसँगै केही वर्षयता सुस्ताएको जलविद्युत्को शेयरमा उत्साह थपिएको छ ।
जलविद्युत्को मुख्य बजार वा क्रेता नेपाल विद्युत् प्राधिकरणमा नेतृत्व फेरिएसँग
बजारमा उत्साह आउनु संयोग मात्र हो वा नेतृत्व फेरिने पर्खाइमा बजार थियो ठ्याक्कै
भन्न नसकिए पनि निवर्तमान नेतृत्वले निजी प्रवद्र्धकप्रति देखाएको उदासीनताको कारण
नयाँ नेतृत्वप्रति बढी आशावादी बनेको अनुमान गर्न सकिन्छ । आखिर कुरो जेसुकै भए
पनि विद्युत् बजारमा आएको उत्साह नरोकियोस् भन्ने सबैको अपेक्षा छ । एकातिर निजी
प्रवद्र्धकप्रति सरकार उदासीन छ भने अर्कातिर सर्वसाधारण लगानीकर्ताप्रति निजी प्रवर्द्धक
उदासीन छन् । यसमा साथ भने उही सरकारी निकाय (नेपाल धितोपत्र बोर्ड र विद्युत्
नियमन आयोग) ले दिएका छन् । ऋण चुक्ता तालिका (वार्षिक वा त्रैमासिक रूपमा चुक्ता हुँदै जाने
रकम र कुल ऋण चुक्ता हुने अनुमानित अवधिको तालिका पनि सार्वजनिक गरेको र गर्न
लगाइएको देखिँदैन ।
संक्षेपमा विवरणपत्र
कम्पनीको विगत, वर्तमान र भविष्यको मार्गचित्र
बताउने विस्तृत कार्ययोजनाको दस्तावेज विवरणपत्र हो । कम्पनीको संस्थापक, व्यवस्थापक, भावी रणनीति तथा कार्यनीति, संगठनात्मक संरचना आदिको जानकारी र लगानीका लागि नभई नहुने वित्तीय पक्ष,
प्रक्षेपण, जोखिम तत्त्व, कानूनी पक्ष, व्यापारिक गतिविधिको अतिरिक्त
लगानीकर्ताबाट लिइने रकमको उपयोगसम्बन्धी विषय विवरणपत्रमा उल्लेख हुनुपर्छ ।
कम्पनी ऐन, २०६३ मा दफा २३ बमोजिम प्रकाशन गर्नुपर्ने
विवरणपत्र सम्झनुपर्छ भनिएको छ । दफा २३(१) मा ‘कम्पनीले
आफ्नो धितोपत्र सार्वजनिक निर्गमन (निष्कासन) गर्नुअगावै विवरणपत्र प्रकाशन
गर्नुपर्नेछ र दफा २३(१०) मा विवरणपत्रमा खुलाउनुपर्ने कुराहरू धितोपत्रसम्बन्धी
कानूनमा उल्लेख भएबमोजिम हुने भनिएको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ ले पनि ‘दफा ३० बमोजिम प्रकाशन गर्नुपर्ने विवरणपत्र
सम्झनुपर्छ’ भनेर दफातिरै पन्छाएको छ । दफा ३० पनि विवरणपत्र
प्रकाशन गर्नुपर्ने मात्र भनेर पन्छिएको छ । बरु दफा ३१ मा भएको ‘लगानीकर्ताहरूले निर्गमक (निष्कासनकर्ता) को सम्पति तथा दायित्व, आर्थिक स्थिति, भविष्यमा अपेक्षित कुराहरू सम्बन्धमा
मूल्यांकन गर्न पर्याप्त हुने जानकारीहरू समावेश भएको विवरणपत्र मात्र बोर्डले
स्वीकृत गर्नेछ’ भन्ने व्यवस्था केही हदसम्म परिभाषा बनेको छ
।
जलविद्युत्को विवरणपत्र
नेपाल धितोपत्र बोर्डले क्षेत्रगत कम्पनीका लागि फरकफरक विवरणपत्रको
ढाँचा दिएको छैन । प्रचलित विवरणपत्रमा जलविद्युत् कम्पनीको मूलभूत विषयवस्तु पर्न
