Sunday, August 21, 2022

नाम चित्रा काम विचित्र

ईश्वरीय शक्तिको नाममा अर्बौं घोटाला

आज तिमी खुब राम्री देखिएकी छौ’, ‘तिमीले विभिन्न तरिकाले कपाल बाँध्न सिक्नुपर्छ, जसले तिमीलाई अझ आकर्षक बनाउनेछ’, ‘सामान बाँधेर तयार पारिराख, मैले आउने महिना सेसेल्स जाने योजना बनाएको छु, तिमी पनि मसँगै आउ’, ‘तिमीलाई पौडिन आउँछ भने हामी समुद्री स्नानको मजा लिँदै समुद्र तटमा आराम गर्नसक्छौं’ युवा प्रेमी प्रेमिकाको जस्तो लाग्ने यी सम्वाद सन् २०१५ फ्रेबुअरीमा नेशनल स्टक एक्सचेञ्ज लिमिटेड (एनएसई) कि तत्कालिन कार्यकारी प्रमुख चित्रा रामाकृष्ण र एक अज्ञात साधुको हो l चित्रालाई कार्यकारी प्रमुख हुँदा यिनै साधुको आडमा एक्सचेञ्जमा अरबौं रुपैयाँ घोटाला गरेको आरोप लागेको छ l

 

तीन वेदको इमेल वार्ता

 

‘ग्रुप चिफ कोअर्डिनेसन अफिसरको पद र भूमिका ठिकै हो, यसलाई अघि बढाउन सकिन्छ l तर, मेरो बिचारमा यसलाई ग्रुप प्रेसिडेन्ट एवम् चिफ कोअर्डिनेसन अफिसरको रुपमा पनि राख्न सकिन्छ l पछि हजुरको जस्तो निर्देशन हुन्छ हामी एक्सचेञ्जलाई ‘जि’ को अधीनमा ल्याएर चिफ अपरेटिङ अफिसर बनाईदिन्छौ l यसमा हजुरको मार्गनिर्देशन चाहियो स्वामी’, ‘............. हाम्रो सोच जति ठूलो र दृष्टिकोण स्पष्ट हुन्छ, परिस्थिति त्यति नै सजिलो हुँदै जान्छ, आशीर्वाद l’ यो सम्वादले चित्रा साधुको सल्लाह विना कुनै पनि कार्य गर्दिन थिईन भन्ने पुष्टि गर्छ l साधुलाई चित्राले सम्पूर्ण गोप्यता उपलब्ध गराउँथिन l साधुले आफूलाई साँच्चीकै साधु देखाउन ऋग, यजुर र साम तीनवटा वेदको नामबाट ‘ऋगयजुरसाम’ नामको इमेल बनाएका थिए l साधुको आशीर्वाद (आदेश) ले चित्राले शेयर र शेयरबजारको कुनै पनि जानकारी नभएका व्यक्ति आनन्द सुब्रमनियणलाई महत्त्वपूर्ण पदमा नियुक्ति गरेर धनलाभ गराएकी थिइन् l घोटालामा साधु, सुब्रमनियण र चित्रा मूलरुपमा जोडिएका छन् l इमेल वार्तामा आएको अक्षर ‘जि’ यिनै सुब्रमनियण हुन भन्ने अनुमान गरिन्छ l साधुको भेषमा कुरा गर्ने पनि सुब्रमनियण नै हुन् भन्नेसमेत अड्कल गरिएको छ l

 

चित्राको जीवनचित्र

 

सन् १९६३ मा मुम्बईमा जन्मेकी चित्रा चार्टर्ड एकाउन्टेन्ट हुन् l उनले सन् १९८५ मा ईण्डष्ट्रियल डेभलपमेन्ट बैंक अफ इण्डिया (हाल आईडीबीआई बैंक) बाट जागिरे जीवन शुरु गरेकी थिइन् l भारतीय शेयरबजार नियामक सेक्युरिटीज एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) गठन गर्ने मुख्य टोलीमा संलग्न थिइन् l सेबीको गठनपछि पनि उनी सेबीका दोस्रो बजार सल्लाहकार र प्रकटीकरण तथा लेखमान जस्ता समितिमा रहेर काम गरेकी थिईन l एनएसईको गठनमा पनि सहभागी भएकी उनी २१ वर्षपछि सन् २०१३ मा सोही एक्सचेञ्जको प्रमुख कार्यकारी बनिन l आफैँले स्थापना गरेको संस्थामा प्रमुख कार्यकारी भएपछि पक्कै पनि त्यसको श्रीवृद्धिमा नै समय लगाउलान भनेर अनुमान गर्दा अन्यथा हुन्न l तर, चित्राको हकमा भने यो कुरा लागु भएन l सुरेखा सल्लाहेवा (कोलम्बो स्टक एक्सचेञ्ज) र लिपिङ सोंग (सेञ्जेन स्टक एक्सचेञ्ज, चीन) पछि एसिया प्रशान्त क्षेत्रका एक्सचेञ्जको प्रमुख कार्यकारी हुने तेस्री महिलाको  श्रेय पाएकी थिइन् l चित्रालाई फर्चुन नामक पत्रिकाले शक्तिशाली महिलाको १७औं स्थानमा राखेको थियो l उनी एक्सचेञ्ज र क्लियरिङ हाउसको संगठन वर्ल्ड स्टक एक्सचेञ्ज फेडरेसनको बोर्ड अध्यक्ष पनि नियुक्त भएकी थिइन् । चित्रा कोलो (को-लोकेसन) काण्डमा मुछिईन र तोकिएको समय (५ वर्ष) पूरा नहुँदै  सन् २०१६ मा राजिनामा गरिन l यसमा एकजना ‘अदृश्य हिमाली साधु’ जोडिएका छन् तर, उनी को हुन् चित्राले पनि बताएकी छैनन् l

