नेपाल कानुनमा छ कि छैन ?
संस्थापक,
सर्वसाधारण, स्थानीय र कर्मचारी शेयर मात्र सुनिने नेपालमा ‘पसिना शेयर’
अंग्रेजीमा ‘स्वेट शेयर’ अनौठो शब्दावली हो l हुनत बेला-बेलामा यसको चर्चा भए पनि
सैद्धान्तिक पाटोबाट चर्चा भएको छैन l पूर्व गृहमन्त्री रवी लामिछानेसँग विभिन्न
घटना जोडिएर आएपछि यो शब्दावली अहिले बढि चर्चित हुन पुगेको छ l लामीछानेले गोर्खा
मिडिया नेटवर्क प्रा.लि. मा आफूले पसिना शेयर पाएको र नेपालमा पसिना शेयरको
सम्बन्धमा कुनै कानुन नभएको बताएका थिए l लामिछानेले भनेको जस्तो नेपालमा पसिना
शेयरको विषयमा कानुन नभएकै हो त ? यस लेखमा पसिना शेयर जारी हुने विधि, जारी हुने
व्यक्ति, प्रक्रिया र करको विविध पक्षमा चर्चा गरिन्छ l
मौद्रिक
र गैर-मौद्रिक
साधारण र अग्राधिकार गरि दुइ प्रकारका शेयर हुन्छन l पसिना शेयर साधारण शेयर हो l यस्तो शेयर मौद्रिक र गैर-मौद्रिक दुवै हुन्छ l मौद्रिक अर्थात् पैसा तिरेर र गैर-मौद्रिक अर्थात मूल्य नतिरी यस्तो शेयर प्राप्त हुन्छ l शारीरिक श्रम, वौद्धिक सम्पत्ति आदिबापत कम्पनीले शेयर दिन्छ l यस्ता शेयर कम्पनीका कर्मचारी र सञ्चालकलाई उपलब्ध गराइन्छ l शुरुआती चरणमा कम्पनीको आय धेरै नहुन सक्छ l यस्तो अवस्थामा कुनै कर्मचारीले कम्पनीको उन्नति र प्रगतिको लागि दिएको योगदान अनुरुप तलबभत्ता पर्याप्त नहुनसक्छ l यस्तो अवस्थामा तलबभत्ताको क्षतिपूर्तिस्वरूप पसिना शेयर दिइन्छ l यस्तो शेयर दिनुको अर्को कारणको रुपमा त्यस्ता कर्मचारी कम्पनीबाट नबाहिरिउन अर्थात कम्पनी छोडेर नजाउन भनेर कम्पनीको हिस्सेदारी दिने गरिन्छ l यसो गर्दा कम्पनीमा तिनको पनि अपनत्व हुन्छ l आफ्नै लगानी (शेयर) भएपछि त्यस्ता व्यक्ति कम्पनी छोडेर जाँदैनन् र कम्पनीको पनि उन्नति हुन्छ भन्ने सोच राखिएको हुन्छ l पसिना शेयर पाउने कर्मचारी पनि हुन्छन् भन्ने बुझ्दा कर्मचारीलाई आईपीओ (इनिसियल पब्लिक अफरीङ्ग) मा दिइने शेयर र यसमा के फरक छ भन्ने प्रश्न पनि आउन सक्छ l आईपीओमा कर्मचारीलाई दिईने शेयर गैर-मौद्रिक हुन्न अर्थात् यसमा पैसा तिरेर लिनुपर्छ तर, पसिना शेयर सामान्यतया: गैर-मौद्रिक हुन्छ l
यस्तो शेयर कम्पनीको सम्पत्ति नेटवर्थ आदिको आधारमा वा शेयरको बजार मूल्यभन्दा केही कम मूल्यमा पनि दिईन्छ l कर्मचारी र सञ्चालकबाहेक परामर्शदाता वा अन्य सेवा प्रदायकलाईसमेत यस्तो शेयर जारी गर्न सकिन्छ l आईपीओमा जस्तो पसिना शेयरका लागि जुनसुकै तहका कर्मचारी योग्य हुदैनन् l कम्पनीको निश्चित भूमिका र पदमा रहेका कर्मचारी मात्र योग्य हुन्छन् l यो इसोप (इम्प्लोयिज स्टक अप्सन स्कीम) र कर्मचारीलाई आईपीओमा दिईने शेयरभन्दा फरक हुन्छ l पसिना शेयर कर्मचारी, सञ्चालकलगायतलाई प्रत्यक्ष योगदानको लागि छूट वा