सकेको छैन । जलविद्युत् क्षेत्रको नियमन गर्न स्थापित निकाय विद्युत् नियमन आयोगले
पनि बोर्डको ढाँचाबाहेक अतिरिक्त थप विवरण सार्वजनिक गर्नुपर्छ भनेर अहिलेसम्म
कुनै निर्देशन वा परिपत्र गरेको छैन । पछिल्लोपटक नेप्सेमा सूचीकृत शिवश्री
हाइड्रोपावरको वार्षिक ऊर्जा (युनिट) कति हो भन्ने विवरणपत्रमा खुलेको छैन ।
सर्वसाधारण र नियमन निकाय मेगावाट, प्रतिमेगावाट लागत र
रेटिङको पछि दौडिएका छन् । विवरणपत्रको अग्रभागमा प्रतिमेगावाट लागत र रेटिङ लेख्न
लगाएर बोर्ड समस्त दायित्वबाट पन्छिएको छ । जलविद्युत् कम्पनीले मूलतः निम्न विषय
अनिवार्य रूपमा सार्वजनिक गर्नु जरुरी छ ।
१. आयोजनाको मुख्य विशेषता
आयोजनाको
सम्भाव्यता अध्ययन प्रतिवेदनमा संक्षेपीकरण गरी बुँदागत रूपमा उल्लेख हुने मुख्य
विशेषता (साइलेन्ट फिचर) विवरणपत्रमा कहीँ कतै भेटिँदैन । आयोजनाको सामान्य
जानकारीअन्तर्गत (१) जल प्रवाहको प्रकार, (२) कुल
उचाइ, (३) खुद उचाइ, (४) डिजाइन
डिस्चार्ज (पानीको बहाव), (५) प्लान्ट फ्याक्टर (नेट सेलेबल
इनर्जी), (६) नेट एनुअल जेनेरेशन (खुद वार्षिक उत्पादन) र
(७) आयोजना निर्माणस्थल (समस्त संरचना रहने स्थानको नक्सासहित) उल्लेख हुनुपर्छ ।
त्यस्तै, जलविज्ञानअन्तर्गत (१) कुल जलाधार क्षेत्र,
(२) निश्चित उचाइभन्दा माथिल्लो र तल्लो जलाधार क्षेत्र, (४) बेसिन पेरीमीटर, (५) उच्च जलाधार क्षेत्र (ठाउँ
उल्लेख), (६) औसत प्रेसीपिटेसन (वर्षा), (७) दीर्घकालीन औसत बहाव, (७) न्यूनतम मासिक बहाव,
(८) र डिजाइन फ्लड (बाढी) पनि उल्लेख हुनुपर्छ । त्यस्तै, प्रवेश मार्ग र वैकल्पिक मार्गसहितको विवरण नक्सासहित उल्लेख हुनुपर्छ ।
अन्य जानकारीमा उत्पादन युनिटको संख्या, सुरुङको लम्बाइ,
भूमिगत विद्युत्गृहको क्षेत्रफल, विद्युत्गृह
पुग्ने सुरुङको लम्बाइ, पानी निकास हुने सुरुङ वा नहरका
बारेमा पनि संक्षेपमा उल्लेख हुनुपर्छ । यसका अतिरिक्त सम्भाव्यता र जियोटेक्निकल
अध्ययनको सारांश प्रतिवेदन पनि सार्वजनिक गरिनुपर्छ ।
२. मासिक ऊर्जा तालिका
जलविद्युत्को महत्त्वपूर्ण जानकारीमा पर्ने यो विषय समावेश नहुनु
लगानीकर्तामाथिको गम्भीर घात हो । अधिकांश कम्पनीले एकमुष्ट वार्षिक र कुनै कुनै
कम्पनीले हिउँद र वर्षाको ऊर्जा छुट्ट्याएको देखिएको छ तर मासिक ऊर्जा तालिका
कसैले पनि सार्वजनिक गरेको देखिँदैन । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद
विक्रीको सम्झौता गर्दा उल्लेख गरिएको मासिक कन्ट्र्याक्ट इनर्जी विवरणपत्रमा
उल्लेख हुनुपर्छ । यसको आधारमा वार्षिक कति किलोवाट प्रतिघण्टा (युनिट) विद्युत्
