चुक्ता पूँजी हैन, जगेडाले बैंक ठूलो र मजबूत
‘मैले पूँजी बढाउने आँट गरे’ पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल जुनसुकै कार्यक्रम पुग्दा पनि बोल्ने यो वाक्य ‘थेगो’ जस्तै बनेको छ l उनको यो कुरा सुन्दा एउटा लोककथाको झल्को आउन थालेको छ l कथाअनुसार बिहे गरेर गएको ज्वाइँ आमाछोरी दुबैलाई मन परेनछ l आमाले छोरीको लागि अर्को ज्वाइँ खोजेर छोरीलाई फिर्ता बोलाईछन् l छोरी जिम्मा लाउन पहिलो ज्वाइँ आफैँ गएछ l बाटामा भेटिएको बाघलाई ज्वाइँले खूकुरी प्रहार गरी घाइते पारेपछि यस्ता कुरा सामान्य हुन् कसैलाई नभन्नु भनेछ l माइतीघरमा पुगेकै दिन आमाले ठिक्क पारेको नयाँ ज्वाइँसँग बुइंगलमा सुत्न गएछन l बुइंगलमा अन्न खान आएको मुसा समाउन खोज्दा कान समातेछ र तानातानमा कान चुँडिएपछि ‘मैले काटें मुसाको कान, ससुरालीको बचाएँ धान’ भन्दै चिच्याउन थालेछ l डा. नेपालको ‘थेगो’ दोस्रो ज्वाइँले गरेको कार्यभन्दा केही फरक छैन l नेपालले पूँजी बढाउन ‘आँट’ गरें भन्नु कुनै पनि हिसाबले ‘बहादुरी’ हैन l बैंक तथा वित्तीय संस्था सवलिकरण गर्न जगेडा कोष बढाउने, मुद्रा आपूर्ति सहज गर्ने र भुक्तानी प्रणाली व्यवस्थित गर्ने जस्ता काम गरेको भए साँच्चीकै ‘आँटिलो र बहादुर’ भन्न सकिन्थ्यो l उनले भन्ने गरेको ‘आँट’ अहिले वित्तीय क्षेत्र अस्तव्यस्त बनाउने अस्त्र बनेको छ l
औचित्यहिन पूँजी वृद्धि
चिरञ्जीवी नेपाल गभर्नर भएको ४ महिना नबित्दै साउनमा जारी गरेको मौद्रिक नीति, २०७२ मार्फत बैंक तथा वित्तीय संस्थालाई दुई वर्षभित्र ४ गुणाले चुक्ता पूँजी बढाउन निर्देशन दिए l गभर्नर भएको करिव ४ महिनामा नेपालले के अध्ययन गरेर यति धेरै मात्रामा पूँजी वृद्धिको नीति लिए आजको दिनसम्म पनि ‘आँट’ गरे भन्नेबाहेक त्यसको औचित्य सावित हुन् सकेको छैन l बैंक वित्तीय संस्थाले पनि यति पूँजी वृद्धि किन भनेर प्रश्न गर्न सकेनन् l बरु विभिन्न उपकरण उपयोग गरी पूँजी बढाउने कार्ययोजना पेश गरे पनि अन्ततः हकप्रदको ओइरो लगाए l यो अवधिमा बैंक अफ काठामाडौं र लुम्बिनी बैंक मात्र गाभिए l अन्य केही स-साना बैंक गाभिए पनि त्यसले कुनै अर्थ राखेन बरु ग्रामिण क्षेत्रमा बैंकिंग बानी पारिरहेका यस्ता स-साना बैंक ठूलो बैंकसँग गाभिंदा स्थानीयस्तरमा बैंकिंगसमेत ओझेल पर्यो l साना बैंक करिब समाप्तै भए l पूँजी पुगेर पनि चिरञ्जीवी सन्तुष्ट हुन सकेनन् र ‘बिग र मेगा’ मर्ज गर्छु/गर्नुपर्छ भन्दै बैंकलाई जोडी खोजेर आउन अर्को आदेश जारी गरे l आफ्नो अन्तिम मौद्रिक नीतिमा ७० प्रतिशत बोनस र ३० प्रतिशत मात्र नगद लाभांश बाँड्न पाउने अर्को नियन्त्रणमुखी आदेश जारी गरे l यसलाई त्यसपछिका गभर्नर महाप्रसाद अधिकारीले पनि जारी राखे l
भारतीय बैंकको पूँजी
रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले सरकारी, निजि र विदेशी गरी वाणिज्य बैंकलाई ३ भागमा बाँडेको छ l भारतका बैंकको पूँजी नेपालको तुलनामा धेरै नै कम देखिन्छ l आरबीआईले यहाँ जस्तो पूँजी वृद्धि गर्न आदेश दिएको देखिन्न l भारतमा देशभर सेवा दिने बैंकको पूँजी ६ अर्ब भारतीय रुपैयाँ (भारु) हाराहारी छ l सन् १९२० मा केरलमा स्थापित सीएसबी (क्याथोलिक सिरियन) बैंकको पूँजी भारु १ अर्ब ७३ करोड मात्र छ l बैंकले १८ प्रान्त र २ केन्द्र शासित प्रदेशमा सेवा विस्तार गरेको छ l झन्डै साँढे ३ करोड जनसंख्या भएको केरल राज्यको लागि नेपाली बैंकको तुलनामा अत्यन्तै थोरै पूँजी हो l तर, पनि आरबीआईले यसको पूँजी नेपालको सरह पुर्याउने आदेश दिएको देखिन्न l यस्तै, भारतभर सेवा पुर्याएको एचडीएफसी बैंकको पूँजी भारु ५ अर्ब ५१ करोड मात्र छ l भारतमा भारु १ खर्ब ६५ अर्बसम्म पूँजी भएको बैंक पनि छ l बैंकको पूँजी धेरै हुँदैमा गतिलो हुने हैन रहेछ भन्ने भारतीय बैंकलाई हेर्दा थाहा हुन्छ l थोरै पूँजी हुँदा पनि बैंकले ठूलो पूँजी हुनेको जत्तिकै नाफा कमाउन र पूँजी पर्याप्तता अनुपात अर्थात क्यापिटल एड्क्वेसी रेसियो (सीएआर) कायम राख्न सकिने रहेछ भन्ने उदाहरण भारतका बैंकले दिएका छन् l केही भारतीय वाणिज्य बैंकको पूँजी, जगेडा, निक्षेप, लगानी र सीएआर आदि तालिकामा पेश गरिएको छ l
केटाकेटी, गुलेली र मट्याङ्ग्रा
शुरुको अनुच्छेदमा उल्लेखित प्रसंगलाई यहाँ फेरी जोडौं
l नेपालका वित्तीय क्षेत्रका नियामक सबैको पारा चिरञ्जीवी नेपालको जस्तै छ l नेपालकै
बाटोमा लागेर बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले पनि बिमा कम्पनीको पूँजी ४
गुणा बढाए l चापागाईको
आदेशमाथि बिमा कम्पनीले पनि कुनै प्रश्न गरेनन र बैंककै पाराले पूँजी पुर्याए l पूँजी त पुग्यो तर, व्यापार थिएन र अहिले पनि छैन l पूँजीको
भारले थिचिएको बेला नयाँ
अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि अरु केही काम नपाएर होला एक वर्षभित्र डेढ गुणा
पूँजी बढाउन अर्को आदेश जारी गरेका छन् l सिलवालको पूँजी बढाउने आदेशको विज्ञप्तिमा
‘नेटवर्थ’ बढाउने भन्ने हाँसो उठ्दो वाक्य छ l नेपाल राष्ट्र बैंक र बिमा समिति नियामक
बन्न किन सक्दैनन् र नियन्त्रक बन्छन जटिल विषय बनेको छ l नेपाल धितोपत्र बोर्डका
प्रमुखको काम पनि उस्तै छ l l हालै बोर्डका अध्यक्षले ‘दर्तै’ नभएको कम्पनीको
उजुरी सुनेर परिपत्र विधिबाट किन शेयर जारी गरेको भन्दै अनुसन्धानमा लागेका छन् l
अघिल्ला अध्यक्षले वित्तीय सल्लाहकार बन्दै ५१ वटा कम्पनीको सूची सार्वजनिक गरिदिए l
निचोडमा, यी सबै नियामकको काम हेर्दा ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भने जस्तै छ l मट्याङ्ग्राले चरो मार्ने कुरै छाडौं, चराको प्वाँख पनि झार्न सकेका छैनन्
२९ चैत २०७८, आर्थिक अभियान
https://abhiyandaily.com/index.php/newscategory-detail/406173