न्यून मूल्यमा दिइन्छ l इसोप भविष्यमा कम्पनीको शेयर खरिद गर्न कर्मचारीलाई दिइएको योजना हो l आईपीओ जारी गर्दा कर्मचारीलाई पनि कम्पनीमा सहभागी बनाउन दिइएको एउटा अवसर हो l कुनै कम्पनीको मुख्य शेयरधारक वा अन्य शेयरधारकले धारण गरेको शेयर कुनै अर्कै व्यक्तिलाई दिनु पसिना शेयर हैन l अध्यक्षले नै आफ्नो शेयर दिए पनि त्यो पसिना शेयर हैन/हुन्न l यो सबै अवस्था भनेको एक शेयरधनीले धारण गरेको शेयर अर्को व्यक्तिलाई बिक्री गर्नु हो l खरिद-बिक्रीमार्फत कुनै पनि व्यक्तिले पाएको शेयरलाई पसिना शेयर भनिदैन l पसिना शेयर हुनको लागि एउटा शर्त कम्पनीले नयाँ शेयर जारी गर्नुपर्छ l
नेपालमा
पसिना शेयर
नेपालको कम्पनी ऐनमा पसिना शेयरको परिभाषा गरिएको छैन l पसिना शेयर के हो भनेर परिभाषा नगरिए पनि कम्पनी ऐन, २०६३ दफा ३१ को उपदफा २ मा गरिएको व्यवस्था पसिना शेयरसँग सम्बन्धित छ l उक्त ३१(१) मा कम्पनीले निष्काशन तथा बाँडफाँड भएको शेयरको कित्ता, त्यसको जम्मा रकम, सो शेयर लिनेको नाम, ठेगाना र शेयरपिच्छे असुल भएको र असुल हुन बाँकी रकमको हिसाब शेयर बाँडफाँड भएको ३० दिनभित्र कार्यालयमा पठाउनुपर्नेछ भनिएको छ। यो व्यवस्थालाई सतहीरुपमा हेर्दा आईपीओ बाँडफाँड पछिको जस्तो लागे पनि सबै प्रकारका कम्पनीको लागि गरिएको व्यवस्था हो l दफा ३१(२) मा यस्तो शेयर बाँडफाँड हुँदा कुनै शेयरको मूल्य नगदबाहेक अन्य तवरबाट पूर्ण वा आंशिकरुपमा भुक्तानी गरिएको भएमा शेयर बाँडफाँडबाट सो शेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई शेयर जारी (बिक्री) वा सेवाको करार वा अन्य के कस्तो के प्रतिफलबापत शेयर बाँडफाँड भएको हो सो सम्बन्धी लिखत र बाँडफाँड गरिएको शेयर सङ्ख्या तथा त्यस्तो शेयरको अङ्कित मूल्य र कति हदसम्म शेयरको मूल्य चुक्ता भएको मानिने हो सोको विवरण समेत कम्पनीले कार्यालयमा पठाउनु पर्नेछ भन्ने व्यवस्था छ l यस दफामा भारतमा जस्तो साधारण सभाबाट प्रस्ताव पारित हुनुपर्ने व्यवस्था छैन l
पसिना शेयर सम्बन्धमा कम्पनी निर्देशिका,
२०७२ ले उदाहरणसहित प्रष्ट पारेको छ l निर्देशिकाको दफा ३१(१) मा कुनै कम्पनीले कुनै व्यक्तिबाट सेवा प्राप्त
गरेकोमा सो सेवाको प्रतिफलको रुपमा सेवा प्रदान गर्ने व्यक्तिलाई कम्पनीको शेयर
प्रदान गर्न सक्नेछ भनेको छ l यसको उदाहरण दिँदै
‘कुनै कम्पनीले आफ्नो भवन निर्माणको डिजाइन तयार गर्ने आर्किटेक्चरलाई
निजले प्रदान गरेको सेवाबापत कम्पनी र निज आर्किटेक्चरबीच भएको सेवा करारमा
निर्धारित रकम बराबर मूल्यको शेयर जारी गर्न सक्छ भनेको छ l निर्देशिकाको दफा ३१(२) मा परामर्श सेवा लगायतका कुनै पनि
सेवाका प्रतिफलस्वरुप शेयर जारी गरिने भए यस बारेमा लिखित करार भएको हुनुपर्नेछ र
