लगानीमा नयाँ अभ्यासको शुरुआत
वर्तमान समयमा लगानीलाई परम्परागत र वैकल्पिक गरि दुइ
वर्गमा बाँडिएको छ l परम्परागत लगानी विधिमा व्यक्तिगतरुपमा शेयर, डिवेञ्चर र
निक्षेप आदिमा लगानी गरिन्छ भने वैकल्पिक लगानी विधिमा कोष बनाएर कोषमार्फत लगानी गरिन्छ
l परम्परागत लगानीमा अत्याधिक नियमन हुन्छ भने वैकल्पिक लगानीमा न्यून वा नाम
मात्रको नियमन हुन्छ l यस्तो लगानीको व्यवस्थापन कोष व्यवस्थापकले गर्छन् l कोषमा
लगानी गर्नेलाई एकाईधनी भनिन्छ l कोषले गरेको लगानीबाट प्राप्त नाफा एकाईधनीले
कोषमा गरेको लगानीको अनुपातमा प्राप्त गर्छन् l यस्ता कोषमा उच्च जोखिम र लाभ दुवै
लिनसक्नेले मात्र लगानी गर्छन् l यस्ता कोषको नियमन नेपाल धितोपत्र बोर्डले गर्छ l
बोर्डले यस्ता कोष सञ्चालन र व्यवस्थापन सम्बन्धमा नियमन गर्न विशिष्टीकृत लगानी
कोष नियमावली, २०७५ जारी गरेको छ l
कोष र कोष व्यवस्थापक
वैकल्पिक लगानी कोषको प्रकृति झण्डै-झण्डै सामूहिक लगानी
कोष (म्युचुअल फण्ड) को जस्तै हुन्छ l म्युचुअल फण्डमा अत्यन्त न्यून आय भएका सर्वसाधारणदेखि
जोसुकैले लगानी गर्नसक्छन l म्युचुअल फण्डमा कोष प्रवर्द्धक, योजना व्यवस्थापक,
डिपोजिटरी, सुपरीवेक्षक र एकाईधनी गरि ५ वटा पक्ष वा साझेदार हुन्छन् l यस्ता फण्ड
अवधि तोकिएका बन्दमुखी र अवधि नतोकिएका खुलामुखी गरि दुइ प्रकारका हुन्छन् । वैकल्पिक
लगानी कोषका साझेदारमा कोष व्यवस्थापक, कोष र एकाईधनी गरि तीनवटा पक्ष हुन्छ l नियमावलीको
नियम २(ङ) अनुसार ‘कोष व्यवस्थापक’ भन्नाले वैकल्पिक (विशिष्टीकृत) लगानी कोष
व्यवस्थापन गर्ने उद्देश्य भएको कोष व्यवस्थापक सम्झनुपर्छ भनेको छ l नियमावलीको
नियम ३ अनुसार कोषको स्थापना तथा सञ्चालन गर्न चाहनेले बोर्डबाट कोष व्यवस्थापकको
अनुमति लिनुपर्ने हुन्छ ।
कोष व्यवस्थापक हुनको लागि नियमावलीको नियम ७(१) अनुसार (१)
प्रचलित कानुनबमोजिम स्थापना भएको सङ्गठित संस्था, (२)
प्रबन्धपत्र तथा नियमावलीमा कोष व्यवस्थापकको कार्य गर्ने उद्देश्य रहेको, (३)
कम्तीमा दुई करोड रुपैयाँ चुक्ता पुँजी भएको, (४)
कोष व्यवस्थापक तथा सोका सञ्चालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी वा
जालसाजी अपराधमा सजाय नपाएको,
(५) कोष व्यवस्थापकका सञ्चालक वा
कार्यकारी प्रमुखले नैतिक पतन देखिने फौज्दारी कसूरमा सजाय नपाएको, (६)
धितोपत्रको सार्वजनिक निष्काशन गरी सर्वसाधारणबाट पुँजी आव्हान गरी पुँजी सङ्कलन
गरेका कोष व्यवस्थापकमध्ये धितोपत्रको कारोवारका लागि आवश्यक व्यवस्था नगरेका, बोर्डको
सम्पर्कमा नआएका कोष व्यवस्थापक (भ्यानिसिङ्ग कम्पनी), सूचीकरण
खारेजीको कारबाहीमा परेका वा बोर्डलाई कोष व्यवस्थापकको सञ्चालन सम्बन्धमा प्रचलित
कानुन बमोजिम दिनुपर्ने सूचना,
जानकारी वा विवरण नदिई बसेका भनी बोर्डको अभिलेखमा रहेका
कोष व्यवस्थापक वा त्यस्तो कोष व्यवस्थापकको कार्यकारी प्रमुख वा सञ्चालकको सङ्लग्नता
नरहेको,(७) सञ्चालक वा कार्यकारी प्रमुख, कर्जा
सूचना केन्द्रको कालोसूचीमा नरहेको तथा कुनै नियामक निकायको कानुन उल्लङ्घनमा कारबाहीमा