विक्री हुने रहेछ र कति आम्दानी हुनसक्छ भन्ने हिसाब लगानीकर्ता स्वयम्ले निकाल्न
सक्छन् । १ किलोवाट (१ हजार वाट) बिजुली निरन्तर १ घण्टा बाल्दा १ युनिट हुन्छ ।
जडित मेगावाटले मात्र सम्पूर्णताको प्रतिनिधित्व गर्दैन ।
३. ऋण चुक्ता तालिका
वार्षिक वा
त्रैमासिक रूपमा चुक्ता हुँदै जाने रकम र कुल ऋण चुक्ता हुने अनुमानित अवधिको
तालिका पनि सार्वजनिक गरेको र गर्न लगाइएको देखिँदैन । फरकफरक प्रकारका ऋण लिएको
भए त्यसको वार्षिक वा त्रैमासिक किस्ता र चुक्ता हुने अवधिको अलग अलग तालिका
विवरणपत्रमा उल्लिखित हुनुपर्छ । यसले लगानीलाई थप सहज बनाउँछ । गोश्वारा रूपमा
लगानी फिर्ता हुने अवधि (साधारण र डिस्काउन्ट) लेखेर वा लेखाएर मात्र दायित्व पूरा
हुँदैन ।
४. वातावरण प्रभाव मूल्यांकन
आयोजनाले आयोजनाको जडितक्षमताअनुसार कानूनमा तोकिएबमोजिम वातावरणीय
प्रभाव मूल्यांकन अर्थात् इन्भायरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट (ईआईए) र
प्रारम्भिक वातावरणीय परीक्षण अर्थात् इनिसियल इन्भायरोमेन्टल एक्जामिनेशन (आईईई)
अध्ययन गर्नुपर्छ । ईआईएको हकमा वातावरण मन्त्रालय र आईईईको हकमा तत्तत्
मन्त्रालयले स्वीकृति दिन्छन् । यस्ता प्रतिवेदनको कार्यकारी सारांश (एक्जुकेटिभ
समरी) पनि सार्वजनिक गरिनुपर्छ ।
जलविद्युत्
क्षेत्र बृहत् विषय भएको हुँदा यसका विषयमा सबै जानकार हुन नसक्ने शेयर निर्गमनका
लागि कम्पनीले आवेदन गर्नासाथ धितोपत्र बोर्डले माथि उल्लिखित समस्त विषय उल्लेख
गरिएको विवरणपत्र कम्तीमा १ महीनासम्म वेबसाइटमा राखी साझेदारलाई अध्ययन गर्ने
मौका दिनुपर्छ । अध्ययन गर्नेले त्यसमा कुनै गल्ती फेला पार्नसक्छ र बोर्डलाई
जानकारी दिएर सच्याउन लगाउन सक्छ । स्मरणका लागि केही वर्षअघि भारतमा सहारा
इन्डियाको ‘अप्सनली फुल्ली कन्भर्टिएबल डिवेन्चर’ को विवरणपत्रमा गम्भीर त्रुटि भएको बेहोरा इन्दोर निवासी एक व्यक्तिले
पत्ता लगाएका थिए । सोही आधारमा सहारा इन्डियाको उक्त डिवेन्चर विवादास्पद बनेको
थियो ।
विवरणपत्र
अहिले पनि लगानीको वास्तविक दस्तावेज बन्नसकेको छैन । विवरणपत्र ‘श्राद्धमा बिरालो बाँधे’ जत्तिकै छ । जलविद्युत्
क्षेत्रका कम्पनीले प्रकाशन नगरी नहुने कयौं विवरण प्रकाशन गर्न नलगाएर ‘काले (प्रवर्द्धक) काले (तालुकी निकाय) मिलेर भाले खाने’ काम रोक्नुपर्छ । प्रवर्द्धकप्रति सरकार उदासीन बने पनि प्रवर्द्धक
सर्वसाधारण लगानीकर्ताप्रति उदासीन बन्न हुँदैन ।
२५ कार्तिक २०७७, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/377067