नगद लाभांशलाई बजार मूल्यसँग दाँज्नु अनावश्यक
संसारको हरेक स्टक एक्सचेन्जले कर्पोरेट एक्सनपश्चात शेयर मूल्य समायोजन गर्ने गर्छन l नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पनि मूल्य समायोजन गर्छ l यसमा संसारभर कुनै विवाद छैन तर, नेपालमा कहिलेकाहीँ किन समायोजन गर्नुपर्यो बजार आफैँले समायोजन गरिहाल्छ भन्ने झिनो आवाज यदाकदा सुनिन्छ l राष्ट्रिय योजना आयोगका उपाध्यक्षले संस्थापक र सर्वसाधारण शेयरधनीलाई क्रमशः नगद र बोनस लाभांश दिनुपर्ने प्रस्ताव ल्याउने देशमा यस्ता प्रश्न आउनु अनौठो हैन l नेपालभन्दा बाहिर विभिन्न कर्पोरेट एक्सनको मूल्य समायोजन हुन्छ l नेपालमा कतिपय कर्पोरेट एक्सनलाई सरकार र नियामकले अघोषितरुपमा नियन्त्रण गर्दै प्रतिवन्धसरहको स्थितिमा राखेका छन् l नेपालमा नियमनभन्दा नियन्त्रण गर्नुलाई खुबी ठानिन्छ l
समायोजन हुने र नहुने अवस्था
नेपालमा अहिले प्रचलनमा रहका मूल्य समायोजन हुने कर्पोरेट एक्सनमा हकप्रद, बोनस, नगद लाभांश र मर्जर छन् l मर्जरमा गरिने समायोजनको खास औचित्य नदेखिए पनि यसको अभ्यास हुँदै आएको छ l हकप्रद र बोनसको अनुपात जतिसुकै भए पनि मूल्य समायोजन गरिन्छ भने नगद लाभांशको समायोजनमा शर्त पूरा भएको हुनुपर्छ l यस्तो शर्त खासै प्रभावकारी हुनसकेको छैन l यसको प्रयोजन बन्दमुखि म्युचुअल फण्डमा मात्र देखिएको छ l स्वभावैले यस्ता फण्डका एकाई फण्डको खुद सम्पत्तिभन्दा तल्लो मूल्यमा कारोबार हुन्छ र नगद लाभांश समायोजनका लागि तोकिएको शर्त पूरा हुन्छ l खुलामुखी म्युचुअल फण्डका एकाई खुद सम्पत्तिमै किनबेच हुनेहुँदा यसमा मूल्य समायोजनको प्रश्न आउँदैन l खुलामुखी फण्ड एक्सचेन्जमा सूचीकरण हुन्न र फण्ड व्यवस्थापकले नै एकाईधारकको एकाई अघिल्लो दिन कायम रहेको खुद सम्पत्तिको मूल्यमा किन्छन र सोही मूल्यमा एकाई बिक्री पनि गर्छन l दृष्टान्तको लागि चैत १ गते खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ कायम भएको छ भने चैत २ गते तोकिएको समयमा बिक्री केन्द्र वा विद्युतीय माध्यम (अनलाईन) बाट सोही मूल्यमा एकाई बेच्न वा किन्न पाईन्छ l यस्ता फण्डले दिने लाभांश नगदमा लिन वा पुन:लगानी गर्न पाइन्छ l लाभांश वितरणपश्चात सम्पत्ति घट्ने हुँदा खुद सम्पत्ति घटाईन्छ अर्थात समायोजन गरिन्छ l नेपालमा शेयर विभाजन र एकीकरणको अभ्यास गर्न नदिएका कारण अभ्यासमा आएको छैन l यदि यसलाई पनि अभ्यासमा ल्याइएको भए यस्ता कार्यबाट सिर्जित परिणामस्वरूप मूल्य समायोजन हुन्थ्यो l
बोनसपछिको समायोजन
जुन अनुपातमा बोनस जारी हुन्छ सोही अनुपातमा मूल्य पनि समायोजन हुन्छ
l दृष्टान्तको लागि कुनै कम्पनीले २० प्रतिशत बोनस
शेयर जारी गरेमा अन्तिम बजार मूल्य सोही बराबर समायोजन हुन्छ l अन्तिम बजार मूल्य ५ सय रुपैयाँ भएमा समायोजित मूल्य ४ सय १६ रुपैयाँ
हुन्छ l सजिलोसँग बुझ्नको लागि १ सय कित्तालाई आधार बनाउन
सकिन्छ । अन्तिम मूल्य ५ सय रुपैयाँका दरले हिसाब गर्दा १ सय कित्ता शेयरको मूल्य
५० हजार रुपैयाँ हुन्छ र यसलाई कायम हुने शेयर संख्या १ सय २० ले भाग गर्दा आउने
भागफल समायोजित मूल्य हो । समायोजन अघि र पछिको मूल्यमा कुनै परिवर्तन हुन्न l
मूल्य समायोजन किन हुन्छ भन्ने बुझ्नु अघि बोनस शेयर जारी हुने रकमको
बारेमा बुझ्नु आवश्यक छ l कम्पनीले आर्जन
गरेको सञ्चित नाफा र जेसुकै नाम दिइएको शेयर प्रिमियम रकमबाट यस्तो शेयर जारी
गरिन्छ l वासलातमा सम्पत्ति र दायित्व गरी मुख्य दुई खण्ड