नपरेको वा कारबाहीमा परेको भए दुई वर्ष पुरा भएको हुनुपर्ने योग्यता तोकिएको छ l
विदेशी व्यवस्थापक र लगानीकर्ता
स्वदेशी मात्र हैन, विदेशी कम्पनीले पनि नेपालमा कोष
व्यवस्थापकको काम गर्नसक्छन् l नियम ३(१क) अनुसार विदेशमा
दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानुनको अधिनमा रही त्यस्तो कोष
वा कोष व्यवस्थापकको पूर्ण वा अधिकाँश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष
व्यवस्थापनको कार्य गर्नसक्ने व्यवस्था छ l नियम ३(१ख)
मा उपनियम (१क) बमोजिमको कोष व्यवस्थापकले कोष व्यवस्थापनको कार्य गर्न नेपालमा सहायक
कम्पनी स्थापना गरि नियमावलीबमोजिम बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ l नियम ३(१ग)
मा उपनियम ३(१क) बमोजिमको कोष वा कोष व्यवस्थापकले बोर्डबाट अनुमति प्राप्त स्थानीय
कोष व्यवस्थापकमार्फत आफ्नो कोष परिचालन गर्न नियमावली बमोजिम बोर्डबाट अनुमति
लिनुपर्ने हुन्छ । नियमावलीको नियम २(ठ) अनुसार ‘कोष’ भन्नाले बोर्डमा दर्ता भएको
प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल, हेज
फण्ड वा यस्तै प्रकारका अन्य विशिष्टीकृत लगानी कोष सम्झनुपर्छ भनिएको छ l त्यस्तै,
सोही नियमावलीको नियम २(ख) मा ‘एकाईधनी’ भन्नाले कोषको एक वा एकभन्दा बढी एकाईमा
स्वामित्व भई दर्ता किताबमा नाम उल्लेख भएको योग्य लगानीकर्ता सम्झनुपर्छ भनेको छ
l नियम २(क) अनुसार ‘एकाई’ भनेको कोषअन्तर्गत निष्काशन गरिने धितोपत्रको एकाई हो l
योग्य लगानीकर्ता को हुन् भन्ने सन्दर्भमा नियमावलीको नियम २२ मा उल्लेख गरिएको छ
l यसमा (१) बैंक तथा वित्तीय संस्था, (२)
बीमा कम्पनी, (३) अवकाश कोष, कल्याणकारी कोष, सञ्चय
कोष, नागरिक लगानी कोष जस्ता प्रचलित कानुनबमोजिम मान्यता
प्राप्त कोष, (४) द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत
लगानीकर्ता वा विदेशी व्यक्ति वा विदेशी फर्म, कम्पनी
वा विदेशी संस्थागत लगानीकर्ता वा विदेशमा दर्ता भएको कोष वा विदेशी कोष
व्यवस्थापक वा अन्य यस्तै प्रकारको सङ्गठित संस्था, (५)
लगानी गर्नसक्ने उद्देश्य भएका प्रचलित कानुनबमोजिम नेपालमा स्थापना भएका संस्था, (६)
नेपाली नागरिक तथा गैर-आवासीय नेपाली, (७) बोर्डले समय-समयमा
तोकिदिएका अन्य निकाय वा व्यक्ति पर्छन् l यसका लगानीकर्तामा उच्च जोखिम र नाफा
लिनसक्ने व्यक्ति वा संस्था जुनसुकै हुनसक्छन् l
वैकल्पिक कोषका किसिम
नेपालमा वैकल्पिक लगानी कोषअन्तर्गत चार किसिमका कोष दर्ता
गरि सञ्चालन गर्न सकिन्छ l नियम १४(२) अनुसार (१)
प्राइभेट इक्वीटी फण्ड,
(२) भेञ्चर क्यापिटल फण्ड,
र (३)
हेज फण्ड र (४)
बोर्डले समय समयमा तोकिदिएको अन्य कोष सञ्चालन गर्न सकिने व्यवस्था छ l नियमावलीमा
४ किसिमको कोष सञ्चालन गर्न सकिने उल्लेख भए पनि अहिले प्राइभेट इक्वीटी र भेञ्चर
क्यापिटल मात्र बोर्डले दर्ता गर्छ l नियमावलीको नियम ३५ मा हेज फण्ड सञ्चालन
सम्बन्धमा बोर्डले निर्देशिका बनाई थप व्यवस्था गरी लागू गर्न सक्नेछ भनिएको छ l अहिले