उक्त सेवा करारमा सेवाको प्रतिफल कति हुने र सोबापत कति शेयर जारी गर्ने भन्ने
बारेमा स्पष्टरुपमा उल्लेख भएको हुनुपर्ने र दफा ३१(३) मा उपदफा (२) बमोजिम सेवा
करारअनुसार जारी गरिएका शेयरको मूल्य कति हदसम्म चुक्ता भएको मानिने हो सो कुरा
उपदफा (२) बमोजिमको करारमा स्पष्टरुपमा खुलाएको हुनुपर्नेछ भनेको छ l
भारतीय
व्यवस्था
भारतको कम्पनी कानुनमा पसिना शेयरको परिभाषा गरिएको छ l भारतको कम्पनी कानुनमा पसिना शेयरलाई ‘श्रम साध्य साधारण शेयर’ भनिएको छ l भारतको कम्पनी ऐनले पसिना (स्वेट) शेयर भन्नाले कुनै कम्पनीले आफ्ना सञ्चालक वा कर्मचारीहरूलाई वौद्धिक साम्पत्तिक प्रकृतिको अधिकार वा कुनै विशेष ज्ञान वा गुणवत्ता उपलब्ध गराएबापत प्रतिफलको रुपमा उपलब्ध गराएको शेयर सम्झनुपर्छ भनेको छ l एउटा सिङ्गै दफामा पसिना शेयरकै बारेमा चर्चा गरिएको छ l भारतको कम्पनी कानुनअनुसार (१) कम्पनीको साधारण वा विशेष साधरण सभाले विशेष प्रस्ताव पारित गरेको, (२) सभामा पेश गरिने प्रस्तावमा जारी गरिने शेयरको सङ्ख्या, वर्तमान बजार मूल्य, के को प्रतिफलबापत जारी गरिने हो सो कुरा र (३) कर्मचारी वा सञ्चालक कसलाई जारी गरिने हो भन्ने कुरा खुलाउनुपर्छ l पसिना शेयर जारी गर्ने कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छ भने शेयर बजारको नियामकले जारी गरेको नीति/नियमको पालना गर्नुपर्छ l भारतमा कम्पनी सञ्चालनमा आएको तीन वर्ष पूरा नभई यस्तो शेयर जारी गर्न नपाइने व्यवस्थालाई संशोधन गरि अहिले जुनसुकै बेला जारी गर्न सकिने व्यववस्था छ l त्यस्तै, यसरी जारी गरिएका पसिना शेयर र यसका शेयरधनीका हक अधिकार पहिले नै जारी गरिएका शेयर र शेयरधनीसरह समान हुन्छन अर्थात् पसिना शेयर पनि साधारण शेयरकै अङ्ग हो l यसरी जारी गरिएका शेयर तत्काल बिक्री गर्न पाइन्न l निश्चित समयसम्म धारण गर्नुपर्छ l
सूचीकृत कम्पनीको हकमा सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले जारी गरेको नियमअनुसार भारत वा विदेशमा काम गर्ने कम्पनीको कर्मचारी र कार्यकारी वा गैर-कार्यकारी सञ्चालक पसिना शेयरका लागि योग्य हुन्छन l कम्पनीले एक वर्षमा विद्यमान चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी पसिना शेयर जारी गर्न पाउँदैनन l कुनै पनि समयमा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी पसिना शेयर जारी गर्न पाईदैन । संस्थापक र संस्थापक समूहका शेयरधनीलाई पसिना शेयर जारी गर्दा सामान्य र कर्मचारी र सञ्चालकलाई जारी गर्दा विशेष प्रस्ताव पारित गर्नुपर्छ l पसिना शेयरको लक इन पिरियडको सम्बन्धमा सेबीले बेला-बेलामा निर्धारण गरेबमोजिम हुन्छ l सभाले प्रस्ताव पारित गरेको १२ महिनाभित्र यस्तो शेयर जारी गरिसक्नुपर्छ l
पसिना शेयरमा कर
