Sunday, August 21, 2022

कम्पनीका पत्राचारमा शब्दको थुप्रो

चुरो कुरो पत्ता लगाउन मुश्किल

पत्रलाई घरघरायसी र कर्पोरेट वा कार्यालयीय गरी मुख्यतः दुईप्रकारले बाँड्न सकिन्छ l घरायसी पत्रमा घर, छिमेक, टोलका कुरा लेखिन्छ भने कर्पोरेट पत्रमा कुनै विशेष कुरा लेखिएको हुन्छ l नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को अनुसूची - १६ मा वर्णित विषयलगायत अन्य आवश्यक विषय पत्रमार्फत सार्वजनिक गर्नुपर्छ l यस्ता विषयका अधिकाँश पत्रमा दुविधायुक्त र बहुअर्थी शब्दको थुप्रो मात्र हुन्छन् l अझ कतिपय कम्पनीले पत्राचार गरेका हुन् कि पत्रको स्वरुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् पत्तै हुन्न l शब्दको थुप्रो लगाएर र आलंकारिकता लेखेर पत्र सरल बोधगम्य हुँदैन l  

कम्पनीको एउटा नमुना पत्र

नेपाल राष्ट्रबैंकद्वारा ‘ख’ वर्गको इजाजतप्राप्त गरिमा विकास बैंकको लाभांश घोषणासम्बन्धि पत्रको बेहोरा पढ्दा सासै रोकिन्छ  l २ सय ७६ वटा शब्दलाई दुईवटा अनुच्छेदमा लेखिएको छ l पहिलो वाक्य १ सय ९७, दोस्रो ५० र तेस्रो २९ शब्दका छन् l कम्पनीको लेटरप्याडमा पत्राचार गरिने हुँदा पेटबोलीमा कम्पनीको नाम उल्लेख गर्नुपर्दैन l पहिलो वाक्यको शुरुमै र बीचमा गरी दुइपटक ‘विकास बैंक’ दोहोरिएको छ l गरिमा विकास बैंक ५ पटक र ‘सहारा विकास बैंक.’ ४ पटक दोहोरिएको छ l कहीं ‘लि.’ र कहीं ‘लिमिटेड’ पनि जोडिएकोछ l लाभांश घोषणाको पत्रमा लाभांश दिने रकम कहाँबाट आयो भन्ने विवरण खुलाउनुपर्दैन l यस्तो विवरण वार्षिक प्रतिवेदनमा उल्लेख भएकै हुन्छ l गरिमा विकास बैंक लिमिटेडको पत्र एउटा उदाहरण मात्र हो l अधिकाँश कम्पनीले शब्दको थुप्रो लाएर चुरो कुरो पत्ता लाउन पटकपटक पढ्नुपर्ने दिक्दार लाग्दा पत्राचार गरिरहेका छन् l बैंकको पत्र जस्ताको तस्तै पेश गरिएको छ-

उपरोक्त सम्बन्धमा विकास बैंकको संचालक समितिको मिति २०७८/९/२२ गते बिहान ७:०० बजे सम्पन्न २७० औं बैठकको निर्णय भए बमोजिम यस गरिमा विकास बैंक लि.को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.६२०,१६६,२९३l४४ (संचित मुनाफा रु.६२०,०६९,२२५l२६ तथा शेयर प्रिमियम रु. ११५४३००३l३७ (संचित मुनाफा रु. ४,८७४,७५१l३७ तथा शेयर प्रिमियम रु. ६,६६८,२५२l००) समेत कुल रु.६३१,७०९,२९६l८१ बराबरको रकम जस अनुसार गरिमा विकास बैंक लि. को साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति पूर्वको चुक्ता पूँजी रु. ३,६७५,९१२,५०१l०८ (अक्षरेपी तीन अर्ब सतसठ्ठी करोड उन्साठी लाख बाह्र हजार पाँच सय एक रुपैयाँ र आठ पैसा मात्र) तथा साविक सहारा विकास बैंक लि. को चुक्ता पूँजी रु. २७२,२७०,६०४l- (अक्षरेपी सत्ताइस करोड बाइस लाख  सत्तरी हजार छ सय चार मात्र) समेत विकास बैंकको हाल कायम चुक्ता पूँजी रु. ३,९४८,१८३,१०५l०८ अक्षरेपी तीन अर्ब चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैयाँ र पैसा आठ मात्र) को १६ प्रतिशत अर्थात् रु.६३१,७०९,२९६l८१ (अक्षरेपी त्रिसठ्ठी करोड सत्र लाख नौ हजार दुइ सय छयानब्बे र पैसा एकासी मात्र) बोनस शेयर गरिमा विकास बैंकमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुने क्रममा सम्पन्न अन्तिम सम्झौता अनुरुप सहारा विकास बैंक लिमिटेड गरिमा विकास बैंक लिमिटेडमा प्राप्ति भएपश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम शेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय गरियो l गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनस शेयर) बापत तिर्नुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु l

उक्त प्रस्ताव नेपाल राष्ट बैंकबाट स्वीकृत भएपश्चात विकास बैंकको १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछी मात्र शेयरधनीहरुलाई बोनस शेयर वितरण गरिने व्यहोरा समेत जानकारीको लागि अनुरोध गर्दछु l