अधिकतर प्राइभेट इक्विटी फण्ड दर्ता भएका छन् l चौथो कुन कुन हुनसक्छन् भन्ने
सम्बन्धमा कुनै उल्लेख छैन l
नियमावलीको नियम १४(२) स्पष्टिकरण खण्डमा (१)
‘प्राइभेट इक्वीटी फण्ड’ भन्नाले कोषको उद्देश्य प्राप्तिका लागि सर्वप्रथम स्वपुँजी
वा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट)
वा ऋण वा स्वपुँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष वा लगानी गर्ने
कम्पनीका साझेदारको इच्छाबमोजिम लगानी गर्ने कोष सम्झनुपर्छ । तर, ऋणको
स्वरुप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋणमा गरिने लगानी रकमको प्रतिशत
बोर्डले तोकेबमोजिम हुने, (२) ‘भेञ्चर क्यापिटल फण्ड’ भन्नाले धितोपत्र सूचीकरण
नभएका, सञ्चालनको शुरुवातीक्रममा रहेका वा सञ्चालनको प्रक्रिया
अगाडि बढिसकेका वा सञ्चालनमा रहेका नवीनतम ज्ञान, सीप
र क्षमता भएका वा नयाँ बस्तु,
सेवा,
प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा
नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न शेयर स्वामित्व पुँजी वा ऋणको स्वरुप भएको
उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोषलाई सम्झनुपर्छ । तर, ऋणको
स्वरुप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋणमा गरिने लगानी रकमको प्रतिशत
बोर्डले तोकेबमोजिम हुने र (३) ‘हेज फण्ड’ भन्नाले लगानीको उच्च जोखिम रहेको जुनसुकै
क्षेत्रमा लगानी गर्नसक्ने गरी स्थापना भएको कोषलाई सम्झनुपर्छ भनिएको छ l
अनुमतिका लागि कागजात
कोष व्यवस्थापकको अनुमति लिन (१)
कम्पनी दर्ता प्रमाणपत्र,
(२) प्रबन्धपत्र तथा नियमावली (३)
प्रचलित कानुन बमोजिम निर्धारित ढाँचा र लेखामानअनुसार तयार गरी लेखापरीक्षण भएको
अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण तथा कामकारबाहीसम्बन्धी वार्षिक प्रतिवेदन, तर, संस्थापना
भई आर्थिक वर्ष पूरा नभएको संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय
विवरण (४) सञ्चालक समितिको निर्णय, (५)
प्रस्तावित कोष व्यवस्थापकको सञ्चालक वा कार्यकारी प्रमुखउपर धितोपत्रसम्बन्धी कानुन
वा अन्य प्रचलित कानुनबमोजिम कुनै कारबाही भएको भए सोसम्बन्धी विवरण, (६)
संस्थापकले लिएको शेयर स्वामित्व तथा शेयरको चुक्ता रकमसम्बन्धी विवरण, (७)
चुक्ता पुँजीको पाँच प्रतिशत वा सोभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरधनीको नाम, पुरा
ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण, (८)
संस्थाको सँगठन तथा कार्य प्रणालीसम्बन्धी विवरण, (९)
कार्यालयको स्थान र क्षेत्रफल,
कार्यालय उपकरण तथा सञ्चार साधन र जनशक्तिसम्बन्धी विवरण, (१०)
अन्य कम्पनी वा सङ्गठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण, (११)
संस्थापक शेयरधनीहरु कालोसूचीमा नपरेको पत्र, (१२)
संस्थाको शेयरधनी विदेशी कोष वा कोष व्यवस्थापक वा अन्य संस्था भएमा नियमावलीमा
उल्लिखित कागजातका अतिरिक्त सम्बन्धित देशको कानुनबमोजिम कोष वा कोष व्यवस्थापक वा