शेयर चल सम्पत्ति हो l यसलाई केही शर्त बन्देजको अवस्थामा बाहेक जुनसुकै बेला बिक्री गर्न सकिन्छ l कुनै पनि प्रकारले प्राप्त भएको शेयर बिक्री गर्दा पुँजीगत लाभमा कर लाग्छ l पसिना शेयरलाई पनि अन्य शेयरसरहको हक अधिकार प्राप्त हुने भएकोले बिक्री गर्दा अन्य शेयरसरह लाभकर लाग्छ l यस्ता शेयर बिक्रीबाट हुने लाभलाई दीर्घकालीन पुँजीगत लाभकरको रुपमा ग्रहण गरिन्छ l भारतमा दिल्ली हाइकोर्टले एउटा मुद्दामा पसिना शेयर दिने भनी गरिएको सम्झौताअनुसार पसिना शेयरको सट्टामा दिइएको ‘रकम’ लाई 'दीर्घकालीन पूँजीगत लाभ' शीर्षकअन्तर्गत करयोग्य भएको ठहर गर्दै करदाताको रोजगारी समाप्त भएपछि 'तलबको सट्टामा लाभ' पाएको भन्न नमिल्ने निर्णय सुनाएको थियो l
आकाश पोद्दार विरुद्ध असिस्टेन्ट कमिसनर अफ इनकम ट्याक्सको मुद्दामा निवेदक पोद्दार टेक ट्राभल प्रा.लि. मा प्रमुख सञ्चालन अधिकृतकोरुपमा सन् २००७ डिसेम्बरमा सेवा प्रवेश गरेका थिए l उनको नाममा ५० हजार कित्ता पसिना शेयर जारी गरि शेयर प्रमाणपत्रसमेत जारी गरिएको थियो l पसिना शेयर जारी गरेको तीन महिना नबित्दै उनलाई सेवाबाट वर्खास्त गरियो l शेयर प्रमाणपत्र जारी भए पनि शेयरधनीको रुपमा दर्ता भएको थिएन l पोद्दार आफ्नो नाममा जारी भएको शेयर दर्ता गर्न कम्पनीलाई निर्देशन माग्दै कम्पनी ल बोर्डमा गए l कम्पनी ल बोर्ड कम्पनीसम्बन्धी विवाद सुनुवाई गर्ने न्यायिक निकाय हो l हाल भारतमा नेशनल कम्पनी ल ट्राइबुनल नामक न्यायिकं निकाय विद्यमान छ l कम्पनी र निवेदकबीच शेयरबापत ३ करोड ३ लाख ७५ हजार भारतीय रुपैयाँ रकम लिनेदिने सम्झौता भयो l पोद्दारले आय विवरण पेश गर्दा पाएको रकममा दीर्घकालीन पुँजीगत लाभकरको दावी गरे पनि कर प्रशासनले जागिर समाप्त भएपछि प्राप्त रकम 'तलबको सट्टामा लाभ' पाएकोले यसलाई पुँजीगत लाभकर भन्न नमिल्ने आदेश दिएर कर दाखिल गर्न आदेश दियो l
उक्त निर्णय विरुद्धमा निवेदक कमिसनर अफ इनकम ट्याक्स (अपिल्स) मा गए l अपिल्सले शुरु तहको निर्णय उल्ट्याएर माग दावी बमोजिम दीर्घकालीन पुँजीगत लाभकार लाग्ने निर्णय दियो l यो विषय इनकम ट्याक्स अपिलियट ट्राइब्युनलमा पुग्यो l ट्राइब्युनलले १५ हजार पसिना शेयर र ३५ हजार कित्ता शेयर बराबरको रकमलाई तलब आम्दानी मानेर फरक-फरक कर निर्धारण गरिदियो l निवेदक यो निर्णय विरुद्ध दिल्ली हाइकोर्ट गए l हाइकोर्टले कम्पनीले आफ्नो कर्मचारीलाई पसिना शेयर जारी गरेर शेयर प्रमाणपत्रसमेत दिईसकेको तर, शेयर लगत अभिलेख नगर्दै कम्पनीको सेवाबाट वर्खास्त गरे पनि पसिना शेयरको मान्यता दिएको थियो l
२८ कार्तिक २०८१
आर्थिक अभियान
https://abhiyandaily.com/article/psinaa-sheyrko-avdhaarnnaa-nepaal-kaanuunmaa-ch-ki-chain
No comments:
Post a Comment