हुन्छ l शेयर पूँजीलाई छुट्टै देखाईन्छ l सञ्चित नाफा र शेयर प्रिमियमलाई यही खण्डमा लेखांकन गरिन्छ l बोनस शेयर जारी गर्दा वासलातको सम्पत्ति र दायित्व खण्डमा कुनै असर पर्दैन
l बोनस शेयरले शेयर पूँजी खण्डको चुक्ता पूँजी, सञ्चित नाफा र शेयर प्रिमियम शीर्षकलाई
चलाउँछ l सञ्चित नाफा र शेयर प्रिमियम शीर्षकमा लेखांकित रकम
चुक्ता पूँजीमा परिणत हुन्छ l यसो गर्दा शेयरधनीको शेयर
सङ्ख्या बढ्छ l व्यवहारमा जेसुकै भए पनि शेयरको मूल्य
कम्पनीको सम्पत्तिले निर्धारण गर्छ l प्रिमियम र सञ्चित नाफा
पनि कम्पनीको सम्पत्ति नै हो l यस्तो सम्पत्ति चुक्ता
पूँजीमा रुपान्तरण भएपछि बोनस जारी हुनु अघि शेयरधनीको सम्पत्तिको जति मूल्य थियो
सोही अनुपातमा राख्नको लागि मूल्य समायोजन गर्नुपर्छ l
हकप्रदपछिको समायोजन
बोनस र हकप्रदमा मूल्य समायोजन हुने तरिका लगभग एकै छ l बोनसमा जति अनुपात हुन्छ सोही अनुपातमा समायोजन
हुन्छ तर, हकप्रदमा भने शेयरधनीले तिर्ने रकमसमेत जोडिन्छ l
२० प्रतिशत हकप्रद जारी हुन लागेको कम्पनीको ५ सय रुपैयाँमा अन्तिम
कारोबार भयो भने समायोजित मूल्य ४ सय ३३ रुपैयाँ हुन्छ l अन्तिम
कारोबार मूल्य र थप हुने रकम जोडेर कायम भएको कुल रकमलाई हकप्रदपछि कायम हुने शेयर
संख्याले भाग गरेर समायोजन मूल्य निकालिन्छ । समायोजन मूल्य बुझ्नको लागि १ सय
कित्तालाई आधार बनाउन सकिन्छ । अन्तिम मूल्य ५ सय रुपैयाँको दरले हिसाब गर्दा १ सय
कित्ताको मूल्य ५० हजार हुन्छ र २० प्रतिशत हकप्रदबापतको रकम २ हजार जोड्दा ५२ हजार रुपैयाँ हुन्छ । यही ५२ हजार
रुपैयाँलाई कायम हुने शेयर संख्या १ सय २० ले भाग गर्दा आउने भागफल ४ सय ३३
रुपैयाँ समायोजन मूल्य हो । हकप्रद समायोजन गरिनुको कारण कायम शेयरधनीले थप रकम
लगानी गरेर थप शेयर प्राप्त गर्छ l कर्पोरेट एक्सन अघि र
पछिको कुल सम्पत्तिमा एकरुपता कायम राख्नको लागि समायोजन गरिन्छ l
नगद लाभांश समायोजन
हकप्रद र बोनसको अनुपात जति भए पनि मूल्य समायोजन हुन्छ तर, नगद लाभांश शर्तसहित समायोजन हुन्छ l बजार मूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश प्रस्ताव गरिएमा मात्र यसको
समायोजन हुन्छ l अहिलेसम्म यसको उपयोग कम्पनीमा भएको छैन l
कुनै कम्पनीले २० प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो र अन्तिम
बजार मूल्य १ सय ९९ सय रुपैयाँ भएमा नगद लाभांश समायोजन हुन्छ । २ सय रुपैयाँ भएमा
समायोजन हुन्न l अन्तिम बजार मूल्य १ सय ९९ रुपैयाँबाट
प्रस्तावित प्रतिशेयर २० रुपैयाँ घटाएर १ सय ७९ रुपैयाँ कायम हुन्छ l नगद लाभांश समायोजन गरिनुको कारण कम्पनीको सञ्चित नाफा रकम बाहिरिनु हो l
निचोडमा, नगद लाभांश
समायोजन त्यति प्रभावकारी देखिएको छैन l यसो हुनुमा बजार
मूल्यको १० प्रतिशतभन्दा बढी हुनुपर्ने शर्त हो l यसको प्रभावकारिता
बन्दमुखि म्युचुअल फण्डमा मात्र देखिएको छ l यसलाई
प्रभावकारी बनाउन बोनसबापत छुट्टयाईएको नगद लाभांश पनि समायोजन हुनु आवश्यक छ l
किनभने करबापत छुट्याइएको रकम कम्पनीबाट बाहिरिन्छ l कम्पनीले ५० प्रतिशतभन्दा बढी बोनस जारी गर्दा २ प्रतिशतभन्दा बढी नगद बाहिरिन्छ
l यद्धपि बोनसमा कर लगाउने कार्य आफैँमा सान्दर्भिक छैन l
सान्दर्भिक नहुँदा पनि कर लगाइएको हुँदा यसरी लगाउन्जेल यसको पनि
समायोजन हुनु जरुरी छ l बोनस शेयरको लागि करबापत १
प्रतिशतभन्दा कमलाई छूट गरे पनि १ प्रतिशतदेखि नै नगद लाभांश समायोजन हुनुपर्छ l
नगद लाभांश समायोजनलाई बजार मूल्यसँग दाँज्नु आवश्यक देखिन्न l
८ चैत २०७८ आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/404939