पत्रको फर्म्याट र अंग

पत्रको कुनै ढाँचा हुन्न तर, पनि नेप्सेले शब्दको थुप्रो देखेर होला एउटा सामान्य रुपरेखा बनाएर सार्वजनिक गरेको थियो l पत्रमा यही यही बेहोरा हुनपर्छ भन्ने हुन्न l धितोपत्र कानुनअनुसार सार्वजनिक गर्नुपर्ने २५ वटा घटनाको लागि तालिकामा अङ्क भरेजस्तो पेटबोली यस्तै हुन्छ भनेर दिने कुरा हैन l कम्पनीले पत्रको ढाँचाको माग गर्नु आफैँमा लज्जास्पद कुरा हो l पत्र भनेको जानकारी गराउने सरल बेहोरा हो l यो ‘शोधपत्र’ वा ‘वार्षिक प्रतिवेदन’ होइन l जे भएको हो सोको जानकारी मात्र हो l सरल बेहोरा लेखि कसरी जानकारी गराउने भन्ने सिर्जनात्मक कुरा हो l फर्म्याट वा ढाँचा भन्ने कुरा हिसाबकिताबको मात्र हुन्छ l लेखनको कुनै ‘फर्म्याट’ हुन्न l घरघरायसीमा सम्बोधन र पेटबोली (बेहोरा) हुन्छ भने कर्पोरेटमा सम्बोधन, विषय र पेटबोली हुन्छ l कर्पोरेटमा सम्बोधनपछि राखिने विषयले पत्र किन लेखिएछ संक्षेपमा पहिले नै थाहा दिन्छ l जस्तो: ‘लाभांश प्रस्ताव’, ‘कार्यकारी प्रमुखको नियुक्ति’, ‘शेयर दाखिल खारेज’ जस्ता कुरा विषयमा लेखिन्छ l यसले पत्र किन जारी भएको रहेछ प्रथम दृष्टिमै जानकारी दिन्छ l पेटबोलीमा ‘कति के लाभांश’, ‘को प्रमुख कार्यकारी नियुक्त भए’, ‘कुन दिन बुक क्लोज हुने हो’, जस्ता विवरण आदि हुन्छन l    

पत्रको एउटा नमुना  

गरिमा विकास बैंक लिमिटेडले २ सय ७६ शब्दमा लेखेको कुरालाई ८५ शब्दमा लेख्दा मुख्य कुरो छुट्दो रहेनछ भन्ने दृष्टान्त नमुना पत्रमा दिईएको छ l थप स्पष्टीकरण र कैफियत लेख्नु नपरेको भए ४१ शब्दमै सम्पूर्ण कुरा अट्ने रहेछ l यो नै पत्रको अकाट्य स्वरूप भने हैन, यसमा थप सिर्जनशीलता थपेर अझ सरल बनाउन सकिन्छ भने त्यसो गर्न पनि सकिन्छ l बैंक वा विमा जेसुकै भएपनि सबै कम्पनी भएकोले बैंकको सट्टा ‘कम्पनी’ शब्द उल्लेख गर्दा राम्रो हुन्छ l ‘बैंक’ भनेको कम्पनीले गर्ने व्यवसायको स्वरूप हो l त्यसकारण व्यवसायिक नामको संचालक समिति हुन्न, संचालक समिति कम्पनीको हुन्छ l

उपरोक्त सम्बन्धमा यस कम्पनी सञ्चालक समितिको २०७८/९/२२ गते बिहान ७:०० बजे बसेको २७०औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को लागि निम्न बमोजिमको लाभांश प्रस्ताव साधारण सभामा पेश गरिने बेहोरा निर्णयानुसार जानकारी गराउँदछु l  

चुक्ता पूँजी

लाभांश

कैफियत

बोनस

नगद

३,९४८,१८३,१०५l०८

१६

००

सहारा विकास बैंकलाई प्राप्ति गरेपछिको चुक्ता पूँजी

पुनश्च : सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरेकोले लाभांश कर छूट हुने हुँदा लाभांश करको लागि नगद प्रस्ताव गरिएको छैन l  एकीकृत कारोबार पछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम शेयरधनी आफैँले लाभांश कर तिर्नुपर्नेछ l

निचोडमा, पत्रमा भन्न खोजिएको कुरा आमव्यक्तिले प्रथम दृष्टिमै सजिलै बुझ्नसक्ने एक अर्थ लाग्ने सरल हुनुपर्छ l त्यस्तै, बिरालो बाँधे जस्तो अमुक निकायको ‘स्वीकृति’ र ‘आगामी साधारण सभा’ बाट अनुमोदन भएपछि वितरण गर्ने निर्णय भएको बेहोरासमेत अनुरोध छ भन्ने अन्तिम अनुच्छेद आवश्यकै छैन l सभाले पारित नगरेसम्म लाभांश वितरण हुन्न l साधारण वा विशेष सभालाई कुनै पनि प्रस्ताव (सामान्य वा विशेष) स्वीकार वा अस्विकार गर्ने अधिकार हुन्छ l 


२४ फागुन २०७८ 

https://abhiyandaily.com/index.php/newscategory-detail/404206

 

No comments:

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...