 

चित्राको बिचित्र काम र कुरा

भारत सरकार स्वामित्वको बामर लोरी एण्ड कम्पनी लिमिटेडमा वार्षिक १५ लाख भारतीय रुपैयाँ (भारु) तलबमा काम गरिरहेका आनन्द सुब्रमनियणलाई साधुकै आशिर्वादमा चित्राले वार्षिक झन्डै २ करोड भारु तलब सुविधासहित सन् २०१३ मा मुख्य रणनैतिक सल्लाहकार नियुक्त गरेकी थिइन् l उनी सन् २०१५ मा ग्रुप अपरेटिङ अफिसरमा नियुक्त भए l सुब्रमनियणको सेवा र सुबिधा दिन दुगुणा रात चौगुणा दरमा बढ्दै गयो l सुब्रमनियणलाई सप्ताहमा ३ दिन मात्र काम गरे हुने अर्को छुट साधुले गराएका थिए l अन्तिम समयमा आएर सुब्रमनियणलाई सप्ताहमा ४ दिन काम गर्ने गरी उनको वार्षिक तलब बढाएर ४ करोड ५० लाख भारु पुर्याउने पनि उनै साधु थिए l यति प्रभावशाली भूमिका खेल्ने साधु को हुन् थाहा नभएको बयान चित्राले दिएकी छिन l चित्राको भनाइअनुसार साधुसंग उनको भेट गङ्गा नदीको कुनै घाटमा भएको थियो l चित्राले साधुलाई ‘परमहंस’ भन्दै उनी हिमालय क्षेत्रमा विचरण गर्ने बताएकी छिन l हिमालयमा बस्ने साधुसंग इमेल सुबिधाको प्रसंगमा चित्राले आध्यात्मिक शक्तिले जहाँ पनि इमेल चलाउन सक्ने क्षमता हुने बताएकी थिइन्  l साधुको आशिर्वादस्वरूप सुब्रमनियण पत्नी सुनिताले पनि वार्षिक ७ लाख भारु तलब सुबिधासहित एनएसईको चेन्नईस्थित क्षेत्रीय कार्यालयमा सल्लाहकारको पद पाएकी थिइन् l सुनिताको तलब सुबिधा पनि ३ वर्षमा बढ्दै गएर १ करोड ३३ लाख भारु पुगेको थियो l

एनएसईको कोलो सुविधाको माध्यमबाट कारोबार सदस्य (दालल) ले आफ्नो सर्भर एक्सचेञ्जको डाटा सेन्टरमा  राख्न सक्थे l यस्तो सुविधाले टाढाबाट कारोबार गरिरहेका कारोबारीभन्दा पहिला आफ्नो डाटा पठाएर लाभ लिनसक्थे l यसो गर्दा अरुभन्दा पहिला आफूले शेयर किन्ने अवसर पाउँथे l शेयर कारोबारमा आदेश प्रविष्ट गरेको समयानुसार एकैपटक आदेश कार्यान्वयन प्रणाली (अर्डर म्याचिंग सिष्टम) मा पुग्ने बहुप्रेषण (मल्टिकाष्ट) विधिको सट्टामा ‘टिक बाई टिक प्रणाली’ (एकपछि अर्को आदेश प्रविष्ट हुने युनिकाष्ट विधि) लाई उपयोगमा ल्याएर प्रभावशाली व्यक्तिलाई लाभ दिलाएर घोटाला गराईएको थियो l माइक्रोसेकेण्डले पनि आदेश कार्यान्वयनमा फरक पार्ने हुँदा ठूला कारोबारीलाइ संसारभरका एक्सचेञ्ज विशेष सुबिधा दिइएको हुन्छ l घोषितरुपमा दिईने यस्ता सुबिधालाइ चित्राको टोलीले दुरुपयोग गरेका थिए l ओपीजी नामक दलाल कम्पनीले एनएसईको ट्रेडिङ प्रणाली सञ्चालन गर्ने कम्पनीको पूर्व कर्मचारीको मद्दत लिएर एक्सचेञ्जको कुन सर्भर कुन समयमा बढी आदेश आउँछ भन्ने भित्रि कुराको जानकारी लिएको थियो l यसमा एनएसईका उच्चपदस्थ कर्मचारीको पनि संलग्नता रहेको थियो चित्राले लाभ गराएका विभिन्न ठूला कारोबारी सेबीले जाँच शुरु गरेपछि शेयर बेचेका थिए l

सीबीआईको प्रवेश

सेबीले सन् २०१५ मा एक व्हिसल ब्लोअरको बेनामी उजुरी प्राप्त गरेको थियो l मनिलाइफ नामक एक आर्थिक पत्रिकालाई पनि उपलब्ध गराइएको उक्त पत्रको आधारमा यस घटनालाई सुचेता दलालले सार्वजनिक गरेकी थिइन् l यस घटनामा तात्कालिक अर्थमन्त्री पी. चिदम्बरमको पनि संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ l त्यतिबेला चिदम्बरमले शेयरबजार सम्वद्ध सबै संस्थामा आफ्ना नजिकका व्यक्ति नियुक्त गरेका थिए l चित्रा पनि तिनै मध्येको एक मानिएकी छिन l अहिले यो घटनालाई सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई) ले अनुसन्धान गरिरहेको छ l चित्रा र सुब्रमनियण दुवै अहिले हिरासतमा छन् l सत्यम कम्प्युटर घोटाला काण्ड ३३ महिना लगाएर छानविन गरेको सीबीआईले यो घटनालाई कहिले निष्कर्षमा पुर्याउने हो र ककसलाई दोषी ठहर गर्ने हो त्यो हेर्न बाँकी छ l

१ चैत २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/404568 

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...