संस्था दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र प्रबन्धपत्र तथा नियमावली वा
संस्था स्थापना सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपिसमेत, (१३)
संस्थाको शेयरधनी विदेशी कोष वा कोष व्यवस्थापक वा अन्य संस्था भएमा माथि उल्लेखित
कागजातका अतिरिक्त उक्त संस्थाले विदेशमा व्यवस्थापन गरिरहेको कोषको आकार खुलेको
कागजातको प्रमाणित प्रतिलिपी,
(१४) बोर्डले आवश्यक देखेको अन्य
कागजात तथा विवरणहरु पेश गर्नुपर्छ l नियम ४ अनुसार ३५ दिन भित्र आवश्यक जाँचवुझ गरी
अनुमतिदिन उपयुक्त देखिए बोर्डले कोष व्यवस्थापकको दर्ता प्रमाणपत्र उपलब्ध गराउँछ
।
कोष दर्ता तथा निष्काशन
नियम १४(४) मा कुनै पनि कोष दर्ता तथा निष्काशनको लागि कोष
व्यवस्थापकले तोकिएको ढाँचामा दस्तुरसहित बोर्डमा निवेदन दिनुपर्छ । यसरी निवेदन
परेपछि बोर्डले आवश्यक जाँचबुझ गरी कोष दर्ता तथा निष्काशन गर्न उपयुक्त देखिएमा
कोष दर्ता तथा निष्काशन गर्न अनुमति दिन्छ l यसरी कोष दर्ता तथा निष्काशनका लागि
अनुमति प्राप्त भएपश्चात कोषले रकम सङ्कलनका लागि लक्षित लगानीकर्ता पहिचान गरी ‘परिपत्र
विधि’ वा ‘व्यक्तिगत सम्पर्कको माध्यम’ बाट एकाई निष्काशन गर्नुपर्छ l कोषले
बोर्डबाट एकाई निष्काशनको स्वीकृति पाएको मितिले तीन महिनाभित्र शुरु गरी दुई
वर्षभित्र सम्पन्न गरीसक्नुपर्छ l नियमावलीमा जुनसुकै कुरा लेखिएको भएता पनि कोषले
अन्तर्राष्ट्रिय संघ, संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई ऋणको रुपमासमेत
एकाई निष्काशन गर्नसक्छ l साथै,
अन्तर्राष्ट्रिय संघ, संस्था
वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको एकाईको रकम सङ्कलन गर्दा
विधानमा समय र किस्ताको व्यवस्था गरी सोही बमोजिमको समयमा किस्ता सङ्कलन गर्न
सक्नेछ । नियम २(थ) अनुसार विधान भन्नाले कोष स्थापना र सञ्चालन सम्बन्धमा गरिएको
व्यवस्थाको दस्तावेजलाई सम्झनुपर्छ ।
नियमावलीको नियम १४क(१) अनुसार विदेशमा दर्ता भएका कोषले
नेपालमा कोष दर्ता गर्न शुल्कसहित बोर्डमा निवेदन दिनुपर्छ । यस्ता कोषले दर्ता
हुन निवेदन दिंदा (१) सम्बन्धित देशको कानुनबमोजिम कोष दर्ता भएको
प्रमाणपत्रको प्रमाणित प्रतिलिपी (२) सम्बन्धित देशको कानुनबमोजिमको कोषको विधानको
प्रमाणित प्रतिलिपी र सोको प्रमाणित नेपाली अनुवाद, (३)
अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, (४)
कोष दर्ता तथा निष्काशन सम्बन्धमा विदेशी कम्पनीको सञ्चालक समितिले गरेको निर्णयको
प्रमाणित प्रतिलिपी र सोको प्रमाणित नेपाली अनुवाद, (५)
बोर्डबाट नियम ४ बमोजिम दर्ता प्रमाणपत्र प्राप्त गरेको कोष व्यवस्थापकसँग गरिएको सम्झौतापत्रको
प्रमाणित प्रतिलिपी, (६) बिदेशबाट भित्र्याइने रकम,
र (७) बोर्डले समय-समयमा तोकेका अन्य विवरणहरु पेश गर्नुपर्छ l
बाँकी आगामी अङ्कमा
आर्थिक अभियान दैनिक https://abhiyandaily.com/article/vaiklpik-lgaanii-kosssmbndhii-kaanuunii-vyvsthaa-lgaaniimaa-nyaan-abhyaasko-shuruaat
No comments:
Post a Comment